महालेखा परीक्षकको ६१औँ प्रतिवेदनअनुसार कर्णाली प्रदेशको बेरुजु चार अर्ब

सुर्खेत । महालेखा परीक्षकको ६१औँ प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकारको बेरुजु रकम बढेको देखिएको छ ।

प्रदेश सरकार र अन्य मातहतका सरकारी कार्यालयको बेरुजु रकम करिब चार अर्ब पुगेको छ । प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकार र मातहतका निकायको बेरुजु रकम रु तीन अर्ब ९४ करोड ८२ लाख ५४ हजार पुगेको हो । आर्थिक वर्ष २०७८-७९ सम्म कर्णाली प्रदेशको कूल बेरुजु रु दुई अर्ब ९८ करोड ५० लाख दुई हजार रकम रहेको थियो ।

आव २०७९-८० मा मात्रै रु ९६ करोड ७७ लाख ५२ हजार रकम बेरुजु थप भएको महालेखा परीक्षकको प्रतिवेदनमा जनाइएको छ । प्रदेश सरकार र मातहतका कार्यालय गरी एक सय ५५ कार्यालयको रु ३७ अर्ब ३३ करोड ६८ लाख ९७ हजारको लेखापरीक्षण गरिएकामा रु ९६ करोड ७७ लाख ५२ हजार बेरुजु देखिएको हो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनअनुसार सात वटा प्रदेशमध्ये कर्णालीको बेरुजु देशभरकै दोस्रो नम्बरमा रहेको बताइएको छ । कर्णालीको दुई दशमलव ५९ प्रतिशत बेरुजु रहेको छ ।

छानबिन समितिको कार्यादेशलाई अन्तिम रूप दिन कार्यदलको बैठक जारी

काठमाडौँ । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन कार्यदलको बैठक बसिरहेको छ । कानून मन्त्रालयमा जारी बैठकले टीओआरलाई अन्तिम रूप दिनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा भएको कार्यदलको बैठकले सहमति जुटाएकोले आज जेठ १५ गते ११ बजे बस्ने कार्यदलको बैठकले अन्तिम रुप दिनेछ । त्यही समयमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले विपक्षी दलहरुको बैठक पनि बोलाएका छन् ।


२०८१ जेठ १४ गते बेलुका जुटेको सहमति अनुसार सहकारी ठगी प्रकरणमा गठन हुने संसदीय समितिको कार्यक्षेत्रमा रवि लामिछानेको नाम भने उल्लेख हुने छैन् । तर, लामिछाने आवद्ध भएको गोर्खा मिडियाको भने उल्लेख हुनेछ ।

मिडियाले सहकारीको रकम कसरी अपचलन गरेको थियो भन्ने अनुसन्धान गर्नेछ । कांग्रेसले सुरु देखि नै संसदीय छानबिन समितिमा रवि लामिछानेको नाम उल्लेख हुनुपर्ने अडान राख्दै आएको थियो ।


   सत्ता पक्ष उक्त अडानमा सहमत नभएका कारणले समिति गठनमा समस्या भएको थियो । अहिले सत्ता पक्ष लामिछानेको नामको सट्टा उनी आबद्ध भएको पहिलाको कम्पनी गोर्खा मिडिया भने उल्लेख गर्न सहमत भएका छन् । त्यही सहमतिपछि संसदीय समिति गठनका लागि बाटो खुलेको हाे ।

उक्त बाटो खुलेसँगै आज २०८१ जेठ १४ गतेको बजेट भाषण पनि सहज रुपमा आउन लागेको छ । सहमतिका लागि सरकारले विपक्षीलाई निरन्तर दबाबमा राख्न खोजेको थियो ।   


  प्रतिपक्षी नेता शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री देउवा निवासमै पुगेका थिए । उक्त छलफलपछि वातावरण सकरात्मक भएको थियो । त्यसो त, कांग्रेसभित्र पनि समिति गठनको विषयलाई लिएर दुईधार देखिएको थियो ।


 सभापति देउवा पक्ष सहमतिका लागि लचिलो बन्न चाहे पनि महामन्त्री गगन थापा पक्ष लचिलो बन्न नहुने पक्षमा थियो । त्यही कारण सहमति जुटाउन समस्या परेको थियो । साथै, महामन्त्री थापा पक्षका नेता जीवन परियार समिति गठनका लागि कार्यक्षेत्र टुंगो लगाउने कार्यदलको सदस्य थिए, त्यसमा देउवाले पछि ज्ञानेन्द्रबहादुर कार्की थपेका थिए । २०८१ जेठ १४ गते बेलुका सहमति जुटाउने बैठकमा भने उपसभापति पूर्णबहादुर खड्कालाई पठाएका थिए ।

त्यसैले, कांग्रेसको दुईधारमा अहिले सभापति देउवा लाइन हावी भएर सहमति जुटाएको चर्चा पनि गरिन्छ । थापा लाइन भने यो विवादलाई थप लम्ब्याउन चाहन्थ्यो भन्ने चर्चा पनि कांग्रेसभित्र भइरहेको छ ।

हिजो बालुवाटारमा शीर्ष नेताहरूको बैठकले ७ सदस्यीय छानबिन समिति बनाउने सहमति गरेसँगै टीओआरलाई आज अन्तिम रूप दिन लागिएको हो । कार्यदलले अन्तिम रूप दिएपछि कार्यादेश शीर्ष नेताहरूले टुङ्ग्याउने छन् ।

समितिमा पाँच दलका प्रतिनिधि रहनेछन् । जसमा एमाले र काँग्रेसबाट दुई/दुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एकरएक जना रहने छन् । समितिलाई प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ ।

दलीय सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि सरेको छ ।

यसअघि दिउँसो १ बजेको लागि प्रतिनिधिसभाको बैठक तय थियो । संसद्मा प्रतिनिधित्व गर्ने दलबीच सहमति नजुटेपछि बैठक २ घण्टापछि सरेको हो ।

संसद् सचिवालयले सूचना जारी गर्दै संघीय संसद्को बैठक दिउँसो ३ बजेको लागि सरेको जनाएको छ।

कार्यदलसहित शीर्ष नेताबीचको सहमति कांग्रेसले गर्‍यो अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसले सोमबार बालुवाटारमा कार्यदलसहित शीर्ष नेताहरूबीचको बैठकमा भएको सहमति अनुमोदन गरेको छ। आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकबाट सहकारी बचत अपचलन प्रकरणबारे बालुवाटारमा भएको सहमति अनुमोदन गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

हिजो संघीय संसद्मा भएका मुख्य राजनीतिक दलहरुको बीचमा संसदीय छानबिन समिति गठन गरेर जाने सहमति भयो । त्यसको कार्यादेश के हुने भन्ने पनि सहमति भयो,” लेखकले भने, “कति सदस्यीय हुने, कति अवधि हुने भन्ने सहमति भयो । हामीले निष्कर्षउन्मुख सहमति भयो । हिजोको सहमति अनुमोदन गरिएको छ

कार्यादेश तय गर्न गठित कार्यदलले त्यसलाई अन्तिम रूप दिने लेखकले जानकारी दिए । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा उपस्थित हुन नसकेकाले राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बैठक बसेको उनले बताए ।

समितिमा पाँच दलका प्रतिनिधि रहनेछन् । जसमा एमाले र काँग्रेसबाट दुई/दुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एकरएक जना रहने छन् । समितिलाई प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ ।

आजै बस्ने प्रतिनिधि सभाको बैठकबाट समितिको घोषणा हुनेछ ।

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइको छ । सोमबार १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भइरहेको छ ।

चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन १ हजार ८८० रुपैयाँ थियो ।

गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। गृहमन्त्री लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोप लगाउँदै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका हुन्। रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि जेठ १६ गते बुधबार पेसी तोकिएको छ। अनुसन्धानको प्रक्रियामा गृहमन्त्रीले अनुुचित प्रभाव पार्न सक्ने भन्दै मुद्दाको टुंगो नलागेसम्म गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै अधिवक्ता अनुपम भट्टराईले सोमबार सो मुद्दा दायर गर्नुभएको हो।

अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर सो रिट दायर गर्नुभएको छ।

रिटमा भनिएको छ – ‘विपक्षी उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरीतसमेत रहने स्पष्ट भएको हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नु भनी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाउ“मा अन्तरिम प्रकृतिको उपयुक्त आदेश जारी गरिपाऊँ ।

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्रीमाथि कुनै पनि मुद्दामा कुनै पनि अदालतमा अभियोजन नभएको भन्दै पत्र लेखेको थियो। गत वैशाख २४ गते महान्यायाधिवक्ता कार्यालयले रूपन्देहीको सुप्रिम वचत तथा ऋण सहकारी संस्था, चितवनको सहारा सहकारी संस्था तथा कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनामा कुनै उजुरी परेको, अनुसन्धान वा अभियोजन पत्र दायर भएको नदेखिएको भन्दै रवि लामिछानेलाई पत्र लेखेको थियो। रिटमा सो पत्र खारेजीको पनि माग गरिएको छ।

त्यस्तै, सहकारी ठगीका विषयमा कसैले जाहेरी, सूचना वा प्रतिवेदन पेस गरेमा निर्धक्क भएर अनुसन्धान गर्नु र गराउनु भनी महान्यायाधिवक्ताको नाममा आदेश जारी गर्न पनि माग गरिएको छ।

मन्त्रिपरिषद् बैठक बस्दै, बजेट स्वीकृत गर्ने

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

आजको बैठकमा आर्थिक वर्ष २०८१-०८२ को बजेट स्वीकृत गर्ने छ । मंगलबार दिउँसो १ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै छन् । 

अर्थमन्त्रीले सांसदमार्फत सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्बाट बजेट प्रस्तुत सम्बन्धी प्रस्ताव स्वीकृत गराउनुपर्छ । अर्थमन्त्रीले बजेटका प्राथमिकताबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गर्नेछन् । 

भ्रष्टाचार मुद्दामा पौडेल दोस्रो पटक दोषी ठहर

काठमाडौँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेललाई दोस्रो पटक भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले झुटा विवरण पेस गरी लाभ लिएको आरोपमा भ्रष्टाचारी ठहर गरेको हो ।

विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । उनीमाथि झुटा विवरण पेस गरेर सचिव सरहको पद लिएको आरोपमा थप ६ महिना कैद सजाय तोकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ वैशाख ९ गते पौडेलमाथि अमेरिकाको स्थायी आवास अनुमतिपत्र (पीआर) लिएको अवस्थामा त्यसलाई लुकाई नेपालमा सार्वजनिक पदमा नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यसअघि गत मङ्गलवार मात्रै विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रमा भएको भ्रष्टाचारमा दोषी ठहर गर्दै पौडेललाई दुई वर्ष कैद गरी उनीबाट २५ करोड ४७ लाख बिगो र त्यति नै असुल्ने फैसला गरेको थियो ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन तथा संक्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहमा उनले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य पूरा भइसकेको बताए ।

प्रधानमन्त्री प्रचण्डले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपालले गरेको अभ्यास विश्‍वसामु नवीन उदाहरणका रूपमा स्थापित भएकोसमेत दाबी गरे । उनले सशस्‍त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपांगता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, रोजगारी, स्वरोजगारका अवसर, आर्थिक सहायता, पुनस्स्थापना र परिपूरणको व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले संविधानबमोजिम तीनै तहमा निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्‍न निर्वाचनले मुलुकमा संघीय शासन प्रणालीलाई सुदृढ बनाएको स्पष्ट पारे । उनले आवधिक निर्वाचनबाट गठन भएका तीन तहका सरकारहरू नागरिकको हित र उन्‍नतीका लागि क्रियाशील रहेको बताए ।

‘राष्‍ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप देशमा समाजवादउन्मुख आर्थिक सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्‍ट्रिय आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध छ,’ प्रधानन्त्री प्रचण्डले भने ।

देशमा भएको युगान्तकारी परिवर्तनको फलस्वरूप रैती भएर युगौंदेखि हेपिएका वर्ग तथा समुदाय अहिले अधिकार र सम्मानका साथ राज्यका विभिन्‍न निकायमा नेतृत्व तह पुग्न सफल भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘कल्पनाभन्दा पर रहेको, आँगनमा उभिँदा समेत छोइछिटो सहनुपर्ने समुदाय अहिले देशैभरिका ६ हजार ७ सय ४३ वडालगायत राज्यका विभिन्‍न तहका निकायमा निर्णायक भूमिकामा रहेका छन्। आधा आकाशको उपमा पाएका तर चुलोचौकोमा सीमित महिलाहरूले ७५३ स्थानीय तहका प्रमुख वा उपप्रमुखको रूपमा नेतृत्व गरिरहनुभएको छ ।’

हरेक तहका निकायका एक तिहाइ महिलाको सहभागिता सुनिश्‍चित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले वञ्‍चितीकरणमा परेका वर्गको मूलप्रवाहीकरण एवं लक्षित समूहको अधिकार संरक्षणका लागि स्थापित संवैधानिक आयोगहरू क्रियाशील रहेको बताए ।

यस्तो छ तपाईंको १५ जेष्ठ २०८१, मंगलवार आजको राशिफल

मेष : आजबाट नयाँ कार्यको थालनी होला । परिवारको सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक तथा समाजसेवामा पनि मन लाग्नेछ । विदेश यात्रामा जोखिम छ। राजनीतिक क्षेत्रमा खुट्टा तान्ने व्यक्ति सक्रिय छन्।

वृष : सिर्जनात्मक क्षमता बढ्ने योग छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ। विदेशमा रमाउने मोह बढ्ने देखिन्छ। साथीसँगको संगतले फाइदा हुनेछ।

मिथुन : मन चञ्चल हुनेछ। साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। घर सल्लाह गरेर मात्र ठुलो कामको सुरुवात गर्नु फलदायी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : मन अशान्त हुने योग छ। व्यापारमा घाटा भोग्नुपर्ने देखिन्छ। परिवारभित्र समेत झगडा हुने देखिन्छ। यसअघि गरेको लगानीबाट उत्साह बढ्ने भए पनि आज थप लगानी नगर्नु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंह : सम्मान प्राप्त हुने दिन छ। मन अशान्त हुँदा खानपानमा घडबढी हुनेछ। शान्त भएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानीमा भने जोखिम देखिन्छ।

कन्या : दिन राम्रो छ। अरुलाई झुक्याएर आफू सफल हुने समय छ। शिक्षामा सफलता प्राप्त हुनेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ। लगानीको क्षेत्रमा निरन्तरको प्रयासले राम्रो आम्दानी हुने देखिन्छ।

तुला : ठुलो लगानी नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने तपाईं सफल हुने दिन छ। निजी काम गर्दागर्दै दिन बित्ने देखिन्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा हात नलगाउनु राम्रो हुनेछ।

वृश्चिक : पुरानो रोग बल्झने योग छ। धार्मिक क्षेत्रमा मन जानेछ। लगानीको क्षेत्रमा उचित मूल्यांकन हुनेछ। राजनीतिक र सामाजिकमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : लामो समयदेखि रोकिएको काम बन्नेछ। शिक्षामा सफलता मिल्नेछ। व्यापार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो सहकार्य हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

मकर : बोलीमा मधुरता र मनमा उत्साह बढ्नेछ। राजनीतिमा ठुलो सफलता प्राप्त हुनेछ। खर्च बढ्ने योग छ। आफ्नै भनेका साथीहरुले आक्रमण गर्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारको भावना बुझ्न नसक्दा खटपटी बढ्ने योग छ।

कुम्भ : आर्थिक लाभ हुनेछ। लगानी गर्दा विवेक प्रयोग गर्नु राम्रो हुनेछ। तपाईंकै साथीले झुटा आरोप लगाउने भएकाले प्रतिवाद गर्नु राम्रो हुनेछ। तपाईंको प्रिय वस्तु हराउने जोखिम रहेकाले काम गर्दा सचेत हुनुपर्ने देखिन्छ।

मीन : घमण्डले घाटा हुनेछ। साथी र आफन्तसँग राम्रो व्यवहार गरेर अगाडि बढनु भएमा सफलता मिल्नेछ। ठुलो लगानीमा खर्च नगर्नु राम्रो होला। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारुको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

तौलिहवातर्फ आइरहेको लु ४४ प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारु गम्भीर घाइते भएका छन् ।

ढोरपाटनमा १० महिनामै साढे चार करोड राजस्व सङ्कलन

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमेत वृद्धि हुन थालेको छ ।

सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ४८ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । खास गरी ढोरपाटनमा विदेशी पर्यटक सिकार खेल्न र आन्तरिक पर्यटक घुमफिर गर्न आउने गरेका छन् । विसं २०४४ मा स्थापना भएको सिकार आरक्षमा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य मानिँदै आएको छ ।

अघिल्लो आवमा तीन करोड ४८ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएकामा यो आवको अन्त्यमा दोब्बर सङ्कलन गर्ने सिकार आरक्षले लक्ष्य राखेको छ । ढोरपाटनमा वर्षमा दुई याम सिकारका लागि खुला गरिन्छ । पहिलो याम (असोज–मङ्सिर) र दोस्रो सिजन (फागुन–वैशाख) हो । यस वर्ष दुई याममा ३० वन्यजन्तुको सिकार भएको छ ।

चालु आवमा सिकार अनुज्ञापत्र शुल्कबाट मात्रै चार करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।

अनुज्ञापत्र शुल्कबोहक यस वर्ष पर्यटक प्रवेश शुल्कबाट ११ लाख ६५ हजार, काठ, नदीजन्य वस्तु र जरिवानाबाट नौ लाख चार हजार तथा हेलिकप्टर अवतरण गराएबापत ५७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनको भनाइ छ ।

गत वर्षको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्यासमेत बढेको छ । अघिल्लो वर्ष सात हजार छ सय ४५ पर्यटक आएकामा यस वर्ष नौ हजार चार सय ३६ पर्यटक आएको कँडेलले जानकारी दिए । वन्यजन्तुको सिकार भने गत वर्ष र यस वर्ष ३०-३० वटानै भएका उनको भनाइ छ ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले कोटाका आधारमा सिकारीको ठेक्का खुलाउने र ठेक्का पर्ने सिकार ढोरपाटन आउने गर्छन् । आव २०७८-७९ मा भने नौ हजार नौ सय १९ पर्यटक भित्रिएकामा एक करोड ७५ लाख ७७ हजार रुपैयाँ मात्रै सङ्कलन भएको थियो । आव २०७६-७७ मा ३७ लाख र आव २०७७-७८ मा २० लाख रुपैयाँ मात्रै सङ्कलन भएको थियो । पछिल्लो दुई वर्ष राजस्व सङ्कलनको दर बढ्दै गएको संरक्षण अधिकृत कँडेल बताउँछन् ।

कँडेलले भने, ‘पछिल्लो दुई वर्षमा पर्यटक आगमन बढ्दै गएको छ, यहाँ सिकार खेल्नका लागि धेरैजसो विदेशी नागरिक नै आउने गर्छन्, यहाँ आउनेले मनलाग्दीरुपमा सिकार गर्न पाइँदैन, वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले मात्रा निर्धारण गरेर बोलपत्र आह्वान गरेको हुन्छ, सोहीअनुसार जसलाई ठेक्का पर्छ उही कम्पनीमार्फत सिकार आएर सिकार गर्ने हो ।’

ढोरपाटनका होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले विदेशी पर्यटक हेलिकप्टरमार्फत आए पनि आन्तरिक पर्यटक गाडीमै आउने बताए । सडकको दूरावस्थाका कारण पनि धेरै पर्यटक चाहेर पनि ढोरपाटन आउन नसकेको भन्दै राज्यले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

सडक राम्रो भए सिकार आरक्ष कार्यालयले धेरै राजस्व सङ्कलन गर्नुका साथै यहाँका धेरै नागरिक व्यापार व्यवसायबाट आत्मनिर्भर बन्न सक्ने उनको भनाइ छ । रसस

नेपाल मगर संघको राष्ट्रिय सम्मेलन सुरु

गोरखा । नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन गोरखामा सुरु भएको छ । सम्मेलनको एक समारोहबीच गोरखा संग्रहालय परिसरमा शनिबार उद्घाटन गरिएको हो ।

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले सम्मेलनको उद्घाटन गरेकी हुन् । दुई दिनसम्म चल्ने सम्मेलनमा सातै प्रदेश, ७७ वटै जिल्ला, ८ वटा भातृ संगठन र १५ भन्दाबढी वैदेशिक शाखाका प्रतिनिधिहरु सहभागी छन् ।

सम्मेलनमा देशको सांस्कृतिक नीति, मगरात क्षेत्र विस्तार, प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणाको मागलगायतका विषयमा छलफल हुनेछ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्ने विषयलाई पनि छलफल गरिने संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले बताए ।

सम्मेलनको उद्घाटनपूर्व झाकी र्‍याली निकालिएको थियो । हरमटारी खेलमैदानबाट सुरु भएको र्‍याली बिसौनी, बसपार्क, पदेली ठुलोआँगन हुदैं कार्यक्रम स्थल ९गोरखा संग्रहालय परिसर० पुगेको हो । साँझ सांस्कृतिक कार्यक्रमहरु हुने बताइएको छ ।

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन

काठमाडौँ । यही जेठ १४ गतेभित्र काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ ।

महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालिकालाई जानकारी गराउन निर्देशन पनि दिएको छ । महानगरपालिकाको शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार कामपाले यसअघि पनि शैक्षिक सङ्घसंस्थालाई सूचना अधिकारी तोकेर विभागका पठाउन आग्रह गरेको तर कामपाको आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो ।

सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ । हाल महानगरपालिकामा ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन् भने छ सय संस्थागत विद्यालय छन् । यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालित सहकारीहरूले सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराएका छन् ।

माओवादी केन्द्रले एक लाख बिरुवा कहाँ राप्दै छ ?

दमक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने भएको छ । सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिए ।

उनका अनुसार भोलिदेखि औपचारिक रूपमा दमकका प्रत्येक घरमा पुगेर बिरुवा रोप्न लागिएको हो । जनतालाई उत्पादनसँग जोड्ने नीतिअनुसार पाँच वर्षभित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउने अभियान रहेको उनले बताए ।

बिरुवा रोप्नेसँगै जनयुद्धमा सहयोग गर्ने दमकका एक हजार दुई सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना पत्रसमेत सम्मानस्वरुप हस्तान्तरण गरिने माओवादी केन्द्रले जनाएको छ । रासस