झाँक्रीलाई हराउँदै एमालेका गोकर्ण विष्ट निर्वाचित

गुल्मीमा २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै विष्ट निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार विष्टले २८ हजार ४७६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी हुन् ।

विष्टले झाँक्रीलाई २ हजार ३४ मतान्तरले पराजित गरेका हुन् ।

रुपन्देही–२ मा ११ बजेदेखि मतगणना सुरु हुँदै

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ को मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ ।

यसअघि माओवादीका प्रतिनिधिले विवाद सुरु गरेपछि रातिदेखि सुरु गर्ने भनिएको मतगणना रोकिएको थियो । सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी रुपन्देही क्षेत्र नम्बर १ मा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । क्षेत्र नम्बर ५ मा मतगणना गर्नका लागि सर्वदलीय बैठक बसिरहेको छ । बैठकले मतगणनाबारे निर्णय गर्ने छ । रुपन्देही ३ र ४ मा ९ बजेबाट मतगणना सुरु गर्ने तयारी छ ।

आजकाे खेलमा जर्मनी र जापान भिड्दै

एजेन्सी ।दकतारमा जारी फिफा विश्ककप-२०२२ अन्तर्गत आज हुने समूह दुईको खेलमा जर्मनी र जापान भिड्दैछन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल बेलुकी ६ः४५ बजे शुरु हुनेछ ।

रसियामा भएको गत संस्करणमा समूहचरणबाटै घर फर्किएको जर्मनी उपाधिको बलियो दाबेदार हो । पछिल्लो युरोकपमापनि इङ्ल्यान्डसँग परजीत हुँदै अन्तिम १६ बाट बाहिरिएको चारपटकको विश्व विजेता जर्मनी सर्वाधिक पाँचपटक विश्वकप जित्ने ब्राजिलको कीर्तिमानसँग बराबरी गर्ने लक्ष्यमा रहेको छ ।

पछिल्लो आठ खेलमा मात्र दुई जीत निकालेको जर्मनी खराब लयमा रहेको छ । इङ्ल्यान्ड, इटाली र हंगेरी सम्मीलित नेसन्स लिगको समूहमा जर्मनी तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । जर्मनी कतार विश्वकपको लागि छनोट हुने पहिलो टोलीपनि हो ।

यता जापान जर्मनीलाई स्तब्ध बनाउँदै उत्कृष्ट शुरुवात गर्ने दाउमा रहेको छ । सन् १९९८ पछि लगातार समूहचरण खेलेपनि जापान नकआउट चरण पुग्न संघर्ष गर्दै आएको छ । जापानले विश्वकपको २१ खेलमा मात्र पाँच खेल जितेको छ । चार वर्ष अगाडि भएको विश्वकपको पहिलो दिनमै जापानले कोलम्बियालाई २/१ गोलले पराजीत गरेको थियो ।

हालसम्म जर्मनी र जापान कुनै आधिकारिक प्रतियोगितामा नभिडेपनि मैत्रीपूर्ण खेलमा चारपटकको विश्व विजेता जर्मनी एसियन टोलीविरुद्ध अपराजीत रहेको छ । सन् २००४ मा भएको एक खेलमा जर्मनी ३/० गोलले विजयी हुँदा अर्को खेल २(२ गोलको बराबरीमा सकिएको छ ।

सिभिल बैंकको शेयर कारोबार आजदेखि खुल्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको आधारभूत शेयरधनी वाहेकको शेयर कारोबार मंसिर ६ गते फुकुवा गर्ने निर्णय गरेसँगै मंसिर ७ गतेदेखि बैंकको शेयर कारोबार सुचारु हुने भएको हो । सिभिल बैंकको शेयर कारोबार आजदेखि खुला हुने भएको छ ।

हिमालयन बैंकले प्राप्ती गर्ने भएसँगै असार ३० गतेदेखि सिभिल बैंकको शेयर कारोबार रोक्का रहेको थियो । पछिल्लाृे समय नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्ती प्रयोजनका लागि एकिकृत कारोबारपछि मात्र बढीमा १५ दिन शेयर कारोबार रोक्का हुने व्यवस्था गरेसँगै यस अघि रोक्का रहेका कम्पनीहरूले आधारभूत शेय्रधनी वाहेकको शेयर कारोबार खुला गर्न पाउने भएका हुन ।
 

मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना, तीन प्रहरीसहित ६ जना घाईते

जुम्ला । जुम्लामा मतदान केन्द्रतर्फजाँदै गरेको जिप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे१च २१८८ नम्बरको जिप दुर्घटनामा परेकाे हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार तिला गाउँपालिका-४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्रतर्फ जाँदै  गरेको उक्त जिप दुर्घटना भएको हो । दुर्घटना परि घाइते भएकाहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ ल्याईदै गरेकाे प्रहरीकाे भनाइ छ । उनका अनुसार तीनजना प्रहरी एक मतदान अधिकृत, एक साहयक मतदान अधिकृत र एक कार्यालय सहयोगी घाइते भएका छन् ।

दुर्घटनाको प्रारम्भिक जानकारीअनुसार निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी, सहायक मतदान अधिकृत आदlप्रसाद न्यौपाने, हरिप्रसाद देवकोटासहित ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार उक्त जिपमा आठ जनाको टोली थियो । दुई जना सकुशल रहेको र ६ जना घाइते भएका हुन् । घाइतेलाई  कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ ।

अन्तिम एक दिवसीय खेल नेपाल र यूएईबीच आज

काठमाडौँ। घरेलु टोली नेपालले तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज शुक्रबार युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रूपमा रहेको छ । किनकि तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।

यस्तोमा अन्तिम खेलमा दुवै टोली जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा रहेका छन् ।  नेपाल आजको खेल जित्दै सिरिज २-१ ले जितेर इतिहास कायम गर्न चाहन्छ । नेपालले यस सिरिज जितेमा घरेलु भूमिमा नेपालले पहिलो पटक दुई देशीय सिरिज जित्ने छ ।

पपुवा न्यू गिनीसँग नेपालले यसै वर्ष पहिलो एक दिवसीय सिरिज घरेलु भूमिमा खेलेको थियो । दुई खेलको उक्त सिरिज नेपालले २-० ले हारेको थियो ।

यूएई पनि नेपाललाई घरेलु मैदानमा पराजित गरी सिरिज जित्न चाहन्छ । २०१९ मा नेपालले युएईलाई उसकै घरेलु भूमिमा पराजित गरी तीन खेलको सिरिज २-१ ले जितेको थियो ।

नेपाल र युएईबीचको यस खेल नवौँ खेल हो । हालसम्म खेलिएको ८ खेलमा युएईले ५ पटक जितेको छ । नेपालले तीन पटक आफ्नो बनाएको छ ।

मंसिर २ गते शुक्रबार, यस्तो छ तपाईंकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त सँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउला, साँझमा शुभ समाचार पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापारव्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला । पुँजी बजारमा पनि फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बन्न लागेको काम बिग्रनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रोकिएको धन पाइन सक्छ । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना प्रबल छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखमय नै हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

–हाम्रो पात्रोबाट

आमनिर्वाचनको मौन अवधि सुरु, जुलुस निकाले जरिवाना

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ ।योसँगै राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ । सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न पाउने छैनन् । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला,गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ ।

बिहीबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा, जुलुस र नाराबाजी नगर्न भनेको छ । यदी उल्लंघन गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

बिहीबार मध्यरातिबाट निर्वाचन प्रचारप्रसार सम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसार सम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने भनिएको छ । यसको अनुगमन प्रेस काउन्सिलले गर्नेछ ।

निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गरिएको छ ।

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ३५ पैसा र बिक्री दर १३० रूपैयाँ ९५ पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ०९ पैसा र बिक्री दर १३५ रूपैयाँ ७२ पैसा रहेको छ।

नेताको प्रेस सल्लाहकार बन्ने प्रतिस्पर्धाले पत्रकारले गर्नुपर्ने ‘वाच एण्ड डग’को काममा भुत्तेपना

पर्सा : स्थानीय तह र विभिन्न नेताको प्रेस सल्लाहकार बन्ने प्रतिस्पर्धाले पत्रकारले गर्नुपर्ने ‘वाच एण्ड डग’को काममा भुत्तेपना आएको प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईंले बताएका छन्।

पर्साबाट प्रकाशित पर्दाफास दैनिकको नवौं वार्षिकोत्सव समारोहमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समते रहेका चौलागाईंले यस्तो बताएका हुन्।

सिंहदरबारको अधिकार गाउँ(गाउँमा आइसकेको अवस्थामा पत्रकारको भूमिका अझ बढी हुने हुँदा पत्रकारले जनताले प्रत्याभूत गर्ने गरी कलम चलाउने समय आएको उनले बताए। संचारमाध्यम सशक्त रुपमा अगाडी आउन नसके मुलुकमा सुशासन हुन नसक्ने भन्दै स्थानीय तहमा हुने विकृति रोक्न पनि मोफसलका पत्रकारहरुको जिम्मेवारी थप थपिएको उनको भनाइ छ।

पाठक तथा श्रोता पहिलेभन्दा अझ परिस्कृत हुँदै आएकोले पत्रकारहरुले पनि प्रकाशन, प्रशारण गर्ने शब्द चयनमा अझ सम्वेदनशिल हुनुपर्ने उनको तर्क छ। ुपत्रकारहरूलाई कानूनतः कुनै छुट हुन्नु उनले भने ुयो कुरालाई हृदयंगम गरी पत्रकारले अझ जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नुको विकल्प छैन।ु

मुलुकको नयाँ संरचना निर्माण र कानून तथा नीति बन्ने कुराले संचार क्षेत्रलाई पनि अझ परिपक्क हुन दबाव भइरहेको समयमा संचार जगत आफ्नो आचार संहिताभित्र रहेर खरो उत्रन पर्ने काउन्सिलका सदस्य चौलागाईंको सुझाव छ।

पर्दाफास दैनिकका प्रबन्धक निर्देशक तथा प्रकाशक राघव साहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज रामचन्द्र साह, संविधान सभाका सदस्य जयप्रकाश चौधरीलगायतले पनि पत्रकारहरूको भूमिका संवेदनशिल हुने हुँदा अझ सत्य र तथ्यपरक रूपमा कलम चलाउन पर्ने बताए।

सरकारलाई राजस्वको लक्ष्य भेट्टाउन मुस्किल

काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७९/८० को कात्तिक महिनामा लक्ष्यको ८०.८९ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । विभागले गत असोज महिनामा लक्ष्यको ९३.८२ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो ।

विभागले चालु आवको यस अवधिमा २९ अर्ब ५ करोड ७८ लाख ९० हजार रुपैयाँ राजश्व संकलन गरेको हो । जुन लक्ष्यको ९३।८२ प्रतिशत मात्रै हो । विभागले यस अवधिमा ३५ अर्ब ९२ करोड ३८ लाख ३० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

यस अवधिमा विभागले आयकर शीर्षकबाट ९ अर्ब ८१ करोड ६८ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ७ अर्ब ४२ करोड ४२ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्य अनुसार ७५.६३ प्रतिशत मात्र राजस्व संकलन भएको हो ।

त्यस्तै, विभागले घरबहाल कर शीर्षकबाट १४ करोड ४६ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १२ करोड ३६ लाख ३३ हजार रुपैयाँ, ब्याजबाट ६ अर्ब ४६ करोड १८ लाख ९१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा ५ अर्ब १५ करोड ९४ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

विभागले यस अवधिमा भ्याटबाट १० अर्ब ८० करोड २५ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसबाट ७ अर्ब ४४ करोड ४९ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस अवधिमा विभागले अन्तशुल्क शीर्षकबाट लक्ष्य भन्दा १०३.१४ प्रतिशत बढि राजस्व संकलन गरेको छ । विभागले अन्तशुल्क शीर्षकबाट ८ अर्ब १३ करोड ६५ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८ अर्ब ३९ करोड १७ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्याङकमा उल्लेख छ ।

यसैगरी विभागले स्वास्थ्य सेवा शीर्षकबाट लक्ष्यको ९५.९० प्रतिशत मात्र राजस्व संकलन गरेको छ । यस अवधिमा विभागले ४२ करोड ७५ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसबाट ४१ करोड १२ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । जबकी विभागले गत असोजमा लक्ष्यको झण्डै दोब्बर १५४.७४ प्रतिशत राजस्व संकलन गरेको थियो ।

विभागका अनुसार यसअवधिमा शिक्षा शीर्षकबाट पनि लक्ष्य भन्दा कम राजस्व संकलन भएको छ । विभागले शिक्षा शीर्षकबाट यस अवधिमा १३ करोड ३८ लाख ९३ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसअनुसार शिक्षा शीर्षकबाट १० करोड ३८ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ७७.६० प्रतिशत राजस्व संकलन भएको हो ।

त्यसैगरी, विभागले कात्तिक मसान्तसम्म लक्ष्यको ८८.४३ प्रतिशत राजस्व संकलन गरेको छ । यस अवधिमा विभागले एक खर्ब ४१ अर्ब १५ करोड ३३ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब २४ अर्ब ८२ करोड २८ लाख ३ हजार रुपौयँ मात्र राजस्व संकलन गरेको हो । गत आवको सोही अवधिमा १ खर्ब २७ अर्ब ७३ करोड ५६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

विभागका अनुसार गत आवको तुलनामा आयकर, घरबहाल कर र भ्याटको राजस्व संकलनमा कमी आएको छ भने ब्याज, अन्तशुल्क, शिक्षा र स्वास्थ्य शीर्षककोबाट उठ्ने राजस्वमा भने वृद्धि भएको छ ।

शेयर बजारमा शुभ संकेत, नेप्से आज २५.५७ अंकले बढे

काठमाडौं । प्र्देशसभा र प्रतिनिधि सभाको निर्वाचन अघिको अन्तिम कारोबारको दिन शेयर बजारमा शुभ संकेत देखिएको छ । लामो समयदेखि गिरावट आइरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २५.५७ अंकले बढेर एक हजार ९ सय ३६ दशमलब ८३ विन्दुमा बन्द भएको हो ।          

त्यस्तै, आज कारोबार रकममा समेत वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब ७१ करोड ५४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   

दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सिक्लेस हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशतले बढेर प्रतिकित्ता ३८८.४० रुपैयाँ पुगेको छ भने सयपत्री हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३४७.८० रुपैयाँ पुगेको छ ।  

नेप्सेका अनुसार तारागाउँ फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी हाइड्रोपावरको भएको छ । यसको आज १४ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।

नागरिकता विधेयक रोकेकोमा धन्यवाद -ओली

काठमाडौँ । बिहीबार झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमको प्रशंसा गरेका हुन् ।

संसदमा विचाराधीन नागरिकता विधेयक रोकेको आरोप लगाउँदै उनले आफू प्रधानमन्त्री हुँदा अध्यादेशबाट कानुन ल्याएर नागरिकता दिन लाग्दा अदालत गएर प्रचण्ड, देउवा र माधव नेपालले नै रोकाएको आरोप लगाए ।

अध्यक्ष ओलीले भने, ‘‘विदेशीलाई तुरुन्ता(तुरुन्तै दिनको लागि हतारमा पेलपाल गर्न खोजे । धन्यवाद राष्ट्रपति ज्यु, उहाँले रोक्नुभयो । राष्ट्रपतिको काम यस्तै बेलामा आउँछ ।’

नागरिकता विधेयक रोक्ने कदमको प्रशंसा गर्दै उनले थपे, ‘जब राष्ट्रियतालाई खतरामा पार्न खोजिन्छ, जब जनसांखिक हिसाबले देशलाई धरापमा पार्ने षडयन्त्र हुन्छ । यस्तो बेलामा राष्ट्रपतिले दह्रो पाइला टेक्नैपर्छ । राष्ट्रिय अडान लिनैपर्छ । उहाँलाई म धन्यवाद भन्न चाहन्छु ।’

संघीय संसदले पारित गरी पहिलो पटक पेस गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयले १५ बुँदे सन्देशसहित फिर्ता पठाएको थियो ।

संसद्को दुवै सदनमा राष्ट्रपतिले १५ बुँदे सन्देशमा उठाएका विषयमाथि गम्भीर छलफल नगरी पुनः पारित गरेर पठाएको भन्दै राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिनन् । यस विषयमा सर्वोच्च अदालतमा पनि रिट परेको छ ।

बुधबार मात्रै राष्ट्रपतिले सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै आफूले १५ बुँदे सन्देशमा उठाएका विषयहरूमा गम्भीर छलफल नभएकोले नागरिकता विधेयक उनकै शब्दमा ‘यथास्थितिमा राखिएको’ छ ।

बिहीबार एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको नागरिकता विधेयक रोक्ने कदमको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीलाई धन्यवाद दिएका हुन् ।

एमालेले चुनावमा बहुमत पाए एक महिनाभित्र जन्मसिद्धका आधारका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने अध्यक्ष ओलीको आश्वासन छ ।

भूमिहीन सुकुमबासीहरूकाे राजधानीमा विशाल र्‍याली

काठमाडौं । भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर–टहरा जबर्जस्ती हटाउन पटकपटक प्रयास गरिएको भन्दै विरोधमा खबरदारी र्‍याली निकालेको र्‍यालीका सहभागीले जनाएका छन् ।

र्‍याली काठमाडौंको माइतीघर क्षेत्रबाट नयाँ बानेश्वरतर्फ अघि बढेको थियो । र्‍यालीपछि अहिले कोणसभा चलिरहेको छ ।

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल सुकुमबासी पार्टी लोकतान्त्रिक, अव्यवस्थित सुकुमबासी संघ, सुकुमबासी व्यवस्थापन संघ, भूमिहीन सुकुमबासी संगठन, नेपाल लोकतात्रिक सुकुमबासी संघलगायत भूमिहीन सुकुमबासीका पक्षमा काम गर्ने विभिन्न २४ संघसंस्थाले र्‍याली निकालेका हुन् । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला पनि र्‍यालीको अग्रभागमा देखिएका छन् ।

र्‍यालीका सहभागीले गरिब मार्न पाइँदैन, डोजरआतंक बन्द गर, उठीबासको त्रास कहिलेसम्म रु, हाम्रो मानव अधिकार खोइ रु जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेका छन् ।

निर्वाचनका लागि खटिएका कर्मचारी मतदान केन्द्रतर्फ प्रस्थान

मकवानपुरमा मङ्सिर ४ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी आजबाट मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् ।

जिल्लाका विकट क्षेत्रमा रहेका केन्द्रमा आजदेखि नै कर्मचारी प्रस्थान गर्न थालेको निर्वाचन कार्यालयले जनाएको छ ।

“हामी आज बिहानै तोकिएको मतदान केन्द्रतर्फ लाग्यौँ, सबै कर्मचारीलाई आजै मतदान केन्द्र पुग्न निर्देशन दिएको छु”, मकवानपुरको कैलाश–६ को मतदान केन्द्रमा खटिनुभएका मतदान अधिकृत यमबहादुर बस्नेतले भन्नुभयो ।

उत्तरी मकवानपुरको इन्द्रसरोवरको एक केन्द्रमा खटिनुभएका मतदान अधिकृत मनोज गुप्ता पनि आजै मतदान केन्द्र प्रस्थान गर्ने तयारीमा रहेको जाँदैहुनुहुन्छ ।

त्यस्तै पूर्वी मकवानपुरको बकैयाको श्रीपुर केन्द्रमा खटिनुभएका सुन्दर बाँस्कोटाले पनि आजै तोकिएको केन्द्र पुगेर मतदान केन्द्रको व्यवस्थापन सुरु गर्ने बताउनुभयो ।

मतदान प्रक्रियालाई सुरक्षित र भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज मङ्सिर १ गतेबाट ५ गतेसम्म जिल्लाभर मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न निर्देशन जारी गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै ४ मङ्सिरमा हुने निर्वाचनलाई मध्यनजर गर्दै आजबाट मङ्सिर ५ गते दिउँसो १२ बजेसम्मका लागि मदिराजन्य पदार्थ ओसारप्रसार, बिक्री वितरण तथा सेवन पूर्णरूपमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

यसैगरी कार्यालयले निर्वाचनको दिन मङ्सिर ४ गते बिहान ५ बजेदेखि मङ्सिर ५ गते बिहान ५ बजेसम्म तोकिएको अत्यावश्यक सेवा र अनुमतिप्राप्त सवारी साधनबाहेक सम्पूर्ण निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको जनाएको छ ।

जिल्लाको एक सय ६५ वटा मतदानस्थलमा तीन सय ६४ मतदान केन्द्र छन् । तीन लाख सात सय ३३ मतदाता रहेको मकवानपुरमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लाका तीन सय ६४ मतदान केन्द्रमध्ये १९ वटा अतिसंवेदनशील र ६० केन्द्रलाई संवेदशील केन्द्रका रूपमा लिइएको छ । तीन सय ६४ मतदान केन्द्रमा करिब तीन हजार कर्मचारी खटिने जनाइएको छ ।

मकवानपुर क्षेत्र नं १ मा एक लाख ५० हजार एक सय ५५ र मकवानपुर क्षेत्र नं २ मा एक लाख ५० हजार पाँच सय ७८ मतदाता रहेका छन् । जिल्लामा पाँच जना तेस्रोलिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।