स्थानीय कर्मचारीलाई सरुवा नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहका कर्मचारीलाई कहिँकतै सरुवा नगर्न संघीय तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ । कोभिड–१९ को महामारी भइरहेको बेला कर्मचारीको स्वास्थ्यलाई ध्यान दिँदै सरुवा नर्गन आग्रह गरेको हो ।

मन्त्रालयका उपसचिव प्रमोद सिङ्खडाले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ को महामारीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई जहाँ छन्, त्यहीँबाट कामकाजको व्यवस्था मिलाउन सबै स्थानीय तहका पत्रचार गर्न अनुरोध गरेको जानकारी दिए ।

गत चैतमा सामान्यले पनि कोभिड–१९ को सङ्क्रमण र विस्तारलाई रोक्नका लागि ‘हाल समायोजन भइ कार्यरत रहेका संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई समायोजन ÷ पदस्थापना भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलब भत्ता खानेगरी कामकाज मिलाउने’ निर्णय गरेको थियो ।

सोही अनुसार स्वास्थ्य मन्त्रालयले सामान्यलाई पत्र लेख्दै कात्र्तिक मसान्तसम्मका लागि स्थानीय तहमा जो जहाँ छन् त्यहीबाट कामकाज गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई पत्राचार गर्न अनुरोध गरेको छ ।

अलैँचीले उचित बजारमूल्य नपाउँदा किसान चिन्तामा

काठमाडौँ । बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी नपरेका) ले अहिले अलैँची टिप्न उपयुक्त भएको किसानको भनाइ छ । गएका वर्षामा यो सिजनमा पानी परेकाले अलैँची कुहियो । तर, यो वर्ष घाम लागेकाले समस्या छैन । किसानका अनुसार यो वर्ष उपयुक्त मौसम भएकाले अलैँचीमा उल्लेखीय फल देखिएको छ ।

रोग नदेखिएको र अलैँची राम्रो पाकेकाले उत्पादन दोब्बर हुने अनुमान रहेको माइजोगमाईस्थित मलुमझुवाका किसान राम आचार्य बताए । आचार्यका अनुसार यो वर्ष वैशाखदेखि असारसम्म अलैँचीलाई आवश्यक पर्ने पानी परेकाले उत्पादन बढेको हो । “भार्लाङ जातको अलैँची राम्रो फलेको छ”, आचार्यको भनाइ छ ।

विगतका वर्षमा रोगले शिथिल बनाए पनि यस वर्ष अलैँचीमा रोग देखिएको छैन । “टिप्ने र छोडाउने काम एकैचोटी चलेको छ । उत्पादन बढेको छ”, उनले भने । गत वर्ष छ मन (एक मनमा ४० किलो) भएकामा यस वर्ष १० मन अलैँची हुने अनुमान उनले बताए । उत्पादन बढे पनि अलैँचीको भाउ नआएकाले किसान निराश छन् । खेती प्रविधिमा सुधार गरेर किसानले अलैँचीको उत्पादन बढाए पनि विगतका वर्षमा भन्दा यस वर्ष भाउ खुम्चिएको छ ।

कोरोनाले समस्यामा पारेकाले अलैँचीको प्रतिमन रु ३० हजार पुग्न सकेको छैन । खेतबारीको अधिकांश भागमा अलैँचीखेती नै लगाएकाले बजार मूल्यमा नै बेच्न बाध्य हुनुपरेको माइजोगमाई–१ नयाँबजारका किसान धर्म भट्टराई बताउनुहुन्छ । अलैँचीको तालिमपछि आफूले खेतीमा सुधार ल्याए पनि कम मूल्यमा अलैँची तौलिनुपरेको भट्टराईको दुखेसो छ ।

भट्टराईको यस वर्ष मात्रै १५ मन अलैँची उत्पादन हुने अनुमान छ । तर भाउ रु २० हजारकै अुनपातमा भएकाले आम्दानी धेरै नहुने उहाँ बताउनुहुन्छ । विगतका वर्षमा अलैँची कम उत्पादन हुँदा अलैँचीको भाउ प्रतिमन रु एक लाखसम्म पुगेको थियो तर अहिले भाउ घटे पनि किसानले अलैँची खेती गर्न छाडेका छैनन् । किसानको उल्लेखीय आम्दानी दिने बालीमा पर्ने अलैँचीमा अन्य खेतीको तुलनामा लागत कम पर्छ । त्यसैले वर्षेनी भाउ घटे पनि अलैँचीको उत्पादनमा गिरावट नआउने गरेको रोङ गाउँपालिकाका किसान कुमार मोक्तान बताउनुहुन्छ । गएका वर्षमा पाँच मन हाराहारीमा अलैँची उत्पादन गर्नुभएका मोक्तानको यस वर्ष आठ मन हुने अनुमान छ ।

दशकअघि पनि अहिलेजस्तै अलैँची उत्पादन हुन्थ्यो तर बीचका केही वर्ष मासिएपछि सशङ्कित हुँदै किसानले अरू खेतीमा प्राथमिकता दिएका थिए । अहिले भने फेरि किसान अलैँचीमै लागेका छन् । विभिन्न सङ्घसंस्था र स्थानीय सरकारले अलैँचीमा प्रविधि र तालिम ल्याएपछि किसान अलैँचीमा लागेका अलैँची व्यवसायी सङ्घका केन्द्रीय सचिव मातृका घिमिरे बताउँछन् ।

सीमामा सकस

कोरोनाले नेपालका सीमावर्ती क्षेत्रमा सिल भएपछि अलैँची निर्यातमा समस्या छ । पूर्वी क्षेत्रको मुख्य भन्सार मेची भन्सार काँकडभिट्टा क्षेत्रमा सिल भएकाले अलैँची निर्यातमा सकस परेको व्यवसायीको भनाइ छ । महामारीले भारतीय बजार छिटपुट मात्रै खुला छन् । सदाजस्तो खुला नभएकाले थोरै परिमाणमा मात्र अलैँची निर्यात भइरहेको अलैँची व्यवसायी सङ्घका सचिव मातृका घिमिरेले बताए ।

नेपालबाट जाने अलैँची भारत भएर नै तेस्रो मुलुक जान्छ । केही समयअघि भारतले अघोषित नाकाबन्दी गरेकाले १४ दिनसम्म अलैँचीलगायत कृषिजन्य पदार्थ नेपालतर्फ थन्कियो । यस्ता समस्या वर्षैपिच्छे आउँदा ठूलो रकम चुना लाग्ने गरेको व्यवसायीको भनाइ छ । व्यवसायी घिमिरेका अनुसार भारतले नेपाली अलैँचीको गुणस्तर घटाउन अनेक तिकडम लाउने गरेको छ । नेपाल सरकारको पहल उचित नहुँदा नेपाली अलैँचीको गुणस्तर विश्व बजारमा पु¥याउन नसकिएको उनको भनाइ छ ।

नेपाली अलैँचीको गुणस्तर अन्य ठाउँको भन्दा राम्रो हुँदा पनि कम मूल्यमा बेच्नुपरेकाले राष्ट्रलाई आम्दानीमा घाटा परेको घिमिरेको भनाइ छ । आव २०७६७७ मा ५० लाख १२ हजार ६९४ किलो अलैँची नेपालबाट निकासी भएको वैदेशिक रोजगार तथा प्रवद्र्धन केन्द्रको तथ्याङ्क छ ।

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

रुपन्देही । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

कर्णाली प्रदेश अस्पताल एक साताको लागि बन्द

सुर्खेत । कर्णाली प्रदेश अस्पताल एक साताको लागि बन्द गरिएको छ । अस्पतालका ६ जना चिकित्सकमा कोरोना संक्रमण देखिए देखिएपछि ओपिडी सेवा बन्द गरिएको हो । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार ६ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पतालका अनुसार बुधबार पाँच जना र मंगलबार एकजनामा संक्रमण देखिएको हो । दुई जना संक्रमित स्वास्थ्यकर्मीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा २ जना कन्सल्ट्यान्ट डाक्टर र ४ जना मेडिकल अधिकृतलाई संक्रमण देखीएको अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए ।

उनका अनुसार बुधबार गरिएको परीक्षणमा थप एकजना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो ।

उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि अवस्था जटिल हुन थालेको निर्देशक डा.खड्काले बताएका छन् । यसअघि पनि अस्पतालका ३ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो । उनीहरू निको भएर ड्युटीमा फर्किसकेका छन् ।

झापामा सशस्त्रको गोली लागेर एकको मृत्यु

झापा । सशस्त्र प्रहरीको गोली लागेर बुधबार दिउँसो एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको हो ।

गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । २ सय भन्दा बढीको स्थानीयले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो ।

उपत्यकामा थप ३ सय १ जनामा कोरोना पुष्टि

काठमाडौँ । उपत्यकामा ३ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा मात्र २ सय ३० जना संक्रमित थपिएका छन्। यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोराना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४ सय १८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ। संक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ३९ जना रहेको छ।

६० सहसचिवको सरुवा (नामावलीसहित)

सरकारले केही सहसचिवहरुको सरुवा गरेको छ। सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार ६० सहसचिवहरुको सरुवा गरेको हो। मन्त्रालयले बुधबार ६० जना सहसचिवको काजसरुवामा गरेको हो ।

अफगानिस्तानमा दश तालिबान लडाकू मारिए

काठमाडौँ । अफगानिस्तानको दक्षिणी प्रान्त बागलानको शाह वालिकोट जिल्लामा अफगान सेनाले गरेको हावाइ कारबाहीमा परी १० जना तालिबान मारिएका छन् ।
सो क्षेत्रमा लुकेर बसेका तालिबान लडाकू्लक्षित सो कारबाही गएराति भएको बताइएको छ ।

अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानहरुको संगठनले बुधबार बिहान एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।उक्त विज्ञप्तिका अनुसार सो हवाई कारबाही त्यहाँको एक धार्मिक विद्यालयमा गरिएको थियो । उक्त स्थानमा तालिबानहरु रहेको सूचनाको आधारमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् ।

सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाइले पनि बुधबार सो जानकारी दिए । उक्त क्षेत्रमा लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो । मंगलबार राति भएको यस हवाई कारबाहीमा परी १० तालिबान लडाकू मारिनुका साथै अन्य एक घाइते भएका थिए । तालिबान आतंककारी समूहले यस आक्रमणको विरोध गरेको छ ।

जापानमा तापक्रम बढेर तातो हावा चल्दा २५ को मृत्यु १२ हजारभन्दा बढी विरामी

काठमाडौँ । जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ । जसका कारण तातो हावा चलेको र यसमा परी हजारौँ मानिस प्रभावित भएका छन् । प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको । त्यस्तै यसबाट अरु १२ हजार ८०० मानिस विरामी परेका छन् ।

जापानको विपद् व्यवस्थापन केन्द्रले सो कुराको जानकारी दिएको हो । उक्त केन्द्रका अनुसार यहाँ तातो हावा चलेका कारण मानिसहरु घरघरमै बिरामी परेका छन् ।यस तातो हावाबाट यहाँका कम्तीमा पनि ४५ प्रतिशत जति नागरिक घरैमा र अरु १७ प्रतिशत नागरिक काममा रहेका बेला कार्यालयमा नै विरामी परेका बताइएको छ ।

यहाँका पाको उमेरका नागरिकहरु कम्तीमा पनि चार हजार जना जतिलाई बढ्दो तापक्रम र यसका कारण आएको तातो हावाले नराम्ररी प्रभावित पारेको र विरामी बनाएको छ ।उक्त विपद् व्यवस्थापन केन्द्रले दिएको पछिल्लो जानकारीमा करिब ३८७ जना नागरिक अहिले पनि निकै गम्भीर अवस्थाको स्वास्थ्यका साथ रहेका बताइएको ।

प्राप्त समाचारमा जनाइएअनुसार हाल जापानमा ३८ डिग्रीभन्दा पनि बढी तापक्रम रहेको छ । यो तापक्रम जापानका लागि निकै बढी हो ।गत वर्षमात्र पनि यस्तै समस्याले यहाँ १२६ जना नागरिकको ज्यान गएको थियो । त्यस तातो हावाबाट गत वर्ष जापानमा ७० हजार जनाभन्दा बढी विरामी परी अस्पताल नै भर्ना भएका थिए ।

माथिल्लो दोर्दी ‘ए’ को काम अन्तिम चरणमा

काठमाडौँ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ ।

पच्चीस मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण अधिकाशं सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । यतिबेला केही टनेलको काम, बाढीले बगाएको सामान, स्टलेशनको काम भइरहेको प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । उनले भने, “कोरोना भाइरसले असर नपारेमा करिब आगामी असोजभित्र आयोजनाको निर्माण सक्ने आयोजनाको लक्ष्य छ ।”

विसं २०७१ बाट निर्माण थालनी हुँदै आएको छ । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । सम्झौताअनुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने गत चैत ३० गतेसम्म रहेको थियो । सो मितिभित्रै निर्माण सम्पन्न गर्न नसकेपछि आगामी असोजसम्म आयोजनाको निर्माण सक्ने लक्ष्य रहेको प्रवद्र्धक वस्तीले बताए ।

आयोजनाको निर्माण अवधि थपिँदा लागत पनि रु ६७ करोड ६० लाख बढी लाग्ने अनुमान आयोजनाको रहेको छ । आयोजना निर्माणका क्रममा रु तीन अर्ब ९६ करोड लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत्गृहमा झारिने आयोजनाले जनाएको छ ।

यस आयोजनामा १२ दशमलव ५ का दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता ९पिपिए० भएको छ । जिल्लामा यस आयोजनासहित दोर्दी करिडोरमा मात्र पाँचवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । ती अधिकांश आयोजनाले यस आर्थिक वर्षभित्रै विद्युत् उत्पादन गर्ने तयारी भइरहेको छ ।

यी सबै आयोजनाको निर्माणपश्चात वार्षिक करोडौँको बिजुली उत्पादन हुने भएको छ । जिल्लामा यसअघि आधा दर्जन जलविद्युत् केन्द्रबाट बिजुली उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । त्यस्तै जिल्लामा एक दर्जनभन्दा बढी आयोजना निर्माणाधीन छन् ।

प्रधानमन्त्रीकी प्रेमिकाको सम्बन्ध विश्वका डन दाऊदसम्म

काठमाडौँ । विश्वको सर्वाधिक खोजीमा रहेका डन दाऊद इब्राहिमको नाम पाकिस्तानकी अभिनेत्री मेहविश हयातसँग जोडिएको छ। उनले आफ्नो नयाँ प्रेमिकालाई केही फिल्ममा समेत काम दिलाइदिएको खबर बाहिर आएको छ। हयातलाई ग्याङस्टार गुडियाको नामले समेत चिनिदै आएकी छन्।

समाचारमा जनाइएअनुसार हयात केवल दाऊदसँग मात्र होइन, क्रिकेटर तथा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग समेत सम्बन्धमा रहेकी थिइन। गत वर्ष हयातले पाकिस्तानको नागरिक पुरस्कार पाएकी थिइन। यस पुरस्कारको सम्बन्धमा सर्वसाधरणले बलियो व्यक्तिको साथ भएकाले हयातले सो पुरस्कार पाएको खण्डन हुँदै आएको थियो।

हयात पाकिस्तानकी एक उकृष्ट गायिकासमेत हुन्। उनको करियरका लागि केही क्रिकेटर्स, राजनेता तथा उद्योगपतिले साथ दिँदै आएका छन्। समाचारमा जनाइएअनुसार हयात पाकिस्तानी फिल्मीमा आइटम डान्समा चर्चित छिन्। पछि उनी दाऊदको सम्पर्कमा पुगिन्, जसले गर्दा ठूला बजेटका फिल्मीमा काम गर्ने अवसर पाइन्।

दाऊदले लामो समयदेखि पाकिस्तानी फिल्म उद्योगमा ठूलो लगानी गर्दै आएका छन्। उनको पाकिस्तानमा केही ठूला प्रोड्यूसर तथा डाइरेक्टरसँग राम्रो सम्बन्ध रहँदै आएको छ। एजेन्सी

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बाँके । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती व्यक्तिलाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा हिजो सङ्क्रमण देखिएको थियो ।

उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै गए राति १ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोतव्यक्ति श्रेष्ठले बताए ।

कोरोना प्रभावः कागेश्वरी मेला स्थगित

काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगन गरिएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गई गत हप्तादेखि लागू गरिएको निषेधाज्ञाका कारण मेला स्थगन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनी सिम्खडाले जानकारी दिए । कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

कागे अष्टमीसमेत भनिने आजका दिन कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास छ ।

श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ ।

मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण शुरु भएको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताए ।

एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । विसं २०७२ मा तत्कालीन संविधानसभा सदस्य एवं हाल वाग्मती प्रदेशका मन्त्री फुयाँलको अग्रसरतामा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते महोत्सवको शुरुआत गरिएको छ ।

यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ । नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । फागुनमा हुने महोत्सव एवं भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिन्छ ।

कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोबास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।

कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । यस वर्ष भने कागेश्वरीमा नित्य पूजा आराधना मात्र गरिने नगरपालिकाले जनाएको छ । कोरोनाबाट बच्न घरघरबाटै कागेश्वरी महादेवको पूजा आराधना गर्न नगरपालिकाले आह्वान गरेको छ ।

उपत्यकामा थप एक हप्ता निषेधाज्ञा

काठमाडौँ । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ। मंगलबार बसेको भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई एक हप्ता थप गर्ने निर्णय गरेको हो।

उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको छ। बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ। उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो सिफारिस गरेको हो।

बैठकमा काठमाडौंका सीडीओ जनकराज दाहाल, भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायण भट्टसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सहभागी थिए।

मंगलबार उपत्यकामा २३२ सहित थप ८५५ संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या भने ३३ हजार ५३३ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या भने १६४ पुगेको छ। २४ घण्टामा सात जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। जसमध्ये तीन जना काठमाडौंका हुन्।

भदौ २ गते बसेको उपत्यकाका तीन जिल्लाका सीडीओको बैठकले भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म एक साता निषेधाज्ञाको निर्णय गरेको थियो।