प्रथम श्रेणी सहसचिवको नतिजा सार्वजनिक

प्रथम श्रेणी सहसचिवको नतिजा सार्वजनिक

काठमाडौँ-प्रथम श्रेणी (सहसचिव) को लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)को परीक्षाको नतिजा सार्वजनिक गरेको हाे।

आयोगले २०७८ मङ्सिर ४ देखि ७ गतेसम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, लेखा परीक्षण र न्यायतर्फको नतिजा सार्वजनिक गरेको हो ।

प्रथम श्रेणी सहसचिवको नतिजा सार्वजनिक

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक काठमाडौँमा

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक काठमाडौँमा

काठमाडौं-नेपाल-भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’(जेएससी) को बैठक बस्ने भएको छ ।

२ वर्षदेखि हुन नसकेको बैठक भोलि बुधबारदेखि काठमाडौंको होटल हायातमा हुने भएको हो ।

भारतले बैठकमा ‘जलविद्युत आयोजनामा संयुक्त लगानीरविकास’बारे छलफल गर्न चाहेको छ ।

दुई दिनसम्म चल्नेछ यस बैठक २०७६ असोजको अन्तिम साता भारतको बैंग्लोरमा बसेपछि बैठक बसेको थिएन ।

नेपालले बैठक बोलाउन पटक(पटक भारतलाई आग्रह गर्दै आएपनि भारतले कोरोनाको महामारीको कारण देखाएर अलमल गर्दै आएको थियो ।

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक काठमाडौँमा

पूर्वाधार निर्माणमा सफल हुँदै मधेश प्रदेश

पूर्वाधार निर्माणमा सफल हुँदै मधेश प्रदेश

जनकपुर-केही वर्षअघिसम्म पूर्वाधार विकासमा पछाडी परेको मधेस प्रदेशमा पछिल्लो समय तीव्र गतिमा पूर्वाधार निर्माण भएका छन् ।

भौतिक पूर्वाधारको विस्तारसँगै प्रदेशवासी पनि खुसी भएका छन् ।

प्रदेश सरकार गठन भएको चार वर्षको अवधिमा मधेश प्रदेशले सडक विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचना, विद्यालय, स्वास्थ्य सेवा, कृषि, सिँचाइलगायत पूर्वाधार निर्माणको क्षेत्रमा ठूलो फड्को मारेको हो ।

सो अवधिमा प्रदेशको आठवटै जिल्लामा एक हजार ६२३ किलोमिटर सडक विस्तार भएको जनाइएको छ ।

प्रादेशिक भौतिक पूर्वाधार मन्त्रालयका अनुसार प्रदेशभर २२४ किलोमिटर सडक कालोपत्र, २३७ किलोमिटर सडक ढलान, ९३७ किलोमिटर सडक ग्राभेल र २२५ किलोमिटर कच्ची सडक निर्माण गरिएको थियो ।

सडक निर्माण भएसँगै सवारीसधान सञ्चालनमा सहज भएको भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले बताउनुभयो ।

सोही अवधिमा ३२ पुल र २९२ कल्भर्ट निर्माण गरी सञ्चालनमा ल्याइसकेको उहाँले जानकारी दिनुभयो ।

‘‘हामीले सडक, खानेपानी, सिँचाइलगायत पूर्वाधार निर्माणलाई तीव्रता दिएका छाँैं”, मन्त्री यादवले भन्नुभयो,‘‘सडक र पुल निर्माणलाई तीव्रता दिएसँगै यातायातका साधन सञ्चालनमा सहज भएको छ ।”

केही वर्षभित्रै प्रदेशका अधिकांश सडक कालोपत्र गरिसक्ने लक्ष्य लिइएको उहाँको भनाइ थियो ।

सरकारको नीति तथा कार्यक्रममा रहेका झोलुङ्गे पुलमध्ये तीनवटा निर्माण भइसकेको र बाँकी सात निर्माणको चरणमा रहेको जनाइएको छ ।

आठवटै जिल्लाका विभिन्न स्थानमा जनता आवास कार्यक्रममार्फत नौ हजार ४५ जनता आवास भवन, नौ सरकारी भवन तथा ९७ सामुदायिक भवन निर्माण गरिएको थियो ।

केही दिनअघि प्रदेश सरकारले सार्वजनिक गरेको चारवर्षे उपलब्धि प्रतिवेदनमा सिँचाइतर्फ २४ हेडबक्स, १७४ किलोमिटर कच्ची नहर, २९ किलोमिटर पक्की नहर र ७८ किलोमिटर तटबन्ध निर्माण गरिएको उल्लेख छ ।

उक्त मन्त्रालयका अनुसार सो अवधिमा तटबन्ध निर्माण गरी प्रदेशभर आठ हजार ७४ हेक्टर खेतीयोग्य जग्गा संरक्षण गर्नाका साथै ५३ किलोमिटर बस्ती संरक्षण र २६ किलोमिटर घाट निर्माण गरिएको मन्त्रालयका सचिव दीपककुमार दासले जानकारी दिनुभयो ।

यसबाहेक प्रदेशको ६४ वटै निर्वाचन क्षेत्रमा पाँच किलोमिटर सडक कालोपत्र गर्नका लागि बोलपत्र आह्वान भईसकेको उहाँको भनाइ थियो ।

शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई उच्च प्राथमिततामा राखेको प्रदेश सरकारले आठवटै जिल्लाका विभिन्न स्थानमा ६० बर्थिङ सेन्टर, ७६ सामुदायिक भवन, १८ धर्मशाला, तीन योग भवन, दुई शिशु सदन, २० खेलमैदान, पाँच छात्रावास, २२ विद्यालय भवन, तीन वृद्धाश्रम, नौ रङ्शाला, तीन कभर्डहल, दुई अस्पताल, दुई पुस्तकालय, सात मदरसा, तीन मस्जिद, एक बालगृह र दुईवटा शौचालय निर्माण गरिएको जनाइएको छ ।

सो अवधिमा प्रदेशका विभिन्न जिल्लाको ३१ विद्यालय र दुई वृद्धाश्रम भवन मर्मत तथा स्तरोन्नति गरिएको थियो ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मन्त्रालयले सबैभन्दा होचो स्थान धनुषाको मुखियापट्टी गाउँपालिकाको मुसहरनियाँमा भ्यू टावर निर्माणको काम अघि बढाउन लागेको छ ।

त्यसका लागि मन्त्रालयको प्राविधिक टोलीले मुसहरनियाँ पुगेर सम्भाव्यता अध्ययन गरिसकेको छ ।

भ्यू टावरसहित सो ठाउँलाई पिकनिक स्पोर्टको रूपमा विकास गर्नका लागि अध्ययन भइसकेको र छिट्टै अरु काम पनि अघि बढाइने मन्त्री यादवले जानकारी दिनुभयो ।

सरकार गठन भएदेखि नै प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेकाले प्रदेशको विकासमा सकारात्मक परिणाम देखापरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले बताउनुभयो ।

खानेपानी, सिँचाइ, सडक विद्युत्, पुल, भवनजस्ता आधारभूत भौतिक पूर्वाधार निर्माण तथा विस्तार गरी प्रदेशका जनतालाई सामाजिक एवं आर्थिकरुपले समृद्ध बनाउने उद्देश्यले पूर्वाधार निर्माणमा जोड दिइएको उहाँको भनाइ थियो ।

सहर र ग्रामीण भेगलाई जोड्न सडक पूर्वाधारलाई महत्व दिएर त्यहीअनुसारको योजना बनाइ सरकार अघि बढेकाे मन्त्री साहले बताउनुभयो ।

यसरी स्थापनाको छोटो अवधिमै प्रदेश सरकारले शिक्षा, स्वास्थ्यसँगै भौतिक पूर्वाधारमा महत्वपूर्ण उपलब्धि हासिल गरेकाले जनताको जीवनस्तर बढेको बुद्धिजीवीहरुले बताए ।

पूर्वाधार निर्माणमा सफल हुँदै मधेश प्रदेश

लोकसेवा आयोगको परीक्षा स्थगित

लोकसेवा आयोगको परीक्षा स्थगित

कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन गरिएको छ ।

सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक–अप्राविधिक पदको लिखित परीक्षा स्थगनको सूचना प्रकाशन गरिएको छ ।

आयोगको विज्ञापन समावेशी नभएको भन्दै गत माघ २६ गते सर्वोच्च अदालत रिट निवेदन दायर गरिएको थियो ।

आयोगका शाखा अधिकृत प्रेमप्रसाद आचार्यले अर्को सूचना नभएसम्मका लागि आयोग लिने सबै पदको लिखित परीक्षा स्थगन गरिएको बताउनुभयो ।

कर्णाली प्रदेश लोकसेवा आयोगले गत पुस २७ गते अप्राविधिक–प्राविधिक पाँचौँ तहको खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो ।

लोकसेवा आयोगको परीक्षा स्थगित

बन्दीपुर केबलकारको टावर जडान सुरु

बन्दीपुर केबलकारको टावर जडान सुरु

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ ।

पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले टावर जडानको काम सुरु गरेको हो ।

बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ ।

लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माका अनुसार तीनवटा टावर जडान सम्पन्न भएको छ ।

केबलकारका लागि कूल ११ वटा टावर जडान गरिनेछ ।

“तीन महिनाभित्र टावर जडान सम्पन्न गर्ने लक्ष्य लिएका छाैँ, अहिले धमाधम काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

केबलकार परियोजनाअन्तर्गत माथिल्लो स्टेशनमा पाँचतारे होटल पनि निर्माण भइरहेको छ ।

बीचमा कोभिडका कारण केही काम सुस्ताए पनि अहिले कामले तीव्रता पाएको शर्माले बताउनुभयो ।

उहाँका अनुसार तल्लो स्टेशनमा पनि पूर्वाधार निर्माणको काम भइरहेको छ ।

“कोभिडको प्रभावका कारण परियोजनाको काममा ढिलासुस्ती भयो, कोभिडको जोखिम कम हुँदै गएकाले समग्र कामलाई पनि तीव्रता दिएका छौँ”, उहाँले भन्नुभयो ।

लिमिटेडले होटल र केबलकारको स्तरोन्नति गरेको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ ।

यसअगाडी केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पुर्‍याइएको छ ।

होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्‍याइएको छ ।

शर्माका अनुसार केबलकारको संरचनाको काम ९५ प्रतिशत सकिएको छ ।

विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइएको र कोभिड–१९ को प्रभावका कारण उक्त लक्ष्य प्रभावित भएको थियो ।

अब विसं २०७९ फागुन १ गते बटम स्टेशनको सम्पूर्ण काम र केबलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिनुभयो ।

कम्पनीले विसं २०७९ वैशाख १ गतेदेखि होटललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो ।

माथिल्लो स्टेशनको बहुआयामिक चारतारे होटलसहितको निर्माण सम्पन्न गरी विसं २०८० असोज १ गते परियोजना मूल योजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

कम्पनीले त्यसभन्दा अगावै विसं २०७८ फागुन १ गते रेष्ट्रोजोन सञ्चालनमा ल्याउने भएको छ ।

केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट

“केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ”, शर्माले भन्नुभयो ।

उहाँका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेण्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ ।

यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ ।

बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडीः बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ ।

यस गार्डेनभित्र बटम स्टेशनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ ।

यसले पर्यटकलाई लोभाउने विश्वास गरिएको शर्माले बताउनुभयो । यसैगरी वाटरपार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केवलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ ।

ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।

आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्शन प्रालि, पन्चासे केबलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केवलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो ।

लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो, जहाँ एक हजार १०० भन्दा बढी लगानीकर्ता रहेका छन् ।

बन्दीपुर केबलकारको टावर जडान सुरु

४० जना शाखा अधिकृतमा बढुवा

४० जना शाखा अधिकृतमा बढुवा

काठमाडौं-लोक सेवा आयोगले नेपाल ईन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाईवे उपसमूह राजपत्रांकित तृतिय श्रेणी(प्रा.) ईन्जिनियर पदमा ४० जनाको बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकनको आधारमा ४० जना कर्मचारीको नाम बढुवाका लागि सिफारिस गरेको हो ।

४० जना शाखा अधिकृतमा बढुवा

निरौलाकाे बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन

निरौलाकाे बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन

काठमाडौँ-सह सचिवबाट सचिवमा बढुवा भएका प्रशासक मुकुन्द प्रसाद निरौलाको पदस्थापन गरिएको छ ।

नवनियुक्त सचिव मुकुन्द प्रसाद निरौलाको बागमती प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको हो ।

बढुवाको पत्र बुझेका निरौला बागमती प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन भएका छन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।

निराैला पुर्व सचिव टिका दत्त निराैलाका भतिज हुन् । उनी प्रशासन वृतमा डेमाेक्रेटिक प्रशासककाे रुपमा परिचित छन् ।

डेमाेक्रेटिक छविका प्रशासक निराैला कम्युनिष्ट नेतृत्व रहेकाे बाग्मती प्रदेशकाे प्रशासन कसरी ब्यवस्थापन गर्लान सबैले चासाे ब्यक्त गरेका छन् ।

एकिकृत प्रगतिशिल ईन्जिनियर समूहद्वारा राहत बितरण

सप्तरी-एकिकृत प्रगतिशिल ईन्जिनियर समूहले राहत वितरण गरेको छ ।

ईन्जिनियर समूहले राजविराज नगरपालिका वार्ड नम्वर १२ नवटोल सिंगियौन सदा टोलमा राहत वितरण गरेको हो ।

अति बिपन्नको बसोबास रहेको उक्त टोलमा करिब ७ दिन अगाडी सामान्य विषयमा दलित-दलित विच बिवाद तथा झगडा हुदाँ हरदेव सदा को मृत्यू भएको थियो ।

आर्थिक स्थिती अति नै दयनिय रहेको मृतक सदाको ६ जना छोरा छोरी रहेका छन् ।

जसपा सप्तरी जिल्लाका नेता लक्ष्मन यादवको विशेष पहलमा नेपाल ईन्जिनियरिंग समाजको (NES) केन्द्रिय सह अध्यक्ष एवम एकिकृत प्रगतिशिल ईन्जिनियर समूहबाट नेपाल ईन्जिनियर्स एसोसिएसन (NEA) चुनावमा केन्द्रबाट केन्द्रिय सदस्य पदको उम्मेदवार ई संजिव नारायण यादव को नेतृवमा मृतक परिवारलाई दाल चामल लगायतका खाध्यान्न सामग्री सहित नगद रु २ हजार ५ हस्तान्तरण गरिएको छ ।

नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावको प्रचार प्रसारमा रहेको एकिकृत प्रगतिशिल ईन्जिनियर समूहले चुनाव प्रचारको फरक तरिका स्वरुप राहत वितरण गरेको हो ।

गत माघ ७ गतेकालागी तय गरिएको नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनाव कोभिडको कारण स्थगित भएको थियो । हाल आएर एसोसिएसनको चुनाव फाल्गुन २७ गतेकालागी तय भएको छ ।

भर्खरै गठन भएको एकिकृत प्रगतिशिल ईन्जिनियर समूहले निकै छोटो समयमा अफुलाई सामाजिक कार्यतर्फ अग्रसर गरेको छ ।

राहत वितरण कार्यक्रममा नेपाल ईन्जिनियर्स साेसाईटी (NES) को उप महासचिव ई.ओम नारायण यादव, जसपा बुथ कमिटीका संजीब यादव, वार्ड सचिव प्रसुराम यादव, समाजसेवी रामराजा यादव, सत्यनारायण रजक, ननु सदा, हरुनी सदा, रामदेव सदा , चिनीवती सदा लगायतको उपस्थिती रहेको थियो।

नेप्से परिसूचक २५.४१ अङ्कले उकालो लाग्याे

नेप्से परिसूचक २५.४१ अङ्कले उकालो लाग्याे

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५.४१ अङ्कले उकालो लागेर दुई हजार ७१८.५१ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ५.१५ अङ्कले उकालो लागेर ५१८.७९ मा पुगेको छ ।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्य बढेको छैन ।

कूल २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर रु दुई अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ बराबरको कारोबार भयो ।

१३ उपसमूहको शेयर मूल्यमा वृद्धि

कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

नेप्सेका अनुसार बैंकिङ १६.२८, व्यापार ८.०५, होटल तथा पर्यटन ३४.८४, विकास बैंक २२.८२, जलविद्युत् ७२.३९, वित्त २७.२४, निर्जीवन बीमा ३९.०२, उत्पादन ६६.२८, अन्य २९.२१, लघुवित्त १२.२७, जीवन बीमा १९.१९, सामूहिक लगानी कोष ०.०४ र लगानी १.१ अङ्कले उकालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ५० अर्ब ४७ करोड ४४ लाख ८२ हजार ३०१ बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु २६ करोड ५० लाख १३ हजार ५६० बराबरको कारोबार भयो ।

यस्तै जीवन विकास लघुवित्त रु २६ करोड तीन लाख २३ हजार ८४५, अरुण भ्याली हाइड्रोपावर रु १० करोड १८ लाख २२ हजार ७६२, अपि पावर कम्पनी रु नौ करोड ५० लाख ४७ हजार र नेशनल हाइड्रोपावर रु आठ करोड ५६ लाख ७३ हजार ४४० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

युनाइटेड इदी मर्दी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

गुराँस लघुवित्त ९.६५, नेपाल हाइड्रो डेभलपर्स ७.१९, बुद्धभूमि नेपाल हाइड्रोपावर ६.७२ र साहस ऊर्जाका लगानीकर्ताले ६.१२ प्रतिशतले कमाए ।

यस्तै नवील बैंकको ऋणपत्र १.९५, कालिका लघुवित्त वित्तीय संस्था १.८६, गरिमा विकास लघुवित्त १.५६, कर्पोरेट डेभलपमेन्ट बैंक १.४९ र मञ्जुश्री फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.२८ प्रतिशतले गुमाए ।

नेप्से परिसूचक २५.४१ अङ्कले उकालो लाग्याे

वैदेशिक रोजगारीमा ठगिएका युवालाई तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।

स्ट्रलिङ ओभरसिज प्रालिले १३ युवासँग प्रतिव्यक्ति रु पाँच लाख १० हजार बढी रकम लिएर वैदेशिक रोजगारीमा नपठाएको भन्ने उजुरीमाथि छलफल गर्दै समितिले विभागलाई सो निर्देशन दिएको हो ।

समितिले वैदेशिक रोजगारीमा पठाउँछु भनी सरकारले तोकेभन्दा बढी शुल्क उठाउने र विदेशसमेत नपठाउने सो म्यानपावर कम्पनीलाई कालोसूचीमा राख्नसमेत निर्देशन दिएको छ ।

उक्त म्यानपावर कम्पनीमाथि भएको कारबाहीको विवरण पठाउन पनि समितिले विभागलाई निर्देश गरेको छ ।

समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ‘श्रम डेस्क’लाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।

छलफलमा सहभागी विभागका महानिर्देशक शेषनारायण पौडेलले ठगीमा परेका युवाको उजुरीमाथि तत्काल छानविन गरी उनीहरुको रकम फिर्ता गरिने बताउनुभयो ।

सुरज रानालगायत १३ युवाले सो म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने भनी चर्को रकम उठाएर विदेश नपठाएको र आफूहरुले बुझाएको रकम पनि फिर्ता नगरेको भन्दै कारबाहीका लागि समितिमा उजुरी दिएका थिए ।

भरपर्दो प्रसारण प्रणाली बनाउन खर्च हुँदैछ एमसिसीको अनुदान

भरपर्दो प्रसारण प्रणाली बनाउन खर्च हुँदैछ एमसिसीको अनुदान

काठमाडौँ-सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेर अगाडि बढाएको दीर्घकालीन महत्वको योजनालाई कार्यान्वयन गर्न पनि भरपर्दो प्रसारण प्रणाली निर्माण गर्नु जरुरी छ ।

खनिज इन्धनमा लगातार भइरहेको मूल्यवृद्धिका कारण नेपाल जस्ता कमजोर अर्थतन्त्र भएको देशले विप्रेषणबाट आएको डलर खर्च गरेर तेल खरिद गर्ने विषय अब क्रमशः अप्ठ्यारो बाध्यता बन्न थालेको छ ।

यो अवस्थामा नेपाल विद्युत् प्राधिकरणले नै काठमाडौँ उपत्यकालगायत प्रमुख सहरी क्षेत्रमा बिजुलीको सघन पहुँच स्थापित गर्ने लक्ष्यका साथ गुरुयोजना बनायो ।

सो गुरुयोजनालाई सरकारी स्वामित्वको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले तय अध्ययनसहित प्रसारण प्रणालीको खास मार्गचित्र तयार पारेको हो ।

ग्रीड कम्पनीले देशभर विशेष गरी ठूला पाँचवटा हव स्टेशन बनाउने सुझाव दिएको छ ।

त्यसलाई क्षेत्रगत रुपमा नदी करिडोरका आधारमासमेत विभाजन गरिएको छ ।

महाकाली, पश्चिम सेती, तथा कर्णाली करिडोरलाई समेट्ने गरी दोधारा तथा नयाँ अत्तरिया सवस्टेशन निर्माण हुनेछ ।

भारतको बरेली र उत्तराखण्डलाई जोड्ने

त्यसले भारतको बरेली र उत्तराखण्डलाई जोड्नेछ ।

सो हव स्टेशनमा पञ्चेश्वरको प्रस्तावित तीन हजार २४० मेगावाट, हुम्ला कर्णाली क्यास्केडको ९१६ मेगावाट, पश्चिम सेतीको ७५० मेगावाट, एसआर ६, चैनपुर सेतीलगायतका आयोजनाको बिजुली जोडिनेछ ।

आन्तरिक खपतको बढावाका अलावा भारत निर्यातका लागि पनि सो हवले सुदूरपश्चिम प्रदेशमा विशेष भूमिका निर्वाह गर्दछ ।

राजनीतिक दलहरुबीच चर्को विवाद र आइतबारदेखि संसद्मा प्रवेश गरेको अमेरिकी सहयोग परियोजना एमसिसीसँग जोडिएको अर्को हब स्टेशन हो न्यू बुटवल गोरखपुर ।

यही फागुन ११ र १२ गतेका लागि तय भएको नेपाल र भारतका ऊर्जा सचिवको बैठकमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका अलावा बिजुली व्यापारका विषयमा महत्वपूर्ण छलफल गर्ने कार्यक्रम तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

सो सवस्टेशनमा काली गण्डकी, मस्र्याङ्दी तथा बूढीगण्डकी करिडोरमा निर्माण हुने जलविद्युत् आयोजनाको बिजुली जोडिनेछ ।

यस्तै माथिल्लो मस्र्याङदी दोस्रो ६०० मेगावाट, काली गण्डकी कोभान ४०० मेगावाट, मनाङ मस्र्याङदी २८२ मेगावाट सोही सवस्टेशनमा जोडिनेछ ।

न्यू बुटवल गोरखपुर अन्तरदेशीय ४०० केभी क्षमताको प्रसारण लाइनमार्फत बिजुली आयात निर्यातका लागि मार्ग प्रशस्त हुनेछ ।

सरकारले तय गरेको १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्यमा कम्तीमा पनि पाँच हजार मेगावाट बिजुली निर्यात गर्ने उल्लेख छ ।

कम्तीमा पनि पाँच हजार मेगावाट बिजुली निर्यात गर्ने

बूढीगण्डकी, मस्र्याङदी करिडोरलगायत स्थानमा उत्पादन भएको बिजुली बढी हुँदा त्यसलाई भारत र बङ्गलादेश निर्यात गर्न नेपालको बुटवलदेखि भारतको गोरखपुरसम्म प्र्रसारण लाइनको महत्वपूर्ण भूमिका रहन्छ ।

त्यसका साथ साथै नेपालले चाहेको स्थानबाट मात्रै विद्युत् निर्यात गर्नसक्ने अवस्था नभएकाले प्रसारण लाइन निर्माण जरुरी देखिएको हो ।

संसद्मा टेबुल भएको एमसिसी सम्झौताअनुसार प्राप्त हुने हालको मूल्य अनुसार झण्डै रु ६० अर्ब अनुदान र नेपाल सरकारले थप गर्ने झण्डै रु १४ अर्ब बजेटबाट प्रसारण लाइनका अतिरिक्त र सडक पूर्वाधार समेत निर्माण हुनेछ ।

काठमाडौँको उत्तरपूर्वमा रहेको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्मको खण्ड, रातमाटेदेखि हेटौँडासम्मको खण्ड, रातमाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवल र बुटवलदेखि भारतको सीमानासम्मको खण्डमा डबल सर्किट ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

सो प्रसारण लाइन ३१२ किलोमिटर लामो हुनेछ ।

प्रसारण लाइनका अलावा रातमाटे, दमौली र बुटवलमा तीन अत्याधुनिक सवस्टेशन निर्माण हुनेछन् ।

रातमाटे सवस्टेशनमा नेपाल र चीनबीच निर्माण हुन लागेको रसुवागढी केरुङ ४०० केभी प्रसारण लाइनसमेत जोडिनेछ ।

यसबाट भारत र चीनमा बिजुलीको निर्यातका लागि सबैभन्दा भरपर्दो प्रसारण संरचना निर्माण हुने छ ।

ऊर्जा उद्यमी प्रकाश दुलालका अनुसार प्रसारण लाइनको आसपास निर्माण हुन लागेका र निर्माणमा जान लागेका आयोेजनाका लागि प्रसारण लाइन जरुरी छ ।

त्यसकारण प्रसारण लाइन निर्माणको विषयमा राजनीति हुन नहुने उहाँको भनाइ छ ।

प्रसारण लाइन र सवस्टेशन निर्माणका लागि मात्रै ४० करोड अमेरिकी डलर खर्च हुनेछ ।

त्यसैगरी सडकतर्फ पूर्व–पश्चिम राजमार्गको कपिलवस्तुको चन्द्रौटादेखि लहमी हुँदै बाँके र दाङ जिल्लामा पर्ने शिवखोलासम्मको कूल १०० किलोमिटर सडकको स्तरोन्नति गरिनेछ ।

एमसिसीबाट प्राप्त हुने अनुदानमध्ये ५.२ करोड अमेरिकी डलर खर्च हुने

सो कार्यका लागि एमसिसीबाट प्राप्त हुने अनुदानमध्ये ५.२ करोड अमेरिकी डलर खर्च हुनेछ ।

एमसिसी कार्यान्वयनका लागि सरकारले स्थापना गरेको एमसिए नेपालका अनुसार बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपाल र भारत सीमासम्मको करिडोर २२ किलोमिटर प्रसारण लाइन निर्मााणका लागि सहायता उपयोग गरिनेछ ।

ऊर्जा क्षेत्रको भरपर्दो र एमसिसी लगानीको दिगोपना बढाउन, क्षमता विकासका लागि प्राविधिक सहायतासमेत उपलब्ध हुनेछ ।

बिजुलीको धेरै माग हुने भैरहवा, बुटवल, नारायणगढ, पोखरा, दाङलगायतका सहरलाई समेट्ने लक्ष्य एमसिसी अनुदानमा निर्माण हुने प्रसारण लाइनको छ ।

न्यू बुटवल सवस्टेशन हुँदै भारतको गोरपुर जोडिने प्रसारण लाइन कूल १४० किलोमिटर लामो छ ।

त्यसको २० किलोमिटर खण्ड मात्रै नेपालमा पर्छ भने १२० किलोमिटर खण्ड भारतमा पर्छ ।

सो प्रसारण लाइनलाई सरकारले असाध्यै महत्व दिएको छ ।

प्रसारण लाइन समान लगानीमा निर्माणका लागि नेपाल र भारतबीच सहमति पनि भइसकेको छ ।

प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।

प्राधिकरणको विद्यमान सवस्टशेन नजिक अर्को सवस्टेशन निर्माण भएपछि विद्युत् व्यापारको अर्को ढोका खुल्नेछ ।

जानकारका अनुसार बूढीगण्डकी र मस्र्याङदी करिडोरलगायतका स्थानमा निर्माण हुने बिजुली निकासी गर्न नसकिँदा प्राधिकरणले अर्बौ बराबरको रोयल्टी मात्रै तिर्नुपर्ने अवस्था आउनुका साथै निर्यातको लक्ष्यसमेत पूरा नहुने देखिन्छ ।

नेपाली भूमिमा बन्ने कुनै पनि प्रसारण लाइन, सवस्टेशन निर्माणका लागि कोही कसैको सहमति लिनुपर्दैन ।

अन्तरदेशीय प्रसारण लाइन भएकाले एक अर्काको सहमति जरुरी

अन्तरदेशीय प्रसारण लाइन भएकाले एक अर्काको सहमति जरुरी रहने प्रावधान राखिएको जानकारको भनाइ छ ।

एमसिए नेपालका अनुसार प्रसारण लाइनको मार्ग निर्धारण सरकारको विद्युत् नीति र गुरुयोजनालाई आधार मानेर विशेषज्ञ सम्मिलित टोलीले गरेको अध्ययन र अनुसनधानका आधारमा तयार गरिएको हो । यसको वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको छ ।

एमसिसीले हालसम्म विश्वका ४९ देशमा अनुदान उपलब्ध गराएको छ ।

सन् २००४ मा स्थापना भएको एमसिसीले २०१७ को अगस्टमा नेपाललाई अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो ।

एमसिसी सम्झौता प्रतिनिधिसभामा आइतबार टेबल गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनताका सन्दर्भमा कुनै पनि सम्झौता नहुने स्पष्ट पार्दै एमसिसी विकास पूर्वाधारका लागि प्राप्त भएको अनुदान भएको बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, “नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनता अक्षुण्ण र अउल्लङघ्नीय रहेको राष्ट्रिय प्रतिबद्धता प्रकट गर्दै, संयुक्त राष्ट्रसङ्घको बडापत्र, असङ्लग्न पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यता अनुसार कुनै सैन्य सङ्गठनमा सामेल नहुने नेपालको पररष्ट्र नीतिको परम्परालाई आत्मसात् गर्दै, उक्त प्रस्ताव अनुमोदन गरिदिनुहुन म यस सम्मानित सदनसमक्ष प्रस्ताव गर्दछु ।”

सन्धि ऐन, २०४७ को दफा ४ को व्यवस्था बमोजिम, मन्त्रिपरिषद्को २०७५ माघ २५ गतेको बैठकले एमसिसी अनुदान सहायता सम्झौतालाई अनुमोदन गर्नका लागि सङ्घीय संसद्मा पेश गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो ।

यद्यपि विकास परियोजना वा करार सम्झौतालाई संसद्मा नलगेको भए पनि हुन्थ्यो भन्ने मत पनि यसबीचमा नउठेको होइन ।

यो सम्झौतामा हस्ताक्षर हुनुअघि गरिएको अध्ययनले विद्युत् प्रसारण लाइनबाट दुई करोड ३० लाख तथा सडक मर्मत कार्य १० लाख जनताले प्रत्यक्ष लाभ प्राप्त गर्ने प्रारम्भिक अनुमान गरेको थियो । यी परियोजनाबाट ५० लाख घरधुरी लाभान्वित हुनेछन् ।

भरपर्दो प्रसारण प्रणाली बनाउन खर्च हुँदैछ एमसिसीको अनुदान

मधेशको स्वास्थ्य क्षेत्रमा सुधारको सङ्केत

जनकपुर-स्वास्थ्यको दृष्टिकोणले पछाडि परेको मधेश–प्रदेशमा पछिल्लो केही वर्षदेखि ती क्षेत्रमा सकारात्मक परिणाम देखा पर्न थालेको छ ।

प्रदेश सरकार स्थापना भएयता सरकारबाट भएका स्वास्थ्य र शिक्षासम्बन्धी गतिविधिले सकारात्मक परिणाम दिन थालेको हो ।

स्वास्थ्यमा सबै नागरिकको पहुँच पुग्न नसकेको व्यापक गुनासो उठिरहेका बेला प्रदेश सरकारले स्वास्थ्य सेवालाई व्यवस्थित गर्न जारी गरेको स्वास्थ्य सेवा ऐन २०७८ को कार्यान्वयनका लागि स्वास्थ्य सेवा नियमावली तयार गरिरहेको जनाएको छ ।

‘‘स्वास्थ्य सेवा ऐन २०७८ जारी भइसकेको छ”, मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले भन्नुभयो,‘‘सो ऐन कार्यान्वयनका लागि नियमावली तयार भइरहेको छ, अबको केही दिनभित्र नियमावली बनिसक्छ ।”

नियमावली बनेपछि स्वास्थ्य क्षेत्र अझ व्यवस्थित र सबैको पहुँच पुग्ने उहाँको भनाइ थियो ।

स्वास्थ्य सेवामा प्रदेशका सबै नागरिकको पहुँच अभिवृद्धि गर्दै सरल र सहज रुपमा स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिसकेको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७७ अनुसार गत २०७७ साल कात्तिकमा स्थापना भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिएस्सी नर्सिङ, बिपिएच, बिएमएलटी र बिएनएस कक्षा सञ्चालन गर्दै आएको छ ।

स्थापनाको छोटो समयमै महत्वपूर्ण चार वटा प्राज्ञिक कक्षा सञ्चालन गर्न सफल प्रतिष्ठानले छिट्टै एमडी एमएस कक्षा सञ्चालनको तयारी गरेको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल शाहले जानकारी दिनुभयो ।

‘‘मेडिसिन, सर्जरी, गाईनोलोजिष्ट, पेडियाट्रिक्स, अर्थाेपेडिक्स र रेडियोलोजिष्ट गरी ६ विषयमा एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरेका छौं”, उपकुलपति प्रा डा शाहले भन्नुभयो,‘‘तर प्रतिष्ठानसँग अहिले आफ्नो स्वामित्वको अस्पताल नहुँदा एमडी एमएस कक्षा सञ्चालनमा केही कठिनाइ भएको छ ।”

सो कक्षा सञ्चालनका लागि आफ्नै स्वामित्वको अस्पताल चाहिन्छ ।

उहाँले भन्नुभयो,‘‘तर आफ्नो स्वामित्वको अस्पताल प्रतिष्ठानसँग छैन्, ऐन अनुसार जनकपुरधामस्थित प्रादेशिक अस्पताल प्रतिष्ठानको मातहतमा आइसके पनि पूर्ण स्वामित्व हस्तान्तरण हुन सकेको छैन ।”

जसका कारण चाहेर पनि सो कक्षा सञ्चालन हुन सकेको छैन ।

यद्यपि प्रादेशिक अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरणको पहल भइरहेकाले त्यो हुने वित्तिकै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी छ ।

चिकित्सा शिक्षा आयोगबाट मान्यता प्राप्त गरी २०७८ मङ्सिर महिनादेखि शिक्षण प्रशिक्षणको चार वटा कोर्स सञ्चालन गर्दै आएको प्रतिष्ठानले सञ्चालन गरेको स्वास्थ्यसम्बन्धी शिक्षण प्रशिक्षण कोर्स अन्तर्गत बिएनएस सङ्कायमा १६, बिएसी नर्सिङ, बिपिएच र बिएमएलटीमा एक/एक विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानले जनाएको छ ।

सबै शैक्षिक कार्यक्रममा २०/२० विद्यार्थी भर्ना गर्न पाउन अनुमति प्राप्त गरेको छ ।

तर चिकित्सा शिक्षा आयोगले यसवर्ष लिएको प्रवेश परीक्षामा थोरै मात्र विद्यार्थी उत्तीर्ण भएकाले अपेक्षाकृत विद्यार्थी भर्ना नलिएको प्रतिष्ठानले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट प्रदेशवासीलाई जोगाउने उद्देश्यले प्रदेश सरकारले पिसिआर मेसिन जडान, ल्याब स्थापना, आवश्यक जनशक्ति व्यवस्थापन र अक्सिजन प्लान्ट स्थापना तथा खोप अभियानलाई तीव्रता दिएको छ ।

जनकपुरधामको मुजेलियास्थित मणिपालको भवन मर्मत सम्भार गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहने गरी आईसियु र एचडियू बेडसहितको १०० शय्याको कोभिड विशेष अस्पताल सञ्चालन गरेको प्रदेश सरकारले प्रदेशका सात जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट र आइसोलेशन बेड स्थापना गरिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बताउनुभयो ।

कोभिड– १९ विरुद्धको खोप लगाउने कार्यलाई विगतको भन्दा तीव्रता दिएको प्रदेश सरकारले हालसम्म प्रदेशभरिका करिब ६० प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेको जनाएको छ ।

कोभिड– १९ रोकथाम तथा व्यवस्थापनसँगै दैनिक रुपमा कोभिड १९ सूचना सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

समुदायस्तरमा कोभिड– १९ को परीक्षण पहुँच विस्तार गरेको सरकारले हालसम्म प्रदेशका विभिन्न प्रयोगशालबाट एक लाख ९३ हजार ९९३ जनाको कोभिड– १९ परीक्षण गराएको छ ।

प्रदेशस्तरमा ४० डिग्री सेन्टिग्रेडको तापक्रममा खोप सुरक्षित सुविधा भएको दुई वटा कोल्ड रुम सञ्चालनमा ल्याएइको छ ।

इमर्जेन्सी कोल्ड चेन भण्डार गृह निर्माणसमेत गरिएको छ ।

प्रत्येक परिवारमा रहेका विभिन्न उमेर समूहका व्यक्तिलाई उमेर अनुसारको आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न डिजिटल फ्यामिली हेल्थ फोल्डरको सफ्ट्वेयर एप्स विकास गरी ८ वटै जिल्लाका १६ स्थानीय तहमा कार्यान्वयन गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामबाट एचआईभी, हेपाटाईटिस बिसी, टिबी–पिसिआर जाँच सञ्चालन गरिएको छ ।

साथै प्रदेश सरकारको सहयोगमा बाराको झिटकैयामा ५० बेडको प्रादेशिक सरुवा रोग अस्पताल निर्माण गर्न लागेको सामाजिक विकासमन्त्री साहले बताउनुभयो ।

सुरक्षित मातृत्व र कुपोषणका डरलाग्दो अवस्था रहेको प्रदेशमा पहिलो पटक प्रदेश सरकारले पूर्ण सुरक्षित मातृत्व कार्यक्रम र कुपोषणमुक्त प्रदेश बनाउने कार्यक्रम सञ्चालन गरिरहेको छ ।

‘‘अन्य प्रदेशको तुलनामा यस प्रदेशमा मातृ मृत्युदर र कुपोषणको समस्या ठूलो समस्याको रुपमा देखापरेको छ”, मन्त्री साहले भन्नुभयो,‘‘ती समस्यालाई समाधान गर्नका लागि हामीले पूर्ण सुरक्षित मातृत्व कार्यक्रम र कुपोषणमुक्त प्रदेश बनाउने कार्यक्रम ल्याएका छौं ।”

महिलाहरुमा आङ खस्ने समस्या र हाइड्रोसिल रोगबाट पीडितलाई निःशुल्क शल्यक्रिया गरिएको छ ।

प्रदेश सरकारले चार वर्षमाा २०० महिलाको आङ खस्ने समस्याको निःशुल्क शल्यक्रिया र ४६४ हाइड्रोसिल पीडितको निःशुल्क शल्यक्रिया गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा क्षयरोग नियन्त्रणका लागि १७ वटा सेन्टर सञ्चालनमा छ ।

प्रदेश सरकारले प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

दूतावासले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च २ (फागुन १८ देखि ९ सम्म) सातौँ संस्करणको प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएको हो ।

दूतावासका प्रथम सचिव सकिल अहमदले विगतका वर्ष झैँ यस वर्ष पनि उक्त प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

“क्रिकेट पाकिस्तानको महत्वपूर्ण खेल भएकाले यसैबाट दुईदेशबीचको सम्बन्ध झन् प्रगाढ बनाउनका लागि प्रतियोगिता गर्दै आएका हाैँ”, उहाँले भन्नुभयो ।

यस्ता खेलले नेपालका क्रिकेटप्रेमीका लागि पनि सहयोग पुग्ने उहाँको भनाइ थियो ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगिता युवा क्रिकेट खेलाडीका लागि एउटा प्लेटर्फमका रुपमा रहेको बताउनुभयो ।

उहाँले यस प्रतियोगिताको मुख्य आकर्षण भनेको युवा खेलाडी तथा राष्ट्रिय टोलीमा नपरेका खेलाडीलाई मौका मिल्ने जानकारी दिनुभयो

प्रतियोगिताका लागि शुभकामना दिँदै नेपालका लागि पाकिस्तानी राजदूत सइद हैदर शाहले युवालाई उनीहरुको क्षमता प्रयोग गर्न प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले यस प्रतियोगिताबाट पाकिस्तान र नेपालबीचको सम्बन्ध तथा दुई देशका खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिताका खेल धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुनेछ ।

पत्रकार सम्मेलनमा विजेताले प्राप्त गर्ने ट्रफी पनि सार्वजनिक गरिएको थियो ।

पुस्तक समीक्षाः गहकिला ‘प्रश्न’का फराकिला उत्तर

काठमाडौँ-युवककवि मोतीराम भट्टले भानुभक्त आचार्यको जीवनी खोजेर प्रकाशमा ल्याएकाले नेपाल र नेपालीले आदिकविबारे जान्न पाए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि कविशिरोमणि लेखनाथ पौड्याललगायतसँग अन्तरङ्ग कुराकानी गरी प्रकाशमा ल्याएका छन्, आचार्यबारे पनि लेखेका छन् ।

प्रख्यात निबन्धकार शङ्करनाथ लामिछानेले साहित्यकार, सङ्गीतकार आदिसँगको हिमचिमलाई ‘विम्ब–प्रतिविम्ब’मा उतारेका छन् ।

‘रूपरेखा’का सम्पादक उत्तम कुँवरले त साहित्यकारको अन्तर्वार्ता समेटिएको ‘स्रष्टा र साहित्य’ (२०२३) शीर्षकको ग्रन्थका लागि सोही साल मदन पुरस्कार नै प्राप्त गरे ।

पत्रकार देवेन्द्र भट्टराईको ‘स्रष्टा र समय’ (२०६२) पनि चर्चित रह्यो । पत्रकार एवं साहित्यकार श्री ॐ श्रेष्ठ रोदनले हालै विभिन्न स्रष्टा, चिन्तक एवं साहित्यकारका विषयमा निबन्ध तयार गरी ‘अभिवन्द्य’ कृति नै ल्याउनुभयो ।

साहित्यकार–गीतकार–सङ्गीतकार आदि स्रष्टासँगको भेटघाटलाई लिपिबद्ध गरी प्रकाशमा ल्याउने काम अचेलका अनलाइन न्युज पोर्टलले पनि निकै गरेका छन् ।

लेखक, साहित्यकार एवं स्रष्टाका दिनचर्या, जीवनी र अभिव्यक्तिले अन्यलाई पनि प्रेरणा दिन्छ नै, ती स्वयंको व्यक्तित्वको चर्चा भई जनमानसमा छाप छाड्छ ।

यस्तो कामले स्रष्टाको सम्मान वा मूल्याङ्कन स्वतः हुन्छ र पछिल्लो पुस्ता पनि लाभान्वित हुन्छ ।

साहित्यिक गतिविधि भइरहने हेटौँडामा क्रियाशील उदय अधिकारीले नेपाली साहित्यका विभिन्न विधामा चर्चित ६ साहित्यकारसँग गरेको ‘प्रश्न’(२०७८, शिखा बुक्स) बजारमा आएको छ ।

चितवनमा जन्मी हेटौँडा सर्नुभएका अधिकारीले नाटककार तथा कवि अभि सुवेदी, कवि, उपन्यासकार तथा नाटककार सरुभक्त, कवि, निबन्धकार तथा पत्रकार श्यामल, कवि तथा नाटककार श्रवण मुकारुङ र कवि तथा अनुवादक मनु मञ्जिलसँगको हिमचिमपछि गरेको अन्तरङ्ग यसमा समेटिएका छन् ।

हेटौँडा बहुमुखी क्याम्पसका सहप्राध्यापक अधिकारीले करीब एक दशकबीचमा गरेको परिश्रमस्वरूप आएको ‘प्रश्न’मा उल्लिखित नेपाल र विश्वसाहित्यका विविध पक्षले पाठकलाई ज्ञानोदय गराउँछ ।

आफैँ विभिन्न पत्रपत्रिका एवं अनलाइनमा लेखिरहने कृतिकारले विश्वसाहित्यसँग गरेको एकाकारले हाम्रो क्षितिजलाई पनि फराकिलो गराउँछ ।

नेपाल र विश्वसाहित्यका गम्भीर अध्येता तथा अनुवाद र अन्तर्वार्ता लिन कहलिनुभएका अधिकारीका ‘प्रश्न’ परिपक्व रहेकाले उत्तरदाताहरू वस्तुगत हुन बाध्य छन् र भाग्न सकेका छैनन् ।

छ नेपाली साहित्यकारका मुखबाट आएका नेपाली अझ खासगरी विश्वसाहित्यको स्थिति र पढ्नै पर्ने खालका मुख्यमुख्य साहित्यिक कृति, अनुवादको अवस्था, नेपाली समालोचनाको धरातलीय हैसियतले पाठकलाई यथेष्ट ज्ञान दिन्छ ।

उहिले महाकवि देवकोटाले तासकन्दमा दिएको मन्तव्यमा नेपाली साहित्यको विस्तृत चर्चा थियो भने ‘प्रश्न’ र तिनका उत्तरमा नेपाल र विश्व साहित्य समेटिनु प्रश्नकर्ताको अध्ययनको गहनता हो भन्ने स्पष्ट हुन्छ ।

कुनै पनि साहित्यकार स्थापित हुनका लागि अध्ययन र विषयको गहिराइको महत्त्व कति हुन्छ भन्ने कुरा प्रस्तुत कृतिले छर्लङ्ग्याइदिन्छ ।

त्रिविमा अङ्ग्रेजी विषयका प्राध्यापक तथा नेपाली साहित्यमा कविता, समालोचना, अनुवादक, निबन्ध खासगरी पछिल्लो समय नाटक विधामा संलग्न सुवेदीले ‘जीवनमा गरेको एउटै काम भनेको किताब पढ्ने हो ।’

नेपाल विश्वसाहित्यमा आक्रामक ढङ्गले जान हाम्रो सरल, गाउँले, जनजातीय र भौगोलिक कठिन जीवनमा पनि हाँसेर बाँच्न सक्दाको अवस्था तथा यात्रा र स्थानमा भोगिएको अनुभूति उपन्यास वा आख्यान र तीव्र भावनाका गुणस्तरीय कविता दिन सक्नुपर्ने उत्तर उहाँ दिनुहुन्छ ।

तेह्रथुम, साबलामा भैंसी चराउँदा ढाडमा बसेर पढ्न रुचाउने सुवेदी राजधानी आएपछि हिप्पीसँगको सङ्गतमा पर्ने नामुद साहित्यकार मानिनुहुन्छ ।

नेपालका ठूला साहित्यकारसँग भेटघाट गर्ने, युवाहरूसँग रमाउने, चित्रकार–गायक–सङ्गीतकारसँग सङ्गत गर्ने, अखबारी लेखन(नेपाली, अङ्ग्रेजी भाषा) मा संलग्न हुने, घुमिरहने तथा हास्यचेतयुक्त विशेषता पनि राख्ने सुवेदी नेपालमा ‘समर्पित भएर काम गर्ने लेखकहरुको सङ्ख्या थोरै’ भएकामा गुनासो गर्नुहुन्छ ।

राजनीतिकर्मी, उपन्यासकार, कथाकार, कवि तथा पत्रकार नारायण ढकाल “हाम्रो लेखनको स्तर नउक्सिनुमा सर्जक, पाठक, समीक्षक र साहित्यिक संस्थाहरू, राजनीतिक दलहरू सबैको उत्तिकै मिलिभगत योगदान रहेको” स्पष्ट गर्दै प्रगतिशील लेखक सङ्घमा प्रगतिशील लेखक र स्रष्टाहरू जन्माउने छाँट नभएको देख्नुहुन्छ ।

उहाँ पनि सुवेदीकै हाराहारीमा ‘आफ्नै इतिहास, संस्कृति र मौलिकतासँग जोडिएपछि मात्र लेखक सफल’ हुने ठान्नुहुन्छ ।

नेपालमा ‘मार्खेजका प्रवक्ता’ ढकाल ‘मार्खेजले आफ्नो समयको मानिसको इतिहासलाई सौन्दर्य, शिल्प र महान् गद्यको अस्त्रले अभिव्यक्त गरेको’ जनाउँदै कोलम्बियाका ती उपन्यासकारको ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’ हाम्रो युगको गद्य काव्यमा एउटा महान् गाथा मान्नुहुन्छ ।

बौद्धिक तथा चिन्तनप्रधान कवि (गीतकार, मुक्तककार पनि), नाटककार तथा उपन्यासकार (लघुकथाकार पनि) सरुभक्त आफैँ धेरै विधामा हात हालेर पनि ‘बहुविधामा साहित्य रचना गरेर असफल हुनुभन्दा एकै विधामा साहित्य रचना गरेर सफल हुनु बुद्धिमानी हो” भन्ने स्वीकार्नुहुन्छ ।

दोस्रो जनान्दोलनताका नेपाल प्रज्ञा –प्रतिष्ठानका तत्कालीन प्राज्ञ परिषद् सदस्य सरुभक्तलाई आन्दोलनमा सहभागी नभएको आरोप पनि लागेको छ ।

‘अहं शून्यवाद’ का प्रवत्र्तक कुनैबेलाका ‘भक्तराम श्रेष्ठ’ पूर्वीय दर्शन र साहित्यमा ‘महाभारत’, ‘रामायण’देखि माक्र्सको ‘दास क्यापिटल’(पुँजी) र स्टेफन हकिङको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ सम्मलाई मन पराउनुहुन्छ ।

‘विश्व साहित्यको अध्ययनबाट हामीले समसामयिकतामा शाश्वतता, शाश्वततामा समसामयिकता, प्रयोगगत विश्वसनीयता, विषयगत गाम्भीर्यजस्ता कुरा सिक्न’ सकिने सुझाव यी विज्ञान कथाकार नेपाली साहित्यकार–पाठकलाई दिनुहुन्छ ।

आफ्नो रचनामा संसार रहेको तर समाज नरहेको आरोप खेपिरहनुभएका यी लेखकले त्यस्तो भन्ने समालोचकहरूले आफ्नो समालोचनाको पनि समालोचना हुन्छ भन्ने बिर्सेको भनी उल्टै आलोचना गर्दै समसामयिकतामै रुमलिने साहित्य दीर्घजीवी नहुने ठोकुवा गर्नुहुन्छ ।

‘कुमार’ लेखकसँग अविवाहितावस्था र साहित्यको सम्बन्धबारे सवाल गर्न सकिन्थ्यो, जसलाई कृतिकारले छुटाएका छन् ।

कवि, निबन्धकार श्यामल थोरै लेखेर चर्चित हुनेमा पर्नुहुन्छ ।

नेपालको दुर्गममध्ये एक मानिने दैलेखमा पण्डित परम्पराको खानदानमा जन्मी त्यहाँको काव्यमय लोकजीवनबाट प्रेरित उहाँमा जर्मनेली कवि बर्टाेल ब्रेख्तलाई नेपालमा भित्र्याउने श्रेय पनि जान्छ ।

राम्रो अनुवादले मौलिक कृतिको प्रभाव र क्षमतालाई कयौँ गुणा वृद्धि तथा विस्तार गर्ने मान्यता राख्ने अनुवादक श्यामल यस क्षेत्रमा कठोर परिश्रम गर्न नसक्नेहरूले विकृत अर्थ सम्प्रेषण गरेर हास्य र वैराग लगाएको तीखो टिप्पणी पनि गर्नुहुन्छ ।

भूपी शेरचनलाई कवितामा हाम्रा आदर्श मान्दै उहाँसँग बहुत सङ्गत गर्ने प्रगतिशील कवि श्यामल कुनै दलविशेषमा आबद्ध हुँदैमा प्रगतिशीलता नआउने बरु लेखेर वा सशरीर आन्दोलनमा होमिने शतप्रतिशत जनपक्षधरतामा जोड दिनुहुन्छ ।

हाल राष्ट्रिय समाचार समितिका अध्यक्ष पुराना पत्रकार हरिहर अधिकारीलाई पत्रकारितासँग सम्बन्धित केही ‘प्रश्न’ गर्न भने अन्तर्वार्ताकार चुक्नुभएको छ ।

उल्लिखित वरिष्ठ साहित्यकारका तुलनामा तन्नेरी कवि तथा नाटककार श्रवण मुकारुङ र कवि तथा अनुवादक मनु मञ्जिल पनि ‘प्रश्न’का घेरामा पर्नुभएको छ ।

हेपिएका आवाजलाई सुनिन बाध्य पार्ने कवि मुकारुङ भावना, ज्ञान र विवेकको समग्र रूप नै बौद्धिकता भएको ठोकुवा गर्नुहुन्छ नकि अपरिचित मिथक र प्रतीकको प्रयोग तथा जटिलता ।

अस्तित्वमा सुन्दर कुरा थप्न नै आफूले कविता र गीत लेखिरहेको बताउने मञ्जिल भने कवितालाई अलोकप्रिय बनाउने काम कविबाट हुन नहुनेमा जोड दिनुहुन्छ ।

यसरी प्रश्नकर्ताले आफूले अत्यन्तै जितेका, मन–मुटु छामेका र आफूले तिनका रचनासहित पर्गेलेका साहित्यकारसँगको पुरानो सम्बन्धलाई उपयोग गरेर प्रस्तुत गरेको कृतिले गम्भीर लेखकलाई तान्छ नै, नवपाठकलाई पनि साहित्य ख्यालख्यालको क्षेत्र होइन रहेछ भन्ने सन्देश पक्कै दिन्छ ।

कृतिमा लामा ‘प्रश्न’ले लामै उत्तर पाएका छन् ।

अन्तर्वार्ता लिइएका लेखकहरूले आफूले पढेका धेरै साहित्यकार र कृतिको नाम लिएकाले पाठकलाई ‘प्रश्न’ ‘सन्दर्भ ग्रन्थ’ नै बन्ने ठोकुवा गर्न सकिन्छ ।

नारी लेखकहरूसँग त्यस्तै अनौपचारिक हिमचिम नभएकाले होला, कृति लैङ्गिक दृष्टिले एकपक्षीय हुनु स्वाभाविक छ ।

धेरै गम्भीर पाठक अधिकारीको वर्णविन्यासमा भने यति धेरै गल्ती क्षम्य हुन सक्दैन, किनभने एकै लेखकका नाम पनि विभिन्न पानामा फरक फरक लेखिएको छ भने चलनचल्तीमा आउने थुपै्र्र शब्द विकृत भएका छन् ।

कृतिको नाम र आवरणले भने पाठकको ध्यानाकर्षण गर्छ भने विश्वास लिन सकिन्छ ।

क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ ।

आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८१ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “रोयल्टी नतिर्ने क्यासिनोले पनि रोयल्टी तिर्न थालेका छन्, अहिलेसम्म हाम्रो खातामा रु ८१ करोड जम्मा भयो, अरु केही कम्पनीले रोयल्टी तिर्नका लागि कागजपत्र लगेका छन्, केही दिनमा अरु पनि रकम आउँछ ।”

मन्त्री आलेले केही हप्ता पहिले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँग अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् भने गोल्डेन फिङ्गर गेमिङ् जोन प्रालीले नयाँ क्यासिनो सञ्चालन गरेबापत रु दुई करोड ५० लाख रोयल्टी बुझाएसँगै सरकारको खातामा रु ८१ करोड रकम जम्मा भएको हो ।

विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता रकम जम्मा रकम रु एक अर्ब ११ करोड ८४ लाख ४७ हजार मात्रै रहेको छ ।

यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौसम्म पनि नतिर्ने काठमाडौँको दरबारमार्गमा रहेको होटेल याक एण्ड यतीको लाइसेन्स खारेज गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ ।

मन्त्री आलेकै निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालकको तीनपुस्ते विवरण समेत सार्वजनिक गरेको छ ।

अब छ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ ।