शुक्रबार सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ । आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनको मुल्य आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार स्थिर रहेको सुनको मुल्य आज भने थोरै बढेको हो । चाँदीको मुल्य आज स्थिर रहेको छ । चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सचिवहरुको ठूलो संख्यामा सरुवा, पर्यटनमा एकनारायण अर्याल

काठमाडौँ । सरकारले ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत(सचिव) एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । सचिव केदार वहादुर अघिकारी गत २२ गते अनिवार्य अवकासमा गएसँगै सो मन्त्रालय खाली रहेको थियो ।

यसरी नै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ भने प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् । सार्वजनिक खरिदका सचिव मोहनकृष्ण सापकोटाले २२ गते अनिवार्य अवकाश लिएसँगै कार्यालयको सचिव पद रिक्त रहेको थियो ।

प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

यसैगरी भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा गरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा लगिएको छ ।

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड, ३ हजार बढीको आवेदन रद्ध

काठमाडौँ । सानिमा जनरल इन्सुरेन्स कम्पनीको आईपीओ आज बाँडफाँट भएको छ ।८ लाख ६६ हजार ९ सय ५ जनाले आवेदन दिएकामा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख ९० हजार ५ सय ४५ जना आवेदनकर्ता हात रित्तो भएको छ भने ३ हजार ३ सय ६० जना आवेदकको आवेदन रद्ध इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीले निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान अनुसार असोज २१ गतेबाट २५ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । कुल ३० लाख कित्तामध्ये ४५ अर्थात १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको थियो ।

त्यस्तै, ५५ अर्थात १ लाख ५० हजार कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको थियो । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ ।

सुन्दा अचम्म लाग्न सक्छ, फोन सम्पर्क गर्न आधा घण्टा पैदल यात्रा

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नुपर्यो भने करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थान खोज्दै सम्पर्क गर्नुपर्ने उनीहरुको दिनचर्या नै बनेको छ । समुद्री सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको उक्त स्थानका मानिस टावरले टिप्ने डाँडाकाँडा पुग्नुपर्ने अवस्था रहेको आँबुखैरेनी गाउँपालिका–६ का वडाध्यक्ष सुनाराम गुरुङले बताए हिलेखर्क पर्यटकीय दृष्टिकोणले गन्तव्यस्थलको रूपमा परिचित भए पनि सञ्चार र विद्युत्ले छुन नसक्दा ओझेलमा परेको उनले बताए ।

आँबुखैरेनी गाउँपालिका–५ टेलिकमले टावर राख्ने कार्यको शुरुआत गरे पनि वडा नं ६ मा भने कुनै पनि सुरसार नभएको वडाध्यक्ष गुरुङले बताउनुभयो । यस वडामा करिब तीन हजार जनसङ्ख्या रहेका छन् । वडाध्यक्ष गुरुङले भने, “विद्युत् र सञ्चार क्षेत्रमा यहाँका बासिन्दा पछि पर्दै गएकाले कष्टकर जीवन बिताउँदै आएका छन् ।” उक्त क्षेत्रमा विद्युत्का पोल गाडे पनि बिजुली तार टाँग्ने कार्य बाँकी रहेकाले टेलिकम र एनसेलको टावर राख्न कठिनाइ भएको हो । जहाँ पायो त्यही टावरले टिप्दैन । उनले भने “सम्पर्क गर्नका लागि घरदेखि टाढा डाँडामा गएर टावर टिप्ने स्थानबाट सम्पर्क गर्नुपर्ने यहाँको बाध्यता रहेको छ ।”

सम्बन्धित निकायमा पटक–पटक घच्घच्याए पनि दशैँपछि हुन्छ भन्ने आश्वासन पाएकाले थोरै भए पनि आश जागेको उनले बताए । चितवनस्थित कविलासको टावरले टिप्ने स्थानमा गएर सम्पर्क गर्नुपर्ने अवस्था रहेको सोही वडास्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद सिंखडाले बताउनुभयो । गाउँभन्दा पर डाँडामा गएर सम्पर्क गर्नु यहाँका बासिन्दालाई बानी नै परिसकेको छ । उनले भने, “सहजरूपमा सञ्चारको पहुँच पुग्न नसक्दा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।”

जिल्लाका नेता गोविन्द भट्टराई, प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायत नेतालाई यहाँको सञ्चार अवस्थाका बारेमा आफूले समेत पटक–पटक जानकारी गराएको प्रअ सिंखडाले जानकारी दिए ।

चितवनमा दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’को प्रयोग

चितवन। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’मार्फत जाँच शुरु गरेको छ । चाडपर्वमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि मुख्य राजमार्ग क्षेत्रमा ‘लाइडर गन’ मार्फत जाँच शुरु गरिएको हो ।

जिल्लामै पहिलोपटक अत्याधुनिक लाइडर गनमार्फत जाँच शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । लाइडर गनले तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकको फोटो, भिडियो र सवारीको गति कैद गर्ने उहाँले बताउनुभयो । तीव्रगतिका कारण अधिकांश गम्भीर प्रकृतिका दुर्घटना हुने भएकाले यसले न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ । “चाडपर्व लक्षित गरेर यो अभियान सञ्चालन गरेका छौँ”, उनले भन्नुभयो, “यसलाई पछिसम्म निरन्तरता दिनेछौँ ।” उनले सवारी साधन चलाउँदा संयमित र अुनशासित हुनसमेत अनुरोध गरे ।

ट्राफिक प्रहरीले पहिलो दिनमै ४१ जना सवारी चालकलाई कारवाही र सचेत गराएको छ । चितवन सबैभन्दा धेरै सवारी दुर्घटना हुने जिल्लामा पर्छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणकै लागि जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक बोर्डसमेत राखेको छ ।

अवैध लागूऔषध गाँजा, सुर्ती लगायत विभिन्न सामान सहित दुई पक्राउ

खोटाङ, २९ असोज । हलेसी तुवाचुङ नगरपालिका(१ बयक्ताबाट ७ किलो अवैध लागूऔषध गाँजा, १७ बोरा सुर्ती, २ बोरा चुना, १ बोरा सुर्ती प्याक पार्ने प्लाष्टिक, २ थान फलामको दाउ, १ सेट गाँजा बनाउन प्रयोग गर्ने मेसिन, १ बोरा स्टिकर र १ थान अचानो सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय सुबास राई र २३ वर्षीय अविन नेपाली रहेका छन् । राईको घरमा गाँजा तथा सुर्ती अबैध रुपमा बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङ, ईलाका प्रहरी कार्यालय हलेसीबाट र प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा, सुर्ती लगायत अन्य सामानहरु समेत फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सेना र प्रहरीमा सङ्क्रमण बढ्दो

काठमाडौँ । नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ । बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण घोडाबाँधेका १२ सैनिकमा कोरोना देखिएको थियो ।

त्यस्तै अघिल्लो बुधबार नेपाली सेनाका २८ जनामा एकसाथ सङ्क्रमण पुष्टि भएको थियो । नेपाल प्रहरीमा पनि सङ्क्रमित थपिँदै गएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका १४ जनामा बिहीबार सङ्क्रमण पुष्टि भएको हो ।

बिहीबार मात्रै नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत तीनसहित ५१ जना सङ्क्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसीआर जाँचमा ४५ पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

सङ्क्रमितमध्ये विदेशबाट आई क्वारेन्टिनमा बसेकासमेत छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५८५ पुगेको छ । केही समयअघि नियन्त्रणउन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ । पछिल्लो दुई सातामा झण्डै २०० सङ्क्रमित थपिएका छन् ।

प्रमुख गुरौले अहिले ‘क्लस्टर’मा बढी सङ्क्रमण देखिएको र समुदायस्तरमा फैलन नदिन उच्च सावधानी अपनाउनुपर्ने बताए । यात्रा विवरण नभएका र सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्क नभएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थाले त्यो चिन्ताको विषय हुने उनले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोना लागेर निको हुनेको सङ्ख्या ३८८ छ भने आइसोलेसनमा १९५ सङ्क्रमित छन् । क्वारेन्टिनमा रहेकाको सङ्ख्या ५६ छ । हालसम्म ८ हजार ७२२ जनाको पिसिआर जाँच गरिएको छ । सङ्क्रमित हुनेमा पुरष ९१ र महिला ९ प्रतिशत छन् ।

कोरोना सङ्क्रमणपछि निको भएको दर ७२.०७ प्रतिशत छ भने मृत्युदर ०.०४ प्रतिशत छ । यस्तै पिसीआर जाँचमध्येमा ५.०९ प्रतिशत सङ्क्रमण दर रहेको कार्यालयले जनाएको छ । जिल्लामा पहिलोपटक गत चैत १५ मा कोरोना देखिएको थियो जुन नेपालकै पाँचौ सङ्क्रमणको घटना थियो ।

जिल्लाका कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । बुधबार बागलुङ नगरपालिका–२ का ७७ वर्षीय कोरोना सङ्क्रमितको उपचारका क्रममा पोखरास्थित चरक मेमोरियल अस्पतालमा निधन भएको थियो । अस्पतालमै पिसिआर जाँच गर्दा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले बताउनुभयो । उहाँमा कोभिड–१९ सहित मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या रहेको जनाइएको छ ।

यसअघि निसीखोला गाउँपालिका– २ का २९ वर्षीय युवकको कोरोना लागेर ज्यान गएको थियो । मृगौला र फोक्सोको समस्याबाट ग्रसित युवकको भारतबाट आई क्वारेन्टिनमा बसिरहेका बेला निधन भएको थियो ।

कैलालीका खेलाडी विनोदले राखे विश्व कीर्तिमान

कैलालीको टीकापुरका खेलाडी विनोद थापाले तेक्वान्दो खेलअन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’ अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विधामा विश्व रेकर्ड राखेका छन् । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड नबनाएको बताइएको छ ।

थापाले सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घले बिहीबार धनगढीमा आयोजना गरेको कार्यक्रममा एक घण्टामा एक खुट्टाले दुई हजार ७५० पटक किक हानेर नयाँ रेकर्ड बनाएका हुन् । गिनिज बुक अफ ओल्ड रेकर्डले तोकेको समयअनुसार उनले एक घण्टामा सो रेकर्ड बनाउन सफल भएका हुन् ।

अब उनले आगामी कात्तिक ४ गते ‘मोष्ट मार्सल आर्टस किक इन वान आवर युजिङ अल्टरनेटिभ लेग्स’ अर्थात् एक घण्टामा दुवै खुट्टाको प्रयोग गरेर सबैभन्दा बढी किक हान्ने विधाको रेकर्ड बनाउने तयारी गर्नुभएको छ । यो समय पनि गिनिज बुक अफ ओरल्ड रिकर्डले तोकेको मापदण्डअनुसार नै गरिने उल्लेख गरिएको छ ।

हाल यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ । कातोको नाममा एक घण्टामा तीन हजार ६३२ पटक किक हानेर विश्व रेकर्ड कायम भएको खेलकुद पत्रकार सीताराम ओझाले बताए । कार्यक्रममा धनगढी उप महानगरपालिकाका प्रमुख नृपबहादुर वड, सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष सुवाश शाही लगायतको उपस्थिती थियो ।

प्रहरी हुँ भन्दै व्यवसायीबाट अनुचित आर्थिक लाभ लिएको अभियोगमा पक्राउ

काठमाडौं । आफूलाई प्रहरी हुँ भन्दै काठमाडौं उपत्यकाका विभिन्न व्यवसायी लगायतका मानिसहरुलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिएको अभियोगमा काठमाडौं टोखा नगरपालिका—८ बाँनियाटार बस्ने रामेछाप खाँडादेवी गाउँपालिका(६ घर भएका २८ वर्षीय गोबिन्द खड्कालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
विगत २ वर्षदेखि प्रहरीको सञ्चार सेट जस्तो देखिने र हेण्ड वाकिटकी सञ्चार सेटहरु बोकी ट्राफिक प्रहरीको यूनिफर्मको रेनकोट, प्रहरीको टिसर्ट, नेमप्लेट लगाई रातको समयमा रात्रीकालीन व्यवसाय संचालन गर्ने स्थानहरुमा गई खड्काले व्यवसायीलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका—८ बाँनियाटारबाट पक्राउ गरेको हो ।
उनको साथबाट २ थान सञ्चार सेट, १ थान गोबिन्द खड्का लेखिएको नेमप्लेट, नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको जस्तो देखिने यूनिफर्महरू, २ जोर बुट, १ थान मतदाता परिचयपत्र, १ थान सिठि, बा.७८ प १६२ नम्बरको मोटरसाइकल, १ थान सवारी चालक अनुमति पत्र र ४ थान विभिन्न ब्राण्डको मोबाइल प्रहरीले बरामद गरेको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगंजमा टेलिमेडिसिन सेवा शुभारम्भ

काठमाडौं, २९ असोज । नेपाल प्रहरी अस्पताल महाराजगंजमा टेलिमेडिसिन सेवा शुभारम्भ गरिएको छ । ६५औं प्रहरी दिवस २०७७ को उपलक्ष्यमा संचालनमा ल्याइएको उक्त सेवाको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार अस्पतालमा आयोजित कार्यक्रमबीच उद्‍घाटन गरेका हुन् । साथै उनले उक्त सेवाको निरीक्षण समेत गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले विभिन्न सेवामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्दै टेलिमेडिसिन सेवा अहिलेको परिवेशमा निकै सन्दर्भिक रहेको तथा दूर दराजमा भएका प्रहरी कर्मचारीहरुले अस्पतालको सेवा प्राप्त गरी लाभान्वित हुने उल्लेख गरे ।
प्रारम्भमा परामर्शको सेवा प्रदान गर्ने रुपमा संचालन हुने टेलिमेडिसिन सेवालाई आगामी दिनमा थप परिस्कृत गरेर औषधी पनि वितरण गर्न सक्ने प्रणालीमा विकास गर्न सकेमा प्रहरी कर्मचारीहरु अझ बढी लाभान्वित हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले त्यसतर्फ अस्पताल प्रशासन अगाडि बढ्ने विश्चास व्यक्त गर्नुभयो । कोभिड–१९ भाइरसबाट सिर्जित विषम परिस्थितिमा नेपाल प्रहरी अस्पतालबाट भएको उपचार लगायत विविध क्रियाकलापको प्रशंसा गर्दै उहाँले अस्पतालका सेवाग्राहीप्रति शिष्ट व्यवहारका साथ प्रस्तुत हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले टेलिमेडिसिन सेवाबारे प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा ई–हेल्थलाई संस्थागत गर्दै मोबाइल हेल्थ, टेलिमेडिसिन लगायत अन्य आधुनिक प्रविधिको विकास, विस्तार तथा नियमन गर्ने ब्यवस्था भए अनुरुप सेवा संचालन गरिएको जानकारी दिए ।

प्रहरी नायव महानिरीक्षक डा.रामकृष्ण राजभण्डारीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक डा.आशिष दत्तले नेपाल प्रहरी अस्पतालबाट कोभिड–१९ नियन्त्रणमा भएका कार्यहरु सम्बन्धि प्रस्तुतीकरण गरेका थिए ।
उद्‍घाटनको अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ धामको दर्शन् गर्नुहोस्, असोज ३० गतेको राशिफल

वि.सं.२०७७ साल असोज ३० गते । शुक्रबार । ईश्वी सन् २०२० अक्टोबर १६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–औशी,४९ घडी ३० पला,रातको ०१ बजेर ५३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– हस्त,२४ घडी ५५ पला,बेलुकी ०४ बजेर ०३ मिनेट उप्रान्त चित्रा । योग–ऐन्द्र,०३ घडी २९ पला,बिहान ०७ बजेर २८ मिनेट उप्रान्त वैधृति । करण–चतुष्पद,दिउसो ०३ बजेर ०४ मिनेट उप्रान्त नाग,रातको ०१ बजेर ५३ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेट । दिनमान २८ घडी ३७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पढाई लेखाईमा मन जानेछ भने प्रतिष्पर्धिहरु तपाईको क्षमता देखेर आफै पछाडि हट्नेछन् । न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा नया प्रविधिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त घर परिवार तथा मामा मावली पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईनेछ । मन परेको मानिस सँग रमाईलो यात्रामा निस्कन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ भने पति पत्निबिच बिश्वासको डोरो अझ कसिलो भएर जानेछ । छोटो दुरिको व्यावसायिक तथा रमाईलो यात्राको तय गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नु पर्ने हुँनसक्छ । व्यापारमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । नयाँ नयाँ कामको प्रस्ताब आउनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ । बिवादित बिषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राजनीति तथा समाजसेवमा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनु पर्दा मन चिन्तित हुनेछ । कामहरु समयमा सम्पादन नहुदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । सानो कामलाई पनि प्रशस्त समय खर्चिनु पर्नेछ भने सरकारि तथा प्रशासनिक काममा झन्झटिलो प्रक्रिया अपानाउँनु पर्दा न्यून उपलब्धिमा चित्त बुझाउनु पर्नेछ । अध्ययनमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्नेछैन ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिस्पर्धिहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा हात लाग्नेछ । जीवन साथिको सहयोेगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । मायाप्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने सहमती जुट्नेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ ।

गोर्खा ब्रुअरीद्वारा मापदण्ड नै नपुर्याई बियर उत्पादन

काठमाडौं । गोर्खा बु्रअरीले मापदण्ड नपुर्याई विभिन्न ब्रान्डका बियर उत्पादन गरी जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको पाइएको छ । खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर मापदण्डविपरीत उत्पादन गरिएको आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ । ती बियर मापदण्डविपरीत र स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि विभागले बियरका रूपमा बजारमा बिक्री वितरण गर्नसमेत रोक लगाएको छ ।

विभागले वर्गीकरणमार्फत ती बियरलाई लोकल रक्सीका रूपमा रूपान्तरण गरिदिएको छ । कोरोना महामारीको मौका छोपी गोर्खा ब्रुअरीले सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्न थालेकाले कडा कारबाही गर्नुपर्ने माग आम उपभोक्ताको छ । उपभोक्ताले गुणस्तरहीन बियर उत्पादनमा रोक लगाउन समेत सरकारसँग माग गरेका छन् ।

बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्ने प्रावधान छ तर गोर्खा ब्रुुअरीले बियरमा जौको सट्टा कमसल खालको कनिका प्रयोग गरी उपभोक्तालाई ठगिरहेको विभागका अधिकारीले बताएका छन् ।

– लोकल रक्सीको दर्जामा पर्ने गरी वर्गीकरण
– विभागद्वारा कारबाही
– महामारीको मौका छोपी अकुत नाफा कमाउन उद्यत
– गुणस्तरहीन बियर उत्पादनमा रोक लगाउन माग

गोर्खा ब्रुअरीले उत्पादन गरेका काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर गुणस्तरहीन भएकाले त्यस्ता बियरको प्रयोगमा सचेतता अपनाउनसमेत विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।

‘गोर्खा ब्रुअरीले गुणस्तरहीन बियर उत्पादन गरेर सर्वसाधारणलाई छक्याउने काम गरेको छ । यो उसको ठूलो बदमासी हो । हामी गम्भीर रूपमा छानबिन गरिरहेका छौं,’ आन्तरिक राजस्व विभागका एक अधिकारीले भने ।

विभागका ती अधिकारीका अनुसार गोर्खा ब्रुुअरीले आफूमाथि लागेको आरोप स्वीकार गरिसकेको छ । बियरमा कनिका र जौको मिसावट गर्ने क्रममा कामदारको लापरवाही भएको जिकिर कम्पनीले गरे पनि कम्पनीको स्वीकृत र आदेशबेगर यस्तो हुन नसक्ने ठहर गरिएको छ । उसले अहिले कानुनी रूपमा बच्न विभिन्न बहानाबाजी गरिरहेको छ तर उम्कन सक्ने अवस्था भने नरहेको विभागका अधिकारीको भनाइ छ ।

लकडाउनका बेला अनुुगमन नहुने र दसैंको समयमा अकुुत रूपमा नाफा कमाउन कम्पनीले मानव स्वास्थ्यमाथि खेलबाड गरेको एक विज्ञले बताए ।

अन्तःशुल्क लाग्ने मदिरा, चुरोट वा सुुर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेको त्यस्तो वस्तुमा आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्तःशुल्क छलेमा इजाजतपत्र ३ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान अन्तःशुुल्क ऐनमा छ ।

आन्तरिक राजस्व विभागले एक हप्ता कम्पनी नै बन्द गराएर अध्ययन गरेपछि गोर्खा बु्रअरीको बदमासी सार्वजनिक भएको हो । मापदण्डविपरीत उत्पादन भएको भेटिएपछि विभागले कमसल खालको दर्जामा पर्ने गरी नयाँ अन्तःशुल्क निर्धारण गरिदिएको छ ।

आन्तरिक राजस्व ऐनले जौबाट बनेको बियरमा अहिले प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपैयाँ निर्धारण गरेको छ । गोर्खा ब्रुुअरीले जौबाट बनेको बियर भन्दै प्रतिलिटर १६५ रुपैयाँ नै तिर्न खोजेपछि आन्तरिक राजस्व विभाग कारबाहीमा उत्रेको हो । मापदण्डविपरीत उत्पादन भएको पाइएपछि कारबाहीस्वरूप ४ सय ३० रुपैयाँ कायम गरिएको विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक शिवादेवी दाहालले माल्ट ५० प्रतिशतभन्दा कम भएपछि ऐनकोे २२०६।००।९० अनुसार प्रतिलिटर ४ सय ३० रुपैयाँ तिर्नुुपर्ने बताइन् । गोर्खा ब्रुुअरीका केही ब्रान्डमा समस्या रहेमा सोहीअनुुरूप कारबाही हुने उनले जानकारी दिइन् । विभागले सबै कार्यालयलाई सोहीअनुसार गर्न परिपत्र गरेको उपमहानिर्देशक दाहालले बताइन् ।

बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्यसरहको अन्तःशुल्क तिर्नुपर्ने गोर्खा ब्रुुअरीलाई निर्देशनसमेत दिएको हो ।

विभागले प्रशोधित जौको मात्र बढी हुनुपर्नेमा लोकल रक्सी बनाउने शैलीमा कनिकाको मात्रा बढी प्रयोग गरेको भन्दै बियरको मान्यतासमेत दिएको छैन ।

ठगी गर्दै उल्टै दबाब दिँदै
गोर्खा ब्रुुअरीले विभागले कायम गरेको अन्तःशुल्क तिर्न आनाकानी गरेपछि गोर्खा बु्रअरीको नयाँ उत्पादन बजारमा लान दिइएको छैन । कम्पनीले भने नयाँ अन्तःशुल्क नभई पुरानै अन्तःशुल्कमा बियर बजारमा पठाउन आन्तरिक राजस्व विभाग र भन्सार विभागलाई दबाब दिँदै आएको छ ।


आन्तरिक राजस्व विभागका एक निर्देशकले गोर्खा बु्रअरीको उत्पादनमा कनिकाको मात्रा बढी भएको विषयमा गरिने थप कारबाहीका बारेमा भन्सार विभागसँग समेत छलफल थालेको छ ।

हार्मोनियम कोडसम्बन्धी बढी जानकारी भन्सारलाई थाहा हुने भएकाले भन्सार विभागसँग छलफल थालिएको हो । विभागले यसअघि बजारमा पठाइसकेको बियरको पनि नयाँ अन्तःशुल्क कायम गर्न खोजिरहेको छ । यही विषयमा थप अनुसन्धान गर्नका लागि दुवै विभागले छलफलसमेत गरिरहेका छन् ।

१० मध्ये गोर्खा बु्रअरीको उत्पादनमा मात्रै कैफियत
आन्तरिक राजस्व विभागले गोर्खा ब्रुुअरी, माउन्ट एभरेस्ट ब्रुुअरी, हिमालयन ब्रुुअरी, यती ब्रुुअरी, शेर्पा बु्रअरी, सिजी ब्रुुअरी, नेपाल ब्रुुअरी, टाइगर ब्रुुअरी, याक ब्रुुअरी, राज ब्रुुअरी लगायतका १० वटा कम्पनीका उत्पादनको गुणस्तर परीक्षण गरेको थियो ।

अरू नौवटा कम्पनीका उत्पादन ठीक भए पनि गोर्खा ब्रुुअरीको बियरमा आवश्यक पर्ने प्रशोधित जौको मात्रा थोरै राखी नाफा कमाउने उद्देश्यले कनिकाको मात्रा बढी प्रयोग गरिएको देखिएको परीक्षणका संलग्न विभागका एक अधिकृतले बताए ।

जौभन्दा कनिका सस्तो पर्ने भएकाले गोर्खा बु्रअरीले लोकल रक्सीमा जस्तै कनिकाको मात्रा बढी प्रयोग गरी बियरका पारखीको स्वास्थ्यमा खेलबाड गरेको उनले बताए ।

गोर्खा ब्रुुअरीले उत्पादन गर्दै आएको चर्चित बियर टुबोर्ग, काल्सबर्ग र सानमिगल नै सबैभन्दा कमसल रहेको विभागले उल्लेख गरेको छ ।

आन्तरिक राजस्व विभागले भन्सार विभागलाई ५० प्रतिशतभन्दा कम जौ प्रयोग गरी उत्पादन भएका बियरको वर्गीकरण गर्न पत्र पठाएको थियो । सोहीअनुसार भन्सार विभागले एकीकृत दरबन्दी वर्गीकरणको भाग २२ को व्यवस्थाअनुसार गोर्खा ब्रुुअरीको बियरलाई ‘अन्य’मा वर्गीकरण गरेको बताइएको छ । यसले गर्दा प्रतिलिटर १६५ रुपैयाँको सट्टा अन्य प्रकारको मदिराको दर्जा दिई ४३० रुपैयाँ कायम गर्न खोजिएको हो । ‘अन्य’ संकेतलाई न्यून गुणस्तरको पेय पदार्थ मानिन्छ ।

उक्त वर्गीकरणअनुसार नै आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय कावासोतीलाई पत्र लेखी टुबोर्ग, काल्सबर्ग र सानमिगललाई उच्च दरमा अल्कोहल मिश्रित मदिरासरह अन्तःशुल्क लगाउन निर्देशन दिएको हो ।

सात दिन रोकिएको थियो उत्पादन
कर कार्यालयले अन्तःशुल्क धेरै लाग्ने बताएपछि कम्पनीले ७ दिन उत्पादन नै रोकेर गत आइतबारबाट उत्पादन पुनः सुचारु गरेको बताइएको छ ।

भन्सार विभागले गोर्खा ब्रुुअरीका बियर अन्य शीर्षकमा वर्गीकरण गर्न र तोकिएअनुसार जौबाट बनेको बियरको तुलनामा तीन गुणा धेरै करको दर कायम गर्न सिफारिस गरेको छ । त्यसैअनुसार कर कार्यालयले अन्तःशुल्क धेरै लाग्ने बताएपछि कम्पनीले ७ दिन उत्पादन नै रोकेको थियो । कम्पनीले आइतबारबाट उत्पादन निरन्तरता दिएको राजस्व कार्यालय कावासोतीले जनाएको छ । बियर उद्योगमा राजस्वले अन्तःशुल्क अधिकारी खटाएको हुन्छ ।

आन्तरिक राजस्व विभागले १६ असोजमा आन्तरिक राजस्व कार्यालय कावासोती नवलपुरलाई पत्र पठाउँदै कम्पनीबाट उत्पादन हुने बियरमा जौको मात्रा कम भएको भन्दै कमसल बियरमा वर्गीकरण गरिदिएको थियो । विभागले वर्गीकरण पठाएसँगै कार्यालयले उच्च दरको अन्तःशुल्क दर तय गरेको थियो ।

झुक्याउँदै थप ठगी गर्ने प्रयास
नयाँ अन्तःशुल्क दर कायम भएपछि गोर्खा ब्रुुअरीका केही उत्पादन थन्क्याएर अन्यलाई भने बजारमा पठाएर झुक्याउन खोजिएको छ । गोर्खा ब्रुअरीले सर्वसाधारणलाई ठगी गर्नकै लागि यसरी झुक्याउने प्रयास गरेपछि आन्तरिक राजस्व विभागका अधिकारी थप संवेदनशील बनेका छन् ।

अहिले उसले इन्ग्रिडेन्ट्स परिवर्तन गरेर उत्पादन सुरु गरेको जानकारी कर कार्यालयलाई गराएको छ । आन्तरिक राजस्व विभागले कर कार्यालयलाई कम्पनीले यसअघि प्रयोग गरेको इन्ग्रिडेन्ट्सको विवरण, सामानको स्टक र बजार पठाउन बाँकी बियरको स्टक लिन पनि भनिसकेको छ ।(राजधानी दैनीकबाट साभार)

भक्तपुर अस्पतालमा पहिलोपटक भित्रियो दूरबिन प्रविधि, शल्यक्रिया सफल

काठमाडौँ । देशकै दोस्रो जेठो अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा बल्ल दूरबिन अर्थात् ल्याप्रोस्कोपी प्रविधि भित्रिएपछि सहजरूपमा शल्यक्रिया सेवा शुरु भएको छ । वीर अस्पतालपछि स्थापना भएको यस अस्पतालमा पहिलोपटक बुधबार स्थानीय एक पुरुषको दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए । राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं १९६१ असार १७ गते १५ शैय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाममा स्थापना भएको यस अस्पतालले पहिलोपटक दूरबिन प्रविधि भित्र्याएर शल्यक्रिया शुरु गरेको हो ।

डा गौतमले भने, “वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सामाजिक विकास मन्त्रालयको अस्पताल गुणस्तर सुधार कार्यक्रमअन्तर्गत रु एक करोड ३५ लाखको बजेट व्यवस्थापन गरिदिनुभयो, त्यसैले आवश्यक सामग्रीको व्यवस्थापन भएसँगै दूरबिन प्रविधिबाट शल्यक्रिया शुरु गरेका छौँ, अब सहज र सुलभरूपमा शल्यक्रिया सेवा दिन सक्छौँ ।”

कोभिड–१९ को महामारीको बीचमा पनि नियमित सबै सेवा सञ्चालन गरिरहेको यस अस्पतालले आज सर्जन डा रञ्जिस पहाडीको नेतृत्वमा डा मनिष मल्लिक, डा विनय चौधरी, एनेस्थेसियन डा निर्मल श्रेष्ठ, डा दीपक भण्डारी, नर्सिङ टिमका सुमित्रा त्यात, हरि कोजू, मित्रमाया तामाङसहित टोलीले दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गरेका हुन् ।

निजी अस्पतालले रु ६० हजारदेखि एक लाखसम्म शुल्क लिदै आएको पित्तथैलीको शल्यक्रिया भक्तपुर अस्पतालले भने रु २० हजारमै गर्ने भएको छ । पहिलो शल्यक्रिया स्वास्थ्य बीमामा आवद्ध बिरामीको भएकाले रु नौ हजार शुल्कमै शल्यक्रिया सम्पन्न भएको छ । वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा लामो प्रतिक्षा (क्यूमा) मा रहेका बिरामीलाई भक्तपुर अस्पतालमा पठाइदिए सहज र सुलभरूपमै शल्यक्रिया गर्न सकिने भक्तपुर अस्पतालको भनाइ छ । बिनाचिरफार उच्च गुणस्तरको लेन्सका माध्यमबाट सानो प्वालको भरमा गरिने शल्यक्रिया अब भक्तपुर अस्पतालमा पित्तथैलीदेखि स्त्री तथा प्रसूति रोगसम्ममा प्रभावकारी ढङ्गले गरिने भएको छ ।

चिरेर शल्यक्रिया गरेको बिरामी हप्तौँसम्म अस्पतालमै बस्नुपर्ने बाध्यता हुन्छ तर दुरबिन प्रविधिबाट गरिएको शल्यक्रियाको ४८ घण्टामै बिरामी घर जान सक्ने र काममा फर्किन मिल्ने, कम पीडा र तुलनात्मकरूपमा सङ्क्रमणको जोखिम कम हुने हुँदा स्त्रीरोगदेखि पत्थरीसम्मको शल्यक्रिया यही प्रबिधिबाट बढी हुने गरेको छ । ग्यास, प्रकाश र दूरबिन पठाउन पेटमा स–साना घाउ बनाई फाइबर अप्टिक इन्डोस्कोप (दूरबिन) को मद्दतले तल्लो पेटका भित्री अङ्गहरूको समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ । ग्यास, प्रकाश र दूरबिन पठाउन नाइटोनिर सानो प्वाल बनाइन्छ ।

नेपालमा कोरोना भाइरस सङ्क्रमण फैलिएपछि चैत ११ गते भएको लकडाउनयता भक्तपुर अस्पतालले कुनै पनि बिरामी उपचार नपाई फर्किनु नपरोस् भनेर अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्रीरोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सर्जरी, बालरोग, दन्तरोग, छालारोग, मानसिक रोग, फिजियोथेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिरहेको छ । अस्पतालले २४सैं घण्टा आफ्नो फार्मेसीमा औषधि खरिदमा १० प्रतिशत छुट दिने व्यवस्थासमेत गर्दै आएको छ ।

कोभिड–१९ को महामारी फैलिएसँगै निजी अस्पतालले बिरामी भर्ना नलिने गरेपछि भक्तपुर अस्पतालमा बिरामीको चाप अत्यधिकरूपमा बढेको अस्पतालका मेसु डा गौतमले बताउनुभयो । स्वाब सङ्कलनदेखि कोभिड–१९ का बिरामीको समेत उपचार गर्दै आएको यो अस्पतालमा यतिखेर भक्तपुदेखि पूर्वका विभिन्न जिल्लाका बिरामीको उपचारको आधार केन्द्र बन्दै आएको छ ।

बिरामीको चाप बढ्दै गएपछि अस्पतालमा शैय्या भने निकै अभाव हुँदै आएको छ । शैय्या थप भएमा आएका बिरामीको अझै सहज उपचार गर्न सकिने उहाँको भनाइ छ । सरकारले कोरोना हब अस्पतालको रुपमा यसलाई तोकेपछि पाँच भेन्टिलेटरसहित छ शैय्याको आइसीयू र कोरोना सङ्क्रमित राख्ने १६ शैय्याको आइसोलेसन एवं १० शैय्याको कोरोनाका सामान्य बिरामी राख्ने आइसोलेसन तयार गरी सेवा सञ्चालन भइरहेको छ ।

प्रदेश सरकारप्रति जनताको आकर्षण बढ्दै छः मुख्यमन्त्री राई

प्रदेश नं १ सरकारले पाँच वर्षे कार्यकालको आधाअवधि पूरा गरेको अवसरमा बुधबार मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरेको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलब्धिलाई जनता समक्ष पुर्याउन सो पुस्तक सार्वजनिक गरिएको हो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगद्वारा तयार गरिएको आर्थिक वर्ष २०७४–७५ र २०७५–७६ मध्यावधि समीक्षा पुस्तकको सार्वजनिक गर्दै प्रदेश सरकारप्रति जनताको आकर्षण बढ्दै गएको बताए। उनले सरकार तराई, पहाड र हिमालका जनताको विश्वास स्थापित गरेको बताउँदै उनीहरुको विकासप्रतिको आकांक्षा पूरा प्रतिबद्धता व्यक्त गरे । प्रदेश सरकार गठन भएको मध्यावधि अवस्थामा प्रशासनीक, कानूनी संरचना, महत्वपूर्ण निकायहरु लगानी वोर्ड, प्रदेश योजना आयोग र प्रदेश लोक सेवालगायत प्रदेश संरचना निर्माण गरेको बताए । उनले सीमित श्रोत र साधनबाट विकास निर्माणको कार्य गर्न परिरहेको चर्चा गर्दै जनताले आफ्नै घर आँगनमा विकास देख्दा उनीहरुमा उत्साह छाएको दावी गरे।

मुख्यमन्त्री राईले यस क्षेत्रको आर्थिक विकास र रोजगारी उपलब्ध गराउन छिट्टै परियोजना बैंक तयार गर्न निर्देशन दिएको जानकारी दिँदै कोरोना भाइरसको महामारी कम भएपछि स्वदेश तथा विदेशी लगानीकर्ताको सहभागितामा लगानी सम्मेलन गर्ने जानकारी दिए । उनले कोभिड–१९ ले प्रदेशको आर्थिक रुपमा मुहान सुकाएको तर्क गर्दै कोरोना महामारीलाई रोकथाम, नियन्त्रण र उपचारमा सरकार प्रभावकारीरुपमा कार्य गरिरहेको धारणा राख्नु भयो ।

विराटनगर विमानस्थको धावन मार्ग तीन हजार मिटर बनाउन सङ्घीय सरकारसँगको भएको सम्झौताले यस क्षेत्रमा विदेशी पर्यटक आगमन वृद्धि हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री राईले बजेट खर्च गर्ने हिसाबले तथ्याङक सूचक आधारमा प्रदेश उत्कृष्ट रहेको छ’ भन्नुभयो । उहाँले मध्यावधि समीक्षामा देखिएका कमीकमजोरी सच्चाउनका साथै नयाँ सोचका साथ काम अगाडि बढाउन प्रदेशका १३७ पालिका र १४ जिल्ला समन्वय समितिलाई आवश्यक टिप्पणीको लागि आव्हान समेत गर्नु भयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले जनतालाई शिक्षित र आत्मनिर्भर बनाई उनीहरुको मुहारमा खुशी ल्याउने उद्देश्यले आयोगले कार्य गरिरहेको विचार व्यक्त गर्नुभयो । सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतलगायतको उपस्थिति थियो ।

तातोपानीमा ‘बिओपी’ स्थापना

काठमाडौँ । चीन जोड्ने उत्तरी सिन्धुपाल्चोकको नाका तातोपानीमा बुधबारदेखि सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापना गरिएको छ । गत असार २९ को मन्त्रीपरिषद्को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितीमा भोटेकोसी गाउँपालिका वडा २ तातोपानीमा ‘बोर्डर आउट पोष्ट’ स्थापना गरिएको हो ।

बिओपीको लागि तत्कालिन सीमास्थित सशस्त्र प्रहरी बल २२ नं गुल्म हेडक्वाटर (राजश्व–भन्सार गस्ती सुरक्षा) को एक ब्यारेक, शौचालय, भवन प्रयोगमा ल्याइएको छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय छेउमा राखिएको बिओपीले सीमा सुरक्षामा गस्ती गर्नेछ ।

बुधबार नायब महानिरीक्षक श्रेष्ठसँगै सशस्त्र प्रहरी उपरीक्षक अर्जुन खत्री, नेपाली सेना झिर्पू सुरक्षा गुल्मपति सेनानी ईश्वर गिरी, सीमा प्रहरी चौकी कोदारी प्रहरी निरीक्षक नवराज सापकोटासहित उच्च सुरक्षा अधिकारीको उपस्थिती थियो । सशस्त्र प्रहरी तातोपानी बिओपी’ सशस्त्र प्रहरी निरीक्षक केशवकुमार श्रेष्ठकाअनुसार सीमासुरक्षासम्बन्धी महत्वपूर्ण जिम्मेवारी पाएको बिओपीले दैवी प्रकोप उद्धारकार्यमा खट्नेछ ।