दाङमा पहिरो, आमाबच्चा बेपत्ता

दाङ । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ५, कमिरेचौरमा पहिरोले घर पुर्दा आमाबच्चा बेपत्ता भएका छन्।

मंगलबार राति खसेको पहिरोले घर भत्किँदा भित्र रहेका आमा र बच्चा बेपत्ता भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए।

‘पूर्णरुपमा परिचय अझै खुलेको छैन,’ बुधबार बिहान प्रहरीको टोली घटनास्थल पुगिसेकेको छ, खोजी भइरहेको छ।’प्रमुख जिल्ला अधिकारी रिजालले भने।

घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए।

दुई दिनमै कर्जा स्वीकृत हुने गरि मेगा बैंकले लियो सस्तो कर्जा योजना

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ।

योजना अनुसार बैंकको १० औँ बार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो।

ब्याजदर १ बर्षसम्म नबढ्ने गरि अब साना तथा मझौला व्यवसायीहरुले एक करोडसम्मको कर्जा लिँदा ८.३२ ब्जाजदरमै कर्जा पाउनेछन् ।

आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको २ दिनमै कर्जा स्वीकृति हुने ब्यवस्था मिलाइएको छ। मेगा बैंकका देशभर छरिएका २ सय ६ वटा शाखाबाट यो सुविधा पाइनेछ। कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालनका लागि यो कर्जा योजनाले लाभ मिल्ने मेगा बैंकले विश्वास लिएको छ।

१४ लाख भन्दा बढी रकमसहित जुवाडे पक्राउ

काठमाडौँ। प्रहरीले १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई पक्राउ गरेको छ ।सोलुखुम्बु जिल्लाको सोताङबाट जुवा खेलिरहेको अवस्था उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो।

सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा रु १४ लाख ६५ हजार नगदसहित मङ्गलबार पक्राउ गरिएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिए।

पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेको प्रहरीको भनाइ छ ।

उनीहरुको साथबाट कृषि विकास बैंकको रु २९ लाखको चेकसमेत बरामद गरिएको छ। उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्लेरीतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ। यति ठूलो परिमाणमा जुवा खालबाटै पक्राउ परेको यो जिल्लाकै पहिलो घटना रहेको प्रहरीेले जनाएको छ।

सुशान्तका पिताले दिए रिया विरुद्ध उजुरी

काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूतका पिताले रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका छन्। आत्महत्या गरेका सुशान्तका पिता केके सिंहले पटनास्थित राजीवनगर प्रहरी चौकीमा रियाविरुद्ध उजुरी दिएका छन्।

केकेले रियाविरुद्ध सेक्सन ३ सय ६ अनुसार आत्महत्याको लागि उक्साएको तथा ३४० र ३४२ अनुसार कारबाहीको माग गरिएको छ। यसअघि रियाले गृहमन्त्री अमित शाहलाई यो घटनाको छानविनका लागि सीबीआईलाई जिम्मा दिन अनुरोध गरेकी थिइन्। अरुमाथि छानविन गरेर उनलाई आत्महत्या गर्न बाध्य पार्नेमाथि कारबाहीको माग गर्दै आएकी रिया अन्ततः आफैं यसको शिकार बनेकी हुन्।

रिया सुशान्तकी प्रेमिका हुन्। थाना प्रमुख योगेन्द्र रविदासले भारतीय सञ्चारमाध्यमलाई २५ जुलाईमा नै उजुरी दर्ता भएको बताए।

उजुरीमा उनले रियालाई आत्महत्या गर्न बाध्य पारेको तथा पैसा माग्ने गरेको आरोप लगाएका छन्। उजुरीपछि पटना प्रहरीको एक टोली मुम्बई गएको छ। १४ जुनमा बान्द्रास्थित आफ्नै निवासमा मृत फेला परेका थिए। सुशान्तको आात्महत्यापछि मुम्बई प्रहरीले १ सय जना भन्दा बढीसँग सोधपुछ गरेको छ।

चितवनको १ सय ३२ केभी क्षमताको सवस्टेशन छिट्टै सञ्चालनमा आउँदै

चितवन । चितवनमा १३२÷३३÷११ केभी क्षमताको सवस्टेशन निर्माण भएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा नेपाल सरकारको लगानीमा सोही सवस्टेशन निर्माण गरिएको हो।

सवस्टेशनमा राखिएका १ सय ३२÷३३ केभी र ३० एमभीएका २ पावर ट्रान्सफर्मरमध्ये एउटा नोलोडमा चार्ज गरिएको छ। हेटौँडाबाट भरतपुरतर्फ गएको १ सय ३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई सवस्टेशनभित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको आयोजना प्रमुख रमनराज शर्माले बताए। शर्माले अब लोड दिएर चार्ज गर्ने तयारी गरेको बताए। हेटौँडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सवस्टेशन निर्माण गरिएको हो।

“त्यहाँबाट स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि ३३÷११ केभी, १६÷६ एमभीए पावर ट्रान्सफर्मर आइतबारदेखि चार्ज गरिएको छ, सवस्टेशन स्वचालित प्रणालीको सञ्चालन र ११ केभी फिडरबाट केही दिनमा विद्युत् वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ”, उनले भने।

उनले सवस्टेशन सञ्चालनमा आएपछि प्राविधिक चुहावट घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने विश्वास रहेको बतए। अहिले भरतपुरमा रहेको १ सय ३२ केभी सवस्टेशनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३÷११ केभी चैनपुर सवस्टेशनमार्फत पूर्वी चितवनमा विद्युत् आपूर्ति भइरहेको छ।

लामो दूरीका कारण लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या हुँदै आएको छ। पूर्वी चितवन सवस्टेशनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सवस्टेशनको लोड पनि काम हुनेछ। पूर्वी चितवनको समस्या पनि समाधान हुने आयोजनाले जनाएको छ।

आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ। आयोजनाको काम विसं २०७५ असारदेखि शुरु भएको थियो। गत चैतभित्रमा सञ्चालन गर्ने लक्ष्य राखिएको सवस्टेशनको निर्माण विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित हुँदा केही ढिला भएको हो। लकडाउनपछि अहिले बाँकी काम धमाधम भइरहेको छ।

सवस्टेशन निर्माणको जिम्मा सिक्युएनइसी–एनएचई निर्माण कम्पनीले पाएको थियो। “विसं २०७६ चैतभित्र सवस्टेशन निर्माणको काम सम्पन्न हुनुपर्ने थियो”, आयोजनाका इञ्जीनियर नारायण सापकोटाले भने , “असार मसान्तसम्म म्याद थप गरेर काम गरेका हौँ।” यो सवस्टेशनमा जडित उपकरण अटोमेशन सिस्टम (स्वचालित प्रणाली) बाट सञ्चालन गर्न सकिने गरी निर्माण गरिएको छ।

स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि हर्दीबाट पर्सा सवस्टेशनसम्म करिब १० किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन र ११ केभी वितरण लाइन पनि निर्माण हुँदैछ। ३३ केभी लाइन छ महिनाभित्र निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ। “अहिले स्थानीय क्षेत्रमा ११ केभीको दुईवटा फिडरबाट वितरण हुन्छ, पछि चारवटा फिडरबाट वितरणको तयारी गरेका छौँ”, सापकोटाले भने।

राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले सवस्टेशन निर्माणपश्चात पूर्वी चितवनका नागरिकलाई ठूलो राहत मिल्ने बताए। उनले भने, “हामीले वर्षैँ देखि लोडसेडिङ र लो भोल्टेजको समस्या झेल्दै आएका हौँ, सवस्टेशन निर्माणपछि यो समस्या हल भएको छ ।” उनले स्थानीयवासीलाई रोजगारी प्रदान गर्दै उद्योग कलकारखाना स्थापनाका लागि पनि सवस्टेशनले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

रानी विराटनगरले लक्ष्यको ५७.१३ प्रतिशत मात्रै राजस्व संकलन गर्यो

काठमाडौं। एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६÷७७ मा कूल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले कूल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा मात्र यो मात्र ५७.१३ प्रतिशत हो । अर्थात, २१ अर्ब २८ करोड २६ लाख १७ हजार रुपैयाँले कम हो।


आव २०७४÷७५ मा लक्ष्यभन्दा १ अर्ब ५६ करोड ८२ लाख दुई हजार रुपैयाँ बढी अर्थात १०५ प्रतिशत राजश्व संकलन गरेको थियो भने कार्यलयले आव २०७५÷७६ मा कूल ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यमा ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको गरेको थियो।

गत अर्थिक वर्षमा कोभिड—१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापरिक कारोवार ठप्प हुनु आयात एवं निर्यात नहुनुले पनि लक्ष्य अनुसारको राजस्व संकलन नभएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिए।

उनले यस्तो समस्याको बाबजुद पनि कार्यालयले निरन्तर भन्सार राजस्वमा निगरानी बढाएकोले धेरै हदसम्म भन्सार उठाउन सफल भएको बताए।

गएको आवमा संकलित राजस्वमा भन्सार महसुल १२ अर्ब ४ करोड २९ लाख १५ हजार, मूल्यअभिवृद्धि कर १४ अर्ब ७६ करोड ७४ लाख ४७ हजार रुपैयाँ र अन्तःशुल्क १ अर्ब ५५ करोड ३० लाख ६७ हजार रुपैयाँ रहेको छ।

‘मलाई पद चाइएको होइन, अध्यक्ष जसलाई बनाए नि बनाऊँ ,म बिचार र बिधि को पक्षमा छु’—वरिष्ठ नेता नेपाल

काठमाडौँ । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । एक व्यक्ति, एक जम्मेवारीको नीति कार्यान्वयनका लागि विचार र विधिअनुसार पार्टी र सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव राख्दै आएका नेपालले आफू विचार र विधिको पक्षमा स्पष्ट रूपले उभिएको बताउँदै अध्यक्ष जसलाई बनाएपनि स्वीकार गर्ने बताएका छन्।

‘‘प्रधानमन्त्रीले फोनबाट आग्रह गरेर सम्पर्क व्यक्ति पठाएपछि भेटवार्ताका लागि बालुवाटार गएको हुँ, तर आशंका बढाउने गरी गलत ढंगले सूचना सम्प्रेषित होला भन्ने लागेर प्रचण्डजीको जानकारीमै त्यहाँ कुराकानी भएको होे,’ नेपालले भेटवार्ताबारे नयाँ पत्रिकालाई प्रस्ट्याउँदै भने, ‘त्यहाँ मैले अध्यक्ष बन्छु भन्ने कुनै प्रसंग उठाएको कुरा सत्य होइन, सकेसम्म २ जेठको सहमतिअनुसार प्रधानमन्त्री छोडिदिनुस्, प्रचण्डजीलाई प्रधानमन्त्री बनाएर जाऊँ, त्यस्तो होइन भने जसलाई बनाए पनि हुन्छ, तर अहिलेलाई अध्यक्ष छोड्नुस्, त्यसबाट पार्टी पनि राम्रोसँग चल्छ, तपाईं प्रधानमन्त्री भएर चलाउनुस्, राम्रो वातावरण बन्छ, मेरो सहयोग रहन्छ भनेको थिएँ, तर अर्कै तरिकाबाट बाहिर कुरा आयो।’

नेपालले भने‘ प्रधानमन्त्रीनिकट स्रोतले नेपालले प्रस्ताव राखेको दाबी गरेको थियो, तर यो गतल हो।’
आफ्नो प्रस्तावपछि प्रधानमन्त्री ओलीले दुवै पद छाड्न नमानेको र आफू बालुवाटारबाट हिँडेकोसमेत नेपालले खुलाए। ‘उहाँले दुवै पद छोड्दिनँ भन्नुभो, राति अबेर भइसकेको थियो, त्यसपछि म हिँडेको हुँ, तर उहाँले अझै कुरा सकिएको छैन, फेरि अर्कोपटक भेटौँला भन्नुभएको थियो,’ नेपालले भने।

नेपालले आफूले प्रधानमन्त्रीनिकट नेताहरूमार्फत ओलीले अध्यक्ष छाडेको अवस्थामा अहिलेलाई वामदेव गौतम, झलनाथ खनाल वा दोस्रो पुस्ताका जोकोहीलाई केन्द्रीय कमिटीबाट विधिसम्मत निर्णय गराएर जान सकिने प्रस्तावसमेत गरेको पनि प्रस्ट्याए।

‘उहाँका सम्पर्क व्यक्तिहरूमार्फत मैले अहिलेलाई वामदेव कमरेडलाई अध्यक्ष बनाएर जान सकिन्छ, उहाँलाई नबनाइए झलनाथजीलाई बनाऊँ, यदि अर्को पुस्तातिरै सोच्ने हो भने पनि शंकरजी या अरू जोकोहीलाई बनाएर जान पनि सकिन्छ, तर केन्द्रीय कमिटीबाट निर्णय गरेर अघि बढौँ, म आफ्नो राय राख्छु भनेको थिएँ,’ नेपालले भने, ‘मलाई अहिले अध्यक्ष वा प्रधानमन्त्री हुनु छैन, पार्टीमा विचार, विधि, पद्धति र राम्रो संस्कृति चाहिएको छ। सरकार लोकप्रिय ढंगले चलोस् भन्ने मेरो चाहना छ। कुनै पनि पदमा मरिहत्ते गर्ने मान्छे म होइन प्रस्टसँग भनेको थिएँ।’

विजय शाही बने सानका ब्रान्ड एम्वेस्डर

काठमाडौ । ओम समाज डेण्टल अस्पताल र सान इन्टरनेशनल कलेजले मेमोरी किङ विजय शाहीलाई बधाई तथा सफलताको शुभकामना दिएको छ।

कलेजका अध्यक्ष डा. सुभाष घिमिरेले ‘आफ्नो विद्यार्थीले अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएकोले कलेजको शान मात्र बढेको छैन यो सम्पूर्ण नेपालीहरुको सान हाम्रो कलेजको सानले उत्पादन गरेको छ’ भन्नुभयो । कार्यक्रमा बौल्दै अध्यक्ष डा. घिमिरले यस कलेजले मेमोरी किङ देखि खेल क्षेत्रमा समेत प्रतिष्ठित खेलाडी उत्पादन गरेको बताउँदै हाम्रै विद्यार्थी रोहित पौडेलले संसारको सबैभन्दा सानो उमेरमै क्रिकेट खेलमा सतक हाँसिल गरेर कीर्तिमान कायम गरेको सन्दर्भ समेत औल्याउँदै यस्ता कयौं प्रतिभाहरु आफ्नो कलेजले उत्पादन गरेको प्रसङ्ग सम्झँदा आफूँलाई गर्व लागेको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै विभिन्न प्रतिस्पर्धात्मक इन्जिनियरिङ्ग र चिकित्सा क्षेत्रमा पनि १० देखि १५ प्रतिशत छात्रबृत्ति प्राप्त गर्न सफल भएकोले कलेजका सबै शिक्षकलगायत सम्पूर्ण टिमलाई धन्यवाद दिनुभयो।

ओम समाज डेण्टल र सान इन्टरनेशनलका अध्यक्ष घिमिरेले समाजमा रकमको अभावमा उपचारबाट र शिक्षाबाट बञ्चित हुनुपरेको छ। त्यस्ता खाले समस्यामा कोही परेका छन् भने आफूँलाई खबर गरिदिन आग्रह गर्नुभयो।

कार्यक्रममा काठमाडौ महानगरपालिका २ नम्वर वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द प्रसाद चौलागाईं, ओम समाज केन्द्रले अस्पतालका उपाध्यक्ष रामेश्वर केसी, इन्टरनेशनल ब्राण्डका प्रताप केसी, लगायतका विशिष्ट अतिथिहरुको बीच डा। घिमिरले किङ मेमोरी किङ विजय शाहीलाई सान इन्टरनेशनल कलेजको ब्राण्ड एम्वेस्डर समेत घोषणा गर्दै खादा र मालाले शुभकामना समेत दिनुभएको थियो ।

उद्योग बाणिज्य महासंघलाई अख्तियारको पत्र

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघलाई भ्रष्टचार भएको भन्दै पत्र काटेको छ। नेपाल सरकार र महासंघबीच संचालित कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मङ्गलबार पत्र काटेको हो।

अख्तियारले महासंघको कृषि उद्यम केन्द्रमा करोडौं रकम भ्रष्टाचार भएको विषयमा छानविन भैरहेको र छानविनका क्रममा कतिपय प्रमाणहरु अस्पष्ट भएकाले त्यसलाई थप स्पष्ट पार्न पत्र काटेको हो।

०७५ पुसमा उद्यम केन्द्रमा भ्रष्टचार भएको भन्दै उजुरी परेको थियो। त्यस पश्चात अख्तियारले महासंघको फाइल मगाएर अनुसन्धान गर्दा खर्च विवरणको विल भौचर नरहेको, खर्च गरेको आधार नभेटिएको तथा काटिएको विल भौचर पनि प्रस्ट नभएकाले थप कागजातसहित एक हप्ताभित्र उपलब्ध गराउन पत्रमार्फत निर्देशन दिएको छ।

अख्तियारले कृषि मन्त्रालय र महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रद्वारा संयुक्त रुपमा संचालित १ जिल्ला १ उत्पादन अन्तर्गतका विभिन्न ४ वटा आयोजनाहरुको खर्च विवरण पारदर्शी नभएको भन्दै पत्र काटेको छ।

ईसिबीले गर्यो बोनश तथा लाभांश वितरण नगर्न आग्रह

काठमाडौँ । युरोपेली केन्द्रीय बैंक (ईसिबी) लाभांश वा बोनस नदिन आग्रह गरेको छ। ईसिबीले युरोपेली युनियनका देशमा छरिएका बैंकहरूलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको हो।

कोरोनाभाइरसका कारण मुलुकमा आर्थिक उतारचढाव प्रर्याप्त सुरक्षा व्यवस्था गर्नको लागि ईसिबीले यस्तो आग्रह गरेको हो। ईसिबीले यसअघि पनि आगामी अक्टोबर २०२० सम्मका लागि लाभांश वा बोनस भुक्तानीमा रोक लगाउने अस्थायी निर्णय गरेको थियो।

र्ईसिबीले मंगलबार जारी गरेको विज्ञप्ति जारी गर्दै कोरोनाकालमा बैंकहरूमा पुगेको नोक्सानीबाट माथि उक्लन तथा मुलुकका अर्थतन्त्रलाई मद्दत गर्न पनि बोनस वा लाभांश बितरण रोक्नु पर्ने उल्लेख गरेको छ।

सुनको मूल्य लगातार बढ्दै, आजपनि नयाँ कृतिमान

काठमाडौँ । सुनको लगातार रूपमा बढेको छ। मंगलबार पनि सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च भएको हो । मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ पुगेको हो । यो आजसम्मकै उच्च हो ।

अघिल्लो दिन अर्थात सोमबार ९७ हजार ५ सयमा कारोबार भएको सुन मंगलबार ७ सयले बढेको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बैकिङ कसुरका फरार प्रतिवादी अदालतमा

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरी फरार हुँदै आएका एक व्यक्तिलाई आज प्रहरीले अदालतमा पेश गरेको छ।

मुद्दामा दोषी ठहर भएर पनि कैद भुक्तानी बेरुजु रही फरार हुँदै आएका नुवाकोट थानापति घर भई हाल ललितपुर महानगरपालिका–१४ बस्ने ४३ वर्षीय पारस लोहनीलाई प्रहरीले सोमबार पक्राउ गरी आज ललितपुर जिल्ला अदालतमा पेश गरेको हो।

काठमाडौँको मातातीर्थमा लुकीछिपी बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको ब्यूरोले एक सूचना जारी गरी जनाएको छ । उनलाई आवश्यक प्रक्रिया पूरा गरी आज अदालतमा उपस्थित गराइएको ब्यूरोले जनाएको छ।

उनी विरुद्धको मुद्दामा अदालतको गत माघ २९ को फैसलाले २५ दिन कैद र रु २४ लाख जरिवाना हुने ठहर गरेको थियो। लोहनीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवाला आकाश लामिछाने समेतका अन्य दुई जनालाई झुक्यानमा पारी बैंकहरुको चेक काटी दिएकामा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर भएको थियो।

कोरोना संक्रमण बढ्दो, हप्तादिन यताकै उच्च

काठमाडौं । नेपालमा मंगलबार थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा मन्त्रालयका प्रवक्ताले आज ३ सय ११ जनामा कोरोना पुष्टि भएको जानकारी गराएका हुन्।

यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ।

उपत्यकामा एकै दिन ५३ संक्रमित थपिए

काठमाडौं। काठमाडौं उपत्यकामा मंगलबार ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंका ४८, ललितपुरका चार तथा भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै काठमाडौं छिर्ने ३ नाकाबाट मंगलबार दिउँसो ४ बजेसम्म कूल ४ हजार ८ सय १३ जनाको नमुना संकलन गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा फर्पिङ नाकाबाट ९ सय ५५, नागढुङ्गा नाकाबाट दुई हजार ९ सय १४ तथा साँगाबाट ९ सय ४४ जनाको नमुना संकलन गरिएको जानकारी दिए।

सूचना विभागको महानिर्देशकमा शर्मा

काठमाडौ । सूचना तथा प्रसारण विभागको महानिर्देशकमा वरिष्ट सहसचिव किरणराज शर्मा नियुक्त भएका छन्। शर्मालाई सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले सोमबार विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो।

केहि दिन अघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सरुवा भएका शर्मा यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वन मन्त्रालय, लोकसेवा आयोग लगायतका निकायमा रहेर महत्वपुण जिम्मेवारी सम्हालिसकेका शर्मा प्रशासन क्षेत्रमा कुशल प्रशासकको रुरुमा कार्यसम्पादन गरेका थिए