पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।

रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो । बाँकेका एसपी सन्तोष सिंह राठौरका अनुसार रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो ।

रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् । सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी संघीय समाजवादी फोरमबाट सांसद् निर्वाचित भएका थिए ।

आइतबार कर्मचारीहरुले साढे तीन घण्टा पेन डाउन गर्ने (विज्ञप्तिसहित)

काठमाडौँ । कर्मचारी कुटपिटको विरुद्ध अदालतका कर्मचारीहरूले असार १७ गते बिहान १० बजेदेखि १ः३० बजेसम्म पेन डाउन गर्ने भएका छन् । ललितपुर जिल्ला अदालतका सुब्बा प्रेमिका सुब्बामाथि वकिलबाट कुटपिट भएपछि कर्मचारीले विरोध गर्दै पेन डाउन गर्न लागेका हुन् । 

असार १५ गते विभिन्न चार वटा सङ्घ सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै कुटपिटको घटनाको विरोध गर्दै आइतबार बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म पेन डाउन गर्ने जनाएका हुन् ।

संयुक्त विज्ञप्तिमा कार्यकक्षभित्रै कर्मचारी कुटपिट गर्ने कानुन व्यवसायीलाई रिहाइ गर्न उच्च अदालत बार ललितपुरले विज्ञप्ति निकालेको भन्दै आपराधिक घटनालाई बारले प्रोत्साहन गर्नु अत्यन्त दुःखद र भर्त्सना योग्य रहेको भन्दै बिराेध गरेको छ । त्यसैगरी कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न पनि सर्वोच्च अदालत प्रशासनको ध्यानाकर्षण गराएको छ । 

विज्ञप्ति:-

निगमका पूर्व कार्यकारी निर्देशक खड्का दोषी ठहर

काठमाडौं । गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा नेपाल आयल निगम पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्का दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौंले शुक्रबार सुनाएको फैसलामा उनी दोषी देखिएका हुन् ।

नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्का

श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुशी प्रसाद थारुको इजालसले उनलाई दोषी ठहर गर्दै एक वजर्ष तीन महिना कैद सजाय सुनाएको छ । यसका साथै खड्कासँग १८ करोड ३८ लाख रुपैयाँ विगो जरिवाना समेत तिराईने भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्का विरुद्ध २०७८ पुस २३ गते १८ करोड ६६ लाख रुपैयाँ गैर सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको फैसला आज विशेष अदालतले सुनाएको हो । 

स्रोत नखुलेको रु. १८ करोड ६६ लाख ५ हजारको सम्पत्ति गैरकानूनी आर्जन गरेकाले भ्रष्‍टाचार निवारण ऐनको कसुरमा कारवाही गर्न अख्तियारको माग थियाे।

पदमा बहाल रहँदा रु. ४० लाख ५७ हजार १५५ पारिश्रमिक, जग्गा बिक्रीवापत रु. ५८ लाख ७५ हजार, ऋण सापटीको रु. ५ करोड ३३ लाख ३६ हजार, घरभाडावापतको रु. १३ लाख ५६ हजार, जागिरबाट अवकाश हुँदा प्राप्त गरेको २९ लाख २२ हजार, पेन्सनवापत प्राप्त १४ लाख ७८ हजार, विप्रेषण आयबाट प्राप्त ८ लाख २६ हजार, गाडी बिक्रीवापतको ३५ लाख, छोरा-बुहारीको पारिश्रमिकबाट ११ लाख ४ हजार गरी ७ करोड ४४ लाख ५६ हजार २५२ मात्र खड्काको वैध आम्दानी रहेको अख्तियारको दाबी थिए।

संघीयता कार्यान्वयनको कामलाई व्यवस्थित गरौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थितरूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् । आजदेखि कास्कीको पोखरामा सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहमा प्रधानमन्त्रीले संघीयता कार्यान्वयनमा प्रभावकारी तवरले लाग्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले भने, “सर्वप्रथम यस सुन्दर नगरी पोखरामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक आयोजना गर्नुभएकोमा म गण्डकी प्रदेशका मुख्यमन्त्री तथा गण्डकी प्रदेश मन्त्रिपरिषद्लाई हार्दिक धन्यवाद दिँदै बैठकको पूर्ण सफलताको कामना गर्दछु । नेपालको संविधान जारी भएपछि दोस्रो पटक आयोजना भएको यो बैठकले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न र प्रदेश प्रदेशबीचको सम्बन्धलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने मेरो विश्वास छ ।”

साढे दुईसय वर्ष लामो एकात्मक राज्य प्रणालीमा अभ्यस्त हाम्रा लागि संघीय शासन प्रणाली नितान्त नौलो अभ्यास भएको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधानले व्यवस्था गरेअनुरूप सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघीय शासन प्रणालीको सुसञ्चालन चुनौतीपूर्ण रहेको बताए । उनले तीन वटै तहमा चुनिएर आएका जनप्रतिनिधि सीमित स्रोतसाधनको सुझबुझपूर्ण ढंगले परिचालन गर्दै विकास निर्माणलाई अघि बढाउँदै जनताका आकांक्षा पूरा गर्न क्रियाशील रहेकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत हुँदै गएको स्पष्ट पारे ।

प्रधानमन्त्रीले प्रदेश सरकारको नेतृत्व सम्हाल्ने मुख्यमन्त्रीहरूले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसासमेत गरे । प्रधानमन्त्रीले भने, “संविधान जारी भएको झण्डै सात वर्षमा हामीले उत्साहजनक उपलब्धि हासिल गरेका छौँ । तीनै तहको दोस्रो कार्यकालको निर्वाचन सम्पन्न भएको छ । सातै प्रदेशको प्रादेशिक राजधानी र नामाकरण भएको छ ।” उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरण व्यवस्थित हुँदै गएको छ तथा कर्मचारी समायोजनको काम सम्पन्न भएको छ स्पष्ट पारे ।

संघीयता कार्यान्वयनसम्बन्धी ८० वटा ऐन निर्माण तथा एक सय ६५ वटा कानुन संशोधन भएको तथा केही महत्वपूर्ण ऐनहरू तर्जुमाका चरणको रहेको प्रधानमन्त्रीको भनाइ छ । तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ कार्यान्वयनमा रहेको तथा सोही ऐनबमोजिम समन्वयका संरचना क्रियाशील भएको बताए । प्रधानमन्त्रीले सोही ऐनमा व्यवस्था भएको राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक शनिबार गण्डकी प्रदेशको राजधानी पोखरामै आयोजना गरिएको जानकारी दिए ।

उनले प्रधानमन्त्रीकै तहबाट प्रदेश मुख्यमन्त्रीहरूसँग समयसमयमा छलफल र अन्तरक्रिया हुँदै आएको र प्रदेश मुख्यमन्त्रीसमेतको सहभागितामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक गर्ने पद्धतिको विकास गरिएकोसमेत सो अवसरमा जानकारी दिए । अन्तरप्रदेश मुख्यमन्त्री बैठकमा कोशी प्रदेशका मुख्यमन्त्रीबाहेक छ प्रदेशका मुख्यमन्त्रीको सहभागिता छ ।

मलेसियालाई ८४ रनले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं। नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। समूहका दुवै खेल जितेर नेपाल विजेताका रुपमा अन्तिम चारमा पुगेको हो।

नेपालले दोस्रो तथा अन्तिम खेलमा शुक्रबार मलेसियालाई ८४ रनले हरायो। पहिला ब्याटिङ गरेको नेपालले ३३-४ ओभरमा सबै विकेट गुमाएर एक सय ८३ रन जोडेको थियो।

नेपालका अशोक धामीले ५२ र सुर्यांसु कोइरालाले २९ रन जोडे। मलेसिया ३०.५ ओभरमा ९९ रनमा समेटियो। नेपालका अशोक धामीले १४ रन खर्चिएर ४ विकेट लिए। अभिषेक तिवारीले पनि ३ विकेट लिए।

असार २४ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै: भगवती हाइड्रोपावर

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार २४ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा प्रिमियम वापत रू। १६ थप गरी प्रतिकित्ता रू। ११६ मा आईपीओ जारी गर्न लागेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी रू। ५७ करोड २० लाख ६४ हजार ७०० को १० प्रतिशत अर्थात रू। ५ करोड ७२ लाख ६ हजार ५०० बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ विक्री गर्न लागिएको हो ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं। १३, १४, २६ र २७ ९साविकको पोखरा उप महानगरपालिका वडा नं। १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं। २, ३, ४, ५, ६ र ७० का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि विक्री गरिने शेयरको १० प्रतिशतले हुन आउने रू। ८५ लाख ८१ हजार १०० बराबरको ८५ हजार ८१० कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो ।

सो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा छिटोमा साउन ७ गतेसम्म विक्रीमा रहनेछ । स्थानीयबाट सो अवधिसम्म माग बमोजिम ढिलोमा साउन २२ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ७ गतेभित्र आवेदन दिनु पर्नेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले पोखरा महानगरपालिकाको विजयपुरा खोलाको पानी उपयोग गरी ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ ।

उक्त आयोजनाबाट कम्नपीले २०६९ साल भदौ ५ गतेदेखि व्यापारिक उत्पादन सुरू गरेको छ । आयोजना निर्माणको कुल अनुमानित लागत रू। ७९ करोड ६८ लाख २९ हजार रहेको छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू। ४२ करोड ९० लाख ४८ हजार ५०० रहेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू। ५७ करोड २० लाख ६४ लाख ७०० कायम हुनेछ ।

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन् ।

गुठी संस्थानलाई धर्मशाला व्यापारिक प्रयोजनका लागि भाडामा नलगाउन गरेको आग्रहलाई बेवास्ता गरेको जनाउादै बुधबारदेखि धर्मशालाको भवनमा तालाबन्दी गरिएको स्थानीयवासी मनोज जोशीले जानकारी दिए ।

‘योगी, तपस्वी, गरिब, असहाय तीर्थालु भक्तजन बस्नका लागि बनाइएको धर्मशालालाई गुठी संस्थानले गएको ४० वर्षदेखि व्यापारिक प्रयोजनका भाडा लगाएर कमाउने काम मात्र गर्दै आएको छ’, उनले भने, ‘मनकामनावासीले यस पटक पुनः संस्थानले भाडामा लगाउन बोलपत्र आह्वान गरेपछि बोलपत्र रद्द गर्न आग्रह गरेको भए पनि संस्थानबाट कुनै सुनुवाइ नभएपछि धर्मशालाको भवनमा ताला लगाएका हौँ ।’

धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सेवा सुविधा दिने गरी धर्मशालाकै रुपमा सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । स्थानीयवासीसहित श्री मनकामना माई गुठीका गुठियारले असार २ गते संस्थानलाई धर्मशाला भाडामा नलगाउन र बोलपत्र रद्द गर्न भन्दै ज्ञापनपत्रसमेत बुझाएको थियो ।

विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले क्षति पुगेको धर्मशाला मर्मत गर्नुपर्ने अवस्था भए पनि संस्थानले त्यसतर्फ भने चासो नदिएको स्थानीयवासीको गुनासो छ । मनकामना क्षेत्र विकास समितिले पनि मन्दिरको गुरु योजनामा नै धर्मशालामा भक्तजनलाई सुलभ मूल्यमा बसोबासका लागि व्यवस्था मिलाउने योजना प्रस्ताव गरेको थियो ।

गुरुयोजनाअनुसार धर्मशाला पछाडि रहेको स्थानलाई समेत समेटेर वनभोजस्थलको रुपमा विकास गर्ने लक्ष्य मनकामना क्षेत्र विकास समितिले राखेको छ । स्थानीवासीकोे अनुरोध र आग्रहलाई बेवास्ता गर्दै पुनः बोलपत्र आह्वान भएकाले यसमा ठूलो आर्थिक चलखेल हुनसक्ने आशङ्कासमेत स्थानीयले गरेका छन् ।

धर्मशालालाई गुठी संस्थानले व्यापारिक प्रयोजनको लागि भन्दै व्यक्तिलाई भाडामा दिएर आम्दानी गर्दै आएको छ । संस्थानले व्यवसाय सञ्चालन गर्ने गरी जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर बोलपत्र आह्वान गरेसँगै मनकामनावासीले धर्मशालामा व्यवसाय सञ्चालन गर्न नहुने भन्दै विरोध गर्दै आएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल पुगेका १६ भ्रष्ट

नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।

तीमध्ये १८ आरोपितका तर्फबाट ११० जना वकिलले बहस गर्न नाम टिपाएका थिए। कानुन व्यवसायीहरूको बहस लामो भएपछि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले बहस छोट्याउन निर्देशन दिएका थिए।

जेठ १० मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरूविरुद्ध ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधको अभियोग लगाइएको थियो।

सरकारी वकिलको कार्यालयले अभियुक्तहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी मुद्दामा गरेको छ। उक्त प्रकरणमा आरोप लागेका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेशफिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जनालाई प्रहरीले फरक फरक समयमा पक्राउ गरेको थियो।

त्यसैगरी पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राई पनि नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका थिए। प्रहरीले फरार रहेका अझै केही आरोपितहरूको खोजी भइरहेको जनाएको छ।

कस्को, बैंकमा कति व्यालेन्स ?

मासिक ७२ हजार हाराहारी तलब थाप्ने सचिव टेकनारायण पाण्डेको खातामा चार महिनामै ८५ लाख रुपैयाँ बैंक ब्यालेन्स कसरी थपियो ?
यसरी नक्कली भुटानी प्रकरणमा संलग्न सचिव पाण्डेसहितका प्रतिवादीको बैंकिङ कारोबारसम्बन्धी विवरण अध्ययन गर्दा पैसाको डरलाग्दो जालो फेला परेको छ । पाण्डेले सञ्चयकोषका लागि खोलेका एभरेष्ट र हिमालयन बैंकका दुई खातामा ०७८ मंसिर २ गतेदेखि ०७९ वैशाख २३ सम्मको अवधिमा ८४ लाख ९४ हजार ९८ रुपैयाँ १३ पैसा जम्मा भएको छ । उक्त रकम उनका पिएसओ धर्मराज शाहीले जम्मा गरिदिएका हुन् ।

त्यस्तै, तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) का सुरक्षा सल्लाहकार इन्द्रजित राईले नक्कली शरणार्थी प्रकरणमा पैसा उठाउँदै जग्गामा लगानी गर्ने गरेको भेटियो । नेपाल इन्भेष्टमेण्ट र मेघा बैंकस्थित उनको खातामा ०७८ भदौ १४ देखि असोज १७ गतेसम्ममा ३ करोड ४५ लाख ५३ हजार रुपैयाँ जम्मा भएको देखिन्छ । सोही बैंकमा इन्द्रजित र श्रीमती भुवनदेवी राईको संयुक्त खाता मा ०७८ वैशाख २१ मा ७३ लाख कर्जा लिई ७८ भदौं १२ मा ७३ लाख ८५ हजार कर्जा चुक्ता गरेको भेटिएको छ । इन्द्रजितले २०७६ असोज ९ मा पत्नी भुवनदेवीको नाममा कित्ता नं.९८७ क्षेत्रफल ०–८–१–० भएको जग्गा साविक जग्गा धनी अम्बिका राई र नवीना राईबाट ३६ लाख ५० हजारमा खरिद गरेको लिखत देखिएको छ । तर, कागज गर्दा ७७ लाखमा खरिद गरिएकोमा ६२ लाख तिरिएको र १५ लाख तिर्न बाँकी रहेको देखाइएको छ । उनैले २०७८ वैशाख १४ गते साविक जग्गाधनी समिरा कार्कीबाट चार आना जग्गा भुवन देवी राईको नाममा खरिद गर्दा एक करोड ८३ लाख तिरिएको कागज भेटिएको छ । २०७७/०६/०२ मा साविक जग्गाधनी श्याम महर्जनबाट कित्ता नं. ११२७ को चार आना क्षेत्रफल भएको जमिन १० लाख ३५ हजारमा खरिद गरेको पाइएको छ ।
त्यस्तै, रामेछापका कांग्रेस नेता आङटावा शेर्पाको कुमारी बैंकको खातामा जाहेरीवाला तेञ्जीफुटी शेर्पा, लामाडोमा शेर्पा र सोनी शेर्पाले २०७९ असोज १३ मा ६/६ लाखका दरले १८ लाख जम्मा गरेको पाइएको छ ।
एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप र अर्का प्रतिवादी सानु भण्डारीको पार्टनरसीपमा रहेको लियोन ट्रेडर्स प्रालिमा सानु भण्डारीले ४० लाख जम्मा गरेको देखिन्छ । केशव तुलाधरको नाममा रहेको सिद्धार्थ बैंकको खातामा ०७८ साउन २६ मा १ करोड ७८ लाख जम्मा भएको र भोलिपल्टै केशवले झिकेका छन् । ०७८ साउन ३१ मा गजेन्द्र बुढाथोकीले २० लाख जम्मा गरिदिएको पाइन्छ । सोही खातामा ०७८ असोज १५ मा १५ लाख जम्मा भएको छ ।

लक्ष्मी महर्जनको खातामा ०७८ मंसिर २८ मा हरिभक्त महर्जनको खातामा १० लाख ८, भदौ २७ मा केशव तुलाधरको खातामा ९ लाख ५० हजार, हरिभक्तको खातामा ०७८ भदौ ५ मा ९ लाख ९९ हजार १५ रुपैयाँ पठाइएको छ । यस्तै, साम्बेर तामाङले १० जनवरी २०२१ मा ९ लाख ५० हजार र भोलिपल्टै ९ लाख ९९ हजार जम्मा गरिदिएका छन् । २४ अगस्ट २०२१ मा गजेन्द्र बुढाथोकीले ९ लाख ९९ हजार, सोही दिन विनोद लामाले ९ लाख ५० हजार र २४ डिसेम्बर २०२१ मा गजेन्द्र बुढाथोकीले १० लाख जम्मा गरेको देखिन्छ ।
यस्तै सानु भण्डारीको हिमालयन बैंकको खातामा प्रेमराज पन्थीले ३० लाख, टीका चौधरीले दुईपटक गरी १० लाख, केशवप्रसाद दुलालले ८ लाख, रामशरण केसीले दुईपटक गरी १३ लाख, दिनेशनाथ योगीले ४ लाख, निमबहादुर खत्रीले दुई पटक गरी १० लाख, दिनेशबहादुर महताराले ५ लाख, श्रद्धा बुढामगरले ७ लाख, विपिन रोकामगरले ६ लाख, विष्णुप्रसाद पुरीले ५ लाख, टंकप्रसाद शिवाकोटीले २ लाख, इन्द्रजित राईले ७ अगष्ट २०१९ मा ९ लाख ९९ हजार र भोलिपल्टै ९ लाख ९९ हजार जम्मा गरिदिएको देखिन्छ । यस्तै, टंकप्रसाद शिवाकोटीले ९ लाख, रामशरण केसीले ३५ लाख, धिरेन राईले १० लाख, निरञ्जनकुमार खरेलले चार पटक गरी २९ लाख र टीकाराम चौधरीले १० लाख जम्मा गरेको देखिन्छ ।
उता, भुटानी शरणार्थी नेता टेकनाथ रिजालले ५ लाख, अशोक पोखरेलले पाँच लाख, निरञ्जनकुमार खरेलले ९ लाख ९९ हजारका दरले दुई पटक रकम झिकेका छन् । केशव दुलालले ५ लाख, रामशरण केसीले दुई पटकमा २६ लाख र निरञ्जनकुमार केसीलाई अर्काे पटक उनको खाताबाट नौ लाख भुक्तानी भएको देखिन्छ ।

कुन अपराधमा कति सजाय?

जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डूले जेठ १० गते ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

आरोपितहरूमाथि लगाइएका अभियोगमध्ये सबैभन्दा धेरै सजाय र जरिवाना ठगी र किर्तेसम्बन्धी कसुरमा छ। दोषी ठहर हुनेलाई प्रत्येक अभियोगमा सात वर्ष जेल र ७०,००० रुपैयाँसम्म जरिबाना हुन सक्छ। राज्यविरुद्ध अपराधमा पाँच वर्ष जेल र ५०,००० रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ। त्यसैगरी सङ्गठित अपराधको कसुरमा पनि पाँच वर्ष जेलसजाय र ५०,००० रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।

ललिता निवास जग्गा प्रकरण : तीनजना आरोपितले दिए बन्दीप्रत्यक्षीकरणको निवेदन

काठमाडौं । केही समयदेखि सेलाए जस्तो देखिएको उक्त प्रकरणमा यससँगै थप अनुसन्धान अघि बढ्ने अधिकारीहरूले बताएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यसअघि सरकारी लिखतसम्बन्धी कसुरमा विभिन्न भूतपूर्व उच्चपदस्थ अधिकारीहरूसहित ३०० जनाभन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गर्दै अन्तिम प्रतिवेदन तयार गरेको थियो।

सीआईबीका प्रवक्ता संजयसिंह थापाले यसअघि आफूहरूले गरेको छानबिनकै आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

ललिता निवासको जग्गा अनियमिततामा तीनजना आरोपितहरूले आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गराएका छन्।

धर्मप्रसाद गौतम, मीनबहादुर गुरुङ र सुधीरकुमार शाहले बिहीबार बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन्। उक्त रिट निवेदनमाथि आज शुक्रवार प्रारम्भिक सुनुवाइ हुनेछ।

नेपालको संविधान धारा १३३ मा सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत बन्दीप्रत्यक्षीकरणको विषय रहेको छ। राज्यका निकायले कुनै पनि व्यक्तिलाई गैरकानुनी रूपमा पक्राउ गरे वा थुनामा राखेमा त्यसको कानुनी उपचारका लागि ‘बन्दीप्रत्यक्षीकरण’ को निवेदन दर्ता गरिन्छ। उहाँहरू तीनै जनाले आफूहरूलाई विना शर्त रिहा गरिनुपर्ने माग राखेका छन्।

हदम्याद सकिएको अवस्थामा आफूहरूमाथि किर्तेको अभियोगमा अनुसन्धान गर्न खोजेको उनीहरूको जिकिर छ। सर्वोच्च अदालत गएकामध्ये भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङमाथि सरकारी कर्मचारीहरूलाई प्रलोभनमा पारी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोप छ। ललिता निवासको केही जग्गा उनी र उनी आबद्ध कम्पनीको नाममा आएको थियो।

गुरुङको नाममा आएका जग्गामा भाटभटेनीले भवन निर्माण गरेर त्यहा“ गोदाम बनाएको छ। उनको परिवारका सदस्यको नाममा समेत ललिता निवासमा जग्गा छ। उनीमाथि ‘सरकारी सार्वजनिक जग्गा मस्यौट गर्ने कार्यमा बिचौलियाको भूमिका खेलेको’आरोप छ ।

जग्गा प्रशासनका कामकारबाहीमा पोख्त रहेका कर्मचारी धर्मप्रसाद गौतमले नक्कली कागजात तयार पार्न सहयोग गरेको चार वर्षअघि अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा उल्लेख छ।

पाँच प्रदेशमा अति भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली  रही कोशी, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ। 

गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।राति भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। 

मधेस, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

देशभरका १ सय ४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

काठमाडौँ । देशभरका सात सय ५३ स्थानीय तहमध्ये करिब एक सय ४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएपछि ती स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन हुन पुगेका छन् । 

प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेका छैनन् । बजेट निर्माण र कार्यान्वयनमा प्रमुख भूमिका रहने प्रमुख प्रशासकीय अधिकृतसहितका जनशक्ति नै पर्याप्त नभएको भन्दै स्थानीय तहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घमा गुनासो गर्ने गरेको बताइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ४४ नगरपालिका र ९६ वटा गाउँपालिकाले बजेट ल्याउँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत नगर तथा गाउँसभाको सचिव बन्नु परेको थियो । सङ्घीय तहमा उपसचिव र अधिकृत उपलब्ध नभएका कारण स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिएको मन्त्रालयस्थित स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईले जानकारी दिए ।

उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत नभएको ठाउँमा मन्त्रालयले कार्यपालिकाको सिफारिसमा त्यहीको ज्येष्ठ कर्मचारीलाई निमित्त तोकिएको र सङ्घमा भएका झन्डै एक सय कर्मचारीलाई स्थानीय तहमा पठाइएको छ । स्थानीय तहमा चाहिने प्रमुख प्रशासकीय अधिकृत सङ्घले पठाउने तथा अन्य कर्मचारी भर्ना गर्न प्रदेश सरकारले लोकसेवामार्फत पदपूर्ति गर्नुपर्ने भए पनि त्यो गर्न नसकिएका कारण समस्या भएको उनको भनाइ छ ।

बाजुरामा जीप दुर्घटना हुँदा ७ जना घाइते

धनगढी । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप बिहीबार दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप सडक छेउमा साइड दिने क्रममा सडकबाट करिब तीन मिटर तल खसेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

जीपमा १० जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन्, भने बाँकि ३ जना सकुशल छन् ।

जीप दुर्घटनामा घाइते भएका मुगुको खत्याड गाउँपालिका वडा नं ९ का १४ वर्षका असल परियार, सोही ठाउँका ३० वर्षीय पुन्न सार्की, ३० वर्षीय नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्ण बहादुर सार्की, हिमाली गाउँपालिका ४ का ३५ वर्षीय छम्मा सुनार र वडा नं ६ का १८ वर्षीय मान बहादुर सार्की रहेका प्रहरीले जनाएको छ । उनीहरूको अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको बताएको छ । घटनाबारे थप विवरण आउन बाकी छ ।

जलहरी- मसँग सम्बन्धित विषय होइन: ओली

भरतपु । भरतपुर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले त्यो पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित भएको बताए। “सुन भनेर पित्तल चढाएको रहेछ छ र?” ओलीले भने, “खाएको भए पनि मसँग सम्बन्धित विषय होइन। मैले त पैसा दिने हो, त्यहाँको पशुपति क्षेत्र विकास कोषलाई।”

जलहरीमा नाम कुँदिएको विषयमा पनि सञ्चारकर्मीले प्रश्न गरेका थिए। त्यसको जवाफमा अध्यक्ष ओलीले प्रतिप्रश्न गरे, “शिलान्यास, उद्घाटन गर्नेको नाम कुँदिएको हुन्छ कि हुँदैन? सरकारी भवन कसका नाममा छन्? त्रिभुवन विश्वविद्यालय त्रिभुवनको निजी खर्चबाट बनाएको हो र? अथवा वीरेन्द्र अस्पताल वीरेन्द्रको निजी खर्चबाट बनाएको हो र?”

पशुपतिको जलहरीमा नाम राख्ने विषयमा आफूलाई नसोधिएको बताए। “मैले थाहा पाउने कुरा होइन,” ओलीले प्रश्न गरे, “मैले लगेर टाँस्या हो त्यहाँ नाम? मलाई सोधेर टाँसेको हो?”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तौलेपछि सबै छर्लङ्ग भएको उनको भनाइ थियो। पहिले सुनका ठाउँमा पित्तल राखेको भनेर हल्ला चलाएको र त्यसपछि ११ किलो सुन कम राखिएको भनेर हल्ला गरिएको उनको भनाइ थियो। अहिले तौलिएर सत्यतथ्य बाहिर आएपछि नामका विषयलाई लिएर हल्ला गरिन थालेको उनले बताए।

जलहरीबारे किन चर्को विवाद

एक अनुसन्धान अधिकृतको नेतृत्वमा स्थलगत निरीक्षण प्रक्रिया पूरा गर्न पशुपतिनाथ मन्दिर क्षेत्रमै गएर विवादित जलहरीको नापजाँच गरिएको अधिकारीहरूले बताएका हुन्।

“अनुसन्धानको क्रममा तथ्य तथा प्रमाणहरू जम्मा गर्ने र तिनको जाँच गर्ने काम हुन्छ। आवश्यक परेको खण्डमा स्थलमा पुगेर निरीक्षण/परीक्षण गर्नुपर्छ। त्यसैले अनुसन्धानअन्तर्गत नियमित प्रक्रिया पूरा गरिएको हो,” आयोगका प्रवक्ता भोला दाहालले बीबीसीसँग बताए।

अनुसन्धानको विषय गोप्य रहने भएकाले उक्त परीक्षणको नतिजाबारे भने जानकारी दिन नमिल्ने दाहालको भनाइ छ। “प्रक्रियामा रहेको विषय भएकाले कुनै जानकारी सार्वजनिक गर्न मिल्दैन। अनुसन्धानको सबै अङ्गहरू पूरा भएर टुङ्गिएपछि प्रतिवेदन सार्वजनिक गरिन्छ,” उनले भने।

त्यसका लागि पर्याप्त तथ्य र प्रमाण जुटाएर तिनको विश्लेषण गर्नु पर्ने भएकाले समय लाग्ने उनले बताए। यद्यपि पशुपतिनाथमा उक्त जलहरी स्थापना गर्दादेखि नै विवाद उत्पन्न भएको हो। यससँग कानुनदेखि प्राचीन सम्पदाको पुनर्स्थापनादेखि भ्रष्टाचारसम्मका विषय जोडिएका छन्।

जलहरी विवाद कसरी सुरु भयो?

पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्ग अवस्थित पीठिकामा सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी थियो।

उक्त जलहरी जीर्ण बन्दै गएपछि पशुपति क्षेत्र विकास कोषले त्यसको ठाउँमा स्वर्ण जलहरीले बनाउने निर्णय गर्‍यो।

त्यतिबेला आफूहरू झन्डै दुई वर्ष लामो छलफल तथा परामर्शपश्चात् सुनको जलहरी निर्माण गर्ने निर्णयमा पुगेको कोषले जनाएको थियो।

कोषका तात्कालिक सदस्यसचिव डा. प्रदीप ढकालले “सुन पवित्र तथा सर्वोत्कृष्ट धातु मानिने भएकोले सुनकै जलहरी बनाउने निर्णय भएको” बताएका थिए।

तर कोषको उक्त निर्णय कानुनी एवं धार्मिक विधिका हिसाबले गलत रहेको कैयौँ जानकारहरूको धारणा पाइन्छ।

चाँदीको जलहरीलाई सुनको जलहरीले प्रतिस्थापन गर्ने निर्णय प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत भएको बताउँदै संस्कृतिविद् तथा बागमती प्रदेशसभाका तात्कालिक सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुङ्गानाले २०७७ साल फागुन ११ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

कुनै प्राचीन स्मारकलाई नष्ट गरेमा, भत्काएमा, हटाएमा, परिवर्तन गरेमा, विरूप पारेमा वा चोरी गरेमा पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुन सक्ने उक्त ऐनमा लेखिएको छ।

“त्यस्ता सम्पदा तथा संरचनाहरू विरूप बनाउनु, त्यसमा थपघट गर्नु वा पहिलेभन्दा पृथक् बनाउनु हुँदैन भन्ने कानुन छ। त्यही कानुनविरुद्ध काम हुनु स्वीकार्य थिएन त्यसैले रिट दर्ता गर्‍यौँ,” वैद्यले भने।

त्यस्तै धर्मनिरपेक्ष देशको सरकारले कुनै एउटा धर्म विशेष कार्यका लागि राज्य कोषबाट पैसा खर्चिने निर्णय गर्नु संविधानको मर्मविपरीत भएको निवेदकहरूको तर्क छ।

अर्की निवेदक अधिवक्ता ढुङ्गाना भन्छिन्: “धर्म निरपेक्ष राज्य यस्तो विषयमा तटस्थ रहनुपर्थ्यो। तर तात्कालिक प्रधानमन्त्रीले त्यस्तो कार्यका लागि रकम खर्चिने घोषणा गर्नु कानुनको उलङ्घन त थियो नै साथै त्यो राजस्वको दुरुपयोग हो। त्यसैले हामी अदालत गयौँ।”

कोषले जलहरी पुनर्स्थापनाको निर्णय गर्नुअघि पुरातत्त्व विभागसँग समेत सल्लाह नगरेको उनीहरूको आरोप छ।


वर्षेनि आयात हुन्छ रु.३३ अर्बको चामल, सम्भव छ त माग अनुसारको उत्पादन ?

काठमाडौँ । सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा चालु आवको ११ महिनामा करिब साढे ३३ अर्बको धान तथा चामल आयात भएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि जेठ मसान्तसम्म ३३ अर्ब ६३ करोड ४७ लाख ९२ हजार रूपैयाँको धान तथा चामल आयात भएको हो।

किसानलाई उन्नत जातको धानको बिउ, आवश्यक परेका बेला रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्न मेसिन औजार आदिको व्यवस्था गर्न नसक्दा धान उत्पादन वृद्धि हुन सकेको छैन। धानको उत्पादन र उत्पादकत्व घट्दा र उपभोग बढ्दा नेपालले चामलमा विदेशको भर पर्नुपरेको हो। धानको उत्पादन बढाउन नसक्दा चामल आयात भइरहेको पूर्वकृषि सचिव योगेन्द्रबहादुर कार्कीले बताए।

‘धान उत्पादन बढाउन किसानलाई आवश्यक बिउ, सिँचाइदेखि रासायनिक मलको उपलब्धता सहज हुन सकेको छैन,’ सचिव कार्कीले भने, ‘आयात प्रतिस्थापन गर्न धानको उत्पादन र उत्पादकत्व बढाउनुपर्छ।’

सरकारले शुक्रबार ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २०औं धान दिवस मनाउँदैछ। हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस मनाउँदै आएपछि मुलुक चामलमा परनिर्भर छ।

नेपाली उपभोक्ताले छिमेकी मुलुक भारत, चीनदेखि अमेरिकामा उत्पादन भएको मिठो–मसिनो चामल प्रयोग गर्ने गरेका छन्। यो वर्ष अमेरिकाबाट करिब १९ करोड रूपैयाँको मसिना चामल आयात भएको छ। त्यसैगरी भियतनाम, थाइल्यान्ड, भुटानबाट पनि नेपालमा चामल आयात हुन्छ। कुनै बेला चामल निर्यात गर्ने नेपाल अहिले परनिर्भरताको अवस्थामा पुगे पनि उत्पादन बढाउन ठोस काम हुन सकेको छैन। सरकार र राजनीतिक नेतृत्वले कृषि आत्मनिर्भरताको नारा दिए पनि व्यवहारमा त्यस्तो देखिएको छैन।

कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण नहुँदा उत्पादन बढ्न नसकेको हो। विदेशतिर प्रतिहेक्टर ६ मेट्रिक टन धान फले पनि नेपालमा प्रतिहेक्टर चार मेट्रिक टन पनि उत्पादन हुँदैन। अहिले नेपालमा प्रतिहेक्टर ३.८ मेट्रिक टन धान मात्र फल्ने गरेको छ। अहिले मुलुकभर करिब १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। चामल आयात प्रतिस्थापन गर्न ६४ लाख मेट्रिक टन धान फलाउनुपर्ने पूर्वसचिव कार्कीले बताए।

उत्पादकत्व नबढ्नुका कारण

संसारभरिका धान उत्पादन हुने अधिकांश देशहरुको धानको उत्पादकत्व करीब ६० वर्षअघि उस्तै–उस्तै थियो। २०१८ सालमा नेपालमा प्रतिहेक्टर १.९ टन धान फल्दा उत्तरी छिमेकी चीनमा पनि २ टन प्रतिहेक्टर धान फल्थ्यो। दक्षिणी छिमेकी भारतमा त अझ प्रतिहेक्टरमा १.५ टन मात्रै धान फल्थ्यो। संसारभरि धेरै धान फलाउने इन्डोनेसियादेखि बाङ्लादेश, भियतनामदेखि थाइल्याण्डसम्मको धानको उत्पादकत्व उस्तै थियो। अझ, चीनलाई छोडेर बाँकी देशका तुलनामा त नेपालकै धानको उत्पादकत्व बढी थियो। 

उन्मोचन विधि मार्फत उन्नत जातको धानका बीउ उत्पादन, रासायनिक मल तथा प्रविधिको प्रयोगले पछिल्लो पाँच दशकमा संसारभरि धानको उत्पादकत्वमा ठूलो सुधार आएको छ। अझ, सन् १९७० को दशकमा चिनियाँ वैज्ञानिक युआन लोङफिङले धानको वर्णसंकर बीउ आविष्कार गरेपछि त धान उत्पादनमा क्रान्ति नै शुरु भयो। फरक–फरक गुण, क्षमता र स्वभाव भएका धानका जातबीचको ‘क्रस’ मार्फत निकालिने वर्णसंकर बीउले उत्पादन कैयौं गुणासम्म बढाउँछ। त्यसैकारण, भोकमरीबाटै लाखौं मृत्यु हुने चीनमा यो आविष्कारले रामवाणको रुपमा काम गर्‍यो। 

चीनसहित दक्षिण पूर्वी एशियाका अन्य देशहरुले पनि वर्णसंकर बीउको प्रयोग मार्फत धानको उत्पादन क्रमशः बढाउँदै लगे। चीनले अहिले देशभरिमा प्रतिहेक्टर औसतमा ७ मेट्रिक टन धान फलाउँछ। यो नेपालको भन्दा झण्डै दोब्बर हो। गत महीना मात्रै वर्णसंकर धानका पिता भनिने उनै लोङफिङको नेतृत्वमा तेस्रो पुस्ताको वर्णसंकर धानको बीउबाट प्रति हेक्टर खेतमा २२ टनभन्दा धेरै धान फलाएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले उल्लेख गरेको छ।  

भारतले धानको उत्पादकत्वमा ठूलो फड्को नमारे पनि बाङ्लादेशले भने वर्णसंकर धानको बीउमार्फत उत्पादनमा छलाङ मारेको छ। बाङ्लादेशको धानको उत्पादकत्व प्रतिहेक्टर करीब ५ मेट्रिक टन पुगिसकेको छ। नेपालमा बाङ्लादेशकै जति अर्थात् प्रतिहेक्टर ५ मेट्रिक टन धान फलाउन सक्ने हो भने यसले देशको जनसंख्यालाई पुग्ने जानकारहरु बताउँछन्। 

र्णसंकरमा ठूलो अग्रसरता नलिए पनि रैथाने धानको मात्रै खेती हुँदै आएको नेपालमा ६० वर्षजति अगाडि उन्नत जातको बीउबाट खेती हुन थालेको हो। २०२३ सालमा सरकारी कृषि वैज्ञानिकहरुले सीएच–४५ नामको ३.५ टन प्रतिहेक्टर उत्पादन क्षमता भएको उन्नत चैते धानको बीउ सिफारिश गरेका थिए। त्यसयता, विन्देश्वरी, चैते २, ताइचुङ्ग १७६, सावित्री, खुमल ३, खुमल ४, खुमल २, राधा ७, चन्दननाथ ३, लल्का बासमती लगायतका उन्मोचन विधिबाट विकास गरी ६४ जातका उन्नत जातका धानको बीउ किसानसमक्ष पुर्‍याइसकिएको छ। अहिले देशको तीन चौथाइ क्षेत्रफलमा उन्नत जातका बीउबाट धान उत्पादन हुन्छ। 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बाली तथा बागबानी निर्देशक रामबहादुर केसी धानको उत्पादकत्वमा सिंचाइ, मलखाद, बीउबिजन र कृषि शिक्षाको अहम् भूमिका हुने बताउँछन्। उनका अनुसार, धान उत्पादनमा गुणस्तरीय बीउको ठूलो महत्व हुन्छ। कृषि वैज्ञानिकहरु किसानले बीउको गुणस्तरमा धेरै ध्यान नदिने कारण उत्पादन कम हुने गरेको बताउँछन्।

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक भानुभक्त पोखरेल भन्छन्, “धानको बीउ मात्रै गुणस्तरीय बनाउन सके उन्नत जातबाट मात्रै करीब २० प्रतिशतले धानको उत्पादन बढ्छ।” हरेक ३/४ वर्षमा धानको बीउ फेर्नुपर्ने भए पनि अहिले त्यो न्यून भएको पोखरेल बताउँछन्। अहिले धानको बीउको प्रतिस्थापन दर करीब २४ प्रतिशत मात्रै छ। 

धान बालीका लागि पानीको उपलब्धता अनिवार्य शर्त हो। व्यवस्थित सिंचाइ प्रणाली अभावमा आकाशे पानीमा भर पर्नुपर्ने कारणले नेपालको धान उत्पादनमा असर गर्दै आएको छ। देशको खेती हुने २६ लाख ४१ हजार हेक्टरमध्ये करीब १४ लाख ८० हजार हेक्टरमा मात्रै सिंचाइ सुविधा पुगेको छ। त्यसमध्ये पनि करीब साढे ८ लाख हेक्टरमा मात्रै वर्षैभरि सिंचाइ सुिवधा पुगेको छ। हरेक वर्ष धान रोपाइँका बेला किसान आकाशे पानीमा निर्भर हुँदै आएका छन्।  त्यसैकारण, मनसुनी वर्षा राम्रो भएको वर्ष मात्र धान उत्पादन बढ्ने गरेको छ। 

धान उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति अर्को महत्वपूर्ण पक्ष हो। तर, हरेक वर्ष किसानले धान खेती गर्ने बेला मलखादको अभाव भोग्ने गरेका छन्। नेपालमा हरेक वर्ष आवश्यकताको आधाजति मात्रै रासायनिक मल आपूर्ति हुने गरेको सरकारी अधिकारीहरु नै बताउँछन्। विरुवालाई सप्रिन तथा उत्पादन हुन १६ तत्व चाहिन्छ, जसमध्ये नाइट्रोजन, फोस्फोरस र पोटासको मुख्य भूमिका हुन्छ। युुरिया मलले नाइट्रोजन आपूर्ति गर्छ भने डीएपीले नाइट्रोजन तथा फोस्फोरस। धानबालीलाई समयमा मलखाद दिन नसके उत्पादन एक तिहाइ ह्रास हुने जानकारहरु बताउँछन्। एक किलो रासायनिक मल हाल्दा १० किलो उत्पादन बढ्ने अनुमान गरिन्छ। यस बाहेक, खेती गर्ने तौरतरिकाका सुधार, प्रविधिको प्रयोग, रोग किरा नियन्त्रणका लागि विषादी प्रयोग आदिले धानको उत्पादकत्व बढाउँछन्। 

यस्तो छ आज २०८० असार १५ गते शुक्रबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल र लाभदायक यात्राको योग पनि छ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजबाट रोकिएको कार्य पुनस् सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

धनु: (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धार्मिक, सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ ।

बृष: (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । चलाखीपूर्ण बोलीले काम बन्नेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । घरायसी समस्या बढ्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कुनै कुराले मनमा शान्ति छाउला । धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । अधुरा कामकाज पनि सहज हुँदै जानेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।