मंगलबार तनहुँमा मात्रै चार जनाले गरे आत्माहत्या

तनहुँ । तनहुँमा मङ्गलबार मात्रै विभिन्न स्थानमा गरी चार जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

त्यसमध्ये एकजना भने क्वारेन्टाईनमा बसेका थिए । जिल्लाको घिरिङ गाउँपालिकाकामा क्वारेन्टाईनमा बसेका ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई मंगलबार आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए ।


शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । “ती व्यक्तिमा मानसिक समस्या रहेको जानकारी पाएको छु”, उनले भने, “घटनाको जानकारी पाएलगत्तै यहाँबाट एक प्रहरी टोली पठाइएको छ । सुरक्षितरूपमा शव व्यवस्थापन गर्नका लागि स्वास्थ्यकर्मी टोलीसमेत घटनास्थल पुगेका छन् ।”
साथै जिल्लामा थप तीन जनाले आत्माहत्या गरेका छन् ।

पतञ्जलिका संस्थापक बाबा रामदेवविरुद्ध उजुरी दर्ताः किन ?

काठमाडौँ । कोरोनाभाइरसविरुद्धको औषधि कोरोनिल बनाएको दाबी गर्ने बाबा रामदेवविरुद्ध भारतमा उजुरी दर्ता गरिएको छ ।


पतञ्जलि कम्पनीले मंगलवार औषधि ल्याउने घोषणा बाबारामदेव विवादमा गरेका हुन् ।
औषधिको शुभारम्भ गरिएको भनी प्रचार गरेको पाँच घन्टाभित्र भारतको केन्द्र सरकारले कोरोनिल औषधिमा रोक लगाएको छ । अनुमति नलिइकन उपचारको दाबी गर्नु गलत भएको कारण उनीविरुद्ध उजुरी दर्ता गरिएको हो ।

औषधि ल्याउनुअघि त्यसमा गरिएको अनुसन्धानको विवरण दिनुपर्ने हुन्छ ।

अस्ट्रलियामा ठगीको आरोपमा सोमबार पक्राउ परेका दुई नेपाली जेल चलान

काठमाडौं । अस्ट्रेलियामा ठगी आरोपमा पक्राउ परेका दुई जना नेपालीलाई जेल पठाइएको छ ।


पश्चिमी सिड्नीकी एक वृद्ध महिलासँग हजारौं डलर ठगी गरेको आरोपमा प्रहरीले २२ वर्षकी नेहा गिरी र १९ वर्षका आयुष भट्टराईलार्ई सिड्नीस्थित एक अदालतले जेल चलान गरेको हो ।

उनीहरुले ८५ वर्षकी एक महिलालाई झुक्याएर हजारौं डलर ठगी गरेको आरोप पश्चात स्थानीय समयअनुसार सोमबार अपरान्ह साढे ४ बजे टेलोपियामा एक घरबाहिरबाट पक्राउ गरेका थिए ।


अस्ट्रेलियाको समाचार वेबसाइट नाइनन्यूजका अनुसार यी दुईलाई बेइमानी र धोखाधडीबाट सम्पत्ति आर्जन गरेको ५ वटा आरोप र जानीजानी आपराधिक क्रियाकलापमा संलग्न भएको ३ वटा आरोप लागेको छ ।

समाचारमा जनाइए अनुसार पीडित ८५ वर्षकी महिलालाई एउटा फोन कल आएको थियो । फोन गर्नेले आफू उनको बैंकबाट बोलेको भन्दै उनको बैंक खाता रोक्का भएकोले उनले अर्को खाता खोल्नुपर्ने बताएका थिए । फोन गर्नेले महिलालाई एक कुरियरलाई ३ हजार डलर दिन भनेका थिए । कुरियरका कर्मचारी महिलाको घरमै आउने र त्यो रकम उनको खातामा जम्मा गरिने बताइएको थियो ।

महिलाले कुरियल वालालाई ३ हजार डलर दिईन र यसबारे पुलिसलाई पनि जानकारी दिइन् । पछि महिलालाई फेरि अर्को फोन कल आयो । फोन गर्नेले उनलाई अझै ५ हजार डलर दिनुपर्ने बताए । पुलिसले नेपाली जोडीलाई सोमबार ती महिलाको घरमा पैसा लिन आएको बेला पक्राउ गरेको जनाइएको छ ।

अनुसन्धानमा भारतमा आधारित रहेर अस्ट्रेलियामा सक्रिय सदस्यहरुबाट ठगी धन्दा चलाइरहेको गिरोहबारे खुलासा भएको छ । यो गिरोहले अस्ट्रेलियामा यस्तै गरी झुक्याएर पैसा ठग्ने र विद्युतीय माध्यमबाट विदेश पठाउने गरिरहेका थिए । अनुसन्धानकर्ताहरुले यस्तै किसिमका फोन कल आएका अन्य पीडितहरुको पनि पहिचान गरेका छन् ।

गिरी र भट्टराईलाई मंगलबार पारामाट्टाको स्थानीय अदालतमा उपस्थित गराइएको थियो । अदालतमा यी दुवैले जमानतको लागि अर्को प्रयासस्वरुप कुनै आवेदन नगरेको बताइएको छ । अदालतले उनीहरुलाई जेल पठाएको छ । अब उनीहरुलाई अगष्ट २० मा फेरि अदालतमा उपस्थित गराइनेछ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अत्यावस्यक बाहेक सबै सेवा ठप्प

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले अत्यावस्यक बाहेक सबै सेवाहरु बन्द गर्ने भएको छ । प्रतिष्ठानका ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको प्रतिष्ठानले जनाएको छ ।

सेवा प्रवाह गरिरहेको खण्डमा संक्रमणको जोखिम बढ्ने भएकाले अर्को सूचना जारी नभएसम्मको लागि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरिएको अस्पताल निर्देशक मंगल रावलले बताए ।

नयाँ प्रहरी महानिरीक्षक नियुक्ति तयारिमा स्वच्छ प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रहरीमा दुई सातापछि नेतृत्व परिवर्तन हुँदैछ ।
ठाकुरप्रसाद ज्ञवालीले २४ असारमा ३० वर्षे सेवा हदका कारण अवकाश पाउँदैछन् । सामान्यतया आईजिपीले अवकाश पाउनुभन्दा अघिल्लो दिन नयाँ आईजिपीको नियुक्त हुने सम्भावना छ । जसअनुसार आगामी २३ गते प्रहरीले नयाँ महानिरीक्षक पाउने सम्भावना छ ।

नयाँ महानिरीक्षकका प्रतिस्पर्धीमा एआईजीद्वय शैलेश थापा क्षेत्री र हरि बहादुर पाल छन् । विगतमा जस्तो उनीहरुबीच अस्वस्थ्य चलखेल बाहिर देखिएको छैन । यसबाट प्रहरीमा नयाँ संस्कारको सुरुवात भएको चर्चा प्रहरी संगठनमा छन् । दुवै एआईजीका आ–आफ्नो क्षमता भएकाले जसले गृहमन्त्री र प्रधानमन्त्रीको विश्वास जित्न सक्छ उही महानिरीक्षक हुने सम्भावना छ । दुवैले राजनीतिक लबिङ तिव्र बनाएका छन् । गृहमन्त्री रामबहादुर थापा समेत आईजिपी बढुवामा खुलेका छैनन् । अन्तिममा जसले विश्वास जित्छ उही नेपाल प्रहरीको २८ औं महानिरीक्षक हुने सम्भावना छ ।

विगतमा महिना दिन अगाडिदेखि प्रहरी महानिरीक्षकका आकांक्षीबीच अस्वस्थ प्रतिस्पर्धा हुने र सामाजिक सञ्जालदेखि मिडियासम्म एकले अर्कोलाई हिलो छ्यापाछ्याप गरेको दृश्य देखिन्थ्यो । तर, यो वर्ष फरक दृश्य देखिएको छ । बढुवाका आकांक्षीहरुले स्वच्छ प्रतिस्पर्धा गर्ने र जो बढुवा भए पनि एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल प्रहरीमा यो राम्रो परम्पराको सुरुवात हो ।

प्रहरी संगठनकाे पहिलाे प्राथमिकता “अनुशासन” लाई पूर्णता दिदै उनीहरु प्रतिस्पर्धामा रहेका छन् । प्रहरी नै अनुशासित नभएमा जनताले दुःख कष्ट पाउँछ र ‘सत्य सेवा सुरक्षा’को नारा, नारामै मात्र सीमित हुन्छ । नेपाल प्रहरीमा ०४८ सालपछि राजनीति विकृति झांगिदै गयो । राजनीतिक दलका नेताले प्रहरी संगठनलाई आफ्नो स्वार्थ अनुकूल ढाल्दै गएको कारण संगठनमा अनुशासन भन्ने कुरा खरानी भयो । त्यसको धङधङी केही समय अगाडि सांसद अपहरणकाण्डमा निवर्तमान प्रहरी महानिरीक्षकको संलग्नताले पनि स्पष्ट पार्छ । अपहरणको उद्देश्य राजनीति थियो, जसमा प्रहरीकै प्रयोग भयो ।
तर अहिले विगतबाट भावी आइजीले पाठ सिकेका छन् ।

त्यस्तै एआईजी बढुवामा भने अस्वस्थ दौडधुप चलिरहेको छ । आईजिपी ज्ञवालीसँगै एआईजी तारिणी लम्सालले पनि अवकाश पाउँदैछन् । दुई एआईजीमध्ये एक आईजिपी हुने भएकाले त्यो अवस्थामा एआईजीका दुई दरबन्दी रिक्त हुनेछन् । त्यो अवस्थामा कार्यक्षमता र बरियताका आधारमा निरज शाही र प्रद्युम्न कार्कीको बढुवा हुने देखिन्छ । तर, विश्वराज पोखरेल लगायत डिआईजी पनि एआईजी बढुवाको लबिङमा छन् । अहिले एआईजी भए यसपछि आफु आईजिपी हुने पोखरेलको योजना छ । उनका ब्याचका अन्य डिआईजीहरु भने उनलाई रोक्ने खेलमा लागेका छन् । त्यस्तै डिआईजीका केही दरबन्दी थप गर्न पनि गृह मन्त्रालयले छलफल अघि बढाएको छ ।

प्रहरि निरीक्षक बोहोरा र वन अध्यक्ष साउविरुद्ध अख्तियारमा मुद्दा दर्ता

डोटी । जिल्लामा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।


उनीहरुबाट रु ६१ हजार २० बिगो दाबी माग गर्दै मुद्दा दायर गरिएको हो ।

एक वर्षअघि इलाका प्रहरी कार्यालय बिपीनगरमा कार्यरत रहेको बेलामा प्रहरी निरीक्षक बोहरा र सामुदायिक वनका अध्यक्ष साउदले अवैध काठ तस्करी गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

अवैध काठसहित भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम कार्यालयले दुवै जनाविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको हो । अध्यक्ष साउद र प्रहरी निरीक्षक बोहरालाई भ्रष्टाचार निवारण ऐनअनुसार कारवाही गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।

बाहिरबाट उपत्यका आउनेकाेलागि तुरुन्तै पिसिआर परिक्षण गर्न नपर्ने : १४ दिन होम क्वारेन्टाइन बसे पुग्ने

काठमाडौं   । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं प्रवेश गर्ने व्यक्तिले तुरून्त पिसिआर परीक्षण गर्न नपर्ने जनाएको छ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले भाडामा बस्नेहरू उपत्यका आउँदा केही घरबेटीहरूले पिसिआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाए।

मन्त्रालयले उपत्यका आउने मानिसहरूलाई पिसिआर परीक्षण गर्न अनावश्यक दवाब नदिन आग्रह गरेको छ।

डा. गौतमले उपत्यका भित्रिने मानिसहरूले आउनुबित्तिकै पिसिआर परीक्षण गर्न नपर्ने भन्दै १४ दिन होम-क्वारेन्टिनमा बन्नुपर्ने बताए।

‘बाहिरबाट आएकाले १४ दिन होम-क्वारेन्टिनमा बस्नुपर्छ। त्यसअवधिमा लक्षण देखिएमात्र चिकित्सकको सल्लाहमा परीक्षण गर्नुपर्छ,’ उनले भने।

त्यसरी भित्रिएका मानिसहरूलाई अनावश्यक रूपमा परीक्षण गर्न दवाब नदिन सम्बन्धित घरबेटी र सर्वसाधारणलाई मन्त्रालयले अपिल गरेको छ।

डा. गौतमले यसका लागि गृह मन्त्रालयमार्फत् उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरिएको बताएका छन्।

भारत र पाकिस्तानी सीमा जम्मु काश्मिरमा भएको झडपमा गुल्मीका एक युवककाे मृत्युु

गुल्मी । भारत र पाकिस्तानी सीमा जम्मु काश्मिरमा भएको गोली हानाहानमा एक नेपालीको मृत्यु भएको छ ।

सोमबार बिहान भएको उक्त झडपमा परेर भारतीय सेनामा कार्यरत गुल्मीको छत्रकोट गाउँपालिका ५ का दिपक कार्कीको मृत्यु भएको हो । कार्की जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै भएका बेला पाकिस्तानतिरबाट प्रहार भएको गोली लागि गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

एमसिसि पारित गर्ने समय थप: संसद बैठक १७ गतेसम्मको लागि स्थगित

काठमाडौं  । नेकपाभित्र चर्को विवाद र बहसको केन्द्र बनेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ३० जुन (असार १६) गतेसम्ममा संसदबाट पारित भइसक्नुपर्ने भनिएपनि संसद् बैठक असार १७ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलवार नागरिक लगानी कोष दोस्रो संशोधन विधेयक पारित भएपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक असार १७ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।​

मंगलवारको बैठकमै राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठले नेपाल नागरिकता पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश गरेकी थिइन् ।

सम्झौतालाई जुन ३० अर्थात् असार १६ गतेसम्म संसदबाट अनुमोदन गरिसक्न एमसीसीले समयसीमा दिएको थियो । ‘जुन ३० सम्ममा पारित भइसक्नुपर्छ भन्ने कुरा लिखित रूपमा त कहीँ उल्लेख छैन, तर दुई पक्ष (नेपाल सरकार र एमसीसी)बीचको समझदारीमा तय भएको डेडलाइन हो यो,’ सम्झौता प्रक्रियामा सहभागी एक उच्च अधिकारीले भने

शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारको पालामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बाझिएको हकमा नेपालको प्रचलित कानूनभन्दा एमसीसी माथि रहने कुरा उक्त सम्झौतामा उल्लेख रहेकाले संसदबाट पारित नभई कार्यान्वयन हुने अवस्था छैन ।

गत जेठ ६ गते संसदमा सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी जसरी पनि पारित हुने बताएका थिए ।

प्रधानमन्त्रीले यसो भने पनि सत्तारुढ दल नेकपाका सबैजसो कमिटीमा बहुमत सदस्यहरू एमसीसी पारित गर्न नहुने पक्षमा छन् ।

काेराेनाकाे औषधि बनेकाे बाबा रामदेवकाे दाबी

काठमाडाैँ । योग गुरु बाबा रामदेवले महामारीका रूपमा रहेको कोरोना भाइरसको औषधि पत्ता लगाएको बताएका छन्।

पतन्जलि योगपीठका सञ्चालक समे रहेका बाबा रामदेवले कोरोना भाइरस (कोभिड–१९) को औषधि बनाएको दाबी गरेका हुन्।

मंगलबार रामदेवले कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गरेका गर्दै यसको क्लिनिकल कन्ट्रोल स्टडी र ट्रायल दुवै भएको उनले बताउँदै दिल्ली सहितका सहरमा भएको क्लिनिकल कन्ट्रोल स्टडीमा २८० जना संक्रमित सहभागी रहेको र शतप्रतिशत विरामी ठीक भएको र एक जनाको पनि मृत्यु नभएको बताए ।

‘क्लिनिकल कन्ट्रोल ट्रायलमा भने १०० जना सहभागी थिए । उनीहरुमध्ये ६९ प्रतिशत संक्रमित ३ दिनमै ठीक भए भने सात दिनमा सबैको रिपोर्ट नेगेटिभ आयो’, बाबा रामदेवदले भने ।

रामदेवको दाबी छ, ‘हाम्रो औषधिको शतप्रतिशत रिकभरी रेट छ, शून्य प्रतिशत डेथरेट छ ।’

उनका अनुसार यो औषधि बनाउन अश्वगन्धा, तुलसी लगायतको प्रयोग गरिएको छ ।

काेराेनाबाट थप एकजनाकाे मृत्युु

काठमाडौँ । नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ का ४५ वर्षीय पुरूषको हिजो बेलुका मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

असार ४ गते प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि सोही अस्पतालको आईसोलेसनमा उपचारका क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी क्षयरोग र दमको समेत विरामी रहेको मन्त्रालयका प्रवक्ता प्रा डा‍‍ जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै नेपालमा आज थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नेपालमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १० हजार ९९ पुगेको छ । डाक्टर गौतमले पछिल्लो २४ घण्टामा ७६ संक्रमित निको भएर डिस्चार्ज भएको पनि जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १० हजार ९९ पुगेको छ ।

डाक्टर गौतमले पछिल्लो २४ घण्टामा ७६ संक्रमित निको भएर डिस्चार्ज भएको पनि जानकारी दिए ।

भारत—चीनको झडपमा दुई चिनियाँ सैन्य अधिकारि मारिएको खुलासा

काठमाडौँ । भारत— चीन सीमामा जुन १५ मा २० भारतीय सैनिकको ज्यान जाने गरी भएको झडपमा दुई चिनियाँ सैन्य अधिकारी मारिएको खुलेको छ ।


झडपमा एक कमान्डिङ अफिसर र बटालियनका अर्का अफिसर भएको चीनले स्वीकार गरेको छ । चिनियाँ पक्षले यस हताहतीका बारेमा घटना लगत्तै भारतीय पक्षलाई जानकारी दिएको भएपनि हालै मात्र समाचार सार्वजनिक भएको उल्लेख छ । चिनियाँ विदेश मन्त्रालयले भने हालसम्म घटनामा भएको कुनैपनि हताहतीलाई स्वीकार गरेको छैन ।

घटनामा भारतका कमान्डिङ अफिसर सहित २० जनाको ज्यान गएको थियो ।
घटना लगत्तै चिनियाँतर्फ पनि हताहती भएको बताइएको भए पनि कति संख्यामा हताहती भयो भन्ने बारेमा कुनै जानकारी सार्वजनिक हुन सकेको थिएन।

पाल्पामा गाडी पल्टदा तीनको मृत्यु: पहिचान अझै खुल्न सकेन

बुटवल । पाल्पा तानसेन हार्थोक सडकखण्डमा हिजो सवारी पुरिदा तीन जनाको मृत्यु भएको छ ।

सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा सोमबार पहिरोले गाडी बगाउँदा सोमबार तीन जनाको मृत्यु भएको थियो । मृतकको आवधिक समयसम्म पहिचान खुल्न सकेको छैन ।


शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले तानसेन नगरपालिका–११ सम्मोबारी नजिकै सडकमा रोकिएका चारवटा सवारी बगाएको थियो । दुर्घटनामा परेका दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते अवस्थामा उद्धार गरिएका एक पुरुषको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा मृत्यु हुने तीन जना पुरुष रहेपनि अझै पहिचान खुल्न नसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गीरीले जानकारी दिए ।


तानसेनबाट रिडीतर्फ जाँदै गरेका गाडीहरु सोही स्थानको जोगीपानीमा खसेको पहिरो पन्छ्याउनका लागि रोकेर राखिएको थियो । सडकमा रोकेर राखिएका लु १ च ७०४३ नम्वर पिकअप जिप, लु.१ प.१९२८ नम्वरको पानी ट्याङ्कर, लु.२ ख १३७६ नम्वरको ट्रक सडकदेखि तल खसेको र लु १ च ७०११ नम्वरको कार बाटोमै पुरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । सडक तलबाट प्रहरीले दुई जनाको शव निकालेको थियो ।
सुरक्षा निकायका व्यक्तिहरु राति अवेरसम्म उद्धारमा खटेपनि माथिबाट पहिरो खसिरहेको र पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको थियो ।

भारतीय गाडीको ठक्करबाट एकको मृत्यु

मकवानपुर । भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ ।

साँझ मनहरिको सुनाचुरीमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हरीका अनुसार भारतबाट एलपी ग्यास लिएर हेटौँडा हुँदै चितवनतर्फ जाँदै गरेको एनएल१एल २४७० नंको भारतीय ग्यास बुलेटको ठक्करबाट घिसिङको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक घिसिङ मनहरी–६ सुनाचुरीका स्थानीयवासी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
ठक्कर दिने ग्यास बुलेट र सो बुलेटका चालक भारत मोतिहारी जगदाका ५६ वर्षीय विजय मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।