पत्रकारलाई तत्काल पारिश्रमिक दिन आह्वान

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शााखाले कोरोना भाइरस (कोभिड(१९)को महामारीबीच सूचना प्रवाहमा निरन्तर खटिएका पत्रकारको रोजगार नै संकटमा परेको बताउँदै एक विज्ञप्ती मार्फत सञ्चारगृहलाई सञ्चारकर्मिको अभिभावकत्व निवार्ह पुरा गर्न आग्रह गरेको छ ।


युनियनका अध्यक्ष जगन्नाथ दुलालले एक विज्ञप्ति जारी गर्दै संकटको अवस्थामा सञ्चारगृह अभिभावक बन्नुपर्नेमा केही सञ्चारगृहले यही संकटको अवस्थामा पत्रकारलाई बेतलबी विदा बस्न दबाब दिने, कतिपयलाई जागिरबाटै बिदा गर्ने प्रयास हुनु निन्दनीय भएको भन्दै युनियनको ध्यानाकर्षण भएको बताएका छन् ।

‘पत्रकारमाथिका यस्ता अमानवीय व्यवहार रोक्न ध्यानाकर्षण गराउँदै अन्यथा जस्तोसुकै कदम चाल्न पनि प्रेस युनियन काठमाडौं तयार रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि नियमित पारिश्रमिक नदिएका सञ्चार गृहलाई श्रमजीवी पत्रकारहरुको बाँकी तलब तत्काल भुक्तान गर्न पनि माग गर्दछ । यो संकटको घडीमा पनि रिपोर्टीङमा सक्रिय पत्रकारहरुलाई आफनो सुरक्षामा ध्यान दिन आग्रह गर्दछौं ।’—विज्ञप्तिमा उल्लेख छ ।

यस्तै लकडाउनका कारण सञ्चार गृहलाई परेको समस्याका बारेमा पनि बेखबर नरहेको भन्दै तत्काल सञ्चार क्षेत्रलाई राहत र सञ्चारकर्मीका लागि विशेष राहत प्याकेजको घोषणा गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

लकडाउन सम्बन्धमा निर्णय गर्न अर्काे बैठक बस्नेः आज निर्णय भएन

काठमाडौं । शुक्रबार बसेको मन्त्रपरिषदको बैठकले लकडाउन बारे केही निर्णय गरेको छैन ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको म्याद सोमबार (वैशाख १५ गते) सकिँदैछ । शुक्रबारको मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्ने अपेक्षा रहेपनि आगामी बैठकबाट निर्णय गर्ने सहमतिसहित शुक्रबारको बैठक सकिएको छ ।
भोली या पर्सि अर्काे बैठक बसेर लकडाउनबारे निर्णय गर्ने स्रोतले जनाएको छ ।
कोरोनाको जोखिम अझ बढ्दै गएकाले सरकार यसमा गम्भीर भएको ती मन्त्रीले बताए ।

सरकारले गत चैत ११ देखि लकडाउनलाई निरन्तरता दिँदै आइरहेको छ । यसले गर्दा आम जनतामा रोग भन्दा पनि भोकको समस्या निम्तिन सक्ने कुरा चलिरहेको हुँदा निरन्तर लकडाउन मात्रै गर्ने कि यसको विकल्प पनि खोज्ने भन्नेबारे बहस हुँदै आइरहेको स्रोतले सहित जनाएको छ ।

लकडाउनलाई कुनै निश्चित ठाउँमा कडा पारेर कम जोखिम देखिएको काठमाडौं लगायतको ठाउँमा खुकुलो पारिनुपर्ने माग समेत आइरहेको छ ।

दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । केही दिन अघि ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश चौतर्फी विरोध भएपछि सरकारले अध्यादेश फिर्ता लिएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले ११ बजे आकस्मिक मन्त्रीपरिषद् बैठक आह्वान गरेका थिए । बैठकबाट दुवै (राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ) अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।
सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।

सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । दुवै अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना परिषद्को बैठक बसेर निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।

तर, पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थिरता निम्त्याउन खोजेको भन्दै सरकार विवादमा परेको थियो ।

आकस्मिक डाकियो मन्त्रिपरिषद् बैठक, अध्यादेशबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दल विभाजनसम्बन्धी अध्यादेशको छलफल र निर्णय गर्न मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।


केही दिन अघि ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको पार्टी भित्र र बाहिर चर्को आलोचना आएपछि सो बारे निर्णय गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।


त्यसैबारे छलफलका लागि प्रधानमन्त्री ओलीले अहिले ११ बजे बालुवाटारमा बैठक बोलाएको स्रोतले जनाएको छ । यद्यपि बैठकका एजेन्डाबारे कसैलाई केही बताइएको छैन ।

दल विभाजनसम्बन्धी अध्यादेशका कारण समाजवादी पार्टी र राजपाबीच एकता भएको छ भने सत्तारुढ नेकपामा विवाद चुलिएको छ ।


यसअघि पार्टीका अन्य शीर्षस्थ नेताहरू महासचिव विष्णु पौडेल, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमको भेलाले शुक्रबार दिनभरिमा अध्यादेश खारेज नभए शनिबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेका छन् ।


स्थायी कमिटीमा पनि अध्यादेशको विपक्षमा बहुमत सदस्य उभिएको गणित राजनीतिक विश्लेषकहरू बताउँछन् । त्यस्तै आजको बैठकमा लकडाउनबारे पनि निर्णय गर्ने तयारी भएको छ ।

ह्याप्पी मदर्स डे मामु

कुरा थियो त्यो रातको जुन दिन म मेरो कोठामा डराउदै सुति रहेको थिए। अचानक आखामा कालो पर्छाया देखियो अनि मैले सोधे को हौ तिमी? र पर्छाया ले भन्यो म को हो किन चाहियो तलाई यति मात्र भन्छु म कि मे तेरो आमा लाई लिन आएको हु, म अत्तालिए, चिच्चाए र गह भरी आँसु आयो। अनि मैले त्यो पर्छाया सङ एउटा सर्त राख्ने बिचार गरे र भने, बरु मलाई लैजाउ न ल तर मेरो आमाको लागि त्यस्तो सोच्न पाउदैनौ । पर्छायाले जबाफ दियो, आउन त म तलाईनै लिन आएको हो तर त भन्दा अगाडि तेरो आमा सङ भेट भयो र यो सर्त त आमाले राखी सक्नु भएको छ।
अब त म छागाबाट खसेझै भएर त्यही बेहोस भए। जुन चिजमा मन रमाउन गाह्रो मान्छ त्यो चिज पाउन र जोगाउन सजिलो हुन्छ र जुन चिज मा मन रमाउन सजिलो हुन्छ त्यो चिज पाउन अक्सर गाह्रो हुने रहेछ। मत बादल सङ मलाई दाज्न पुगेछु, र थाहा भयो हामी उस्तै रहेछौं: उ पनि आकाश थाम्न नसकेर बर्सात गराउदो रहेछ, मेरो मन पिडा थाम्न नसकेर अनि आँसु बगाउँदो रहेछ।
लाग्छ मलाई आमाले मेरो लागि मात्रै हैन धेरैका लागि धेरै ठाउँ लिन सक्छिन तर आमा, यस दुनियामा आमाको ठाउँ कसैले लिन सक्दैन। प्यारी आमा, म छु जस्तो लागेको दिन होस या कुनै अफ्ट्यारोमा, तिमिलाई सम्झिन्छु र म मर्छु जस्तो लागेको दिन पनि म तिमिलाई नै सम्झिन्छु।
सबैको भग्यमा ‘आमा’ लेखिएको हुदैन। त्यसैले आमालाई पुज्नुस मन नदुखाउनुस । किनकि जस्को भग्यमा आमा हुनुहुन्न नि उहाहरुले सोच्नु हुन्छ कि आफ्नो बन्द अनि सुनसान कोठाको भित्तामा झुन्डाईएको माला सहित आफ्नी आमाको तस्बिरले भएपनी भन्दिए हुन्थ्यो नि “बाबू खाना खान आइजा” भनेर। आमा नहुने ले यस्तो सोचाइ राख्छन् हुनेका लागि बृद्धा आश्रम, गलत हो आमाहरुले बाटो बिराउदैनन भन्ने कुरा… नत्र आमाहरुले बृद्धा आश्रम गन्तव्य कहाँ राखेका हुन्छन र। ह्याप्पी मदर्स डे मामु

“आमा”

“आमा”
पुछेर चिसा परेली
रुदा हास्न सिकाउनु भो
बसेर आफू भोकै
मलाई भोक लाग्दा
खाना खुवाउनु भो।
आमा!रचेर यो सुन्दर
सिर्जना अलप हुनु भो
सपनीमा मात्र भेट हुने
कस्तो ममता हो यो।।

न श्रृङ्गार गर्न सके।
न स्याहार गर्न सके।
मैले आफ्नो परिश्रमले
न हजुरको मुहारमा
खुशी छर्न सके।।।
पल्टेर हजुरको काखमा
दुखाईमा मलम लगाई
धीत मर्ने गरि रोएर
न यो मनको ब्यथा
सुनाउन नै सके।।
आमा! बनाएर गुड
आहार लिन गएको
चरी झै छोडी जानु भो।।

बनाएर सफल ब्यक्ति
देखाएर गन्तव्य हजुरले
गोडमेल गरेर रहर
फुलाएर प्रेमपुस्प हजुरले
सुबास छरेको हेर्ने बेला
जीवन नै समर्पण गर्नुपर्यो
सम्झिएर ममता अब
बाकी जीवन जिउनु छ
बेला-बेलामा यादमा
दुख्ने मुटु सिउनु छ।।
आमा!अब त सपनामा
मात्र हजुरसंग भेट हुनु छ।।

काेराेना प्रकाेप: दुईजना थपिए, दुईजना निकाे भए

काठमाडौँ । आज थप दुईजनामा कोरोना पोजिटिभ देखिएको छ ।

जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरका ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मन्त्रालयको नियमित ब्रिफिङका क्रममा उक्त कुरा बताएका हुन् ।

उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका– ३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।

भने बिहीवार मात्र २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार काठमाडौं पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका दुइ जना ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला निकाे भएर घर फर्किएका हुन् ।

यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । हालसम्ममा ९ जना निको भइसकेका छन् ।

नेपालमा विपद्को जोखिमको अवस्था र यसको व्यवस्थापनमा कर्मचारीहरु प्राय: किन पछिल्लो पङ्क्तिमा

सम्पुर्ण विश्वसंगै नेपाल समेत हाल कोरोना भाईरसको महाव्यादीको संक्रमण रोकथाम र नियन्त्रणका लागि जुधिरहेको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च संक्रमण जोखिम युक्त देशको सूचीमा राखेसंगै र नेपालमा पनि संक्रमणको पुष्टि भए पश्चात यसलाई रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत २०७६ चैत्र ११ गते देखि संक्रामक रोग ऐन, २०२० मा भएको व्यवस्था अनुसार २०७७ बैशाख पन्ध्र गते सम्मलाई देशव्यापी लकडाउनको घोषणा गरेको छ। निश्चयनै लकडाउनको अवस्थाले बहुआयामिक असरहरु पार्दछ र त्यस्ता असरहरु देखा पर्न सुरु गरी सकेका छन्। नेपाल सरकारले समेत यस लकडाउनको अवस्थालाई मध्ये नजर गर्दै विभिन्न निर्णयहरु गरिरहेको छ।तत्कालको लागि संक्रमण रोकथाम तथा नियन्त्रणको अलवाह नेपाल सरकारले राहत वितरण, अलपत्र नागरिकको उद्दार, अत्यावश्यक वस्तु तथा सेवा प्रवाहमा निरन्तरता गर्ने जस्ता कुरामा जोँड दिदैँ आएको छ।नेपाल सरकारले गरेको निर्णय कार्यान्वयनको लागि हाल सङ्घ, प्रदेश तथा स्थानीय तहहरु जोडतोडले लागि रहेका छन्। तीन तहका सरकारहरु यसरी परिचालित हदाँ समेत जनगुनासाहरु आईरहेका छन्। राज्यले जनताका गुनासा, परेका समस्यालाई तत्कालै सम्बोधन गर्दै अगाढि जानु पर्ने देखिन्छ।राज्य कोषमा भएको स्रोत, साधन र जनशक्तिको अधिकतम सदुपयोग गर्दै यस किसिमको महामारीसंग जुध्नु पर्ने आवश्यकता देखिन्छ।
कति पय विपद्हरु पूर्वानुमान गर्न सकिने किसिमका हुन्छन् भने कुनै भवितव्यको रुपमा आईपर्दछन्।पूर्वानुमान गर्न सकिने विपदहरुको जोखिम कम गर्न पूर्व रोकथाम ‍मूलक कार्यतर्फ ध्यान दिनु पर्दछ भने भवितव्यको रुपमा आईपर्ने विपद् बाट हुने जनधनको क्षेति न्यूनतम हुने उपाय पहिचान गरी समयमै नियन्त्रणमा राख्नु आवश्यक हुन्छ।वर्षामा पहाडि क्षेत्रमा हुने पहिरो, तराईमा हुने बाडिँ, हिउँदमा हुने हावाहुरी देखि आगलागी, कर्णाली प्रदेश देखि अन्यन्त्र हरेक बर्ष देखिने विभिन्न किसिमका सरुवा रोगहरुको प्रकोप लगायतका विपद् हरेक नेपालीले देख्दै, भोग्दै आएका छन्। हाम्रो पुस्ताले यस अघि महशुस गरेको महाविपद् भनेको २०७२ सालको गोर्खा भुकम्प हो।राज्यले तत्कालिन अवस्थामा समेत ठूलो जनधनको क्षेती व्यहोर्नु परेको थियो। भुकम्प पश्चात थलिएको देश पुर्नलाभ र पुनर्निर्माणको माध्यमबाट यथास्थितिमा लगभक फर्किसेको थियो।फेरि हाल सिर्जित कोरोना संक्रमणको यस परिस्थितिले राज्यले लिएको सम्बृद्ध नेपाल, सुखि नेपालको लक्ष्यलाई केही पर धकेल्ने निश्चित छ।सबै घटनाले के देखाई रहेको छ भने केही वर्ष र दशकको अन्तरालमा ठूला महाविपद्हरु आईरहेका छन् भने हरेक वर्ष थुप्रै प्रकोप र विपद् जन्य परिस्थिति उत्पन्न हुन गरेका छन्।कतिपय विपद् प्राकृतिक घटनाका रुपमा छन् भने कति मानव सिर्जृत विपद्हरु रहेका छन्।विपद् जोखिम न्यूनीकरण तथा व्यिस्थापन ऐन, २०७४ ले समेत विपद्लाई प्राकृतिक र गैरप्राकृतिक विपद्को रुपमा परिभाषित गरेको छ।प्राय गैरप्राकृतिक घटना (जस्तै सडक दुर्घटना, आगलागि, रसायन चुहाँवट आदि) मानविय क्रियाकलापहरुले उत्पन्न हुने हुदाँ, हामिले हाम्रा आनिबानिलाई परिवर्तन गर्न सकेको खण्डमा त्यस्ता विपद्जन्य परिस्थिति न्यून मात्रामा उत्पन्नै हुने अवस्था हुन सक्दछ। कतिपय प्राकृतिक विपद (जस्तै हिमताल विस्फोटन, भूकम्प, हावाँहुरी, अनावृष्टी आदी) समेत मानविय क्रियाकलापहरु संग प्रत्यक्ष, अप्रत्यक्ष जोडियका छन्। यस्ता विपद्को असर कम हुने गरी संरचना निर्माण, विपद जोखिम बढ्ने कारण पहिचान, पुर्व तयारी , प्रतिकार्य गरेको खण्डमा जनधनमा हुने क्षति कम गर्न सकिन्छ।
नेपाल बाढी पहिरोजन्य विपद् जोखिमका दृष्टिले ३० औं, भुकम्पीय जोखिमका दृष्टिले ११ औं, बहुप्रकोपिय विपद् जोखिमका दृष्टिले २० औं, र जलवायु परिर्वतनजन्य विपद् जोखिमका हिसावले चौंथो स्थानमा पर्छ।यसबाट हामि स्पषष्ट अनुमान गर्न सक्दछौ, हामि विपद्को हिसाबले कति जोखिम पूर्ण अवस्थामा छौ, र हामिले विपद्संग जुध्न गर्नु पर्ने तयारीको आवश्यकता कत्तिको छ। गृह मन्त्रालयले बर्षेनी प्रकाशन गर्ने विपद् जोखिम प्रतिवेदनका अनुसार, विभिन्न विपद्का कारण बर्षेनी १ हजार जनाको मृत्यु हुने गरेको छ।जसका कारण ६ लाख ४० हजार मानिस प्रभावित हुने गरेका छन्।जसको न्यूनिकरण र पिडितलाई उचित् राहत सहित पुर्नस्थापन गर्नु राज्यको संवैधानीक दायीत्व हो।
हरेक घटना, परिघटना र विपद्को अवस्थाले भविष्यमा सुधारको लागि केहि न केहि पाठ सिकाउँदछ नै।तत्कालिन अवस्थामा हुने जनधनको क्षेति आफ्नो ठाउँमा छ, भविष्यमा पनि उस्तै प्रकृतिका विपद् दोहोरी रहने र झन झन बढि जनधनको क्षेति हुने अवस्था दुर्भाग्य पूर्ण हुन्छ।हामिले हाल सम्म बिकास गरेको प्रणाली तथा संरचना विपद्को अवस्थामा चुस्त दुरुस्त छैन भन्ने हामि सबैले महसुस गरेको विषय नै हो।विपद्को अवस्थामा केही जागरुक भए जस्तो हुने तत्पश्चात हामिले सुधार गर्नु पर्ने, पूर्व तयारीको विषयहरु भने हाम्रो प्राथमिकतामा नपर्ने गरेको देखिन्छ।
जुनसुकै महामारी, विपद होस् या प्रकोपमा सुरक्षासंग सम्बन्धित निकायहरुले प्राय पहिलो पङक्तीमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको देखिन्छ।सुरक्षा निकाय बाहेकका अन्य सरकारी निकाय, तथा त्यहाँ कार्यरत कर्मचारीहरुको विपद्को घडीमा परिचालन चुस्त दुरुस्त हुन नसकेको देखिन्छ।हुनत: विपदको प्रकृति एकै किसिमको हुदैन, त्यसको प्रकृति अनुसार राष्ट्र सेवकहरुको खटन पटन फरक पर्न सक्दछ।तर प्रकोप आईसके पछि त्यसको नियन्त्रण, उद्दार लगायतका कार्यमा विपदको अवस्था अनुसार कोही अग्रभागमा खटिनु पर्ने हुन सक्दछ भने कोहि सहयोगी भुमिकामा खटिनु पर्ने हुन्छ।फरक त्यत्ति मात्र हो।निजामति सेवा जसलाई स्थायी सरकारको रुपमा लिईन्छ, यस्तो सेवालाई विपदको समयमा कसरी परिचालन तथा व्यवस्थापन गर्ने भन्ने विषयमा स्पष्ट हुनु पर्ने देखिन्छ।२०७५ साल चैत्र महिनामा बारा र पर्सा जिल्लामा आएको हावाहुरीको चक्रपातले क्षति पुर्याएपश्चात क्षति पुगेका घरहरुको पुन: निर्माणमा सम्बन्धित विभाग वा कार्यालयबाट पुन निर्माणको कार्य नगरी नेपाली सेनालाई उक्त जिम्मेवारी प्रदान गरियो। नेपाली सेनाले आफुले पाएको जिम्मेवारी तोकिएको समय भित्रै पुरा गरेर देखायो। २०७२ सालको भुकम्म पश्चात पुननिर्माणको विषय पनि तत्कालिन संगठन संरचनाबाट सम्पन्न नहुने देखि राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत गर्ने निर्णय गरियो। यसबाट के देखिन्छ भने विद्यमान सबै संगठन संरचनाहरु, कर्मचारीहरु विपद्को अवस्थामा नियमित कार्यछाडेर परिचालीत हुने अवस्थामा रहेका छैनन्।
यसैको कारण हुन सक्दछ, कोरोना प्रकोपको घडीमा सरकारले नै अहिले प्राय निजामती कर्मचारीहरुलाई घरमै वस्न निर्देशन दिएको छ, तर घरमा यसरी कर्मचारी राख्नु उपदायता के हो त्यसको कुनै तथ्य छैन। चालु आ.ब. २०७६।०७७ मा साधारण खर्च तर्फ करीब ५ खर्व ३१ करोड बजेट (कुल बजेटको ३४.७ प्रतिशत) विनियोजन भएको देखिन्छ भने, साधारण खर्च तर्फको उक्त बजेटको ठूलो हिस्सा कर्माचारीहरुको पारिश्रमिकमा नै खर्च हुने गर्दछ। राज्यले यति ठूलो रकम खर्च गरेर तलव भत्ता नियमित खुवाईरहने तर यस्तो विपद्को समयमा जिम्मेवारी विहिन बनाइरहनु त्यति उपयुक्त नहुने देखिन्छ। राज्यको उपल्लो तहमा राजनितिक कर्मिले नेतृत्व प्रदान गर्दछन्, उनिहरुले निति, निर्देशन तथा दिशानिर्देश मात्रै गर्ने हो त्यसलाई कार्यान्वयन तहमा लैजान सबै कर्मचारी प्रशासनको यथोचित परिचालन र व्यवस्थापन आवश्यकता रहन्छ।हो, अहिले यस प्रकोपको घडीमा जति सक्दो धेरै मान्छे घर भित्र बस्यो त्यति राम्रो हो तर जनताले सरकारको उपस्थिति खोजिरहेका अवस्थामा सरकारको प्रतिनिधिको रुपमा रहेका निजामति कर्मचारिहरुलाइ सधै लकडाउनमै राख्न उचित देखिदैन। निजामती सेवा ऐनमा समेत निजामती कर्मचारीहरुको चौविसै घण्टा नेपाल सरकारको हुनेछ भनेर स्पष्ट रुपमा उल्लेख गरिएको छ।अहिले राज्यको तहबाट जनतालाई राहत प्रदान गर्न तत्काल धेरै कार्यहरु गर्नु पर्ने छन्, ति कुराहरुको व्यवस्थापन सम्पूर्ण तह र तप्काका कर्मचारीहरुको परीचालनबाट मात्र सम्भव छ।
अर्को तर्क हुन सक्छ राहत वितरणको कार्य स्थानीय तह मार्फत भई नै रहेको छ, सबै कर्मचारीहरुको परिचालन आवश्यक नहुन सक्दछ।कतिपय स्थानीय तहले स्रोत, साधन तथा जनशक्तिको अभाव झेलिरहेका हुन सक्दछन्, उनिहरुलाई सहयोगको आवश्यकता हुन सक्दछ, राहत वितरणमा समन्वय गर्न आवश्यक हुन्छ यस्ता विषयमा समेत कर्मचारीहरुको परिचालनको आवश्यकता पर्न सक्दछ। अर्को तर्फ संक्रमणले पारेका बहु-आयामिक असरहरुको अध्ययन गर्न गराउन सम्बन्धित क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारी प्रदान गर्न सकिन्छ।कर्मचारीहरुसंग आफ्नो कार्यालयसंग सम्बन्धित तथ्याङ्क समेत हुने, अन्य व्यक्ति, संस्थाले गरेको अध्ययन भन्दा यथार्थ चित्रण पनि हुने सक्ने तथा उनिहरुको क्षमता समेत अभिबृद्धि हुदै जाने देखिन्छ।चालु आ.व. २०७६।०७७ को कुल बजेट मध्ये ४४.९ प्रतिशत बजेट विकास कार्यक्रमा विनियोजित भएको देखिन्छ।यति धेरै बजेटको हिस्सा आगट्ने विकासे मन्त्रालय, विभाग र त्यहाँ कार्यरत कर्मचारीहरुलाई प्रकोपले पूर्वाधारमा पार्ने प्रभाव, आगामि दिनमा आईपर्ने विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका उपायहरुको पहिचाँन, पूर्वाधार निर्माणमा देशले लिएको नीति, नियम, पूर्वाधार निर्माणमा देखिएका समस्या तथा निकारणका उपायहरु, प्रकोपको जोखिम कम हुदाँ वित्तिकै कसरी सहज तरीकाले रोकिएको निर्माण कार्य सहज रुपमा सञ्चालन गर्न सकिन्छ, लगायतका थुप्रै कार्यको अध्ययन तथा विश्लेषणमा सहभागि गराउन सकिन्छ।कुनै यस्ता खाले पूर्वाधारहरु छन्, जस्तै सडक पूल निर्माण, जसको सव-सट्रक्चरको कार्य मनसुन अगाडि सम्पन्न गर्न नसकेको खण्डमा निर्माण कार्यमा ढिलाई मात्रै नभएर निर्मित संरचना समेत क्षेति पुर्याउन सक्दछ। यस्ता पूर्वाधारहरुको पहिचान गरी सुरक्षित तरिकाले निर्माणका कार्य अगाडि बढाउन कर्मचारीहरुको परिचालन गर्न सकिन्छ।पूर्वाधार निर्माण रोजगारी प्रदानको सबै भन्दा ठूलो माध्यम समेत भएकोले, हाल बेरोजगार बनेका युवाहरुलाई पूर्वाधार जन्य रोजगारीमा कसरी सहभागी गराउन सकिन्छ, त्यस्ता विषयमा समेत कार्यदिशा बनाउने कार्यमा कर्मचारीहरुलाई लगाउन सकिन्छ।सवै कर्मचारीहरु संक्रमणकै कार्यमा खटिनु पर्छ, फिल्डमै खटिनु पर्छ भन्ने छैन्, कार्यालयमै बसेर अध्ययन, डकुमेन्टेसनका लगायतका थुप्रै कार्यमा सहभागी हुन सकिन्छ।अहिलेको परिस्थितिमा कृषि क्षेत्रलाई प्राथमिकता प्रदान गर्नु पर्ने आवश्कता महशुस गरिएको छ, अहिले बजेट तयारीको समय समेत रहेको छ।सो संग सम्बन्धित क्षेत्रका कर्मचारीहरुलाई हाल सम्म कृषिक्षेत्रमा भएका गतिविधिहरुको सुक्ष्म विश्लेषण, अध्ययन तथा आगामि समयमा सो क्षेत्रमा अपेक्षित सुधारको लागि गर्न सकिने विषयको अध्ययन, तथा आवश्यक उपाय पहिचानमा खटाउन सकिन्छ।हामिमा जिम्मेवारी नतोकिए सम्म स्वयम कार्य गर्ने बानिको विकास भएको छैन्।तसर्थ जे जसरी हुन्छ, सुरक्षित विधि अवलम्बन गरेर भएता पनि राज्यको तर्फबाट गर्नु पर्ने कार्य जुनसुकै अवस्थामा पनि रोकिनु हुदैँन।तथापि अहिले पनि मन्त्रालय, केही विभाग र अन्य कार्यालयहरुमा कर्मचारीहरु उपस्थित भई कार्य गरिरहेको देखिन्छ।
सङ्घीयता पश्चात विपदको सामना गर्ने जिम्मेवारी सम्बिधानत: तिनै तहको सरकारको रहेको छ। नेपालको संविधान, २०७२ को अनुसूची -९ मा समेत विपद् व्यवस्थापन संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची भित्र पर्ने व्यहोरा उल्लेख गरेको देखिन्छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा विपद् व्यवस्थापनमा स्थानीय तहको काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्याख्या गरिएको छ। विपद् व्यवस्थापनका सबै क्रियाकलापहरुको समन्वात्मक र प्रभावकारी रुपमा व्यवस्थापन गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६
जारी गरि लागु गरिएको देखिन्छ। विपद व्यवस्थापनको कार्यका लागि स्पष्ट कानुनी व्यवस्था रहेकोले, कानुनले परिकल्पना गरेको संरचना निर्माणको माध्यमबाट नै यस्ता किसिमको विपदको सामना गर्दा अझ बढि प्रभावकारी हुने देखिन्छ। ऐनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद, कार्यकारी समिति, विशेषज्ञ समिति देखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायतका अन्य संगठन तथा संरचनाहरुको समेत परिकल्पना गरेको छ।तत्कालको लागि अस्थायी संरचना निर्माण गर्नु भन्दा, कानुन प्रदत्त यस्ता संरचना निर्माण गर्न सकेको खण्डमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनको कार्य अझ बढि प्रभावकारी हुने तथा भविष्यका विपद्संग जुध्न समेत यस्ता संरचना मजबुँद हुदै जाने देखिन्छ।कानुनले नै प्राधिकरणलाई सार्वजनिक, निजि तथा गैरसरकारी संस्था, स्थानीय समुदाय वा सरोकारवालालाई समन्वयात्मक रुपमा परिचालन गर्न गराउन सक्ने अधिकारको व्यवस्था गरेको छ।राज्यले ऐन जारी भएको यत्तिको समय व्यतित हुदाँ समेत कानुन अनुसार संरचना निर्माण नगर्दा अहिले विपद् व्यवस्थापनमा हुनु पर्ने समन्वयको अभाव, तिन तहमा रहेका कर्मचारी कसरी परिचालन गर्ने भन्ने लगायतका विषयमा अन्यौलता भएको देखिन्छ।निर्वाचन आयोगले निर्वाचन गराउने प्रयोजनाका लागि जसरी सुरक्षा निकाय, निजामती कर्मचारी देखि सबै तह तप्काका कर्मचारीहरु परिचालन गरी सफलता पूर्वक निर्वाचन गराउने गर्दछ, ठिक त्यसै गरी यस्ता विपदको सामना गर्न सम्पुर्ण कर्मचारीहरुलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले परिकल्पना गरे अनुसारको संरचना मार्फत तत्काल परिचालन गर्नु पर्ने देखिन्छ।यसका लागि कानुनले दिएका अधिकार प्रयोग गरी तत्कालका लागि अत्यावश्यक संगठन संरचनाको व्यवस्था गर्नु उपयुक्त हुन्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जुन सुकै कार्यालय तथा सरकारका कर्मचारी परिचालन गर्न सक्ने व्यवस्था रहे अनुसार, उक्त प्राधिकरणको नेतृत्वमा कर्मचारी परिचालन गर्दा उपयुक्त हुने देखिन्छ।विपद् जुनसुकै बेला पनि आउन सक्दछ भनेर अहिले नै पूर्व तयारी तर्फ लागेको खण्डमा भविष्यमा हुने विपद्को जोखिम कम हुन जान्छ।मनसुनको समय नजिकिए संगै फेरी विभिन्न प्रकोपले धनजनको क्षेति पुर्याउनु पर्ने हुदाँ, त्यता तर्फ समेत ध्यान दिनु पर्ने समय आईसकेको छ।हामिले नियमित कार्य तर्फ मात्रै बढि ध्यान पुर्याउँदा, विपद्को समयमा वढि अलमलता, विपद्ले हुने क्षेतिको जोखिम बढेको देखिन्छ।
अहिले विभिन्न व्यक्ति, संस्थाहरु समेत स्व्यमसेवकको रुपमा खटिई गरीब, निमुखा श्रमजिबि जनतालाई राहत, सहयोग प्रदान गरिरहेको अवस्थामा निजामाति कर्मचारीहरुलाई घरमा बस्न अनुमति प्रदान गर्नु, अनि तलब चाही खुवाईराख्नु उचित देखिदैन। जे छ ठिक छ, जे गर्यौ ठिक गर्यौ भन्ने मानसिकताबाट बाहिर निस्केर यो कठिन समयमा सरकार र सरकारी संयन्त्र जनाताको सेवा गर्न परिचालित हुनु पर्दछ। सबै संगै यस प्रकोप विरुद्ध लडियो भने प्रकोप माथि विजय मात्र होईन भविष्यको सुन्दर मार्गदिशा कोर्ने अवसर समेत प्राप्त हुन सक्दछ।

संसार कि जननि

✍️ रामेश्वर शर्मा भुर्तेल


मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।”

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।’

आमाको महत्व माथि उल्लिखित दुई पंत्तिले नै प्रस्तुत गरेका छन् । आज हरेक सन्तानले जे–जति प्रगति गरेका छन्, जे– जस्ता नाम राख्न सफल भएको छन्, ती सबैको श्रेय तीनै आमाहरुलाई नै जान्छ जसले दस महिना आफ्नो कोखमा राखेर कठिनभन्दा कठिन पीडा सहेर आफ्ना सन्तानलाई यस धरतीमा जन्म दिन्छन्, आफ्नो छातिको अमृत पान गराएर हुर्काउँछन, तोते बोलीसंगै ज्ञानका कुराहरु सिकाउँन् । आमाहरुले नै घरको सारा काम सकेर सबैको चित्त बुझाउदेै आफ्ना बालबालिकालाई समय दिन्छन । आमाहरुले मेला-पात जाँदा पनि छोराछोरीलार्ई बोकेर लैजान्छन् र जस्तै कष्टमा पनि सकुसलै हुर्काउछन, पढाउँछन् र ठुलो मानिस बनाउँछन् । आमाहरु नै हुन् जो सन्तानकै लागि आफू रित्तिदै जान्छन, सन्तानहरुलाई भर्दै जान्छन । आफू चिसोमा सुतेरपनि सन्तानलाई न्यानोमा राख्ने तीनै आमा हुन । सबै आफ्ना दुखलाई आफैभित्र दबाएर पनि सन्तानलाई खुसी नेै देखाउने पनि तिनै आमा हुन । सन्तानका लागि कति दुख र पिडा आमाले सहन्छन त्यसको बयान गर्नका लागि कुनै शब्द नै छैन ।

आफैं आमा भएर भोगेका दुःख र पीडाका अनुभवले आमाप्रतिको श्रद्धा अझै बढेर गएको छ । आमाको माया नदी जस्तै छ बगिरहन्छ निरन्तर र निश्छल भएर । त्यसमा न कुनै स्वार्थ छ न कुनै द्धेष छ । सन्तानको खुसी, प्रगति र उन्नतिमा हरसमय रमाउने व्यक्ति भनेकै आमा आमा हुन् ।

आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । वैशाख कृष्ण औँसीका दिन मनाइने पर्व आज आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान एवं कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

आजको दिन दिवंगत आमाको सम्झनामा काठमाडौंस्थित मातातीर्थमा ठूलो मेला लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ ।

कसरी भयो मातातीर्थको उत्पत्ति ?

धेरै वर्ष पहिले त्यस ठाउँमा गाईबस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेको रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।

कथाअनुसार पहिलोचोटी रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेहरूले औँसीका दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाइ त्यसको नाम मातातीर्थ राखे ।

प्रत्येक वर्ष आजकै दिन आमा नहुनेहरूले मातातीर्थमा गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउँदै गर्दा यस ठाउँमा मातातीर्थ मेला लाग्न थाल्यो ।

हाम्रो समाज स्वार्थ र इष्र्याले भरिएको छ । परिवारभित्र वा बाहिर एकको उन्नति देखेर अर्काै जल्न सक्छ तर एउटै ब्यक्ति आमा हुन् जसले सन्तानको सुख र प्रगति देख्न चाहन्छिन् । हरेक आमाहरु आफ्ना सन्तानहरुले निरन्तर प्रगति गरेको देख्न देख्न चाहन्छुन्, उनीहरुको आँेठमा हांसो देख्न चाहन्छन, आपत–बिपत र दुखबाट उनीहरुलाइ हरसमय जोगाएर राख्न चाहान्छन् । त्यसैले त भनिन्छ “जननि, जन्म भूमिश्च स्वर्गादपि गरियसी ।” जन्मभूमि र जन्म दिने आमा स्वर्गभन्दा पनि ठूला हुन् ।

“तिमी मलाई एउटी असल आमा देउ, म तिमीलाई एउटा असल राष्ट्र दिन्छु” । नेपोलियन बोनापार्टको यो भनाई त्यसै आएको छैन । एउटी असल आमाले सिंगो परिवारलाई नै असल, सभ्य शिक्षित र एकताबद्ध बनाउन सक्छिन् । परिवारको स्वास्थ्य, शिक्षा र खानपानदेखि सिगो परिवारलाई सही बाटोमा डोर्याउने काममा अहम भुमिका आमाको नै हुन्छ । परिवारमा मेलमिलाप छाउँदा सिंगो परिवारको उन्नतिको ढोका खुल्दछ । धेरै असल परिवार मिलेर नै सभ्य समाज र राष्ट्रको निर्माण हुन्छ । त्यसैले आमाको भूमिका परिवार भित्र मात्रै सीमित छैन । यसरी देखिन्छ– सिंगो राष्ट्र निर्माणमा आमाको गहिरो भुमिका छ । सबै महिलाहरुले आफ्नो श्रीमान, छोराछोरी, बुहारी, नाति– नातिनीहरुको स्वतन्त्रता र आत्म सम्मानको ख्याल गर्दै सिंगो परिवारलाई एकजुट बनाउन सक्ने हो भने यो सिंगो राष्ट्र सुन्दर, शान्त र समृद्ध बन्नेछ । अब यही कुरालाई हरेक आमाहरुले मनन गर्नु पर्दछ ।
नेपाल आमा भएर मात्रै हाम्रा आमाहरुको अस्तित्व छ । यीनी त झन् ठूली आमा हुन् । जसलाई हामी थुक्छौ, कुच्छौ, यीनै माथि उफ्रिन्छौँ, जे गरेपनि सहनशील छन् । कतिबेलै यिनको प्रतिवाद छैन । आमाहरु पनि यस्तै हुन । यस्ती सहनशिल आमाको सम्मान गर्न त हामी सन्तानहरुले जान्नु पर्दछ तर आजको उपभोगवादी दुनियामा मानिसले हरेक कुरालाई उपयोगसंग माात्र जोडेको छ– आवश्यक परुन्जेल उपयोग गर्ने र त्यसपछि फ्याँकिदिने । आजका मानिसमा मन भावनात्मक पक्ष ज्यादै झिनो र कमजोर बन्दै गएको देखिन्छ । आफैलाई पनि चोइटयाउने त्रासबाट नेपाल आमाको पनि सुरक्षा गरौ ।

आजका मानिसले हरेक कुरालाई पैसासंग तुलना गर्दछन् । नाता–सम्बन्ध पनि नाफां र नोक्सानसंग गासिएका छन् । त्यस्तै विदेशी संस्कृतिको आक्रमण र टुट्देै गएको सयुक्त परिबारका कारण पुस्तैनी दुरी बढ्दै गएको छ । अघिल्लो पुस्ताका कुरा पछिल्लो पुस्ताले सुन्न र बुझ्न पनि नचाहने भैसकेको अवस्था छ । हिजोआज यस्ता समाचार पनि सुनिन्छ– ”एउटी बुढी आमालाई उनैको छोराले तीर्थ गर्ने बहानामा पशुपतिनाथको मन्दिरमा लगे र आमालाई त्यहीँ छाडेर भागे ।“ बुढी आमा बिचल्लीमा परिन् र पशुपतिमा मागेर बाँच्ने कोशिस गर्दैछिन । यस्ता अनेकौँ समाचार सुन्नु र पढ्नु परिरहेको छ । त्यस्ता मानिसले आफनै कर्तब्यलाई बिर्याै ।

समय परिवर्तनशिल छ । हाम्रा आमाहरुले भोग्नुभएको समय र अहिलेको समयमा धेरै परिर्वतन आएको छ । परिवारका नयां पुस्ताले आमाका अनुभवहरुबाट सिकौं । वहाँहरुका राम्रा गुणहरु त्यसै हराएर जान नदिउँ । हरेक आमाले भोग्नु भएका दुख–कष्टहरु नयाँ पुस्ताका लागि संघर्षका इतिहास बनुन् । अभावकाबीचमा पनि कैले बिचलित नहुने पाठ बनुन् । सन्तानहरुलाई सधै चल्लाले जस्तै ढोपेर राख्ने र जीवनलाई अनुभुति दिलाउने आमाहरुका सघर्ष नेपाली समाजका कथा बनुन् ।

जीवन त संघर्षै–संघर्षले भरिएको हुन्छ । एउटा घटनालाई पार लगायो, अर्काे आउादो रहेछ । सामन्ती समाजका अवशेषहरु बाँकी नै छन् । पुजीबादी समाजका विशेषताहरु भित्रिँदै छन् । बुढ्यौली जीवन असुरक्षित र अपमानित बन्दैछ । आमाको सम्झना एक दिन मात्रै गरेर पुग्दैन, बाँचुन्जेल उनीहरुको सम्मान, सुरक्षा र गुणस्तरीय जीवनका निम्ति सबैले सोचौँ ।

आजका छोराछोरीहरले यही कुराको मनन गर्न सकुन् । जीवित छँदै हरेकले आफ्नी आमालाई संसारकै राम्री बनाउन सकौं । उनीहरुको बुढ्यौली जीवनलाई सुरक्षित र सम्मानित राख्न सकौं । आमा तिमी बोट हौ, हामी त्यसका फूल हौं भन्ने भावना सबै सन्तानमा जागोस् । सबै आमाहरुलाई सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना !

मध्यरातमा राजपा र समाजवाद पार्टी बीच एकता: यस्ता भए सम्झाैताहरु 

काठमाडौँ | मध्येरातमा समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता भएको छ । 

लाेकतन्त्रकाे मूल्य मान्यतालाई अझ सशक्त बनाउन र नेपालकाे राजनीतिमा नयाँ उमङ्ग ल्याउन एक वैकल्पिक राजनैतिक शक्ति अावस्यक रहेकाे बताउँदै अाउने राजपा र समाजवादका नेताहरुले अाज यहि उद्देश्य अनुरुप अाफुहरुमा एकता भएकाे जनाएका छन् ।

एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ । एकतापछि पार्टीको झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुने भएको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै दुई दलले आ–आफ्नो पार्टीलाई सम्भावित विभाजनबाट जोगाउन पार्टी एकीकरण गरेका हुन् ।

सहमति पत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा दुवै पार्टीका शीर्ष नेताहरुबीच एकता वार्ता भएको थियो ।

१९ एसपीकाे एसएसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी)हरूको बढुवा भएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा मा १९ जना उपरीक्षकहरूको बढुवा गर्ने निर्णय गृह मन्त्रालयले मंगलवार गरेको हो । 

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार उपरीक्षकहरूको बढुवा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । 

बढुवा सूचीमा पहिलो नम्बरमा लागू औषध नियन्त्रण व्यूरो, काठमाडौंका प्रहरी उपरीक्षक बीरेन्द्र कुमार बस्याल रहेका छन् ।


यसपछि प्रहरी उपरीक्षक जनक भट्टराई, बिष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदिप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणी आचार्य, यज्ञ बिनोद पोखरेल, हृदय थापा, राज कुमार बैदवार, मुकेश कुमार सिंह र चन्द्र कुबेर खापुङको बढुवा भएको हो । 

पूर्वप्रधानमन्त्री नेपालले गराए आफ्नाे क्षेत्रमा राहत उपलब्ध

काठमाडाैं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लकडाउनका समयमा आफ्नाे निर्वाचन क्षेत्रमा रहेका स्थानीय तहहरुमा समस्यामा परेका विपन्न नागरिकलाई खाद्य सहयाेग गरेका छन् ।

पूर्वप्रधानमन्त्री नेपालको सचिवालय स्राेतका अनुसार नेपालले विश्वभर काेराेना भाईरस फैलिएकाे र नेपालमा समेत अाईसकेकाे बेला अाफ्नाे निर्वाचन क्षेत्रमा संक्रमण नफैलियाेस भनेर सरकारले लकडाउनको आदेश जारी गरेपछि बिहान बेलुका हातमुख जोर्न समस्यामा परेका दैनिक ज्यालादारी मजदुर, विपन्न र अपाङ्गहरुका लागि वितरण गर्न १६ सय बोरा चामलसहित दाल, चिनी, नून र तेल जस्ता खाद्य सामग्री उपलब्ध गराएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले उपलब्ध गराएकाे खाद्यान्न दुई नगरपालिका र दुई वडालेले व्यक्ति पहिचान गरी वितरण गरिरहेका छन् ।
लकडाउनकाे समयमा काेही पनि भाेकै बस्न नपराेस भन्ने उदेश्यका साथ त्यस क्षेत्रकाे जनप्रतिनिधिका नाताले पनि वरिष्ठ नेता नेपालले खाद्यान्न उपलब्ध गराएका हुन् । खद्यान्न वितरणकाे क्रममा शंखरापुर नगरपालिकालाई ५००, कागेश्वरी मनाेहरा नगरपालिकालाई ३००, काठमाण्डाै महानगरपालिका अन्तर्गतका ९ नम्वर वडालाई ३०० र ३२ नम्बर वडालाई ५०० पाकेट चामल सहित दाल,तेल लगाएतका खाद्यान्न उपलब्ध गराइएकाे वरिष्ठ नेता नेपालकाे सचिवालयले जानकारी दिएकाे छ ।

उदयपुरमा आजपनि तीनजनामा काेराेना: काेराेना संक्रमितकाे संख्या ४५

काठमाडौं । उदयपुरमा आज पनि ३ जनामा काेराेना पुष्टि भएकाे छ ।
कोरोना भाइरसबाट उच्च जोखिममा रहेको उदयपुरका फेरि अाज तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हाे। नयाँ संक्रमित भेटिएकाहरु भुल्केकै रहेका छन् ।

कोरोना संक्रमणको आशंकापछि त्यहाँबाट संकलन गरी ल्याइएका स्वाबको परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो। योसँगै अब संक्रमितको संख्या ४५ पुगेको छ।

कोरोनाग्रस्त उदयपुरलाई सरकारले सिल गरिसकेको छ। यी ३ जनामा पुष्टि भएसँगै उदयपुरमा मात्रै संक्रमित हुनेको संख्या २७ पुगेको छ। देशभरका संक्रमित ४५ पुगेकाे छ ।

आज पनि जिते एक युवाले काेराेना

काठमाडौं । सुदूरपश्चिमका तेस्रो कोरोना भाइरस संक्रमित व्यक्ति निकाे भएर घर फर्किएका छन् ।

काेराेना संक्रमित कञ्चनपुर बेदकोट नगरपालिका-९ का ४० वर्षीय इन्द्र बिककाे तेश्रो र चौ‌ंथो रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको छ।

१४ चैतमा भारतबाट ब्रह्मदेवव हुँदै नेपाल आएका उनी क्वारेन्टाइनमा बसेका थिए। २२  चैतमा र्‍यापिड टेस्टमा पोजिटिभ देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।

याे सँगै नेपालमा निकाेहुनेकाे संख्या ६ पुगेकाे छ

काठमाडौं महानगरकाे साथ पत्रकारलाई: सुरक्षा सामाग्री र केहि खाद्यन्न सहित

काठमाडौ । काठमाडौ महानगरपालिकाले सञ्चारकर्मीका लागि सुरक्षा सामाग्री र केहि खाद्यन्न उपलब्ध गराएकाे छ ।

पालिकाले कोरोना भाइरस संक्रमणको जोखिम मोलेर रातदिन फिल्डमा खटिने पत्रकारहरुका लागि केही सहजता ल्याउन, अात्माबल बढाउन र प्राेत्साहन गर्नकाे तत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा सामाग्री र खाद्यन्न उपलब्ध गराएकाे हाे ।

महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले काठमाडौ जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत रही जोखिम मोलेर फिल्डमा खटिएका सञ्चारकर्मीलाई स्यानिटाइजर, मास्क र ग्लोभ्स उपलब्ध गराएका छन् ।

मंगलबार महानगरमा एक कार्यक्रमको आयोजना गरि प्रमुख प्रशासकिय अधिकृत अर्यालले पत्रकार महासंघका केन्द्रिय सदस्य गोविन्द चौलागाई मार्फत सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत अर्यालले जोखिम मोलेर फिल्डमा खटिदै जनतालाई सुचना उपलब्ध गराउन सक्रिय सञ्चारकर्मीलाई सम्मान स्वरुप सुरक्षा समाग्री उपलब्ध गराइएको बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सञ्चारकर्मीको महत्वपुर्ण भूमिका रहेको स्मरण गर्दै आफु सञ्चारकर्मीको समस्यामा जहिले पनि सहयोग गर्न तत्पर रहने प्रतिवद्धता जनाउँदै सञ्चारकर्मीहरु सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने र सरकारका राम्रा कार्यलाई जनता समक्ष लैजान कञ्जुस्याई गर्न नहुने बताए ।

अर्यालले लकडाउनका कारण अत्यन्तै समस्यामा परेका सञ्चारकर्मीहरुको दुखमा साथ दिन केहि खाद्यन्न समेत उपलब्ध गराइएको जानकारी दिए ।

कार्यक्रमा पत्रकार महासंघका केन्द्रिय सदस्य गोविन्द चौलागाईले महानगरले पत्रकारको सुखदुखमा साथ दिएकोमा धन्यवाद दिदै महानगरको विकास निर्माण कार्यमा सञ्चारकर्मीहरु सधै साथमा रहने बताए ।

कार्यक्रममा महानगरका सहसचिव राजेश्वर ज्ञवालीको समेत सहभागिता रहेको थियो ।
महानगरकाे याे हाैसला प्रदान कार्यक्रमले पत्रकारहरुलाई सहजता ल्याउनुका साथै अाफ्नाे काम प्रति अझै जिम्मेवारि बाेध समेत रहने केन्द्रिय सदस्य चौलागाईले बताए ।