शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार पनि नेप्से २३.६० अंकले घटेर दुई हजार ४६ दशमलव ८१ विन्दुमा बन्द भएको हो ।  

त्यस्तै, आज नेप्सेमा एक अर्ब ९४ करोड ७६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ३२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३७६.२० रुपैयाँ पुगेको हो । 

आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेड कम्पनीको भएको छ । यसको आज २० करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ ।   

३१ करोड थान नोट छाप्न ६२ करोड खर्च (सूचनासहित)

राष्ट्र बैंकले २० रुपियाँ दरका ३१ करोड थान नोट छाप्न लागेको हो । त्यसका लागि नेपाल राष्ट्र बैंकले चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेशनलाई दिने उल्लेख गरेको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार, ४६ लाख ९८ हजार ६ सय ८५ अमेरिकी डलर अर्थात ६२ करोड १६लाख ३६ हजार २५ दशमलव ५ रुपियाँको लागतमा नोट छाप्ने ठेक्का उक्त कम्पनीलाई दिने भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यले जनाएका छन् ।

भारतीय दूतावासद्वारा डायलासिस उपकरण हस्तान्तरण

काठमाडौँ । आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेका हुन् ।

राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको बताए । उनले उपलब्ध डायलासिस मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, “यी मेसिनले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने विश्वास दूतावासको छ । नेपाल र भारत सरकारको सहकार्यमा विकासका काम भइरहेका छन्, सोही क्रममा नेपाल भारतमैत्री ट्रमा अस्पताल, बिपी कोइराला अस्पताल र विभिन्न परियोजनाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगको काम भइरहेको छ ।”

उनका अनुसार सन् २००३ देखि साना परियोजनामार्फत भारत सरकारले नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको छ । उनले अहिले भारत सरकारले सिरहादेखि सिन्धुलीसम्म विभिन्न १० प्रकारका परियोजनामार्फत काम गरिरहेको बताए ।

“भारत सरकारले नेपाल सरकारलाई विभिन्न समयमा नौ सय ५० एम्बुलेन्स उपलब्ध गराएको छ । छिटै थप एम्बुलेन्स उपलब्ध गराई एम्बुलेन्सको सङ्ख्या एक हजार पु¥याउनेछौँ”, उनले भने ।

मन्त्री गिरीले भारत सरकारबाट उपलब्ध भएको सहयोगप्रति आभार प्रकट गरे । उनले भने, “धेरै मिर्गौला बिरामीले समयमा डायलासिस सेवा पाउन सकेका छैनन् । भारत सरकारले उपलब्ध गराएको उपकरणलाई आवश्यक ठाँउमा पुर्याउँछौँ र यसले बिरामीलाई सहज उपचारमा सहयोग पुग्नेछ ।”

उहाँले भारत सरकारले भूकम्पको समयमा र कोभिड–१९ महामारीको समयमा गरेको सहयोगको प्रशंसासमेत गरे । “भारतको ‘छिमेकी प्राथमिकता नीति’ नेपालका लागि खुसीको कुरा हो, भारतीय सरकारको सहयोग निकै उल्लेखनीय छ”, उनले भने ।

दूतावासले दुई सय थानमध्ये कार्यक्रममा २० वटा उपकरण उपलब्ध गराएको हो । बाँकी उपकरण छिट्टै नेपाल भित्रिने दूतावासले जानकारी दिएको छ । उपलब्ध उपकरणलाई आवश्यकताअनुसार विभिन्न अस्पतालमा वितरण गरिने मन्त्रालयकी सचिव देविकुमारी गुरागाईंले जानकारी दिए ।

१८३ कर्मचारीको स्तरबृद्धि (सूचीसहित)

काठमाडाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको सेवा विभागले एकै पटक १८३ कर्मचारीको स्तरवृद्धि गरेको छ । विभागले नर्सिङ समूहका कर्मचारीहरुको स्तरवृद्धि गरेको हो । गत पुसमा दर्ता भएका निवेदनका आधारमा योग्यता पुगेका कर्मचारीको स्तरवृद्धि गरिएको विभागले जानकारी दिएको छ ।

सूची अनुसार,६ जना सातौं तहको अधिकृतमा स्तरवृद्धि भएका छन् भने ११५ जनालाई छैटौँ तहको अधिकृतमा र ६२ जनालाई सहायक पाचौँ तहमा स्तरवृद्धि गरिएको विभागले जनाएको छ।

सुचिहेर्नुहोस्:-

राष्ट्रपति निर्वाचनको मतभार पुरानै गणनाको आधारमा कायम हुन्छ

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचनको मतभार २०६८ को जनगणना अनुसार नै कायम हुने बताएका छन् ।  

फागुन २५ हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उनले २०७८ को जनगणनाको प्रतिवेदन सार्वजनिक भई नसकेकाले पुरानै गणनाको आधारमा मतभार कायम हुने जानकारी दिए । 

०७८ मा जनगणना भएपनि त्यसको अन्तिम प्रतिवेदन आइसकेको छैन । त्यसकारण पुरानै मतगणना अनुसार मतभार तय हुनेछ,” उनले भने । 

थपलियाका अनुसार प्रत्येक प्रदेशबाट मतदान गर्न सांसदहरू केन्द्रमै आउनुपर्ने भएको छ । कानुनी अड्चनका कारण मतदान प्रदेशमा गरेपनि केन्द्रमै ल्याएर गणना गर्नुपर्ने भएका कारण संसद् भवनमै मतदान कार्य हुने उनले जानकारी दिए । 

राष्ट्रपति निर्वाचन संघीय संसद् भवन नयाँ वानेश्वरमा हुनेछ । मतदानका लागि दुई वटा मतदान केन्द्र रहने प्रमुख आयुक्त थपलियाको भनाइ छ ।

मतदान प्रक्रिया बिहान १० बजेदेखि ३ बजेसम्म हुनेछ । निर्वाचनका लागि सोमबार निर्वाचन अधिकृत पनि तोकिएको छ । पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् ।

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (सोमबार) दिउँसो ४ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्दैछ । फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।

राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ।

एमालेले पुस १० गतेको सहमतिअनुसार नै राष्ट्रपतिको उम्मेदवार चयन गर्नुपर्ने बताउँदै आएको छ। यता विश्वासको मत लिँदा कांग्रेसले पनि साथ दिएकाले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने माओवादीले अडान लिएको छ।

भौतिकका २० सहसचिव सरुवा (सूचीसहित)

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ मन्त्री आए सगै एकै पटक २० सहसचिवको सरुवा गरेको छ ।सरुवालाई नजिक बाट नियाल्नेहरुले सरुवा काखा र पाखा को निति ले भएको आरोप छ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रिस्तरीय निर्णय गर्दै एकै पटक २० जना सहसचिव रा. प. प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा गरेका हुन । जसअनुसार सडक विभागका महानिर्देशक अर्जुनजंग थापा मन्त्रालयमा तानिएका छन् ।

उनका ठाउँमा एडिबी आयोजना निर्देशनालमा रहेका सुशीलबाबु ढकाललाई खटाइएको छ । यस्तै अजयकुमार मुललाई मन्त्रालयबाट गुणस्तर,अनुसन्धान तथा विकास केन्द्रको निर्देशकको रुपमा सरुवा गरिएको छ ।

सरुवामा परेका अन्य कर्मचारीमा विनोद कुमार मौवारलाई जलमार्ग आयोजनामा खटाइएको छ । यस्तै अर्जुन प्रसाद अर्याललाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय,काठमाडौंमा पठाइएको छ ।

सूचीहरु:-

३ वटा डिन पदमा आवेदन खुला

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयको डिन सिफारिस गर्न गठित समितिले ३ वटा संकायको डिन पदमा आवेदन माग गरेको छ ।

डेढ वर्षदेखि रिक्त सामाजिक शास्त्र तथा शिक्षा सङ्काय, व्यवस्थापन तथा कानुन सङ्काय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायको डिन पदमा सिफारिस समितिले आवेदन माग गरेको हो ।

कार्यकारी परिषद्ले डिन नियुक्तिका लागि सिफारिस गर्न गत साता समिति गठन गरेको थियो । सिफारिस समितिले आवेदन दिन सम्बन्धित सङ्कायसँग सम्बद्ध कुनै विषयमा विद्यावारिधि गरेको, विश्वविद्यालय तथा उच्च शिक्षाका क्षेत्रमा कम्तीमा १० वर्ष पूर्णकालीन प्राध्यापन गरेको, प्राध्यापक वा सह/प्राध्यापक पदमा बहाल रहेको हुनुपर्ने मुख्य मापदण्ड तोकेको छ ।

त्यसै गरी सङ्कायलाई प्राज्ञिक, प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व गर्न सक्ने कार्यक्षमता पुष्टि गर्ने आधारसहितको अभिलेख, खुला शिक्षा, दूर सिकाइ तथा अनलाइन सिकाइ प्रणालीमा प्राध्यापन तथा व्यवस्थापन गरेको अनुभव पनि डिनका लागि चाहिनेछ ।

त्यस्तै खुला विश्वविद्यालय व्यवस्थापन बुझेको आधारसहितको विवरण, आवेदन दिएको संकायको डिन पदमा नियुक्त भएमा ५४ वर्षे कार्यकालमा गर्ने प्राज्ञिक र वित्तीय व्यवस्थापन एवं संस्थागत विकासको योजना २५०० देखि ३००० शब्दसम्ममा लेखेर पनि पेस गर्नुपर्नेछ ।

सिफारिस समितिका अनुसार तोकिएको मापदण्ड पूरा गरेका इच्छुक उम्मेदवारले एक हप्ताभित्रमा आवेदन दिन सक्नेछन् । समितिले निर्धारण गरेको कार्यविधि अनुसार धेरै अङ्क ल्याउने उम्मेदवारको योग्यता क्रम अनुसार सिफारिस गर्ने जनाएको छ ।

गौतमबुद्ध विमानस्थलमा जजिराले पुनः उडान गर्ने

काठमाडौँ । मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको जजिरा एयरलाइन्सले दुई महिनापछि पुनः उडान सुरु गर्ने भएको छ । यो विमानस्थल २ जेठमा व्यावसायिक रूपमा सञ्चालनमा आएसँगै जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा नियमित उडान गर्दै आएको थियो । जजिराले ६ पुस (२१ डिसेम्बर)देखि उडान रोकेको थियो । जजिराले ९ मार्चदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

उनका अनुसार जजिराले ९ मार्चदेखि हप्ताको तीन दिन उडान गर्दैछ । ९ मार्चदेखि उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको जानकारी आएको उनले बताए । प्रवक्ता झाका अनुसार मङ्गलवार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्ने गरी तालिका तय समेत भइसकेको छ ।

यसअघि जजिराले २ फेब्रुअरीदेखि उडान सुरु गर्ने आश्वासन दिएको थियो । तर उडान सुरु भएको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म अन्तर्राष्ट्रिय उडान गर्न सक्ने क्षमता छ । प्रवक्ता झाका अनुसार विमानस्थल पूर्ण क्षमतामा नचल्दै बन्द हुँदा मासिक ३० लाखसम्म घाटा बेहोर्नुपर्छ । अन्तर्राष्ट्रिय उडान नहुँदा आन्तरिक उडानको आम्दानीले खर्च व्यवस्थापन गरिएको उनले बताए ।

पोखरामा करिब ४५ यात्रु सवार बस दुर्घटना

काठमाडौँ । पोखराको बेगनास-पोखरा सडक खण्डमा बस दुर्घटना भएको छ ।

करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार अहिले घाइतेको अवस्था एकीन भइसकेको छैन भने घाइतेको उपचारका लागि अस्पताल लगिँदै छ ।

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यस पक्षमा परिमाणात्मक थालनी गरेकामा खुसी व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहितको मन्त्रालयको टोलीसँगको भेटमा उहाँले विकासको विस्तार, सुधार तथा प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास व्यक्त गर्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल र राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएर काम गरेकोमा प्रधानमन्त्री प्रचण्डले प्रशंसा गरेका थिए।

सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकोमा खुसी लागेको प्रधानमन्त्रीको भनाइ थियो।

विकासको विस्तार, सुधार र प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास प्रधानमन्त्रीको छ।

‘पहिलो त विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरूरी छ। त्यसका लागि ऐन–कानुनको संशोधनमा समेत सरकारको जोड रहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अंग र तहहरूको समन्वयात्मक भूमिका र संकल्प हुनुपर्ने उनले बताए।

‘वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको छ। तसर्थ, विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र संकल्पका अघि बढौँ,’ उनले भने।

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले जनतालाई तत्काल र दीर्घकालीन राहत दिँदै सामाजिक न्यायसहित विकासमा गुणात्मक फड्को मार्ने, समाजवादउन्मुख समृद्धि निर्माण गर्ने प्रधानमन्त्रीको लक्ष्यमा एकाकार भएर भौतिक पूर्वाधार एवं यातायातका क्षेत्रमा कयौं सुधारहरू थालिएको बताए। त्यसका लागि कयौं ऐन कानुनको परिमार्जनको आवश्यकतासमेत उनले औंल्याए।

पूर्वाधार विकास प्रणाली सुधार कार्यदलका संयोजक सूर्यराज आचार्य र यातायात सुधार कार्यदलका संयोजक शरदचन्द्र पौडेलले कार्यदलले कुन प्राथमिकतामा जोड दिन खोजेको छ भन्नेबारे प्रधानमन्त्री प्रचण्डलाई ‘ब्रिफिङ’ गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

जसपाको बैठक सुरु

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । अढाई घण्टा ढिलो सुरु भएको बैठक जसपाका अध्यक्ष उपेन्द्र यादवकाे कार्यकक्षमा बसिरहेको छ । बिहान ११ वजेदेखि बैठक बस्ने तय भएको थियो । नेताहरु समयमा नआएका कारण बैठक ढिलो बसेको जसपाले जनाएको छ ।

बैठकमा विधान अधिवेशन, विभिन्न पार्टीसँग एकीकरणका लागि भइरहेको प्रयास, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, संगठन निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नागरिक उन्मुक्तिका सांसद चौधरी जेलमुक्त

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन् । जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै आज रिहा भएका हुन् ।

नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठले कारागारमा अबीर र खादा लगाइदिएर उनको स्वागत गरेका थिए । चौधरी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।

उनलाई विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर ६ महिना कैद सजाय सुनाइएको थियो। तर, कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो।

काठमाडौँ महानगरभित्र सञ्चालित १३७ सहकारीमाथि उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका १३७ सहकारी संस्थामाथि वचतकर्ताले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका छन् ।

ती उजुरी चालु आर्थिक वर्षको हालसम्म परेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । मङ्सिर महिनामा उजुरी गर्नेको सङ्ख्यामा कमी आएको भए पनि पछिल्लो समय दैनिक एक सयसम्म उजुरी आउने गरेको काठमाडौँ महानगरपालिका सहकारी विभागले जानकारी दिएको छ ।

गत आर्थिक वर्षभरिमा जम्मा ६० उजुरी परेका भए पनि चालु आर्थिक वर्षको छ महिनाको अवधिमा एक सय ३७ ठगीको उजुरी परेको कामपा सहकारी विभागका प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी बचत थत ऋण सहकारीमाथि बचतकर्ताको रकम फिर्ता नगरेको ठगीका उजुरी छन् ।

उजुरी परेका १३७ मध्ये ५७ सहकारीलाई काठमाडौँ महानगरपालिकाले पटकपटक सम्पर्क गर्न खोजेको थियो । केही अझै सम्पर्कमा नै नआएका र आएका केहीले पनि बचतकर्ताको रकम फिर्ता नगरेकाले पुनःउजुरी आएपछि कामपाले प्रहरीको जिम्मा लगाएको छ ।

बाँकी ८० सहकारी सञ्चालकसँग कामपाले छलफल गरी बचतकर्ताको रकम असुलउपर गरिदिनका लागि प्रयास गरिरहेको छ । हाल कामपामा एक हजार नौ सय ५५ सहकारीमध्ये सबैभन्दा बढी करिब एक हजार छ सय बचत तथा ऋण सहकारी छन् ।

संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज भए पनि सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्था छ । अत्यधिकरूपमा सहकारीको सङ्ख्या बढेको भन्दै विगत दुई वर्षदेखिनै कामपाले नयाँ सहकारी सञ्चालनका लागि अनुमति दिन छोडेको छ । आगामी दिनमा नयाँ सहकारीलाई सञ्चालनका लागि अनुमति दिनेभन्दा पनि मिल्नेसम्मको हकमा एकापसमा गाभ्ने र बाँकी अन्यलाई नियमन र निर्देशन गरी राम्रो बनाउनेतर्फ कामपाको जोड रहने पनि विभागको भनाइ छ ।

सहकारी ऐन, २०७४ र कामपाको सहकारी ऐन, २०७४ अनुरूप कानूनीरूपमा नै गाभ्न सकिने व्यवस्था रहेको छ । सहकारी गाभ्नका लागि समान प्रकृतिका दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ । एकीकृत हुन चाहने दुईवटै सहकारीले कामपाको सहकारी विभागका निवेदन दिनुपर्छ । त्यसपछि कामपाले प्रकृतिअनुरुप प्रक्रियाअघि बढाउने छ । सहकारी गाभ्न कामपाको चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्दछ । समान प्रकृतिका सहकारी एकापसमा गाभ्न सकिनेछ ।

मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेका र उनीहरूमाथिनै बढी समस्या रहेकाले तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरूप जान लागिएको हो । दैनिकरूपमा अनियमितता गरेको गुनासो बढे पनि कामपाले अनुगमन गर्ने तयारी गरेको छ । नागरिकसँग लिएको पैसा समयमा नै फिर्ता गरेर उजुरी परेका सहकारीलाई ध्यानमा राखेर अनुगमन गर्ने बताइएको छ ।

कृषि विकास बैंकको सीईओ गोविन्द गुरुङ नियुक्त

काठमाडौँ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले हिजो शनिबार आगामी ४ वर्षका लागि गुरुङलाई सीईओ नियुक्त गरेको हो ।

सञ्चालक समितिले २२ आवेदकहरुमध्येबाट ५ जनालाई सर्टलिस्टिङ गर्दै गुरुङलाई चयन गरेको हो । सर्टलिष्टमा कृषि विकास बैंककै निमित्त सीइओ प्रताप सुवेदी, बैंककै डिजिएम यज्ञ प्रकाश न्यौपाने, हाल राष्ट्रिय सहकारी बैंकका सिईओ रहेका बद्रीप्रसाद गुँरागाई, नेपाल एसबिआई बैंका डिसिइओ विष्णुदेव यादव रहेका थिए ।

अनिल उपाध्याय कार्यकाल पूरा गरेर अवकाश भएपछि सीईओ पद रिक्त थियो । गुरुङ लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन् । उनी सिभिल बैंकका पूर्व सीईओ हुन् । नवनियुक्त सीईओ गुरुङसँग बैंकिङ क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ ।