बन्चरेडाँडामा फोहोर फाल्न रोकियाे

काठमाडौं – सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् ।
शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो तर आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका छन् । उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर बिसर्जन गर्न नदिएको काठमाडौं महानगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न अझै सकेको छैन ।
फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।

शहरी विकास मन्त्रालयको पहलमा बसेको बैठकमा भएको सहमतिमा शहरी विकास मन्त्रालयका आयोजना निर्देशक रविन्द्र बोहरा, काठमाडौं महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिबेसी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी शर्माले हस्ताक्षर गरेका थिए ।
उनीहरुले शहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल, शहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंह, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, उपाध्यक्ष मिठुमाया तामाङ, काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी, ककनी गाउँपालिका वडा नं। ३ का अध्यक्ष घननाथ बजगाईंको रोहबरमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

थपिए २१जना कोरोना संक्रमित, मृत्यु शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९९० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार २५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ । बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सातामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

सरकारले जेठ १ बाट लागू हुने गरी शनिवार र आइतबारको सार्वजनिक बिदाले दूरगामी असर पार्ने भन्दै अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, दीपक खनाल र तेजकुमार लोहीले रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर रिटमा अध्ययनबिना हचुवाको भरमा गरिएको यस्तो निर्णयबाट मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा जटिलता देखिएको भन्दै त्यसको खारेजी माग गरिएको छ । रिटमा भनिएको छ यति ठुलो निर्णय हरेक व्यक्तिको उत्पादकत्व कार्यशैली, सार्वजनिक सेवा, सरकारी तथा गैरसरकारी सेवासँग जोडिएको विषयको दूरगामी असरलाई निचोरेर नहेरी, यसको विश्लेषणात्मक अध्ययन अनुसन्धानविनै हचुवाको भरमा हप्तामा दुई दिन बिदा घोषणा गरिएको अवस्था छ ।

बेलायतका प्रधानमन्त्रीले पार्टीमा विश्वासको मत लिँदै

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिनुपर्ने भएको छ ।

हाल उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका केही सांसदले नै उनीप्रति अविश्वास रहेको बताएर पार्टीको संसदीय दलमा प्रश्न गरेपछि उनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो ।

उनले आजै पार्टीका सांसदहरुको मतको सामना गर्नुपर्ने भएको समाचारमा जनाइएको छ ।

३५ लाख लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको लैनचौरमा एक व्यक्तिलाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीवृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं २६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिक खाजा घरमा पोखराका ४० वर्षीय एक व्यक्तिको साथबाट रु ३५ लाख लुटपाट गर्ने नुवाकोट घर भई बूढानीलकण्ठ बस्ने २५ वर्षीय पेम्बा तामाङ र दाङ घर भई काठमाडौँको मालिगाउँ बस्ने ३४ वर्षीय शालिकराम नेपालीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पीडितलाई विभिन्न प्रलोभनमा पारेर खाजा घरमा बोलाएर लुटपाटमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेकासँग प्रहरीले मोबाइल एक थान, घडी एक थान र फलामको रड बरामद गरेको छ ।

पक्राउ परेका तामाङ र नेपालीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार डाँका, चोरीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए । लुटपाट घटनामा संलग्न फरार अन्य व्यक्तिको पहिचान खुलिसकेकाले उनीहरुलाई पनि चाँडो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

भूटानमाथि नेपालको सानदार जीत

काठमाडौं । आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भूटानलाई चार विकेटले पराजित गरेको हो । भूटानले दिएको ६७ रनको चुनौतीलाई नेपालले १३ दशमलव एक ओभरमा छ विकेट गुमाउँदै पूरा ग¥यो ।
नेपालको जीतमा सानु राजवंशीले सर्वाधिक ३० रनको योगदान दिइन् । त्यसैगरी साना प्रविणले १२ रन जोडिन भने सृष्टी जैसीले आठ। आश्मा पुलामी मगरले तीन, कप्तान कृतिका मरासिनीले दुई तथा एलिसाकुमारी यादवले अविजित दुई रन बनाइन् । बलिङमा भूटानकी साङ्गे वाङ्वोले तीन विकेट लिइन् भने सोनम र अन्जुली घलेले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भूटानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ६६ रन बनाएको थियो । भूटानका लागि कप्तान एन्गावाङ छोडेन र साङ्गे वाङ्मोले समान ११ रन बनाइन् । त्यसैगरी पेमा याङ्चेनले नौ तथा छाडो ओमले छ रन जोडिन् । बलिङमा नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले समान दुई-दुई विकेट लिए ।

यस खेलसँगै तीन खेल खेलेको नेपालले दुई खेलमा जीत तथा एक खेलमा हार व्यहोरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्सँग (युएई) सँग १० विकेटले पराजित भएको थियो । युएइविरुद्धको खेलमा नेपाल आठ रनमा नै अलअउट भएको थियो । छनोट खेलमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भूटान र कतार रहेका छन् । नेपालले भोलि थाइल्याण्डसँग खेल्नेछ ।

नेस्से दोहोरो अंकले घट्यो, एक अर्ब २६ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको पहिलो कारोबार दिन सोमबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १५.७७ अंकले घटेर दुई हजार ७८ दशमलब ७० विन्दमा पुगेको छ ।

शुक्रबार ३३‍‍.७६ अंकले घटेर दुई हजार ७८ दशमलब ७० विन्दुमा पुगेको थियो । विहीबार नेप्से १८.२६ अंकले घटेर दुई हजार एक सय १२ दशमलब ४७ विन्दुमा पुगेको हो । आज नेप्सेमा एक अर्ब २६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार एक अर्ब ३० करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका ७८ कम्पनीको शेयरमूल्य बढेको छ भने १०६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज उपकार लघुवित्त कम्पनी र बलेफी हाइड्रो पावरको शेयरमूल्यमा क्रमश १० प्रतिशत र ९.९८ प्रतिशतले बढेर बन्द भएका छन् ।

आज हिमालयन बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्सका भएको छ । यस कम्पनीको आज ८ करोड २३ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएको छ ।

प्रधानमन्त्रीद्वारा बिमस्टेक क्षेत्रका चुनौती सम्बोधन गर्न ऐक्यबद्धता र सहकार्यमा जोड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) क्षेत्रका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रहरूबीच एकता, ऐक्यबद्धता र सहकार्यको महत्वमा जोड दिए ।

बिमस्टेक को २५औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै आज उहाँले यस क्षेत्रको आर्थिक साझेदारी प्रवद्र्धन गर्न एकता, ऐक्यबद्धता र सहकार्यको महत्वमा जोड दिएका छन् । प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य राष्ट्रका जनता र सरकारलाई शुभकामना दिँदै शान्ति, विकास र समृद्धिको क्षेत्रीय आकाङ्क्षा पूरा गर्न सङ्गठनलाई सक्षम बनाउनुपर्ने उल्लेख गरे ।

उनले बिमस्टेकले दक्षिण एसिया र दक्षिण पूर्व एसियाबीचको सदियौँ पुरानो सांस्कृतिक र सभ्यताको सम्बन्धलाई पुनर्जीवित गरेको र सदस्य राष्ट्रबीच अर्थपूर्ण सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण कदम चालेको बताए । त्यस्तै, बडापत्रमा हस्ताक्षर, महत्वपूर्ण कानुनी औँजारको अवलम्बन, सहयोगका क्षेत्र र उपक्षेत्रहरूको पुनर्संरचनासहित पाँचौँ शिखर सम्मेलनले शान्ति, समृद्ध र दिगो बङ्गालको खाडी क्षेत्रका लागि सहकार्य र साझेदारीको स्पष्ट सन्देश दोहो¥याएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले यी उपकरणहरूको समयबद्ध कार्यान्वयनले पक्कै पनि बिमस्टेक प्रक्रियालाई नयाँ गति दिने बताएका छन् । त्यस्तै, छुट्टै सन्देशमा परराष्ट्रमन्त्री डा नारायण खड्काले बिमस्टेक प्रक्रियालाई पुनरुत्थान गर्न र यस वर्षलाई नयाँ सङ्कल्प, ठोस् कार्य र ठोस् नतिजासहितको महत्वपूर्ण वार्षिकोत्सव बनाउन राजनीतिक इच्छाशक्तिको आवश्यकता रहेको बताए ।

उहाँले सन् २०१८ मा काठमाडौँमा भएको चौथो शिखर सम्मेलनबाट सुरु भएको संस्थागत सुदृढीकरणको पहल हालै कोलम्बोमा सम्पन्न पाँचौं शिखर सम्मेलनमा परिणत भएको बताउँदै शान्ति र समृद्धिको साझा लक्ष्य हासिल गर्न बिमस्टेक सम्झौताको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । बिमस्टेकले सदस्य राष्ट्रहरूबीचको सहकार्यलाई सुदृढ गर्न थप फड्को मार्ने विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री खड्काले क्षेत्रीय प्रक्रियामा रचनात्मक योगदान गर्ने नेपालको प्रतिबद्धता दोहो¥याउनुभयो ।

उपसचिव मरासिनीद्वारा बालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको उपसचिव शान्ता नेपाल मरासिनीले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ को आठ वर्षीया बालिका आरुषि ढकालको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले बालिकालाई विद्यालयमा अध्ययनका साथै अन्य खर्चमा सहयोग उपलब्ध गराउनु हुने भएको हो ।

स्थानीय तहको निर्वाचनमा मण्डनदेउपुर नगरमा निर्वाचन अधिकृतमा खटिनुभएको मरासिनीले सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा बालिकाको अभिभावकत्व लिएको बताउनुभयो । उहाँले नारी शिक्षित र सक्षम भएमा उनीहरुमाथि हुने हिंसा न्यूनीकरण भई शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

नगरका नवनिर्वाचित नगरप्रमुख टोकबहादुर तामाङ, उपप्रमुख विष्णुमणि नेपाल, वडाध्यक्षलगायत जनप्रतिनिधिले मरासिनीले सामाजिक सेवाको भावनाले बालिकाको अध्ययनका लागि गरेको अभिभावकत्वले धेरैलाई प्रेरणा प्रदान गर्ने विचार व्यक्त गर्नुभयो ।

निजगढ विमानस्थल बनाउनु आवश्यक छ : अर्थमन्त्री शर्मा

काठमाडौं अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको ४६औँ साधारणसभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो’, उनले भने, ‘यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’

मन्त्री शर्माले त्रिभुवन विमानस्थलको वैकल्पिक रुपमा मात्र नभएर मधेश र मुलुककै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल चाहिएको बताए । उनले निजगढ विमानस्थल र काठमाडौं–तराई द्रुतमार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको बताए । ‘मधेशलाई काठमाडौंसँग छोटो दूरीमा जोड्ने द्रुतमार्ग बनिरहेको छ । यसमा केवल गाडी मात्र कुदाउने होइन, सो द्रुतमार्गमा राष्ट्रिय–अन्तर्राष्ट्रिय यात्रुहरुलाई पनि आवतजावत गराउने हो’, उनले भने ।

त्यस्तै वीरगञ्ज चिनी कारखाना सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने पनि उनले जानकारी गराए  । वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराललगायतको टोलीले शनिबार बिहान वीरगञ्ज चिनी उद्योगको निरिक्षण गरेका थिए । सो अवसरमा कार्यरत कर्मचारीले चिनी मिल सञ्चालनयोग्य रहेको जानकारी दिएका थिए ।

‘वीरगञ्ज चिनी मिल चलाउने भनेर बजेटबाटै कुरा उठाइएको छ, यो कुनै मजाक गरेको होइन’, उनले भने, ‘६–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कार्यक्रम राखिएको हो ।’ उनले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चापदार्थको उपलब्धता बढाउन वीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताए  ।

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको ४६औँ साधारणसभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो’, उनले भने, ‘यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’

मन्त्री शर्माले त्रिभुवन विमानस्थलको वैकल्पिक रुपमा मात्र नभएर मधेश र मुलुककै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल चाहिएको बताए । उनले निजगढ विमानस्थल र काठमाडौं–तराई द्रुतमार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको बताए । ‘मधेशलाई काठमाडौंसँग छोटो दूरीमा जोड्ने द्रुतमार्ग बनिरहेको छ । यसमा केवल गाडी मात्र कुदाउने होइन, सो द्रुतमार्गमा राष्ट्रिय–अन्तर्राष्ट्रिय यात्रुहरुलाई पनि आवतजावत गराउने हो’, उनले भने ।

त्यस्तै वीरगञ्ज चिनी कारखाना सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने पनि उनले जानकारी गराए  । वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराललगायतको टोलीले शनिबार बिहान वीरगञ्ज चिनी उद्योगको निरिक्षण गरेका थिए । सो अवसरमा कार्यरत कर्मचारीले चिनी मिल सञ्चालनयोग्य रहेको जानकारी दिएका थिए ।

‘वीरगञ्ज चिनी मिल चलाउने भनेर बजेटबाटै कुरा उठाइएको छ, यो कुनै मजाक गरेको होइन’, उनले भने, ‘६–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कार्यक्रम राखिएको हो ।’ उनले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चापदार्थको उपलब्धता बढाउन वीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताए  ।

आज मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक दिउँसो ४ बजे बालुवाटारमा बोलाइएको छ ।

बैठकमा एक प्राविधिक सचिवको बढुवालगायत मन्त्रालयका नियमित एजेन्डाबारे छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा जेठ १२ गते बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय सर्जु कुमार वैद्य, राम आधार साह र विश्वबाबु पुडासैनीको नाम सिफारिस गरेको थियो ।

रोकियो नयाँ मन्त्रीको नियुक्ति र सपथ, भयो यस्तो सहमति

काठमाडौं । एकीकृत समाजवादीका नयाँ मन्त्रीको नियुक्ति र सपथ रोकिएको छ । आइतबार एसले सचिवालय बैठकबाट पाँच मन्त्रीको नाम सिफारिस गरेको थियो । आज सपथ ग्रहणको कार्यक्रम रहेको थियो ।

प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति भएपछि अहिलेलाई नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया रोकिएको स्रोतले जनाएको छ ।
स्वास्थ्यमन्त्री खतिवडाले विश्वव्यापी अभ्यास नेपालमा पनि लागु हुने बताएका छन् ।

खतिवडाले भने, “बजेट पारित नहुँदासम्म मन्त्रीहरुको हेरफेर विश्वका कुनै पनि मुलुकमा हुँदैन र हाम्रोमा पनि हुँदैन,” “त्यसैले बजेट पारित नहुँदासम्म केही पनि हुँदैन भनेर बुझ्दा हुन्छ ।”

खानेतेलमा भन्सार महसुल छुट गर्न माग

काठमाडौं – नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले खाने तेलमा लगाइएको भन्सार महसुल छुट गर्न माग गरेको छ । भन्सार महसुल छुट गरेर जनतालाई राहत दिनुपर्ने संघको भनाइ छ ।

संघले आइतबार पत्रकार सम्मेलन गर्दै छिमेकी मुलुक भारतले उच्च महँगीको चापबाट उपभोक्तालाई राहत दिनका लागि खानेतेलको भन्सार महसुल शून्य प्रतिशतमा झारेको उल्लेख गर्दै नेपाल सरकारले पनि सोही नीतिलाई अवलम्बन गर्नुपर्ने बताएको हो । संघका अध्यक्ष सन्दीपकुमार अग्रवालले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ८७ अर्ब ६० करोड रूपैयाँबराबरको वनस्पति तेल भारत निकासी भएको जानकारी दिँदै भारतले भन्सार महसुल शून्यमा झार्दा नेपालको निकासीमा कमी आउने बताए । भन्सार महसुलका कारण नेपालको तेल उत्पादन महँगो पर्ने भएकाले नेपाल–भारत खुला सिमानाबाट अनधिकृतरूपमा सस्तो मूल्यमा भारतीय तेल चोरी पैठारी भई नेपाल भित्रिने गरेको उनले बताए । यसबाट राजस्वमा ह्रास आउने उनको भनाइ छ । उनका अनुसार हाल नेपालमा तीन लाख टन तेल खपत हुँदै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कच्चापदार्थमा लगाइएको भन्सार महसुल शून्यमा झार्नुपर्ने बताए । ‘भन्सार महसुलका कारण हरेक सामग्री महँगो पर्दैै गएको अवस्था छ, यसप्रति सरकारले पुनर्विचार गर्नुपर्छ’, उनले भने । नेपालमा उद्योग सञ्चालनका लागि जग्गा प्राप्तिदेखि अन्य धेरै समस्या रहेको भन्दै उनले सरकारले हाल ल्याएको नयाँ व्यवस्थाले नेपालका उद्योग सफ्टमा पर्नसक्ने बताए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालले सरकारले एउटा उद्योगको संरक्षण गर्दा अर्को उद्योगलाई समस्या पार्ने नीति ल्याउन नहुने बताए ।

भुटानद्धारा नेपाललाई ६७ रनको लक्ष्य

काठमाडौं । आईसीसी यू १९ महिला टी ट्वान्टी विश्वकप एसिया छनोटमा भुटानले नेपाललाई जितका लागि ६७ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनायो ।

नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले २-२ विकेट लिए ।

नेपाल आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो दुई खेल नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।

नेपाल २ खेल २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।

चीनी उद्योगीद्धरा आफुखुशी मुल्यबृद्धि

काठमाडौं – भारतले चिनी निकासीमा प्रतिबन्ध घोषणा गरेपछि नेपालका चिनी मिलहरूले आफूखुशी मूल्य बढाएका छन् । गएसाताअघि भ्याटसहित ८५ रुपैयाँ किलोमा चिनी बेचिरहेका उद्योगहरूले अहिले ९० रुपैयाँ लिन थालेका हुन् ।इस्टर्न सुगर मिलका बजार प्रबन्धक वीरेन्द्रकुमार साहले अहिले भ्याटसहित ९० रुपैयाँ किलोमा चिनी विक्री गरिरहेको बताए । साताअघि ८५ रुपैयाँ किलोमा बिक्री गरेको तर बजारको अवस्था हेरेर मूल्य घटबढ हुन सक्ने उनले बताए ।

सरकारले स्वदेशी उद्योगको उत्पादन बजारमा आएको भन्दै चिनीको एलसी खोल्न रोक लगाएको छ । खाद्य सुरक्षाका लागि भारतले २ महीनालाई चिनी निकासीमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपालका चिनी मिलहरूले आफूखुशी किलोमा ५ रुपैयाँ मूल्य बढाएको आयातकर्ताको दाबी छ । चिनी आयातकर्ताहरूले सरकारले उद्योग बचाउने नाममा उद्योगीलाई मनपरी गर्न दिएको आरोप लगाएका छन् । सरकारले उखुको मूल्य तोक्ने तर चिनीको मूल्य नतोकिदिनाले चिनी मिलहरूले बजारको अवस्था हेरेर ‘कार्टेलिङ’गर्ने गरेको उनीहरूको दाबी छ ।

दुई दशक चिनी उद्योगमा काम गरेका चिनी आयातकर्ता नवरतन लुनियाँले सरकारले एलसी खोल्न नदिएको कारण असारपछि चिनीको मूल्य प्रतिकिलो सय रुपैयाँभन्दा माथि पुग्ने चेतावनी दिए । नेपालको उत्पादनले ५ महीना मात्र धान्ने र बाँकी विदेशबाटै ल्याउनुपर्ने बाध्यता छ ।

सरकारले चिनीको एलसी खोल्न रोके पनि तस्करी भएर पर्याप्त चिनी आइरहेको उनले दाबी गरे । भारतमा ५६ रुपैयाँ किलोमा चिनी पाइन्छ । नेपालमा खुद्रामूल्य ९० रुपैयाँ छ । एक किलो चिनीमा ३४ रुपैयाँ मार्जिन रहेकाले खुला सीमाको फाइदा उठाउँदै दैनिक ठूलो परिमाणमा चिनी अवैधरूपमा नेपाल भित्रिरहेको लुनियाले बताए । सरकारले उद्योगीलाई जेसुकै गर्न छूट दिएर उपभोक्तालाई मारमा पार्ने काम गरेको अर्का व्यवसायी जीवन रिजालले बताए । ‘एलसी खोलेर चिनी ल्याउँदा उपभोक्ताले हाल चिनी मिलले दिइरहेको भन्दा झन्डै १० रुपैयाँ सस्तोमा चिनी पाउँथे । अहिले उद्योगीले आफूखुशी मूल्य तोकेका छन् ।’नेपालमा चिनीको वार्षिक खपत २ लाख ५० हजार टन छ । स्वदेशी उद्योगहरूले १ लाख टन उत्पादन गर्छन् । बाँकी १ लाख ५० हजार टन चिनी पैठारीबाटै आपूर्ति गरिन्छ । नेपालका उद्योगहरूको उत्पादनले यहाँको मागअनुसार करीब ५ महीना धान्छ । बाँकी ७ महीनाको मागपैठारीबाट धान्नुपर्ने अवस्था रहेको रिजालले बताए ।