जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन

काठमाडौँ । सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । उहाँका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल सञ्चालनका लागि कर्मचारीलाई एकरदुई साताको तालीम आवश्यकपर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यो सकिएपछि ढिलोमा माघको अन्तिमसम्ममा गर्ने लक्ष्य रहेको छ ।”

भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्देृशक भट्टराईले बताउनुभयो । उहाँका अनुसार भारतीय पक्षले यसमा काम गरिरहेका छन् । उनीहरुले गर्नुपर्ने काममध्ये थोरै काम बाँकी रहे पनि सञ्चालनमा समस्या नहुने उहाँको भनाइ छ । कम्प्युटरबाट नियन्त्रण हुने सो रेलमार्गमा ‘सिस्टम इन्स्टल’ गर्ने काम पनि अघि बढाइएको छ । रेल सञ्चालन हुँदा रेल कहाँ पुग्यो, कहाँ पुग्दा अड्कियो वा अरु कुनै समस्या भयो भन्ने हेर्न सकिने उहाँले बताउनुभयो ।

कम्पनीले दक्ष र प्रशासनिकलगायत आवश्यक जनशक्ति व्यवस्थापन गरिरहेको छ । आवश्यक कतिपय कर्मचारी स्थायी हुनेछन् भने कतिपय अस्थायीरुपमा नियुक्त गरिने उहाँको भनाइ छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामति कर्मचारी काजमा ल्याइने उहाँले जानकारी दिनुभयो । रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी रहेका थिए । ती कर्मचारी कम्पनी बन्द भए पनि कम्पनीमा रहेका थिए । कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारीसमेत ल्याउन लागेको छ । नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतीय कर्मचारी करारमा ल्याउन लागिएको हो । त्यसका लागि मन्त्रालयमा प्रस्ताव पेश गरिएको उहाँले बताउनुभयो ।

मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि विदेशी कर्मचारी नियुक्ति अघि बढाउन लागिएको हो । दुई सरकारबीचको सम्झौताबाट उनीहरुलाई ल्याउन लागिएको हो । उहाँले भन्नुभयो, “यताको कम्पनी र उताको कम्पनीबीच सम्झौताबाट ल्याइन लागिएको हो ।”

रेल सञ्चालनका लागि अहिले तत्काल नेपालमा रेलसम्बन्धी कानूनकोसमेत अभाव भए पनि त्यसमा समेत कसरी अघि बढ्ने भनी मन्त्रालय र कम्पनीबीच छलफल भइरहेको छ । रेल्वेसम्बन्धी ऐन, २०२० पुरानो भएकाले नयाँ विधेयक संसद्मा छ । रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ । अहिले पनि सवारीसाधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ । सरकारले उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना लिएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।

नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । लामो समय अवरुद्ध उक्त रेलसेवा वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासँगै अघि बढेको हो । अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । कूल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि विजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । विजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ ।

उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौँ । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ ।

उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ ।

बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

स्थानीय एक स्रोतले बताए अनुसार निर्जन पहाडी इलाकामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर पूर्ण रुपमा नष्ट भएको बताइएको छ ।

युरोपेली मुलुकहरुमा खोप अभियान शुरु

काठमाडौँ । युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा आइतबारदेखि एकसाथ कोभिड–१९ विरुद्धको खोप अभियान शुरु गरेको छ ।

युरोपका केही मुलुकमा कोरोनाभाइरसको नयाँ स्वरुप देखिएकै अवस्थामा अति जोखिममा रहेका मानिसलाई पहिलो प्राथमिकता दिई खोप लगाउने तयारी गरिएको छ ।
फाइजर–बायोएनटेकले विकास गरेको खोप कोभिड–१९ बाट सर्वाधिक प्रभाव परेका इटाली, स्पेन र फ्रान्समा शनिबार पहिलो डोजका लागि खोप आइपुगेको छ । पहिलो चरणमा यो खोप वृद्धवृद्धा र उनीहरुको हेरचाहमा खटिने व्यक्तिहरुलाई दिइने जनाइएको छ ।

कोरोनाभाइरसको खोपका कारण सन् २०२१ मा नयाँ आशाको किरण देखिएको छ । गत वर्ष चीनमा पहिलो पटक देखिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर हालसम्म १७ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम घेब्रेससले कोभिड–१९ महामारीबाट नयाँ पाठ सिक्नुपर्नेमा जोड दिनु भएको छ । महामारी पूर्वतयारी सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै टेड्रोसले मानिस र पशुपक्षीबीचको नाजूक सम्बन्धका बारेमा मानव समुदायले बढी सचेतता अपनाउनुपर्ने तथा जलवायु परिवर्तनका खतराका कारण मानवका लागि पृथ्वी बस्नयोग्य बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।

जर्मनीमा १०१ वर्षीया वृद्धालाई शनिबार कोभिड–१९ विरुद्धको खोप दिइएको छ । जर्मनीका स्वास्थ्य मन्त्रीले त्यस अवसरमा खोपलाई आशाको दिनको रुपमा हेरिएको बताउनुभयो ।

हंगेरी र स्लोभाकियामा पनि खोप दिन थालिएको छ ।

हाल रुस, चीन, बेलायत, क्यानाडा, संयुक्तराज्य अमेरिका, स्वीट्जरल्यान्ड, सर्बिया, सिंगापुर र साउदी अरेबियामा पनि खोप अभिायन शुरु भइसकेका छन् ।

इटालीका विदेश मन्त्री लुइगी डि मायोले आमजनतालाई कोभिड–१९ को खोप लिन आह्वान गर्नु भएको छ । तर जनमत सर्वेक्षणमा करिब ५७ प्रतिशत जनताले मात्र खोप लिन चाहेको देखाइएको छ । वैज्ञानिकहरुले ७५ देखि ८० प्रतिशतले खोप लगाए मात्र “हर्ड इम्युनिटी” विकास हुने अनुमान गरेका छन् ।

कोरोनाभाइरस फैलिएको भन्दै इजरायलले आइतबारदेखि लागू हुनेगरी दुई साताको लकडाउन गरेको छ भने फ्रान्सका स्वास्थ्य मन्त्रीले पनि क्रिसमस पछि कोरोना फैलिने आशंकामा लकडाउन गर्ने योजना बनाइएको जानकारी दिनु भएको छ ।

बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ स्वरुप र युरोपदेखि जापानसम्म यो भाइरस पुगेको भन्दै तनाबको वातावरण सिर्जना भएको छ ।

कोरोनाभाइरसको नयाँ संस्करण म्याड्रिडमा शनिबार चार जनामा भेटिएको छ, तर उनीहरु गम्भीर बिरामी नभएको स्पेनी स्वास्थ्य अधिकारी एन्टोनियो जापाटेरोले बताउनुभयो ।

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा शान्तिपूर्ण निर्वाचनको लागि आग्रह

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले नाइजरमा विधायिका र राष्ट्रपति निर्वाचन शान्तिमय र सुरक्षित गर्नुपर्नेमा जोड दिनुभएको उहाँँका प्रवक्ताले शनिबार बताउनु भएको छ ।

गत डिसेम्बर १३ मा भएको स्थानीय चुनावको शान्तिपूर्ण आचरणको सम्झना गर्दै महासचिवले आइतवारको चुनावलाई समावेशी, शान्तिपूर्ण र सुरक्षित ढङ्गले सम्पन्न गर्ने सुनिश्चित गर्न सबै राष्ट्रिय सरोकारवालाहरुलाई आह्वान गर्नु भएको प्रवक्ता स्टेफान दुजारिकले जारी गर्नु भएको विज्ञप्तिमा जनाइएको छ ।

गुटर्रेसले प्रजातन्त्र र दिगो विकासको लागि नाइजरको प्रयासमा संयुक्त राष्ट्रसंघको प्रतिबद्धता दोहोर्याउनु भएको पनि विज्ञप्तिमा बताइएको छ ।

चीनमा पाँच मध्ये एक जना उच्च रक्तचापबाट पीडित

काठमाडौँ । चीनमा हरेक पाँचमध्ये एक व्यक्तिमा उच्च रक्तचापको समस्या देखिने गरेको तथा अरु रोगभन्दा रक्तचापबाट सबैभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

एक अध्ययन अनुसार चीनमा करिब ३० करोड मानिसमा उच्च रक्तचाप देखिएको छ । चीनको राष्ट्रिय कार्डियोभास्कुलर डिजिज सेन्टरका प्रमुख हु शेङसाओले उच्च रक्तचापका बिरामीका लागि चीनमा बर्सेनि करिब ४ अर्ब ८८ करोड अमेरिकी डलर खर्च हुने गरेको बताउनुभयो ।

उच्च रक्तचाप रोकथाम तथा नियन्त्रण सम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उहाँले चीनमा मृत्यु र अशक्तताको प्रमुख कारकमा रक्तचाप देखिएको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार उच्च रक्तचाप भएमा त्यसले मुटुमा गम्भीर क्षति पुग्ने, हृदयाघात हुने, मुटुले काम गर्न छाड्ने, मुटुको चाल अनियमित हुने, मृगौलामा क्षति पुग्ने तथा मुटुका धमनी फुट्ने वा बन्द हुन्छन् । यी गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिमा हृदयाघात हुने सम्भावना बढी हुन्छ ।

चिनियाँ नागरिकमा रहेका दिर्घ रोग र पोषण सम्बन्धी हालै गरिएका अध्ययनले १८ वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिहरुमा उच्च रक्तचापका २७।५ प्रतिशत, मधुमेहका ११।९ प्रतिशत तथा उच्च कोलेस्टोरलका ८.२ प्रतिशत रहेको देखाएको छ ।

चीनले उच्च रक्तचाप, रगतमा चिनीको मात्रा बढी भएका र हाइपरलिपिडेमिया विरुद्ध जनवरीदेखि विशेष कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । यी रोग भएका व्यक्तिको उपचार र नियन्त्रणमा सघाउँदै राम्रो व्यवस्थापन गर्ने उपायका बारेमा सचेतना फैलाउने चीनको योजना छ ।

यस कार्यक्रममा आबद्ध एक अधिकारी काई जूनले यस कार्यक्रमले प्रारम्भमा २ लाखभन्दा बढी व्यक्तिलाई समेट्ने र सन् २०२२ सम्ममा ३४ वटा जिल्ला र काउन्टीमा विस्तार गरिने जानकारी दिनुभयो ।

डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई

काठमाडौँ । नेपाल टेलिकमसँग सहकार्य गरी विषम परिस्थितिमा पनि इन्टरनेटको माध्यमबाट पठनपाठन सुचारु गरिरहेको बुढानिलकण्ठ स्कुलले प्रविधि क्षेत्रको प्रतिष्ठित ‘डिजिटल एडुकेसन आइसिटी अवार्ड २०२०’ प्राप्त गरेको छ । शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थालाई प्रदान गरिने उक्त अवार्डमा नेपालभित्र सञ्चालनमा रहेका सार्वजनिक शैक्षिक गुठीमा आबद्ध विद्यालयहरु, सामुदायिक विद्यालयहरु, क्याम्पस एवं विश्वविद्यालयहरु प्रतिस्पर्धीका रुपमा रहेका थिए । नेपालकै सबैभन्दा ठुलो प्रविधि अवार्डका रुपमा रहेको यस विधामा जम्मा २७ ओटा शैक्षिक संस्थाको नोमिनेसन भएको थियो । विभिन्न क्षेत्रका १४ जना विज्ञहरुको जुरी समूहले विभिन्न आधारमा थुप्रै चरणमा गरेको मूल्याङ्कनका आधारमा उक्त अवार्ड घोषणा गरिएको हो । यही पुस ११ गते होटल सोल्टी क्राउन प्लाजामा आयोजित पाँचौँ संस्करणको उक्त अवार्ड घोषणा कार्यक्रममा अनलाइन शिक्षामा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरुप बूढानीलकण्ठ स्कुललाई उक्त अवार्ड प्रदान गरिएको हो ।
कोभिड १९ को महामारीका कारण सिर्जित बन्दाबन्दीको समयमा २०७७ वैशाख महिनाको आरम्भदेखि नै अनलाइन कक्षा सञ्चालन गरेको बुढानिलकण्ठ स्कुलले नेपाल टेलिकमसँगको सहकार्यमा प्रविधिका क्षेत्रमा आमूल परिवर्तन गरी विद्यालयलाई प्रविधिमैत्री बनाएको छ । स्कुलले विश्वप्रसिद्ध माइक्रोसफ्ट टिम्सको प्रयोग गरी करिब ९८ प्रतिशत विद्यार्थीलाई समेटी सबै विषयका कक्षा सञ्चालन गर्नुका साथै विभिन्न परीक्षासमेत सञ्चालन गरेको छ । नेपालका दूरदराजमा रहेका विद्यार्थीहरुलाई अनलाइन कक्षामा समस्या नआओस् भन्ने उद्देश्यले अभिभावकको साथ, सहयोग तथा नेपाल टेलिकमको सहकार्यमा डाटा प्याकेज प्रदान गरेको छ । प्रविधिको उच्चतम प्रयोग गरी अनलाइन कक्षालाई थप प्रभावकारी बनाउन स्कुलमा कार्यरत प्रत्येक शिक्षकलाई ल्यापटप र पेनट्याब प्रदान गर्नुका साथै स्कुल व्यवस्थापन सफ्टवेयरको पूर्ण रुपमा कार्यान्वयन गरी विद्यार्थीलाई नतिजा तथा मासिक शुल्कका बारेका जानकारी दिने मोबाइल एप्लिकेसनसमेत सञ्चालन गरेको छ ।
स्कुलको प्रयासलाई लिभिङ विथ आइसिटी टिमले उच्च कदर गरेकामा खुसी व्यक्त गर्दै स्कुलका प्रिन्सिपल होमनाथ आचार्यले अवार्डले स्कुल परिवारलाई थप हौसला र जिम्मेवारी प्राप्त भएको बताउनुभयो ।

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई यल्लो प्यगोडा होटलमा १५ प्रतिशत छुट

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यगोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १५% छुट र रु.३,५००.०० मा होटलको कोठा उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले यल्लो प्यगोडा होटलको सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाईल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा होटलको कोठा रु ३,५०० शुल्कमा उपभोग गर्न पाउने तथा अन्य सुविधाहरुमा वास्तविक मुल्यको १५% छुट पाउन सकिने छ । यल्लो प्यगोडा होटलले काठमाण्डांै र पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख श्री अमर राजभण्डारीज्यू र यल्लो प्यगोडा होटलको महाप्रबन्धक श्री अर्जुन केशीज्यूूले हस्ताक्षर गर्नुभयो ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

धान कुट्ने मेशिनको पट्टामा परेर किशोरीको मृत्यु

सप्तरी, अग्निसाईर कृष्णसावरण गाउँपालिका–६ रथवाला बस्ने राजदेव पंडितकी १७ वर्षीया छोरी नोमिका पंडितको आफ्नै धान कुट्ने मिलमा धान कुटिरहेको अवस्थामा मिलको पट्टामा फस्दा आइतबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाटोमा चिप्लिएर लड्दा वृद्धको मृत्यु

पर्वत, महाशिला गाउँपालिका–४ पाखापानी बस्ने ७० वर्षीय नन्द बहादुर दमाई आफ्नै घर नजिकै रहेको स्वाँरी खोल्साको भिरको बाटोबाट चिप्लिएर करिब १ सय ५० मिटर तल खस्दा आइतबार बिहान घट्नास्थलमै मृत्यु भएको छ ।

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ, सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१४ बस्ने ३८ वर्षीय तुलसी महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०६७ असोज १३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ बर्ष कैद सजाय भई फरार रहेका महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका–८ जिल्ला अदालत छेउबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत मोरङमा बुझाइने उक्त कार्यालयले जनाएको छ ।

अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित पक्राउ

बाजुरा,खप्तड छेडेदह गाउँपालिका-२ माटेसाघु बस्ने ७१ वर्षीय सेते कटुवाललाई करिब ८ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ र लिची नामक ३ पेटी अवैध मदिरा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कटुवालको सोही ठाउँस्थित किराना पसलमा प्रहरी चौकी काँडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अवैध सामान सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, नागार्जुन नगरपालिका–१ रानीवन प्रकृति चोक डेरा गरी बस्ने तारा कटवालको कोठामा बिद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा विभिन्न सामान जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कपिलवस्तु, शिवराज नगरपालिका–५ बस्ने श्याम सुबेदीको च्याउ फर्ममा शनिबार दिउँसो आगलागी हुँदा ३ वटा फुसको टनेल, १ हजार २ सय प्याकेट च्याउ, पानी छर्किने फोगर सिस्टम समेत जलेर करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कञ्चनपुर, महाकाली नगरपालिका–१ हल्दुघाटस्थित महाकाली आदर्श मावि दोधारा चाँदनिको स्टोरमा शनिबार दिउँसो आगलागी हुँदा स्टोरमा रहेका विभिन्न फर्निचर जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङ, बुढिगंगा गाउँपालिका–३ स्थित पाईनियर केबुल फ्याक्ट्री टिनको छानोमा विद्युत वाईरिङ सर्ट भई शनिबार राति आगलागी हुँदा टिनको छानो पूर्णरुपमा जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

महोत्तरी, गौशला नगरपालिका–३ ईट्टाटार बस्ने ४५ वर्षीया मैती देवी परियार स्थानीय पच्यांङ खोला नजिक खेतमा शनिबार साँझ मृत अवस्थामा फेला परेकी छन् ।
काठमाडौं, काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी नजिक सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

काठमाडौँ । काठमाडौं, सप्तरी, रौतहट, चितवन, गुल्मी र मोरङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।
काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ स्थित पासिकोट ओरालोमा ना.५ त ६२०८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री नुवाकोट सूर्यगडी नगरपालिका–२ घर भएकी ४६ वर्षीया बाटुली देबी थापा मगरको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मगरलाई ठक्कर दिई ट्याक्टर समेत दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक रामेछाप मन्थली–७ बस्ने २५ वर्षीय लबु खड्काको सोही अस्पतालमा उपचार भईरहेको छ ।


यसैगरी काठमाडौं महानगरपालिका–४ सुकेधारा नजिक गोपिकृष्ण पुलमा बा.२६ प ४०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति धोबी खोलामा खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं कपन बस्ने सिन्धुली दुधौली नगरपालिका-५ घर भएका २७ वर्षीय लोक नारायण श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल भारत अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरी शम्भुनाथ नगरपालिका–८ देवधार पुलस्थित सडकमा स.१ त ९९६६ नम्बरको ट्याक्टर र बा.४३ प ६२४१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार उदयपुर गाईघाट देउरी टोल बस्ने २५ वर्षीय अभिषेक चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि युनिक अस्पताल रुपनीतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यसैगरी सप्तरी बोदेबर्साइन नगरपालिका–९ हैटीमा प्रदेश २–०१–००१ प ७५३३ नम्बरको मोटरसाइकल शनिबार बेलुका दुर्घटना हुँदा मोटरसाइकलमा सवार सप्तरी खडक नगरपालिका-११ बस्ने २२ वर्षीय देबेश चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय लक्ष्मी चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रौतहट देवाही गोनाही नगरपालिका–४ दोहर टोल बस्ने २४ वर्षीय गजाधर राय यादवको आफ्नै ईण्डो फार्म कम्पनीको ना.७ त १७५५ नम्बरको ट्याक्टरको ट्रलीले च्यापेर शनिबार साँझ मृत्यु भएको छ । ट्रली मर्मत गर्ने क्रममा ट्याक्टर ट्रली खसेर ट्याक्टर चालक यादवलाई किच्दा गम्भीर घाइते भएका उनको शुकदेवचोकको शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मृतकका दाई ३० वर्षीय शेठ राय यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।
चितवन राप्ती नगरपालिका–५ भण्डारा चोकमा ना.१ त ७६७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिएर शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार खैरहनी नगरपालिका–१० बस्ने ४५ वर्षीय महारी महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटैमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मी रेसुङगा नगरपालिका–१३ मसिनो खोलास्थित सडकमा ना.५ ख ३२०४ नम्बरको ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय टोपबहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेल रहेका छन् । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


मोरङ पथरीशनिश्चरे नगरपालिका–१० सिबिरडाँडास्थित सडकमा को.२ त ५५८१ नम्बरको ट्याक्टरले मे.११ प ३४३५ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक रतुवामाई नगरपालिका–१० बस्ने ५२ वर्षीय सन्तबहादुर आले मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोवल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–५ बस्ने ४५ वर्षीय शुक्ल मुर्मुको पथरी अस्पताल पथरीमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

एकनाले भरुवा बन्दुक सहित पक्राउ

तनहुँ, घिरिङ गाउँपालिका–३ न्युपानेबाट १ थान एकनाले भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने ५० वर्षीय रोम बहादुर थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सिलिङ सहितको एकनाले भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले फेला पारी थापालाई पक्राउ गरेको हो ।