असोजमै पाक्यो सुन्तला

बागलुङ । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन् । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उनी उत्साहित बनेका छन् ।

खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका बिरुवा लगाएका थिए । गतवर्ष पाँच सात वटा रुखमा सुन्ताल फले पनि अहिले झण्डै १५ रुखमा सुन्तला पाकेका छन् । अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यशोधा र पोङ्कान भने एक महिनापछि पाक्नेछन् ।

“फोहोरपरार यही समयममा उन्सु मात्रै १५÷२० केजी सुन्तला बिक्री गरेको थिएँ, अहिले यसको उत्पादन बढेको छ” खड्काले भने “अब एक–एक महिनाको फरकमा यशोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती विस्तार गरिनेछ ।” खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा १०० दाना मात्रै लाग्ने गर्दछ । प्रतिकिलो रु १५० मा बिक्री हुने खडकाको भनाइ छ ।

सुन्तलाका सानो बोटमा लटरम्म सुन्तला पाक्न थालेपछि कृषक खड्काले बिक्री गर्न थालेका छन् । चार दशकदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउँछन् । पाँच वर्षअघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब १०० सुन्तलाका बोटमा लटरम्म फल लागेपछि उनी उत्साहित छन् ।

“मैले परीक्षणका लागि मात्रै १०० बोट सुन्तला लगाएको थिएँ, परीक्षण सफल भयो अब यसको व्यावसायिक उत्पादनका लागि बगैँचा विस्तार गर्ने योजनामा छु”, खड्काले भने। कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राखेर उत्तिकै मेहनत गर्नुहुने खड्काले कीर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रबाट विभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर परीक्षणका लागि लगाका थिए । नेपालमा अधिकांश कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानी जातका सुन्तला लगाएका हुन् ।

व्यावसायिक उत्पादन गर्न सके बेमौसमी सुन्तलाको मूल्य अन्य सुन्तलाको तुलनामा तेब्बर पर्ने खड्काले बताए । चालिस वर्षदेखि स्थानीय तथा कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आएका खड्काले हालसम्म १४ प्रजातिका सुन्तलाका विरुवा लगाउनुभएको छ । उनीसँग झण्डै १० रोपनी जग्गामा मौसमी सुन्तला खेती रहेको छ ।

मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची, तरकारीको समेत खेती गर्दै आएका खड्का बागलुङकैै अगुवा कृषकका रुपमा चिनिदै आएका छन् । बाह्रै महिना सुन्तला उत्पादन गर्ने गरी बेमौसमी सुन्तलाका बिरुवा विस्तार गरिरहेको खड्काको भनाइ छ ।

टोखामा कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघ्यो, तीनको मृत्यु

काठमाडौँ । टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय २५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ सय २५ पुगेको हो ।

वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना सङ्क्रमित भेटिएका छन् । वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९ मा ५५, वडा नं १० मा ६६ र वडा नं ११ मा ६२ सङ्क्रमित छन् ।

कोरोना सङ्क्रमितमध्ये ४४४ जना निको भएर घर फर्किसकेको, ३०४ जना होम आइसोलेसन र ६९ सङ्क्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । तीमध्ये पाँचजना अहिलेसम्म सम्पर्कविहिन छन् ।

टोखामा हालसम्म कोरोना सङ्क्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ । वडा नं ४, ६ र ९ मा एक÷एक जनाको मृत्यु भएको प्रवक्ता बस्यालले बताए । काठमाडौँ महानगरपालिकापछि सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएको नगरपालिका टोखा हो । टोखा नगरपालिकाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ । नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए ।

नगरपालिकाभित्रका ११ वटै वडामा टोखाले पिसीआर परीक्षणको दायरालाई समेत बढाएको छ । टोखाले प्रत्येक वडामा १०० जनाका दरले परीक्षण गरेको छ । नगरपालिकाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका बिरामीलाई प्रतिदिन रु ३५० भत्ता दिने निर्णयसमेत गरिसकेको छ । नगरपालिकाले कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसेका बिरामीलाई भेटेर हौसला प्रदान गर्दै आएको छ ।

नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल गोङ्गबुसँग सहकार्य गरेर बिरामीको उपचार गरिने बताए ।

सौराहाका हात्तीको व्यवस्थापन अब एकै ठाउँबाट गरिने

काठमाडौँ । कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् । सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो ।

जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरुमा होटल सञ्चालकहरुसँग हात्ती रहेका छन् । सौराहामा हात्तीको सङ्ख्या ७० हाराहारी छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका चितवन र नवलपरासीमा गरेर निजी हात्ती १०० हाराहारी रहेको व्यवसायी बताउँछन् ।

पछिल्लो समय हात्ती चढेर जङ्गल सफारी गर्ने पर्यटक नआएपछि हात्ती पाल्न समेत मुस्किल भएको छ । भारतबाट भाडामा ल्याइएका १० हात्ती फिर्ता गरिएको छ । हाल हात्तीको पर्यटकीय व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार हाल व्यवसायीले आफैँले हात्ती पाल्दै आएका छन् । ती हात्तीको बुकिङ गरेर पर्यटकीय गतिविधिमा सहकारीले सहयोग गर्दै आएको छ ।

जसको हात्तीले जति कमायो, त्यति नै व्यवसायीले पाउने गर्दछन् । अब भने सबै हात्तीलाई सहकारीमा राखेर शेयर बाँडफाँट गरिने उनले जानकारी दिए । त्यसका लागि आवश्यक पर्ने पाँच बिघा हाराहारी जग्गा खोजी भइरहेको छ । तिवारीका अनुसार जग्गा पाएसँगै सबै हात्तीलाई एकै ठाउँमा राखेर व्यवस्थापन गरिने छ । हाल व्यक्तिको हात्ती रहेको छ भने अब सहकारीको हुनेछ । सहकारीमा पर्यटन व्यवसायीहरुलाई सदस्य बनाइने छ ।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार ती हात्ती मध्ये बूढा र अस्वस्थ हात्तीलाई काममा लगाईने छैन । प्रजनन योग्यलाई प्रजनन कार्यमा लगाइने छ भने पर्यटक घुमाउन सक्ने तन्दुरुस्त हात्तीलाई मात्रै काममा लगाइने छ । क्रमशः ठूलो जग्गा खोजी गरेर हात्तीका गतिविधि एकै ठाउँमा गर्ने गरी दीर्घकालिन योजना व्यवसायीले बनाएका छन् ।

भट्टराईका अनुसार भविष्यमा हात्ती चढ्ने कुरालाई भन्दा हात्तीसँग खेल्ने र रमाउने गरी गतिविधि गर्ने तयारी गरिएको छ । हात्तीलाई छुट्टाछुट्टै पालनपोषण र रेखदेख गर्दा खर्च बढी हुने भएपछि यो अवधारणा ल्याइएको हो । यसले खर्चमा कमी ल्याउने अपेक्षा व्यवसायीले गरेका छन् । एउटा हात्तीलाई एक महिनामा रु एक लाखभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ । भाडामा लिएका हात्तीको भाडा मासिक रु ५०–६० हजार तिर्नुपर्ने हुन्छ । सौराहामा पालिएका हात्तीले त्यहाँ आउने पर्यटकलाई स्थानीय मध्यवर्ती सामुदायिक वनहरुमा घुमाउने गर्दछन् ।

भगवान शिवको दर्शन गर्नुहोस्, दिन शुभ रहने छ (असोज १२ गते सोमबारको राशिफल)

वि.सं.२०७७ असोज–१२,सोमवार,ई.सं.२०२० सेप्टेम्बर – २८,शक संवत्–१९४२,नेपाल संवत्–११४०,प्रमादी,दक्षिणायन(शरद,अधिक आश्विन शुक्लपक्ष तिथि–द्वादशी , २१ः४५ बजे उप्रान्त त्रयोदशी,नक्षत्र–धनिष्ठा , २४ः२८ बजे उप्रान्त शतभिषा,योग–धृति , २२ः०८ बजे उप्रान्त शूल,करण–वव ०९ः३४ बजेदेखि वालव , २१ः४५ बजे उप्रान्त गर,चन्द्रराशि–मकर,आनन्दादि योग–शुभ, सूर्योदय–०५ः५५, सूर्यास्त–१७ः५१,दिनमान–२९ घडी ५० पला,धनिष्ठा पञ्चक ११ः५६ बजे प्रारम्भ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,जतिसुकै सहयोग गरे पनि आफन्तहरूले जस दिने छैन,अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ, आजको शुभ अंक ९ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ, अध्ययनमा सुधार सफल भइनेछ, आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला, आजको शुभ अंक ७ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,समस्याहरू धेरै आउनेछन्,मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ, पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ, आजको शुभ अंक ४ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खानेकुरा मा विचार पुराउनु होला,आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ, आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला, आजको शुभ अंक १० रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,कार्यस्थलको स्वरूपअनुरूप पहिरनमा ध्यान दिनुहोला,आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,आजको शुभ अंक ७ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,विदेश यात्राको पाइला चाल्दा आवश्यक तयारी अपुरो हुनसक्छ, अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला, आजको शुभ अंक ८ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आर्थिक संकट पर्ने देखिन्छ,योग एवं ध्यान गर्दा मानसिक तनाव कम हुनेछ भने शारीरिक आलश्य पनि दूर हुनेछ, गोपनीयतामा ध्यान दिनुहोला, आजको शुभ अंक १ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ, लामो दूरीको यात्रा नगर्नुहोला, आजको शुभ अंक २ रहेको छ ।

आइतबार १५७३ जना कोरोना संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ८ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ।

‘पर्यटन र ग्रामीण विकास’ नाराले मनाईदै विश्व पर्यटन दिवस

काठमाडौँ । हरेक वर्ष सेप्टेम्बर २७ का दिन मनाइने विश्व पर्यटन दिवस आज नेपालमा पनि मनाईदै छ । ‘पर्यटन र ग्रामीण विकास’ मूल नारासहित नेपालमा विश्व पर्यटन दिवस मनाइने भएको हो ।
कोरोना महामारीलाई दृष्टिगत गर्दै यसपटक सीमित कार्यक्रमका बीच यो दिवस मनाउन लागिएको छ । कोरोनाले शिथिल पर्यटन क्षेत्रलाई चलायमान बनाउन शनिवार टास्क फोर्स (कार्यदल) गठन गरी पर्यटन पुनरुत्थान अभियानको समेत थालनी गरिएको छ । सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरूप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित पर्यटन पुनरुत्थान कार्यदलले कोभिड प्रभावित पर्यटन चलायमान बाउन विभिन्न काम गर्ने बताइएको छ ।

सरकारले बजेटमा घोषणा गरेको ‘देश दर्शन कार्यक्रम’को कार्यान्वयन समेत शुरू गरेको छ । ‘पर्यटनका लागि हाम्रो देश, घुमौं देश, चिनौं परिवेश’ मूल नाराका साथ अभियानको लोगो, सन्देशमूलक भिडियोलगायत सामग्री सार्वजनिक गरिएको हो ।

कार्यदलले पर्यटन क्षेत्रका नीतिनिर्माताहरू, सरोकारवाला निकायहरूबीच परिणाममुखी समन्वय स्थापना गराउन तथा स्रोत बजारका टुर अपरेटर्स एवम् सम्भाव्य पर्यटकहरूबीच विश्वसनीय तथा प्रभावकारी सञ्चार गर्र्ने कार्यमा केन्द्रित रहने गरी विभिन्न गतिविधि गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पर्यटनमन्त्री योगेश भट्टराईले बताएका छन् ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भट्टराईले कोभिडका कारण शिथिल पर्यटन क्षेत्रलाई चलायमन बनाउन यो कार्यक्रमको शुरुवात गरिएको भन्दै अन्तरराष्ट्रिय पर्यटकलाई नेपाल ल्याउने वातावरण बनाइने बताए । पर्यटनका गतिविधि बढाउन सरकारले हवाई उडान, होटेल तथा रेस्टुराँ व्यवसाय, पदयात्रा, पर्वतारोहणजस्ता पर्यटकीय क्षेत्रलाई खुला गरिसकेको र यो कार्यक्रमले पर्यटनलाई थप गति दिने उनको भनाइ थियो ।

गोदावरीमा अन्तर्राष्ट्रिय गोदावरी खेलकुद भवन निर्माणको काम ५० प्रतिशत सकियो

गोदावरीमा धमाधम ‘अन्तर्राष्ट्रिय गोदावरी खेलकुद भवन’ निर्माणको काम अघि बढेको छ । गोदावरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद विकासका लागि उक्त काम अघि बढाइएको हो ।

ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सदस्य नवराज सिलवालले गत आर्थिक वर्ष २०७५–७६ मा रु २० लाख सहयोग गरेर भवन निर्माण अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष इञ्जीनियर राजेश पौडेलले बताए। उनले भने, “गत आव २०७६–७७ मा सामाजिक विकास मन्त्रालयअन्तर्गत छुट्टै रु एक करोड सहयोग भएको थियो ।” हालसम्म खेलकुद भवन निर्माणका लागि रु एक करोड ३० लाख खर्च भएको र भवनको काम पनि ५० प्रतिशत सम्पन्न भइसकेको इञ्जीनियर पौडेलले जानकारी गराए ।

गोदावरीमा एक व्यक्तिले अर्को चिन्ने वातावरण नरहँदा खेलकूदको माध्यमबाट वडा नं १ गोदामचौर, नं २ विशङ्खु, नं ३ साविकको गोदावरी, बडिखेल, नं १३ झरुवारासी र नं १४ ठैवका मानिसले एकअर्कामा सम्पर्क बढाई भित्री खेलहरु ब्याडमिन्टन, कराँते, तेक्वान्दोे, टेबल टेनिस, बास्केटबल र भलिबल आदि खेल्ने व्यवस्था मिलाउन लागिएको समितिका उपाध्यक्ष सुरेन्द्र रावतले बताए । उनले भने, “चालु आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश सरकारले रु २० लाख विनियोजन गरेको छ । खेलकुद भवनसँगै रहेको लगभग छदेखि सात रोपनी जमिनमा भवन व्यवस्थापन कार्यालय, सहायताकक्ष, वरिपरि पर्खाल, उद्यान, गाडी बिसाउने ठाउँ र बिहान व्यायाम गर्दै हिँड्ने मार्ग निर्माण गर्ने योजना पनि बनाइरहेका छौँ ।” समितिका सदस्यले यी सबै योजना पूर्ण गर्न करिब रु पाँच करोड लाग्ने अनुमान गरेका रावतले जानकारी गराए ।

उक्त भवन निर्माण सम्पन्न भएपश्चात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेछ । यसमा दुई ब्याडमिन्टन र चार टेबल टेनिस कोर्ट, भवनभित्र झण्डै ४०० मानिस अट्ने स्थान पनि बनाइने समितिका सचिव सन्तोष कुँवरले बताए । उनले भने, “खेलकुद भवनमा विभिन्न राष्ट्रको झण्डा राख्ने अवधारणा बनाइराखेका छौँ ।” सो भवन निर्माणको काम यही असार अन्त्यसम्म समाप्त गर्नुपर्ने थियो तर विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण काममा बाधा परेर ढिलो भइरहेकामा कुँवरले दुःख व्यक्त गरे ।

“निमार्णाधीन खेलकुद भवन टौखेलबाट बडिखेल आउने मुख्य सडकमुनि गहिरो स्थानमा रहेको हुँदा यसलाई राम्रोभन्दा राम्रो बनाउन फ्रेन्ड्स अफ गोदावरीमा रहेका ५० सदस्यका साथै अन्य दाताहरुले रु ५० हजारदेखि रु एक लाख सङ्कलन गरेर करिब रु ३५ लाख भवनलाई सहयोग गरे”, पौडेलले थपे, “गोदावरी भिलेज रिसोर्टले खेलकुद भवन कोषलाई रु १० लाख दिने घोेषणासमेत गरिसकेको छ ।”

यसैगरी साविकको गोदावरीमा गोदावरीकुण्ड नजिकै धर्मशाला, नं २ मा प्राविधिक शिक्षालय, नं १० बहुउद्देश्यीय रङ्गशाला र यसै वडामा भाँगावनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर हनुमानको मूर्ति प्रतिस्थापन, उद्यान तथा वनभोजस्थल निर्माण गर्न टाहाखेलदेखि सिँढी निर्माण र नं ११ चपागाउँमा वाग्मती प्रदेश सरकारको सहयोगमा बुलुमा उद्यान निर्माणको काम धमाधम भइरहेको छ ।

धान खेतमा रगिन गर्दै बीउ उत्पादन कृषि सहकारी

कैलाली । कैलालीमा कृषि सहकारीहरुले धान बीजवृद्धि गरि किसानलाई हौसला प्रदान गरिरहेका छन् । यतिबेला किसानले खेती गरेका धान खेतमा रगिन गरिरहेका छन् । बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रहेको तयारी धान बालीमा रगिन गर्न थालेका हुन् ।

कैलालीको जानकी गाउँपालिकास्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष १०९ हेक्टर क्षेत्रफलमा विभिन्न जातका धानको बीजवृद्धि खेती गरेको छ । सहकारीले प्रत्यक्ष निगरानी र सुपरीवेक्षणमा गुणस्तरीय बीउ उत्पादन गर्ने गरेको छ । गुणस्तरीय बीउअन्तर्गत जातीय शुद्धताका लागि सहकारीले पाक्न थालेको बिजवृद्धिका लागि खेती गरिएको तयारी बालीमा दैनिक एक समूह परिचालन गरेको छ । तालिमप्राप्त समूहले धानखेतीमा पस्ने र बेजात धानका बाला निकाल्ने काम गरिरहेको सहकारीका प्रबन्धक गोविन्द रावतले बताए। “विज्ञसहितको समूहले खेतमा बेजात धानका बाला काट्न थालेको छ, यसले धानको बीउ शुद्ध बनाउन सहयोग पुग्छ”, रावतले भने, “यसरी पाक्ने बेलाको धान खेतमै बेजात धान काट्दा बीउमा शुद्धता आउँछ । शुद्ध बीउका लागि यसो गर्न थालेका हौँ ।”

गुणस्तरीय बीउमा जातीय शुद्धताका लागि अपनाइने कार्यलाई रगिन भनिन्छ । रगिन गर्दा खडा धानबालीको तयारी अवस्थामा खेतमै कृषि प्राविधिकको प्रत्यक्ष संलग्नता, निरीक्षण र सल्लाहबमोजिम गरिन्छ । सोही आधारमा ४५ हेक्टर बालीमा नमूना बहुउद्देश्यीय सहकारी संस्थामार्फत दक्ष किसानसहितको टोलीले धानको बीजवृद्धिका लागि धान खेतमा रगिन गरिहेको सहकारीका अध्यक्ष जीतबहादुर चौधरी बताउनुहुन्छ । “पाक्न थालेको धानमा रहेको बेजात धान हटाउने कार्य भइरहेको छ”, जीतबहादुरले भने, “उत्पादन बढी लिन बीउमा शुद्धता पनि आवश्यक छ । हामी बीउ उत्पादक सहकारीले बीउ शुद्ध बनाउन यसो गर्न थालेका हौँ ।”

यी कृषि सहकारीजस्तैै यस क्षेत्रका अन्य बीउ उत्पादक कृषि सहकारीले पनि रगिनको कार्य गरिरहेका छन् । गुणस्तरीय बीउमा शतप्रतिशत जातीय शुद्धता नहुने भएकाले रगिन गर्नुपर्ने हुन्छ । बीउ उत्पादनका लागि गरिने बालीको कम्तीमा दुई पटक रगिन गरिनु अति आवश्यक छ । रगिन बाली पसाउनुपूर्व र बाली तयारीपूर्व गरिन्छ । यसरी रोपिएको जातमा बेजात बाली मात्र हटाउनेसँगै विभिन्न झारपात हटाउने कार्य गरिन्छ । बीउमा शुद्धता हुने भएकाले कृषि प्राविधिक वा दक्ष कृषकले मात्र रगिन गर्नुपर्ने कृषि विज्ञको सुझाव छ । “रगिन गर्दा कृषि प्राविधिकको निरीक्षणसहित फिल्डमा काम गर्नुपर्ने भएकाले बीज वृद्धिको क्षेत्रमा क्रियाशील कृषि सहकारी, समूहले विशेष ध्यान दिन आवश्यक छ”, क्षेत्रीय बीउबिजन प्रयोगशाला कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले भने, “दुईपटक बेजात धान हटाउने गरेमा बीउ शुद्ध हुन्छ ।”

कैलालीका बिजवृद्धि सहकारीले उत्पादन गरेको बीउ देशैभरि बिक्री हुने गरेको छ । यहाँका सहकारीले कैलालीसहित बुटवलसम्म बीउ बिक्री गर्ने गरेका छन् । कैलालीमा दर्जन बढी सहकारीले बीजवृद्धिका लागि खेती गर्दै आएका छन् ।

लोकसेवाका कुन कुन परिक्षा दशैँ अगाडी हुँदै छन्, जान्नुहोस्

काठमाडौँ । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरु लिने तयारी गरेको छ । सोही अनुसार आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुने जानकारी गराए ।

व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुने छ ।

यसैगरी परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुने छ ।

नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुने छ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

सहायक महिला विकास निरीक्षकको परीक्षा २५ असोज अन्तिम देखि नै हुने भएको छ । स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षण यही असोज २५, २६ र २७ गते भएको हो । अन्तरवार्ता र कम्प्युटर सीप परीक्षण लोक सेवा आयोगकै केन्द्रीय कार्यालय अनामनगरमा बिहान ७ः२० बजेबाट सुरु हुने आयोगको सूचनामा उल्लेख छ ।

पूर्वप्रकाशित लिखित नतिजाको सूचनामा तोकिएअनुसारकै कागजात लिएर निर्धारित समयभन्दा एक घण्टा अगाडि नै परीक्षा केन्द्रमा आउन आयोगले आग्रह गरेको छ ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा लिइने जानकारी दिए । ‘कोरोना संक्रमणको विशेष अवस्थामा परीक्षा सन्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड आयोगबाट स्वीकृत भएपछि सोही बमोजिम परीक्षा सञ्चालनको प्रबन्ध मिलाइने छ,’ उनले भने ।

सहसचिवको परीक्षा भने दशैं अगाडि नै हुने भएको छ । त्यस्तै नेपाल कृषि सेवा लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट र नेपाल विविध सेवाको परीक्षा दशैं अगाडि नै हुने छ ।

आयोगले शुक्रबार जारी गरेको सूचना अनुसार नेपाल कृषि सेवा लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट पदको प्रथम र द्वितीय पत्रको परीक्षा क्रमशः यही असोज २७ र २८ गते हुने छ ।

यसैगरी नेपाल विविध सेवा तर्फको परीक्षा असोज २९ र ३० गते हुने छ । दुवै परीक्षाहरु लोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा बिहान ८ बजे तोकिएको छ ।

यसअघि यो पदको लिखित परीक्षा आयोगले लिइसकेको थियो । तर अन्तिम समयमा ‘विशेष कारण’ देखाउँदै आयोगले परीक्षा रद्द गरेको थियो ।

लक्ष्मीमाताको दर्शन् गर्नुस्, दिन शुभ रहने छ (असोज ११ गते आइतबारको राशिफल)

वि.सं.२०७७ साल असोज ११ गते । आईतबार । ईश्वी सन् २०२० सेप्टेम्बर २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–एकादशी,३८ घडी ५६ पला,बेलुकी ०९ बजेर २९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–श्रवण,४४ घडी ०२ पला,बेलुकी ११ बजेर ३१ मिनेट उप्रान्त धनिष्ठा । योग–सुकर्मा, ४२ घडी ४० पला,बेलुकी १० बजेर ५९ मिनेट उप्रान्त धृति । करण–वणिज,बिहान ०९ बजेर ३३ मिनेट उप्रान्त भद्रा,बेलुकी ०९ बजेर २९ मिनेट उप्रान्त बव । आनन्दादिमा–गद योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५२ मिनेट । दिनमान ३० घडी ५४ पला । पद्मिनी एकादशी व्रत। पर्यटन दिवस।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पुराना लेनदेनका मुद्दाहरु किनार लगाउँदै नयाँ काम गर्न सकिनेछ । नोकरिमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले परिणाममुखि काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फन आम्दानिका स्रोत बढाउँन सकिनेछ । छोटो दुरिको यात्राको तय गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समाजमा लोकप्रिर्य काम गरि दाम तथा दाम दुवै कमाउँन सकिनेछ भने राज्यको तर्फबाट सम्मानित हुँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा अरुको मन जित्दै तथा अरुलाई प्रतिष्पर्धामा हराउँदै पद पाउँने प्रसस्त सम्भावना रहेकोछ । धर्म कर्ममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन तथा अध्यापनमा बिगतमा देखिएका कमी कमजोरीहरुलाई सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा दखिएका तित्तताहरु चिर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुनेछ भने अन्य व्यावसायमा अलि बढि संघर्ष गर्नुपर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ । अध्ययनमा प्रशस्त समय दिन सकिने हुँनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नुपर्ने हुँनसक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिश्पर्धामा अलि बढि मेहनेत गर्दा प्रतिश्पर्धिहरुलाई हराउन सकिनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ ।

दशैँको अवसर पारेर कालोबजारी गर्ने विचौलियाहरु कुनै पनि बहानामा उम्कन सक्दैनन–प्रमुख जिल्ला अधिकारीः दाहाल

काठमाडौ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कुनै पनि कालोबजारी गर्नेलाई सकेसम्मको कानुनी सजाए दिने बताउदै त्यस्ता अपराधी कुनै पनि बहाना मा उम्कन सक्दैनन भन्नुभएको छ। तराई बिकास तथा सञ्चारकेन्द्र नेपालले संचालनमा ल्याएको सस्था संचार केन्द्र नेपालले गरेको कार्यक्रममा उहाँले तरकारीलगायतमा कालोबजारी गर्ने विचौलिया र जखमलेहरुलाई समातेर पाता कस्ने बताउनुभएको हो।


कार्यक्रममा उहाँले बजारमा, यात्रामा र वितरण सेवामा सुशासन चाहिएको भन्दै त्यसका लागि पनि प्रशासन कडा हुने बताउनुभयो ।
‘हिन्दुहरुको महान चार्ड दशैँ नजिकीदै गर्दा चार्डपर्वलाई मौका छोपेर विचौलिया र जखमलेहरु हावी भइरहेको गुनासो बढेको छ । हामी तिनलाई पत्ता लगाई समाएर पाता कस्छौं’ दाहालले भन्नुभयो ।
वाणिज्य तथा आपूर्ति उपभोक्ता हकहित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजार अनुगमन गरी कालोबजारीप्रति निगरानी बढाएको बताए । उनले ३ टोली बनाएर बजारमा टोली परिचालित गरेको र सुक्ष्म ढँगले कारवाही थालिएको समेत बताउनुभयो।


औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले उपभोक्ता ठग्ने, कोभिडका नाममा वितरित औषधिमा अनयिमितता गर्नेमाथि कारवाही थालिएको जानकारी दिनुभयो। । अस्पतालहरुमा कम गुणस्तरका औषधि वितरण हुने गरेको समेत पाइएको जानकारी दिँदै उनले अनुगमन तीव्र पारिएको बताए ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले सबै ठाउँमा डण्डा लगाएर मात्र पनि नहुने माग र आपूर्तिमा हुने खाडललाई पनि विचार पुर्याउनुपर्ने अनुभव राखे ।
निगम अन्तर्गत पेटोल ६५, डिजेल ८४ र हवाई इन्धन ५३ प्रतिशत स्टक रहेकाले कालोबजारीको गुन्जाइस नै नदिएको उनले बताए ।


सानो नीतिगत सुधारबाट समेत धेरै परिवर्तन गर्न सकिने भन्ने ग्याँसको सन्दर्भमा पुष्टी भएको जनाउँदै पौडेलले भने, बैंक ग्यारेन्टी राखेर ग्याँस ल्याउने सुविधा दिँदा बजारमा जति पनि ग्याँस भित्रियो । अभाव छैन ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका निर्देशक बज्रेश झाले गुणस्तरीय सामाग्री वितरणका लागि विभिन्न विक्रि केन्द्र राखेर काम भइरहेको जानकारी गराए । नुन, चिनीसहित खाद्यान्न, रासायनिक मल लगायतमा भइरहेका प्रगतिविवरण झाले जानकारी गराए ।
उपत्यका अपराध महाशाखा प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक दिपक थापाले विभिन्न ठाउँहरुबाट अपराधीहरुलाई पक्राउ गरिएको, सम्भावित अपराधमा चनाखो भई निगरानी बढाएको बताउदै चाडपर्वमा अझै अपराध बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै आफ्नो टोलि चौबीसै घन्टा खटिरहेको बताउनु भयो।


टाफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालले प्रविधिका माध्यमबाट सडकमै कारवाही र जरिवानाको नयाँ व्यवस्था भित्रिएको बताए ।दशै जस्तो चाडपर्वमा सर्बसाधारण नठगिउन भनी बिशेष सतर्कता अपनाइएको बताउनु भएको थियो।
काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले काठमाडौको शान्ति सुरक्षा बाहिर हल्ला भए जस्तो होइन आफ्नो नियन्त्रणमा रहेको बताउदै नकारात्मक समाचारले कतिपय गर्न सकिने काम पनि नगरेको बताउनु भयो। राजधानी दैनिकका सम्पादक सागर पण्डितले एउटा प्रशासक ईमानदार भए राजनीतिक शक्तिले बारम्बार प्रयोग गर्न सक्दैनन् यसका लागि आजै बाट प्रण गरौ संचार क्षेत्रको सहयोग रहने कुरा बताउनु भएको थियो। राष्टिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन र सञ्चार केन्द्रका अध्यक्ष गोविन्दप्रसाद चौँलागाईले सुरक्षा र बजार अवस्थाका विभिन्न बारेमा , राजनीतिक र प्रशासनिक ढिलाइ, मिलेमतोलगायत कोणबाट आआफ्ना धारणा राखेका थिए ।

भोटेको धारिलो हतियारबाट तीनजना गम्भिर घाइते

काठमाडौँ । एक युवकको धारिलो हतियारको आक्रमणमा परि गम्भीर घाइते भएका सिरिजंघा गाउँपालिका–८ याम्फुदिनका तीन जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार मध्यरातमा स्थानीय लाक्पा भोटेले घरेलु हतियार बाम्फोकले अन्धाधुन्ध प्रहार गर्दा गम्भीर घाइते बनेका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र १८ वर्षीय छिरिङ भोटेलाई झण्डै ३८ घण्टा पछि उद्धार गरि आज उपचारार्थ काठमाडौँ लगिएको छ । टाउको र गर्धनमा गहिरो चोट लागेको उनीहरुको त्रिविवि शिक्षण अस्पतालमा उपचार भैरहेको जनाइएकोे छ ।

काठमाडौँबाट उडेको हेलिकप्टर मौसम प्रतिकूलहुँदा रुम्जाटार, भोजपुर, संखुवासभा, तेह्रथुम लगायतका स्थानमा बस्दै आज दिउँसो मात्र याम्फुदिनमा आइपुगेको वडाअध्यक्ष टसी भोटेले जानकारी दिए । “हेलिकप्टर झिकायौ । हिजो विहानैदेखि मौसम राम्रो थिएन । घाइतेलाई बोकेर कतै लैजाने अवस्था पनि नदेखिए पछि हेलिकप्टरकै भरमा थियौँ । बिहानै काठमाडौँबाट उडेको हेलिकप्टर मौसम अनुकूल नहुँदा ठाउँठाउँमा बस्दै आज आयो र घाइतेलाई लिएर फर्कियो” उनले भने ।
बाम्फोक प्रहार गर्ने २२ वर्षीय लाक्पालाई बिहीबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयमा प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । घर नजिकैको पराल राख्ने खोल्माबाट लाक्पालाई पक्राउ गरेको उनले बताए । प्रहरीले घटनाका बारेमा अनुसन्धान भैराखेको जनाएको छ ।

महिला नेतृत्व बढाउनुभन्दा टिकाउनु चुनौतीः मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिलाको नेतृत्व बढाउनु मात्र नभई टिकाउनु पनि आजको चुनौती भएको बताएकी छिन् । सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज जुममार्फत आयोजना गरेको सामाजिक क्षेत्रमा महिलाको भूमिका विषयक बहस कार्यक्रममा उनले भनिन् , “महिलालाई नेतृत्व तहमा ल्याउनु मात्र नभई उनीहरुको आर्थिक विकास आजको प्रमुख आवश्यकता हो ।” महिलाको आर्थिक विकास नभई समाजमा समानता आउन नसक्ने उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला राईले नेपालको संविधानमा महिलाको ३३ प्रतिशत नेतृत्व सुनिश्चित गर्नुअघि नै महासङ्घले यो अवधारणालाई कार्यान्वयनमा ल्याइसकेको उल्लेख गरिन् । सङ्घीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरा जैरुले महासङ्घमा आफू शुरुदेखि नै क्रियाशील रहेकाले यही संस्थामार्फत नेतृत्वमा पुगेको गर्व व्यक्त गरे। सुदूरपश्चिम प्रदेशसभाका सांसद पूर्णा जोशीले महिलाको सहभागिता र उनीहरुको सोचबिना समुन्नत समाजको परिकल्पना समेत गर्न नसकिने तर्क राखिन् ।

सो अवसरमा वन तथा वातावरण मन्त्रालयको जलवायु महाशाखाका प्रमुख डा राधा वाग्लेले हरेक सामाजिक काममा महिलाको भूमिका र योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उनले भनिन्, “सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।” समाज कल्याण परिषदका सदस्य डा मणिराम बन्जाडेले महासङ्घले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा महिलाको नेतृत्व बढाउँदै लगेको बताइन । महासङ्घकी केन्द्रीय अध्यक्ष भारती पाठकले महिलामैत्री नीति बनाउन तीनै तहका सरकारलाई आग्रह गरिन् ।

हेलिकोप्टर दुर्घटनमा दुई पाइलटको मृत्यु

काठमाडौँ । अफगानिस्तानमा एक सैनिक हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा रहेका दुई जना हेलिकोप्टर चालकको ज्यान गएको छ । अफगान एयर फोर्स्को सो हेलिकोप्टर बिहीबार दुर्घटनाग्रस्त भएको थियो ।

बाघलान प्रान्तमा सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको र त्यसमा रहेका दुई जना पाइलटको ज्यान गएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ । बाघलान प्रान्तको पल एक खुम्री नगरमा सो सैनिक हेलिकोप्टर प्राविधिक गडबडीका कारण दुर्घटनामा परेको बताइएको थियो । यहाँको रक्षा मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो बारेमा जानकारी दिइएको छ ।

विश्वभर तीन करोड २४ लाख संक्रमित, ९ लाख ८८ हजारको मृत्यु

काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८८ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड २४ लाख छ । कूल संक्रमितमध्ये दुई करोड ३९ लाख निको भएका छन् भने करिब ७५ लाख मानिस सक्रिय सङ्क्रमित छन् ।

विश्वभर अझै पनि ६३ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७१ लख ८० हजार भन्दा बढी नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ७ हजार भनदा बढीको मृत्यु भएको छ ।

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ५८ लाख सङ्क्रमित भएका छन् भने यहाँ ९२ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४६ लाख व्यक्ति सङ्क्रमित भएकामा एक लाख ३९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार भन्दा बढीको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ । युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।