काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरीसमेत चल्ने सम्भावना रहेको छ।
यसैगरी आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी बागमती र गण्डकी प्रदेश एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको समेत सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको तथा कोशी प्रदेशको तराई भूभागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Author: Sampatti News
सुदूरपश्चिम सरकारले आगामी सोमबार बजेट सार्वनिक गर्ने
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते प्रस्तुत बजेटमा सामान्य परिमार्जन गरेर प्रस्तुत गरिने जानकारी दिए । उनले भने, ‘जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी बजेट निर्माणको तयारी पूरा भइसकेको छ । यही भदौ ३१ गते सार्वजनिक गर्नेछौँ ।’
मुख्यमन्त्रीले बजेटका नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेकाले सोही नीति कार्यक्रमलाई आधार मानेर परिमार्जित बजेट ल्याउन लागिएको स्पष्ट पारे।
सत्ता समीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८१र८२ को बजेट पारित नभई अलपत्र परेको थियो । सोही बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याउन लागेको मुख्यमन्त्री शाहले जानकारी दिए ।
बजेट पारित नहुँदा गत साउन १ गतेदेखि सरकारको राजश्व संकलन, खर्चलगायत अत्यावश्यक काम रोकिएका छन् । शाह नेतृत्वको नयाँ सरकारले अध्यादेशमार्फत राजस्व संकलन कार्य सञ्चालन गरिसके पनि बजेट शून्यताको अवस्था भने अझै हटेको छैन ।
घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु
बागलुङ । बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय वेगबहादुर विकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासि घर भत्किँदा काम गरी रहेका घर धनी विक सहित अन्य ११ जना मजदुर घाइते भएका थिए । विकको उचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
उनका अनुसार घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का २६ वर्षीय शङ्कर पन्थी, काठमाडौं महानगरपालिका–१० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको ढोरपाटन –४ का खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाइली ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ढोरपाटन –१ का ४० वर्षीया देवीसरा विक, सोही ठाउँकी ३० वर्षीया थम कुमारी विक, तमानखोला गाउँपालिका–१ ३८ वर्षीया खममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक र ५१ वर्षीया टेकमाया रसाइली रहेकी छन् ।
उपसभामुख हटाउने विषयमा कांग्रेस – एमाले आफै ब्याक हुन्छन्: प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस-एमाले आफैं ब्याक हुने बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ। उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो। त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’
अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै सबै उक्त पदका लागि योग्य भएको बताए।
तपाईहरूले वरीयता मिच्न लाग्नुभएको कुरा छ नि? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ। हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन। त्यस्तो समस्या परेको केही छैन।’
उनले संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताए। ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु । सबै रिक्त रहेका संवैधानिक आयोगहरुमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भने।
अध्यक्ष प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद् चल्न नदिने पनि बताए।
‘एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपब्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ। त्यो विषयको सम्बोधन नभएसम्म संसद्मा विरोध जारी रहन्छ,’ उनले भने।
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक विषयमा छलफल हुनेछ ।
राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट गराउने बैठकको एजेन्डा रहेको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।
नेपाल एयरलाइन्सको जहाज दुबईमा ग्राउन्डेड, यात्रुहरू दुबईमै अलपत्र
काठमाडौं । नेपाल एयरलाइन्सको लुम्बिनी जहाज ल्यान्डिङ गियरसँग सम्बन्धित हाइड्रोलिक समस्याका कारण दुबईमा ग्राउन्डेड भएको छ । विमान शुक्रबार राति ११स्५२ बजे काठमाडौंबाट दुबईका लागि उडेको थियो र शनिबार बिहान ३ः५५ बजे नेपाल फर्किनुपर्ने तालिका थियो । तर, प्राविधिक समस्याले गर्दा जहाज समयमै फर्किन सकेन ।
निगमका प्राविधिक प्रवक्ता इञ्जिनियर मनोज कुमार साहले स्पेयर पार्ट्सको खोजी भइरहेको जानकारी दिएका छन् । निगमसँग अन्य जगेडा विमान नहुँदा १५० नेपाली कामदारसहितका यात्रुहरू दुबईमै अलपत्र छन् । यात्रुहरूलाई होटलमा राख्ने व्यवस्था गरिएको छ ।
दुबईमा प्राविधिक टिम नहुँदा नेपाल एयरलाइन्सले कुबेत एयरवेजसँग सम्झौता गरी प्राविधिक सहयोग लिइरहेको छ । जहाज मर्मतपछि नेपाल फर्काइने योजना रहेको छ ।
८१ सालभित्रै सडक बालबालिकालाई सडक मुक्त गर्ने प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् ।
आज ६०औँ राष्टिय बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने दाबी गरे ।
‘कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन् । यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौँ,’ प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
त्यस्तै, उनले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताए ।
ठूलो संख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा कुरामा जोड दिए ।
उनले गरिबीको रेखामुनि रहेका मानिसलाई रोजगारी उपलब्ध गराउन सरकार लागिपर्ने बताए ।
एनसेल खरिदबिक्री सम्बन्धी रिट पूर्ण इजालमा सुनुवाई हुने
काठमाडौं । एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दायर गरेको रिट पूर्ण इजलासमा पेस गर्ने आदेश भएको छ । शुक्रवार न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले उक्त रिट पूर्ण इजलासमा पेस गर्ने आदेश भएको हो ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर कौडीको भाउमा बिक्री गरेको देखाइएको र त्यसको उद्देश्य कर छली गर्नु तथा इजाजत लम्बाउनु रहेको भन्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गत मङ्सिर २२ गते सर्वोच्चमा खरिद विक्री रोक्न माग गर्दै रिट दायर गरेका थिए । सिंहले आफ्नो रिटमा अन्तरिम आदेश जारी गर्न माग गर्दै एनसेल, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतलाई विपक्षी बनाएका थिए ।
अन्तरिम आदेश छलफलका लागि शुक्रवार भएको सुनुवाइपछि अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा पूर्ण इजलासबाट नै निर्णय हुनु उचित देखिएको भन्दै उक्त रिटलाई पूर्ण इजलासमा पठाउने आदेश भएको हो । साथै उक्त रिटलाई अग्राधिकार प्रदान गरी छिटो सुनुवाइ गर्नसमेत आदेश दिइएको छ ।
केही समयअगाडि मलेसियन कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको सबै सेयर गैर आवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको जानकारी गराएको थियो ।
लगानी बोर्डको सिइओमा सुशील ज्ञवालीको पदबहाली
काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शुक्रबार पदबहाली गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको सिफारिश समितिले विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले र सुशील ज्ञवालीको नाम मन्त्रिपरिषद् समक्ष सिफारिश गरेको थियो । उपप्रधान तथा अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी तथा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक राजन खनाल सदस्य रहेको सिफारिश समितिले छनौटमा परेका उम्मेद्वारहरूसँग अन्तर्वार्ता गरेको थियो ।
ज्ञवालीलाई आज मुख्यसचिव एकनारायण अर्यालले नियुक्तिपत्र प्रदान गरेपछि उनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको लगानी बोर्डको कार्यालयमा पुगेर पदबहाली गरेका थिए । उनलाई सहसचिव प्रद्युम्नप्रसाद उपाध्याय लगायतले स्वागत गरेका थिए ।
ज्ञवाली यसअघि पुनर्निमाण प्राधिकरणका सीईओ थिए । उनी सहरी योजनाविद् हुन् । उनले पुनर्निमाणका काम प्रभावकारी ढंगले सम्पन्न गरेका थिए । उनीसँग राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरेको अनुभव पनि छ ।
पदबहाली गर्दै उनले रणनीतिक र ठूला लगानीका परियोजना समयमै सम्पन्न गर्नका लागि राजनीतिक देखि संस्थागत तहसम्मको पहल आवश्यक हुने बताए ।
आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलनामा अमेरिकी डलरको मूल्यमा कमी आएको छ भने युरो र युके पाउन्ड स्टर्लिङको मूल्य बढेको छ ।
अमेरिकी डलरको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै, युके पाउन्ड स्टर्लिङको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
अन्य मुद्राहरुमा पनि सामान्य परिवर्तन आएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर फरक हुनसक्ने र अद्यावधिक जानकारी राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध हुने बताइएको छ ।
आजको राशिफलः यस्तो छ आजको तपाईको दिनचर्या
मेष
समय राम्रो छ। व्यापारबाट आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वास्थ्य लाभ हुने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
बृष
परिवारको रचनात्मक साथ प्राप्त हुनेछ। आफन्तले सहयोग गर्नेछन्। स्वदेशमा अवसरको सिर्जना हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ।
मिथुन
आफन्तको विश्वास गर्नाले घाटा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कर्कट
स्वास्थ्यमा समस्या हुने देखिन्छ। साथीले दुःख दिनेछन्। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा झगडा हुने जोखिम छ। काम गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ।
सिंह
समय रमाइलो छ। शिक्षाको लगानीले उत्साह बढ्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुन्छ। समाजसेवाको अवसर मिल्नेछ।
कन्या
दिन राम्रो छ। आफ्नो मेहनतको फल प्राप्त हुनेछ। कार्यक्षेत्रमा प्रशंसा हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने दिन छ।
तुला
अरुलाई सहयोग गर्दा छायामा परेको महसुस हुनेछ। जमिनको कारोबारबाट उत्साह बढ्नेछ। प्रतिस्पर्धी शान्त भएकाले अगाडि बढ्ने अवसर छ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक
व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार देखिने छ। परिवारबाट रचनात्मक सहयोग प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।
धनु
समय राम्रो छ। धेरै अवसर एकसाथ प्राप्त हुने देखिन्छ। शेयरमा लगानी गरेको भए उत्साह बढ्नेछ। व्यापारमा फाइदा हुने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट सफलता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मकर
सामाजिक कार्य सफल हुनेछन् । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । आज आफन्तका बीच भेटघाट र परिवारसँग मनोरन्जनात्मक कार्यमा सरिक हुन सकिन्छ। विद्यार्थीको पढाईमा ध्यान जान्छ।
कुम्भ
झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। स्वदेशी भन्दा विदेशमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। ठुला उद्योगको हात नलगाउनु राम्रो हुनेछ। परिवारको तर्फबाट भने सहयोग प्राप्त हुनेछ।
मीन
तपाईंको सानो गल्तीले अरुको मन दुख्नसक्छ। बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। झुक्याउने मान्छे सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुने योग छ।
मौसमः आज यी प्रदेशमा हुँदैछ भारी वर्षा
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ।हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक देखी साधारणतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन्चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखी साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी मधेश, बागमती र गण्डकी प्रदेशका एक्दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राती देशभर आंशिक देखी साधारणतया बदली रहने छ। कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका एक्दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
गृह प्रवक्तामा सहसचिव तिवारी, नीति तथा योजना महाशाखामा डा. पाण्डेलाई जिम्मेवारी
काठमाडौं । शान्ति सुरक्षा महाशाखा तथा गृह प्रवक्ताको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिइएको छ । गृह मन्त्रालयले मन्त्रालयको शान्ति सुरक्षा महाशाखा तथा गृह प्रवक्ताको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिएको हो ।
उनी अनुभवी छन् । उनले आधा दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका छन् ।
त्यस्तै अध्यागमन विभागका महानिर्देशक समेत भएका थिए ।
गृहमन्त्री रमेश लेखकले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै तिवारीलाई शान्ति सुरक्षा महाशाखा र प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
त्यस्तै गृहमन्त्रालयको नीति तथा योजना महाशाखाको डा. टोकराज पाण्डेलाई जिम्मेवारी दिएको । गृह मन्त्रालयले शुक्रबार कार्य अवधि पुगेका केहि जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवाको गृहकार्य गरेपनि मन्त्री तथा सचिवको कार्यव्यस्तताका कारण अन्तिम निर्णय हुन नसकेको बताइएको छ ।
करिब करिब एक दर्जन बढि सिडिओको सरुवा हुने प्रस्ताव तयार भइसकेको भएपनि अन्य केहि सिडिआकोे सरुवा थप्नुपर्ने भएकाले निर्णय हुन ढिलाई भएको गृह स्रोतले जानकारी दिएको छ ।
वेइमानी गर्ने मान्छेलाई सरकारले छोड्दैनः मुख्यसचिव अर्याल
काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले वेइमानी गर्ने कसैलाई पनि नछोड्ने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बजारको सुशासनमा देखिएको चुनौती र हाम्रो दायित्व’ विषयक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले चाडवार्डको समयमा कालाबजारी गर्ने जो कोहिलाई सरकारले नछोड्ने बताएका हुन् ।
उनले सो कार्यक्रममा बोल्दै चाडबाडको बेलामा कालाबजारी गर्ने जो कोहिलाई कारर्वाहीको दायरामा ल्याउन ७७ वटै जिल्लाका सिडिओलाई कार्यक्रम मार्फत निर्देशनसमेत दिएका छन् ।
उनले कुनै पनी बहानामा मुल्यवृद्धी, यातायातमा अनावश्यक भाडा वृद्धी र खाद्य बस्तुमा मिसावट गर्ने जो कोहिलाई कारवाही गर्न नडाराउन पनि निर्देशन दिएका हुन् । अर्यालले जनतालाई सेवा दिने कुरामा बर्दी र पद नहेरी काम गर्न निर्देशन दिएका छन् । चाडपर्व नजिकिएसँगै बजारमा हुने कालोबजारी रोक्नका लागि सबै सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरूले बर्दी र पद नहेरी काम गर्न उनले निर्देशन दिएका हुन् ।
उनले चाडपर्वको समयमा राजनीतिक झोला छाडेर जनताको झोला बोक्न पनि आग्रह गरेका छन् । ‘खास गरेर चाडपर्वको समयमा जिम्मेवार पदाधिकारीहरूले राजनीतिक झोला छाडिदिनुहोस् । पद र बर्दी पनि बिर्सिदिनुहोस्, उनी भन्छन्, सबै कुरा बिर्सिएर जनताको लागि काम गरौं, जनताको सेवामा लाग्न म अनुरोध गर्छु ।
उनले भने – ‘ नेपालमा कानुन नभएको होइन, कानुन छ त्यसैले अब हामी यो समयमा कसले कति काम गर्यो भन्ने कुरा हेर्छौ । सोहीअनुसार उहाँहरूको मूल्यांकन हुन्छ । निर्धक भएर जनताको सेवामा खटिनुपर्यो यस विषयमामा कुनै प्रेसर र कार्वाहीको कुरा भयो भने मलाई रिपोर्टीङ गर्नुहोला ।’
‘चाडवार्ड नजिकिदै छ । अब मानिसहरु आफ्नो गन्तव्यमा जान्छन् । सडकमा खाल्डा खुल्डी छन् । विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएको छैन । म यहिबाट भन्न चहान्छु । सम्बन्धित निकायले तुरुन्तै यस विषयलाई सहजिकरण गर्नु पर्यो ।’ –अर्यालले भने ।
अनुगमनका लागि सादा पोसाकका प्रहरी खटाएका छौंः किरण बज्राचार्य
कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यले हरेक ठाउँको गतिविधि निरिक्षण र अनुगमनका लागि सादा पोसाकका प्रहरी परिचालन गर्न थालेको बताएका छन् ।
नजिकिदै गरेको चाडवार्डमा विभिन्न किसिमका लुटपाट, ठगी जस्ता कृयाकलाप हुने गरेको र त्यसलाई अनुगमन गर्न प्रहरी परिचालन गरिएको बताएका छन् ।
उनले भने – ‘चाडवाडको बेलामा जुवा तास खेल्ने, मादक पदार्थ सेवन, लागु औषध दुर्व्यसन, यातायातमा महिलालाई यौन जन्य हिंसा जस्ता कृयाकलाप हुने हुँदा हामि त्यसको निगरानी गर्छौं ।’
भन्सार छली, राजश्व छलीलगायतका विषयमा पनि प्रहरीले सुक्ष्म तरिकाले अनुगमन गरिरहेको बज्राचार्यले बताए ।
गुणस्तर चिन्हलाई हेरेर हामि अनुगमन गछौंः महानिर्देशक जोसी
नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देक कुमारी ज्योती जोसी (भट्ट)ले कुनै पनि बस्तु गुणस्तर नभएको लागे ‘कम्पेलन’ गर्न सकिने बताएकी छिन् । ‘हामिले सबै क्षेत्रमा गुणस्तरीय उत्पादनलाई जोड दिन्छौं । विभागले दिने गुणस्तर चिन्हलाई हेरेर हामि अनुगमन गछौं । डोटीदेखि झापासम्म हाम्रो कार्यालय छ । जुनसुकै बेला तपाइहरुले ‘कम्पेलन’ गर्न सक्नु हुन्छ ।’ उनले भनिन् ।
बजार अनुगमन १२ महिनै हुन्छः महानिर्देशक पौडेल
णिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले चाडवार्डमा मात्र नभएर १२ महिना अनुगमन गरिरहेको बताएका छन् ।
विभागको कार्ययोजनामा आधारित भएर आफुहरुले अनुगमन गर्ने पनि उनले बताए ।
खराव, गुणस्तरहिन बस्तु उत्पादन गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याउने उनले बताए ।
बजारमा अराजकता रोक्न अनुगमन आवश्यकः सम्पादक पण्डित
नेपाल समाचारपत्र दैनिकका सम्पादक सागर पण्डितले बजारमा भएको अराजकता रोक्न अनुगमनको आवश्यकता भएको बताएका छन् ।
कार्यक्रममा आफ्नो धारणा राख्दै पण्डितले पछिल्लो २ महिनामा महङ्गी अत्यधिक बढेकोसमेत बताएका छन् ।
उनले नागरिक पिडित भएको भन्दै बजारको शुसासन कोमामा गएको समेत बताएका छन् ।
चाडपर्वको समयमा यात्रा गर्दा टिकट काटेर मात्रै यात्रा गर्नुहोस्ः उपाध्यक्ष सिटौला
तायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडावडका बेला यात्रा गर्दा अनिवार्य टिकट गरेर मात्र यात्रा गर्न अनुरोध गरेका छन् ।
उनले सरकारलाई चाडपर्वलाई ध्यानमा राख्दै असोज महिनाभर यात्रुवहाक सवारीसाधनलाई प्राथमिकतामा राखेर सेवा दिन मिलाइदिन सरकारसँग आग्रहसमेत गरेका छन् ।
चाडवाडको बेलामा धेरै यात्रुहरुलाई घरसम्म पुर्याउनुपर्ने जिम्मेवारी भएकोले अन्य नम्बर प्लेटका सवारीसाधनभन्दा पनि कालो नम्बर प्लेटका गाडी अर्थात् यात्रुबहाक सवारीसाधनलाई प्राथमिकता दिन उनले आग्रह गरेका हुन् ।
तराई विकास तथा सञ्चार केन्द्र, नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंको अध्यक्षता भएको उक्त कार्यक्रममा काठमाडौं जिल्लाका सिडियो जयनारायण आचार्य, भक्तपुर जिल्लाको सिडिओ रोशनी कुमारी श्रेष्ठ र ललितपुर जिल्लाका सिडिओ तुलसीबहादुर श्रेष्ठको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा गुणस्तर खाद्य बिभागका महानिर्देशक औषधि बिभागका महानिर्देशक, सरकारी सबै निकायका महानिर्देशकको उपस्थित र यातायात व्यावसायी राष्ट्रिय महासघ वरिष्ठ उपाध्याक्ष सरोज सिटौलाले समेत धारणा राखेका थिए। सडक बिभागका महानिर्देशक रामहरि पोख्रेल उपमाहानिर्देशक चुडाराज ढकाल, दुग्ध बिकास सस्थान, खाद्य व्यावस्थापन कम्पनीका सिइओ, साल्ट टेडिङ कर्पोरेसन लिमिटेडका ब्रजेस झालगायतले कार्यक्रममा सहभागिता जनाएका थिए ।
बागलुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
काठमाडौं । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा आज बिहान जीप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको छ। दुर्घटनामा एक पुरुष घाइते भएका छन् ।
बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, दुर्घटनामा ज्यान गुमाएकाको र घाइतेको परिचय खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी उद्धार कार्यमा जुटेका छन्, र घाइतेलाई बागलुङ अस्पताल पठाइएको छ ।