पहाड पूर्वतर्फ ठेलिँदै जाँदा तीनतलेको पहिरो: भूगर्भविद्

महोत्तरीको बर्दिबास–११ खयरमाराको उपल्लो भेगस्थित तीनतलेमा गएको पहिरो अध्ययन थालिएको छ ।

गत बुधबार राति गएको पहिरोबारे स्थलगत अवलोकन गरेपछि भूगर्भविद्ले थप अध्ययनको आवश्यकता औँल्याएका हुन् ।

ललितपुरस्थित पुलचोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक इञ्जिनियरिङ भूगर्भशास्त्री प्रकाशचन्द्र घिमिरे र वातावरणविज्ञ सरोज घिमिरेले स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँगको कुराकानीमा तीनतले पहिरो गहिरो अनुसन्धानको विषय भएको जानकारी दिनुभयो ।

उहाँहरुले तीनसम्म पहिरोको स्थलगत अध्ययन गर्नुभएको थियो । “यो पाखाको माटो खुकुलिएर झरेको सामान्य प्रकृतिको पहिरो देखिँदैन”, उपप्राध्यापक प्रकाशचन्द्रले भन्नुभयो, “यहाँ नयाँ र थप अध्ययन गरिनपर्ने भौगर्भिक अनुसन्धानको चासो देखिएको छ ।”

पहिरो गएको पाहाडको शृङ्खला धकेलिएर ठेलिँदै गएर पहिरो गएको उहाँको भनाइ छ ।

“पहाडी थुम्का ठाउँठाउँमा च्यातिएको देखिन्छ, चट्टानका पत्र धजा परेका छन्”, वातावरणविद् सरोज भन्नुभयो, “पहिरो गएको पाहाडि थुम्कामा छिनछिनमा प्रकृति (आकार) फेरिँदै छ ।”

घटनास्थल नजिकका थुम्का र पाखामा ‘पट्–पट्’ आवाज आइरहने र खयरमारा खोला पश्चिमको किनार लगातार उठी रहेको वातावरणविद् उहाँको भनाइ छ ।

सबैभन्दा नयाँ कुरा पहाड पूर्वतर्फ ठेलिँदै गएको दुवै विज्ञको ठम्याइ छ । पहिरो गएको ठाउँ चुरे र तराई छुट्याउने ‘प्रगाध’ रहेको उहाँको भनाइ छ ।

तीनतले पहाडी थुम्का र त्यसको पूर्वी फेदी खयरमारा खोलाले पछिल्लो एक महिनादेखि दिनदिनैजसो रुप फेर्दै आएका खयरमाराकै बासिन्दा सामाजिक कार्यकर्ता विष्णु भण्डारीले जानकारी दिनुभयो ।

अनुगमन टोलीसँगै तीन दिन सँगसँगै रहनुभएका उहाँले एक महिना पहिले आफूले नयाँ अवस्था देखेपछि विज्ञहरुको चासोकै लागि सामाजिक सञ्जालमा तीनतले पाहाड र खयरमारा खोलाको अवस्थितिबारे तस्वीर राखेको बताउनुभयो ।

“म आफ्नै व्यवसाय प्रयोजनको भेटघाटका लागि भित्री काछ बस्तीतिर आउजाउ गरी रहन्छु”, उहाँले भन्नुभयो, “तीनतले मुनि पुग्दा ‘गडगड’ ‘पटपट’ को आवाज सुनेपछि के हुँदैछ भन्ने चासो बढेको हो ।”

एक महिनाअघि मास्तिर जाँदा र फर्कदा खयरमारा खोलाको पश्चिमी किनार र पहाडी पाखा फरक देखिएजस्तो लागेपछि यो खास परिस्थिति बन्दैछ भन्ने अड्कल भएको स्थानीयवासी भण्डारीले जानकारी दिनुभयो ।

आफूले करिब एक महिनापहिले नै त्यहाँको परिघटनाबारे सामाजिक सञ्जालमा पस्कँदै आए पनि पहिरो गइसकेपछिमात्र विज्ञको चासो बढेको उहाँले बताउनुभयो ।

सुक्खा याममा गत बुधबार मध्यरातपछि तीनतलेमा पहिरो गएको हो । विष्फोटको आवाजले तीन-चार पटक पहिरो गएको स्थानीयले बताउँदै आएका छन् ।

पहिरो गएयता पहाडी थुम्का र फेदी नजिक लगातारजसो ‘गडगड’ र ‘पटपट’ जस्तो आवाज सुनिन थालेपछि यो दैवी आपत्तिको सङ्केत भन्दै चुरे काछवासी डराएका छन् ।

घटनालाई ईश्वर रिसाएर भएको तामाङ बसोबास बाहुल्यताको काछवासीको बुझाइ छ ।

घटनास्थलको अवलोकन गर्नुभएका दुवै विज्ञले यो विशेष प्रकृतिको भौगर्भिक घटना भएको हुँदा यसबारे थप अध्ययन र अनुसन्धानको आवश्यकता औँल्याउनुभएको छ ।

“हामीले स्थलगत अवलोकनपछि समाजका विभिन्न पक्षसँग पनि अन्तक्र्रिया गरेका छौँ”, भूगर्भशास्त्री प्रकाशचन्द भन्नुभयो, “अब हामीले देखे बुझेको कुरा वरिष्ठ भूगर्भविज्ञ (वैज्ञानिक) डा मेघराज धिताल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जोखिमयुक्त पहिरो नियन्त्रण आयोजना पुलचोक ललितपुरका विज्ञलाई दर्शाउँछौँ ।”

यो गम्भीर र फरक प्रकृतिको भौगर्भिक घटना भएको हुँदा निरन्तर अध्ययन र अनुसन्धानको चासोमा पर्नुपर्ने दुवै विज्ञको ठहर छ ।

पहिरो गएयता त्यसअघिको ५० मिटरभन्दा फराकिलो खयरमारा खोलाको चौडाइ साँघुरिएर १० मिटरमा झरेको छ ।

खोलाको भाग खोच बन्दै गएको, पहाडी थुम्का लगातार ठेलिँदै पूर्वतर्फ धकेलिएको र चट्टानमा धजा पर्ने क्रम जारी नै रहेको हुँदा यसले थप जोखिम बढाएको घिमिरेद्वयको निष्कर्ष छ ।

“चुरे काछका १० भन्दा बढी बस्ती त जोखिममा देखिए नै” उहाँले भन्नुभयो, “करिब तीन किलोमिटर दक्षिणको खयरमारा बजार पनि जोखिम बाहिर छैन ।”

अहिले सुक्खायाममै गएको पहिरो बर्खा आउनुअघि समुचित व्यवस्थापन नगरिए अकल्पनीय विपत्ती आइपर्न सक्ने विज्ञद्वयको ठम्याइ छ ।

खयरमारा उत्तरका चुरे काछका पाखा र फेदीका चौरमा गरी १० भन्दा बढी बस्ती छन् ।

बर्दिबास–१० र ११ मा पर्ने यी बस्तीका बासिन्दा पहिरो गएयता राम्ररी निदाउन सकेका छैनन् ।

पहिरोबारे सामाजिक सञ्जाल, छापा र विद्युतीय सञ्चारमाध्यममा लगातार समाचार प्रसारण/प्रकाशन भइरहे पनि जनप्रतिनिधिमूलक र प्रशासनिक निकाय अवस्था हेर्नसम्म पनि नआएका खयरमारा–११ का बासिन्दा स्थानीय सामाजिक कार्यकर्ता विष्णु भण्डारीको गुनासो छ ।

अब काठमाडौँबाट आएको भूगर्भविज्ञ र वातावरणविज्ञको अवलोकन र अध्ययनले सम्बद्धपक्षको चासो बढाइदिने खयरमारावासीले आश सङ्गालेका छन् ।

मैयादेवीलाई लोकतान्त्रिक योद्धा सम्मान

सामाजिक तथा राजनीतिक व्यक्तित्व मैयादेवी श्रेष्ठलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गरिएको छ ।

प्रजातान्त्रिक विचार समाज केन्द्रीय समितिले आज उहाँलाई सम्मान गरेको हो ।

केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीको नेतृत्वमा यहाँ आएको केन्द्रीय पदाधिकारी, जिल्ला समिति, नेपाली कांग्रेस चितवनका सभापतिसहितको उपस्थितिमा उहाँकै निवासमा सम्मान गरिएको हो ।

शारीरिक अस्वस्थताका कारण ९४ वर्षीया श्रेष्ठलाई समाजले निवासमै सम्मान गरेको हो ।

श्रेष्ठलाई सम्मान गर्दै केसीले सामाजिक र राजनीतिक क्षेत्रमा उहाँको योगदानको चर्चा गर्नुभएको थियो ।

युवादेखि अहिलेसम्म उहाँ पार्टी र समाजमा पु¥याएको योगदान अहिलेको पुस्ताले भुल्न नहुनेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो “अहिले उहाँले चाहेर पनि सक्नुहुन्न, सक्ने समयमा हामीले समाजलाई जे सक्छौं, त्यो दिनुपर्छ ।”

समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले पार्टीदेखि पत्रकारसम्म श्रेष्ठले पु¥याएको सहयोगको चर्चा गर्नुभयो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बोल्न सक्ने अवस्थासम्म श्रेष्ठले जहिले भेट्दा पनि नयाँ र ऊर्जाशील कुरा भन्ने गरेको बताउनुभयो ।

हालसम्म विभिन्न सामाजिक सङ्घसंस्थालाई अहिले बजार मूल्य हेर्दा रु एक अर्बभन्दा बढी भौतिक सम्पत्ति दान गरिसकेको छोरा टङ्कनाथ पौडेलले जानकारी दिनुभयो ।

सो अवसरमा समाजका केन्द्रीय उपाध्यक्ष डा ईश्वरीप्रसाद लौडारी, महासचिव गोकर्ण अर्याल, समाजका बागमती प्रदेश संयोजक भरतप्रसाद दवाडी, लुम्बिनी प्रदेश संयोजक शङ्कर विवस मजगैया, समाजका जिल्ला अध्यक्ष डा देवीप्रसाद कँडेललगायतले श्रेष्ठको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

श्रेष्ठलाई समाजले सम्मानसँगै दिएको नगद रु २५ हजारमा थप गरी रु एक लाख ११ हजार १११ समाजको जिल्ला समितिलाई छोरा पौडेलले अक्षयकोष स्थापनाका लागि उपलब्ध गराउनुभएको थियो ।

केन्द्रीय समितिले २०७७ को सम्मान श्रेष्ठलाई अर्पण गरेको हो ।

विसं २०६७ को नुतन थपलिया, २०७५ को पुरुषोत्तम बस्नेत, २०७४ को चक्रप्रसाद बाँस्तोला, २०७३ को इन्द्रकान्त मिश्र र २०७२ को कुलबहादुर गुरुङलाई प्रदान गरेको थियो ।

श्रेष्ठले नेपाली कांग्रेस केन्द्रीय कार्यालय, जिल्ला कार्यालय, वडा कार्यालयका लागि भवन बनाउन जग्गा उपलब्ध गराउनुभएको छ ।

यसैगरी उहाँले नेपाल प्रेस युनियन चितवन शाखासहित विभिन्न सङ्घसंस्था र व्यक्तिलाई जग्गा दान गर्नुभएको छ ।

उहाँकै नामबाट भरतपुरमा सुश्री मैयादेवी कन्या कलेज सञ्चालनमा छ ।

शेयर बजार : नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

शेयर बजार : नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार अघिल्लो कारोबार दिनका तुलनामा आज बजार १.५९ प्रतिशतले घटेको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९५ प्रतिशतले घटेको छ ।

यस्तो परिसूचक ९.५५ अङ्कले ओरालो लागेर ४७९.३९ पुगेको छ ।

आज २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर रु चार अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

निर्जीवन बीमाबाहेक सबै उपसमूहका शेयर मूल्यमा गिरावट

नेप्सेका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहका शेयर मूल्य घटेका छन् भने निर्जीवन बीमा उपसमूह मात्रै बढेको छ ।

निर्जीवन बीमा उपसमूह १३३.३५ अङ्कले बढ्दा, बैंकिङ २१.०२, व्यापार ५५.८२ होटल तथा पर्यटन ६६.४२, विकास बैंक १४५.६८, जलविद्युत् ७६.०६, वित्त ६२.२५, उत्पादन १४५.७९, अन्य ९३.६५, लघुवित्त ३९.७१, जीवन बीमा ९८.६१, सामूहिक लगानी कोष ०.१३ र लगानी १.३७ अङ्कले ओरालो लागेका छन् ।

आजको बजारमा कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ ।

यो कम्पनीको रु २७ करोड ५६ लाख ७४ हजार ३९३ मूल्य बराबरको कारोबार भयो ।

यस्तै गुँरास लाइफ इन्सुरेन्सको रु १७ करोड ५१ लाख दुइ हजार ८६०, एभरेष्ट इन्सुरेन्स कम्पनीको रु १६ करोड ३१ लाख ४७ हजार ६७, सूर्य लाइफ इन्सुरेन्स कम्पनीको रु १६ करोड २९ लाख २२ हजार ७२८ र प्रभु इन्सुरेन्स कम्पनीको संस्थापक शेयर रु १५ करोड ३३ लाख ४० हजार बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

आजको कारोबारमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

इमर्जिङ नेपाल लिमिटेडको ९.९९, राष्ट्रउत्थान लघुवित्त संस्था ९.९९, सानिमा जनरल इन्सुरेन्स ९.६७ र जनरल इन्सुरेन्स कम्पनीको शेयरमूल्य ९.६५ प्रतिशतले बढेको छ ।

उता मल्टीपर्पस फाइनान्स कम्पनीको शेयर मूल्य भने ५.५ प्रतिशले घटेको छ ।

नारायणी डेभलपमेण्ट बैंक ५.२५, नेरुडे लघुवित्त वित्तीय संस्था ४.८६, मञ्जुश्री फाइनान्स ४.८१ र युनाइटेड मोदी हाइड्रोपावरको शेयर मूल्य ४.६८ प्रतिशतले घटी शीर्ष पाँचमा परेका छन् ।

शेयर बजार : नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काँग्रेस केन्द्रीय समिति बैठकमा छलफल जारी

स्थानीय तह निर्वाचनका सन्दर्भमा काँग्रेस केन्द्रीय समिति बैठकमा छलफल जारी रहेको छ ।

शुक्रबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आइतबार पनि छलफलको क्रम जारी रहेको हो ।

आइतबार दिउँसो बसेको बैठकले घरघर जाऔं काँग्रेस जिताऔँ अभियानबाट फर्किएका प्रतिनिधिले बिफ्रिङ गरिरहेका छन् ।

शुक्रबार २० जना प्रतिनिधिले आफू खटेको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका थिए ।

सोही दिन ६ वटा प्रदेश सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बैठकमा धारणा राखेका थिए ।

आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा केन्द्रीय तहबाटै गर्ने कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल केन्द्रित छ ।

अधिकांश केन्द्रीय प्रतिनिधिले स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने पक्षमा राय राखेको पाएको छ ।

बैठकमा चुनावी गठबन्धन र घोषणापत्रबारे छलफल भइरहेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

यस्तै स्थानीय तहका उम्मेदवार छनोटका लागि संसदीय बोर्ड गठन गर्ने बैठकको एजेण्डा छ ।

महामन्त्री गगन थापा नेतृत्वको ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’लाई पूर्णता दिइनेछ ।

सर्लाहीमा बस दुर्घटनामा चारको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस तल खस्दा चारको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

वीरगन्जदेखि जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नं को बस आज मध्यान्ह सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताइए पनि अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

घाइतेको लालबन्दी, नवलपुर र हरिवनमा उपचार भइहरको छ ।

गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र बाहिर पठाउने क्रम चलिरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसका चालकसमेत घाइते भएका छन् ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्ताल मलङ्गवमा ल्याइएको छ भने मृतक तथा घाइतेहरुको पहिचानको काम भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

विआरआई अन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह

नेकपा (एमाले) ले बेल्ट एण्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ ।

नेपालको त्रिदिवसीय भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटका क्रममा सो आग्रह गरिएको हो ।

एमाले नेता राजन भट्टराईले आज यहाँ भएको भेटवार्ताका क्रममा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रुपमा फर्कने वातावरण बनाइदिन आफूहरुले आग्रह गरेको जानकारी दिनुभयो ।

कोरोना कहरका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति एमालेले धन्यवाद दिएको थियो ।

तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि एमालेले चिनियाँ विदेशमन्त्री वाङलाई आग्रह गरेको थियो ।

एमालेले गरेको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रुपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।

विआरलगायतका परियोजनासँग जोडिएका विषयलाई अगाडि बढाउन र त्यसलाई नियमित गर्न चीन सरकारका तर्फबाट सहयोग रहने विदेशमन्त्री वाङको भनाइ थियो ।

भेटवार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताको सहभागिता थियो ।

चिनियाँ विदेशमन्त्री वाङले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शिष्टाचार भेट गर्नुभएको थियो ।

शनिबार साँझ वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो ।

त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो ।

सोही क्रममा विभिन्न नौ बुँदे समझदारी गरिएको थियो ।

‘स्वास्थ्य नीति, व्यवस्थापन र प्रविधि’मा पहिलो पटक स्नातकोत्तर पढाइ हुँदै

काठमाडौँ-कोभिड–१९ को महामारी फैलिएपछि सुरुका समयमा जनस्तरमा छाएको त्रास मेटाउन सरकार र विज्ञ पक्षले कोसिस गरे पनि समाजमा अनेक भ्रमको सञ्चार गराइएको थियो ।

के गर्ने, के नगर्ने भन्ने जनस्वास्थ्यको प्राविधिक ज्ञानको अभाव त छँदै थियो, त्यसका साथै कतिपय सञ्चारमाध्यममा आउने अपुष्ट समाचारले झन् अन्योल सिर्जना गराएको थियो ।

यस स्थितिको अवलोकन गरिरहेको मनमोहन प्राविधिक विश्वविद्यालयले यस्ता स्वास्थ्य महामारीका अवस्थामा पनि जनस्तरमा नियमित स्वास्थ्यको ज्ञान, सीप र चेतना फैलाई सेवा दिन सक्ने नयाँ जनशक्ति उत्पादनको योजना अघि सारेको थियो ।

मुलुक सङ्घीय संरचनामा आधारित गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि बनेको प्रदेश नं १ सरकारले सो प्रदेशको आर्थिक उन्नति, प्रगति र समृद्घिका लागि चाहिने दक्षप्राविधिक जनशक्ति उत्पादन गर्ने मनसायले स्थापना गरेको विश्वविद्यालयले स्नातकोत्तर तहमा ‘स्वास्थ्य नीति, व्यवस्थापन र प्रविधि’ विषयको अध्यापनका लागि कोर्स तयार गरेको छ ।

स्वास्थ्य क्षेत्रमा कार्यरत र भाविष्यमा सो क्षेत्रमा जान चाहनेहरुका साथै मेडिकल सुपरिटेण्डेन्टहरुका लागि यो कोर्स उपयोगी हुन सक्नेछ ।

विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले गफ गर्न सक्नेभन्दा पनि काम गरेर खान सक्ने कला सिकाउन आफूहरुले समग्र प्रयास गरिरहेको र विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत ‘स्वास्थ्य नीति, व्यवस्थापन र प्रविधि’सम्बन्धी नयाँ कोर्स तयार गरिएको र आगामी जेठदेखि कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

प्राविधिक शिक्षालाई गुणस्तरीय, वैज्ञानिक तथा जीवनोपयोगी बनाउने आदर्शबाट स्थापित मनमोहन स्मृति पोलिटेक्निक, बुढीगङ्गा–४, मोरङको सफल सञ्चालन र पठनपाठन प्रक्रियाबाट अभिप्रेरित भई पोलिटेक्निकलाई स्तरोन्नति गरेर सोही स्थानमा प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा प्रदेश नं. १ सरकारले विस २०७६ असोज १६ गतेको प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरेको थियो ।

उपकुलपति डा पोखरेलले आत्मनिर्भर भई आफ्नै उत्पादनमा रमाउने, आफ्नो व्यवसाय गर्ने र आफ्नै कमाइ गरेर गरी खाने संस्कृतिको विकास नहुनुमा हालसम्म प्राथमिकता दिइएको औपचारिक शिक्षा नै भएकाले प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षाको अवसर सीमित भएकै कारण देश विकासमा पछाडि परिरहेको बताउनुभयो ।

“देश विकासको मुख्य आधार शिक्षा प्रणाली हो ।

देशका युवालाई प्राविधिक शिक्षामा दक्ष बनाउन सके परनिर्भरता अन्त्य हुनुका साथै देश विकासको महाअभियान पनि सफल हुनेछ ।

उत्पादनमुखी शिक्षा प्रणालीमा दीक्षित, व्यवहारिक र आत्मनिर्भरता तर्फ उन्मुख जनशक्तिले मात्रै मुलुक रूपान्तरण हुने भएकाले प्राविधिक शिक्षा अहिलेको अपरिहार्य आवश्यकता भएको छ”, डा पोखरेलले भन्नुभयो ।

सो विश्वविद्यालयका हरेक कोर्सको पचास प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगमूलक हुने गरेका छन् ।

उक्त कोर्स तर्जुमा समितिका संयोजक डा सुजन बज्राचार्यका अनुसार मेडिकल र व्यवस्थापनका पक्षसहितको नयाँ चेतनायुक्त कार्यक्रम भएकाले यसले विद्यार्थीलाई स्वास्थ्य सेवाको व्यवस्थापकीय ज्ञान, सूचना र अनुभव दिलाउने जनाउनुभयो ।

सो विश्वविद्यालयमा विभिन्न कोर्सको तर्जुमामा संयोजन गर्दै आएका डा दीपेन्द्र श्रेष्ठले यस प्रकारको पढाइ हालसम्म नभएको र अध्ययनका आधारमा यसको आवश्यकता बोध गरी कोर्स तर्जुमा गरिएको बताउनुभयो ।

विश्वविद्यालयले मुलुकको सर्वाङ्गीण विकासको लागि आवश्यक पर्ने उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने, बहुप्राविधिक विश्वविद्यालयको अवधारणा अनुरुप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त, उपलब्धिमूलक र अन्तर्राष्ट्रिय विकासक्रमसँग आवद्ध गर्न सक्ने मानव संशाधन विकास गर्न र विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र सीपका साथै सान्दर्भिक अनुसन्धानलाई व्यापक एवं व्यवहारिक र समय सापेक्ष बनाउने उद्देश्य लिएको छ ।

सो विश्वविद्यालयअन्तर्गतको मनमोहन स्मृति पोलिटेक्निकमा डिप्लोमा तहका छ वटा विषयमा क्रमश: सिभिल, इलेक्ट्रिकल, मेकानिकल, इलेक्ट्रोनिक्स, आर्किटेक्चर र इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इञ्जिनीयरिङ विषय सञ्चालन भइरहेका छन् । विश्वविद्यालयमा हाल ७२० विद्यार्थी अध्यनरत छन ।

यी कार्यक्रमका अतिरिक्त पोलिटेक्निकले मागमा आधारित छोटो अविधिको सीपमूलक तालिम (३९० घण्टा, १६९६ घण्टा र २४ महिने औद्योगिक प्रशिक्षण) प्रदेश नं. १ को विभिन्न जिल्लामा सञ्चालन गरी युवालाई आत्मनिर्भर बनाउने काममा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

विश्वविद्यालयमा छ वटा स्कुल क्रमशः स्कुल अफ इञ्जिनीयरिङ, स्कूल अफ एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कूल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज सञ्चालन हुनेछन् ।

पहिलो पाँच वर्षे योजना अन्तर्गत आव २०७८/२०८२ सम्ममा क्रमशः सिभिल इञ्जिनियरिङ, आर्किटेक्चर इञ्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, कम्प्युटर/सूचना प्रविधि इन्जिनियरिङ्मा बीई कार्यक्रमका साथै ब्याचलर ईन मेडिकल ल्याबोरोटरी टेक्नोलोजी, ब्याचलर ईन पब्लिक हेल्थ, बीएससी ईन फार्मेसी, एमएससी. ईन स्ट्रक्चरल इञ्जिनियरिङ, एमएससी ईन पावर सिस्टम इञ्जिनियरिङ, एमएससी ईन इन्भाइरोमेन्टल हेल्थ एण्ड सेफ्टी, एमएससी ईन नेचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड डेभलप्मेन्ट र एम.एस.सी. ईन हेल्थ पोलिसी, इनोभेसन एण्ड म्यानेजमेन्ट गरी ७ वटा स्नातक र ५ वटा स्नातकोत्तर विषयहरु सञ्चालन गरिने लक्ष्य रहेको छ ।

यी कार्यक्रमबाट कूल १४८० जना विद्यार्थी लाभान्वित हुनेछन् ।

दोस्रो पाँच वर्षे योजना अन्तर्गत आव २०८३/२०८७ सम्ममा क्रमशः ब्याचलर ईन बायोमेडिकल इञ्जिनियरिङ, बी, ई ईन मेकानिकल वा अटोमोबाइल इञ्जिनियरिङ, बीएससी. ईन एग्रिकल्चर/फरेस्ट्री, बीएससी ईन अप्टोमेट्री, ब्याचलर अफ होटल म्यानेज्मेन्ट, एमविविएस गरी स्नातक तहमा छ वटा कार्यक्रम, स्नातकोत्तर तहमा ट्रान्सपोर्टेसन वा टनेल इञ्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनियरिङ, फार्मेसी, पब्लिक हेल्थ, केमिकल टेक्नोलोजी गरी ५ वटा विषयमा र विधावारिधि तर्फ स्ट्रक्चरल इञ्जिनियरिङर ट्रान्सपोर्टेसन इञ्जिनियरिङ, पब्लिक हेल्थ, इलेक्टिकल इञ्जिनियरिङ, इन्भाइरोमेन्टल हेल्थ एण्ड सेफ्टी र न्याचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड डेभलपमेन्ट गरी थप पाँच वटा विषयमा विधावारिधि सञ्चालन गरिने लक्ष्य रहेको छ ।

सबै कार्यक्रम सञ्चालन भएपछि कूल २८३१ जना विद्यार्थी लाभान्वित हुने विश्वविद्यालयले जनाएको छ ।

अब पोखरा अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिने छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताउनुभएको छ ।

चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उहाँले भन्नुभयो, “नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो, अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ, यो विमानस्थलले पोखरालाई विश्वमाझ पु¥याउने छ ।”

मन्त्री आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन थप टेवा पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोखरा संसारका पर्यटकहरूको आकर्षणको केन्द्र हो, आफ्नो व्यस्ताबाहेक मलाई लाग्छ नेपाल आएको पर्यटक पोखरा नपुगी फर्किन मान्दैन, त्यसैले अब यो विमानस्थलले पोखरा आउन चाहने पर्यटकका लागि सहजता प्रदान गर्नेछ ।”

उहाँले पोखरेली र पोखराका पर्यटन व्यवसायीलाई बधाई दिँदै पोखरामा अब ठूला होटल निर्माण गर्न र पर्यटन प्रवद्र्धनका प्याकेज कार्यक्रम ल्याउन पनि आग्रह गर्नुभयो ।

मन्त्री आलेले भन्नुभयो, “पोखराजस्तो सुन्दर पर्यटकीय स्थान पोखरेलीहरूलाई प्रकृतिको सुन्दर बरदान हो, यसलाई थप सुन्दर बनाउन यो विमानस्थलले यहाँहरूलाई सहयोग गर्नेछ ।

अब यहाँहरुले बढीभन्दा बढी होटल खोल्नुहोस्, बढीभन्दा बढी पर्यटक भित्र्याउनुहोस् र यहाँको पर्यटन क्षेत्रको विकासमा तपाईँहरू नै लाग्नुहोस्, सरकारको सहयोग के चाहिन्छ हामीलाई भन्नुहोस् ।”

मन्त्री आलेले पोखरामा अब विश्वका पर्यटक आउने भएकाले पाँचतारे मात्र नभएर साततारेसम्मका होटल खोल्न पनि आग्रह गर्नुभयो ।

ठूला होटल तथा क्यासिनो खोल्नका लागि पर्यटन मन्त्रालयले आवश्यक सहयोग गर्नेसमेत मन्त्री आलेले जानकारी दिनुभयो ।

पर्यटकहरूलाई आवश्यक पर्ने अन्य पूर्वाधार, साहसिक पर्यटकीय पूर्वाधार तथा मनोरञ्जनका अन्य पूर्वाधार निर्माण गरी यहाँ आउने पर्यटकलाई धेरै दिन बास बसाल्न सक्ने कार्यक्रम ल्याउन मन्त्री आलेले पोखराका पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो ।

उहाँले पोखराको पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकार र आफू व्यक्तिगतरूपमा पनि सधैँ तत्पर रहेको बारम्बार दोहोर्‍याउनुभएको थियो ।

पोखरामा थप पर्यटक भित्र्याउनका लागि यहाँ रहेको रत्नमन्दिर खुलाउनका लागि यहाँका नागरिकले आग्रह गरेकाले मैले सम्बन्धित निकायमा खबर गरी उक्त मन्दिरको ढोका खोल्न भनेको र अब त्यो पनि खुल्ने जानकारी उहाँले दिनुभयो ।

मन्त्री आलेले हामी यहाँबाट अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्दा टनकपुर हुँदै दिल्ली जाने र फर्किँदा उक्त रुट हाम्रा जहाजले नपाउने भएकाले आफूले भारतको हैदरावादमा गएर त्यहाँका आफ्ना समकक्षी आदित्यनारायण सिन्धियासँग लिमा सिक्स टु सिक्स एकतर्फी नभइ दुइतर्फी बनाउन आग्रह गरेको र उहाँ सकारात्मक रहेको जानकारी पनि दिनुभयो ।

पोखारा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोग गर्ने पोखरावासीलाई मन्त्री आलेले धन्यवाद दिनुभयो ।

उहाँले मुलुकको पर्यटन क्षेत्रको विकासमा गतिला इँटा थपिने काम हुँदै गएको बताउनुभयो ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अबका केही दिनमै सञ्चालनमा आउने काम महत्वपूर्ण र ऐतिहासिक भएको भन्दै नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा यी दुई विमानस्थलनले ठूलो टेवा पुर्‍याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना महामारीका कारण विश्वकै पर्यटन बजार गएको कम्तीमा तीन वर्षदेखि ठूलो मारमा परेको छ र हामी पनि महामारीको चपेटामा परेका छौँ, तर अब महामारी सकिएसँगै हिजोको घाटा पूर्ति गर्ने गरी काम गर्नुपर्छ, मुलुकको पर्यटन क्षेत्रलाई जुरुक्क उठाउनुपर्छ, त्यसका लागि म पनि लाग्छु, यहाँहरू पनि लाग्नुहोस् ।”

मन्त्री आलेले सम्झिनुभयो स्व रवीन्द्र अधिकारी

सोही कार्यक्रममा मन्त्री आलेले पोखरा विमानस्थल निर्माणको जग बसाल्न लागिपरेको भन्दै तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पनि स्मरण गर्नुभयो ।

सो विमानस्थल निर्माण सम्पन्न हुनुमा पूर्वमन्त्री अधिकारीको ठूलो योगदान रहेको उहाँले बताउनुभयो ।

मन्त्री आलेले भन्नुभयो, “यो विमानस्थल निर्माण गर्न स्व अधिकारीको सहयोग कहिल्यै बिर्सिन हुँदैन ।

विकासप्रेमी मेरा परममित्र रवीन्द्रजीको देनले हामीले यो विमानस्थल निर्माण सम्पन्न गराउन सफल भएका छौँ, उहाँलाई हामीले कहिले बिर्सिनु हुँदैन ।”

अध्यक्ष प्रचण्ड र गृहमन्त्रीबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच आज भेटवार्ता भएको छ ।

बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाट भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचन र मुलुकको शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे छलफल भएको जनाइएको छ ।

सरकारले आगामी वैशाख ३० मा स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाँणले सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नुभएको हो ।

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन चुनावी तालमेल गरेर अगाडि बढ्ने विषयमा छलफल पनि भइरहेको छ ।

११ अर्ब ४० करोड चिनियाँ सहयोग

चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो ।

यसैबीच नेपालको भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्तामा उहाँले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

साथै उहाँले रसुवागढी–तातोपानी सीमानाका वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्णरूपमा सञ्चालन गर्न सहमति जनाउनुभएको छ ।

वार्ताका क्रममा दुवै देशका परराष्ट्र मन्त्रीले सम्वद्ध निकायलाई सीमानाका शीघ्र सञ्चालन गर्न आवश्यक तयारीका निम्ति निर्देशन दिइसक्नुभएको छ ।

चिनियाँ विदेशमन्त्रीले नेपाली विद्यार्थीलाई चाँडोभन्दा चाँडो चीन फर्काउने आश्वासन पनि दिनुभएको थियो ।

स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ ।

निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय सङ्घसंस्था र व्यक्तिबाट निर्वाचन पर्यवेक्षण गराउन निवेदनका लागि आयोगले आजदेखि लागू हुने गरी १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

निर्वाचनमा तेस्रो पक्षबाट गरिने निर्वाचनको विधि र प्रक्रियाको अवलोकन गर्ने कार्यलाई निर्वाचन पर्यवेक्षण भनिन्छ ।

निर्वाचनको पर्यवेक्षण गर्न चाहने संस्थाले निवेदनका साथ संस्था दर्ता प्रमाणपत्र, नवीकरण भएको निस्सा, विधान र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि पेश गर्नुपर्ने छ ।

संस्थाका कार्यसमितिका पदाधिकारीको नामावली, पर्यवेक्षणको अनुभव भए सोको प्रमाण तथा संस्थाले तयार गरेको पुस्तिका र निर्देशिका प्रति पेश गर्न भनिएको छ ।

यद्यपि कुनै सङ्घसंस्थालाई पर्यवेक्षण गर्न अनुमति दिने वा नदिने भन्ने अघिकार आयोगमा निहित छ ।

निर्वाचनको पर्यवेक्षण गर्न चाहने व्यक्ति वा संस्थाले निर्धारित प्रक्रिया पूरा गरी अनुमति लिनु पर्नेछ ।

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा भएको छ भन्ने सुनिश्चित गर्न पर्यवेक्षण गराउने अन्तर्राष्ट्रिय अभ्यास छ ।

निर्वाचन पर्यवेक्षणले निर्वाचनको वैधता र निर्वाचन व्यवस्थापन गर्ने निकायको विश्वासनीयता अभिवृद्धिमा सहयोग पु¥याउँछ ।

निर्वाचनलाई स्वच्छ र निष्पक्ष तुल्याउन निर्धारण गरिएका प्रक्रिया र मापदण्ड पालना भए/नभएको सुनिश्चित गर्न तथा निर्वाचन प्रक्रियालाई पारदर्शी तुल्याइ परिणाम स्वीकार्य बनाउन निर्वाचन पर्यवेक्षण गर्ने गराउने चलन छ ।

निर्वाचन पर्यवेक्षणले मुख्य सरोकारवालासँगको समन्वय र सहभागिता प्रवद्र्धन सहयोग पुर्‍याउनका साथै निर्वाचनको साख अभिवृद्धि र सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने आयोगले जनाएको छ ।

पर्यवेक्षण अनुमति पाएका सङ्घसंस्था र व्यक्तिले निर्वाचन सकिएको १५ दिनभित्र प्रारम्भिक र कार्य समाप्त भएको ३० दिनभित्र आयोगसमक्ष अन्तिम प्रतिवेदन पेश गर्नुपर्ने छ ।

तोकेको कार्यविधि र आचारसंहिता पालना नगरी पर्यवेक्षण गर्नेको अनुमति रद्द गर्न सक्ने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ ।

पर्यवेक्षण संस्थाका कर्तव्य

आयोगबाट अनुमति नलिई पर्यवेक्षण नगर्ने नगराउने तथा पर्यवेक्षक खटाउँदा समावेशी नीतिलाई अवलम्बन गर्नुपर्ने संस्थाको कर्तव्य हुनेछ ।

संस्थाले पर्यवेक्षकलाई तालिम, सपथ, परिचयपत्रको व्यवस्थासहित हिमाल, पहाड र तराई सबै क्षेत्र समेट्ने गरी खटाउन पर्नेछ ।

पर्यवेक्षकले निर्वाचनका विषयमा स्वतन्त्रतापूर्वक संवाद गर्ने, आचारसंहितभित्र रही निर्वाचनका विषयमा प्रष्ट हुने र अधिकार क्षेत्रसम्बन्धी जानकारी लिनुपर्ने हुन्छ ।

निर्वाचन प्रचार अभियान, मतदाताको निर्वाध आवतजावत, संवेदनशील निर्वाचन सामग्रीको ओसारपसार, मतदान प्रक्रिया, मतगणना, निर्वाचन परिणाम र सञ्चारमाध्यममा पहुँचबारे पनि पर्यवेक्षकले विशेष ध्यान पुर्‍याउनुपर्छ ।

निष्पक्ष, तटस्थ र विश्वसनीय पर्यवेक्षण गर्नुपर्ने भएकाले पर्यवेक्षकले सबै सम्प्रदाय र जातजातिको सम्मान गर्नुपर्ने छ ।

उम्मेदवार र दल विशेषका बारेमा टिकाटिप्पणी गर्न भने पाइने छैन ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक

निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ ।

उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने सूचनामा उल्लेख छ ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्ने छ ।

निर्वाचन अधिकृत भन्नाले निर्वाचनको कामका लागि आयोगले नियुक्ति गरेको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत समेतलाई जनाउँछ ।

स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने व्यवस्था छ ।

स्थानीय तह निर्वाचनका हकमा न्यायाधीश र न्याय सेवाका राजपत्राङ्कित अधिकृतलाई मात्र नियुक्ति गर्न नसकिएमा निजामती सेवाभित्रका अन्य सेवाका अधिकृतलाई समेत निर्वाचन अधिकृतमा खटाउन सकिने छ ।

निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुनेछ ।

निर्वाचन कार्यक्रमअनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी हो ।

चीनका विदेशमन्त्री काठमाडौंमा

काठमाडौं- चीनका विदेशमन्त्री नेपाल आईपुगेका छन् ।

चीनका विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् ।

तीन दिने भ्रमणका लागि वाङ शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

बिहीबार नै भारत पुगेका वाङ त्यहाँको भ्रमण सकेर विशेष विमानमार्फत् नयाँदिल्ली हुँदै काठमाडौं आएका हुन्।

विदेशमन्त्री वाङलाई स्वागत गर्न परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदीलगायत विमानस्थल पुगेका थिए।

अफगानिस्तान, पाकिस्तान र भारत भ्रमण पूरा गरी वाङ नेपाल आएका हुन्।

उनले आज चिनियाँ राजदुतावासमा ब्रिफिङ लिएपछि शनिबार र आइतबार उच्चस्तरीय भेटवार्ता गर्नेछन्।

उनले समकक्षी डा.नारायण खड्कासँग शनिबार दुईपक्षीय वार्ता गर्नेछन्।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विदेश मन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्कनेछन् ।

वीरगञ्ज क्षेत्रका उद्यमी व्यवसायीको समस्याप्रति सरकारको ध्यानाकर्षण

मुलुकको ठूलो औद्योगिक लगानी भएको तथा कूल राष्ट्रिय राजस्वको झण्डै ५० प्रतिशतको योगदान पुर्‍याउने वीरगञ्ज क्षेत्रमा रहेका समस्याको समाधानका लागि त्यहाँका उद्योगी व्यवसायीले सरकारको ध्यानाकर्षण गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी वीरगञ्ज क्षेत्रका उद्यमी व्यवसायीको समस्या सिङ्गो निजी क्षेत्रको समस्याको रुपमा रहेकाले त्यसलाई आत्मसात् गर्दै र त्यसको समाधानका उपायसमेतको सुझाव कार्यान्वयन गराउन सरकारका विभिन्न निकायसँग आग्रह गरिएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेको एक भ्रमण टोलीले यसै साता प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालगायत वाणिज्य तथा आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डेय, राजस्व सचिव कृष्ण हरि पुष्कर, गभर्नर महाप्रसाद अधिकारी, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, भन्सार विभागका महानिर्देशक कमलप्रसाद पौडेल, राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेल, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशमान शाक्य र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँग भेटघाट तथा छलफल गरेको थियो ।

ती भेटघाट र छलफलमा सङ्घले राखेका सुझावको बारेमा पत्रकार सम्मेलनमा अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाटको क्रममा सङ्घले बारा पर्सा औद्योगिक कोरिडोरलाई औद्योगिक कोरिडोरको रुपमा घोषणा तथा नयाँ औद्योगिक क्षेत्रको स्थापना, द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल, ह्यापी बोर्डरको अवधारणा र औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्नुपर्नेलगायतका विषयमा विभिन्न सुझाव प्रस्तुत गरिएको थियो ।

गृहमन्त्री खाँणसँगको भेटघाटको क्रममा सीमा सुरक्षा बैठकको नियमितता, नगद रकमको आधिकारिकता, र सिसिटिभीको सञ्चालनका लागि कोषको व्यवस्था गर्न माग गरिएको थियो ।

त्यस्तै अर्थमन्त्री शर्मासँगको भेटघाटको क्रममा आयकर छुटको सीमामा समयानुकूल परिमार्जन गर्न, मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू गर्न, बिलबिजकलाई मान्यता दिन, विदेशी मेसीनरी पार्ट भारतबाट आयात गर्ने व्यवस्था गर्न, सुक्खा बन्दरगाहको पूर्वाधारको विकास र विस्तार गर्नलगायत विभिन्न सुझावहरु पेश गरिएको थियो ।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडासँगको भेटघाटको क्रममा म्याद सकिएका औषधिको व्यवस्थापन गर्न र औषधि विकास परिषद्को गठन गर्न आग्रह गरिएको थियो ।

टोलीले वाणिज्य तथा आपूर्ति सचिव डा पाण्डेयसँगको भेटघाटको क्रममा एकीकृत जाँचचौकीको समस्या समाधान गर्न सुक्खा बन्दरगाहको पूर्वाधारको विकास र विस्तारमा जोड दिइएको थियो ।

राष्ट्र बैंकको गभर्नर अधिकारीसँगको भेटघाटको क्रममा हाल देखिएको तरलताको अभाव, रेमिट्यान्स, कृषिमा लगानी, भारतीय मुद्राको सहजता, उधारोमा कारोबार हुँदाको समस्या, पुँजीगत खर्च अभाव, क्रेडिट एक्ट ल्याउनुपर्नेलगायतका सुझाव प्रस्तुत गरिएको अध्यक्ष डा गुप्ताले जानकारी दिनुभयो ।

उहाँले भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक विभागका महानिरीक्षकहरुसँग कर तथा राजस्वका क्षेत्रमा रहेका समस्या र तिनको समाधानका उपायका बारेमा सुझाव दिएको थियो भने सुरक्षा निकायका प्रमुखसँगको भेटमा सुरक्षा प्रणालीलाई चुस्त र व्यवस्थित बनाउन विभिन्न सुझावका बारेमा छलफल भएको बताउनुभयो ।

पूर्ण नभए आंशिक तालमेल हुन्छ गठबन्धन टुट्दैन : प्रवक्ता खतिवडा

पूर्ण नभए आंशिक तालमेल हुन्छ गठबन्धन टुट्दैन : प्रवक्ता खतिवडा

नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र पूर्ण तालमेल नभए आंशिक तालमेल हुने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले भन्नुभयो, ‘‘हामी गठबन्धनमा आवद्ध सबै दलबीच तालमेल गर्ने प्रयास गरिरहेका छौँ, कांग्रेसभित्र दुई थरी विचार रहेकाले तालमेल नहुन पनि सक्छ ।”

यस्तो अवस्थामा (नेकपा माओवादी) केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच तालमेल हुने उहाँको भनाइ थियो ।

कांग्रेससँग चुनावी तालमेल नभए पनि राजनीतिक गठबन्धन नटुट्ने खतिवडाले बताउनुभयो ।

राष्ट्रियताको रक्षाका लागि, प्रतिगमनकारी षड्यन्त्रविरुद्ध र लोकतान्त्रिक एकताका लागि गठबन्धनलाई कायम राखेर अघि बढ्नुपर्नेमा गठबन्धन दलहरु एकमत रहेको उहाँले बताउनुभयो ।

चुनावी परिणामको डरले नभइ मुलुकलाई अझै केही समय सहकार्यको संस्कृतिमा हिँडाउनुपर्ने परिस्थितिका कारण आफुहरु गठबन्धनमा जोड दिइरहेको उल्लेख गर्दै खतिवडाले राष्ट्रियताका पक्षधर जुनसुकै शक्तिसँग आफूहरु सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।

प्रवक्ता खतिवडाले घोषणापत्र तयार गर्ने काम भइरहेकाले केही दिनभित्रै पार्टीले जारी गर्ने जानकारी दिनुभयो ।

पूर्ण नभए आंशिक तालमेल हुन्छ, गठबन्धन टुट्दैन : प्रवक्ता खतिवडा