उपदान तथा पेन्सन कोषको साढे ६८ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाण्डू, नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको साढे ६८ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ५४ करोड ८० लाख, ‘ख’ वर्गका बैंकले १० करोड २७ लाख ५० हजार र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ३ करोड ४२ लाख ५० हजार बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ।

राष्ट्र बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो ।

बैंकले यही मंसिर १० गते राति ७ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष हुनुपर्ने, बैंकको तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम भएको, निष्क्रिय कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको लगायतका शर्त राखिएको छ ।

बैंक तथा वित्तीय संस्थाले अन्य थप शर्त राखी प्रस्ताव पेश गर्न पाउने छैनन् । यदि थप शर्त राखेर प्रस्ताव भएको अवस्थामा त्यस्तो शर्त मान्य हुने छैन् ।

कोषको रकम लगानी गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक अवकाश कोष व्यवस्थापन समितिले गरेको निर्णय अन्तिम हुनेछ ।

बैङ्कको ऋण तिर्नु पर्दैन भन्ने र उद्योगबाट बिलबमोजिम बक्यौता नउठाएर बिजुलीको लाइन काट्ने दुवै देशको अर्थतन्त्र ध्वस्त पार्न खोज्ने शक्ति : प्रधानमन्त्री ओली

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले कानूनविपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट पारेका छन् ।

नेकपा ९एमाले०का काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभामा सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली काङ्ग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताएका हुन् ।

आफूहरुविरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौडिने जनाउँदै उनले कागले कान लग्यो भन्दैमा कागका पछिपछि आकाशतर्फ हेरेर कागका पछिपछि दौडिन आवश्यक नरहेको बताए ।

“आफैँ सरकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुख छाड्ने, गाली गर्ने जस्ता काम भएका छन्।

यस्ता कुनै पनि प्रकारको ठगी सह्य हुँदैन। नेपाली जनता आफ्नो संस्कृतिको इतिहास र गौरवलाई कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पूूरा गर्न अघि बढ्नेछ।

नेपाली जनता भ्रममा पर्दैननन्’’, प्रधानमन्त्री ओलीले भने, “अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोज्नेहरुले सार्वभौम जनताको भविष्यलाई सङ्कटमा पर्ने प्रयास गरिरहेका छन्।

यसमा हामी सचेत रहनुुपर्छ। हाम्रा लागि देश र जनता प्रमुख कुरा हो। त्यसमा हामी दृढ तथा एकताबद्ध भएर लाग्नुुपर्छ।’’

प्रधानमन्त्री ओलीले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अरबौँका मालिक बनेकाहरूले आफ्नो विरुद्ध आरोप लगाउँदै हिँडेका स्पष्ट गदै आफूमाथि भ्रष्टाचारको औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिए र

अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार समाज र समुदायबिच अनेक खालका विद्वेष फैलाउने कार्यलाई निरूत्साहित गर्न लाग्ने बताए ।

बैङ्कको ऋण तिर्नु पर्दैन भन्नेले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने उल्लेख गर्दै उनले उद्योगबाट बिलबमोजिम बक्यौता नउठाउने तर बिजुलीको लाइन काट्ने काम पनि देशको अर्थतन्त्र ध्वस्त पार्न खोज्ने शक्तिले गरेको दावी गरे ।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन, निर्देशिका बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुने

काठमाण्डू, धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन गरिएको छ ।

उक्त निर्देशिकाको नाम “धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौं संशोधन) निर्देशिका, २०८१” रहेको छ । यो निर्देशिका बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ मा परिच्छेद–२क। थप सम्बन्धमा धितोपत्र बाँडफाँड तथा निष्कासन निर्देशिका, २०७४ को दफा ११ पछि परिच्छेद–२क। थपिएको छ ।

यस परिच्छेदमा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर निष्कासन तथा कारोबार सम्बन्धी विशेष व्यवस्था रहेको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ लाई संशोधन गर्न वाञ्छनीय भएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले यो निर्देशिका बनाएको हो ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर निष्काशनमा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले शेयर जारी गर्न चाहेमा ऐन, नियमावली तथा यस परिच्छेद बमोजिमको प्रक्रिया पूरा गरी शेयर निष्कासन गर्न सक्ने व्यवस्था छ ।

शेयर निष्कासन गर्दा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले नियमावलीको नियम ९ को उपनियम (१) बमोजिम जारी पुँजीको दश प्रतिशतभन्दा घटी र उनन्चास प्रतिशतभन्दा बढी नहुने गरी नियमावलीको नियम ४१ ख बमोजिम गैरआवासीय नेपालीको लागि मात्र शेयरको निष्कासन गर्नु पर्नेछ ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी भनेको नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी हो ।

यस व्यवस्था अनुसार निष्कासन गरिने शेयर गैरआवासीय नेपालीले मात्र खरिद गर्न सक्नेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले प्रिमियम थप गरी शेयर निष्कासन गर्न भने नसकिने उक्त निर्देशिकामा व्यवस्था गरिएको छ ।

पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

एजेन्सी, पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् ।

१६ जना गम्भीर घाइते भएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा विहीबार बन्दुकधारीले आक्रमण गरेका हुन् ।

आक्रमणमा महिला र बालबालिकाहरु पनि मारिएका छन् । आक्रमणको जिम्मा कसैले लिएको छैन् ।

बुधबार पनि खैबर पख्तुनख्वाह प्रान्तमा आक्रमण हुँदा १२ जना सुरक्षाकर्मी मारिएका थिए ।

अफगानिस्तानको सीमा नजिक पर्ने यो क्षेत्रमा सशस्त्र शिया र सुन्नी मुसलमानबीच दशकौंदेखि भूमिसम्बन्धी विवाद छ ।

स्तरबृद्धि रोकेको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित

जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षकहरूका स्तरबृद्धि रोकेको भन्दै शिक्षक तथा कर्मचारीहरू आन्दोलित बनेका छन् ।

प्रतिष्ठानमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीहरूको पक्षमा उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट मिति २०८१ भाद्र २६ गते फैसला कार्यान्वयन नभए पनि प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले फैसला कार्यान्वयनमा आनाकानी गर्दा कर्मचारी तथा शिक्षकहरू आन्दोलित भएका हुन् ।

कार्तिक २६ गतेदेखि आन्दोलनमा उत्रिएका कर्मचारी तथा शिक्षकहरूसँग कार्तिक २७ गते दिउसो ३ बजे पदाधिकारी र आन्दोलनरत पक्षविच भएको दुई पक्षीय वार्ताबाट ५८ जना शिक्षक तथा कर्मचारीहरूको स्तर वृद्धि गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्ले स्तर वृद्धि गर्ने निर्णय गरी अनुमोदनका लागि सभा (सिनेट) मा पेस गर्ने निर्णय भएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखि स्थायी रूपमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको स्तर वृद्धि तथा नियमावली अनुसारको तलब र भत्ता नपाएको भन्दै उनीहरू उच्च अदालत सुर्खेत जुम्ला इजलास पुगेका थिए ।

कार्तिक २८ गते प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको सभा बैठकबाट पनि उक्त निर्णय अनुमोदन भइसकेको हुँदा पनि प्रतिष्ठानका उपकुलपतिले कार्यान्वयन गर्न नमानेको आन्दोलनरत कर्मचारी इन्द्रराज डाँगीले बताए ।

‘उच्च अदालतको आदेश र प्रधानमन्त्री अध्यक्ष भएको प्रतिष्ठानको सभा बैठकले निर्णय गरिसक्दा पनि उपकुलपति रावलले नियतवश आलटाल गर्दा हामी आन्दोलित हुनुपरेको छ,’ उनले भने, ‘उपकुलपति अदालत र प्रतिष्ठानको सिनेट भन्दा माथि हुँ भन्ने जस्तो घमन्ड देखाइराखेका छन् ।’

उच्च अदालत र प्रतिष्ठानको सभा (सिनेट) ले गरेको निर्णयलाई उपकुलपति डा। रावलले कार्यान्वयन नगर्दा आन्दोलनरत कर्मचारी तथा शिक्षकले मंसिर ३ गतेबाट प्रतिष्ठानको शैक्षिक भवन, पदाधिकारी कार्यकक्ष र सम्पूर्ण प्रशासनमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिष्ठानमा ताला लागेको एक साता बित्न लाग्दा पनि उपकुलपतिलाई भने कुनै चासो र चिन्ता नभएको कर्मचारी तथा शिक्षकहरूको आरोप छ ।

आन्दोलनका कार्यक्रमहरू अन्तर्गत आवश्यक छलफल तथा सहजीकरणको लागि मंसिर ४ गते जिल्ला समन्वय समितिको सभा हल र मंसिर ५ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत प्रतिष्ठानका पदाधिकारीहरू सो विषयप्रति संवेदनशील नभएकाले कुनै पनि निर्णय हुन सकेन ।

मंसिर ४ गते बसेको सर्वदलीय बैठकको निर्णय अनुसार आन्दोलनरत पक्षबाट मंसिर ५ गतेदेखि ओपिडी सेवा बन्द गर्ने कार्यक्रम रहेकोमा ओपीडी सेवा हाललाई बन्द नगरिदिनका लागि अनुरोध गर्ने निर्णय अनुसार हाल अस्पतालका सम्पूर्ण सेवाहरू सञ्चालनमा रहेको छन् ।

सर्वदलीय बैठकमा प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत पक्षले आन्तरिक रूपमा छलफल गरी निकासमा पुग्नुपर्ने भनिएता पनि उपकुलपति स्वयम उदासीन बनेको आन्दोलनकारीको भनाइ छ ।

उपकुलपति स्वंयम २०७४ चैत्र ९ गते कार्यकारी परिषद्को निर्णयबाट मात्र बढुवा भई मिति २०७७ पुस २० गते प्रतिष्ठानको कुनै पनि नियममा नभएको थप जिम्मेवारी सोही कार्यकारी परिषद्बाट लिई उपकुलपति पदमा नियुक्त भई हालसम्म उपकुलपति वनेका हुन् ।

२०८१ कार्तिक २७ गते शिक्षक तथा कर्मचारीहरूलाई कार्यकारी परिषद्ले बढुवा गर्ने निर्णय गरी कार्तिक २८ गतेको सभाको बैठकले समेतले सो निर्णय अनुमोदन गरिसक्दा पनि उपकुलपतिले व्यक्तिगत स्वार्थका कारण शिक्षक तथा कर्मचारीहरूलाई बढुवा गर्न आलटाल गरिरहेको उनीहरूको आरोप छ ।

तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो सुनको भाउ

काठमाण्डू, साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो । यस्तै महासंघका अनुसार चाँदीको मूल्य तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको थियो । जसअनुसार शुक्रबार तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको हो ।

रसुवाको गोसाइँकुण्डमा जुत्ताभित्र लुकाएर ल्याएको दुई किलो सुनसहित एक जना पक्राउ

रसुवा, प्रहरीले दुई किलो सुनसहित रसुवाबाट एक जनालाई पक्राउ गरेको छ ।

कालिका गाउँपालिका-१ ग्राङबाट सुनसहित गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले जानकारी दिए ।

अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लामाले लगाएको दुवै जुत्ताभित्र लुकाई छिपाई ल्याएको उक्त सुन फेला पारी पक्राउ गरिएको हो ।

आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

एमालेले काठमाडौँको दरबारमार्गमा आज सभा गर्दै, सत्तामा बसेर सास्ती दिएको भन्दै सर्वसाधारणको आक्रोश

काठमाण्डू, सत्तारुढ नेकपा एमालेले काठमाडौँको दरबारमार्गमा आज सभा गर्दैछ ।

सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने भएका छन् ।

एमालेको र्‍याली भद्रकालीबाट सुरु भएर सुन्धारा, वीर अस्पताल, घन्टाघर रत्नपार्क हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने छ । आजै ललितपुरको बालकुमारीमा दुर्गा प्रसाईँको अभियानले पनि प्रदर्शन गर्दै छ ।

प्रदर्शनले सडक र सवारीलाई सास्ती मात्रै दिएको छैन । सरकारी तथा निजी कार्यालयहरू पनि ठप्प बन्न पुगेका छन् ।

कर्मचारीहरूले १२ बज्नै लाग्दा पनि आफ्नो कार्यालय पुग्न सकेका छैनन् । सेवाग्राहीको अवस्था पनि उस्तै छ । कार्यालय पुगेका सेवाग्राहीले आफ्नो काम गराउन पाएका छैनन् ।

राजधानीका विद्यालयहरूमा यसको असर परेको छ । विद्यार्थी र शिक्षकहरू अहिलेसम्म पनि विद्यालयमा पुग्न सकेका छैनन् ।

घण्टौँ जाममा फसेका सर्वसाधारणहरूले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । आफै सत्तामा बस्ने अनि आफै जनतालाई सास्ती दिने भन्दै उनीहरूले आक्रोश व्यक्त गरिरहेका हुन् ।

सभाअघि एमालेले काठमाडौँको भद्रकालीबाट र्‍याली निकाल्ने जनाएको छ । र्‍याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने र यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।

पार्टीले विरोधीहरुलाई आफ्नो तागत देखाउन आयोजना गरेको यो प्रदर्शनलाई तटस्थ विश्लेषकहरूले भने बेतुकको ठानेका छन् ।

सत्तारुढ दलले नै आवागमन प्रभावित हुने गरी सडकमा कार्यकर्ता उतार्नुको कुनै औचित्य नरहेको उनीहरूको तर्क छ ।

एमालेको सभालाई मध्यनजर गर्दै आज बिहानैबाट ट्राफिक प्रहरीले दरबारमार्गमा यातायात आवागमन बन्द गराएको थियो । जसले गर्दा आसपासका सडकहरूमा सवारीको चाप बढेको छ ।

केशरमहल, जयनेपालहल, महेन्द्र शालिकबाट गाडीहरू डाइभर्सन गरिएको उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएपपी) उमाप्रसाद चतुर्वेदीले बताए ।

विशेषगरी काठमाडौं उपत्यकाको रिङरोडमा सवारी साधन र प्रदर्शनकारीको चाप बढिसकेको छ ।

माइतीघरदेखि दरबारमार्ग प्रस्थान गर्ने मुख्य मुख्य ठाउँमा अहिले सवारी साधनको चाप बढिरहेको एसएसपी चर्तुवेदीले जानकारी गराए ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा कुमारपछि छविको पनि बयान सकियो, अब रविको पालो

काठमाण्डू, काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा प्रहरी नियन्त्रणमा रहेका गोर्खा मिडियाका सञ्चालक पूर्वप्रहरी नायव महानिरीक्षक ९पूर्वडीआईजी० छविलाल जोशीलाई काठमाडौं ल्याएर बिहीबार बयान लिइएको छ ।

यही मङ्सिर ४ गते कास्कीको पोखराबाट काठमाडौं ल्याइएका जोशीसँग बिहीबार दिनभर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता सीताराम अर्यालले जानकारी दिए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौंमा पनि जाहेरी परेपछि बयान लिन ल्याइएको थियो ।

जोशीसँगै उक्त सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेविरुद्ध पनि काठमाडौ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

अब लामिछानेलाई पनि बयानका लागि ल्याइने जनाइएको छ । सोही प्रकरणमा अर्का आरोपी कुमार रम्तेललाई बयान लिएर पुनः पोखरा पठाइसकिएको छ ।

यसअघि रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रुपन्देही लगेर लामिछाने र जोशीलाई बयान लिइसकिएको छ ।

गत आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछाने र पूर्वडीआईजी जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उक्त सहकारीको रकम अपचलनमा ६०० भन्दा बढी पीडितले जाहेरी दिएका छन् ।

मोरङको उर्लाबारी – ३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक जना घाइते

विराटनगर, मोरङमा दुईवटा मोटरसाइकल आसपमा ठोकिँदा तीन जना युवाको मृत्यु भएको छ।

बिहीबार साँझ पूर्व–पश्चिम राजमार्गमा पर्ने मोरङको उर्लाबारी –३ मंगलबारे भन्ने ठाउँमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको हो ।

घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक छ।

मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका –५ का ३३ वर्षीय दीपक धिमाल, मोरङकै कानेपोखरी गाउँपालिका –४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङ र बेलबारी नगरपालिका –८ का २६ वर्षीय अमित लिम्बू रहेका मोरङका डीएसपी बेद जोशीले जानकारी दिए।

‘तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल र पश्चिम दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोरङकै पथरीशनिश्चरे –५ का ३८ वर्षीय विष्णु धिमालको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

धिमालको अरनिको अस्पताल उर्लाबारीमा, गुरुङको मदन भण्डारी अस्पताल मङ्गलबारेमा र अमृतको विएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो।

दुर्घटनामा परेका दुवै मोटरसाइकल कसले चलाएको थियो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ।

मृतक दीपक र विष्णु नातेदार भएका बताइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी जोशीले बताए।

सत्तारुढ एमालेले शुक्रवार काठमाडौंको दरबार मार्गमा जागरण सभा गर्ने

काठमाण्डू, सत्तारुढ नेकपा एमालेले शुक्रवार काठमाडौंको दरबार मार्गमा जागरण सभा गर्ने भएको छ ।

अराजकतावादीले निराशा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्न लागेको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेका विरुद्ध जागरण अभियान भएको बताएका छन् ।

देश बन्दै छ, हामी बनाउँछौं भन्ने सन्देश जनतालाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएकाले पार्टीले जागरणसभा गर्न लागेको उनको भनाइ छ ।

‘हामीले सामाजिक सद्भावका लागि पनि जागरण अभियान चलाउन लागेका हौँ । यो अपिल जनतामा लैजान खोजेको हो,’ ज्ञवालीले भने– ‘अहिलेको सरकारले जनतलाई सेवा दिने कुरामा कमजोरी गर्नुहुन्न ।

तर, अहिले केही भएको छैन भनेर बाहिर जे भाष्य निर्माण गर्न खोजिएको छ त्यसले देशको मनोबल कमजोर बनाउने प्रयास भएको छ ।

राष्ट्रको मनोबल कमजोर हुनु भनेको राजनीतिक दल मात्रै होइन सञ्चार क्षेत्र पनि कमजोर बन्नु हो ।’

एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ । उक्त कार्यक्रमको नेतृत्व गर्ने जिम्मा बागमती अध्यक्ष कैलाश ढुंगेललाई दिइएको छ ।

भृकुटीमण्डपमा तय गरिएको जागरण सभा ठाउँ सानो भएकोले दरबारमार्गमा गर्ने निर्णय गरिएको एमालेले जनाएको छ ।

भद्रकालीबाट शुरू हुने जुलुस, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुने बताइएको छ ।

यस्तो छ मंसीर ७ गते शुक्रबार तपाईंको राशिफल

मेष: समय त्यति उपयुक्त देखिँदैन । पेट गडबड, परिवारमा विवाद, अनिद्रा, तनाव हुन सक्छ ।

वृष: तपाईंका लागि दिन शुभ फलदायक छ । लाभ, कार्य सफलता, इज्जत–प्रतिष्ठा बढ्न सक्छ ।

मिथुन : सतर्क रहनु बेस हुन्छ । धन हानि, मानसिक तनाव, आँखामा समस्या आउन सक्छ ।

कर्कट: दिन बलवान् देखिन्छ । कार्य सफल, मान–सम्मान, उपहार प्राप्ति, सुख–सन्तोष होला ।

सिंह: सजग रहनुहोस् । समय बलवान् नहुँदा धन हानि, विवाद, स्वास्थ्य समस्या हुन सक्छ ।

कन्या: तपाईंका लागि दिन शुभ भएकाले विविध लाभ, खाद्यपदार्थ प्राप्ति, पारिवारिक सुख होला ।

तुला: शुभ समयको आगमन भएकाले कार्य सिद्धि, लाभ, प्रसन्नता, पैसा प्राप्ति, सुख होला ।

वृश्चिक: समय उपयुक्त देखिँदैन । राज्यका तर्फबाट भय, अपयश, व्यापारिक झमेला आइलाग्ला ।

धनु: दिन अनुकूल नभएकाले रोग, कष्ट, धन हानि, अस्वस्थता, कार्य बाधा नहोला भन्न सकिन्न ।

मकर: समय राम्रो आएको छ । धन लाभ, यश, समस्या समाधान, जीवनसाथीबाट सहयोग होला ।

कुम्भ: तपाईंका लागि दिन शुभ छ । आर्थिक लाभ, शत्रु विजय, पारिवारिक सुख हुने देखिन्छ ।

मीन: समय अनुकूल नहुँदा सजग रहनु बेस । कार्य बाधा, धन हानि, स्वास्थ्य समस्या आउन सक्छ ।

रसुवागढी जलविद्युत् आयोजनाले थाल्यो विद्युतउत्पादन, वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुने

रसुवा, लामो प्रतिक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७/३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको हो ।

आयोजनाले परीक्षणका रूपमा चार दशमलव दुई मेगावाट विद्युत् उत्पादन गरेको थियो । परीक्षण सफल भएपछि अब क्रमशः विद्युत् उत्पादन बढाउँदै लगिनेछ ।

सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी करिब एक महिनाभित्रमा आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिने आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध–सञ्चालक छवि गैरेले बताए ।

टिमुरे -तातोपानीे स्थित विद्युत्गृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर लामो एक सय ३२ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।

उक्त विद्युत् चिलिमे–त्रिशूली र त्यहाँबाट त्रिशूली–काठमाडौँ दुई सय २० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।

चिलिमे–त्रिशूली दुई सस २० केभी प्रसारण लाइनलाई निर्माण सम्पन्न गरी गत कात्तिक २१ गतेबाट सञ्चालनमा ल्याइएको थियो ।

रसुवागढीबाट उत्पादित विद्युत्बाट हिउँदयाममा काठमाडौँ उपत्यकाका हुने विद्युत् माग व्यवस्थापनका लागि सहज हुनेछ ।

सुक्खायाम सुरुसँगै भोटेकोशीमा पानीको बहाब घट्न सुरु भएसकेकाले रसुवागढी आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनेछैन ।

हिउँदमा आयोजनाबाट ३७ मेगावाट मात्र विद्युत् उत्पादन हुनेछ ।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा विद्युत्गृह, बाँध, सुरुङलगायत सिभिल संरचना र इलेक्ट्रोमेकानिकल काम गर्न चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनसँग ३० पुस २०७० मा ठेक्का सम्झौता भएको थियो ।

इलेक्ट्रोमेकानिकल कार्यका लागि भोइथ हाइड्रो प्रालि भारतसँग १५ साउन २०७१ मा ठेक्का सम्झौता भएको थियो ।

वि.सं २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहने ठूलो बाढी, पहुँच मार्गमा निरन्तर खसिरहने पहिरो, कोभिड–१९को महामारीलगायत कारण आयोजनाको निर्माण प्रभावित भएको थियो ।

आयोजनाबाट गत चैतसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखी सम्पूर्ण निर्माण सम्पन्न गरिएको थियो ।

तर, आयोजनाको विद्युत् जोडिने चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण लाइन निर्माण सम्पन्न गर्न केही समय लागेकाले विद्युत् उत्पादन केही ढिलाइ भएको हो ।

प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए )गर्ने समयमा आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक रु १३ अर्ब ६८ करोड ४२ लाख तय गरी सोही आधारमा ५० प्रतिशत स्वपुँजी इक्विटीे र ५० प्रतिशत ऋणबाट जुटाइएको थियो ।

आयोजना निर्माण अगाडि बढाउने समयमा मुख्य रूपमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन भएको कारण संशोधित अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक रु १५ अर्ब १८ करोड ३७ लाख कायम गरिएको थियो ।

काबुबाहिरको परिस्थितिका कारण आयोजना निर्माण अवधि बढ्दा र डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दा आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक अनुमानित लागत रु १८ अर्ब ६९ करोड छ । निर्माण अवधिको ब्याज रु छ अर्ब पुग्ने अनुमान गरिएको छ ।

कम्पनीमा चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३२ दशमलव ७९ प्रतिशत, प्राधिकरणको १८ प्रतिशत, रसुवाका स्थानीय तहको शून्य दशमलव २१ प्रतिशत संस्थापक शेयर छ ।

आयोजनाले ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋणबाट लगानी जुटाएको थियो । आयोजनामा कर्मचारी सञ्चाय कोषले ऋण प्रवाह गरेको छ ।

निर्माण अवधि लम्बिएर कर्जा बढ्दा ऋण ६० प्रतिशत र इक्विटी ४० प्रतिशत कायम भएको छ ।

कम्पनीमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको १५ दशमलव पाँच प्रतिशत, कम्पनीका संस्थापक संस्थाहरू प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारी तथा ऋणदाता संस्था, कर्मचारी सञ्चयकोषेका कर्मचारीको चार दशमलव पाँच प्रतिशत, आयोजना प्रभावित रसुवावासीको १० प्रतिशत र आमसर्वसाधारणको १५ प्रतिशत गरी ४९ प्रतिशत साधारण सेयर रहेको छ ।

आयोजनाबाट वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक रु तीन अर्ब २५ करोड आम्दानी हुनेछ ।

सहकारीका समस्या सम्बोधन गर्न संस्थागत सुशासन र नियमनका लागि आधा दर्जन कानून परिमार्जनको तयारी

काठमाण्डू, बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्नमाथि कानूनी कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले संस्थागत सुशासन र नियमनका लागि आधा दर्जन कानून परिमार्जनको प्रक्रिया पनि अगाडि बढाएको छ ।

सहकारीसम्बन्धी समस्या सम्बोधन गर्न विधेयकको मस्यौदा तयारीका लागि प्रधानमन्त्री कार्यालयका कानून सचिव फणीन्द्र गौतमको संयोजकत्वमा गठित समितिले कानून संशोधनका विषय पहिचान गरेको छ ।

विषय पहिचान र विधेयक मस्यौदा तर्जुमाका लागि ३० दिनको समय दिएर सचिव गौतमको संयोजकत्वमा समिति बनेको थियो ।

समितिले सहकारी ऐनसहित प्रचलित आधा दर्जन कानून संशोधनको विषय पहिचान गरिसकेको छ । अब मस्यौदा तयार पारी पेस हुने छ ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनको सुझाव तथा तात्कालीन समस्या सम्बोधनका लागि कानून संशोधनको तयारी गरिएको हो ।

संसद्को हिउँदे अधिवेशनमा विधेयक पेस गर्ने गरी विषय पहिचान भएका छन् ।

पछिल्लो समय बचत रकम हिनामिनामा संलग्नमाथि चरणबद्ध अनुसन्धान एवं सर्वसाधारणको बचत फिर्ताको प्रक्रिया सरकारले अगाडि बढाइरहेको छ ।

संयोजक गौतमले संशोधनका मोटामोटी विषय पहिचान भएको र मस्यौदा तर्जुमा गरी चाँडै पेस हुने बताएका छन् ।

गौतमले भने, “कुन कुन कानूनमा के कस्ता संशोधन गर्ने भन्ने विषय पहिचान भएका छन् । संस्थागत सुशासनसँगै नियमनसँग जोडिएका कानून सुधारका लागि हामीले गृहकार्य गरेका छौँ ।”

सहकारी ऐन, नेपाल राष्ट्र बैङ्क ऐन, निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन र बैङ्क तथा वित्तीय संस्थाका प्रचलित ऋण असुलीसँग सम्बन्धित कानून संशोधनका लागि विषय पहिचान भएका हुन् ।

समितिले बचत तथा ऋण सहकारीको मर्मलाई थप बलियो बनाउन सहकारी ऐनमा हुने संशोधनका विषय पहिचान गरेको छ ।

सहकारीको वर्गीकरण, दर्ता, कारोबारको क्षेत्र, बचत रकमको सीमालगायतमा संशोधन गर्न लागिएको छ ।

ऋण प्रवाह र बचतका विद्यमान व्यवस्थालाई पनि परिमार्जन गर्ने गरी विषय पहिचान भएका छन् । व्यक्तिगत र संस्थागत बचतकर्तालाई फरक सीमा गर्ने गरी गृहकार्य भइरहेको छ ।

यस्तै कर्जा तथा निक्षेप सुरक्षणका लागि पनि कानूनमा व्यवस्था गर्न लागिएको छ । यसका लागि निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन र नेपाल राष्ट्र बैङ्क ऐन संशोधन हुने छ ।

निक्षेप र कर्जा दुवै सुरक्षणतर्फ निश्चित सिलिङ तोक्ने गरी प्रचलित कानूनमा संशोधन गर्ने गरी विषय पहिचान भएको छ ।

ऋण असुली न्यायाधीकरणसम्बन्धी कानून व्यवस्थाका लागि प्रचलित कानूनमा संशोधन गर्न लागिएको छ ।

सहकारीलाई छुट्टै नियमनकारी निकाय गठन गर्ने गरी विषय पहिचान भएको छ । नियमनकारी निकाय गठनका लागि कानुन सुधारको प्रक्रिया अगाडि बढाइएको हो ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिले पनि सहकारी क्षेत्रका समस्या समाधानका लागि नीतिगत सुझाव दिएको थियो ।

यस्तै संरचनागत र कानूनी सुधारका लागि पनि समितिले सरकारलाई सुझाएको थियो । समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा कानून सुधारको प्रक्रिया सरकारले अगाडि बढाएको हो ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भागमा हिमपात

काठमाण्डू, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारतस्थित उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणालीको प्रभाव परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको विभागले आज (शुक्रबार) बिहान जारी गरेको सूचनामा जनाइएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली गरी चारवटा प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ

आगामी २४ घण्टामा कोशी,बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।