नेप्सेमा उच्च अंकको वृद्धि, झण्डै ६ अर्बको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उच्च अंकको वृद्धि भएर बन्द भएको छ । आज नेप्से २७.५४ अंकले बढेर दुई हजार ९२ विन्दुमा बन्द भएको हो ।    

सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । उक्त दिन झण्डै ८१ हजार वटा कारोबारमा १ करोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । आइतबार ५ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १३४ वटाको बढेको छ भने १०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।             

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । अन्य तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने एक कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।   

आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.४० प्रतिशतले घटेको छ । सबैभन्दा बढि पोखरा फाइनान्स लिमिटेडको १९ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।   

मिनी बस दुर्घटना हुँदा दुईको मृत्यु

सुर्खेत । सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

दैलेखको दुल्लु नगरपालिकाको भुकाँहदेखि सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको मिनी बस दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका-७ को गोजेनी जङ्गल नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेहरूको उपचारको लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली कियरमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा ५ जनाको नाम सर्टलिस्ट

काठमाण्डौँ। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)पदका लागि ५ जना उमेदवारहरु सर्टलिस्टमा परेका छन् । बैंकको सीईओ नियुक्तीका लागि सिफारिस गर्न गठित सीईओ नियुक्ती सिफारिस उप समितिको जेठ ६ गते बसेको बैठकले ५ जना उम्मेदवारको नाम सर्टलिस्ट गरेको हो ।

बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिका अनुसार सर्टलिष्टमा सीईओ पदका लागि कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन् ।यी मध्ये देवेन्द्र रमण खनाल हाल बैंकको कामु सीईओ छन् ।

साथै बैंकले प्रमुख कार्यकारी अधिकृत पदका उम्मेदवारहरूका लागि प्रस्तुतीकरण र अन्तरवार्ता लागि समेत तोकेको छ । बैंकले उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्य योजनाको मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने पाँच जना उम्मेदवारहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बोलाएको छ ।

सर्टलिष्टमा परेका उम्मेदवारहरुले अन्तरवार्तामा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण गर्नुपर्ने छ । यसैगरी, अन्तरवार्ता तथा प्रस्तुतीकरणका लागि छनोट भएका उम्मेदवारहरू आफूले पेस गरेका सम्पूर्ण सक्कल कागजात सहित आगामी जेठ ९ गते राष्ट्रिय वाणिज्य बैंकको कार्यालय सिंहदरबार प्लाजामा उपस्थित हुनु पर्नेछ ।

जसमध्येबाट संचालक समितिले एक जनालाई सीईओ नियुक्त गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि हाल बैंकमा सीईओ पद रिक्त छ ।

गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०१ भन्दा बढी कम्पनीको सूची बालेनद्वरा सार्वजनिक

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भनेपछि अरु १०१ भन्दा बढि कम्पनीले गिरिबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौं बिघा जमिन बेच्न पाउने निवेदन हालेको खुलासा गरेका छन् ।

गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिइने भएपछि यसभन्दा बढी कम्पनीले निवेदन दिएको दाबी बालेनले गरेका छन् । उनले सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेल भएको हुन सक्नेसमेत दाबी गरेका छन् ।

‘सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन्’, बालेनले भनेका छन्, ‘उनीहरूको स्वर घटेको छैन । कानुन नै परिवर्तन गर्न कुरेर बसेका छन् । यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ ।’ यसै पनि सर्वोच्चले बाँझो भए वा अरू नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ ।

जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीहरू :

१. केपी ओली ट्रस्ट
२ . रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर
३ . केशरी चिया बगान पाँचथर
४. ओमटी गार्डेन प्रालि इलाम
५. सिद्धपोखरी टी–स्टेट प्रालि इलाम
६. इलाम टी–स्टेट इलाम
७. सान्भी इनर्जी प्रालि सानाजलविद्युत् आयोजना इलाम
८. माङमालुङ चियाबगान लि. इलाम
९. किरातेश्वर टी गार्डेन प्रालि त्रिशूल इलाम
१०. हिम चियाबगान प्रालि इलाम
११. फिक्कल टी एन्ड कफी कम्पनी प्रालि कन्याम पशुपति, पञ्चकन्या इलाम
१२. रोनक टी–स्टेट झापा
१३. गोमादेवी टी–स्टेट झापा
१४. झापा टी–स्टेट झाप
१५. राजगढ चिया विकास कम्पनी प्रालि भद्रपुर झापा
१६. कल्पना टी–स्टेट झापा
१७. मोहन टी–स्टेट इन्डस्ट्रिज झापा
१८. बज्रायोगिनी टी–स्टेट प्रालि झापा
१९. ज्यामिरगढी टी–स्टेट झापा
२०. राज टी–स्टेट झापा
२१. पदम टी–टेट झापा
२२. इलाम चियाबारी प्रालि झापा
२३. पौडेल बन्धु टी–स्टेट प्रालि झापा
२४. हिमाल इन्टरनेसनल प्रालि झापा
२५. नक्कलबन्दा टी–स्टेट झापा
२६. चकचकी टी–स्टेट झापा
२७. लक्ष्मी टी–स्टेट झापा
२८. सौरभ चिया उद्योग प्रालि झापा
२९. इन्टरनेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड सर्भिसेज प्रालि झापा
३०. चन्द्रगढी टी–स्टेट प्रालि झापा
३१. रोमन टी–स्टेट प्रालि झापा
३२. हडिया रियल टी–स्टेट प्रालि झापा
३३. प्रयास चिया उद्योग झापा
३४. ऋद्धि गणेश टी–स्टेट प्रालि झापा
३५. न्यू–गिरी एन्ड सन्स झापा
३६. गुप्ता टी–स्टेट प्रालि भद्रपुर झापा
३७. कुवाडीदेवी टी–स्टेट प्रालि पागनडुब्बा, झापा
३८. जीपीको इराला फाउन्डेसन मोरङ
३९. इस्टर्न स्टार कृषि तथा सहकारी स.लि मोरङ
४०. जिरी टी डेभलपमेन्ट प्रालि धनकुटा
४१. कुवापानी टी प्लान्टेसन प्रालि धनकुटा
४२. मुँगा टी गार्डेन्स प्रालि धनकुटा
४३. चुलाचुली टी–स्टेट प्र.लि धनकुटा
४४. मारुती सिमेन्ट प्रालि सिरहा
४५. केचना टी–स्टेट प्रालि दोलखा
४६. सोलु हाइड्रोपावर प्रालि (तल्लो सोलु) गार्मा र तिङला, सोलु र रसुवा
४७. अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालि सल्लेरी, तिङला, गामा, रसुवार सोलु
४८ ग्रीनभेन्चर्स प्रालि रामेछाप
४९. हिमालय ऊर्जा विकास क.(अप्पर खिम्ती) चुचुरे रामेछाप
५०. रिलायन्स सुगुर एन्ड केमिकल्स इ.प्रालि बारा
५१. गिजरा खाडाखारी मिल प्रालि बाँके
५२. युनाइटेड सिमेन्ट प्रालि नौबीसे धादिङ
५३. इको अर्गानिक फार्मस प्रालि काभ्रे
५४. गेल्डेन फ्रार्मस प्रालि कफी, तरकारी पशुपन्छी काभ्रे
५५. तिमाल इन्ट्रगे्रटेड फाउन्डेसन काभे्र
५६. युलेन्स एजुकेसन फाउन्डेसन काभ्रेपलाञ्चोक
५७. द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट काभे्र
५८. आदि शक्ति विद्युत विकास कं.प्रालि नुवाकोट
५९. नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कं. प्रालि (माथिल्लो त्रिशूली) हाकुगाविस रसुवा
६०. लिबर्टी इनर्जी हाइड्रो पावर लमजुङ
६१. आराभ नेपाल भोर्डन एग्रिकल्चर क. प्रालि लमजुङ
६२. हिमालयन पावर पार्टनरसिप लमजुङ
६३. होङ्गसी शिवम् सिमेन्ट प्रालि नवलपरासी पाल्पा
६४. सान्जेन जलविद्युत् कं.लि रसुवा
६५. सगरमाथा सिमेन्ट प्रालि हटिया, मकवानपुर
६६. घोरही सिमेन्ट उद्योग घोराही दाङ
६७. सोनापुर सिमेन्ट प्रालि दाङ
६८. रोल्पा सिमेन्ट प्रालि बुढागाउँ रोल्पा
६९. रोवष्ट इनर्जी प्रालि (मिष्ठी खोला जलविद्युत आयोजना) म्याग्दी
७०. रोड सो रियल स्टेट प्रालि कास्की
७१. सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर
ललितपुर
७२. नारायणी उष्ट प्रालि ललितपुर
७३. ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालि ललितपुर
७४. होमल्यान्ड हाउजिङ प्रा.िललितपुर
७५. सिभिल होम्स प्रालि ललितपुर काठमाडौं
७६. सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर
७७. पवनपुत्र सेक्युरिटी प्रालि ललितपुर
७८. उपहार हाउजिङ क.लि. बलम्बु काठमाडौं
७९. सिभिल इन्फ्रास्ट्रकचर काठमाडौं
८०. सिनर्जी प्रोपर्टिज डेभलप्र्स प्रालि दहचोक काठमाडौं
८१. एसबी कम्पनी प्रालि सीतापाइला, चितवन
८२. सांग्रिला हाउजिङ प्रालि काठमाडौं
८३. सि.ई कन्स्ट्रक्सन प्रालि काठमाडौं
८४. बागमती प्रपर्टी डिलर्स प्रालि. काठमाडौं भक्तपुर
८५. युरो इन्भेस्टमेन्ट् प्रालि काठमाडौं
८६. आयुषा डेभलपर्स प्रालि काठमाडौं
८७. कोहिनुर हिलहाउजिङ प्रालि काठमाडौं
८८. हेभेन्स भिलेज प्रालि काठमाडौं
८९. बृहत् इनभेन्टमेन्ट प्रालि काठमाडौं
९०. होमल्यान्ड हाउजिङ प्रालि काठमाडौं
९१. पदमा मर्चेन्ट कं. प्रालि सीतापाइला, काठमाडौं
९२. टावर हाउजिङ प्रालि काठमाडौं चितवन
९३. टचउड हाउजिङ प्रालि काठमाडौं
९४. सुभारम्भा हाउजिङ एन्ड डेभलपर्स प्रालि
९५. सीडी डेभलपर्स प्रालि काठमाडौं
९६. सिद्धार्थ हाउजिङ प्रालि काठमाडौं
९७. तनहुँ हाइड्रोपावर लि. तनहुँ
९८. लिवर्टी इनर्जी क.लि. लमजुङ
९९. काबेली इनर्जी पाँचथर
१००. हिमालय महालक्ष्मी गार्डेन प्रालि झापा
१०१. गिरिबन्धु टी–स्टेट प्रालि झापा

संसदीय समिति हाम्रो बटमलाइन हो : कांग्रेस

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा दिएको अभिव्यक्तिका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्तिका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान आकर्षण गराउने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सदनमा हिंस्रक ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको छ। गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधि सभा बैठकमा आफूमाथि लागेका आरोपबारे जबाफ दिएका थिए। सो क्रममा गृहमन्त्रीले असत्य र कपोलकल्पित कुरा राखेको कांग्रेसको भनाइ छ।

संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सोमबार बिहान बसेको संसदीय दल बैठकले गृहमन्त्री लामिछाने हिंस्रक ढंगले सदनमा प्रस्तुत भएको निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

‘हिजो गृहमन्त्रीजीले प्रतिनिधि सभामा जे कुरा बोल्नुभएको छ, त्यो यो असत्य, असभ्य, भ्रामक, कपोलकल्पित र हिस्रक ढंगले उहाँ प्रस्तुत हुनुभएको छ,’ उनले भने, ‘उपप्रधानमन्त्री र गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको मानिसले अर्कालाई प्रश्न सोध्ने होइन, उहाँकामाथि उठेका प्रश्नको जवाफ दिने हो।’

गृहमन्त्री लामिछानेले अरूका बारेमा तथाकथित विषय उठाएको पनि उनले बताए। ‘अरूका बारेमा तथाकथित विषय उठाएर उहाँ आफूमाथि लागेको अभियोगबाट भाग्ने पर्यत्न गर्नुभयो,’ उनले भने, ‘गृहमन्त्रीका अभिव्यक्तिका प्रति घोर निन्दा र भर्सना गरेका छौं।’

उनले गृहमन्त्री लामिछानेले सदनमा दिएका अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराइने पनि बताएका छन्।

‘कांग्रेसलाई लक्षित गरेर गृहमन्त्रीजीले जे-जे आरोप लगाउनुभएको छ त्यसमा निष्पक्ष, स्वतन्त्र छानबिन र अनुसन्धान गरेर प्रमाणित गर्न कांग्रेस खुला छ,’ लेखकले भने।

कांग्रेसले संसदीय छानबिन समिति आफूहरूको बटमलाइन भएको भन्दै विश्वास मत लिन आउनुअघि नै समिति बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ।

प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्विप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन राष्ट्रिय स्वतन्त्र पार्टीले ह्विप जारी गरेको छ।

सोमबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको हो।

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

फेरी बढ्यो सुनचाँदीको मूल्य

काठमाण्डौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबारतोलामा रु एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आज भने तोलामा नौ सय रुपैयाँले बढ्दै एक लाख ४१ हजार ८ सय निर्धारण भएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढ्दै तोलामा एक हजार ९४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

इरानी राष्ट्रपति रइसीको हेलिकोप्टर दुर्घटनामा निधन

काठमाडौं ।हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ। उक्त दुर्घटनामा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको पनि मृत्यु भएको छ।

आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।

राष्ट्रपति रइसी, विदेशमन्त्री अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर आइतबार इरानको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटना भएको थियो। हेलिकोप्टरमा बडिगार्ड, पाइलट, को-पाइलट, सुरक्षा प्रमुखलगायत अधिकारी पनि सवार थिए।

राष्ट्रपति  रइसी र विदेशमन्त्री अबदुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको १५ घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान भेटिएको थियो।

राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर खोज्न २० वटा भन्दा बढी उद्धार टोली खटिएका थिए। टर्की र रूसले पनि हेलिकप्टर खोज्नका लागि सहयोग गरेको थियो।

बाजुरा एमाले अध्यक्षमा ओली विजयी, उपाध्यक्ष बोहरा

धनगढी । नेकपा एमालेको बाजुरा जिल्ला कमिटीको अध्यक्षमा लालबहादुर ओली विजयी भएका छन् । अध्यक्षका पदका प्रतिस्पर्धी उम्मेदवार भरत थापालाई ओलीले १५ मतले पराजित गरेका हुन् । ओलीले कुल ४२५ खसेका मतमा २१८ मत प्राप्त गरेका छन् भने थापाले २०३ मत पाएका छन् ।

यस्तै उपाध्यक्ष पदमा जनकबहादुर बोहरा, सचिवमा काँशीबहादुर बिक, उपसचिवमा हरिबहादुर रोकाया र उपसचिव महिलामा राजकला सार्की विजयी भएकी छिन् । उनीहरू सबै ओली प्यानलबाट उम्मेदवारी दिएकाहरू हुन् ।

उपाध्यक्षमा निर्वाचित रोकाया बुढीनन्दा नगरपालिकाका नगर प्रमुख, र उपसचिवमा निर्वाचित रोकाया गौमुल गाउँपालिका अध्यक्ष र सार्की हिमाली गाउँपालिका उपाध्यक्ष हुन् । सदस्य पदको गणना हुन भने बाँकी छ । अधिवेशन जेठ १ गतेदखि सुरु भएको थियो ।

यस्तो छ तपाईंको  ७ जेष्ठ २०८१, सोमबार आजको राशिफल

मेष : आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

वृष : खर्च बढ्ने दिन छ। सकेसम्म खर्च कटौती गर्नु राम्रो हुनेछ। लगानीका अवसर धेरै भएकाले लगानी गर्दा सचेत हुनुपर्ने देखिन्छ। शिक्षामा उत्कृष्ट नतिजा प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : मनमा उत्साह बढ्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाफा हुने दिन छ। परिवारसँगको सम्बन्धमा भने खटपटी बढ्ने देखिन्छ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कर्कट : आम्दानीका स्रोत धेरै भए पनि निर्णय क्षमतामा देखिएको कमजोरीले सोचेजस्तो फाइदा नहुनसक्छ। तपाईंलाई अगाडि बढाएर बाटोमा अलपत्र पार्ने साथी सक्रिय भएकाले संगत गर्दा विवेक पुर्याउनु राम्रो हुनेछ। आफन्तबाट धोका हुने जोखिम छ। ठुला उद्योग धन्दामा लगानी नगर्नु राम्रो हुनेछ।

सिंह : योजना गोप्य ढंगले अगाडि बढाउनु राम्रो हुनेछ। परिवारको सुझाव लिएर सुरुवात गरेको कामले फाइदा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुनेछ।

कन्या : दिन रमाइलो छ। भौतिक सुख प्राप्त हुनेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। प्रतिस्पर्धी कमजोर बन्नेछन्। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवारको साथले व्यापार बढ्नेछ।

तुला : आज अधुरा काम पूरा हुने दिन छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा सुधारका संकेत देखिनेछन्। सामाजिक क्षेत्रमा सेवाको मौका मिल्नेछ। परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ।

वृश्चिक : आफ्नो महत्त्व बुझ्न नसक्दा समस्या बढ्ने देखिन्छ। लगानीका क्षेत्रमा अगाडि बढ्नु भन्दा भएको सम्पत्ति जोगाउन सक्रिय हुनुपर्नेछ। साथीले नै आक्रमण गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारको साथ प्राप्त हुनेछ।

धनु : दैनिकी रमाइलो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुने दिन छ। लगानीका क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ प्राप्त हुनेछ।

मकर : दैनिकी सहज हुनेछ। आफन्तको साथ पाइने योग छ। श्रम गरेको ठाउँबाट सन्तुष्टि मिल्नेछ। सामाजिक क्षेत्रमा विवाद हुने जोखिम रहेकाले बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। शिक्षाको लगानीले उत्साह थप्नेछ।

कुम्भ : चन्द्रमा भाग्यको स्थानमा पुगेकाले पूर्व योजना सफल हुनेछन्। चुनौती आए सामना गरेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यमा गढबढी हुने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। कुनै पनि योजना परिवारबाट नलुकाउनु राम्रो हुनेछ।

मीन : साढेसाती शनिको सुरुवात भएको छ। यसबाट जोगिन थोरै भए पनि दान गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध उत्साहपूर्ण बन्नेछ भने प्रेम सम्बन्ध सुमधुर हुनेछ।

सत्ता पक्षबाट जिम्मेवारपूर्ण कुरा आएन, झारा टार्ने समिति मानिन्न

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो आरोप लगाएका हुन् ।सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने वा नगर्ने भन्नेमा विवाद हुँदा संसदीय छानबिन समिति गठनको टीओआरमा सत्तापक्ष र विपक्षीबीच विमति देखिएको छ । 

सुप्रिम, सूर्यदर्शनसहितका सहकारीमा रकम अपचलनमा रविको संलग्नता रहेको भन्दै कांग्रेसले छानबिन समितिमा उनको नाम उल्लेख गर्नुपर्ने अडान लिएको छ । 

‘संसदीय छानबिन समिति बनाउने भन्नेकुरामा सहमति नै छ । त्यसका लागि कार्यादेशसहितको तयारी गरेर जाने भन्नेकुरा भइरहेको छ । सत्तापक्षका साथीहरुको कस्तो देखियो भने झापामा आगो लाग्यो कञ्चनपुरमा निभाउन जाउँ भने जस्तो देखियो । संघीय संसदमा देशभरमा जे विषय उठेको छ । त्यो विषयका बारेमा प्रवेश नगर्ने, बोल्दै नबोल्ने र त्यो बाहेकका अरु कुरामा प्रवेश गरेर झारो टार्ने रुपमा प्रस्तुत हुनुभएकाले कुरा मिलिरहेको छैन’ लेखकले भने । उनले समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्ने भन्ने कुरा उल्लेख गरेर जानुपर्ने आफूहरूको धारणा रहेको बताए ।

प्रतिनिधिसभा बैठक फेरि सर्‍यो

काठमाडौं । दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक ४ : ३० बजे बस्ने गरी बोलाइएको छ। यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठकसमेत स्थगित भएको थियो।

सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगिन नसकेकाले सदन अन्योल भएको हो ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले रवि लामिछाने संलग्न गोरखा मिडिया ग्रुप र त्यसमा लगानी भएको रकम निकालिएका सहकारीको बारेमा संसदीय छानबिन आवश्यक भएको भन्दै त्यसबाहेक अरुमा सहमति हुन नसक्ने अडान लिएको छ ।

कानून मन्त्रालयमा दिनभर भएको कार्यदलको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशमा यही विषय राख्नेमा कुरा नमिलेको हो । कांग्रेसले गृहमन्त्रीलाई मातहत निकायले अनुसन्धान र बयान गराउन नसक्ने भएकैले संसदीय छानबिन आवश्यक रहेको प्रष्ट पारेको छ ।

सत्ता पक्ष भने सहकारीको नाम उल्लेख गरेपनि रविको नाम उल्लेख गरेर कार्यादेश नबन्ने अडानमा छन् ।

विश्वास मतमा सहभागी नगराउन माग गर्दै उपेन्द्रले दिए सर्वोच्चमा रिट

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा अर्को रिट दायर गरेका छन्। जसपा नेपालबाट विभाजित भई अशोक राई नेतृत्वमा गठित जनता समाजवादीका ७ जना प्रतिनिधि सभा सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै रिट दिएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबारको प्रतिनिधि सभामा विश्वास मतको प्रस्ताव राख्ने तयारी गरेका छन्। यसका लागि संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर प्रधानमन्त्री कार्यालयले पत्राचारसमेत गरेको छ।

उनले आफ्नो पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए। नयाँ पार्टी अवैधानिक भन्दै सो पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छथियाे ।

गत जेठ २ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले जसपा नेपाल र जसपालाई छलफलका लागि बोलाएको थियो। जेठ ८ गते छलफलमा आउन भनिएको थियो।

राई नेतृत्वको जनता समाजवादी पार्टीलाई यथास्थितिमा राख्‍न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश पनि दिएको थियो।

भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईलीसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसहित ८ जनाविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नायब सुब्बा अग्नी बहादुर शाही र नायब सुब्बा अग्नी बहादुर शाही, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल र बिमल बहादुर रावलविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर भएको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० तथा दफा २२ को प्रतिवन्धात्मक व्यवस्थाबमोजिम उनीहरूविरूद्ध २४ करोड ६ लाख ६९ हजार बिगो माग दाबी गरेको छ ।

उनीहरूले कैलालीको साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.बि. जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरिदिएको अख्तियारको छ ।

४५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि ५ अर्ब नाघ्याे

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २.२६ प्रतिशत बढेको छ । आइतबार नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८६ अंक बढेको छ।

यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २५ करोडको भयो । सबै क्षेत्रका सूचकहरु बढेका छन् । बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ । जीवन र निर्जीवन बीमा  सबैभन्दा धेरै बढे ।

दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमालयन लघुवित्तको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको माण्डु हाइड्रोपावरको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन फस्ट माइक्रोफाइनान्सको साढे ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार रकम ११ करोड नाघेको छ।