२४ घण्टामा थप १६ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
सो अवधिमा दुई हजार ९२० को नमूना परीक्षण गरिएको थियो । एक हजार ९९८ ले पिसिआर र ९२२ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा ११ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार दुई पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २० हजार ८९० ले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३३ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १३३ जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् ।

शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, भोजपुर, पर्सा, सप्तरी, रौतहट, बारा, धनुषा, दोलखा, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुमपूर्व, कपिलवस्तु, प्युठान, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा रहेका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २८ र ललितपुर आठ र भक्तपुरमा एक सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमण दर १७ दशमलव दुई प्रतिशत छ ।

हरित हाइड्रोजन उत्पादन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं – देशभित्रै रासायनिक मल उत्पादनका लागि नेपाल विद्युत् प्राधिकरण र एक अन्तर्राष्ट्रिय संस्थाबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्राधिकरण र संसारभर हरित हाइड्रोजनलगायत क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्युटका महानिर्देशक फ्रयाङ्क रिज्सबरम्यानले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

दुई संस्थाले हरित ऊर्जामार्फत हाइड्रोजन, एमोनियाको उत्पादन र युरिया मल उत्पादनका लागि मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने छन् । नेपालको जलविद्युत् आयोजनाबाट उत्पादित हरित ऊर्जाको प्रयोग गरी हाइड्रोजन, एमोनिया उत्पादन गर्ने र मल कारखाना स्थापनाका लागि एउटा नमूना परियोजनाको डिजाइन, विकासका लागि सम्भाव्यता अध्ययन गरिने छ ।

हस्ताक्षर कार्यक्रममा ऊर्जामन्त्री भुसालले नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् देशभित्रै खपतका लागि हाइड्रोजनको उत्पादन नयाँ क्षेत्र र प्रविधि हुने बताउनुभयो ।

देशभित्र खपत गरी बाँकी रहेको अतिरिक्त ऊर्जा खपतका लागि यो महत्वपूर्ण परियोजना बन्न सक्छ”, उहाँले भन्नुभयो, यस्तो महत्वपूर्ण परियोजना अगाडि बढाउन सकिएमा देशभित्रको जलविद्युत्बाट उत्पादित हरित ऊर्जा खपतका लागि महत्वपूर्ण योगदान पुग्ने छ, यसले ऊर्जा खपतको नयाँ ढोका खोल्ने छ ।”

मन्त्री भुसालले दुई संस्थाबीच भएको समझदारीमा उल्लेखित व्यवस्था इमान्दारीपूर्वक कार्यान्वयन गरी सफलताको चरणमा पुर्‍याउन आग्रह गर्नुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खपतका लागि हाइड्रोजन, एमोनिया उत्पादन र त्यसैमार्फत मल कारखाना स्थापना राम्रो विकल्प र क्षेत्र भएको जानकारी दिनुभयो ।

सवारी दुर्घटनामा पैदलयात्रीको मृत्यु

काठमाडौं – काठमाडौँको चन्द्रागिरी नगरपालिका–१४ स्थित सडकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश ०१–०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१३ लामाचोर बस्ने ७१ वर्षीय ध्रुर्वप्रसाद रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका रेग्मीको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान गएको र ठक्कर दिने गाडी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्यानाडामा आँधीबाट १० जनाको मृत्यु

काठमाडौं – क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।

क्यानाडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको थियो । सो आँधीबाट आइतबार र सोमबार १० जनाको ज्यान गएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यहाँ प्रति घन्टा १२० किलोमीटरको गतिमा आँधी आएको थियो । त्यस आँधीमा परेर यहाँका भौतिक संरचनाहरु पनि भत्किएका छन् ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार आँधीमा परेर दशौँ हजार मानिस विद्युतविहीन भएर बसेका छन् ।क्यानाडाको धेरै जनसंख्या भएको शहर मानिने ओन्टोरियोमा आँधीले रुखहरु ढालेको छ भने यहाँको विद्युत आपूर्तिमा पनि क्षति पु¥याएको बताइएको छ ।

ओन्टोरियाको विद्युतीय आपूर्ति बन्द हुँदा यहाँका कम्तीमा पनि ३ लाख ८० हजार जति नागरिक अँध्यारोमा परेका बताइएको छ । आँधीका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको बताइएको छ । यहाँ सन् १९९८ पछि यो पहिलो पटक आँधीले यति धेरै असर पारेको बताइएको छ ।

कामपा – २२ मा एमालेका महर्जन विजयी

काठमाडौं – काठमाडौँ महानगरपालिका–२२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चिनीकाजी महर्जन अध्यक्ष पदमा विजय हुनुभएको छ । महर्जनले नेपाली कांग्रेसका प्रतिस्पर्धी शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी हुनुभएको हो ।

महर्जनले दुई हजार ६० मत प्राप्त गर्दा तण्डुकारले एक हजार ४७८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी वडा सदस्यमा कांग्रेसका उम्मेदवार अनिल हाडा र चन्द्रमान तुलाधर विजयी हुनुभएको छ ।

महिला सदस्यमा कांग्रेसको तर्फबाट ललिता खड्गी र दलित महिला सदस्यमा एमालेको गीता परियार यस अघिनै निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

कामपामा हालसम्मा एक लाख ४५ हजार ३६२ मत गणना गर्दा पाँच हजार ६४३ मत बदर भएको मुख्य निर्वाचन अघिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो ।

राजनीतिक दलहरुमा युवाशक्तिको खाँचो छ : अध्यक्ष नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरुमा देशलाई जोश, जागर र आँट भएका युवाशक्तिको खाँचो भएको बताउनुभएको छ ।

सो पार्टीको मकवानपुर जिल्ला कमिटिको आयोजनामा आज हेटौँडामा पार्टीका तर्फबाट गठबन्धनका हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा निर्वाचित मीना लामा, गठबन्धनका नेपाली कांग्रेसका उपप्रमुख पदमा निर्वाचित राजेश बानियाँ तथा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्ष र वडा सदस्यलाई निर्वाचित भएकोमा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष नेपालले सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले हेटौँडा उपमहानगरपालिका, पोखरा महानगरपालिका, रौतहट जिल्लामा भएका नगरपालिका, गाउँ पालिकालगायतका देशको अन्य तहमा पनि पार्टीका उम्मेदवार विजयी हुनुभएका पालिकामा अब योजनाबद्ध ढङ्गले जनताका अपेक्षा, सरोकारका विषयमा र विकास निर्माणका विषयमा जनतासँगनै मिलेर काम गर्न अनुरोध गर्नुभयो ।

अध्यक्ष नेपालले स्थानीय तहमा सामाजिक न्याय ,सामाजिक समानता, विकास तथा समृद्धिको उद्देश्य पूरा गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी नवनिर्वाचित हेटौँडा उपमहानगरपालिकाका प्रमुख लामाले निर्वाचित भएर पहिलो काम विपन्न वर्गलाइ स्वास्थ्य बीमा निःशुल्क गर्ने तथा अस्पतालमा लैजान एम्बुलेन्स निःशुल्क गर्ने व्यवस्था सुरु गरेको जानकारी दिनुभयो ।

प्रमुख लामाले अब सामाजिक सेवा ,स्वास्थ्य सेवा ,शिक्षा तथा पूर्वाधार निर्माण तर्फ विशेष ध्यान केन्द्रित गरेर काम गर्ने बताउनुभयो ।

पेट्रोलियम पदार्थ मूल्यबृद्धि फिर्ता गर्न उद्योगमन्त्रीसमक्ष ध्यानाकर्षण

काठमाडौं – १५ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका छन् ।
उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई आज मन्त्रालयमा भेटि ती विद्यार्थी सङ्गठनले ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोलिय पदार्थ र ग्यासमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका हुन् ।

मन्त्री बडुले अहिले नै मूल्यबृद्धि फिर्ता गर्नका लागि केही भन्न नसक्ने र मूल्यबृद्धिका सम्बन्धमा आज छलफल गरिने बताउनुभएको बैज्ञानिक समाजवादी विद्याथी सङ्गठनका अध्यक्ष राजेश्वरी सुवेदीले जानकारी दिनुभयो । विद्यार्थी सङ्गठनले मन्त्रालय र संयुक्त विद्यार्थी सङगठनबीच विगतमा भएको सहमति कार्यन्वयन गरी एलपी ग्यास र मट्टीतेलमा विद्यार्थीहरुलाई सहुलियतको मागसमेत गरेका छन् ।

यस्तै विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा विभिन्न बहानामा लगाईएको अत्याधिक कर बारे पुनर्विचार गर्नुपर्ने, बैकल्पिक उर्जाको खोज अनुसन्धान र प्रयोगका लागि कार्यदल गठन गरी काम गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको एकाधिकार खारेज गरी खुला प्रतिस्पर्धाबाट आपूर्ति गर्न माग गरेका छन् ।

पेट्रोलियम पदार्थको कच्चा तेल प्रशोधन केन्द्र स्थापना गर्न कुनै पनि बहानामा सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमलाई निजिकरण गर्ने विषयमा गम्भीरतापूर्वक सोच्नसमेत आग्रह गरेका छन् ।
यस्तै विद्याथी सङ्गठनले भोलि जेठ ११ गते पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ताको माग गर्दै नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

आयल निगमले गत बैशाख ३१ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ तथा पुनः जेठ ८ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डरमा रु २०० वृद्धि गरेको थियो ।

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (छैटौं), सजाजवादी विद्यार्थी युनियनलगायतका १५ विद्यार्थी सङ्गठनले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

यसैबीच नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घले पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा आज दिउँसो माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ । साथै, विभिन्न सङ्घसंस्थाले पनि मूल्य बृद्धिको विरोध गरिरहेका छन् ।

पोखरा महानगरपालिका-१८ मा पुनःमतगणनाको माग

काठमाडौं – नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं १८ मा पुनः मतगणना गर्न माग गरेको छ ।

वडा नम्बर १८ मा मत कम भएको भन्दै उक्त दलले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको हो ।

उक्त वडाको आज बिहान अन्तिम नतिजा घोषणा हुँदा तीन मत अन्तरले नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार उम्मेदवार शिवप्रसाद तिमल्सिना विजयी भएको घोषणा गरिएको थियो ।

उक्त वडामा पुनःमतगणनाका लागि माग गर्दै एमालेबाट निवेदन आएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो । निवेदनका सम्बन्धमा निर्वाचन कानुनअनुसार अघि बढ्ने उहाँले बताउनुभयो ।

महानगरमा खसेको कूल एक लाख ४३ हजार २२६ मतमा अब करिब पाँच हजार मत गन्न बाँकी छ । महानगरका वडा नं २२, ३२ र ३३ को मतगणना बाँकी रहेको जनाइएको छ । हालसम्म २२ वटा वडामा कांग्रेस विजयी भएको छ भने आठवटा वडामा एमाले विजयी भएको छ ।

हालसम्म एक लाख ३८ हजार २११ मत गणना भइसकेकामा गठबन्धनका तर्फबाट महानगरको प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ५६ हजार ४७१ मत प्राप्त गर्नुभएको छ ।उहाँका निकटतम प्रतिस्पर्धी कृष्ण थापाले ५१ हजार १८५ मत प्राप्त गर्नुभयो ।

उमप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५८ हजार ५८२ मतसहित अघि हुनहुन्छ भने गठबन्धनका तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मत प्राप्त गर्नुभएको छ ।

भरतपुरको मेयरमा पुन रेनु निर्वाचित-उपमेयरमा कांग्रेसका अधिकारी विजयी

काठमाडौं – भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको हो ।

दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गर्नुभएको हो । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गर्नुभएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी छ । यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गर्नुभयो ।

दाहाल विसं। २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । विसं २०३३ असार २३ गते भरतपुर महानगरपालिका–१४ भीमसेन नगरमा जन्मनुभएकी दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माहिली छोरी हुनुहुन्छ ।

नेपाली, हिन्दी र अङ्ग्रेजी भाषा बोल्न जान्ने दाहाल विसं २०६४ जेठ १५ गतेदेखि २०६९ जेठ १४ गतेसम्म तत्कालीन संविधानसभा सदस्य हुनुहुन्थ्यो । हाल अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको महासचिव, विसं २०७४ देखि २०७५ सम्म नेकपा (माओवादी केन्द्र) पोलिटब्यूरो सदस्य, विसं २०६१ देखि २०६३ सम्म नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला सहइन्चार्ज भएर काम गरिसक्नुभएको छ ।

यस्तै विसं २०६४ देखि २०७२ सम्म नेपाल कम्युनिष्ट पार्टी माओवादी काठमाडौँ सेक्रेटरी, अखिल भारत नेपाली महिला सङ्गठनको अध्यक्ष, जनयुद्धको भूमिगतकालमा प्रवास (भारतका विभिन्न प्रान्तहरूमा पार्टीको सेक्रेटरी र महिलाको जिम्मेवारी वहन गरेको) तथा देशको विकट ग्रामीण क्षेत्रमा सङ्गठनात्मक काममा सक्रिय रहनुभएको थियो ।

भरतपुर महानगरपालिकाको उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गर्नुभएको छ । अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६१२ मत प्राप्त गर्नुभयो ।

अधिकारी नेपाली कांग्रेस भरतपुर महानगर समितिको सभापति हुनुहुन्छ । विसं २०२४ मा जन्मनुभएका अधिकारीको विद्यार्थी राजनीतिबाट राजनीतिक यात्राबाट सुरु भएको हो ।

विसं २०४२ मा अन्नपूर्ण माध्यामिक विद्यालय पार्वतीपुरबाट सुरु भएको उहाँको राजनीतिकयात्रा क्याम्पस कमिटीमा सक्रिय भई अहिले महानगरमा कांग्रेसका तर्फबाट उपप्रमुखमा निर्वाचित बन्नुभएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं २१ को वडाध्यक्षमा निर्वाचित अधिकारी यसअघि महानगरमा कांग्रेसको दलको नेताका रूपमा रहनुभएको थियो ।

विसं २०४६ को आन्दोलनमा गिरफ्तारीदेखि विसं २०६२÷६३ मा सक्रिय सहभागिता जनाउनुभएका नेता अधिकारी विसं २०५४ मा साविक पार्वतीपुरमा कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचत हुनुभएको थियो ।

यस महानगरका २९ वडामा एक लाख २७ हजार ८३९ मत खसेको थियो । २९ वडामध्ये कांग्रेसले वडा नं १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९, एमालेले ३, ११, १२, १८, १९ र २८, माओवादी केन्द्रले १३, २४ र २६, नेकपा (एकीकृत समाजवादी) ले ७, ९ र २२ वडामा विजय हासिल गरेको छ । वडा नं २५ मा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । कांग्रेसका जिल्ला नेता स्वतन्त्रमा उम्मेदवारी दिएर विजयी हुनुभएको हो ।

पोखरा महानगर प्रमुखमा आचार्यलाई पाँच हजार २८६ मतको अग्रता

काठमाडौं- स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

गत वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा खसेको कूल एक लाख ४३ हजार २२६ मतमध्येमा आज बिहानसम्म एक लाख ३८ हजार २११ मतगणना सकिएको छ ।

अब पाँच हजार १५ मतगणना बाँकी छँदा सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले पाँच हजार २८६ मतको अग्रता बनाउनुभएको छ ।

उहाँले गणना बाँकी रहेको मतभन्दा बढीको अग्रता बनाएपछि समर्थकहरूले विजयी खुसीयाली मनाउँदै विजयी जुलुसको तयारी गरेका छन् ।

हालसम्म प्रमुखका उम्मेदवार आचार्यले ५६ हजार ४७१ मत प्राप्त गर्नुभएकामा उहाँका निकटतम् प्रत्यासी नेकपा (एमाले)का कृष्णबहादुर थापाले ५१ हजार १८५ मत ल्याउनुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङले सत्ता गठबन्धनका उम्मेदवारलाई चार हजार ३५ मतान्तरले पछाडि पार्नुभएको छ ।

गुरुङ ५८ हजार ५८२ मतसहित विजय नजिक पुग्दा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्याउनुभएको छ ।

पोखरा महानगरपालिका वडा नं २२, ३२ र ३३ को आंशिक मतगणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रौतहटका ४ स्थानीय तहमा एक्लै लडेको एकीकृत समाजवादीको पूरा प्यानल विजयी

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहटका ४ स्थानीय तहमा सो पार्टीले जित हासिल गरेको छ । बौधिमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा जित हासिल गरेसँगै रौतहटमा नेकपा एकीकृत समाजवादीले जितेको पालिकाको संख्या चार पुगेको हो ।

यो पालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रदीप यादवले ४ हजार ८१० मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार तथा बौधिमाईका निवर्तमान प्रमुख राजीवरंजन यादवले ४ हजार ६२४ मत प्राप्त गरे । त्यसैगरी उपमेयरमा नेकपा एकीकृत समाजवादीकै प्रमिलादेवी जयसवाल निर्वाचित भएकी छन् ।

उनले ४ हजार ८९४ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिद्वन्द्वी जसपाकी सैवुन खातुनले ४ हजार ४८१ मत प्राप्त गरिन् ।

यसअघि नेकपा एकीकृत समाजवादीले गौर नगरपालिका, राजदेवी नगरपालिका र बृन्दावन नगरपालिकामा जित हासिल गरिसकेका थिए ।
गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट प्रमुखमा शम्भु साह, राजदेवी नगरपालिकाको प्रमुखमा भिखारी यादव र बृन्दावन नगरपालिका प्रमुखमा विनोद पटेल निर्वाचित भएका छन् ।

जिल्लाभर आठ स्थान बिजय हुने सम्भावना रहेपनी कतिपय नगरपालिकामा झिनोमतले पराजित हुनुपरेको समाजवादीले बताएको छ।

काठमाडौं महानगर अपडेट : साहले ५० हजार भन्दाबढी मतसहित अग्रता कायमै

काठमाडौं – काठमाडौंको महानगरपालिकाका मेयर पदमा स्वतन्त्र उम्मेदवा बालेन्द्र साहले अग्रता कायमै राखेका छन्।
पछिल्लो मत परिमाण अनुसार बालेन्द्रले ५० हजार ३० मत पाएका छन् ।

दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछिल्लो मत अनुसार ३० हजार ७६७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत पाएका छन् ।

सिर्जना केशव भन्दा ७५२ मत अन्तरले अगाडि छिन् । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेको थियो । मतगणना जारी छ ।

आजको मौसम : कुन कुन प्रदेशमा वर्षाको सम्भावना ?

काठमाडौं – आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । हाल देशभर आंशिक देखी सामान्य बदली रही मधेश प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश न १ लगायत अन्य देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, मधेश प्रदेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाकी भू-भागका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ

काठमाडौँ महानगर : २९ हजार ५८२ मतसहित बालेनको अग्रता कायमै

काठमाडौं – काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ ।
पछिल्लो मत परीणाम अनुसार बालेन शाहको मत २९ हजार ५८२ पुगेको छ । शाह अन्य प्रतिस्पर्धी भन्दा करिब दोब्बर मतले अगाडि छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितको मत १५ हजार ९२१ छ । तेस्रो स्थानमा रहेकी गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पनि १० हजार मत कटाएकी छन् । उनको हालसम्म १५ हजार १० मत पुगेको छ ।

त्यस्तै महानगरको उपमेयर तर्फ एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ । उनको २६ हजार ५७५ मत पुगेको छ । दोस्रो स्थानमा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ ८ हाजार ५९१ पुगेको छ ।

गौर नपामा एक्लै लडेको एकीकृत समाजबादीका शम्भु साह बिजयी

काठमाडौं – रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयर दुवै पद गठबन्धन बिना नै लडेको नेकपा एकीकृत समाजवादीले जितेको छ ।

एकीकृत समाजवादीका उम्मेदवार शम्भु साह निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्तालाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । मेयरमा साहको बिजय सगै गौरमा खुशियाली छाएको छ ।

लामो समय सामाजिक सेवा मार्फत राजनीतिक यात्रामा उदाएका एकीकृत समाजबादी का प्रदेशका नेता समेत रहेका साहले पुर्व प्रधानमन्त्री माधबकुमार नेपालको लोकप्रियताको जगमा आफुलाइ सामाजिक काम मार्फत स्थापित गराएका थिए ।

पहिला पनी निर्वाचनमा भाग लिए पनि झिनो मत अन्तरले पराजित भएका साहले पराजित हुदाहुदै पनि गौरवासीका सुखदुःखमा जोडिदै जनपक्षीय काममा भ्रष्टाचारका विरुद्धमा जमेर ओकालत गर्दै अगाडि बढ्नु भएको थियो ।

यसैबीच यस पटक पार्टी एक्लै चुनावी भिडन्तमा रहेका बेला पनि साहले ६ हजार ३८१ मत प्राप्त गर्दा गुप्ताले ३ हजार ७५५ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार मोहनकुमार यादवले ३ हजार २११ मत पाए ।

यसैगरी उपमेयरमा पनि एकीकृत समाजवादीकै शैलकुमारी साह निर्वाचित भएकी छन् । उनले ४ हजार ८०९ मत ल्याइन् भने निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका अमरुल कले १ हजार ४७ मत पाए । नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार शाहजान खातुनले ९४४ मत ल्याइन् ।