बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङसहित १३ सरकारी कार्यालयले सार्वजनिक बिदाका दिन पनि सेवा दिने भएका छन् । शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइने सार्वजनिक बिदाका दिन कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष सार्वजनिक बिदा दिइएको १६ दिन पनि कार्यालय खुल्ने छन् । वैशाख २२ गते (उभौली पर्व, बुद्धजयन्ती), जेठ १५ गते (गणतन्त्र दिवस), भदौ १४ गते (रक्षाबन्धन), भदौ २० गते (श्रीकृष्ण जन्माष्टमी), असोज २८ गते (घटस्थापना) र पुस ९ गते (क्रिसमस डे) मा सेवा प्रवाह हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । यी सबै दिन सार्वजनिक बिदा छन् ।

त्यस्तै पुस १० गते किरात समुदायको उभौली पर्व, योमरी पुन्ही र पुस १५ गतेको तमु ल्होसारका दिनमा पनि कार्यालय खुल्नेछ । पुस २७ गतेको पृथ्वी जयन्ती र माघ १ गतेको माघी पर्वका दिन पनि कार्यालय खुल्ने बरालले जानकारी दिए । फागुन १ गते जनयुद्ध दिवस, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २५ गते महाशिवरात्रि, फागुन २८ ग्याल्पो ल्होसार/बकर इदका दिन पनि प्रशासन कार्यालयबाट नियमित रूपमा सेवा प्रवाह हुनेछ । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, पर्यटन बोर्ड, मालपोत, नापी र जिल्लामा रहेका सबै स्थानीय तहका कार्यालय, भेटेरिनरी अस्पताल, खानेपानी डिभिजन, विद्युत् वितरण केन्द्र र यातायात व्यवस्था कार्यालयलाई शनिवार बाहेकका सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाहका लागि निर्देशन दिइएको बरालले बताए ।

निजामती सेवा विघटन गर्न सांसदको माग  

काठमाडौँ –  राष्ट्रिय सभा बैठकमा कर्मचारी प्रशासन विघटन गर्न माग गरिएको छ । राष्ट्रिय सभा सदस्य जीतेन्द्र देवले कर्मचारी प्रशासन विघटन गर्न माग गरेका हुन् ।

कर्मचारी प्रशासनले राष्ट्रको प्रशासनिक खर्चको ठूलो अंश ओगटेको भन्दै कर्मचारी प्रशासन विघटनको माग गरेका हुन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दलीय क्याडर नियुक्ति नरोके भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन् । त्यसका लागी त्यसमा दलका नेताहरूले जिम्मेवार ढङ्गले सोच्नुपर्ने उनको भनाई छ ।

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं ।मंगलबार दोहोरो अंकले बढेरको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको हो । शेयर बजारको उकालो यात्रा टिक्न सकेको छैन ।

आज नेप्से १३.६८ अंकले घटेर एक हजार ८ सय ९२ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार नेप्से १७.३६ अंकले बढेर एक हजार ९ सय ५ दशमलब ६८ विन्दुमा पुगेर बन्द भएको थियो ।    

त्यस्तै, आज ८४ करोड ७० लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४० कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ३.२५ प्रतिशतले बढेर प्रतिकित्ता ९२१ रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.१२ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन तारागाउँ रिजेन्सी होटलको करिब ४ करोडको शेयर खरिदबिक्री भएको छ भने एभरेष्ट बैंकको ३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। 

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशत घटेको छ। कारोबारमा आएका विकास बैंक र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।


 

मेन्छियाम हाइड्रोपावरको शेयर आज बाँडफाँट

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ  । कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण शेयर आज बाँडफाँट गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार सर्वसाधारणलाई नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण शेयरका लागि आवेदन आह्वान गरेकामा ११ लाख ७४ हजार दुई सय २८ जना आवेदकबाट एक करोड २५ लाख ८१ हजार दुई सय ७० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो ।

कम्पनीले रीतपूर्वक प्राप्त आवेदनमध्येबाट गोलाप्रथाद्वारा १० कित्तादेखि एक हजार कित्ता शेयर आवेदन गर्ने ९४ हजार चार सय सात आवेदनकर्तालाई १० कित्ताका दरले र थप चार जनालाई ११ कित्ताका दरले बाँडफाट गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले जानकारी दिए ।

सो कम्पनीले यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र कम्पनीका कर्मचारीलाई शेयर बाँडफाँट गरिसकेको छ । सङ्खुवासभामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले (चार दशमलव ७२ मेगावाट) विद्युत् उत्पादन गरेको छ ।

सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा निर्माण भएको उक्त हाइड्रोपावर रु एक अर्ब ३१ करोड लगानीमा निर्माण भएको हाइड्रोपावरका कार्यकारी निर्देशक सेवक पोखरेलले जानकारी दिए ।

एकै पटक ४२ खरिदार नासुमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौँ । ४२ जना खरिदार तहका कर्मचारी नायब सुब्बा (नासु)मा बढुवा सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिको वैशाख १२ मा बसेको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फबाट १४,नेपाल प्रशासन सेवा,लेखा समूहका १ गरी १५ जना कर्मचारी कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।

यस्तै हिजैको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका १५ जना खरिदारलाई जेष्ठता र कार्यक्षमता मुल्यांकनका आधारमा नायब सुब्बा तहमा बढुवाका लागि सिफारिस गरेको छ ।

राष्ट्रपति बाइडेनले गरे पुनः चुनाव लड्ने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गरेका छन्। असी वर्षको उमेरमा पनि उनी राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने नेता हुन्।

समाचार संस्था रोयटर्सका अनुसार बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने घोषणा मंगलबार गरेका हुन्।

बाइडेनले आफू राष्ट्रपति भएपछि गर्न खोजेका काम पूरा नभएकाले फेरि अर्को कार्यकाल राष्ट्रपति हुन चाहेको बताएका छन्।

‘चार वर्षअघि म राष्ट्रपति उम्मेदवार हुँदा भनेको थिएँ- हामी अमेरिकाको आत्माका लडिरहेका छौं, हामी अहिले पनि त्यसैका लागि लडिरहेका छौं,’ बाइडेनले भनेका छन्,‘अहिले सन्तुष्ट भएर मजाले बस्ने बेला छैन। त्यही भएर म फेरि चुनाव लड्दैछु।’

सन् २०२० को चुनावमा बाइडेनले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका थिए। २०२४ मा पनि उनीहरू नै आमनेसामने हुने सम्भावना बलियो छ।

चुनाव लड्ने बेलासम्म बाइडेन ८२ वर्षका हुनेछन्। अहिलेसम्मको इतिहासमा उनी अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुन्।

चुनाव होउन्जेलसम्म ट्रम्प पनि ७८ वर्षका हुनेछन्।

यो उमेरमा फेरि राष्ट्रपति लड्न खोज्दा दुबै जनाको उमेरबारे पार्टीमा पनि बहस भइरहेको छ। ४४ प्रतिशत डेमोक्र्याटले फेरि राष्ट्रपति हुन बाइडेन निकै बुढो भएको बताएका छन् भने ३५ प्रतिशत रिपब्लिकनको पनि ट्रम्पबारे यस्तै धारणा छ।  

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन् ।

परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरूको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । अथवा राखेर वैकल्पिक प्रश्न नराखिएको केही विषयमा पनि राखिनुपर्ने सुझाव आएकाले त्यसरी परिमार्जन गरिएको उनले बताए ।

नयाँ पुरानो गरेर करिब तीन सय प्रश्नपत्रहरू तयार भइरहेको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए । विद्यार्थीको उत्तरपुस्तिका दुर्गम जिल्लाका परीक्षा केन्द्रमा पुगिसकेको छ । कोभिडका कारण बोर्डले शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको छ ।

परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैँ प्रिन्ट गर्नुपर्नेछ । चार लाख ६७ हजार परीक्षार्थीहरू परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रदेश र स्थानीय तहका कर्मचारी खटाइएका ठाउँमा एक वर्ष बस्नैपर्ने

काठमाडौँ । काठमाडौं । संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीले कम्तीमा पनि एक वर्ष खटाइएकै स्थानमा रहेर काम गर्नुपर्ने भएको छ ।

प्रदेश र स्थानीय तहमा जनशक्ति नभएको भन्दै एक वर्ष खटाइएकै स्थानमा बसेर अनिवार्य काम गर्नुपर्ने निर्णय राष्ट्रिय विकास समस्या समाधान समितिले गरेको हो ।

समितिको ५० औँ बैठकले पर्याप्त जनशक्ति प्रदेश र स्थानीय तहमा नहुँदा काम गर्न कठिनाइ भएकोले सङ्घबाट खटिएका कर्मचारीलाई कम्तीमा एक वर्ष खटाइएकै स्थानमा रहनुपर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज(बुधबार)बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ। 

आजको बैठकमा ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संसोधन) विधेयक २०७०’ र ‘भ्रष्टाचार निवारण (पहिलो संसोधन) विधेयक, २०७७’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने कार्यसूची छ। 

त्यस्तै सभामुखले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रा’ सम्बन्धी विधेयक २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै पूर्वसांसद तेजमान तुम्वाहाम्फेको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। 

यस्तो छ आज वैशाख १३ गते मंगलबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमणीय र सुखद् यात्राको योग छ । बुद्धि र विवेकको सही प्रयोग गर्न सकिने समय आएको छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् , तर शेयर बजार र एजेन्टको काममा भने नोक्सानी हुन सक्छ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अनावश्यक धन खर्च हुनसक्छ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मन मिल्ने साथीको सहयोग मिल्नेछ । जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथिको आगमन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । शेयर बजार र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन, साँझमा बढी खुसी मिल्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज नयाँ कार्यको योजना बन्नेछ । प्रविधि मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज स्वादिष्ट भोजन पनि मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु उचित हुनेछ । अनावश्यक र खर्चिलो यात्रा हुनसक्छ ।

बारा-२ बाट उपेन्द्र यादव विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।  गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई पाँच हजार ८१ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका अनुसार विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन्।

पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन्।

उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन्।

प्रमुख विहीन मालपोत कार्यालय, सेवाग्राहीलाई सास्ती

खोटाङ । मालपोत कार्यालय खोटाङमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । लामो समयदेखि कार्यालय प्रमुख रिक्त हुँदा दैनिक काम समेत प्रभावित भएर सेवाग्राहीले सास्ती भोग्नु परेको हो ।

हाकिम नहुँदा नामसारी लगायतका महत्त्वपूर्ण काम रोकिएको छ । जग्गा नामसारी गर्न टाढाबाट आएका सेवाग्राहीहरू करिब १० दिनदेखि दिक्तेलमा कार्यालय प्रमुख कुरेर बस्न बाध्य भएका छन् । प्रमुख नहुँदा हाल मालपोतमा राजीनामा, दृष्टि बन्दक, बकस पत्र, लगायतका सामान्य कामहरू मात्र भइरहेका छन् ।

यस्तै, अर्का सेवाग्राही हाल जिल्ला बाहिर बस्दै आउनुभएका निमातेम्बा शेर्पा पनि खोटाङमा रहेको आमाको नामको जग्गा आफ्नो नाममा नामसारी गर्न वैशाख ३ गते आएको बताए । तर कार्यालय प्रमुख नहुँदा सास्ती खेप्नु परेको उनको गुनासो छ । दैनिक सेवाग्राहीको भिड लाग्ने मालपोत कार्यालय लामो समयसम्म प्रमुख विहीन हुनु राज्यको ठुलो लापरबाही भएको शेर्पा बताउँछन् ।

निमित्त कार्यालय प्रमुखको जिम्मा पाउनु भएका जगत् श्रेष्ठले मालपोत कार्यालय खोटाङ सम्हाली रहनु भएको छ । तर विभागले निमित्त मात्रै दिएको पुरा अख्तियारी नदिएको कारण नामसारी, नाम संशोधन, अर्धन्यायिक लगायतका महत्त्वपूर्ण  कामहरू गर्न नमिल्ने श्रेष्ठले बताउनुभयो । 

निमित्तले अख्तियारी नपाउँदा र नयाँ कार्यालय प्रमुख नआउँदा दैनिक सेवाग्राहीहरू निराश हुँदै फर्किने गरेका छन् । 

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीले निष्कासन गरेको सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ। सभामुख देवराज घिमिरेले पार्टीबाट निष्काशन गरिएको सूचना संसद्‌मा जानकारी गराएपछि उनी सांसद पदबाट मुक्त भएका हुन्।

मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो। पार्टीको साधारण सदस्यसमेत नरहनेगरी उनलाई कारबाही गरिएको थियो।

सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न पार्टी सभापति रवि लामिछाने निकटस्थहरुलाई दुई करोड बुझाउनुपर्ने बताएका थिए।

उक्त अडिओ श्रेष्ठकै रहेको रास्वपाको छानबिन समितिले पार्टी र सांसदबाट निष्काशन गरेको जानकारी संसद् सचिवालयलाई पठाएको थियो।

रास्वपाले यसअघि श्रेष्ठका ठाउँमा विन्ध्यबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरिसकेको छ।

लाइसेन्सको अवधि १० वर्ष बनाउदै सरकार

काठमाडाै‌ । सरकारले सवारी चालक अनुमति पत्र नवीकरण गर्ने समय थप गर्ने भएको छ । हरेक पाँच पाँच बर्षमा हुँदै आएको लाइसेन्स नवीकरणलाई बढाएर १० बर्षमा गरे पुग्ने व्यवस्था गरिने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रालयमा आयोजित एक कार्यक्रममा लाइसेन्स नवीकरण प्रावधान परिवर्तन गर्न लागेको बताएका हुन् ।

हाल हरेक पाँच बर्षमा सवारी चलाक अनुमति पत्र नवीकरण हुँदै आएको छ । यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासो रहेको बताउँदै उनले लाइसेन्सका समस्या समाधान गर्ने बताए।

लाइसेन्स नवीकरण हरेक १० वर्षमा गरे पुग्ने गरी व्यवस्था गर्ने उनले बताए। ‘मन्त्री ज्वालाले भने भने, ‘स्मार्ट कार्ड ५/५ वर्षमा नवीकरण गर्दा सरकारको खर्च मात्र हुने भएकाले हरेक १० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्न लागेका हौँ।’

दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं ।सोमबार झिनो अंकले बढेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार १७ अंकभन्दा बढी बढेर बन्द भएको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्से १७.३६ अंकले बढेर एक हजार ९ सय ५ दशमलब ६८ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार पनि नेप्से सामान्य अंकले बढेर बन्द भएको छ ।    

त्यस्तै, आज ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १६८ कम्पनीको शेयरमूल्य बढेको छ भने ४४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज तारागाउँ होटल रिजेन्सी लिमिटेडको शेयरमूल्य ६ प्रतिशतले बढेर प्रतिकित्ता ५३० रुपैयाँ पुगेको छ भने खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.८१ प्रतिशतले बढेर प्रतिकित्ता ९१० रुपैयाँ पुगेको छ ।                  

नेप्सेका अनुसार सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।