उपनिर्वाचनमा सत्तारूढ दलसँग सहकार्य नगर्ने माओवादीको निर्णय 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए । 

“सत्तारूढ दलसँग सहकार्य गर्दैनौँ, अरूसँग स्थानीय तहमा आफ्नो अनुकूलतामा सहकार्य गर्ने निर्णय भएको छ । नभए एक्लै चुनाव लड्छौँ ।

माओवादीले नेकपा (एकीकृत समाजवादी)लगायत दलसँग सहकार्य गर्ने नीति लिएको छ । “केन्द्रबाटै छलफल त गर्दैनौँ, मिल्नेसम्म स्थानीयस्तरमा नै सहकार्य हुन्छ,” उनले भने ।

उमेदवारबारे तल्ला कमिटीले गरेका निर्णय पदाधिकारी बैठकबाट अनुमोदन गरिएको छ । स्थानीय तहका रिक्त ४२ स्थानमा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी

काठमाडौं । बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड-ट्रंकलाइनको बक्यौता रकम भुक्तानी विवादमा विद्युत लाइन काटिएका उद्योगमा विद्युत लाइन जोड्ने निर्णय गरे पनि नेपाल विद्युत् प्राधिकरणले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएको छ । 

सोमबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले उर्जमन्त्री र प्राधिकरणको सञ्चालक समितिलाई सम्बोधन गरेर पत्र लेख्दै उद्योगहरूले बक्यौता तिरेपछि मात्रै लाइन जोड्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन् ।

६० दिनभन्दा बढी समय महसुल नतिर्ने आम उपभोक्ताको लाइन काटी महसुल असुल उपर गर्ने प्रावधान रहेका कारण उद्योगीले पनि उपभोग गरेको बिजुलीको महसुल तिर्नुपर्ने पत्रमा उल्लेख छ ।

परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य र युनियनका वरिष्ठ उपाध्यक्ष भूमिनन्द अर्यालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ- ‘लाइन काटिएपश्चात् सरकारी स्वामित्वका २ सिमेन्ट उद्योगसहित १४ वटा ग्राहकले प्राधिकरण सञ्चालक समितिले दिएको किस्ताबन्दी सुविधाअनुसार बक्यौता बुझाई लाइन जोडिएको थियो। आफ्ना ग्राहकहरूलाई सहजीकरण गर्न सञ्चालक समितिले सुविधामा थप गरी ५६ किस्ताको सुविधा उपलब्ध गराउने निर्णयसमेत गरिसकेको अवस्थामा सो सुविधाअनुसार बक्यौता बुझाई लाइन जोड्नुपर्नेमा सरकारबाट २४ घण्टाभित्र लाइन जोड्न निर्देशन हुनुले आगामी दिनमा आम उपभोक्ताबाट महशुल असुलीमा प्रतिकूल असर परी संस्था धराशायी हुने निश्चित छ ।’

आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १२ बजेभित्र उद्योगको विजुली लाइन जोड्न निर्देशन दिने निर्णय गरेको थियो । डेडिकेटेड र ट्रंक लाइन विवाद विवादमा  ६ वर्षदेखि जारी विवाद निरुपणका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको न्यायिक आयोगको निर्णय कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेको हो ।

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा दार्चुलामा ८ जना पक्राउ परेका छन् । दार्चुला मालिकार्जुन गाउँपालिका-४ ऐरी छाना बस्ने किसन सिंह धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा धामीसमेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३२ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आज एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा रु एक हजारले घटेको छ ।। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य घटेको हो।

सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ रहेको थियो।

सोमबारका लागि चाँदीको मूल्य पनि घटेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ५५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदीको कारोबार प्रतितोला १९ सय ६० रुपैयाँमा भएको थियो।

मधेस प्रदेश : कुन–कुन स्थानीय तहमा हुँदैछ उपनिर्वाचन

धनुषा । आगामी मंसिर १७ गते मधेश प्रदेशका सात ओटा वडामा उप निर्वाचन हुने भएको छ।

मधेशका सप्तरी, धनुषा, महोत्तरी र रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ मा उपनिर्वाचन हुनेछ। 

त्यसैगरी धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, रौतहटकै राजपुर नगरपालिका –६  र बाराको गढीमाई नगरपालिका–८ मा  उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ। 

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

बाजुरा। जगन्नाथ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु  हुनेमा सान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर ८ मुम्रा कालिकोटका स्थानीय मोटरसाइकल चालक समेत रहेका  २९ वर्षीय खेमराज बुढा रहेका छन् ।

घाइते हुनेमा  बाजुरा जगन्नाथ गाउँपालिका वडा नम्बर ४ नाराकोटका स्थानीय ३७ वर्षिय खडक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जगन्नाथ गाउँपालिका वडा नम्बर ५ स्थित भुकाखोला नजिकै  कालिकोटबाट आउने क्रममा गएराति करिब १० बजे  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

 कर्णाली करिडोर सडकबाट कर्णाली  प्रदेशको ४८१ नम्बरको मोटरसाइकल करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।    घाइते भण्डारीको जगन्नाथ गाउँपालिकाको दश शय्या अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीले जनाएको छ । मृतकको शवलाई  कालिकोट पठाइएको र घाइतेको उपचार र अनुसन्धान भइरहेको  बताइएको छ । 

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।  उनलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

रवि पक्राउ परेसँगै सरकारले षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै रास्वपाका नेता कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन् । 

सेयर बजारमा दोहोरो अंकको गिरावट संगै कारोबार रकम पनि घट्यो

काठमाडौं । सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक नेप्से १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन ६ अर्ब २७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडमा खुम्चियो । यस दिन ६७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो ।

यस दिन एसबिआई बैंकको शेयरमूल्य सर्वाधिक ९.७५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने सनराइज ब्लुचिप फण्डको इकाईमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन रावा इनर्जी डेभलपमेन्टको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८८ रुपैयाँ ८० पैसा घटेर ७९९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन साहस उर्जा र आईसीएफसी फाइनान्सको करिब २५ करोडको शेयर खरिदबिक्री भएको छ भने पिपुल्स हाइड्रोपावरको साढे २४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.३६ प्रतिशत बढेको हो। कारोबारमा आएका बैंकिङ्ग, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेका छन् भने बाँकी उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो ४४ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न सेवा समूहका ४४ जना कर्मचारीको सरुवा गरेको छ ।

बुधबार बसेको प्रमुख सचिव स्तरीय बैठकको निर्णय अनुसार इन्जिनियरिङ सेवा, वन, स्वास्थ्य र सामान्य प्रशासन सेवा समूहका गरेर ४४ जना कर्मचारीको सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सूची :

एमालेले भन्यो : रास्वपाको प्रदर्शन दण्डनीय (विज्ञप्ति सहित)

काठमाडौँ । नेकपा एमालेले पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गरिरहेको प्रदर्शन गैरकानुनी र दण्डनीय भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमालेले विज्ञप्ति सार्वजनिक गर्दै सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढिरहँदा रास्वपाले गरिरहेको प्रदर्शन गैरकानुनी भन्दै त्यसप्रति आपत्ति जनाएको हो।

महासचिव शंकर पोखरेलले बिहीबार प्रेस वक्तव्य जारी गर्दै छानबिनको प्रक्रियालाई प्रभावित पार्नेगरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु दु:खद भएको बताएका छन्।

संसदीय विशेष समितिले बनाएको प्रतिवेदनको आधारमा किटान गरिएका व्यक्तिहरूलाई अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रिया अघि बढेको र त्यसमा सहयोग गर्नु सबैको साझा कर्तव्य रहेको एमालेले बताएको छ। ‘फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षालाई स्वतन्त्र भयरहित र वैज्ञानिक बनाई फौजदारी न्याय प्रणालीको प्रभावकारिता बढाउनु सबैको साझा दायित्व हो,’ विज्ञप्तिमा भनिएको छ।

सहकारी ठगी प्रकरणमै सभापति पक्राउ परेपछि रास्वपाका नेता कार्यकर्ताहरू लगातार विरोध प्रर्दशनमा उत्रिएका छन्। रविको पक्राउबारे सरकार र नेतृत्वलाई जोडेर चर्चा गर्नु अनुपयुक्त भएको पनि एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पक्राउ परेलगत्तै पोखरा पुर्‍याइएका सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिएको छ।

रास्वपाका नेता कायकर्ता भने पोखराको सडकमा धर्ना बसिरहेका छन्।

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं । कीर्तिमानी मूल्य कायम भएको सुनको मूल्य बिहीबार घटेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही गिरावटसँगै बिहिबार नेपाली बजारमा पनि सुनको मूल्य घटेको छ ।

बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ६०० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ । बुधबार तोलाको एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्च मूल्य पुगेको सुन बिहिबार तोलामा ७०० रुपैयाँले घटेको हो ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । बुधबार तोलाको २१३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार २०९५ मा कारोबार भइरहेको छ ।

मन्त्रिपरिषद् बैठक बस्दै, सचिवको बढुवा हुने

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदवारमा साँझ ५ बजे बस्ने बोलाएका छन् ।

प्राप्त जानकारी अनुसार बैठकले मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल हुने छ । निर्णयसँगै वरिष्ठ सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गर्नेछ । मंगलबार लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव विष्टको नाम सिफारिस गरेको थियो ।

विश्व बैंकले नेपालमा रोजगारी सृजनामा सघाउने

एजेन्सी । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा अमेरिकामा रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका ९दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गरेका छन्।

वार्ता नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित रहेको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा छलफल भएको थियो ।

यसैबीच, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको छ । सहायतासम्बन्धी सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ । उपप्रधान तथा अर्थमन्त्री पौडेल र विश्व बैंक (दक्षिण एसिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताको लागि स्रोत परिचालन गरिने जनाइएको छ ।

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन्। बिहीबार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका छन्। शपथ लिएका मध्य तिमिल्सीना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीका हुन्।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ। प्रदेशमा १२ मन्त्रालय छन्।

युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ। याे मन्त्रालयकाे जिम्मेवारी मुख्यमन्त्री स्वयंम‍्सँग छ। मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार प्रदेश मन्त्रिपरिषद् पुर्नगठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए। सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो।

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो। शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सत्ता साझेदार दल नेपाली कांग्रेस दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी, प्रतिपक्ष दलका नेकपा माओवादीका दल नेता तथा पूर्वमुख्यमन्त्री जाेखबहादुर महरा, सभामुख तुलाराम घर्तीलगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो।

रवि लामिछानेलाई म्याद थपको लागि अदालत उपस्थित गराइँदै

पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ । 

कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको म्याद आज सकिन लागेकाले पुनः म्याद थपको लागि आज अदालतमा उपस्थित गराइने भएको हो ।  लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो। उनी हाल कास्की प्रहरीको हिरासतमा छन् ।

त्यस्तै पूर्व डीआईजी छविलाल जोशीलाई पनि आज अदालतमा उपस्थित गराइँदै छ । छविलाल गत असोज ६ गते पक्राउ परेका थिए । उनीहरूमाथि अनुसन्धानका लागि थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिएको हो ।