बिहीबार प्राधिकरणले २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै

काठमाडौँ । आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आजमात्रै मस्र्याङदी र मध्यमस्र्याङदीको बिजुली पनि निर्यात हुने जनाएको छ । भारतमा यतिबेला ऊर्जाको अत्यधिक माग छ । सो माग परिपूर्तिका लागि सामान्यरूपमा नै भए पनि प्राधिकरणले बिजुली निर्यात गरेको हो । त्यसको मात्रामा क्रमशः वृद्धि भएको छ ।

प्राधिकरणले आज छ हजार ८३१.६ मेगावाट घण्टा बिजुली ऊर्जा निर्यात गर्ने भएको छ । भारतमा शेयरबजारमा जस्तै हरेक १५ मिनेटमा बिजुलीको मूल्य फेरबदल हुने गर्दछ । त्यस आधारमा विभिन्न ९६ ब्लक निर्धारण गरिन्छ । यस आधारमा प्राधिकरणले निर्यात गरेको बिजुलीको मूल्य प्रतियुनिट १९ रुपैयाँ २० पैसा बराबर पाइने भएको छ ।

भारतको ऊर्जा नियमक निकायले अधिकतम भारु १२ सम्म मात्रै बिजुलीको बिक्री वितरण गर्न पाउने व्यवस्था गरेको छ । प्राधिकरणले औसतमा भारु ६।९९ प्राप्त गरेको छ । मनसुनको समयमा भारतमा अत्यधिक गर्मी हुने र बिजुलीको माग अत्यधिक हुने भएकाले बिजुली उपलब्ध भएको अवस्थामा आवश्यकताका आधारमा निर्यात हुनसक्ने अवस्था छ । त्यस आधारमा प्राधिकरणले कूल सात करोड युनिट बराबर बिजुली निर्यात गर्ने भएको छ ।

प्राधिकरणले मनसुनका छ महिनामा मात्रै कूल रु २५ अर्ब बराबरको बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ । सोही आधारमा आज कूल २८४ मेगावाट बराबर बिजुली निर्यात हुनेछ । प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत् आयोजनाको ५५३.६ मेगावाट घण्टा, देवीघाटको ३४५.५ मेगावाट घण्टा, कालीगण्डकी ‘ए’को तीन हजार ३३४ मेगावाट घण्टा, मस्र्याङदीको एक हजार ५९५ मेगावाट घण्टा र मध्यमस्र्याङदीको एक हजार तीन दशमलव पाँच मेगावाट घण्टा बराबरको बिजुली निर्यात हुनेछ ।

इनर्जी एक्सचेञ्ज मार्केटमा प्रतियुनिट कूल भारु १२ बराबरको उपलब्ध हुनेछ । त्यस्तै औसतमा कूल भारु ६.९९ र न्यूनतम भारु २.४९९ मा बिक्री हुनेछ । गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको भारत भ्रमणका क्रममा कूल ३६४ मेगावाट बराबरको बिजुली निर्यात गर्ने गरी सहमति भएको थियो । सोही आधारमा प्राधिकरणले २०० मेगावाट बराबरको बिजुली खुला बजारमा समेत बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि एनभिभीएनलगायतका कम्पनी छनोट भइसकेका छन् ।

मुलुकको प्रणालीमा कूल दुई हजार ३०० मेगावाट बराबरको जडित क्षमता पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हाल कूल आन्तरिक माग एक हजार ६३३ मेगावाट बराबर छ । प्रणालीमा लगातार बिजुली थप भइरहेको छ ।

चालु आवमा कूल ६२१ मेगावाट बिजुली थप भएको छ । केही आयोजनाबाट बिजुली थपिने क्रममा नै छ । आगामी आवमा कूल ७०० मेगावाट बढी बिजुली थप हुने सरकारले प्रक्षेपण गरेको छ । हाल प्रणालीमा प्राधिकरणको १० हजार ६७७ मेगावाट घण्टा, प्राधिकरणका सहायक कम्पनीबाट ११ हजार २५१ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट १४ हजार ९२२ मेगावाट घण्टा बिजुली उपलब्ध छ ।

भारततर्फ बिजुली निर्यातको मात्रा बढेपछि टनकपुर बिन्दुबाट भने दुई हजार ८६ मेगावाट घण्टा बराबरको बिजुली आयात भइरहेको छ । पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइनको क्षमता नभएका कारणले गर्दा टनकपुरबाट बिजुली आयात गर्नु परिरहेको छ ।

पश्चिम क्षेत्रमा ठूला जलविद्युत् आयोजना नभएकाले त्यहाँको आन्तरिक माग धान्नका लागि पनि बिजुली आयात गर्नु परिरहेको छ । प्राधिकरणले कूल ८७ मेगावाट बिजुली आयात गरिरहेको छ । त्यसलाई बर्षाको समयमा रोक्नका लागि पनि पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध हट्नु पर्छ ।

नवलपरासीको दुम्कीबासमा दुईवटा टावर निर्माणमा स्थानीयले अवरोध गरेका कारण विगत १२ वर्षदेखि निर्माण सम्पन्न हुनसकेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लगातार प्रयास गरे पनि सर्वोच्च अदालतले आवश्यक फैसला नगरिदिँदा प्रसारण लाइन निर्माण हुनसकेको छैन ।

गोली हानी नौ जनाको हत्या

इस्लामावाद । पाकिस्तानको पन्जाब प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ । गएको २४ घण्टा यता भएका ती हमलाहरुमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले बुधबार यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको जनाएको हो । पन्जाब प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चार जनाको हत्या गरिएको प्रहरीले जनाएको छ ।
सो स्थानमा बुधबार अपराह्न सवारी साधनमै गोली हानेर चार जना यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ ।

सडकमै गोली प्रहार गरेर चार जनाको हत्या गरेको सो अज्ञात व्यक्ति भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी अभियानलाई जारी राखेको भए पनि बुधबार रातिसम्म पक्राउ गर्न सकेको छैन ।

त्यसैगरी पन्जाब राज्यको भवलपुर जिल्लामा पनि भ्यानमा यात्रा गरिरहेका यात्रुमाथि गोली चलाइएको थियो । त्यसमा परेर पाँच जना मारिएका थिए ।

सो घटनामा संलग्नको पनि प्रहरीले खोजी जारी राखेको बताएको छ । सडकमा गुडिरहेको भ्यानमा एक अज्ञात व्यक्तिले गोली हानेर भागेको थियो ।

भोलिदेखि १२-१७ वर्षसम्मकालाई बुस्टर डोज दिइने

काठमाडौं भोलिदेखि १२-१७ वर्षसम्मकालाई बुस्टर डोज दिइने भएकाे छ । सरकारले १२ देखि १७ वर्षसम्मका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय २४ गतेको निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो ।

१२ देखि १७ वर्षसम्मका सरकारले पहिला तथा दोस्रो डोज मोडना तथा फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखा अन्तगर्त बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बुस्टर डोज भोलि (शुक्रबार) बाट सञ्चालन गरिने बताए ।

१२ देखि १७ बर्षसम्मका बुस्टर डोज मोडना तथा फाइजर जुन लगाएपनि हुन्छ,’ दाहालले भने,’ पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यलयमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छौं ।’

फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०‍‍.२५ एमएल दिनुपर्ने हुन्छ । महाशाखाका अनुसार बुस्टर डोज लगाउन भने दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्नेछ ।

अनुमतिबिना इन्टरनेट सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति पत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।

पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।

अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने जनाउँदै प्राधिकरणले अनुमति पत्र प्राप्त नगरी गैरकानुनीरूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत अनुरोध गरेको छ ।

सी चिन फिङद्धारा नौ देशका लागि नयाँ राजदूत नियुक्त

बेइजिङ । चिनियाँ राष्ट्रपतिले नौ देशका लागि नयाँ राजदूत नियुक्त गरेका छन् । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिको निर्णयअनुसार नौ देशका लागि नयाँ राजदूत नियुक्त गरेको चीनको शीर्ष व्यवस्थापिकाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नवनियुक्त राजदूतहरूमा सन हाइयानलाई सिंगापुरका लागि चिनियाँ राजदूतको जिम्मेवारी दिइएको छ भने झाङ जियानवेईलाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ ।
त्यसैगरी झाङ जियानवेईलाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ भने झाङ यिमिङलाई संयुक्त अरब इमिरेट्सका लागि राजदूत नियुक्त गरिएको छ ।

वाङ सुइकुनलाई रुवान्डाका लागि राजदूत नियुक्त गरिएको छ भने लु शानलाई बुर्किना फासोका लागि राजदूत नियुक्त गरिएको छ ।

राष्ट्रपति सीले झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गरेका छन् भने झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गरेका छन् ।

त्यसैगरी हान चुनलिनलाई रोमानियाका लागि राजदूत नियुक्त गरिएको छ भने वाङ टोङकिङलाई फिनल्यान्डका लागि राजदूत नियुक्त गरिएको छ । जमैकाका लागि चेन दाओजियाङलाई राजदूत नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।

दलित आयोगद्धारा गुरुकुललाई स्पष्टीकरण सोधियो

काठमाडौँ । राष्ट्रिय दलित आयोगले दलित समुदायका विद्यार्थीको भर्ना नलिने शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुललाई स्पष्टीकरण सोधेको छ । आयोगले गुरुकुललाई पत्राचार गर्दै घटनाको सत्यतथ्य के हो भनेर जवाफ मागेको हो ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले बर्दियादेखि आएका बालकहरूलाई गुरुकुलले भर्ना नगरी फिर्ता गरेको विषय सञ्चारमाध्यमबाट बाहिर आएपछि पत्राचार गरेर प्रष्टीकरण माग गरेको बताए ।

‘घटना बाहिर आउने बित्तिकै आयोगको ध्यानाकर्षण भएको छ, आयोगले गुरुकुललाई पत्राचार गरेर स्पष्टीकरण सोधेको छ भने पीडित परिवारसँग समेत सम्पर्क गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।

बर्दियाको बारबर्दिया नगरपालिका–६ का चार जना दलित बालकहरू गुरुकुलमा भर्ना हुने पुगेका थिए । तर, गुरुकुलले बालकहरूलाई एक साँझ राखेपछि सिट नभएको भन्दै फिर्ता पठाइदिएको थियो ।

जनक शिक्षा खारेज गरौं, किताब छाप्न निजीलाई दिऔं : सांसद नविना लामा

काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न र पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग गरेकी छन् ।

आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताइन् । ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरुले पुस्तक कहिल्यै पाएनन्,’ लामाले भनिन्, ‘यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री किन चाहियो ? सरकारले किन पैसा दिइरहने ? खारेज गरौं ।’

उनले जनक शिक्षा सामग्री खारेज गरेर पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिनुपर्ने समेत बताइन् । ‘बेलैमा कागज किन्न नसक्ने, छाप्न नसक्ने किन भयो ? कागजको ठेक्का लिनेले किन कागज ल्याएनन् ? कारबाही गर्नुपर्छ,’ उनले भनिन्, ‘हामीले वैकल्पिक उपाय खोजेर निजीलाई दिने कुरा गर्नुपर्छ अनि तुरुन्त किताब पाउने कुराको सुनिश्चित गर्नुपर्छ ।’

जनक शिक्षा सामग्रीको व्यवस्थापनको कमजोरीले विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक नपाएको बताउँदै उनले त्यहाँका पदाधिकारी जवाफदेहीसमेत नबनेको बताइन् ।

विमानस्थलबाट ५१६.५ ग्राम सुनसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१६.५ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । आज बिहान पौने १० बजे कतार एयरवेजको क्यूआर ६५२ उडानबाट काठमाडौं आएका धनुषा घर भएका ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार विमानस्थल भन्सार कार्यालयमा यात्रु चेकजाँचको क्रममा उनले लगाएको अण्डरवेयरभित्र लुकाएर राखिएको अवस्थामा ४६६.५ ग्राम बिस्कुट आकारको सुन ४ थान र ५० ग्रामको सिक्री गरी ५१६.५ ग्राम नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

बजेटमा मन्त्रालयगत छलफल जारी (लाइभ)

काठमाडौं । बिहीबार पनि प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि मन्त्रालयगत छलफल जारी छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको हो ।

आर्थिक वर्ष २०७९/०८० को बजेटमा सोमबारदेखि सुरु भएको मन्त्रालयगतअन्तर्गत आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको विभिन्न शीर्षकका बारे छलफल हुँदैछ ।

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार तोलामा ५०० रूपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजारमा कारोबार भइरहेको संघले जनाएको छ ।
महासंघका अनुसार तेजाबी सुन तोलामा ५०० रूपैयाँले वृद्धि भइ ९७ हजार ५०० रूपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले बताएको छ ।

दोर्दी खोला कम्पनीको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । दोर्दी खोला कम्पनीले दोस्रो पटक सर्वसाधारणका लागि साधारण सेयर विक्रीमा ल्याएको छ ।
प्रति सेयर १०० अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण बिक्रीमा ल्याएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूबाट अवितरित २ लाख ९७ हजार ८४० कित्तासहित सो सङ्ख्याको आईपीओ बिक्री खुला गरेको जनाएको छ ।

कम्पनीले निष्कासन गर्ने कुल आईपीओमध्ये पाँच प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषका इकाइहरूलाई तथा तीन प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरेको छ ।

बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले जेठ ३१ गतेसम्म ‘मेरो सेयर’को मोबाइल एप तथा वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था रहेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

प्रहरीद्धारा दुई करोडको अवैध सामान बरामद

काठमाडौँ । प्रहरीले दुई करोडको अवैध सामान बरामद गरेको छ । पर्साका विभिन्न स्थानबाट प्रहरीले करिब रु दुई करोड बराबरको औषधि, लत्ताकपडा लगायत सामग्री बरामद गरेको हो ।

प्रहरीले उक्त सामग्री बोकेको तीन ट्रक नियन्त्रणमा लिएको छ । ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन् ।
वीरगञ्ज महानगरपालिका-१० घण्टाघरबाट विभिन्न सामग्री बोकेको बा ५ ख ८६५८ र लु २ ख ५३४९ नम्बरको ट्रक तथा वीरगञ्ज-८ माईस्थानबाट विभिन्न किसिमका औषधि, लत्ताकपडालगायत सामग्री बोकेको ना ४ ख ४३०१ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

धनुषा जिससमा कांग्रेसको प्यानल बिजयी

धनुषा – जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ । समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका हुन् ।

बुधबार जिसस प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको मात्र मनोनयन परेको थियो । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस उपप्रमुखमा सङ्गीतादेवी ठाकुर निर्वाचित भएकी छन् ।

यस्तै, सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापामगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र दलित तथा अल्पसङ्ख्यक सदस्यमा महेन्द्र महतो निर्वाचित भए । जिसस सदस्यमा पनि कांग्रेसको मात्रै उम्मेदवारी परेको थियो ।

कोरियाका लागि कृषि तथा पशुपालन क्षेत्रमा साढे ६ हजारले दिए परीक्षा

काठमाडौँ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रका ६ हजार ५९७ को परीक्षा लिएको छ ।

कृषि र पशुपालन क्षेत्रमा जाने १० हजार ८ सय ५८ जना रहेका छन् भने उत्पादनमूलक समूहमा ३३ हजार ९ सय ९५ जना छन् ।

कृषि तथा पशुपालनमा जाने १० हजार ८ सय ५८ जनामध्ये ६ हजार ५ सय ९७ को परीक्षा अहिले भइरहेको छ भने बाँकी ४ हजार २ सय ६१ जनाको आगामी असार १३ गतेबाट सुरु हुनेछ ।

अन्य परीक्षा पनि नियमित रूपमा सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

बिहीबार पनि संसद बैठक बस्दै, चार मन्त्रालयको बजेटमाथि छलफल

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्यप्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।