‘नागरिक सेवालाई प्रहरीले सर्वोपरी ठान्नुपर्छ’

प्रदेश नं २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले नागरिक सेवालाई प्रहरीले सर्वोपरी ठान्नुपर्ने बताएका छन्। प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर सम्पर्क कार्यालय, राजविराजमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिमको आज राजविराजमा आयोजित दीक्षान्त समारोहमा सम्बोधन गर्र्दै उनले भने समाजले खोजेको असल पात्रका रुपमा प्रहरीले सेवा गर्नुपर्नेमा जोड दिएका हुन् ।

सो अवसरमा उनले विभिन्न विधामा उत्कृष्ठ प्रशिक्षार्थीलाई पुरस्कार तथा दज्र्यानी चिन्ह प्रदान गरेका थिए । गत मङ्सिर ३ गतेबाट सञ्चालित उक्त तालिममा २०३ सहभागी भएकामा नौ प्रशिक्षार्थीको तालिम रद्द भएको थियो । तालिममा ५४ ‘क’ श्रेणीमा र १४० ‘ख’ श्रेणीमा उत्तीर्ण भएका जानकारी दिइएको थियो ।

समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले प्रशिक्षार्थीलाई शपथ ग्रहण गराएका हुन् । प्रहरीलाई व्यावसायिक एवं प्रभावकारी ढङ्गबाट कर्तव्य निर्वाह गर्न आवश्यकपर्ने ज्ञान, सीप र कला प्रदान गर्न प्रशिक्षार्थीलाई २३४ कार्यदिन तालिम प्रदान गरिएको थियो ।

माग बढ्यो स्याउको

जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ । किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न सुरु भइसकेको जानकारी दिए । जिल्लाका स्याउ बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयले सूचना जारी गरी निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो । कृषिफर्म सञ्चालन गरेका तथा स्याउ बगैँचा भएका किसानले आफ्नो स्याउ बिक्रीका लागि सम्बन्धित स्थानीय तहबाट सिफारिस लिनुपर्ने प्रावधान छ । स्याउको पहिचान बचाउन लोगो टाँसिएको कार्टुन व्यापारीलाई उपलब्ध गराइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यान्वयन एकाइले जनाएको छ ।

स्याउ निर्यात खुला गरिएपछि अहिलेसम्म दुई हजार टनभन्दा बढी बाहिरी जिल्लामा निर्यात भइसकेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिएका छन्। यहाँ उत्पादित स्याउ ए‚ बी र सी ग्रेडमा छुट्याइएको छ यी मध्ये ए र बी ग्रेडको स्याउ निर्यात गरिएको छ । सी ग्रेडको स्याउ प्रशोधन केन्द्रमा बिक्रीका लागि दिइने गरिएको कार्यालयले जनाएको छ

स्याउ बजारमा पठाउन यस वर्ष ३१ हजार आठ सयव कार्टुन वितरण गरिएको छ । स्याउ सुपोरजन कार्यालयले १० हजार आठ सय र कृषि विकास कार्यालयले २१ हजार वितरण गरेको हो ।

स्याउ जिल्लाबाहिर निर्यात गर्न सहज होस् भनी ५० प्रतिशत अनुदानमा किसानलाई कार्टुन उपलब्ध गराइएको हो । कार्यालयमा पाँच सय १६ उद्योगी, कृषिफर्म तथा सहकारी कृषक समूह सूचीकृत छन् ।

जिल्लामा १५ हजार स्याउ बगैँचा भएको तथ्याङ्क छ । जिल्लाको कूल १८ हजार घरधुरीमध्ये करिब १५ हजार घरमा स्याउ बगैँचा स्थापना रहेको कार्यालयले जनाएको छ ।जिल्लाको तीन हजार आठ सय हेक्टरमा स्याउ खेती हुन्छ । यस वर्ष व्यापारीले बगैँचामा नै पुगेर प्रतिकिलो रु ५० देखि ६० मा स्याउ खरिद गर्दै आएका छन् । गत वर्ष करिब रु १२ करोड बराबरको स्याउ बिक्री भएको थियो ।

किसानलाई कृषि औजार

यसैबीच पातारासी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले किसानलाई कृषि औजार वितरण गरेको छ । सो गाउँपालिका २४ किसानलाई किर्डाक नेपालले औजार वितरण गरेको हो ।

ती सामग्रीमा सिल्पोलिन,फरुवा र हजारी, त्रिपाल एकएक थान, गार्डेन पाइप दुई रोल, प्लाष्टिक केरेट तीन थान र नाइलन डोरी चार केजी रहेका छन् । एक किसानलाई रु १४ हजार ६ सय ४१ बराबरको औजार वितरण गरिएको सस्थाका कार्यक्रम अधिकृत धिरनाथ योगीले बताएबा हुन् । औजार पाएपछि स्थानीयवासी खुसी छन् । स्थानीयवासी तुलराम बोहोराले औजारबाट तरकारी खेती गर्नका लागि सहज हुने भएको जानकारी दिएका छन् ।

खुल्न थाले विद्यालय

कोरोना सङ्क्रमण दर न्यून भएसँगै यहाँका विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका हुन् । कक्षागत रुपमा बार छुट्ट्याएर बालबालिकालाई पढाउन थालिएको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारीले बताएका छन् ।“बालबालिकालाई कहिलेसम्म पढाइबाट वञ्चित गर्ने ”, उनले भने, “महामारीको जोखिम कम भएका ठाउँमा विद्यालय खुलेका छन् ।”नेपाल माविमा पूर्वप्राथमिकदेखि कक्षा ५ सम्म आइतबार, मङ्गलबार, बिहीबार ६ देखि ९ सम्मको कक्षा सोमबार, बुधबार, शुक्रबार र कक्षा १० आइतबारदेखि शुक्रबारसम्म सञ्चालन भइरहेको छ ।

सानो उमेरका बालबालिकाका लागि अनलाइन कक्षा प्रभावकारी नभइरहेका बेला गाउँका विद्यालयले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै प्रत्यक्ष सिकाइविधि अपनाएका हुन् । दुर्गममा इन्टेरनेटको सहज पहुँच नहुँदा अनलाइन कक्षा सञ्चालनमा चुनौती छ ।

केही समय विद्यार्थीका घरघरमा पुगेर टोल शिक्षामार्फत सिकाइ सहजीकरण गरिए पनि त्यसलाई निरन्तरता दिन व्यवस्थापकीय कठिनाइ भएको प्रअ अधिकारीको भनाइ छ । कक्षाकोठाभित्र भौतिक दुरी कायम गर्ने, अनिवार्य मास्क लगाउने कुरामा भने कडाइ गरिएको उनले बताएका छन् । गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कोरोना सङ्क्रमणको अवस्था हेरेर जोखिम नभएका ठाउँमा विद्यालय खोल्ने निर्णय गरिएको बताएका छन् ।

“सङ्क्रमण बढेको स्थितिमा त खोल्ने कुरा भएन, जोखिम नभएका ठाउँमा जनस्वास्थ्यका मापदण्डपालना गरेर विद्यालय चलाउनुपर्छ”, उनले भने । शिक्षकले कोरोना विरुद्धको खोप लगाएका कारण पनि प्रत्यक्ष सिकाइ सहजीकरणका लागि केही सजिलो भएको अध्यक्ष घर्तीले बताए। गाउँपालिकाका अन्य विद्यालयले पनि स्थानीय अनुकूलता हेरेर विद्यालयमै प्रत्यक्ष पठनपाठनको प्रबन्ध मिलाएका छन् । कतिपयले तल्लो कक्षाका बालबालिकालाई भौतिक उपस्थितिमा र माथिल्लो तहकालाई अनलाइनमार्फत पढाइरहेका छन् ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले भने अझैपनि विद्यालय सञ्चालनमा रोक लगाइरहेको छ । वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन भनिए पनि गाउँका विद्यालयमा त्यो सम्भव हुन सकिरहेको छैन ।

बालबालिकाको पढाइ बिग्रने र शैक्षिक सत्र नै प्रभावित हुने देखिएपछि विद्यालय खोल्ने निर्णयमा स्थानीय तह पुगेका हुन् । तमानखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले सुरक्षा अपनाएर विद्यालय खोल्ने विषयमा योजना बनिरहेको बताएका छन् ।

वैकल्पिक सिकाइ सहजीकरणलाई पनि प्रभावकारी बनाउन गाउँपालिकाले पहल थालेको उनको भनाइ छ । “सिकाइबाट बालबालिका वञ्चित नहुन भन्नेमा हामी सचेत छौँ, विस्तारै अब विद्यालय पनि खोल्नुपर्छ”, प्रमुख घर्तीले बता्रएका छन्। यहाँका अन्य स्थानीय तह पनि विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुस्मराज उपाध्यायले महामारीको प्रकोप नभएको ठाउँमा पालो बाँडेर कक्षा चलाउनुपर्ने बताए ।

कोरोनाको पहिलो लहर थामिएपछि केही समय खुलेका विद्यालय पुनः दोस्रो लहर भित्रिएसँगै गत वैशाखदेखि बन्द छन् । केही दिनयता यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा छ । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमित जम्मा १७३ छन् जसमध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ८४ सङ्क्रमित छन् भने तमानखोलामा सङ्क्रमण शून्य छ ।

सत्र महिनापछि सीमानाकाबाट आवतजावत

महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन भएको छ । कोभिड–१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ ।

गत शुक्रबार, शनिबार र आइतबार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करिब सय जनाले सीमानाकामा धर्ना बसेपछि सो नाका भएर सोमबारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताएका छन् ।

सो नाकाबाट मालवाहक ट्रक, टिप्परलगायत साधनहरु बन्दाबन्दीको बेला पनि निर्बाध रुपमा आवातजावत गरेका थिए । तर पैदल यात्रुलाई भने रोकिएको थियो । भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरु पाँच सय मिटर टाढा वन र खोल्सीको बाटो हुँदै नेपाल–भारत आउजाउ गरिरहेका थिए । मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुसी भएका छन् । सो नाकाबाट पैदल आवागमन सुरु भए पनि सवारी साधन अझै सञ्चालन भएको छैन । मालवाहक गाडीहरु पहिलेझैँ आउजाउ गरिरहेका छन् ।

पानीको बहावमा उतारचढाव

सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो । आज विहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई लाख १४ हजार ७४५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् ।
बिहान ६ बजे गरिएको मापनमा दुई लाख ११ हजार २२५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव थियो । पछिल्लो समय वर्षा रोकिए पनि बहाव घटबढ हुने क्रम जारी रहेकाले अहिले ब्यारेजका २८ ढोका खुल्ला गरिएको उहाँको भनाइ थियो ।
आइतबार साझ सप्तकोशीमा यस बर्षकै सबैभन्दा बढी पानीको बहाव मापन गरिएको थियो । त्यसबेला बहाव दुई लाख ७४ हजार पाँच क्यूसेक प्रतिसेकेण्ड पुगेकाले ब्यारेजका ३८ ढोका खुल्ला गरिएको थियो ।

कोभिडको अवस्था हेरी विद्यालय खुलाइने

जिल्ला कोभिड व्यवस्था केन्द्र डिसीएमसीले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ । सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताएका छन् । उनले भने कोभिड संक्रमण कम हुँदै गइरहेको र सबैतिरबाट विद्यालय खुलाउनु पर्ने माग आएकाले केन्द्रको बैठकले विद्यालय खुलाउन दिने निर्णय गरेको बताए ।
जिल्लाका सातवटै गाउँपालिकालाई विद्यालय सञ्चालनका लागि निर्देशन दिने र अवस्था हेरी गाउँपालिकाले विद्यालय सञ्चालनको लागि सहज गराउने छ । गाउँपालिकाले विद्यालय खुलाउँदा अवस्था हेरी स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गराउनाका साथै त्यसैअनुरुपको वातावरणका तयार गरेर मात्र विद्यालय सञ्चालन गराउनुपर्ने कोभिड १९ व्यवस्थापन केन्द्रका संयोजक आचार्यले बताएका हुन् ।
ती गाउँपालिकामा १३७ सामुदायिक विद्यालयका साथै केही निजी विद्यालय पनि छन् । यसअघि ताँजाकोट गाउँपालिकाका सबै बिद्यालय र नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका दुई गाउँमा भने कोरोनाको जोखिममा पनि विद्यालयहरु सञ्चालन हुँदै आएका थिए ।

बाढीले पाइप बगाउँदा पानीको हाहाकार

अविरल वर्षापछि आएको बाढी र पहिराले खानेपानीको पाइप बगाउँदा नवलपरासी बर्दघाट–सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ । पहिराका कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले खानेपानीको समस्या भएको हो ।

देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेकबहादुर पुलामीले बाढी तथा पहिराले खानेपानीको मुख्य मूल गिरुबारी खोला, बेतही खोला, सोती खोला र पत्थर खोलाको मुहानमा २० भन्दा धेरै ठाउँमा पहिराले असर पु¥याउँदा खानेपानीको समस्या भएको बताएका छन् । “पहिराले खानेपानीको मुहानमा असर पु¥याएको छ”, पुलामीले भने, “बाढीले खानेपानीको मुहान बितही खोला, पत्थर खोला र झ्यालबासमा गरी करिब दुई किलोमिटर पाइप नै बगाएको छ ।” अहिले खानेपानी वितरण पूर्णरूपमा बन्द भएको भन्दै अध्यक्ष पुलामीले विकल्पमा तीन वटा ट्याङ्करबाट पानी ल्याएर वितरण गरिएको भए पनि पर्याप्त हुन नसकेको बताएका छन् ।

पानीको आपूर्ति पूर्णरुपमा बन्द भएपछि गाउँपालिकाको विभिन्न वडामा तीन हजार घरधूरीका १५ हजार जनसङ्ख्या प्रत्यक्ष प्रभावित भएको पुलामीले बताएका हुन् । मौसममा सुधार नआएसम्म खानेपानी वितरण सहज बनाउन नसकिने उनको भनाइ छ । विगतमा खानेपानीको पाइपलाइन विस्तार नहुँदा स्थानीयले खोला तथा चुवाडी मूल निस्किएको ठाउँ को पानी प्रयोग गर्ने गरेका भए पनि बिहीबार आएको बाढीपहिराले चुवाडीको पानी प्रयोग गर्न नमिल्ने गरी क्षति पुगेको स्थानीयको भनाइ छ ।

हुनेखाने र बजार नजिक घर हुनेले बजारमा गएर बोतल तथा जारको पानी किनेर प्रयोग गर्ने गरेका उल्लेख गर्दै स्थानीय ओमबहादुर फाल मगरले आर्थिक अवस्था कमजोर हुने आकाशको पानी जम्मा गरेर खान बाध्य भएको बताउनुभयो । असारमा आएको बाढीले पानी वितरण गरिएको पाइमा क्षति पु¥याउँदा नियमित हुन नसकेको खानेपानी आपूर्ति भदौ १० गते आएको बाढीपहिराका कारण पूर्णरूपमा अवरुद्ध भएको मगरको भनाइ छ ।

एक वर्षमा सातौँ मेडिकल सुपरिटेण्डेण्ट

भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट मेसु फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् ।

एक वर्षको अवधिमा प्राडा कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाएका थिए। हाल अस्पतालमा कार्यरत डा रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिएका छन् । अधिकारी अध्यक्ष भएयताको सातौँ मेसु पौडेल भएका छन्।

विसं २०७७ भदौ २८ गते डा श्रीराम तिवारी सरुवालाई सरुवा गरेर डा राजन पाण्डेलाई मेसु बनाइएको थियो । पाण्डे दुुई महिनापछि मङ्सिर ८ गते सरुवा भएसँगै डा जगन्नाथ तिवारी मेसु भएका हुन् । त्यसको तीन महिनापछि डा वासुदेव पाण्डेलाई मेसु बनाइएको थियो । गत वैशाख ४ गते पाण्डे निवृत्त भएपछि पुनः डा जगन्नाथ तिवारीलाई मेसु बनाइएको थियो ।

झण्डै दुुई महिनापछि जेठ १३ गते डा रोशन न्यौपानेलाई मेसु बनाइएकोमा तीन महिनामा उनलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको हो । सरकारले आइतबार प्रा डा पौडेललाई भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेको हो । मेसु अस्थिर हुुँदा अस्पतालको गुणस्तर र सुविधा खस्किँदै गएको छ । अध्यक्ष अधिकारीले विकास समितिले गरेका निर्णय मेसु अस्थिर हुँदा कार्यान्वयन हुन नसकेको बताएका छन् । यसपटक मेसु भइसकेका स्थानीय व्यक्तिले जिम्मेवारी पाएकाले लामो समय काम गर्ने अवसर प्राप्त हुने र विकास समितिले गरेका निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको अधिकारीको भनाइ छ ।

यो सङ्घीय अस्पताल हो । छ सय शै्ययाको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । पटकपटक कार्यकारी प्रमुख परिवर्तन हुँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । हरेक विभागमा बिरामीले पाउनुपर्ने सेवा पाउन सकेका छैनन् ।

घरमा आगलागी हुँदा दुईको मृत्यु

सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ सेग्ले सिमपानामा एक घर आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताएका छन् ।

उनले भने, “आगलागीका कारण यही हो भन्न नसकिएपनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०र१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर आएको थिए ।”

ढुङ्गामाटाको गाह्यो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर सबै जलेर नष्ट भएको छ । घरभित्र रहेको केही पनि सामान नकाल्न नभ्याएको प्रहरीले जनाएको छ । त्यहाँका घरहरू पनि टाढाटाढा छन् ।

प्रहरीलाई ढिलो खबर भएको र ढिलो पुगेकाले घटना घटी सकेको प्रहरीले जनाएको छ । के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भइ नसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ । पेशाले धर्मराज पूर्वगोरखा सैनिक रहेको र छोराछोरी कोही नभएको स्थानीयको भनाइ छ ।

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौं । प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीले अश्लील फोटोहरू सामाजिक सञ्जालमा फैलाएर प्रचार गर्ने एक महिलालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले सोलुखुम्बु जिल्ला, नेचा–सल्यान गाउँपालिका वडा नं. १ स्थायी घर भई कपन बस्ने वर्ष ३६ वर्षीय इन्दिरा निरौलालाई बुधार विहान पक्राउ गरी साइबर ब्यूरो भोटाहिटीलाई बुझाएको हो ।

एक पीडित महिलाको चरित्रहत्या गर्ने उदेश्यले व्यक्तिगत तस्बिरहरु साथै आपत्तिजनक म्यासेजलाई विभिन्न व्यक्तिको भाइबर, फेसबुक म्यासेन्जर लगायतका सामाजिक सञ्जालमा पठाई साइबर अपराध गरेको भनी प्रहरी कार्यालयमा उजुरी परको थियो ।

नेपाली कांग्रेस सिन्धुली जिल्ला कार्यसमिति सदस्य एवं विभिन्न संघसस्थामा संलग्न समेत रहेकी निरौला उजुरी पश्चात फरार रहेकी थिइन् । प्रहरीको खोजी सूचिमा रहेकी निजलाई ठाँउ बदल्दै भागी हिड्ने क्रममा प्रहरीले कपनबाट पक्राउ गरेको हो ।

निज निरौलालाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार आजै काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको साइबार ब्यूरो भोटाहिटीले जानकारी दिएको छ।

दुई हजार २९५ जनामा सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा दुई हजार २९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोह्र हजार २३३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा एक हजार ८०८ जना सङ्क्रमण मुक्त भएका छन् । आज कोरोना सङ्क्रमणबाट १६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ८७४ छ । होम आइसोलेशनमा ३३ हजार ३३३, आइसीयूमा ५६८ र भेन्टिलेटरमा १६० जना रहेका छन् ।

नेपालमा हालसम्म सात लाख ६१ हजार १२४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये सात लाख १४ हजार ५२० जना निको भइसकेका छन् । पछिल्ला तीन दिनमा पाँच लाख ९७ हजार ५९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

गौरा पर्वमा भिडभाड नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय डोटीले गौरा पर्वमा जिल्लाभरिमा कुनै पनि ठाउँमा भिडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा आइतबार भित्र्याइएकाले कोरोना जोखिमलाई मध्यनजर गर्दै भिडभाड नगर्न तथा ठूलो सङ्ख्यामा जमघट नहुँन आग्रह गरेको हो ।

जिल्लामा कोरोना जोखिम कायमै रहेको र गौरा तथा तीज पर्व नजिकिएकाले भिडभाड नगर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताएका छन् । उनले भने, “गौरा र तीजमा सामान्य पूजाआजाबाहेक अन्य भिडभाड हुने खालका कुनै पनि काम नगर्न आग्रह गरेका छौँ, अटेर गर्नेलाई कानूनबमोजिम कारवाही हुने छ ।” गौरा पर्वको समयमा यहाँका ग्रामीण क्षेत्रमा देउडा खेल्ने तथा मानिसको बाक्लो सहभागिता हुने भएकाले ती क्षेत्रमा हुने भिडभाडलाई कम गराउन सम्बन्धित प्रहरीलाई पनि निर्देशन जारी गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सहरी खानेपानी आयोजना निर्माणमा ढिलाइ

जयपृथ्वी नगरपालिका भोपुरका महादेव जोशीले चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई खानेपानीका लागि पैसा तिरेको तीन वर्ष हुन थाल्यो ।

उनले भने, “मसँग पैसा थिएन । छोरीले बुझेको तलबबाट भए पनि धारा जडानका लागि रु १० हजार तिरे । अहिलेसम्म धारामा पानी आएको छैन् । कहिले आउँछ थाहा छैन ।”

त्यस्तै जयपृथ्वी नगरपालिका–९ देवलकी टिटा मगर धामीले पनि रु १० हजार तिरेको करिब चार वर्ष जति हुन लाग्यो । उहाँहरु मात्रै नभएर गाउँका धेरै मानिसले पैसा तिरेको धेरै भयो । पानी आएको छैन् । सेतो पाइप मात्र बिछ्याएको छ । यसतर्फ ध्यान सो समिति गएको छैन ।

सन् २०१९ अप्रिल ७ देखि काम गर्ने जिम्मा पाएको आशिष जेभी ग्वाँल्लेक निर्माण सेवाले जयपृथ्वी–११ भोपुरमा काम सुरुआत गर्ने गरी सहरी खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रीय कार्यालय नेपालगञ्जसँग रु २२ करोड ९२ लाख सम्झौता गरेको थियो । करिब १८ महिनाभित्र काम सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । हालसम्म ७५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । भारत र चीनबाट समेत सामान ल्याउनुपर्ने भएकाले र लकडाउनका कारणलेसमेत काममा ढिलाइ भएको जेभी कन्टक्सनका परामर्शदाता मकरबहादुर स्वाँरले बताए ।

अगामी दशैँभित्र समुदायस्तरमा पानी वितरण गर्ने तरिकालेसमेत काम भइरहेको जनाइएको छ । चैनपुरका लागि चार लाख ५० हजार लिटर, भोपुर बस्तीका लागि ५० हजार लिटर, देवल रिठापाठाका लागि एक लाख लिटर पानी वितरण गरिने समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए । उनका भनाई अनुसार सो क्षेत्रका करिब एकहजार १६५ घरधुरीलाई पानी उपलब्ध गराइने छ । उनले भने, “आयोजना निर्माणस्थलमा सेती नदीमा आएको बाढीका कारणले आयोजना निर्माणमा ढिलाइ हुनगएको हो ।”

परियोजना निर्माणका लागि एशियन डेभलपमेन्ट बैंक र नेपाल सरकारको ७० प्रतिशत र नगरविकास कोष र उपभोक्ताको ३० प्रतिशत छ । नगरपालिकाले पनि म्याचिङस्वरुप रु ४५ लाख सहयोग गरेको छ । सुरुका अवस्थामा पनि सेती नदीको छालमा आयोजना बनाउनु नै गलत भएको तथा अहिले नदीको बाढीका कारणले निर्माणमा समेत ढिलाइ गरेको नगर उपप्रम्रख जुना जाग्रीले बताए।

आफूले आयोजनाको निर्माणकार्य सुरु हुनअघि नै सेती नदीको छालमा नबनाउन आग्रह गरे पनि कसैले आफ्नो कुरा नसुनेको उनको भनाइ छ ।

कोभिडका करण ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ ।

कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकका पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले नराम्ररी क्षति बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ । मुलुकका हवाई क्षेत्रको नियामका निकायहरु प्राधिकरणले महामारी अवधिका दुई आर्थिक वर्षमा ४३ र ७२ प्रतिशत आम्दानी घटेको जनाएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रगति विवरणमा महामारीका कारण प्राधिकरणको आव २०७६÷०७७ को प्रक्षेपित आम्दानी रु १० अर्ब ५४ करोड ४१ लाखभन्दा उक्त आवमा ४३ प्रतिशत र आव २०७७÷०७८ मा ७२ प्रतिशत न्यून हुन पुगेको छ ।

विसं २०७६ फागुनदेखि विश्वमा देखापरको कोरोनाको महामारीका कारण यसबाट प्राधिकरणको स्रोतबाट सञ्चालन हुने योजना तथा कार्यक्रम २०७७÷०७८ मा समेत प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

नेपाल सरकारको शेयर लगानी तथा दातृ निकायको ऋण सहयोगमा सञ्चालित विमानस्थल पूर्वाधार विकाससँग सम्बन्धित आयोजनामा पनि पटकपटकको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण काममा अवरोध उत्पन्न भई सम्पन्न हुने चरणमा रहेका आयोजना पछाडि धकेलिन पुगेको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड कहरको नराम्रो असर हवाई यातायात क्षेत्रले बेहोरेको छ । अन्तर्राष्ट्रियतर्फ अघिल्लो वर्षको तुलनामा ७३ दशमलव २७ प्रतिशतले हवाई यात्रु घटेका छन् । प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार सन् २०१९ मा अन्तर्राष्ट्रिय उडानतर्फ हवाई यात्रु सङ्ख्या ४१ लाख ३८ हजार ५६३ रहेको थियो भने सन् २०२० मा यो सङ्ख्या ७३।२७ प्रतिशतले घट्न गई ११ लाख पाँच हजार ९२९ कायम हुन पुगेको छ ।

त्यसैगरी आन्तरिक उडानतर्फ पनि अघिल्लो वर्षको तुलनामा ५९ दशमलव ४६ प्रतिशतले घटेको छ । सन् २०१९ मा ३१ लाख ८८ हजार ४२९ हवाई यात्रु आवागमन भएकामा सन् २०२० मा यो सङ्ख्या ५९।४६ प्रतिशतले घटेर १२ लाख ९२ हजार ५२१ कायम भएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको हुँदा उक्त वर्ष उल्लेखनीय सङ्ख्यामा विदेशी यात्रुको आगमन हुने अपेक्षा गरिएकामा कोभिडका कारण हवाई तथा पर्यटन क्षेत्र धराशायी जस्तै हुन पुगेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ तीन नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी ३० वटा वायुसेवाले १५ मुलुकको ३२ गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । यस्तै आन्तरिक उडानतर्फ नौ वायुसेवा र १० हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन् ।

नेपालमा विमानस्थलको कूल सङ्ख्या ५४ रहेको छ जसमा ३७ वटा विमानस्थलको धावनमार्ग पक्की रहेको छ । यसमध्ये ३५ वटा विमानस्थल सञ्चालनमा रहेका छन् भने १९ वटा विमानस्थल सञ्चालनमा छैनन् । हाल मुलुकमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । थप दुई अन्तर्राष्ट्रिय विमानस्थल क्रमशः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा विकास गर्ने योजनाअनुरुप अन्तर्राष्ट्रिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवनको पुनःनिर्माण रेनोभेसन सम्बन्धी कार्य सम्पन्न भएको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ ।

किरणखोलामा पुल नहुँदा सास्ती

बाँकेको पसरपुर–गौघाट सडकमा पर्ने किरणखोलामा पुल नहुँदा आवागमनमा कठिनाइ भएको छ । खजुरा गाउँपालिका–२ सीतापुरस्थित किरणखोलाको पुल वर्षाको मुखमा भत्काइएको थियो । नयाँ पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनीले छ महिना अघि गत चैतमा पुल भत्काए पनि हालसम्म काम शुरु हुन सकेको छैन ।

आवागमनको वैकल्पिक व्यवस्था नगरी पुल भत्काएका कारण वर्षामा खजुरा, सीतापुर र राधापुर क्षेत्रका सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । किरण खोलामा सर्वसाधारणले काम चलाउ काठको पुल बनाएर जोखिमपूर्ण रुपमा आवागमन गर्ने गरेको राधापुर निवासी भीम वलीले बताएका छन् ।

उनका भनाई अनुसार, पुल भत्काइएपछि छ महिनादेखि सवारीसाधन आवागमन ठप्प भएको छ । सदरमुकाम नेपालगञ्ज आउन सर्वसाधारणले बनाएको काठको काम चलाउ पुल खोलामा आउने बाढीले बेला बेलामा बगाउँदा आवतजावत् पूर्णरुपमा ठप्प हुने गरेको छ ।

वर्षाको समयमा पुल नहुँदा सर्वसाधारणले ठूलो सास्ती व्यहोर्नुपरेको खजुरा गाउँपालिका–२ निवासी स्थानीय अगुवा गेहेन्द्र धितालको भनाइ छ । किरणखोलामा पुल नभएका कारण सदरमुकाम नेपालगञ्ज आउन अहिले जानकी गाउँपालिकाको बेलभार हुँदै वैकल्पिक लामो बाटो प्रयोग गर्नुपरेको उनले जानकारी दिएका छन् ।

पुल निर्माणको जिम्मा पाएको गाल्भा सिद्धार्थ दर्शन जेभीले भएको पुल भत्काए पनि नयाँ पुल निर्माणको थालनी गरेको छैन । निर्माण गर्ने समयावधि रहेको भन्दै निर्माण कम्पनीले पुल निर्माणको काम नै शुरु गरेको छैन । वैकल्पिक व्यवस्था नगरी वर्षाको समयमा पुल भत्काएर निर्माण कार्य थालनी नगर्नु निर्माण कम्पनीको लापर्वाही भएको धितालको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारसँग उक्त पुल निर्माणका लागि निर्माण कम्पनीले रु पाँच करोड ८५ लाख ७५ हजार ५३३ मा ठेक्का सम्झौता गरेको छ । गत फागुन १९ गते सम्झौता गरेको कम्पनीले २०७९ असार २५ गते पुल निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख होमबहादुर केसीले बताएका छन् ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले परसपुर–गौघाट सडक विस्तारसँगै किरणनालाको पुल पनि विस्तार गर्न थालिएको बताएका छन् । नयाँ बनाउनको लागि पुल भत्काइएकाले वर्षाको समयमा स्थानीयवासीले दुःख व्यहोर्नु परेको उल्लेख गर्दै अध्यक्ष कक्षपतिले आवागमनको लागि वैकल्पिक व्यवस्था गरी निर्माण कार्य छिटै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको जानकारी दिएका छन् ।