बेलायतमा नर्स पठाउन ‘मापदण्ड’ बन्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी प्रोटोकलको मस्यौदा तयार गरेको छ ।

यो मस्यौदा प्रोटोकलमा बेलायतसँग सहमति गरेर मन्त्रिपरिषद्‍बाट पारित गरिने छ ।

नेपाल र बेलायतबिच परीक्षणको रूपमा प्रथम चरणमा नेपाली नर्सहरूलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई ‘इम्प्लिमेन्टेसन प्रोटोकल’बारे स्पष्ट व्यवस्था गर्ने सहमति भएको थियो ।

मन्त्रालयले आगामी पुस–माघसम्म बेलायतमा पठाइने नर्सका लागि आवेदन माग गर्नेछ । प्रोटोकलले तोक्ने व्यवस्था अनुरूप योग्य ठहरिएका नर्सले बेलायतमा रोजगारीका लागि अवसर पाउने मन्त्रालयले जनाएको छ ।

गत ६ भदौमा नेपाल सरकार र बेलायत सरकारबिच बेलायतमा नेपाली नर्सलाई रोजगारी दिने सम्बन्धी श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौताको कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल) बमोजिम नेपाली नर्सले बेलायतमा अवसर पाउने सहमति भएको छ।

सम्झौता अनुसार स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुनेछ । नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने सहमति भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफ गार्ड लिस्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुवै सरकारले संयुक्त निर्णय गर्ने सहमति छ ।

नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनोट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने गरी समझदारी भएको छ ।

परीक्षण चरणको अन्तमा समग्र स्वास्थ्यकर्मी नियुक्ति प्रक्रियाको मूल्याङ्कन गरिने र थप नियुक्ति तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिने सम्झौतामा उल्लेख छ ।

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना, एक आर्मी खेलाडीको मृत्यु

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय मिसिन थापा रहेका प्रहरीले जनाएको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको हो ।

सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेका हुन् ।

नदीको तटबन्धन भत्किँदा स्थानीय त्रसित

राप्ती नदीको कटान रोक्न बनाइएको तटबन्धन भत्किन थालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुरवासी त्रसित बनेका छन् । राप्ती सोनारी गाउँपालिका–७ मा निर्माण गरिएको तटबन्धन भत्किन थालेपछि फत्तेपुर क्षेत्रका बासिन्दा राप्ती नदीको डुबान र कटानको जोखिममा परेका छन् ।

बर्सेनि बाढी र डुबानको त्रासमा पर्दै आएका फत्तेपुरवासी नदीमा लगाइएको तटबन्धनसमेत भत्किन थालेपछि थप जोखिम बढेको राप्तीसोनारी गाउँपालिका–७ का दुर्गाप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार, बस्ती जोगाउन राप्ती नदीमा गरिएको तटबन्धनको केही भाग बाढीले भत्काएर क्षति पु¥याएको छ । तटबन्धनमा पुगेको क्षतिलाई तत्काल मर्मत गरिनुपर्ने र अस्थायी तटबन्धन निर्माण गरिनुपर्ने माग गरिएपनि निर्माण हुनसकेको छैन । 

बस्ती जोगाउन निर्माण भएको तटबन्धन भत्किएका कारण राप्ती नदीमा फेरि ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिका–६ र ७ मा रहेका बस्तीमा ठूलो क्षति हुने अवस्था आएको ७ नं वडाध्यक्ष रामलखन थारुले बताउनुभयो । 

उहाँका अनुसार, विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको राप्ती नदीको पुरानो तटबन्धन भत्किएका कारण राप्ती नदी बस्तीमा पस्ने खतरा रहेको छ । नदी बस्तीमा पस्नासाथ नरैनापुरमा बनेको बाँध भत्किने र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ अति प्रभावित हुने भएकाले स्थानीयवासी त्रसित रहेका छन् ।

यसबारे राप्तीसोनारी गाउँपालिका, जनताको तटबन्धलगायत सरोकारवाला निकायमा बारम्बार जानकारी गराए पनि मर्मतसम्भारको पहल नभएको वडाध्यक्ष थारुको गुनासो छ । तटबन्धन पूर्णरुपमा फुटेको खण्डमा ठूलो मानवीय क्षति हुनसक्ने भएकोले मर्मतको लागि प्राविधिक तत्काल खटाउन अनुरोध गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । 

तामाङलाई थुनामै राख्न अदालतको आदेश

काठमाडौँ । इच्छाराज तामाङविरुद्ध विशेष अदालतमा रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतले तामाङलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । 

ठगी र सङ्गठित अपराध कसुरमा थुनामा रहेका सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभका अध्यक्ष तामाङसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आफ्नै समूहका विभिन्न कम्पनीहरूबाट बिना धितो कर्जा प्रवाह गरी तामाङले सर्वसाधारणको रकम अपचलन र हिनामिना गरेको र त्यस्तो रकम आफ्ना विभिन्न व्यावसायिक कम्पनीहरूमा लगानी गरेको आरोपमा भन्दै उनीविरुद्ध ठगी र सङ्गठित अपराधको मुद्दामा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ । 

तामाङ र केशवलाल श्रेष्ठले ती कसुरबाट आर्जित सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रुपन्तरण समेतका निषेधित कार्यहरू गरी सम्पत्ति शुद्धीकरणको कसुर गर्ने मनसायले आफ्ना परिवारका मानिसहरुबीच अशंबण्डा गरी आफ्नो र परिवारका मानिसहरू संलग्न रहेका सिभिल होम्स प्रालि लगायतको कम्पनीहरूमा गैरकानुनी स्रोतको रकम लगानी गरी सम्पत्तिहरू लुकाइछिपाइ राखेर सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोग लगाएको थियो । 

विभागले सम्पत्ति शुद्धीकरणको मुद्दामा ६ जना प्रतिवादीबाट कूल ४ अर्ब ९७ करोड ७७ लाख ९९ हजार १७२ रुपैयाँ बिगो दाबी गरिएको छ । साथै, उनीहरूलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिमको सजाय माग गरिएको हो ।

विदेशी लगानीको न्युनतम सीमा प्रतिविदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने मन्त्रीपरिषद्को निर्णय

शुक्रवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्युनतम सीमा प्रतिविदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको बताए ।

उनले सरकारले नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्राध्यापक डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने, फिलिपिन्सको मनिलामा आयोजना हुने लिडरशीप फोरम एण्ड साइनिङ शिरोमणि अफ कमिटमेण्ट लेटर स्टेन्थिनी पर्फमेन्स अडिट क्यापसिटी इन एशिया एण्ड द प्यासिफिक विषयक कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्मा दंगालसमेत २ जनालाई सहभागी हुन स्वीकृत दिने, विद्यालय क्षेत्र आयोजना कार्यक्रमका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने २ सय मिलियन अमेरिकी डलर ऋण सहायता सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता संयन्त्र, महाशाखाप्रमुखको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने, २०७९ साल असोज २८ गतेसम्म पूर्ण प्रतिवन्ध लगाइएका विभिन्न चार प्रकारका वस्तुको पैठारीमा लगाइएको बन्देजलाई २०७९ मंसिर मसान्तसम्म निरन्तरता दिने निर्णय भएको बताए ।

उनका अनुसार सरकारले बुढी गण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनः स्थापना ईकाइको कार्य अवधि समाप्त मिति २०७९/७/११ देखि लागू हुने गरी १ वर्ष थप गर्ने, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण, तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि सम्वत २०८० साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने, विभिन्न देशका ३७ जना विदेशी नागरिकले बुझाउनुपर्ने भिसा दस्तुर विलम्व शुल्क र जरिबाना बापतको रकम मिनाहा गरी ३ महिनाभित्र नेपाल छोड्न प्रस्थान अनुमति दिने निर्णयसमेत गरेको छ ।

सरकारले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाइ सम्भावित जोखिमबाट हुने क्षति न्युनिकरण गरी थप जनधनको नोक्सानी हुन नदिनको लागि कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालिकोट जिल्लाका विपद् प्रभावित स्थानीय तहका भौगोलिक क्षेत्रलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने, कपिलवस्तु जिल्ला साविक बकडरिया वडा नम्बर ९ (क) स्थित १ बिगाह जग्गा १५ शैय्याको अस्पताल भवन निर्माणार्थ ३० वर्षका लागि बुद्ध भूमि नगरपालिकालाई सशर्त प्रयोग गर्न स्वीकृत दिने, नेपाली सेनाका वियनम १७७५, सहायकी रथी विजय थापाको पदावधि २०८०/६/०१ सम्म थप गर्ने, नेपाली सेना सैनिक साधारण सेवा वियनम १८२५ महासेनानी राजेन्द्रप्रसाद सुनुवारलाई अवकाश हुने मिति भन्दा १ महिना अघिदेखि लागू हुने गरी सोही सेवाको सहायक रथी दर्जामा विशेष बढुवा गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

सरकारले नेपाली सेना सैनिक हवाई सेवा पाइलट समूहका ब्याच नम्बर ३२०१ प्रमुखसेनानी सुवास खड्कासमेत ४ पाइलट प्रमुख सेनानीहरुलाई महासेनानी दर्जामा कार्यवाहक बढुवा गरी पदस्थापना गर्ने, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली विभिन्न समयमा छपाइ भएका, प्रकाशन नभएका र प्रचलनमा नरहेका ४ करोड १६ लाख ६२ हजार ३४३ रुपैयाँ ७५ पैसा बराबरका हुलाक टिकट र हुलाक स्टेशनरीहरु मिनाहा दिने, औषधिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धमा व्यवथा गर्न बनेको विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

यस्ता छन् मन्त्रीपरिषदका निर्णहरु

नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्राध्यापक डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने ।

फिलिपिन्सको मनिलामा आयोजना हुने लिडरशीप फोरम एण्ड साइनिङ शिरोमणि अफ कमिटमेण्ट लेटर स्टेन्थिनी पर्फमेन्स अडिट क्यापसिटी इन एशिया एण्ड द प्यासिफिक विषयक कार्यक्रममा माननीय महालेखा परीक्षक टंकमणि शर्मा दंगालसमेत २ जनालाई सहभागी हुन स्वीकृत दिने ।

विद्यालय क्षेत्र आयोजना कार्यक्रमका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने २ सय मिलियन अमेरिकी डलर ऋण सहायता सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता संयन्त्र, महाशाखाप्रमुखको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्युनतम सीमा प्रति विदेशी लगानी कर्ता २ करोड रुपैयाँ तोक्ने ।

२०७९ साल असोज २८ गतेसम्म पूर्ण प्रतिवन्ध लगाइएका विभिन्न चार प्रकारका वस्तुको पैठारीमा लगाइएको बन्देजलाई २०७९ मंसिर मसान्तसम्म निरन्तरता दिने ।

बुढी गण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनः स्थापना ईकाइको कार्य अवधि समाप्त मिति २०७९/0७/११ देखि लागू हुने गरी १ वर्ष थप गर्ने ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण, तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि सम्वत २०८० साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने ।

विभिन्न देशका ३७ जना विदेशी नागरिकले बुझाउनुपर्ने भिसा दस्तुर विलम्व शुल्क र जरिबाना बापतको रकम मिनाहा गरी ३ महिनाभित्र नेपाल छोड्न प्रस्थान अनुमति दिने ।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाइ सम्भावित जोखिमबाट हुने क्षति न्युनिकरण गरी थप जनधनको नोक्शानी हुन नदिनको लागि कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालिकोट जिल्लाका विपद् प्रभावित स्थानीय तहका भौगोलिक क्षेत्रलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने ।

कपिलवस्तु जिल्ला साविक बकडरिया वडा नम्बर ९ (क) स्थित १ बिगाह जग्गा १५ शैय्याको अस्पताल भवन निर्माणार्थ ३० वर्षका लागि बुद्ध भूमि नगरपालिकालाई सशर्त प्रयोग गर्न स्वीकृत दिने ।
नेपाली सेनाका वियनम १७७५, सहायकी रथी श्री विजय थापाको पदावधि २०८०/६/०१ सम्म थप गर्ने ।

नेपाली सेना सैनिक साधारण सेवा वियनम १८२५ महासेनानी राजेन्द्रप्रसाद सुनुवारलाई अवकाश हुने मिति भन्दा १ महिना अघिदेखि लागू हुने गरी सोही सेवाको सहायक रथी दर्जामा विशेष बढुवा गर्ने ।

नेपाली सेना सैनिक हवाई सेवा पाइलट समूहका ब्याच नम्बर ३२०१ प्रमुख सेनानी सुवास खड्कासमेत ४ पाइलट प्रमुख सेनानीहरुलाई महासेनानी दर्जामा कार्यवाहक बढुवा गरी पदस्थापना गर्ने ।

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली विभिन्न समयमा छपाइ भएका, प्रकाशन नभएका र प्रचलनमा नरहेका ४ करोड १६ लाख ६२ हजार ३४३ रुपैयाँ ७५ पैसा बराबरका हुलाक टिकट र हुलाक स्टेशनरीहरु मिनाहा दिने ।

औषधिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धमा व्यवथा गर्न बनेको विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

थापाथलीस्थित बागमती किनारका अनधिकृत संरचना भत्काइदै

काठमाडौं । काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित बागमती किनारका अनाधिकृत संरचना हटाउन थालिएका छन् । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृत रुपमा संरचना बनाएर बागमती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले धेरै वर्षअघिदेखि यी संरचना हटाउन खोजेका थिए ।

यी संरचना हटाउन उक्त समितिले गत माघ महिनामा पनि सूचना प्रकाशित गरी काम अघि बढाएका थिए । त्यसबेला विभिन्न समूहको दबाबमा काम रोकिएकामा अहिले काठमाडौं महानगरपालिकाको सहयोगमा ती अनधिकृत संरचना भत्काउन थालिएको हो ।

त्यस क्षेत्रमा निर्माण भएको रुद्रेश्वर महादेव मन्दिरको पुजारी भवन, क्रियापुत्री भवन, ओम शान्ति भवनलगायत संरचना भत्काइएको छ । थापाथली क्षेत्रमा सुकुम्वासीका नाममा नदी किनारको सार्वजनिक जग्गा कब्जा गरेर बस्नेलाई भने राजनीतिक संरक्षणका आधारमा केही नगरिएको भन्दै त्यस क्षेत्रमा विरोध पनि भइरहेको छ । सुकुम्वासीका नाममा नदी किनारको जग्गा कब्जा गर्नेलाई पनि त्यहाँबाट हटाउन नदी सफाइ अभियानकर्मीले माग गरेका छन् ।

राजधानीमा सुकुम्वासीका नाममा नदी किनारका सार्वजनिक जग्गा कब्जा गर्नेले सबैभन्दा बढी नदी प्रदूषित बनाउँछन् । सुकुम्वासीलाई इचङ्गुनारायणमा आवासीय भवन निर्माण गरेको वर्षौं बिते पनि सर्न मानेका छैनन् । राजधानीको मुटुमा रहेको नदी किनारमै बस्न पाउनुपर्ने माग सुकुम्वासीका नाममा हुँदै आएको छ ।

राजनैतिक अस्थिरताको कारक प्रचण्ड हुन्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गोरखा २ का एमाले उम्मेदवार अब्दुश मियाँबीच एमाले अध्यक्ष ओली निवास बालकोटमा शुक्रवार छलफल भएको हो।

छलफलपछि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखाबाट हराएरै छाड्ने दाबी गरेका हृन्। प्रचण्डसँग गोरखा २ मा मियाँ प्रतिस्पर्धा गर्दैछन्।

ओलीसँगको भेटपछि उनले फेसबुकमा लेखेका छन्, ‘पछिल्लो ३ दशकदेखि नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारक बनेका एक पात्रलाई गोरखाले यस पटक राजनीतिबाटै बि गर्दैछ। साथ दिनुहोला है।’

उनले प्रचण्डलाई नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारकको संज्ञा दिएका छन्।

देउवालाई बाबुरामको प्रश्न

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले काँग्रेसले अर्थविद् डा.स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन्। 

उनले काँग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने काँग्रेसले विद्वान व्यक्तित्वहरूलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने बताए। 

डा.भट्टराईले विज्ञहरूलाई देशभन्दा बाहिर पठाएर मुलुकभित्र गरिब, निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औँल्याए।  

उनले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर दिगो विकास गर्नु आवश्यक रहेको बताए। 

बैंकिङ कसुर मुद्दामा एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २५ लाख रूपैयाँ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले बैंकिङ कसुर मुद्दामा फरार भारत हरियाना घर भई काठमाडौं महानगरपालिका-१२ बस्ने ४४ वर्षीय शशी शर्मालाई आज दिउँसो पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २५ लाख रूपैयाँ जरिवाना ठहर भएपछि फरार शर्मालाई आज चन्द्रागिरि नगरपालिका-१५ सतुंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ ।

यसैगरी बैंकिङ कसुर मुद्दामा २ लाख ८ हजार जरिवाना र एक दिन कैद सजाया भएका कास्कीका मादी गाउँपालिका– ७ घर भई काठमाडौंको थानकोट बस्दै आएका ५८ वर्षीय नारायण भण्डारीलाई समेत आजै पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको गत असार २१ गतेको फैसलापछि फरार भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले आज बालाजु चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

हटाए हटाइयोस् हामी राजीनामा दिँदैनौँ

काठमाडौँ । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पदबाट राजीनामा नदिने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारबाट जसपाका चार मन्त्रीहरू हटाए लगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले काँग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरूले राजीनामा दिने अपेक्षा गरेका थिए । तर, केन्द्रको समीकरण फेरिए पनि मधेस प्रदेशका काँग्रेस, माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरू आफै राजीनामा नदिने पक्षमा पुगेका छन् ।

मुख्यमन्त्रीले हटाए हटाउन तर आफुुहरु राजीनामा नदिने भौतिक पूर्वाधार विकास मन्त्री तथा मधेस प्रदेशका काँग्रेस नेता समेत रहेका रामसरोज यादवले बताए । मधेस प्रदेश सरकारमा काँग्रेसका ३, माओवादी केन्द्रका राज्यमन्त्रीसहित २ र नेकपा एकीकृत समाजवादीका १ गरी ६ जना मन्त्री छन् ।

यता जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले भने शुक्रबार दिनभरमा पनि काँग्रेस, माओवादी र नेकपा एसका मन्त्रीले राजीनामा नदिए मुख्यमन्त्रीले साँझ नै बर्खास्त गर्ने तयारी गरेको बताए ।

अमेरिकाका ७३ जना अर्बपति ‘प्राइभेट जेट’ लिएर घुम्न आए नेपाल

काठमाडौं। विश्वमा साहसिक पर्यटन (एडभेन्चर टुरिज्म) का लागि प्रख्यात नेपाल पछिल्लो समय बिदा मनाउने धनाढ्यहरूको रोजाइमा परिरहेको छ। यहीबीच अमेरिकी अर्बपतिहरूको टोली त्यहाँको नेसनल जोग्राफिक सोसाइटीको प्राइभेट जेट ‘बोइङ ७५७’ चार्टर गरेर नेपाल आएका हुन्।

भियतनामबाट उडेको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान ९ः३७ बजे अवतरण गरेको थियो। उनीहरू नेपालका विभिन्न गन्तव्य घुम्न आएका हुन्। तर, मौसम खराबीका कारण नेपाल बसाइ छोट्ट्याएर भुटान जाने तय गरेका हुन्।

खासमा उनीहरू चार्टर जहाज लिएर विश्व भ्रमणमा निस्किएका हुन्। अमेरिकी अर्बपतिहरूको टोलीमा नेसनल जोग्राफिकल सोसाइटी सञ्चालक समितिका सदस्य सहभागी छन्। भ्रमण टोलीमा को–को सहभागी छन् भन्ने सार्वजनिक गरिएको छैन।

उनीहरूले चार्टर गरेर ल्याएको बोइङ ७५७ सिरिजको जहाज २ सय ३३ सिट क्षमतायुक्त भए पनि ‘भिआइपी’ उडानमा प्रयोग गरिने भएकाले बिजनेस क्लासका ८० सिटमात्र राखिएका छन्।

उनीहरूले जोडीका लागि प्रतिव्यक्ति ९४ हजार ९ सय ९५ अमेरिकी डलर र एकल बस्न प्रतिव्यक्ति १ लाख ४ हजार ४ सय ९० डलर तिरेका छन्।

काठमाडौंबाट मुस्ताङको ल्होमान्थाङसम्म जाने भ्रमण तालिका (आइटिनरी) लिएर आएका उनीहरूले मौसम खराबीका कारण एक रातमात्र काठमाडौंमा बिताउनेछन्। त्यही भएर उनीहरूले मुस्ताङ भ्रमण रद्द गरी मंगलबार काठमाडौं उपत्यकाका विभिन्न गन्तव्यको दृश्यावलोकन गरेका छन्। उनीहरू अहिले काठमाडौं बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेका छन्।

‘मुस्ताङको ल्होमान्थाङदेखि चितवनको मेघौली सेराइमा बस्नेसम्मको उनीहरूको योजना खराब मौसमका कारण रद्द हुन पुग्यो,’ अमेरिकी अर्बपतिहरूको भ्रमण व्यवस्थापनमा संलग्न स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘मौसमकै कारण नेपालको बसाइ घटाएर भुटान जाने भए। नत्र, एक साता नेपाल घुम्ने आइटिनरी थियो।’

मौसम खराब नभएको भए बुधबार काठमाडौंबाट पोखरा र पोखराबाट जोमसोमसम्म जहाजमा जाने र त्यहाँबाट गाडी लिएर ल्होेमान्थाङ पुग्ने कार्यक्रम तय भएको थियो। तर, केही दिनदेखि मौसम बिग्रिएकाले ती गन्तव्य घुमघामको योजना रद्द गरेर भुटान जान लागेका हुन्।

उनीहरु बुधबार विहान धुलिखेलमा ब्रेकफास्ट खाएर भुटान जानेछन् । भुटान एयरलाइन्सको चार्टर जहाज आएर उनीहरूलाई लिएर जाने छ। दुई दिन भुटानका थिम्पु र पारो घुमेर शुक्रबार काठमाडौं फर्किने छन् र सिधै त्रिभुवन विमानस्थलबाट आफ्नै चार्टर जहाज लिएर भारत जानेछन्।

भुटान एयरलाइन्सको चार्टर जहाज अमेरिकी अर्बपतिहरूलाई लिनमात्र बुधबार काठमाडौं आउने र दुई रात त्यहाँ बसेर शुक्रबार नेपाल ल्याइदिने छ। त्यतिन्जेल उनीहरूले ल्याएको चार्टर जहाज त्रिभुवन विमानस्थलमै बस्ने छ। शुक्रबार भारत जाने र त्यहाँ ताजमहल लगायत गन्तव्य घुम्ने कार्यक्रम तय भएको छ।

विश्व भ्रमणमा निस्किएका अमेरिकी अर्बपतिहरूले आफ्नो भ्रमण सूचीमा नेपाललाई समेत राखेका हुन्। २४ दिनका लागि घुम्न निस्किएका उनीहरू १३औं दिनमा नेपाल आइपुगेका हुन्।

अमेरिकाको वासिङटन डिसीबाट सुरु भएको उनीहरूको यात्रा पेरु, चिली, आइसल्यान्ड, अस्ट्रेलिया, कम्बोडिया हुँदै नेपाल आइपुगेको हो।

उनीहरू नेपालबाट भुटान, भारत, तान्जानिया, जोर्डन, मोरक्को र त्यहाँबाट फेरि अमेरिका फर्कने आइटिनरी छ।

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको भीमफेदी गाउँपालिकामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिङ्गालले चिलेर सख्त बनाएकामा उपचारका क्रममा आज बिहान चितवनको पपुलर अस्पतालमा मृत्यु भएको हो ।
यस्तै भीमफेदी–६ जुरिखेतमा भिरबाट लडेर अर्का एक जनाको मृत्यु भएको छ । स्थानीय ३२ वर्षीया समिता रानामगर बुधबार घरदेखि एक किमी उत्तरतर्फको जङ्गलमा घाँस काट्न गएकामा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । मृतक रानामगरको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ ।

राजस्व चुहावटको अभियोगमा मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी अपराध गरेको अभियोगमा बाग्लुङ नगरपालिका–७ का सरोज विश्वकर्मा र अम्मर विश्वकर्माविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अम्मरको साथबाट केही समय पहिले बिलबिजक तथा भन्सार प्रज्ञापनपत्रलगायतका कागजात नभएको अवस्थामा दुई सय ३८ ग्राम सुनका तीन थान सिक्री बरामद गरी थप अनुसन्धानका लागि विभागमा पेश गरेको थियो ।

बरामद भएको सुनका सिक्री आफ्नो भएको दाबीसहित सरोज विभागमा उपस्थित भएका थिए । अनुसन्धानका क्रममा ती सुनको गहना राजस्व छलीको भएको पुष्टि भएको छ । विभागले उनीहरुविरुद्ध रु १८ लाख ९४ हजार दुई सय बराबरको बिगो दाबीका साथ कैद सजायको माग गरेर मुद्दा दायर गरेको आज एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

डुबानका कारण रोकिएको धनगढी विद्युत् प्राधिकरणको सेवा चालु

अविरल वर्षाका कारण डुबानमा परेर चार दिनदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको सेवा आजदेखि चालु भएको छ । उक्त केन्द्रको कार्यालयमा बुधबारसम्म पनि एक फिटसम्म पानी जमेको थियो । कार्यालयभित्र पूरै पानी जमेकाले काउण्टर सञ्चालन गर्ने सक्ने अवस्था नभएकाले सेवा प्रवाहमा असर परेको थियो ।

मोटर लगाएर पानी निकास गर्न लगाएपछि बल्ल आजदेखि कार्यालयको सेवा सञ्चालन गरिएको उक्त केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अझै पनि पूरै पानीको निकास नभएकोले विद्युतीय मोटर जडान गरेरै पानी निकास गराइरहेका छौँ ।”

कार्यालयको काउण्टर, नोलाईट भवन, मर्मत शाखालगायत पूरै कार्यालयमा पानी निकास हुन नसक्ने अवस्था भएपछि कार्यालयको सेवा सञ्चालनमा असर परेको थियो । सबै स्टेशन अलिकति अग्लो ठाउँमा भएको हुनाले विद्युत् लाइन चाही चालु नै रहेको कार्यालय प्रमुख मण्डलको भनाइ थियो ।
हरेक वर्ष वर्षात्मा डुबान हुने गरेको कार्यालयको बारेमा पटक–पटक वर्षा सुरु हुनुभन्दा अगाडि धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि, मन्त्रालय र आफ्नो माथिल्लो निकायमा जानकारी गराउँदै आएको तर अहिलेसम्म पनि समाधान हुन नसकेको उहाँले बताउनुभयो ।
त्यस्तै वर्षाकै कारण अत्तरिया क्षेत्रमा १०० केबीए, नेपाल टेलिकमको कार्यालय नजिक ३०० केबीए, बेलामा ५० केबीए र भन्सार रोडमा १०० केबीए क्षमताका गरी चार वटा टान्सफर्मर जलेको बताइएको छ ।

निर्वाचन आचारसंहिताबारे दलहरूलाई जानकारी

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा रहेका दल र तीनका प्रतिनिधि एवं सरोकारवालालाई निर्वाचन आचारसंहिताका बारेमा जानकारी गराएको छ । दलबाट उम्मेदवारी दिएका तथा स्वन्त्ररूपमा उम्मेदवारी दिएका उम्मेदवारले निर्वाचनको पालना गर्नुपर्नेबारे जानकारी गराइएको हो । निर्वाचनलाई निष्पक्ष, स्वच्छता, पारदर्शी तथा भयमुक्त वातावरण बनाउन आचारसंहिताबारे जानकारी दिइएको हो ।

आचारसंहिताबारेमा जानकारी दिँदै मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले दल र उम्मेदवारले आमसभा गर्दा सभ्य तवरले जुलुस, आमसभा, भेला गर्नुपर्ने, कसैको घरपरिवारको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नपाइने, निर्वाचन चिह्न वा झण्डा अङ्कित स्टिकर, कपडा, ब्याज, मास्क, लकेट वा झोला बोक्न नहुने,  निजी घरजग्गा वा सार्वजनिक स्थानमा निर्वाचन चिह्न, दलको झण्डा टाँस्न वा राख्न नपाइने जानकारी गराउनुभयो । प्रचार–प्रसार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने, बालबालिकाको प्रयोग गर्न नपाइने, ७५ ग्रामको कागजमा तीन सय वर्ग इन्चको एउटै रङ र मुद्रकको नामसहितको पर्चा प्रयोग गर्नुपर्ने, तीन–चार फिटको झण्डा र सोही नापको चुनाव चिह्न राख्नुपर्ने सो अवसरमा जानकारी गराइएको थियो ।

कात्तिक १७ गतेदेखि मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम गर्नुपर्ने भोजभतेर, नगद वा जिन्सी वितरण गर्न नपाइने, निर्वाचन अधिकृतको अनुमतिले दुईवटा सवारीसाधन मात्रै प्रयोग गर्न पाइने सो अवसरमा जानकारी दिइएको थियो । सञ्चारमाध्यममा प्रचार–प्रसार गर्दा प्रदेशसभाको एक घण्टाको अन्तरालमा बढीमा तीनपटक र प्रतिनिधिसभाको सदस्यका लागि चारपटक एक मिनेटको प्रचार सामग्रीमात्र प्रचार गर्नुपर्ने निर्वाचन अधिकृत थापाले बताउनुभयो । पत्रपत्रिकामा बढीमा सात–सात इन्चसम्मको प्रचार सामग्री छाप्न पाइने र विदेशी सञ्चारमाध्यमबाट प्रचार–प्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।

निर्वाचनका लागि उम्मेदवारले छुट्टै खाता खोल्नुपर्ने र रु २५ हजारभन्दा बढी सहयोग लिँदा बैंक खातामा खोल्नु पर्ने आचारसंहितामा उल्लेख छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसहित सुरक्षा निकायका अधिकारीहरू र दलका प्रतिनिधिहरूको उपस्थिति  थियो ।