बर्थ डे मनाउन बोलाएर किशोरीमाथि सामुहिक बलात्कार

बाँके । फेसबुकको चिनजान र प्रेम सम्बन्धले एक किशोरी सामुहिक बलात्कारको सिकार बनेकी छन् । बाँकेमा फेसबुकबाट चिनजान र प्रेम सम्बन्ध राखेका एक युवाले भेट्न बोलाएर एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेका छन् ।

फेसबुकमा एक वर्षदेखि चिनजान भएका बाँके बैजनाथ गाउपालिका ८ का १७ बर्षका हेमराज थारुले शनिबार आफ्नो जन्म दिन छ भनेर किशोरीलाई भेट्न बोलाएका थिए ।

प्रेमीको जन्म दिन मनाउन बाँके बर्दिया सीमानाको मानखोलामा पुगेकी किशोरीलाई प्रेमी हेमराजसहित अन्य ५ जनाले जंगलमा लगेर मदिरा खुवाई पालै पालो बलात्कार गरेका प्रहरीले जनाएको छ ।

किशोरीलाई शुरुमा मानखोलाको जंगल र पछि बैजनाथस्थित टहरामा लगेर दुईदिनसम्म बलात्कार गरेको प्रहरीले बताएको छ ।
बलात्कारमा संलग्न ५ जना र सहयोगी २ जना सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रेमी हेमराज थारु, निराजन थारु, बिक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु छन् ।

बलात्कारबाट बेहोस भएकी किशोरीलाई दुई जनाले मोटरसाइकलमा राखेर नेपालगञ्ज ल्याउँदै गर्दा प्रहरीले शंका लागेर किशोरी सहित ३ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार किशोरीले होसमा आएपछि प्रहरीसँग उनीहरुले आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन् । त्यसपछि खटिएको प्रहरीले थप ५ जनालाई पक्राउ गरेको छ । बलात्कारमा परेकी किशोरीलाई उपचारपछि आश्रयस्थलमा राखिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

देशभर मनसुन फैलिन केही दिन लाग्ने

काठमाडौँ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सो समयभन्दा एक साता आगामी अर्थात् जुन ५ मै प्रवेश गरेको छ । मनसुन देशभर फैलिन केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागका अनुसार आइतबार नेपालको प्रदेश नं १ मा आगमन भएको यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको छ । नेपालका अन्य भू–भागमा मनसुन फैलिन केही दिन लाग्ने विभागको अनुमान छ ।

हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाका साथै पूर्वी नेपालमा मनसुनी वायुको समेत सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन प्रणाली आजका दिन नेपालको प्रदेश नं १ मा आगमन भई प्रदेश नं १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

दिउँसो प्रदेश नं १, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १३ दशमलव सात डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ४१ दशमलव चार डिग्री सेल्सियस रहेको विभागले बताएको छ ।

यार्सा संकलनबाट २५ लाख राजस्व

काठमाडौं मुगुम कार्मारोङ गाउँपालिकामा यार्सागुम्बा संकलनबाट २५ लाख राजस्व संकलन भएको छ । अझै उठाउने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका प्रति व्यक्तिबाट दुई हजार र जिल्लाबाहिरबाट भित्रिएका प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले राजस्व उठाउने गरेको छ ।

फर्पिङको जंगलमा युवा–युवती मृत भेटिए

काठमाडौं । फर्पिङको जंगलमा युवा–युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

अन्दाजी २२/२३ वर्ष उमेरका युवा–युवती मृत फेला परेको काठमाडौं प्रहरी प्रमुख बसन्त बहादुर कुँवरले जानकारी दिएका छन् । उनका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको छैन ।

घटनास्थलमा अपराध महाशाखाको टोली अनुसन्धानका लागि पुगेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

बलात्कारमा हदम्याद हटाउन सांसदहरूको माग

काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्तावमाथि सैद्धान्तिक छलफल जारी रहेको छ ।

छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले बलात्कारका सम्बन्धमा हदम्याद हटाउनुपर्ने बताउनुभयो ।
त्यसैगरी सांसद सरिताकुमारी गिरीले यौनजन्य हिंसाका अपराधीहरूलाई कडा कारबाही गरिनुपर्ने बताउनुभयो ।

सांसद प्रकाश रसाइलीले यौनहिंसाका घटनामा संलग्नलाई कडा कारबाही हुने गरी कानून बनाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसद चाँदताराकुमारीले बलात्कारमा हदम्यादका कारण पीडितले न्याय नपाउने गरेको बताउनुभयो ।

बैठकमा यस अघि बैठकमा सांसदहरुले समसामयिक विषयमा आफ्ना धारण राख्नुभएको थियो । यसपछि बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।

कर्णाली प्रदेशमा नीति तथा कार्यक्रम मंगलबार

सुर्खेत- कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/ ८० को नीति तथा कार्यक्रम भोलि (मंगलबार) प्रदेश सभामा पेस गर्ने तयारी गरेको छ ।सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ ।यस पटक कार्यान्वयनमुखि योजना मात्रै बजेटमा समावेश गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बताए । प्रदेश सरकारले विगतका अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको छ ।

‘यसअघिका थुप्रै आयोजनाहरू अधुरा छन् । ती आयोजनालाई मुर्तरुप दिनका लागि नयाँ योजना थप्नेभन्दा पुरानै योजनामा बजेट थप्ने र कार्यान्वयन गर्ने सरकारको तयारी छ ।

इम्बोस्ड नम्बर प्लेट जडानमा जबर्जस्ती नगर्न सांसद थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाउनुभएको छ । मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले गत शुक्रबार एक सार्वजनिक सूचनामार्फत बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद थापाले सहजीकरण गर्नुपर्नेमा अनावश्यक रुपमा नागरिकलाई दुःख दिन लागिएकामा आपत्ति प्रकट गर्नुभयो ।

नम्बर प्लेट जडान गर्दा अत्यधिक शुल्क लिइएको, त्यसको गुणस्तरसमेत नभएको भन्दै प्रयोगकर्तालेसमेत गुनासो गरेका छन् । निजी सवारी साधनमा अनिवार्यरुपमा आगामी साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने विभागको सूचनामा उल्लेख छ ।

एकैपटक १५ लाख बढी सवारी साधनमा उक्त नम्बर प्लेट जडान गर्नुपर्नेछ । त्यस आधारमा दैनिक पाँच हजार ५०० जनाले सवारी साधनमा उक्त नम्बर प्लेट राख्नुपर्ने देखिएको सांसद थापाको भनाइ छ ।

भौतिक संरचना र जनशक्तिसमेत नभएका अवस्थामा त्यसलाई सहजीकरण गर्नुपर्नेमा उल्टै उपभोक्तालाई डर देखाइएको भन्दै उहाँले त्यसमा सरकारकोसमेत दायित्व हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न गर्नुभयो ।

भारत र बङ्गलादेशको तुलनामा असाध्यै महँगो रहेको सो नम्बर प्लेट नागरिकले सस्तो र गुणस्तरीय पाउनुपर्नेमा जोड दिनुभयो । सांसद थापाले भन्नुभयो, “सरकारले जबर्जस्ती बन्द गरोस् होइन भने नागरिकले अवज्ञा गर्नेछन् ।”

सांसद थापाले इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपीमा हुन नसकेकामा आपत्ति प्रकट गर्नुभयो । अन्य देशमा आफ्नै देशको लिपीमा हुनसक्ने, नेपालमा भने किन हुन सकेन भनेर नागरिकस्तरमा प्रश्न उठेको सांसद थापाको भनाइ छ ।

तोकिएको जिम्मेवारी सम्बन्धित यातायात व्यवस्था कार्यालयले पूरा नगरेको यातायात व्यवस्था विभागका महानिर्देशकले नै सार्वजनिकरुपमा बताउनुभएको तथ्य पेश गर्दै उहाँले जिम्मेवारी पूरा नगर्नेलाई कारवाही गर्ने कि नागरिकलाई डर देखाएर तर्साउने भन्दै जिज्ञासा व्यक्त गर्नुभयो ।

सांसद समिना हुसनेले हजयात्रीलाई दोब्बरभन्दा बढी शुल्क लिएको भन्दै त्यससँग जोडिएकालाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो । त्यस्तै सांसद यज्ञबहादुर बोगटी र रामबहादुर विष्टले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्यमा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो । उहाँहरुले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो ।

क्यासिनोबाट सात जना पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।अनुसार पक्राउ पर्नेमा मनोज विक, विपिनसिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, विक्रम क्षेत्री, आकाश सिंह र मोहित शाह छन् ।

पक्राउ परेकालाई कानुनी कारबाही गर्ने वा के गर्ने भन्ने विषयमा छलफल चलिरहेको जनाइएको छ ।क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेश निषेध गरिएको छ तर नेपालगन्जका क्यासिनोले निर्वाधरुपमा नेपालीलाई प्रवेश दिइएको बताइएको छ ।

बाँदरमुढे घटनाको १७ वर्षः अझै न्यायोचित परिपुरण हुन सकेन

तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपुरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ ।

तत्कालीन नेकपा माओवादीले राखेको एम्बुसमा माडीको बगईबाट १५० जना यात्रु बोकेर नारायणगढतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए । सोही घटनामा पीडित बन्नुभएका माडी नगरपालिका– का कृष्ण अधिकारी अहिलेसम्म पनि राज्यका तर्फबाट परिपुरणको व्यवस्था नहुनु दुःखद् रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “घाईते हामी धेरै छौ । जम्म २२ जनाले मात्र राहत पाएका छन् । अरुले पाउन सकेका छैनन् ।”

घाइते मध्ये ५० जनाले राज्यबाट सहयोग पाउन नसकेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “सरकारले बाँदरमुढे पीडित भनेर रातो किताबमा नाम निकालेकाले मात्रै राहत पाएका छन् ।” यो नाम पनि शक्तिको आधारमा राखिएको उहाँको भनाइ छ । राहतमा नाम नपरेकाका लागि पुनः मूल्याङ्कन गरी राहतको व्यवस्था गर्नुपर्ने उहाँले माग गर्नुभयो । राहतका लागि राखिएका नाममध्ये २० प्रतिशतदेखि शतप्रतिशतसम्मको रहेको छ । शतप्रतिशत राहत पाउने दुई जना रहेका छन् भने अधिकांश २० प्रतिशत राहत पाउने रहेका छन् । यसको पुनरावलोकन हुन नसक्दा समस्या आएको उहाँले बताउनुभयो ।

राज्यले अहिलेसम्म पीडितलाई खासै केही गर्न नसकेको अर्का पीडित सुदीप न्यूरेले बताउनुभयो । उहाँ अहिले राज्यले पीडितलाई झुक्याउने र पीडितले विरोध गर्ने कामभन्दा केही हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बाँदरमुढे पीडितलाई परिपुरणको व्यवस्था मात्रै राज्यले गर्नसक्ने हो भने धेरै समस्या हल हुन्छ ।” माओवादी केन्द्रका जिल्ला नेताले सो घटनालाई सामान्यरुपमा लिएकाले अहिले सम्म समस्याजस्ताको तस्तै रहेको उहाँले आरोप लगाउनुभयो । उहाँले थप्नुभयो, “यो घटनाको विषय जिल्ला नेताहरुले उठाउनै चाहँदैनन् । हाम्रो समस्यामा स्थानीय नेताहरु बाधक बने ।”

बाँदरमुढे पीडित सङ्घर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने अहिले पनि घटनास्थलमा पुग्दा आफ्नो शरीर काप्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मेरो श्रीमतीको शव अहिले पनि त्यही छ जस्तो मलाई लाग्छ ।” घटना भएको १७ वर्ष पुग्दासमेत राज्यले आफ्नो दायित्व पूरा गर्न नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल दुई–दुई पटक प्रधानमन्त्री हुँदासमेत आफूहरुको माग सम्बोधन नहुनु दुःखद् रहेको छ ।” पीडितले अहिले न्यायको कुरालाई पछि राख्दै परिपुणरलाई प्रथामिकता दिनसमेत आग्रह गरेका छन् । उहाँले भन्नुभयो, “पहिला घाइतेको उपचार र परिपुरणको व्यवस्था गर्नु राज्यको दायित्व हो ।” न्याय र परिपुरण दुवै हुन नसकेको पीडितको गुनासो रहेको छ ।

नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले पार्टीको पहलमा पीडितलाई न्याय र परिपुरणका क्षेत्रमा धेरै काम भएको जानकारी दिनुभयो । पीडितहरुको मागलाई मध्यनजर गर्दै सरकारसँग आफ्नै पार्टीको पहलमा घटनास्थलमा उद्यान निर्माणदेखि स्वास्थ्योपचार, शिक्षा, रोजगारलगायतमा प्रथामिकतामा राखेर काम भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “तत्कालीन घटनालाई देखाएर धेरै प्रचारबाजी भएका छन् । काम नभएको होइन ।

तोलामा दुई सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार नौ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला दुई सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार चार सय थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर एक हजार २९० रुपियाँ तोकिएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपास कारोबार भइरहेको छ ।

बालुवाटारमा गठबन्धनबीच छलफल सुरु

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनबीच छलफल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज (सोमबार) बिहान छलफल भएको हो ।

छलफलमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए ।एकीकृत समाजवादीले आफ्ना पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गर्ने निर्णय हिजो (आइतबार) सचिवालय बैठकबाट गरेको थियो ।

बजेटमा मन्त्रालयगत छलफल सुरु (प्रत्यक्ष प्रसारण)

प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेदेखि सङ्घीय संसद भवनमा बैठक सुरु भएको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने छ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०ले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यसैगरी, आर्थिक वर्ष २०७९/०८० को बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदैछ । बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजबाट मन्त्रालयगत छलफल सुरु हुन लागेको हो ।

विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरुमाथि प्रारम्भ हुने छलफलअन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शहरी विकास मन्त्रालय, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको शीर्षकहरुका बारेमा छलफल हुनेछ ।

असारदेखि मतदाता नामावली पुनः सङ्कलन गरिने

काठमाडौँ । असार १ देखि मतदाता नामावली सङ्कलन गरिने भएको छ । निर्वाचन आयोगले सङ्घ र प्रदेश निर्वाचनलाई लक्षित गरी असार १ देखि मतदाता नामावली सङ्कलन गर्ने भएको हो ।

स्थानीय तहको निर्वाचनअघि स्थानीय तहमै पुगेर मतदाता नामावली सङ्कलन गर्दा पनि नाम छुटेको गुनासो आएपछि आयोगले पुनः नामावली सङ्कलन गर्न लागेको जानकारी दिएको छ ।

मतदाता नामावली आफू बसेकै जिल्लाबाट भर्न सकिने आयोगले जनाएको छ । उक्त विवरण स्थायी बसोबास भएको जिल्लामा पठाउन लागेको हो । फोटोसहितको नामावली जिल्ला प्रशासन, इलाका प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा भर्न सकिने आयोगले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए ।

०७४ मा पनि स्थानीयको निर्वाचन भएपछि प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन गरिएको थियो  ।

निर्वाचनको मिति घोषणा भएपछि नामावली सङ्कलन गर्न नमिल्ने कानुनी व्यवस्था भएकाले आयोगले असार १ देखि नै नामावली सङ्कलन गर्न लागेको हो ।

आयोगले कात्तिक अन्तिमदेखि मङ्सिर पहिलो साता निर्वाचन घोषणा गर्नुपर्ने सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ ।

प्रतिनिधि र प्रदेशसभा सदस्यको पदावधि मङ्सिर २२ सम्म मात्रै हुने आयोगको ठहर छ । प्रतिनिधिसभाको निर्वाचन ०७४ मङ्सिर २१ मा पहिलो चरणको निर्वाचन भएको थियो ।

साेमबार बस्ने प्रतिनिधिसभा बैठकका सम्भावित कार्यसूची यस्ता छन्

काठमाडौं । प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९(०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ । बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, सहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची छ ।

सङ्घीय संसद् सचिवालयले छलफल र विभागीय मन्त्रीको जवाफको सम्भावित तालिका तयार पारिसकेको छ तर कार्यव्यवस्था परामर्श समितिले प्राप्त मन्त्रालयगत विवरणका आधारमा सम्भावित कार्यतालिकालाई हेरफेर गर्नसक्ने छ ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सोमबारका लागि तय भएका सातमध्ये पाँच मन्त्रालयको विवरणसमेत प्राप्त भइसकेको जानकारी दिए । जेठ २५ गतेसम्म मन्त्रालय र मातहतका कार्यालयको विनियोजन शीर्षकको छलफल सक्ने तयारी सचिवालयको छ ।

सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार सोमबार कानुन, न्याय तथा संसदीय मन्त्रालय, युवा तथा खेलकुद, श्रम रोजगार, वन तथा वातावरण, सहरी विकास मन्त्रालय शीर्षकमा छलफल हुनेछ । यस्तै भूमि व्यवस्था, महिला तथा बालबालिका मन्त्रालय शीर्षकमा पनि सोमबार नै छलफलको कार्यतालिका छ ।

यस्तै मङ्गलबार कृषि तथा पशुपन्छी, शिक्षा, उद्योग, संस्कृति पर्यटन, भौतिक पूर्वाधार, परराष्ट्र र खोनेपानी मन्त्रालय शीर्षकमा छलफल हुनेछ । जेठ २५ गते अर्थ, स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि, गृह मन्त्रालय शीर्षकमा छलफल हुनेछ ।

यस्तै राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, योजना आयोगको सचिवालयको बजेटमा पनि जेठ २५ गते नै छलफल हुनेछ । जवाफका लागि विभागीय मन्त्रीहरूलाई दुई दिनको समय छुट्याइएको छ । जसमा जेठ २६ गते १२ मन्त्रालय २७ गते बाँकी मन्त्रालय र कार्यालय शीर्षकमा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिनेछन् । मन्त्रालयगत छलफल सकिएपछि विनियोजन विधेयक पारितको प्रक्रिया अघि बढ्नेछ ।

एसका नयाँ मन्त्रीहरूको शपथ आज

काठमाडौँ । एकीकृत समाजवादीका नयाँ मन्त्रीहरूको शपथको तयारी गरिएको छ । एसले सिफारिस गरेका नयाँ मन्त्रीहरूलाई आज शपथ गराउने तयारी भएको हो ।

पार्टीमा भागबन्डा मिलाउनको लागि एकीकृत समाजवादीले आइतबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री थिए ।

अब राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ ।

नयाँ मन्त्रीको नाम एकीकृत समाजवादीले हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । श्रम मन्त्री प्रस्ताव गरिएका शेरबहादुर कुँवर गैरसांसद छन् । यसअघि पनि प्रधानमन्त्री देउवाले गैरसांसद गोविन्द प्रसाद कोइरालालाई कानुनमन्त्रीमा नियुक्त गरेका थिए ।