काठमाण्डू, मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि सत्तारूढ दल नेपाली कांग्रेसले १५ बुँदे आन्तरिक सर्कुलर जारी गरेको छ ।
कांग्रेसले सहकारी ठगीमा परेका नागरिकको बचत फिर्ता र दोषीलाई दण्ड दिलाउने प्रतिबद्धता मतदातासमक्ष जनाउन पनि निर्देशन दिएको छ ।
पार्टीले ‘दोषीलाई दण्ड दिलाउने’ प्रतिबद्धता जनाउँदै रास्वपा सभापति रवि लामिछानेले सहित सहकारीको बचत हिनामिनामा संलग्नहरूलाई इंगित गर्न खोजेको छ ।
लामिछाने सहकारी ठग भएको भन्दै लामो समय कांग्रेसले सदन र विभिन्न सार्वजनिक मञ्चबाट उक्त एजेण्डा स्थापित गर्न संघर्ष गरेको थियो ।
कांग्रेसकै अडानमा संसदीय छानबिन समितिमात्र बनेन, समितिको प्रतिवेदनकै आधारमा उनै लामिछाने हाल प्रहरीको हिरासतसम्म पुगेका छन् ।
सर्कुलरमा सत्ता सहयात्री दल नेकपा एमालेलाई गालीगलौज गरेर नबिच्क्याउन मातहतका समितिलाई निर्देशन दिइएको छ ।
केन्द्रीय उपनिर्वाचन परिचालन समिति संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचन केन्द्रित सर्कुलर जारी गरेका हुन् ।
उपनिर्वाचन हुने स्थानीय तहका समिति, जिल्ला र प्रदेश कार्यसमितिहरूको नाममा बुधबार १५ बुँदे सर्कुलर जारी भएको हो ।
‘चुनावी प्रतिस्पर्धाका बिच पनि दलहरूबिच सद्भाव र सामाजिक एकता कायम राख्न नेपाली कांग्रेसले नै विशेष समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुछ,’ सर्कुलरमा लेखिएको छ ।
महामन्त्री शर्माद्वारा जारी सर्कुलरमा नेकपा एमालेसँग सत्ता सहकार्यको विषय पनि समावेश छ ।
अर्थात् कांग्रेसले सत्तामा भएको गठबन्धनलाई असर नगर्ने गरी चुनावी अभियानलाई अघि बढाउने र आफ्नो मुख्य प्रतिस्पर्धी एमालेलाई पनि नबिच्क्याउने नीति लिएको छ ।
‘बुधबार नै हामीले सर्कुलर तल पठाइसकेका छौँ,’ समितिका एक सदस्यले भने ।
स्रोतका अनुसार स्थानीय तह निर्वाचन हुने सबै तहका वडा, पालिका, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिलाई उक्त सर्कुलर पठाइएको हो ।
जसमा दलहरू बिच सद्भाव र सामाजिक एकताको विषय मुख्य रूपमा राखिएको छ ।
‘मुख्य प्रतिस्पर्धी दलसँग सरकारमा सँगै रहेको भए पनि सरकारमा सहकार्य, मैदानमा प्रतिस्पर्धाको नीतिमा प्रस्ट हुनुपर्छ,’ सर्कुलरमा लेखिएको छ ।
सर्कुलर मार्फत कांग्रेसले उपनिर्वाचन हुने भूगोलमा चुनाव केन्द्रित अभियान बाहेक अन्य कार्यक्रम मंसिर १६ गते अघि नगर्न पनि निर्देशन जारी गरेको छ ।
यस्तै मत प्रभावित गर्न सक्ने व्यक्तिहरूलाई जुनसुकै अवस्थामा रहे पनि आफ्नो स्थानीय तहमा पुगेर समय दिनैपर्ने उल्लेख गरेको छ ।
‘चुनाव हुने भूगोलमा प्रभाव राख्ने साथीहरू देशभित्र जहाँ भए पनि फर्किएर गाउँमा समय दिने,’ सर्कुलरमा लेखिएको छ ।
यस्ता छन् कांग्रेसका मुद्दा र प्रतिबद्धता
उपनिर्वाचनका लागि महामन्त्री शर्माको नेतृत्वमा बनेको केन्द्रीय निर्वाचन समन्वय संयोजन समितिले ६ वटा मुद्दा र प्रतिबद्धता तय गरेर रूख चिह्नमा मत माग्ने निर्णय गरेको छ ।
उक्त निर्णयसहित स्थानीय तहमा गरिएको परिपत्र अनुसार पहिलो नम्बरमा लोकतान्त्रिक प्रणालीलाई अझ बलियो बनाउने प्रतिबद्धतासहित मत माग्न निर्देशन दिइएको छ ।
स्रोतका अनुसार दोस्रो नम्बरमा कांग्रेसले स्थानीय तहलाई थप जनमुखी बनाउन मत माग्ने छ । तेस्रो नम्बरमा संघीय सरकारलाई अझ जिम्मेवार बनाउने उल्लेख छ ।
पार्टीले चौथो नम्बरमा सहकारी ठगीमा परेका नागरिकलाई बचत फिर्ता र दोषीलाई दण्ड दिलाउने एजेण्डा राखेको छ ।
पाँचौँ नम्बरमा गाउँठाउँमा विगतमा पुगेका विकासका कार्य नागरिक पंक्तिमा स्मरण गराउँदै अधुरा विकास योजनालाई गति दिएर नागरिकमा नयाँ विश्वास भर्ने कर्म गर्न भनिएको छ ।
छैटौँ एजेण्डाका रूपमा स्थानीयवासीको भावना र आवश्यकता अनुरुप स्थानीयस्तरका मुद्दाको जिम्मेवार ढंगले नेतृत्व गर्नका लागि कांग्रेसलाई जिताउन भन्दै मत माग्नेगरी तल्ला तहमा परिपत्र गरेको छ ।
उपनिर्वाचनमा देखाउने आचरण हेरेरमात्र कारबाही फुकुवा
परिपत्र अनुसार स्थानीय तह उपनिर्वाचन हुने स्थानमा रहेका तर अनुशासनको कारबाही भोगिरहेका नेता–कार्यकर्तामाथिको कारबाही फुकुवा गर्न केही शर्त राखिएको छ ।
परिपत्रमा निर्वाचनमा पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएका या विरुद्धमा रहेकाहरूलाई उपनिर्वाचनमा पार्टीको उम्मेदवार जिताउन निर्वाह गर्ने भूमिकाका आधारमा कारबवाही फुकुवा, सदस्यता नवीकरण र जिम्मेवारी प्रदान गर्ने उल्लेख छ ।
‘उहाँले हाम्रो आधिकारिक उम्मेदवार जिताउन जसरी भूमिका खेल्नुहुन्छ, सोही अनुसार पार्टीले कारबाहीमा परेका साथीहरूको विषयमा निर्णय गर्नेछ,’ स्रोतले भन्यो, ‘यसको अर्थ कारबाहीमा पर्नुभएको साथीहरूको विषयमा निर्वाचन पश्चात् मात्र निर्णय हुन्छ ।
चितवनका दिनेश कोइरालाहरू जस्तै राम्रो काम गर्नुभए फिर्ता हुन्छ । हैन, राम्रो गर्नुभएन भने उहाँहरूको कारबाही यथावत् रहन्छ ।’
तल्लो तहको सिफारिसको आधारमा उपनिर्वाचन पश्चात् त्यसबारे निर्णय लिइने ती नेताले बताए ।
‘आमसभा, उत्तेजना र गालीगलौज हुँदैन’
कांग्रेस प्रचाव विभाग प्रमुख तथा केन्द्रीय निर्वाचन संयोजन समिति सदस्य मीन विश्वकर्मा यसपटक चुनावी आमसभा नगर्ने कांग्रेसको तयारी रहेको बताउँछन् ।
उनी उपनिर्वाचन प्रचारप्रसारमा कुनै उत्तेजना, आक्रमक शैली नअपनाइ शालिन, भद्र, शिष्ट प्रतिस्पर्धामा उत्रने तयारी रहेको बताउँछन् ।
‘हामी आमसभा नगर्ने, सानोसानो टोलको बैठक तथा घरदैलो कार्यक्रम गर्ने गरी अघि बढेका छौँ ।
चुनवी अभियान भनेर केन्द्रबाट कुनै नेता नजाने तर सय दिने अभियानमा खटिएका केन्द्रीय नेताले थप जिम्मेवारी लिने तयारी छ,’ उनले भने ।
उनले एमाले र कांग्रेसबिच भद्र सहमति भएको र आमसभा नगर्ने निर्णयमा पुगेको पनि उल्लेख गरे । म आफैँ ओखलढुंगा पुगेर आए ।
त्यहाँ आमसभा गर्ने तयारी भएपनि एमालेका साथीहरूसँग कुरा गरेर दुवै पक्षले आमसभा नगर्ने निर्णयमा हामी पुग्यौँ,’ उनले थपे, ‘धेरै नारा–जुलुस नगरौँ भनेर उहाँहरू पनि सहमत हुनुहुन्छ ।
यो उपनिर्वाचन शालिन झडप र विरोधरहित हुन्छ ।’ विश्वकर्माका अनुसार पार्टीले पुरानै घोषणापत्रमा चुनाव लड्ने निर्णय गरेको छ ।
जे बाचा भएर हिजो (जो बितेर जानुभयो) उहाँहरुले चुनाव जित्नुभयो, अबको उम्मेदवारको प्राथमिकता पनि त्यही हुन्छ ।
बरू उम्मेदवारले यो काम गर्छु भनेर आफ्नो केही थप प्रतिवद्धता राख्न सक्नुहुन्छ,’ उनले थपे, ‘छुट्टै घोषणा पत्र यसपटक छैन र पार्टीले बनाउने तयारी पनि गरेको छैन ।’
यही मंसिर १६ गते ३३ जिल्लाका रिक्त ४४ स्थानीय पदका लागि उपनिर्वाचन हुँदैछ ।
त्यसमध्ये ओखलढुंगा र कैलालीमा कांग्रेसका उम्मेदवार जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित भइसकेका छन् ।