सत्ता गठबन्धनले प्रदेश सभातर्फ कुन दलले कति सिट लिने

काठमाडौं । सत्ता गठबन्धनले आज बिहान ११ बजे नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा बस्दैछ। यो बैठकमा कुन दलले कति सिट लिने भन्नेबारे छलफल हुनेछ।

सत्ता गठबन्धनले आइतबारदेखि प्रदेश सभा क्षेत्रको सिट बाँडफाँटबारे कुराकानी थालेका थिए। आइतबार दिनभर छलफल गरे पनि सहमतिको खाका प्रस्तुत हुन सकेन।

दलहरूले गत स्थानीय चुनावमा वडा तहमा पार्टीले ल्याएका भोटलगायत प्रस्तुत गर्दै आफ्ना तर्फबाट सिट दाबी गरेका थिए।

कार्यदलका एक सदस्यले दिएको जानकारीअनुसार नेपाली कांग्रेसले १८० प्रदेश सभा क्षेत्र आफूलाई दिनुपर्ने बताएको छ।

यस्तै नेकपा माओवादी केन्द्रले १००, नेकपा एकीकृत समाजवादीले ७०, जसपाले ५० र राष्ट्रिय जनमोर्चाले ७ सिटमा दाबी गरेका छन्।

प्रदेश सभामा प्रत्यक्षतर्फ ३३० क्षेत्र छ तर दलहरूबाट आएको दाबी ४०७ क्षेत्रका लागि छ। यो संख्यामा दलहरू घटेर सहमतिमा पुग्ने ती कार्यदल सदस्य बताउँछन्।

‘प्रतिनिधि सभा सिट बाँडफाँटमा जस्तै प्रदेश सभातर्फ पनि दलहरूले सुरूमा धेरै सिट दाबी गरेका छन्। मसिनो गरी छलफल गरेपछि सिट बाँडफाँट टुंगिन्छ,’ ती कार्यदल सदस्यले भने, ‘स्थानीय चुनावमा वडाध्यक्षहरूले ल्याएको मत, २०७४ को चुनावमा प्रदेश सभामा दलका उपस्थिति र ल्याएका मतलगायत विश्लेषण गर्दै निर्णयमा पुगिन्छ।’

दसैंको फूलपातीअघि नै प्रतिनिधि सभा र प्रदेश सभातर्फ सिट बाँडफाँट गरिसक्ने गरी छलफल अगाडि बढाइएको ती नेता बताउँछन्। प्रतिनिधि सभातर्फ मधेशका केही जिल्ला, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, धनकुटा, धादिङ, तनहुँ, नवलपुरलगायत केही क्षेत्रमा विवाद छ।

प्रदेश सभा क्षेत्रको सिट बाँडफाँट मिलाउँदा प्रतिनिधि सभा क्षेत्र पनि मिल्न सक्ने भएकोले प्रदेश सभा क्षेत्रको सिट बाँडफाँटलाई अघि बढाइएको ती नेता बताउँछन्।

‘भोट ट्रान्सफर शतप्रतिशत होस् भनेर प्रतिनिधि सभा र प्रदेश सभामा फरक(फरक दललाई टिकट दिने गरी तयारी हुँदैछ,’ ती नेताले भने, ‘जसरी पनि सत्ता गठबन्धनले जित्नुपर्छ भनेर संघ र प्रदेशमा फरक(फरक पार्टीले लिने गरी छलफल गरिएका छन्।’

गत साउन २० मा पाँच दलीय सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेका थिए। त्यसयता दिनहुँजसो छलफल भए पनि प्रतिनिधि सभा र प्रदेश सभामा कुन दलले कति सिट लिने टुंगिएको छैन।

‘एकै क्षेत्रमा दुई-तीन दलसम्मले दाबी गर्दा सहमति जुट्न सकिरहेको छैन,’ ती नेता भन्छन्।

एमाले बनेका पूर्वमाओवादीलाई ओलीको आश्वासन

नेकपा एमालेका अध्यक्ष ओलीले पूर्वमाओवादी खेमाका नेताहरुलाई सकेसम्म प्रदेश वा प्रतिनिधि सभातर्फ प्रत्यक्षको उम्मेदवार बनाउने र त्यहाँबाट पुरा हुने स्थिति नदेखिएमा समानुपातिक वा राष्ट्रिय सभाबाट भएपनि दोहोर्‍याएर सांसद बनाउने बचन दिएका हुन् ।

तत्कालीन नेकपा विभाजन हुँदा माओवादीबाट सांसद बनेका प्रतिनिधि सभातर्फबाट चार जनासहित सात प्रदेशबाट १४ जना प्रदेश सभा सदस्य एमालेतर्फ प्रवेश गरेका थिए । ती प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रत्यक्ष वा समानुपातिक जसरी भएपनि सांसद बनाउने ओलीले बचन दिएका हुन् । हाल माओवादीबाट एमाले प्रवेश गरेका ३२ जनालाई केन्द्रीय समितिमा समेटिएको छ ।

ती सबै नेताहरुलाई कुनै न कुनै विधिबाट दोहोर्‍याएर भएपनि सांसद बनाउने ओलीले आश्वासन दिएको एक पूर्वमाओवादी नेताले बताए । एकाध नेता बाहेक अधिकाश नेताको जनमत छैन । एमालेकै जनमतमा भर पर्नुपर्ने छ । त्यस्तो हुँदा हामीले प्रत्यक्ष टिकट पाउने सम्भावना कम भयो’, ती नेताले भने, ‘माओवादी हुँदा सांसद भएकालाई पुनःसांसद हुन कठिन भएको अवस्थामा केपी कमरेडले अन्य कुनै विधि खोजेर भएपनि दोहोर्‍याएर सांसद बनाउँछु भन्नु भयो ।’ ओलीले माओवादीमा हुँदा सांसद भएकालाई पुनःसांसद बनाउने आवश्वासन दिएपछि असन्तुष्ट नेताहरु समेत खुसी भएका छन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ आगामी चुनावमा उम्मेदवार नबन्ने उनी निकट एक नेताले बताए । थापाको चुनावी क्षेत्र चितवन २ हो भने त्यहाँबाट उनले चुनाव नलड्ने देखिएको छ । बरु एमालेकै पुराना नेताहरु कृष्णभक्त पोखरेल, विजय सुवेदी, घनश्याम दाहाल लगायत नेताहरु टिकटको दौडमा छन् । उसो त बादललाई चितवन–२ मा स्थानीय नेताहरुले नै उम्मेदवारको रुपमा हेर्न नचाहेको एक नेताको भनाइ छ । ‘बादल दाइ चुनाव लड्न खोज्नु भएको थियो । अरु नेताहरुले मान्नु भएन । उहाँ चुनाव लड्ने इच्छा हुँदाहुँदै पाउनु भएन’, ती नेताले भने । थापा पहिलो संविधान सभा चुनावमा चितवनबाट प्रत्यक्ष निर्वाचित भएका थिए । २०७० सालको चुनावमा वैद्य माओवादीतिर रहेका थापा वहिस्कारमा सहभागी भएका थिए । ०७४ सालको चुनावमा थापा माओवादीबाट चुनाव उठ्न खोजेपनि एमालेकै नेताहरुले छोड्न नमानेपछि रोकिएका थिए । जतिबेला एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन थियो ।

यस्तै स्थायी समिति सदस्य मणि थापा भने समानुपातिक सूचीमा समेटिएका छन् । आगामी मंसिरमा प्युठानबाट चुनाव लड्न खोजेपनि अर्का नेता सूर्य थापाले सो क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भएपछि उनी समानुपातिकमा समेटिएका हुन् ।

भट्टभन्दा रायमाझी र साह ढुक्क

एमाले सचिव लेखराज भट्टले कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने तयारी गरेका छन् । २०६४ सालदेखि माओवादीबाट लगातार चुनाव जित्दै आएका भट्ट यो चुनावमा एमालेबाट लड्ने भएका हुन् । भट्टको क्षेत्रमा अरु नेताले दाबी नगर्ने भएकाले उनी टिकट पाउनेमा ढुक्क देखिन्छन् । तर, एमालेबाट पहिलो पटक लड्न लागेका भट्टलाई चुनाव जित्न कठिन हुने बताइएको छ ।

स्थानीय चुनावमा समेत उनको क्षेत्रमा खासै प्रभाव नदेखिएकाले उनलाई चुनाव जित्न सकस पर्ने उनी निकट नेताहरुकै आँकलन छ । यस्तै अर्का सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीबाट प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा छन् । २०६४ सालदेखि माओवादीबाट लगातार चुनाव जित्दै आएका रायमाझी यो पटक पाँचदलीय गठबन्धनविरुद्ध मैदानमा उत्रिँदैछन् । रायमाझी अर्घाखाँचीमा गठबन्धन भएपनि चुनाव जित्ने दाबी गर्छन् ।

यस्तै स्थायी समिति सदस्य प्रभु साह रौतहट क्षेत्र नम्बर तीनबाट चुनाव लड्ने तयारीमा छन् । साहले २०६४ सालदेखि माओवादीबाटै लगातार चुनाव जित्दै आएका थिए । एमालेबाट साहको क्षेत्रमा दाबी गर्ने अरु नेता नभएकाले उनले नै टिकट पाउने देखिन्छ । आगामी चुनावमा गठबन्धन भएपनि नतिजा आफ्नो पक्षमा आउनेमा साह आशावादी छन् । उनी राम्रो जनमत राम्रो भएको दाबी गर्छन् ।

पूर्वमाओवादी छाडेर एमाले बनेकामध्ये भट्टभन्दा रायमाझी र साह चुनाव जित्नेमा ढुक्क देखिन्छ । यस्तै केन्द्रीय सदस्य गौरीशंकर थारु कैलाली क्षेत्र नम्बर तीनबाट चुनाव लड्ने तयारी गरेका छन् । सो क्षेत्र थारु समुदायको बाहुल्यता भएकाले उनले नै टिकट पाउने सम्भावना छ ।

७६ जिल्लामा डेंगु पुग्याे, आज एक हजार ५१ जना संक्रमित थपिए

पछिल्लो समय डेंगु बिरामीकाे संख्या अत्याधिक बढ्न थालेकाे छ । गएकाे २४ घण्टाभित्र  डेंगुका  एक हजार ५१ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ ।

अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।

शुरूमा तराइका जिल्लामा देखिएकाे डेगुकाे प्रकाेप अहिले काठमाण्डाै उपत्यकामा अत्याधिक छ । हालसम्म देशभरका मुस्ताङ बाहेक ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाे छ । सरकारले यसलाई प्रकोप घोषणा गर्ने तयारी गरेको छ ।

एनसिसी र कुमारी बैंकले गरे मर्जरमा जाने सम्झौता

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र कुमारी बैंक एक आपसमा गाभिने भएका छन्। सोमबार मेरियट होटलमा दुई बैंकबिच मर्जरमा जाने सम्झौता भएको छ।

दुई बैंकबीच विगत केहि समयदेखि मर्जरको लागि कुरा चल्दै आएको थियो। सञ्चालकहरुको कुरा मिलेपछि सोमबार मर्जरमा जाने सम्झौता भएको छ।

प्रारम्भिक सम्झौता अनुसार दुई बैंकले एक बराबर एक शेयरको अनुपातमा मर्ज हुनेगरी सम्झौता गरेका छन्। यद्यपि डिडिए रिपोर्ट आएपछि यो अनुपात फरक पर्न सक्छ। मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका हालका सिइओ रमेशराज अर्याल हुनेछन्।

सोमबार मेरियट होटलमा आयोजित एक कार्यक्रममा एनसीसी बैंकका मर्जर कमिटीमा संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन्।

हाल कुमारी बेंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ। दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड पुग्नेछ।

श्रम मन्त्रालयले अपिल: सरकारी कोटामा बेलायत जाने नर्ससँग कसैले पैसा उठाए उजुरी दिनुस् 

काठमाडौँ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा जान चाहने नर्ससँग पैसा असुल्न खोजे तुरुन्तै ठगी मुद्दा दर्ता गर्न श्रम मन्त्रालयले अपिल गरेको हो।

श्रममन्त्री शेरबहादुर कुँवरले शून्य शुल्कमा दुई सरकारबीच भएको सम्झौतामा अन्य कुनै एजेन्सीको भूमिका नहुने भन्दै कसैले प्रलोभनमा पारेर पैसा असुल्न खोजे उजुरी गर्न भनेका छन्।

श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले सम्झौता कार्यान्वयनका निम्ति कार्यविधि बनाउने प्रक्रिया भइरहेको बताए। यसमा तेस्रो पक्षको संलग्नता नहुने भन्दै कसैले पैसा लिन खोजे तुरुन्तै विभागमा उजुरी दिन अनुरोध गरे।

बेलायतमा ६ महिनाभित्र नेपालबाट जनशक्ति लैजाने बताएको थियो। पहिलो चरणमा सय जना लैजाने गरी तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको छ।

बेलायत आउन इच्छुक जनशक्तिसँग पैसा असुल्न काम विभिन्न एजेन्सीले गरेको रिपोर्ट बेलायती पत्रिका द गार्डियनमा प्रकाशित भएको थियो। उक्त रिपोर्टमा बेलायती श्रम विज्ञहरूले नेपाली नर्सहरू बेलायत आउनुअघि नै शोषणमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। विभिन्न बहानामा पैसा उठाउने क्रम नरोकिए नेपालबाट नर्स ल्याउने प्रक्रिया नै रोक्नु पर्ने उनीहरूको चेतावनी छ।

बेलायतमा स्वास्थ्य जनशक्तिको अभाव पूर्तिका लागि त्यहाँको स्वास्थ्य विभाग व्यवस्थित र नैतिक तरिकाले जनशक्ति भर्तीको पक्षमा छ। नेपालसँग भएको सम्झौताअनुसार त्यस योजनामा बेलायत जान चाहने कामदारसँग कुनै पनि अतिरिक्त शुल्क असुल्न पाइने छैन।

थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६२४ जनाको पीसीआर परीक्षणमा ५३ जनामा कोरोना संक्रमण देखिएको हो ।

८२५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ७९९ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १७८ जना सक्रिय संक्रमित रहेका छन् भने आइतबार ८४ जना निको भएका छन् । जसमध्‍ये १ हजार १३० जना होम आइसोलेसनमा रहेका छन् भने ४८ जना संस्थागत आइशोलेशन र १० जना आईसीयूमा छन् ।

सचिवहरुको सरुवा, कानुनमा धनराज ज्ञवाली

काठमाडौँ । सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन सचिवहरूको सरुवा गरेको हो।

प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने खेलकुदका डा. दामोदर रेग्मीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सारिएको छ । केही दिनअघि सरुवा भई अतिरिक्तमा रहेका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ ।

यसै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ भने कानुनका उदयराज सापकोटाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । सचिवहरूले भने पत्रसमेत बुझी हाजिरसमेत भई सकेका छन् । तर कानुनमा सचिब ज्ञवालिले भने लोकसेवाको पत्र न आइपुगेकाले नयाँ जिम्मेवारी बहन गर्न पाउनु भएको छैन।

केही दिनअघि मात्रै सरकारले गृहसचिवसहित ७ सचिवको सरुवा गरेको थियो ।
पछिल्लो समय सचिव सरुवा बिरालाको चल्ला सराई जस्तो यता र उता भइरहेको छ । सामान्यतया विषय विज्ञ, ज्ञान, अनुभव तथा नेतृत्वदायी क्षमता मापनका आधार मा सरुवा गर्नुपर्नेमा त्यसो हुन नसके पछि प्रशासन क्षेत्रको सुधार चाहानेहरुले चिन्ता व्यक्त गर्न थालेका छ्न।

यसैबीच कार्य क्षमता को हिसाबले प्रशासन क्षेत्रमा अब्बल मानिएका सचिब धनराज ज्ञवाली लाई मन्त्रीपरिषदले कानुन मन्त्रालयमा सरुवा गरिसकेको भएपनी लोक सेवा आयोगले सहमति दिन ढिलाइ गरेपछि कानुन मन्त्रालयका कतिपय काम रोकिएका छ्न भने सगै लोकसेवा आयोगले सरकारले गरेका निर्णयमा किन बाधक हुँदै ढिलाइ गर्छ प्रतिक्रिया आउन थालेको छ।

लोकतन्त्र, राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता: दहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस सेन्टर नेपालले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै आफू प्रधानमन्त्रीको ‘रेस’मा नरहेको भन्दै लोकतन्त्र, राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताए । आर्थिक विकास र समृद्धि आफ्नो प्राथमिकता भएको भन्दै उनले भने, “चाहेको भए विसं २०७४ को निर्वाचनपछि पाँचैँ वर्ष प्रधानमन्त्री हुने अफर मलाई थियो ।”

प्रधानमन्त्री मुख्य होइन भन्दै उनले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकासको वातावरण बनाउने र आफूलाई त्यसका निम्ति समर्पित गर्ने प्रतिबद्धता रहेको बताए । आउँदो समय सम्वृद्धिको दशक भएको भन्दै उनले अबको क्रान्ति आर्थिक हुनुपर्छ भने । उनले भने, “जीवनको उत्तरार्धको बाँकी समय आर्थिक सम्वृद्धि र क्रान्तिका लागि लाग्छु ।” अर्बौका परियोजना कसरी नेपाल ल्याउन सकिन्छ र हामीकहाँ भएको प्राकृतिक साधन स्रोतको सही उपयोग गर्न सकिन्छ भन्नेमा आफ्नो ध्यान रहेको उनका भनाइ थियो । उनले भने, “एउटा नयाँ क्रान्ति समाजवादका निम्ति, सामाजिक न्यायका लागि गर्ने परिकल्पना गरिएको छ ।”

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ज्येष्ठ पत्रकारका लागि कल्याणकारी कोष, नेपाल पत्रकार महासङ्घको भौतिक पूर्वाधारमा सहयोग, तालिम केन्द्रका लागि जमिन, लोककल्याणकारी विज्ञापन, लेखन वृद्धिका लागि बजेट लगायतमा महानगरले सहकार्य गरेको बताइन् । सोही अवसरमा चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी चितवनका उपाध्यक्ष अरुणपीडित भण्डारी, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयकाे अध्यक्ष बन्न ३८ जनाले आवेदन दिए

काठमाडौँ ।शिक्षामन्त्री देवेन्द्र पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले आवेदन आह्वान गरेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विश्वविद्यालय अनुदान आयोगको कारबाहीमा सेवा आयोगका पूर्व सदस्य केदारनाथ घिमिरेको समेत आवेदन परेको छ । काँग्रेस निकट प्राध्यापकहरू घिमिरेका पक्षमा लबिइङ गरिरहेको स्रोतले जनाएको छ ।

अख्तियारले २०७४ वैशाखमा घिमिरेलाई भविष्यमा कुनै पनि जिम्मेवारी दिँदा गम्भीरतापूर्वक मूल्याङ्कन गर्न प्रधानमन्त्री तथा त्रिविका कुलपतिलाई सुझाव दिएको थियो । जिम्मेवारी दिँदा अख्तियारलाई जानकारी दिनसमेत आग्रह गरिएको छ ।

घिमिरेसहित सेवा आयोगका तत्कालीन अध्यक्ष ईश्वरचन्द्र दत्तले २०७२/७३ मा सञ्चालित उपप्राध्यापक पदको परीक्षामा पदीय मर्यादाअनुसार काम गर्न नसकेको अख्तियारको ठहर छ । उक्त परीक्षामा अनियमितता गरेको आरोपमा अख्तियारले प्राध्यापकहरूविरुद्ध मुद्दासमेत दायर गरेको थियो ।

स्रोतका अनुसार काँग्रेस निकट त्रिवि प्रजातान्त्रिक प्राध्यापक सङ्घले घिमिरे, रमेशकुमार जोशी र वासुदेव घिमिरेमध्ये एक जनालाई अध्यक्षमा नियुक्ति गर्न कुलपति तथा सभापति शेरबहादुर देउवालाई लबिइङ गर्दै आएको छ ।

सङ्घका अध्यक्ष जगत तिमिल्सिना भने यसअघि नै आयोगमा नियुक्त भएर विवादास्पद छवि बनाएका घिमिरेका पक्षमा रहेको एक प्राध्यापकले बताए । केदारनाथलाई अध्यक्ष नियुक्ति गर्न गृहमन्त्री बालकृष्ण खाँणले समेत दबाब दिँदै आएको प्रजातान्त्रिक प्राध्यापक सङ्घका एक पदाधिकारीले जनाए ।

६ वर्षअघि सेवा आयोगमा घिमिरे सदस्य रहँदा एउटै व्यक्तिलाई प्रश्न पत्र बनाउन र उत्तर पुस्तिका परीक्षण गराउन दिएको, प्रश्न पत्र बाहिर ल्याएको, प्रश्न पत्र निर्माणदेखि उत्तर पुस्तिका परीक्षण गराउँदासम्म कुनै लिखित निर्देशन नदिई मौखिक निर्देशनको भरमा काम गराएको, परीक्षाको मर्यादा कायम गराउन नसकेको अख्तियारको छानबिनमा भेटिएको थियो ।

पदाधिकारीलाई सफाइ, प्राध्यापक-कर्मचारीलाई सजाय
उत्तरपुस्तिकामा प्रश्न मात्रै सार्नेलाई पनि अङ्क दिएका विज्ञले आफन्तलाई पास गराएको राष्ट्रिय सतर्कता केन्द्रको छानबिनमा भेटिएको थियो ।

केदारनाथ घिमिरेसहित ६ प्राध्यापकलाई विश्वविद्यालय अनुदान आयोगले बौद्धिक सम्पत्ति अनधिकृत प्रयोग गरेको तथा शैक्षिक मर्यादा उल्लङ्घन गरी पेसागत मर्यादा पालना नगरेको ठहर गरी २०७० मा कालोसूचीमा राखेको थियो । तर २०७२ भदौमा उनको कारबाही फुकुवा भयो ।

मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारुको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहान चार बजे प्रदेश अस्पताल काला गाउँमा उपचारको क्रममा थारुको मृत्यु भएको हो ।

आइतबार साँझ थारुले चलाएको कर्णाली प्रदेश ०२–००१ प ०९९० नं को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको भे–६–प–३८९० नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता सुरज कार्कीले बताउनुभयो । उहाँका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ११ धुलयाबिट नजिक दुर्घटना भएको हो ।

थारु भेरीगङ्गाको छिन्चुदेखि सुर्खेततर्फ आउँदै गर्नुभएको थियो । थारुले चलाएको मोटरसाइकलमा पछाडि बस्ने गीता चौधरी पनि घाइते हुनुभएको छ । उहाँको शरीरका विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहनु भएको प्रहरीले बताएको छ । यस्तै, भे–६–प– ३८९० नं को मोटरसाइकल चालक गणेश खड्का पनि घाइते हुनुभएको छ । उहाँको पनि हातखुट्टा र शरीरमा चोट लागेको छ । दुवै जनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

नेपाल टेलिकमकाे दशैं अफर

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा भोली (२०७९/६/९)देखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर (Dashain Offer) उपलब्ध गराउने भएको छ । उक्त अफरहरु दशैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् ।

डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय (All Time) प्रयोग गर्न सकिन्छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी पहिलो पटक भोल्टे (VoLTE) सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क Voice Over LTE (VoLTE) सेवा पनि उपलब्ध गराइएको छ ।

उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415#   डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ । कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

सचेत बन्दै उपभोक्ता

केही वर्ष पहिलेसम्म व्यास–६ सिसाघाट निवासी ५६ वर्षीया देवका नागिलालाई दैनिक उपभोग्य खाद्यान्नको गुणस्तरबारे खासै चासो थिएन । जेठो छोरा राजनको निमन्त्रणामा चार महिना अष्ट्रेलिया बसेर आएपछि भने उहाँमा परिवर्तन देखिएको छ । नागिला जस्तै विदेशको देखासिकीले खानपान शैली बदल्ने अहिले गाउँघरमा अधिकांश भेटिने गरेका छन् ।

कुनै पनि खाद्यान्नको उत्पादन, म्याद समाप्त मिति हेर्ने र खुला स्थानको खाद्यान्न खाँदै नखाने बानी बसालेको नागिलाले बताउनुभयो । “पहिले मलाई जे पनि खान पाए भइहाल्थ्यो भन्ने लाग्थ्यो”, उहाँले भन्नुभयो, “परीक्षण गरेर मात्रै खानुपर्ने रहेछ भन्ने अष्ट्रेलियामा पुगेपछि देखियो । त्यसैले अचेल हत्तपत्ति बाहिरको खान्न भने पनि हुन्छ ।”

“अष्ट्रेलियामा सडक किनाराको फलफूलसमेत कसैले नखाने रहेछन्”, नागिलाले भन्नुभयो, “किन नखाएको भनेर छोरालाई सोधेको त जाँचेर खानयोग्य भए मात्र खाने चलन छ रे । तर हाम्रोमा हामीलाई खान पाए भयो । खराब खानेकुराले स्वास्थ्यमा ठूलो हानि गर्ने रहेछ भन्ने कुरा बुझियो ।” नेपालमा तरकारी, फलफूल, मिठाइ, खुला मसला जथाभावी राख्ने चलन भएकाले ती खानेकुरा खाँदा सचेत हुन नागिलाले सबैलाई आग्रह गर्नुभयो ।

व्यास–२ दमौली निवासी ५१ वर्षीया कृष्णदेवी अधिकारीको दैनिकी पनि फेरिएको छ । खाद्यान्न पसलमा मसला किन्दै गर्दा भेटिनुभएकी अधिकारीले प्याकेटमा अङ्कित उत्पादन र सकिने मिति हेरेर मात्र खाद्यान्न किन्ने गरेको बताउनुभयो । “सडक पेटीमा खुला ठाउँमा राखेर धुलाम्य भएका खानेकुरा खान्न”, उहाँले भन्नुभयो, “खानै परे प्याकेटमा राम्रोसँग लेवल हेरेर मात्रै खानेकुरा किन्ने गरेको छु ।”

केही वर्ष पहिले छोरा मिलनले बोलाएर अष्ट्रेलिया र छोरी सन्ध्याले बोलाएर अमेरिका घुमेर आएपछि खाद्यान्नमा सचेतना बढेको अधिकारीले बताउनुभयो । “हामीहरु खानेकुरामा खासै ख्याल गर्दैनौँ”, उहाँले भन्नुभयो, “जथाभावी खाएपछि शरीरमा असर धेरै हुन्छ भन्ने हेक्का गर्नुपर्ने रहेछ ।” क्यान्सर जस्तो खतरनाक रोगको मुख्य कारण पनि जथाभावी विषादी हालेको खानेकुराले गर्दा हुने आफूले थाहा पाएको अधिकारीले बताउनुभयो । तरकारी राम्रोसँग पानीमा पटकपटक धुने गरेर मात्र खाने गरेको उहाँले जानकारी दिनुभयो । 

पसलमा आउने ग्राहकले खुला राखिएको खाद्यान्नभन्दा प्याक गरिएको खाद्यान्न किन्नेक्रम बढ्दै गएको व्यापारीको भनाइ छ । उपभोक्ता अधिकारको सवालमा स्वयं बिक्रेता सचेत बन्दै गएपछि आफूहरुलेसमेत खुला खाद्यान्न बिक्री कम गर्दै गएको तनहुँ खुद्रा व्यवसायी सङ्घका अध्यक्ष परमेश्वर गुप्ताले बताउनुभयो । “ग्राहकले अचेल खुला किन्न छाडेर लेबल भएको सामान किन्ने गर्नुहुन्छ”, सङ्घका अध्यक्ष गुप्ताले भन्नुभयो, “ग्राहकको रोजाइ नै लेबल भएको खाद्यान्नमा पर्न थालेपछि हामीले पनि खुला बिक्रीलाई कम गर्दै गएका छौँ ।” खुला खाद्यान्नलाई आफूहरुले सिसाभित्र राखेर बिक्री गर्ने योजना बनाएको व्यास नगरपालिका–३ दमौलीस्थित गुप्ता किराना पसलका सञ्चालनसमेत रहनुभएका उहाँले बताउनुभयो । 

तनहुँको दमौली, दुलेगौँडा, डुम्रे, खैरेनीटार, भिमाद, आँबुखैरेनी जस्ता मुख्य बजारमा करिब ५०० खुद्रा पसल रहेको तनहुँ खुद्रा व्यवसायी सङ्घले जनाएको छ । जिल्लाभरि खाद्यान्न र तरकारी गरी दैनिक करिब ३० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको सङ्घले जनाएको छ । 

युरोपलगायत विदेशमा रहेका आफन्तलाई भेट्न जाँदा देखासिकीले उपभोक्ता सचेतना बढेको आफूले पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख प्रशान्त पोखरेलले बताउनुभयो । “प्रायः अनुगमनका क्रममा विदेशमा यस्तो हुने रहेछ भन्ने कुरा उपभोक्ताले भन्नुहुन्छ”, पोखरेलले भन्नुभयो, “उपभोक्ता अधिकार गम्भीर विषय हो भन्ने हेक्का धेरैलाई हुँदै गएको छ ।”

तनहुँ, गोरखा, लमजङ, मनाङ र पूर्वी नवरपरासीमा गरिने अनुगमनका क्रममा आफूहरुले लेवलमा उत्पादन र सकिने मिति प्रष्टसँग देखिनेगरी उल्लेख भएका खाद्यान्न मात्र बिक्री गर्न बिक्रेतालाई भन्दै आएको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो । आफूहरुले मिठाइ, मसलालगायतका दैनिक उपभोग्य सामग्री खुलारुपमा बिक्री नगर्न र बिक्री गर्नु परे सिसाभित्र राखेर मात्र बिक्री गर्न भनेको उहाँले जानकारी दिनुभयो । 

एमालेका सल्लाहकार गंगाराम यादव द्वारा पार्टी परित्याग

१० असोज, जनकपुरधाम । नेकपा एमालेका सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् ।

उनी २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय थिए । एमालेले धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव रुष्ट छन् ।

उनी जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्ने तयारीमा रहेको उनी निकट स्रोतले बताएका छन् । स्रोतका अनुसार जसपाले धनुषा क्षेत्र नं. २ बाट यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ ।

पार्टी कार्यालयमा धर्ना दिने शेखरकाे समूह

१० असोज, काठमाडौं । नेपाली कांग्रेसको डा‍‍‍ शेखर कोइराला समूहले अब पार्टी कार्यालयमा धर्ना दिने भएका छन् ।

सोमबार बसेको शेखर समूहको बैठकले पर्सि १२ गते पार्टीको केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेका छन् । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।‍‍‍‍

सचिव र प्रमुख प्रशासकीय अधिकृतको सरुवा बढुवा अब प्रदेश सरकारले आफैँले गर्ने

पोखरा । संसद अधिवेशन अन्त्य भइसकेपछि जाँदाजाँदै अध्यादेशमार्फत ल्याएको प्रदेश निजामती र स्थानीय सेवा गठनसम्बन्धी ऐन शुक्रबार पारित गरी प्रदेश प्रमुखबाट प्रमाणितसमेत भइसकेको छ ।

अब प्रदेशका मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा बढुवा अब गण्डकी प्रदेश सरकार आफैँले गर्ने भएको छ ।

संघीय सरकारले निजामती ऐन नल्याउँदा गण्डकी प्रदेशले संसद अधिवेशन अन्त्य भइसकेपछि चुनावको मुखमै भए पनि प्रदेश निजामती र स्थानीय सेवा गठन तथा सञ्चालन सम्बन्धी ऐन अध्यादेशमार्फत ल्याएको हो ।

गण्डकी प्रदेश सरकारले पहिलो पटक अध्यादेशमार्फत ऐन जारी गरेको छ, त्यो पनि स्थानीय तहका कर्मचारीको विरोधका बाबजुद ।

अहिलेसम्म संघीय सरकारले गराउँदै आएका एघारौँ तह (सहसचिव) सम्मका कर्मचारीको सरुवा, बढुवा र वृत्ति विकास सम्बन्धी काम अब प्रदेश सरकारले आफैँले गर्ने भएको छ ।

संघीय सरकारले निजामती ऐन नल्याउँदा प्रदेश समायोजनमार्फत प्रदेशमा खटिएका कर्मचारीको सरुवा, बढुवा र वृतिविकास रोकिएको भन्दै प्रदेश सरकारले चुनावको मुखमा अध्यादेशमार्फत नै भए पनि ऐन जारी गरेको कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले बताए ।

प्रदेश निजामती ऐन जारी गरेको प्रदेशले स्थानीय तहका कर्मचारीको पदपूर्ति, सरुवा, बढुवा र वृत्ति विकाससम्बन्धी व्यवस्था गर्न स्थानीय तह सेवा गठन तथा सञ्चालन ऐन पनि जारी गरेको हो ।

प्रदेशले ल्याएको निजामती अध्यादेशअनुसार अधिकृत एघारौँ तह (सहसचिव) वा सो सरहको कर्मचारीको सरुवा बढुवा प्रदेश सरकार अर्थात् मन्त्रिपरिषद्को बैठकमार्फत हुने भएको छ ।

प्रदेशका मन्त्रालय, निर्देशनालयहरूमा एघारौँ तहका कर्मचारीको व्यवस्था अहिलेसम्म संघीय सरकारले गर्दै आएको थियो ।

अधिकृत दसौँ, नवौँ, आठौँ र सातौँ तह वा सो सरहका कर्मचारीको सरुवा प्रदेश प्रमुख सचिवले गर्ने भएका छन् । यसै गरी अधिकृत छैटौँ तह र सोभन्दा मुनिका सबै कर्मचारीको सरुवा गर्ने अधिकार सम्बन्धित मन्त्रालयका सचिवलाई अधिकार दिइएको छ ।

एक मन्त्रालय वा अन्तर्गतको कार्यालयका कर्मचारीलाई अर्को मन्त्रालय र अन्तर्गतको कार्यालयमा सरुवा गर्ने काम भने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गर्ने छ ।

अधिकृत दसौँ र अधिकृत एघारौँ तहका कर्मचारीलाई सामान्यतया १ वर्ष र अधिकृत दशौँभन्दा मुनिका कर्मचारीलाई २ वर्ष पूरा नभई अर्को कार्यालयमा सरुवा नगराइने व्यवस्था गरिएको छ ।

गण्डकी प्रदेशले सहायक प्रथम तहदेखि अधिकृत एघारौँ तहसम्मको निजामती सेवाको पदपूर्ति गर्नेछ । स्वास्थ्य सेवामा भने सहायक चौथो तहदेखि एघारौँ तहसम्म पदपूर्ति हुने छ ।

प्रदेशका नवौँदेखि एघारौँ तहसम्मका कर्मचारीको तह वृद्धिका लागि लोक सेवा आयोगका प्रमुख एवं निजले तोकेको व्यक्तिको अध्यक्षतामा बढुवा समिति हुने छ । न्यूनतम सेवा अवधि पूरा भएका र पछिल्लो ५ वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा औसत पन्चानब्बे प्रतिशत अङ्क ल्याएका कर्मचारी अब विभिन्न सेवामा बढुवा हुने बाटो खुलेको छ ।

अब अधिकृत एघारौँ तहको पदमा बढुवा हुने व्यवस्थाअनुसार रिक्त पदमध्ये २० प्रतिशत नकारात्मक सूचीमा नपरेका र सम्बन्धित सेवाको अधिकृत दसौँ वा सो सरह पदमा पाँच वर्ष सेवा अवधि पूरा गरेका मध्येबाट बढुवा समितिको सिफारिसमा प्रदेश सरकारले गर्नेछ ।

रिक्त ८० प्रतिशत पदमा भने नकारात्मक सूचीमा नपरेका कार्यसम्पादन मूल्याङ्कनको आधारमा सबैभन्दा बढी अङ्क ल्याप्त गर्ने सम्बन्धित सेवाका उम्मेदवारमध्येबाट ज्येष्ठताको आधारमा बढुवा समितिले उपलब्ध भएसम्म दोब्बर संख्यामा सिफारिस गर्ने र त्यसबाट योग्यता र कार्यकुशलताका आधारमा प्रदेश सरकारले बढुवा गर्ने छ ।

अध्यादेशमार्फत आएको प्रदेश निजामती ऐनले स्थानीय तहका कर्मचारी प्रदेशमा बढुवाका लागि भने आउन नपाउने भएका छन् । संघीय ऐन र सर्वोच्च अदालतको फैसला विपरीत स्थानीय तहका कर्मचारीलाई निस्तेज पार्ने गरी प्रदेश निजामती ऐन आएको भन्दै कर्मचारीहरूले विरोध गरेका थिए ।

स्थानीय तहका कर्मचारीलाई पनि प्रदेशमा बढुवा हुने व्यवस्था गर्न माग गर्दै मुख्यमन्त्रीको कार्यालयमा आन्दोलन गर्न ५ कर्मचारी पक्राउसमेत गरेका थिए । स्थानीय तहका निजामती कर्मचारीको माग सम्बोधन गर्ने प्रदेशले बताए पनि त्यो व्यवस्था नगरेको भन्दै विरोध गरिरहेका छन् ।

सङ्घीयतासँगै प्रदेशमा समायोजन भएका कर्मचारीको ५ वर्षमा बढुवा हुनुपर्नेमा ऐन नबनेकै कारण ९ वर्षसम्म बढुवा हुन नपाएको भन्दै प्रदेश सरकारकै कर्मचारीहरूको जोड बलमा ऐन आएको हो ।

स्थानीय तह सेवा गठन तथा सञ्चालन अध्यादेशले अन्तर स्थानीय तहका कर्मचारी र प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा, बढुवा पनि अब गण्डकी प्रदेश सरकारले नै गर्ने व्यवस्था गरेको छ ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद प्रदेश निजामती सेवाको पद हुने र प्रदेश प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासन समूहको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइने ऐनको दफा १२ ले व्यवस्था गरेको छ ।

यसै गरी कर्मचारीलाई विभिन्न भौगोलिक क्षेत्रको अनुभवसमेत दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृतले स्थानीय तहभित्र कर्मचारी सरुवा गर्न सक्ने ऐनले व्यवस्था गरेको छ । एघारौँ तहका कर्मचारीको पनि पदस्थापन र सरुवा प्रदेश सरकारले नै गर्ने ऐनमा उल्लेख छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलकै जोड बलमा आएको अध्यादेशअनुसार स्थानीय तहका कार्यरत कर्मचारीलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्ने अधिकार पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई राखिएको छ ।

कर्मचारीलाई सरुवा वा पदस्थापन गर्दा स्थानीय तहमा सेवा अवधि २ वर्ष नपुगी अन्यत्र सरुवा गर्न नपाइने व्यवस्था गरिएको छ ।

अध्यादेशलाई काजसम्बन्धी व्यवस्थालाई पनि कडा बनाएको छ । एक स्थानीय तहबाट अर्को स्थानीय तहमा काजमा पठाउने अधिकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई नै राखिएको छ । सरकारको विशेष कार्यक्रमबाहेक एक पटकका लागि बढीमा ३ महिनाभन्दा बढी काजमा खटाउन पाइने छैन । काजको अवधिभन्दा बढी समय काज खटिएको निकायमा हाजिरी गर्ने र हाजिर गराउने कर्मचारीलाई विभागीय कारबाही नै हुने भएको छ ।

काज अवधि समाप्त भएपछि पदाधिकार निकायमा हाजिर हुन नजाने कर्मचारीलाई त्यो अवधिको तलब भत्ता भुक्तानी नदिने व्यवस्था ऐनले गरेको छ । त्यस्तो कर्मचारीलाई तलब भत्ता भुक्तानी गरेमा त्यसरी दिने कर्मचारीबाटै असुल उपर गरिने कडा व्यवस्था ऐनले गरेको छ । बढुवा सम्बन्धी प्रावधान स्थानीयमा पनि प्रदेशमा जस्तै राखिएको छ ।

स्थानीय तहका अब कर्मचारीले अब विवाह बिदा पनि पाउने भएका छन् । यसअघि भइपरी आउने र पर्व, बिरामी, अध्ययन, असाधारण, किरिया, प्रसूति, र प्रसूति स्याहार बिदा पाउने प्रदेशले बनाएको ऐनले अब विवाह बिदा पनि दिने भएको हो ।

अध्यादेशमार्फत २ ऐन लागु भएसँगै कुनै पनि स्थानीय तह र प्रदेशमा कुनै पनि कर्मचारीलाई ज्यालादारी र करारमा राख्न नपाइने भएको छ । कुनै व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गरेमा नियुक्त पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य सुविधा बापतको रकम नियुक्त गर्ने अधिकारीबाट सरकारी बाँकी सरह असुल उपर गरिने स्थानीय तह सेवा गठन तथा सञ्चालन अध्यादेशले व्यवस्था गरेको छ ।