नक्सा पास नभए डोजर चल्छः मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले काठमाडौँ जिल्ला अदालतमा डोजर चल्ने बताएको छ । उनले भने कानुन सबैलाई बराबरी लाग्ने भन्दै अदालतलाई आफूले समय दिएको बताए ।

बुधबार उनको नेतृत्वमा काठमाडौँमा पार्किङका लागि नक्सा पास गरी बनाएका अनधिकृत भौतिक संरचनामा डोजर चलाएका थिए । सोही क्रममा उनले स्थानीयसँग कुरा गर्दै काठमाडौँ जिल्ला अदालतले पनि नक्सा पास नगरी संरचना बनाएको पाइए भत्काउने बताए ।

‘ठूलोलाई लाग्ने सानोलाई नलाग्ने होइन, सबैलाई बराबर हो,’ उनले भने, ‘हामीले जिल्ला अदालतलाई समय दिएका छौँ, जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि हुने यही हो ।’

आफूलाई असफल पार्नेबाहेक केपी ओलीले अरु काम नगरेको ‘प्रचण्ड’

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्नेबाहेक केपी ओलीले अरु काम नगरेको आरोप लगाएको छ ।

चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्नेबाहेक अरु काम नगरेको आरोप लगाएका हुन् ।

राजनीति स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उनले आफूले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको पनि दाबी गरेको हो । ‘राजनीतिक स्थायित्व र विकास भन्दै नेपाल कम्युनिष्ट पार्टी बनाएको थियौँ, र केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ प्रचण्डले भने, ‘तर, दुर्भाग्य, जे सपना देखेर गरेको हो (एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर नेकपा गठन) , त्यो सपना चकनाचुर भयो ।

पटक पटक प्रतिनिधिसभा विघटन गर्ने । र प्रचण्डलाई चैँ कसरी हुन्छ चितवनमा असफल पार्नेबाहेक प्रधानमन्त्रीका रुपमा मेरा सहअध्यक्ष (केपी ओली)को अर्को भूमिका देख्न पाइनँ ।’

कर्मचारीको समायोजन प्रक्रियालाई कानुनसम्मत ठहरः सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले समायोजन ऐन २०७५ को व्याख्या गर्दै संविधान र ऐनमा बाझिएका केही विषयबाहेक प्रशासनिक सङ्घीयता कार्यान्वयनका क्रममा सङ्घ, प्रदेश र स्थानीय तहमा सरकारले गरेको कर्मचारी समायोजनको निर्णयलाई उचित ठहर गरेको हो । सर्वोच्च अदालतले साढे तीन वर्षअघि गरिएको ९९ हजार कर्मचारीको समायोजन प्रक्रियालाई कानुनसम्मत ठहर गरेका छन् ।

फैसलाअनुसार संविधान र ऐनसँग बाझिनेबाहेक समायोजनमा गएका कर्मचारी अब सङ्घको दरबन्दीमा फर्कन पाउने छैनन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले समायोजन ऐनसँग जोडर लोक सेवा आयोगलाई विपक्षी बनाउँदै दायर गरिएका सबै रिट खारेज भएको बताए । रिट निवेदकहरूको हरेक मुद्दाको व्याख्या गर्दै सर्वोच्चको संवैधानिक इजलासले समायोजनमा गएका कर्मचारीलाई मर्का परेका विषयमा सम्बोधन गर्न सरोकारवालालाई लेखी पठाउने आदेश पनि गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वम्भरप्रसाद श्रेष्ठ, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान सम्मिलित संवैधानिक इजलासले उक्त आदेश दिएको हो । गत साउनमा सुनुवाइ सकेको इजलासले मंगलबार निर्णय सुनाएको छ ।

अदालतको व्याख्याअनुसार समायोजन ऐनबमोजिम गरिएको समायोजनका सबै काम अनुमोदन भएका छन् । ऐनलाई ख्याल नगरी पद नै नभएको स्थानमा कर्मचारी खटाइएको विषयमा भने परमादेश जारी गरेर निवेदकको पक्षमा फैसला गरिएको छ । यो समस्या स्वास्थ्य क्षेत्रमा धेरै रहेको छ । सर्वोच्चले पद घटुवा गरेर खटनपटन गरेको विषयलाई पनि यथाशीघ्र पूर्वअवस्थामा रहने गरी समाधान गर्न आदेश दिएको छ ।

अदालतको मंगलबारको फैसलासँगै समायोजन ऐन कार्यान्वयनका क्रममा तीन वर्षदेखि सरकारले झेल्दै आएको धेरै समस्याको समाधान भएको छ । सर्वोच्चका प्रवक्ता पौडेलका अनुसार फैसलापछि तीन वर्षदेखि रोकिएका लोक सेवा आयोगका विभिन्न तहका परीक्षा सञ्चालन र नतिजा प्रकाशनको बाटो खुलेको छ । यसअघि अदालतले समायोजनसम्बन्धी मुद्दामा अन्तिम टुङ्गो नलागेसम्म आयोगका परीक्षा सञ्चालन नगर्न आदेश गरेको थियो । यसबाट नायब सुब्बादेखि अधिकृतसम्मका झन्डै १० हजार कर्मचारीको पदपूर्ति रोकिएको थियो । पदपूर्ति अगाडि बढाउन परीक्षार्थीले आयोगलाई दबाब दिँदै आएका थिए ।

प्रदेश र स्थानीय तहमा गएका अधिकृत र नायब सुब्बाहरूले आफूहरूलाई ऐनविपरीत जबरजस्ती समायोजन गरेको दाबी गर्दै संघीय दरबन्दीमा फर्कन पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । निजामती सेवाका प्रशासन र प्राविधिक क्षेत्रका कर्मचारीले ९८ वटा रिट दायर गरेका थिए । सर्वोच्चले गरेको अन्तरिम आदेशअनुसार कतिपय कर्मचारी संघीय दरबन्दीमा फर्कन थालेपछि समायोजन ऐनमाथि नै प्रश्न उठेको थियो । केही अधिकृत अदालतको आदेशमा संघीय दरबन्दीमा फर्केर काम गरिरहेका छ । अब भने सङ्घको दरबन्दीमा फर्केकाहरू पुनः समायोजन भएकै दरबन्दीमा जानुपर्ने भएको छ । अन्तरिम आदेशअनुसार सङ्घको दरबन्दीमा आएका ३४ जना अधिकृत अब प्रदेश र स्थानीय तहमा फर्कनुपर्ने भएको हो । उनीहरूले सङ्घमा दरबन्दी हुँदाहुँदै आफूहरूलाई जबरजस्ती प्रदेश र स्थानीय तहमा पठाएको भन्दै रिट दायर गरेका थिए ।

सरकारले २०७६ चैतमा समायोजन पूरा भएको घोषणा गरेको थियो । संविधानतः समायोजन नै बेठिक भएको, ऐनअनुसार समायोजन नगरेको, ऐनविपरीत मापदण्ड बनाएर सरुवामा बेथिति सिर्जना गरेको, समायोजनमा परेकाहरूलाई माथिल्लो तहमा सरुवा हुन रोक लगाएको जस्ता विषय उठाएर कर्मचारीले रिट हालेका थिए ।

समायोजनका क्रममा पायक नपरेको जस्ता कर्मचारीको व्यक्तिगत गुनासोलाई आन्तरिक रूपमा मिलाउन सर्वोच्चले आदेश दिएको छ । प्रवक्ता पौडेलका अनुसार फैसलाको पूर्णपाठ पाएको एक महिनाभित्रमा समस्या समाधान गर्न सरोकारवालालाई लेखी पठाउने आदेश भएको छ । समायोजन ऐन कार्यान्वयनका विषयमा पटक–पटक समस्या भएपछि कर्मचारी सरुवा, बढुवा र परिचालनमा एक वर्षदेखि कठिनाइ हुँदै आएको छ । संघीय मन्त्रालयका अधिकारीहरूले अब कर्मचारीतन्त्र चलायमान बन्ने उनले बताए ।

धमाधम रिट पर्न थालेपछि सर्वोच्चले समायोजन र पदपूर्ति समस्या एउटै प्रकृतिको र एक(अर्कामा सम्बन्धित भएकाले सबै विषय एकै पटक संयुक्त इजलासमा पेस गर्न २०७८ भदौमा २५ मा आदेश दिएको थियो । यसबीचमा चार पटक एउटै विषयको मुद्दामा फरक(फरक आदेश गरिएको थियो ।

नबिल बैंकको न्यूरोड शाखा हटाउन: बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नबिल बैंकको न्यूरोड शाखा हटाउन निर्देशन दिएका छन् ।

अवैधानिक रुपमा बनेका संरचना हटाउन बुधबार न्यूरोड गएका मेयर साहले बैंककको कार्यालय बेसमेन्टमा रहेकोले त्यसलाई पनि हटाउन निर्देशन दिएका हुन् ।

उपाध्यक्षसहित ११४ मिटरब्याजीविरुद्ध उजुरी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी दर्ता भएको छ । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक सय १४ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

मिटरब्याजीको गिरोहले सम्पत्ति हड्पेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेका छन् । मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै गत साउन २८ गते उजुरी आह्वान गरिएको थियो ।

देशैभरी मिटर ब्याजको जालो फैलिएको हुनसक्ने अवस्था र आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारका लागि पहल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गरी सार्वजनिक सूचना जारी गरिएको डा भुसालले बताए । सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट एक सय १४ उजुरी परेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

कार्यदलका संयोजक डा.भीष्मकुमार भुसालले जारी गरेको सूचनामा मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ-आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनिएको थियो ।

यस्तो उजुरी तिलाठी कौइलाडी गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साहविरुद्ध पनि परेको छ । तिलाठी कौइलाडी-६ की उपाध्यक्ष साहविरुद्ध सोही वडाकी सुनितादेवी मण्डलले आवश्यक कारबाहीको माग गर्दै उजुरी दिएकी छन् । उजुरीकर्ताका सासू लक्ष्मीनियादेवी तथा ससुरा नैमानी मण्डलले २०६१ सालमा दुई पटक गरी लिएको रु ४० हजार ऋण ब्याजसहित फिर्ता गरे पनि ऋण लिँदा पारित गर्न लगाएको जग्गा हालसम्म फिर्ता नगरेको मण्डलले आरोप लगाएकी छन् ।

प्राप्त भएको निवेदनमाथि प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालयसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाउने तयारी भइरहेको प्रजिअ गौतमले जानकारी दिए । प्राप्त उजुरीका बारेमा गृह मन्त्रालयलाई जानकारी गराइएको जनाउँदै प्रमुख जिल्ला अधिकारी गौतमले जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयले पनि आफ्नै तरिकाले अध्ययन गरिरहेको बताए ।

यसअघि प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सप्तरीका मिटरब्याजी रामदेव साहका छोरा नन्द किशोर र छोरी अनुराधा असार २२ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

महाकाली नदीमा एक बालिका बेपत्ता

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलोबुबाको घरमा गएका बेला दिदीसित नुहाउने क्रममा डुबेर बालिकाको नदीमा बेपत्ता भएकी हुन् ।

प्रहरी निरीक्षक भरत गिरीले बालिकाको खोजीमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी बलको टोली महाकालीमा खटिएको जानकारी दिनुभयो । “बालिकाको खोजीमा सुरक्षाकर्मी र स्थानीय पनि खटिएका छन् ।” उहाँले भन्नुभयो ।

८ हजार उडान रद्दः अमेरिका

एजेन्सी । टेक्सासदेखि अमेरिकाको पूर्वी तटसम्मको आँधीले अमेरिकामा हवाई उडान अवरुद्ध गरेका छन् । वासिंगटन पोस्टको रिपोर्ट अनुसार १,४८५ उडानहरू रद्द भएका छन् र ६ हजारभन्दा बढी ढिलाइ भएका छन् ।

प्रमुख एयरलाइन्सहरूमध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा बढी प्रभावित भएको पोस्टले जनाएका छन् । अमेरिकन एयरलाइन्सका ३९ प्रतिशत उडानहरू ढिलो भएका छन साउद वेस्टका ४० प्रतिशत प्रभावित भएका छन् ।

खराब मौसमका कारण जेटब्लुको ५२ प्रतिशत उडान तालिका पनि अवरुद्ध भएको फ्लाइट ट्र्याकिङ वेबसाइटले जनाएको छ ।

मेयर बालेन दरबारमार्ग पुगे

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह दरबारमार्ग पुगेको छ । बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर लगाइरहेका छन् । सोही क्रममा मेयर बालेन दरबारमार्ग पुगेका हुन् ।

दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरिंदा सडकमा बाक्लो जाम हुने गरेको छ । महागरपालिकाले यसअघि बिहान काठमाडौं मल अगाडिको संरचनामा डोजर लगाएको थियो । त्यसपछि खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलमा महानगरपालिकाले डोजर लगाएको थियो । त्यस लगत्तै महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन थालेका छन् ।

दरबारमार्गमा पुगेका मेयर बालेनले बुधबार र बिहीबारसम्म सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका छन् ।

दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते

८ भदौ, विराटनगर । मङ्गलबार साँझ दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छन्।

विराटनगर महानगरपालिका-१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले बताएका छन् ।

पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा राजकुमार गम्भीर घाइते भएका छन् । उनको न्युरो अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले बताएको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

कुटाकुट हुँदा अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका हुन् ।उनीहरू राजवंशीको समूहका हुन् ।

कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताए ।

भदौ ८ गते बुधबार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । मठमन्दिरको भ्रमणले थप ऊर्जा मिल्नेछ । विद्याको क्षेत्र पनि सबल नै रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभ पनि हुने देखिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । घरमा अतिथिको आगमन पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भएनि सामान खरीद गरिनेछ, तर खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नसक्छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमणीय र सुखद् यात्राको योग छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । पितृ देवको आशीर्वाद पनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कार्य सम्पादनमा समस्या आउला । पुँजी बजारमा लगानी नगर्दा नै बेस होला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचारः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताउनुभएका छन् । यहाँ आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताउनुभयो ।

नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “अहिलेको विधेयकमा आमाबावु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो ।” झण्डै छ÷सात लाख नेपाली आमाबावु दुवै नेपाली हुँदाहुँदै पनि नागरिकताबाट बञ्चित रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आमाबाबु दुवै नेपाली छन्, तिनका छोराछोरीले नागरिकता नपाएर अवसरबाट बञ्चित छन् । त्यो स्थितिलाई अन्त्य गर्ने यो विधयेक हो ।”

शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेशी तोक्यो

तनहुँ । नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेका छन् ।

बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्धाको पेशी तोकिएको शाहको पक्षवाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए । उनका अनुसार पेशी तोकिएसँगै तनहुँ अदालतवाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्नेछ ।

गत ११ फागुनमा नावालिक माथी पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको ४ दिन पछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन ।

अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिए पनि उच्च अदालतले भने उनको निवेदन अस्विकार गरिदिएका थिए ।

दुवै जिल्ला अदालतले पेशी तोकिएसँग उक्त मुद्धामा थुनामा रहेका शाह जेलमुक्त भएर मुद्धा लडनेछन वा थुनामा नै रहेर उक्त मुद्धा लडनेछन, त्यसको छिनोफानो अर्को साता हुनेछ । सच्चाईएकोः तनहुँमा १६ गते हुनु पर्नेमा अन्यथा हुन गएकोमा सच्चाईएको छ ।

बीमा पाउने आशामा मौका पाएर टिप्परमा आगजनी

दाङ । नेपाल बन्दको मौका पाएर चालक र सहचालकलेनै टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएका छन् ।

चालक राप्ती गाउँपालिका-८ पिपरी निवासी ३२ बर्षिय अरुण चौधरी र सह-चालक गढवा गाउँपालिका-७ चन्दनपुर निवासी १७ बर्षिय आकाश चौधरीले आफैंले टिप्परमा आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले बताए ।

घटना संकास्पद भएपछी प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेका थिए । घोराही(लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी संकास्पद भएपछि प्रहरीले दुबैजनलाई नियन्त्रणमा लिएको थियो ।

दुई दिनसम्म गोग्लीको ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । टिप्पर चालकले ५/६ जनाको समुहमा आएका बन्दकर्ताले आगजनी गरेको बताएका थिए ।

यता नेकपा दाङका जिल्ला सेक्रेटरी प्रदिप ओलीले टिप्पर आगजनीमा आफूहरुको संलग्नता नरहेको बताए ।

मन्त्रिपरिषद्का १६ निर्णय

काठमाडौँ । सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव लीलामणि पौडयालको संयोजकत्वमा उक्त आयोग गठन गर्ने निर्णय गरेको छ ।

‘देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरवलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न’ आयोग गठन गर्ने निर्णय गरिएको जनाइएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले योसहित विभिन्न १६ निर्णय गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७५७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ४३ जना र २ हजार १९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९१ जनामा गरी जम्मा ६३४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४५ हजार ५७४ पुगेका छन् ।

मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार २२१ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९४ रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय १७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७९ हजार ७७४ पुगेको छ ।