महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति हुने

कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं ७ मा रहेको महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति गर्न स्थानीयवासीले माग गरेको समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पात्राचार गरेको छ ।

नगरपालिकाको एक लाख ३३ हजार जनसङ्ख्यामध्ये आधा जनसङ्ख्या रहेको वडा नं ७, ८ र ९ को शान्ति सुरक्षा हेर्ने प्रभागमा जनशक्ति कम हुँदा शान्ति सुरक्षामा प्रभाव परेको भन्दै नगरप्रमुख कृष्णहरि थापाले गृहमन्त्रालयलाई पत्र लेख्दै यस्तो माग गर्नुभएको समाचार राससमार्फत सार्वजनिक भएको थियो ।

मागबमोजिम मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई प्रभाग स्तरोन्नतिको आवश्यक व्यवस्था गर्न पत्राचार गरेको हो ।

नगरपालिकासँगै फुल्चोकी सेवा समाजका अध्यक्ष दीपक केसी र नागेश्वर वाणेश्वर महादेव व्यवस्थापन समितिका अध्यक्ष प्रकाशगम्भीरसिंह रायमाझीले गृहमन्त्री बालकृष्ण खाँणलाई लेख्नुभएको पत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा जनशक्ति बढाउन माग गरिएको थियो ।

घना र अव्यवस्थित बस्ती भएकाले सीमित जनशक्तिले गस्तीसमेत गर्न नसक्दा शान्ति सुरक्षामा समस्या भएको स्थानीयवासी एवं समाजसेवी रायमाझीले बताउनुभयो ।

रायमाझीको नेतृत्वमा यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम गराउने उद्देश्यले प्रहरी प्रभाग स्थापना भएको थियो ।

यस स्थलमा प्राचीन सम्पदाका रूपमा नागेश्वर मन्दिरको स्थापना भएपछि त्यसको सुरक्षाका लागि पुरातत्व विभागको समेत समन्वयमा प्रहरी प्रभाग स्थापना भएको हो ।

मन्दिरमा सोमबार, शनिबार एवं विभिन्न पर्वका अवसरमा भक्तजनको भीड लाग्ने गर्छ ।

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ ।

नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ ।

द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित संक्षिप्त समारोहमा हस्ताक्षर गर्नुभयो ।

दुवै राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्त पत्रमा पनि हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

त्यस अवसरमा दुवै राजदूतले राष्ट्रिय तथा बहुपक्षीय परिवेशमा विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा दुई देशको आपसी हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार आदान–प्रदान गर्नुभएको थियो ।

उहाँहरूले दक्षिण सुडानको चलिरहेको शान्ति प्रक्रियाको सन्दर्भमा द्वन्द्वबाट शान्तितर्फको सङ्क्रमणकाललाई कसरी सफल बनाउन सकिन्छ भन्नेबारे पनि छलफल गर्नुभएको थियो ।

राजदूत राईले दक्षिण सुडानमा शान्ति स्थापना गर्न स्वदेशमा भएको शान्ति प्रक्रियामा आफ्नो अनुभव साझा गर्न नेपाल इच्छुक रहेको बताउनुभएको थियो ।

नेपालले दक्षिण सुडानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति कार्यका लागि एक हजार ८०० नेपाली शान्ति सैनिक तैनाथ गरी दक्षिण सुडानको शान्ति र स्थायित्वका लागि योगदान पुर्‍याउँदै आएको छ ।

पूर्वी–मध्य अफ्रिकामा अवस्थित दक्षिण सुडान ९ जुलाई २०११ मा सुडानबाट स्वतन्त्र भएको हो ।

नेपाल र दक्षिण सुडान दुवै अल्पविकसित देशहरूको समूह, भूपरिवेष्टित विकासशील देशहरूका साथै समूह ७७ र चीनका सदस्य हुन् ।

दक्षिण सुडान १४ जुलाई २०११ मा संयुक्त राष्ट्रसङ्घको १९३औँ सदस्यका रूपमा सामेल भएको उक्त विश्व सङ्गठनको कान्छो सदस्य देश हो ।

पाँच किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत बागमती प्रदेशका विभिन्न स्थानका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ ।

कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेवापत सो सम्मान गरिएको हो ।

बागमती प्रदेशको कृषि विकास निर्देशनालय तथा पशुपक्षी विकास निर्देशनालयको सोमबार आयोजित चौमासिक प्रगति समीक्षा गोष्ठीमा सो सम्मान गरिएको हो ।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत प्रथम हुने चेतना कृषि तथा पशुपक्षी फार्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद रु ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै द्वितीय हुने दिदीबहिनी कृषि फार्म भक्तपुरकी गीता रिजाललाई नगद रु ४५ हजार, तृतीय हुने थाहा पौरखी कृषि प्रालि वरीवललाई नगद रु ४० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी चौथो हुने कामना फलफूल बहुउद्देश्यीय नर्सरी फार्म रामेछापलाई नगद रु ३५ हजार तथा पाँचौँ हुने न्यू महाँकाल कृषि फार्म काभ्रेलाई नगद रु ३० हजारसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको हो ।

पुरस्कारका लागि प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्रमार्फत प्रत्येक जिल्लाबाट तीन जनाका दरले ३७ जना कृषकको प्रस्ताव कृषि तथा पशुपक्षी विकास निर्देशनालयले सङ्कलन गरेको र त्यसबाट उत्कृष्ट हुनेलाई बागमती प्रदेशको कृषि तथा पशुपक्षी मन्त्रालयले छनोट गरी पुरस्कृत गरिएको गोष्ठीमा जनाइएको छ ।

सो पुरस्कार कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले प्रदान गर्नुभएको थियो ।

अरुण तेस्रो मुआब्जा विवाद : पावरहाउसको काम सात दिनदेखि ठप्प

सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ ।

प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

अरुण तेस्रोको प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा नपाएपछि सात दिनदेखि अरुण तेस्रो आयोजना र प्रवेशमार्ग अवरुद्ध पारेको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताउनुभयो ।

प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा तीन वर्ष बित्दासमेत नपाएपछि बाध्य भएर प्रवेशमार्ग र आयोजनाको पावरहाउसको काम अवरुद्ध बनाएको अध्यक्ष राईले बताउनुभयो ।

पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर जग्गा अधिग्रहण गरेको अध्यक्ष राईको भनाइ छ ।

अरुण तेस्रो परियोजनाको करिब ५० प्रतिशतमाथि काम भइसक्दा पनि मुआब्जा नपाएपछि स्थानीयवासीले चैत ८ गतेबाट प्रवेशमार्ग र पावरहाउसको काम सडक अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका हुन् ।

प्रवेशमार्गका स्थानीयवासीले गत मङ्गलबारदेखि भौतिक निर्माणका काम बन्द गरिदिएका छन् ।

छ्याङकुटीबाट पावरहाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद केही वर्षदेखि कायम छ ।

यो खण्डमा सरकारी मूल्यअनुसार मुआब्जाको रकम नदिएपछि स्थानीयवासीले सडक र काम ठप्प बनाएका हुन् ।

यस क्षेत्रका २०० परिवारले मुआब्जा नपाएको पीडितले गुनासो गरे ।

आयोजनाको पावरहाउस पुखुवामा भारतको पटेल इञ्जीनियरिङ कन्सल्टेन्सी कम्पनीले काम गरिरहेको छ ।

छयाङकुटी–पुखुवा मुआब्जा सङ्घर्ष समिति र अरुण तेस्रो सरोकार समितिले यसअघि नै पटक–पटक मुआब्जाका विषयमा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उनीहरूले बताए ।

छयाङकुटी–पुखुवा सडकखण्ड २८.५ किमी रहेको छ ।

कूल रु एक खर्ब ४४ अर्ब लागत निर्माण भइरहेको आयोजनाको काम सन् २०२४ मा उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।

अरुण तेस्रो जलविद्युत्को निर्माणको काम भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएन)ले गरिरहेको छ ।

मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ पुखुवामा पावरहाउस निर्माण भइरहेको छ ।

यी दुई कम्पनीमार्फत अन्य २० भन्दा बढी साना निर्माण कम्पनीले काम गरिरहेको आयोजनाले जनाएको छ ।

अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

लोकसेवा आयोगको सिफारिसमा ५ जना सह-सचिव नियुक्त

लोकसेवा आयोगको सिफारिसमा ५ जना सह-सचिव नियुक्त

५ जना सह-सचिवहरू नियुक्ति गरिएको छन् ।

लोकसेवा आयोगको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनिहरुको नियुक्ती गरेको हो ।

आज नियुक्ति हुने सहसचिवहरूमा कल्पना श्रेष्ठ, सुरेश पन्थी, प्रदिप परियार, श्याम कृष्ण थापा र सुरेश राउत रहेका छन् ।

लोकसेवा आयोगको सिफारिसमा ५ जना सह-सचिव नियुक्त

पत्रकारको स्वास्थ्यपरीक्षण

जिल्लाका १६६ पत्रकारको स्वास्थ्यपरीक्षण गरिएको छ ।

नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा आज रगतको नमूना सङ्कलन गरिएको हो ।

भरतपुर अस्पतालको प्रयोगशाला प्रमुख उर्मिला कँडेलका अनुसार १६६ पत्रकारको रगतको नमूना सङ्कलन गरिएको छ ।

उक्त नमूनाबाट कलेजो, मिर्गाैला रोग, मधुमेह, थाइराइड, रगतमा बोसोको मात्रा, सिविसी (ब्लड इन्फेक्सन), तीन महिनासम्म मधुमेहको अवस्था जनाउने एचबिए वान सि, रगतमा हेमोग्लोबिनको मात्रा, रक्त समूह लगायत ८ प्रकारका परीक्षण गरिने छ ।

यही चैत १६ गते महासङ्घको कार्यालय भरतपुरमा फिजिसियन डा भोजराज अधिकारीको नेतृत्वमा भरतपुर अस्पतालका वरिष्ठ चिकित्सकले आज सङ्कलित रगतको रिपोर्ट हेर्ने र आवश्यक स्वास्थ्य परामर्श गर्नुहुनेछ ।

कार्यक्रम संयोजक विप्लव काफ्लेका अनुसार स्वास्थ्यमा थप समस्या देखिएमा भरतपुर र अन्य अस्पतालमा थप उपचारको समन्वय गरिने छ ।

परीक्षणपछि आवश्यक परेमा उपलब्ध औषधिसमेत निःशुल्क व्यवस्था गरिएको छ । नेपाल औषधि व्यवसायी सङ्घ चितवनले औषधि सहयोग गर्ने छ ।

राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त: अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गर्नुभएको छ ।

राप्रपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पछिलो १५ वर्षको राजानीतिक परिवर्तन र पूर्वराजाको दलप्रतिको आक्रमण सोचले राजसंस्था पुनःस्थापनको सम्भावनालाई समाप्त पारेको बताउनुभयो ।

राजसंस्थाको पुनःस्थापना नेपालकै राजनीतिक दल र आमजनताले गर्ने भए पनि पूर्वराजाले आफ्नो भावना सार्वजनिक गर्दा दलप्रति वितृष्णा फैलाउने काम मात्र गरेकाले राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त भएको अध्यक्ष थापाले प्रष्ट पानुभयो ।

उहाँले राजसंस्था पुनःस्थापनाको वकालत गर्ने एक मात्र पार्टी राप्रपामा पूर्वराजा र उनको सचिवालयले गरेको चलखलेका कारण आफू नयाँ बाटोतर्फ लागेको प्रष्ट पार्नुभयो ।

अध्यक्ष थापाले आउने स्थानीय तहको निर्वाचनबाट धेरै अपेच्छा नराखे पनि देशकै सम्पूर्ण स्थानीय तहमा राप्रपा नेपालका उम्मेदवार चुनाव लड्ने जानकारी दिनुभयो ।

स्थानिय चुनाव अगाडी भारत भ्रमणमा जादै प्रम देउवा

काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने तय भएको छ ।

यही चैत १८ गतेका लागी देउवाको भारत भ्रमण तय भएको हो ।

नेपाल र भारतको परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै देउवाको सरप्राईज भारत भ्रमणको जानकारी दिएको हो ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबिच चैत १९ गते भेटवार्ता हुने छ ।

भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिला मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् ।

भारतीय व्यवसायीहरूलाई पनि सम्बोधन गर्ने प्रधानमन्त्री देउवाले २० चैतमा नेपाल फर्किनुअघि वाराणासीको पनि भ्रमण गर्नेछन् ।

भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्का, अरू मन्त्री र सचिवहरू पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रोल्पामा स्नातकोत्तर तहको पढाइ सुरु गर्न माग

यहाँ स्नातकोत्तर तहको पढाइका लागि नागरिक दबाब बढेको छ ।

छिमेकी जिल्लामा लामो समयदेखि स्नातकोत्तर तहको पठनपाठन भए पनि यहाँ यसबारे सरोकारवालाले चासो नदिएको भन्दै नागरिक तहबाट दबाब बढेको हो ।

स्नातकोत्तर तह सञ्चालनका लागि भन्दै विसं २०७२ मा धार्मिक महोत्सवको आयोजना गरिएको थियो ।

महोत्सवमा स्थानीयवासीले गरेको नगद तथा भूमिदानबाट रु एक करोड बढी आर्थिक सङ्कलन भएको थियो ।

महोत्सव लगत्तै स्नातकोत्तर तहको पठनपाठन गर्ने भनिए पनि महोत्सव आयोजक संस्था जलजला बहुमुखी क्याम्पसले कुनै पहल नगरेको स्थानीयवासीले आरोप लगाउँदै आएका छन् ।

नागरिकको लगातारको दबाबपछि उक्त क्याम्पस स्नातकोत्तर तहको पठनपाठन सुरु गर्ने विषयमा छलफल गर्न तयार भएको हो ।

क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख विष्णु आचार्यका अनुसार आर्थिक रुपले टाँट पल्टिने अवस्था भएपछि क्याम्पस सञ्चालन समितिको निर्णयबमोजिम महोत्सवबाट उठेको रकमले क्याम्पस सञ्चालन गरिएको थियो ।

क्याम्पसका प्रधाध्यापक तथा कर्मचारीको तलब महोत्सवबाट उठेको दानबाट व्यवस्थापन गरियो आचार्यले बताउनुभयो ।

“हाल अक्षयकोषका रुपमा रु २२ लाख बचत छ, भूमिदान गरेकाले हक हस्तान्तरण गरेका छैनन् भने कतिपय नगद घोषणा गरेकाबाट पनि रकम प्राप्त हुन बाँकी छ”, आचार्यले भन्नुभयो ।

जुन उद्देश्यले धार्मिक महोत्सव गरियो त्यही उद्देश्यमा बजेट खर्च गर्नुपर्नेमा अन्यत्र खर्च गरिनु दुखद भएको स्थानीयवासीको गुनासो छ ।

“महोत्सवको मुल उद्देश्य स्नातकोत्तर तह सञ्चालन थियो तर अहिलेसम्म पनि सञ्चालन नहुनु सन्तोषजनक पक्ष होइन”, स्थानीय समाजसेवी कृष्णबहादुर घर्तीमगरले भन्नुभयो ।

लामो समयपछि पुनः स्नातकोत्तर तह सञ्चालनबारे क्याम्पसले चासो देखाएकाले यो सकारात्मक पक्ष भएको पत्रकार महेश न्यौपानेले बताउनुभयो ।

स्नातकोत्तर तह अध्ययनका लागि विद्यार्थीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

चारसय पाँच सामुदायिक विद्यालय रहेको रोल्पामा स्नातक तहका दुई क्याम्पस मात्र छन् ।

दुग्ध विकास संस्थानमा झा नियुक्त

दुग्ध विकास संस्थानमा झा नियुक्त

काठमाडौँ-दुग्ध विकास संस्थानले नयाँ महाप्रबन्धक पाएको छ ।

मन्त्रिपरिषदको बैठकले दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्त गरेको छ ।

सोमबार बसेको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सञ्जीव झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको मन्त्रालय स्रोतले बताएको छ ।

साथै उक्त बैठकले राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य पदमा पनि नियुक्ति गरेको बताईएको छ ।

दुग्ध विकास संस्थानमा झा नियुक्त

राष्ट्रपति भण्डारी पोखरामा

राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउनुभएको छ ।

न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उहाँ पोखरा आउनुभएको हो ।

उहाँ नेपाली सेनाको हेलिकप्टरमार्फत आउनुभएको हो ।

राष्ट्रपति भण्डारीलाई पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री पद्मा अर्याल, प्रदेशसभा सदस्य, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलगायतले स्वागत गर्नुभयो ।

पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरा सभागृहमा हुने सम्मेलनमा देशका ७५३ वटै पालिकाका न्यायिक समितिलाई निमन्त्रणा गरिएको उपप्रमुख एवं न्यायिक समितिका प्रमुख गुरुङले जानकारी दिनुभयो ।

महानगर, उपमहानगर, नगर, गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति रहने संवैधानिक व्यवस्था छ ।

संविधानको भाग १७ स्थानीय कार्यपालिकाअन्तर्गत धारा २१७ मा न्यायिक समितिको व्यवस्था गरिएको छ ।

कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न नगरपालिका वा गाउँपालिकाका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय समिति रहने व्यवस्था गरिएको छ ।

बाँकी दुई सदस्य नगर वा गाउँसभाबाट निर्वाचित मध्येबाट रहने व्यवस्था गरिएको छ ।

आमजनतालाई न्यायको पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ न्यायिक समिति बनाइएको हो ।

तनहुँमा कृषि गणना गरिँदै

तनहुँमा आगामी वैशाख ६ गतेदेखि १९ गतेसम्म कृषि गणना गरिने भएको छ ।

कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण सङ्कलन गर्ने उद्देश्यसहित कृषिगणना गर्न लागिएको हो ।

कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने तथ्याङ्कको खाँचो पूरा गरी योजनाविद् र नीति निर्मातालाई सघाउ पु¥याउन कृषिगणना गर्न लागिएको कार्यालय प्रमुख नवराज पोख्रेलले जानकारी दिनुभयो ।

कृषि गणनाका लागि तनहुँमा ६३ गणक परिचालन गरिनेछ । त्यस्तै १६ सुपरिवेक्षक र एक कृषिगणना अधिकृत परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

कृषि गणनामा तथ्याङ्क सङ्कलनको कार्य एउटै समयसीमाभित्र दुई चरणमा सञ्चालन गरिनेछ ।

गणक तथा सुपरिवेक्षकलाई यही चैत २५ गतेदेखि वैशाख ३ गतेसम्म तालिम सञ्चालन गरिनेछ भने २४ गतेसम्म गणक तथा सुपरिवेक्षक नियुक्ति भइसक्नेछन् ।

पहिलो चरणमा गणकद्वारा छानिएका गणना क्षेत्रका प्रत्येक व्यक्तिको घरदैलोमा पुगी तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका कृषक परिवारको सूचीकरण कार्य गरिने उहाँले पोख्रेलले जानकारी दिनुभयो ।

दोस्रो चरणमा निश्चित तथ्याङ्कीय छनोट विधिबाट सुपरिवेक्षकद्वारा छानिएका कृषक परिवारमा पुगी गणकद्वारा कृषक परिवार प्रश्नावली फारममार्फत कृषकले चलन गरेको जग्गा तथा पशुपन्छीपालन, अन्यखेती, वातावरणलगायत विविध विषयसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिनेछ ।

दोस्रो चरणमा सुपरिवेक्षकबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत छनोटमा परेका गणना क्षेत्र रहेको वडाको भौगोलिक अवस्थिति र सामाजिक आर्थिक अवस्था, सो क्षेत्रमा भएका पूर्वाधार एवं सेवासुविधा र त्यस क्षेत्रमा सञ्चालित विकास कार्यक्रमसम्बन्धी विवरण सङ्कलन गरिने बताइएको छ ।

सोही अवधिमा सुपरिवेक्षकबाट जिल्लामा सञ्चालित संस्थागत कृषि चलनको पूर्णगण्ना गरिने र गणक तथा सुपरिवेक्षकले गर्ने स्थलगत तथ्याङ्क सङ्कलन कार्यको केन्द्र, प्रदेश तथा जिल्ला तहबाट विभिन्न चरणमा सुपरिवेक्षण गरिने कार्यालय प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

जिल्लाका सबै स्थानीय तहमा गरी १६७ गणना क्षेत्रबाट करिब चार हजार १७५ कृषक परिवारको छनोट गरी गणना गरिनेछ ।

त्यसका लागि भानुमा २०, व्यासमा १८, म्याग्देमा १६, शुक्लागण्डकीमा १८ गणना क्षेत्र तोकिएको छ ।

त्यस्तै भिमादमा १७, घिरिङमा १५, ऋषिङमा १८, देवघाटमा १६, बन्दीपुरमा १५ र आँबुखैरेनीमा १४ गणना क्षेत्र तोकिएको छ ।

कृषिगणनामा घर परिवारले गरेका कृषिकार्य, संस्थागत कृषिकार्य (सरकारी, अर्धसरकारी, सहकारी, व्यवसायले गरेका कृषिकार्य), वडागत सामुदायिक कृषिसम्बन्धी क्रियाकलाप समेटिनेछ ।

घरपरिवारले गरेका कृषि कार्यको तथ्याङ्क सङ्कलन छनोट विधिमा आधारित हुनेछ ।

कृषि गणनामा कृषकले चलन गरेका जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेका जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण, कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या र आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गको आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गरिनेछ ।

कृषि वन, कृषि ऋण, बीमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्धतिको प्रयोग, माटो परीक्षण, कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहरको व्यवस्थापनजस्ता विविध विषयमा तथ्याङ्क सङ्कलन गरिने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले कृषि गणनालाई प्रभावकारी र विश्वसनीय बनाउनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठले गणक घरघरै पुगे नपुगेको अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

गठबन्धनबारे निर्णय गर्दै काँग्रेस

नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने भएको छ ।

सोमबार विहान ११ः३० मा पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने बताईएको छ ।

आजको बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने तय भएको सहभागी नेताले बताएका छन् ।

गठबन्धनको मोडालिटीबारे पछि टुंगो लागाउने गरि आज गठबन्धनकोबारे मात्र निर्णय हुने भएको हो ।

जिल्लागत भ्रमणबाट फर्किएका प्रतिनिधिको रिपोर्टिङ पछि पदाधिकारीले धारणा राखेर आजै बैठक टुंग्याउने तयारी समेत रहेको छ ।

शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म ‘घर घर जाऔं काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका ६० जना केन्द्रीय सदस्य तथा प्रतिनिधिले रिपोर्टिङ सुनाएका छन्

साथै ६ जना प्रदेश सभापतिले पनि रिपोर्टिङ सुनाएका छन् । आइतबार अभियानमा खटेका बाहेक १६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा १७ जना प्रतिनिधि र शीर्ष नेताले धारणा राख्ने कार्यक्रम तय गरिउको छ ।

मध्यपश्चिमको दीक्षान्त समारोह स्थगित

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ ।

यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिनुभयो ।

विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असारमा सम्पन्न भएको थियो ।

यसयता विश्वविद्यालयले दीक्षान्त समारोह सञ्चालन गर्न सकेको छैन ।

बालबालिकालाई विद्यालयमै टाइफाइडविरुद्धको खोप

कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिन लागिएको छ ।

बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई लगाउन लागिएको हो ।

एक भायलमा पाँच मात्रा रहेको रङविहीन तयारी झोलका रुपमा रहेको खोप एक जनालाई शून्य दशमलव पाँच एमएल दिइने निर्देशनालयका निर्देशक डा खिमबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोप योजनाका लागि प्रदेशस्तरीय योजना तथा प्रशिक्षण सम्पन्न भएर ११ जिल्लामै खोप लगाउने स्वास्थ्यकर्मीको तालिम चैत १४ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको छ ।

चैत २० गतेभित्र प्रदेशमा खोप आइपुग्ने भएकाले २१ देखि २३ गतेसम्म खोप सबै जिल्लामा पुगिसक्ने बताइन्छ ।

खोप प्रत्येक विद्यालयमा लगाउने व्यवस्था गरिने निर्देशक डा खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस खोप अभियानमा खोप लगाउनेपर्ने उमेर समूहको ठूलो हिस्सा विद्यालयमा रहने हुँदा बालबालिकाको सहजताका लागि सबै वडाका विद्यालयमा नै खोप कार्यक्रम सञ्चालन हुनेछ । यससँगै वडा कार्यालय र आवश्यक परे स्वास्थ्य संस्थामा पनि खोप लगाउने व्यवस्था गछौँ ।”

टाइफाइड खोपको प्रभावकारिता ९६.९७ प्रतिशत रहेको बताइन्छ ।

यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनेलगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन विभागका निर्देशक डा रोशन न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिलाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधिको समेत व्यवस्था गरिएको बताइन्छ ।

टाइफाइड रोकथामका लागि खोप प्रभावकारी हुने विश्वास गरिएको छ ।

विश्व स्वास्थ्य सङगठनका अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष दुई करोड मानिस बिरामी हुने गरेका छन् ।

त्यसमध्ये करिब एक लाख ६१ हजारले ज्यान गुमाउने गरेको तथ्याङ्क छ ।

नेपालमा भने प्रतिएक लाखमा एक हजार ६२ मा टाइफाइडको सङ्क्रमण दर रहेको छ भने १५ वर्षमुनिका बालबालिकामा प्रतिएक लाखमा १० हजार ९६० सङ्क्रमण दर रहेको बताइन्छ ।