धनुषामा पेस्तोलसहित २ जना पक्राउ

जनकपुरधाम । धनुषामा अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई पक्राउ गरिएको जानकारी गराएको हो ।

इकाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले गत माघ १२ गते साँझ सूचनाको आधारमा खानतलासी गर्दा उनीहरुलाई पेस्तोलसहित पक्राउ गरी थप अनुसन्धानको कामलाई अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धुनषाका प्रमुख एसपी विश्वराज खड्काले बताए ।

उनका अनुसार उनीहरुको साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको छ ।

सो पेस्तोल भारतीय सिमानाका जटहीबाट खरिद गरी ल्याएको खुल्न आएको उल्लेख गर्दै प्रहरीले थप अनुसन्धानको कामलाई तीव्रता दिइएको पनि जनाएको छ ।

नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला जादै: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।

उहाँ आज बिहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जानुहुन्छ भन्ने खबर आएको छ प्रशासनबाट उहाँको हकमा नियमित प्रक्रियाबाट दिने हो कि कुनै कानूनी राय आवश्यक पर्छ भन्ने जिज्ञासा आएको थियो । आदेशमा नागरिकता लिने प्रक्रियाबारे थप केही नबोलेकाले नियमित प्रक्रियाबाट दिँदा फरक पर्दैन भनेर समन्वय भएको छ ।’

जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने/नपर्नेबारे जिज्ञासा राखेको थियो ।

प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नू भनी समन्वय गरेको छ । गृह प्रशासन स्रोतले भन्यो, ‘उहाँले सम्भवतः केही घण्टामै नागरिकता पाउनु हुनेछ ।

आज माघ १५ गते आइतबार : यस्तो छ तपाईंको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सहयोगी हातहरू अघि बढ्नेछन् । पारिवारिक साथ र सद्भाव बढ्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अकस्मात् सफलता हात पर्न सक्छ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामाजिक कार्यबाट सफलताको योग छ । जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ र छोटो यात्रा पनि हुनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनसक्छ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप पनि खेप्नुपर्ला ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । पढाई पनि राम्रो हुनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दबाब र तनाव बढेको महसुस हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक पक्ष भने राम्रो हुने देखिन्छ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाइदा लिन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । प्रेममा मनमुटाव पनि आउला ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै समाचारले मनमा खुसी छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

अनुगमन कार्यालयद्वारा १२ कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा राखिएकाहरूमा गोपाल ढकाल नेतृत्वको युनिभर्सल मल्टी सर्भिस प्रालि काठमाडौँ, कुमार भण्डारी नेतृत्वको स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि प्युठान, कृष्णबहादुर खड्का नेतृत्वको सुक्रिक निर्माण सेवा दाङ, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन जनकपुर र जनार्धन धिताल नेतृत्वको मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी, काठमाडौँ छन् ।

यसैगरी रामबहादुर राना नेतृत्वको लक्ष्मी निर्माण सेवा अर्घाखाँची, प्रकाश कोइराला नेतृत्वको जलेश्वर निर्माण सेवा धादिङ, माधव घिमिरे नेतृत्वको डिभी घिमिरे कन्स्ट्रक्सन कुरिनटार, पुष्कर प्रसाद गौतम नेतृत्वको अन्जना निर्माण सेवा भरतपुर चितवन, रानी कुमारी रौनियार नेतृत्वको दिल्ली ट्रेडिङ वीरगञ्ज र शिव हरी पुडासैनी नेतृत्वको बी म्यानेजमेन्ट प्रालि पोखरालाई पनि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

एसईई परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ ।

यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ ।

अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

हेर्नुस् तालिका:

नागरिकता प्रकरणमा लामिछाने दोषी ठहर, गुमे गृहमन्त्री र सांसद पद 

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गएको छ ।

रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनले बताएका छन् ।

सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछाने गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, ’अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्द मोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त विवादपछि सुनाएको फैसलापछि उक्त पदहरू नरहने भएको हो ।

रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन”, फैसलामा भनिएको छ, “निजले चितवन जिल्ला, निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचितसमेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाणपत्रलगायत दिने काम कारबाही नेपालको संविधानको धारा १३३ को उपधारा ९२० ९३० तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ ।”

गृहमन्त्री लामिछानेले वंशजको आधारमा २०५० सालमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको देखिन्छ । निजले २०७० साल ९सन् २०१४० मा अमेरिकी नागरिकता लिएको र तत्पश्चात् २०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिई मिति २०७५ असार १४ को जानकारीका आधारमा अमेरिकी नागरिकता त्यागेको कुरामा विवाद नदेखिएको फैसलामा छ ।

“नेपाली नागरिकता पुनः कायम गर्न नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ तथा नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिमको प्रक्रिया पूरा गरेको देखिँदैन”, फैसलामा भनिएको छ, “नेपालको संविधानको धारा १३ ले नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्ति सङ्घीय कानुनबमोजिम हुने व्यवस्था गरेको छ, नेपाल नागरिकता ऐन, २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रस्ट व्यवस्था रहेको देखिन्छ ।”

अदालतले विदेशी मुलुकको नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहने र विदेशी मुलुकको नागरिकता आफूखुसी लिएको वा नेपाली नागरिकता त्यागेको दुवै अवस्थामा नेपाली नागरिकता कायम रहँदैन भन्दै यस्तो अवस्थामा नेपाली नागरिकता पुनः प्राप्त गर्न कानुनले तोकेको प्रक्रिया पूरा गर्नु नै पर्ने भएको ठहर गरेको छ ।

“नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ मा कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ भन्ने व्यवस्था रहेको देखिन्छ”, फैसलामा भनिएको छ, “तर रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी सम्बन्धित अधिकारी (प्रमुख जिल्ला अधिकारी) लाई दिएको तथा नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रक्रियाबमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन दिई प्रक्रिया पूरा गरेको भन्ने देखिँदैन ।”

अदालतले नेपालको संविधानको धारा ७ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को प्रयोजनका लागि उम्मेदवार बन्न योग्यता पुगेको भनी मान्न नमिल्ने ठहर गरेको छ ।

नेपालको संविधानको धारा ८७ (१) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ बमोजिम प्रतिनिधिसभाको सदस्य पदका लागि उम्मेदवार हुन योग्य मानिनका लागि अन्य कुराको अतिरिक्त नेपाली नागरिक हुन अनिवार्य रहेको र सो तथ्य रीतपूर्वक क्रियाशील रहेको नागरिकताको प्रमाणपत्रबाट मात्र पुष्टि हुने देखिएको फैसलामा उल्लेख छ ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको थियो । 

नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा दायर गर्नुभएको थियो । उक्त रिटको सुनुवाइपछि अदालतको फैसलापछि लामिछानेको दुवै पद गएको छ ।

काँग्रेसको नीति महाधिवेशन वैशाखमा गर्ने

काठमाडौँ । नेपाली काँग्रेसले २०८० साल वैशाखमा नीति महाधिवेशन गर्ने भएको छ । नेतृत्व चयनका लागि १४ औँ महाधिवेशन सम्पन्न भएको झण्डै डेढ वर्षपछि काँग्रेस नीति महाधिवेशनमा जुटेको हो ।

१४ औँ महाधिवेशनका बेला नेताहरुले ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा गरेका थिए । नीति महाधिवेशनमार्फत काँग्रेस नयाँ कार्यक्रमका साथ जनतामाझ पुग्ने तयारी भइरहेको महामन्त्री गगन थापाले बताए ।

यही फागुन ७ गतेभित्र भातृसंस्थाले पूर्णता पाउँछन् । पार्टी संगठन व्यवस्थित बनाएपछि नीति महाधिवेशन हुन्छ । वैशाखमा नीति महाधिवेशन गर्ने तयारी भइरहेको छ’, महामन्त्री थापाको भनाइ छ ।

गत वर्ष मंसिरको अन्तिम साता भएको १४ औं महाधिवेशन केन्द्रीय कार्यसमिति चयनमा सीमित भएको थियो । संवैधानिक बाध्यताले च्यापेपछि नेतृत्व चयन गरेर कांग्रेस महाधिवेशन सकिएको थियो । पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गर्ने पर्ने संवैधानिक बाध्यताका कारण कांग्रेसले नीतिमाथि बहस गर्न पाएको थिएन ।

१४ औं महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिलाई नीति र कार्यक्रमको सन्दर्भमा ‘नीति अधिवेशन’ गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।

गत साउन २ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले नीति महाधिवेशनका सम्बन्धमा आवश्यक तयारी गरी केन्द्रीय कार्यालयले आगामी केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेश गर्नुपर्ने बनेको थियो । तर प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण नीति अधिवेशन रोकियो ।

आम निर्वाचनबाट केन्द्र र ४ प्रदेशमा पहिलो पार्टी बनेको कांग्रेसलाई प्रतिपक्षमा पुगेपछिमात्रै नीति महाधिवेशन गर्ने फुर्सद मिलेको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा जारी संयुक्त वक्तव्य विज्ञप्तिमा नीति महाधिवेशनले स्थान पाएपछि कांग्रेसमा अनौपचारिक बहस सुरु भएको थियो । अविलम्ब नीति महाधिवेशन गरेर पार्टीको नीति योजना र कार्यक्रम तय गरिने महामन्त्रीद्वयको विज्ञप्तिमा उल्लेख थियो । तर अहिलेसम्म नीति महाधिवेशन गर्ने पार्टीको निकाय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान संयोजकमामात्रै सीमित छ । कांग्रेस सभापति शेरबहादुर देउवाले गत असार १० गते उपसभापति पूर्णबहादुर खड्कालाई प्रतिष्ठानको प्रमुखमा मनोनीत गरेका थिए ।

प्रतिष्ठानलाई पार्टीले अंगिकार गर्ने नीति माथिको बहस सुरु गर्ने अधिकार हुन्छ । नीति माथि बहस प्रारम्भ भएसँगै नीति महाधिवेशन गर्ने बाटो खुल्छ । तर, उक्त प्रतिष्ठानले नीति माथिको बहस चलाउन त परको कुरा आफ्नो समितिलाई पूर्णता दिन समेत सकेको छैन । उपसभापति खड्काले सात महिनामसम्म प्रतिष्ठानलाई पूर्णता दिन नसकेका हुन् ।

५१ जनाको प्रतिष्ठान कार्यसमिति रहने विधानमा व्यवस्था छ । सो व्यवस्थाअनुसार पार्टी सभापतिसँगको परामर्शमा प्रतिष्ठान प्रमुखले सदस्यहरु थप्न सक्ने प्रावधान छ । प्रतिष्ठानले पूर्णता नपाएपनि नीति महाधिवेशनका लागि काम भइरहेको प्रतिष्ठान प्रमुख खड्का बताउँछन् ।

नीति अधिवेशनको प्रस्ताव तयार भइसकेको भन्दै उनले आगामी केन्द्रीय समिति बैठकमा पेस हुने बताए ।

‘नीति महाधिवेशनको प्रस्ताव तयार भइसकेको छ । आगामी केन्द्रीय समितिमा त्यो पेस हुन्छ । अब चाँडै नीति महाधिवेशन गर्छौं’, खड्काको भनाइ छ ।

तोकियो राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन मिति

१३ माघ, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव माघ २३ गते हुने भएको छ ।

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो ।

राष्ट्रियसभा उपाध्यक्ष पद २१ फागुन २०७८ देखि रिक्त छ ।

गोलाप्रथामा चार वर्षे कार्यकाल पाएकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल २१ फागुन २०७८ मा सकिएको थियो ।

लामिछानेविरूद्ध मुद्दाको बहस सकियो

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध आज पक्ष र विपक्षीका केही कानुनव्यवसायीहरुले बहस गरेका थिए।

लामिछानेका तर्फबाट ४ जना कानुनव्यवसायीले बहस गरेका थिए। कानुन व्यवसायी नरेन्द्र केसी,आशिष अधिकारी सुदिप पन्थ र यज्ञमणि न्यापानेले लामिछाने पक्षमा बहस गरेका  थिए। यस्तै रिट निवेदकका तर्फबाट कानुनव्यवसायी सुरेन्द्र भण्डारी,रमन कर्ण, अनिता श्रेष्ठ,कीर्तिनाथ शर्मा पौडेललगायतले बहस गरेका थिए।

मुद्दाको फैसला आजै आउन सक्ने रविको विपक्षमा बहस गरेका कानुन व्यवसायी कीर्तिनाथ शर्मा पौडेलले अन्नपूर्णलााई जानकारी दिए। उनले भने,’बहस सकियो। फैसला आजै आउने संभावना छ।’

मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ। 

इजलासमा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई,अनिलकुमार सिन्हा रहेका छन् ।

यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नतोक्नेगरी मुद्दाका रूपमा राख्न लगाएको थियो। 

अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरी नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ ।

अधिवक्ता रविराज बसौला,युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए।

शक्रबार सुनकाे मूल्य घट्याे, प्रतिताेला कति पुग्याे ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख छ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख छ हजार चार सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ८० कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

शिक्षामन्त्री शिशिरको पुत्ला दहन

काठमाडौं, १३ माघ । नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालको पुत्ला दहन गरेका छन्।

उनीहरुले रत्नराज्य क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन्।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई डुबाएर पुस्तक छपाइको जिम्मा निजीलाई दिएको अनेरास्ववियुको आरोप रहेको छ।

लगभग चाैबिस लाख नगद सहित २ जना पक्राउ

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय अन्तरगतकाे धनुषा जिल्ला प्रहरी कार्यालयले स्राेत नखुलेकाे लगभग चाैबिस लाख नगद बरामद गरेकाे छ । भारतीय नागरिक अब्दुल समी, १९ वर्ष (अन्दाजी)काे  भारतकाे मधुबनी जिल्ला ग्राम पंचायत हरलाखी हरिने वार्ड न.९ बसाेवास गर्ने  नेपाली नगद रू.२३,८९,४८०।–(तेईस लाख उनानन्बे हजार चार सय असी)सहित प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएकाे छ ।
       
जिल्ला प्रहरी कार्यालय धनुषाले निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय सभाको बैठक शुक्रबार अपराह्न ४ बजे बस्दैछ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक-२०७९ लाई दफावार छलफलका लागि पेश गर्ने कार्यसूची छ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार विधेयक विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश हुनेछ । बैठकमा सांसदले अन्य विषयमा पनि आफ्नो धारणा राख्नेछन्।

रोनाल्डो सम्मिलित अल नासर क्लब साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरिए

काठमाडौं । क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर क्लब साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

रोनाल्डोको आगमनबाट निकै उत्साहित बनेको अल नासरले रोनाल्डोको डेब्यु लिग खेलमा जित निकालेको थियो ।

तर साउदी सुपर कपमा भने अल नासर अल इत्तेहादसँग सेमिफाइनलमा ३-१ ले पराजित भयो । साउदीमा रोनाल्डोले लगातार दुई खेलमा गोल गर्न सकेका छैनन् ।

अल इत्तेहादलाई जिताउन रोमारिन्हो, हमदालाह र अल शानक्वीटीले गोल गरे ।

अल नासरका लागि तलिस्काले एक गोल फर्काए ।

अर्को सेमिफाइनलमा अल फायहाले साविक विजेता अल हिलाललाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

अब उपाधिका लागि हल इत्तेहाद र हल फायहाबीच आगामी आइतबार खेल हुनेछ ।

सुकुम्बासी बस्ती हटाउन गृहसँग सहयोग माग

काठमाडौं । राजधानीका विभिन्न ठाउँमा अवैध रूपमा बसेका सुकुम्बासीलाई हटाउने अडानमा रहेका काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले ती वस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग माग गर्नुभएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गर्दै सुकुम्बासी बस्ती हटाउने महानगरको योजनामा साथ दिन आग्रह गर्नुभएको थियो । गृह मन्त्रालयमा भएको भेटमा महानगरभित्रको समस्याको रूपमा रहेको सुकुम्बासी समस्यालाई समाधानमा सहयोग मेयर साहले मन्त्री लामिछानेलाई आग्रह गर्नुभएको थियो ।

छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताउँदै समस्या साधानका लागि अपनाउनुपर्ने उपायका बारेमा छलफल गरेर मात्रै अगाडि बढ्न मेयर साहलाई सुझाव दिनुभएको थियो ।

केही समयअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेको थियो । जवाफमा मन्त्रालयले प्रक्रिया पु¥याएर मात्रै सुकुम्बासी समस्या समाधान गर्ने जनाएको थियो ।