केराको पनामा रोगको नयाँ प्रजाति टिआर ४ को व्यवस्थापनबारे छलफल

काठमाडौं । पनामा रोगको नयाँ प्रजाति टिआर ४ बाट केरा खेती जोगाउन कैलालीको टीकापुरमा आज सरोकारवालाबीच बिस्तृत छलफल भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि मन्त्रालयका प्रतिनिधि, सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालय, कृषि ज्ञान केन्द्र कैलाली र बर्दिया, सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय, रानीजमरा कुलेरिया सिचाइँ आयोजना, कृषि अनुसन्धान निर्देशनालय दिपायल, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र, इलाका प्रशासन कार्यालय, जोशीपुर र जानकी गाउँपालिका, टिकापुर र लम्कीचुहा नगरपालिकाका प्रतिनिधि, पत्रकार, कैलालीका केरा खेती गर्ने कृषकहरू लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा केराको पनामा रोगको नयाँ प्रजाति टि आर ४ को सुरक्षित व्यवस्थापनबारे अन्तरकृया सम्पन्न भएको हो ।

  • कार्यक्रममा प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र का प्रमुख प्रकाश पौडेलले कार्यक्रम आयोजना गर्नुको उद्देश्य र यो रोग व्यवस्थापनका कानूनी र क्वारेन्टिनका पक्षबारे जानकारी दिए ।
  • यसैगरि राष्ट्रिय बाली रोग बिज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काले यो रोगको उत्पत्ति, प्रसार र व्यवस्थापनबारे बिस्तृत जानकारी दिए ।
  • पनामाको टि आर ४ को जोखिम विश्लेषण कार्यदलका सदस्य देवराज अधिकारीले कार्यदलको कार्ययोजना र प्रस्तावित आचारसंहिता प्रस्तुत गरेका थिए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले यस्ता महामारीबाट बालीनालीलाई जोगाउन नियमनको तहमा प्रदेश सरकार र कार्यान्वयनको तहमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहनेहुनाले कृषकहरूले सबै निकायसँग समन्वयमा रही रोग व्यवस्थापन गर्नुपर्ने बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले यो रोग व्यवस्थापन गर्न आचारसंहिताको पूर्ण पालना गर्दै आवश्यक परे यो रोग देखिएका क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने, कृषकहरूलाई बिमामार्फत् या स्थानीय सरकार मार्फत् क्षतिपूर्ति या अन्य उपाय को अवलम्बन गर्न सकिने बताए ।

टिकापुर, जानकी, जोशीपुर र लम्कीचुहाका स्थानीय सरकारका प्रतिनिधिहरूले सबैपक्षसँग सहकार्य गरी रोग व्यवस्थापन गर्न तत्पर रहने बताए ।

कार्यक्रमकै सिलसिलामा किसानलाई तत्काल दिन सकिने सल्लाह र थप सर्भे गर्नेबारे कृषिसँग सम्बन्धित संस्थाहरूबीच छुट्टै प्राविधिक छलफल हुनुको साथै कार्यदलले केराका बगैँचाहरूको स्थलगत अवलोकन समेत गरेको थियो । रानीजमरा सिचाइ आयोजना कैलालीका प्रमुख कलशराम चौधरीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन दिलिपजंग रानाले गरेका थिए । सरकारले यसअघि नै यो रोगको जोखिम विश्लेषण र सर्वेक्षण गर्न नार्कका वैज्ञानिक डा. रामबहादुर खड्काको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिसकेको छ ।

नगरपालिका भित्र योजना आयोगको उपाध्यक्ष बने संगै विकृतिको शुरुआत

काठमाडौं । राज्य संचालन भित्र मौलाएको चरम बेथितिका कारण देश आर्थिक रुपले दिनप्रतिदिन कमजोर बन्दैछ तर पछिल्ला दिनहरूमा स्थानिय तहबाट हुने सेवाप्रवाहका प्रभाबकारी काम भन्दा स्थानिय सरकार श्रोत दोहन गर्न उद्दत छ भन्ने कुरा काठमाडौंको तारकेश्वर नगरपालिकाले देखाएको छ। प्राप्त जानकारी अनुसार तारकेश्वर नगरपालिकामा २०७९ फाल्गुन ८ गते प्रमुख प्रशासाकिय अधिकृत बन्न पुगेका डा.कृष्ण बहादुर घिमिरेले आफ्नो ६ महिने कार्यकाल सकिए लगतै आफैंले बनाएको ऎन अनुसार तारकेश्वर नगर बिकास योजना आयोग गठन गरेर नेपालको इतिहासकै पहिलो नगरपालिकामा मातहत गठन भएको योजना आयोगकै उपाध्यक्ष भएका छन् ।

 तारकेश्वर नगरपालिकाको विकास योजना आयोगको उपाध्यक्ष डा.कृष्ण बहादुर घिमिरे


६ महिना सो नगरपालिकामा काम गरे संगै रिटायर्ड भएका घिमिरेले नगरपालिका भित्र ऎन नियमले हुने नहुने सबै काम गरेर मेयर कृष्णहरि महर्जन को मन जिते संगै शुक्रबार उपाध्यक्ष बन्ने मौका पाएका हुन् । समाचार श्रोतका अनुसार एकजना उपाध्यक्ष भएका छन्, यो बिषय ठुलो नहोला तर प्रदेश सरकारले बनाएका योजना आयोगले त आफ्नो औचित्य पुष्टि गर्न सकिरहेको छैनन्।
आर्थिक भार परेको भन्दै प्रदेश सरकार कै खारेजीको आवाज चौतर्फी उठिरहेको बेला स्थानीय तहको यो उपाध्यक्ष पद अब अरु नगरपालिकाले अनुसरण गरि अभ्यासमा ल्याए भने अवस्था के होला ? आर्थिक जानकारहरुले थप प्रश्न गरेका छन्। संघीय सरकारका राष्ट्र सेवक कर्मचारीले श्रावण महिनाको तलब खान नै ॠण लिनुपरेको यथार्थ एकातिर छ, भने अर्कोतिर कर्मचारीहरु नै राजनीतिक नेतृत्व मातहतका जनप्रतिनिधिका हुने नहुने काम गरि प्रभावमा पारेर सेवा सकिदा पनि एउटा पद श्रीजना गरि पदमै बसिरहने यस्तो विकृति जन्य मानसिकताले मुलुकलाई कहाँ पुर्याउला बिषय पेचिलो देखिन्छ। जनस्तरबाट कर्मचारीलाई हेर्ने दृस्ठिकोण यस्तै लठैत शैलीका कारण थप नकारात्मक बन्दै विकसित भैरहेको छ।
तारकेश्वर नगरपालिका बाट श्रावण १० गते सेवा सकिएका प्रमुख प्रशासकिय अधिकृत घिमिरेले आफै ऎन बनाएर आफनो व्यवस्थापन गरेको यो स्थानीय तहको पहिलो रेकर्ड हो।

यो सन्दर्भलाई स्थानीय तहमा थप विकृतिको शुरुआत भएको रूपमा धेरैले लिएका छन् ।यो नियुक्तिको चर्चा संगै नव नियुक्त उपाध्यक्ष घिमिरेले सो नगर पालिका भित्र कार्यरत रहदा के–कस्ता काम गरे अब अख्तियारले सम्पुर्ण फाइल कब्जामा लिनुपर्ने र अनुसन्धान थाल्नु पर्नेछ सुशासनका पक्षमा आवाज उठाउनेहरुको सुझाव समेत रहेको छ।
सिंहदरवारको अधिकार गाउँ–गाउँ मा पुर्याउने उद्देश्यले स्थानीय तहमा अधिकार बिकेन्द्रीत गरिएको हो । तर त्यो अधिकारको सदुपयोग भन्दा मिलोमतोमा नै ब्यापक रुपमा दुरुपयोग गरिदै लगिएको छ। सुशासन प्रत्याभूत गराइने निकायले मात्रै यस्तो मिलोमतोमा भैरहेको कुकर्म रोक्न सम्भब देखिदैन । स्थानिय तहबाट भएका अख्तियार दुरुपयोगका काम लाई स्थानीय रुपमै रोक्नुपर्ने हुन्थ्यो तर त्यो अभ्यासमा नदेखिदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मात्रै दायित्व जस्तो बन्न पुगेकाले पनि स्थानीय सरकारमा आर्थिक पारदर्शिता कम देखिन पुगेको हो। पछिल्ला दिनहरूमा स्थानिय तहमा भ्रष्टाचारको नमुना बढेर गएकोले सर्बसधारणहरू थप चिन्तित बन्न पुगेका छन् ।

कहि नभएको जात्रा तारकेश्वर नगरपालिकामा, योजना आयोगको उपाध्यक्ष घिमिरे लाई बनाएर देखाए

तारकेश्वर नगरपालिका विकास योजना आयोग गठन तथा सञ्चालन कार्यविधिऐन, २०८० बमोजिमको नाममा घिमिरेलाई आगामी ३ बर्षका लागि आयोगको उपाध्यक्षमा नियुक्त गरीएको छ।
तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतबाट यहि साउन १० गते उमेरहदका कारण अनिवार्य अवकास पाएका थिए । घिमिरे आफैले आयोगको ऐन बनाएर तारकेश्वर नगर कार्यपालिकाले उपाध्यक्षमा नियुक्त भएका हुन्।

आर्थिक रूपमा टाट पल्टदै गएको मुलुकको अवस्था लाई ध्यान नदिइ आयोगको उपाध्यक्षमा नियुक्त गराइएका घिमिरेलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि मर्हजन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, नयाँ प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, सहित वडा नं २ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण खड्गी, वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ५ का अध्यक्ष सम्भु फुंयाल, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री, वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा, वडा नं १० का अध्यक्ष कुमार राई, वडा नं ११ का अध्यक्ष कविराज बस्नेत, नगरकार्यपालिका सदस्यहरु शान्ता थपलिया, अञ्जु बस्नेत लगायत जनप्रतिनिधिहरुले स्थानीय जनताको समस्यामा केन्द्रित हुनुभन्दा आआफ्नो काम गर्दिए बापत नियुक्ति दिएर रमाएका मात्रै छैनन आफ्नो नगरपालिकामा गाइजात्रा देखाएका छ्न्। एउटा सेवा सकिएको कर्मचारीलाई जागिर दिएर रमाएका जनप्रतिनिधिको यो कार्य प्रती नागरिक समाजले समेत बिरोध जनाएको छ। नगरपालिकामा योजना हेर्ने अधिकृत नै हुन्छ्न् त्यो शाखा लाइ सकृय बनाउदा हुने ठाउँमा त्यसो नगरी अधिकार छ भन्दै कानूनिछिद्रको आडमा स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा १०२ को उपदफा ९१० ले स्थानीय निकायलाई विकास योजना आयोगको गठनको अधिकार दिएको छ भन्दै गर्दा काठमाण्डौं महानगरपालिका र पोखरा महानगरपालिकाले हाल सो आयोग मात्रै गठन गरेका छ्न् नियुक्ति दिन भने हच्केका छन् तर बिकृती को बीउ रोप्ने तार्केश्वर नगरपालिका पहिलो बनेको छ।
आकर्षक सेवा सुबिधा सहित मेयरले ३ जना सदस्य मनोनीत गर्न पाउने गरि तयार गरिएको सो आयोगले बिभिन्न २७ वटा काम, कर्तव्य र अधिकार तोकिएको छ ।

अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न सकिँदैन: नेपाल

बुटवल । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका केही अनुचित बुँदाले बाँकी रहे नेपाली जनतालाई जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्वीकार्नु हुँदैन । मंगलवार समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै पूर्वपूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने बताए । एमसीसीलाई आइपीएससँग जोड्ने कुरा हामी स्वीकार्दैनौ,’ नेता नेपालले भने, ‘त्यो भनेको चीनलाई घेराउ गर्ने अरू देशलाई शत्रु घोषणा गर्ने योजना हो ।’ 

उनले नेपालका कुनै पनि देश शत्रु नभएको उनले स्पष्ट पारे । नेता नेपालले यहाँको संसद्ले व्याख्यात्मक टिप्पणीमार्फत् एमसीसी पास गरेको स्मरण गर्दै नेपाल कुनै पनि सैनिक गठबन्धनमा जान नसक्ने त्यसमा उल्लेख गरिएको बताए । 

‘एमसीसी यथावत् पास हुने अवस्थामा पुगेकाले संसद्बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित गरेका हौँ । हामीले त्यसरी पास गरेको कुरालाई अमेरिकाले पनि अस्वीकार गरेको हो भन्ने विषय प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस्,’ उनले भने, ‘गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस् ।’

नेपालको भूमिमा नेपाली जनताको अधिकार भएको र अरु कसैको हस्तक्षेप स्वीकार्न नसकिने पनि उनले स्पष्ट पारे । 

बजेट र योजनाबीच तालमेल भएन ःअध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

दिगो विकाससम्बन्धी राष्ट्रसङ्घीय आगामी शिखर सम्मेलनमा प्रस्तुत गर्ने कार्यसूची तथा भावी रणनीतिसम्बन्धी आज यहाँ आयोजित परामर्श गोष्ठीमा उनले तोकिएको समयावधिभित्र दिगो विकास लक्ष्य प्राप्त गर्न अहिले योजना कार्यान्वयनको गतिमा सुधार र सक्रियताको खाँचो औँल्याए ।
अध्यक्ष तिमिल्सिनाले भने, “बजेट र योजनाबीच तालमेल छैन, बजेट विनियोजनमा इमान्दार प्रयत्न हुनुपर्छ, अबण्डमा बजेट राखेर कसरी दिगो विकास लक्ष्य प्राप्त हुन्छ । कृषियोग्य समथर जमिनमा बस्ती बसाल्ने भिरपाखामा खेती गर्ने कार्यले खाद्य सुरक्षा हुनसक्दैन ।”

अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र दिगो विकासका लक्ष्य प्राप्ति हुने ढङ्गबाट आयोजना छनोट गरी सामाजिक न्यायका आधारमा बजेट विनियोजन गर्न सरकार र राष्ट्रिय योजना आयोगलाई उनले सुझाव दिए ।

उपाध्यक्ष उर्मिला अर्यालले दिगो विकास लक्ष्य प्राप्त गर्न वडादेखि पालिका, प्रदेश हुँदै केन्द्रसम्म गहन छलफलका साथ कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । उनले भने, “दिगो विकास लक्ष्यलाई दिगोपन दिन आवश्यक छ, बजेट विनियोजन र स्थानीय आवश्यकताबीच तालमेल हुनुपर्छ ।”

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले सुशासन र दिगो विकास मुलुकको प्राथमिकताको विषय भएकाले सङ्घीय संसद् मातहतका सबै समिति यस मुद्दालाई छलफल गराउने बताए ।

उनले भने, “दिगो विकास लक्ष्य प्राप्तिमा समग्र विश्वमा १२ प्रतिशत प्रगति हासिल भएको छ, त्यसको तुलनामा नेपालको प्रगति सुधारोन्मुख नै रहेको भए पनि बाँकी अवधिमा बाँकी लक्ष्य हासिल गर्न योजना छनोट, अनुगमन र कार्यान्वयनमा विशेष ध्यान पुर्‍याउन सक्नुपर्छ ।”

संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले सबै प्रकारका गरिबी सबै ठाउँबाट अन्त्य गर्ने लक्ष्य बोकेको दिगो विकास लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा देशको विकास रणनीति र प्राथमिकताभन्दा बाहिर नगएको धारणा प्रस्तुत गरे ।

सो अवसरमा विषय विज्ञका रूपमा जलवायु परिवर्तनसम्बन्धी विषयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल, गुणस्तरीय शिक्षाको विषयमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा। उषा झा, विकास वित्तका विषयमा डा। पारस खरेल, खाद्य सुरक्षा विषयमा पूर्व सचिव डा। गणेशराज जोशीले कार्यपत्र प्रस्तुत गरे ।

उनीहरूको कार्यपत्रमाथि राष्ट्रिय सभा सदस्य भुवन सुनुवार, सुरेश आलेमगर, कमला पन्तलगायतले टिप्पणी गर्दै जलवायुबाट पर्ने असर र क्षतिलाई कम गर्ने उपाय एवं ज्ञान आदिवासीसँग रहेको तथा सामाजिक न्यायका विषयमा राज्यले अझ बढी ध्यान पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिए ।

यसअघि राष्ट्रिय योजना आयोगका सहसचिव प्रकाश दाहालले दिगो विकास लक्ष्यको हालसम्मका प्रगति समीक्षा र भावी कार्यदिशासम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

सयुक्त राष्ट्रसङ्घका नेपालस्थित प्रतिनिधि हना सिङ्गर ह्याम्डीले दिगो विकास लक्ष्य प्राप्तिका लागि राजनीतिक प्रतिबद्धता, कर्मचारीतन्त्रको सक्रियता तथा सरकार, सरोकारवाला, नागरिक समाज र गैरसरकारी सङ्घ संस्थाको सहयोग, समन्वय र सामूहिक प्रयत्नको खाँचो औल्याए ।

सो अवसरमा सहभागी अन्य वक्ताले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगले समन्वयकारी भूमिका खेलिरहेको तथा कार्यान्वयनमा देखिएका चुनौतीलाई सम्बोधन गर्न नीति र विधिका आधारमा अभ्यासमा रहेको प्रणालीलाई सुधार गर्न सुझाव दिए।

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न श्रमिकको माग

काठमाडौं । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले सम्पूर्ण श्रमिकलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन माग गरेको छ । सरकारले गत साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतकम पारिश्रमिक १७ हजार तीन सय तोकेको थियो । नेपालमा श्रमिक आपूर्तिकर्तामार्फत् श्रमबजारमा झन्डै  छ लाख श्रमिक कार्यरत रहेका युनियनले जनाएको छ ।  सरकारले तोकेको न्यूनतकम पारिश्रमिक श्रमिक आपूर्तिकर्ता एवं मुख्य रोजगारदाताले कार्यान्वयन नगरेको भन्दै युनियनले असन्तुष्टि जनाएको हो । 

वृद्धि भएको पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गर्दै  युनियनका अध्यक्ष एवं सुरक्षा क्षेत्र युनियन परिषद् इन्चार्ज प्रेमबहादुर कार्कीले अन्यथा तोकिएको न्यूनतम पारिश्रमिक तथा सेवासुविधा दिलाउन सङ्घर्ष गरिने बताए । नेपाल उद्योग परिसङ्घले सरकारले तोकेको न्युनतकम पारिश्रमिक हालको अवस्थामा कार्यान्वयन गर्न नसक्ने भनी सार्वजनिक गरेको धारणाप्रति युनियनले आपत्ति जनाएको छ । 

नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो तेस्रो दिन आज मंगलबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ५.०५ अंकले घटेर एक हजार ९ सय ९३ दशमलब ४२ विन्दुमा बन्द भएको हो ।

यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी अरु उपसमूहको परिसूचक घटेको छ।          

त्यस्तै, आज ८६ करोड ५१ लाख २० हजार बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६९ कम्पनीको शेयरमूल्य बढेको छ भने १४४ कम्पनीकोे शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९३३.१० रुपैयाँ पुगेको छ । यसका साथै आज ग्लोबल आइएमइ ब्यालेन्स फण्डको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।   

आज स्वाभिमान लघुवित्त वित्तीय संस्था र सामलिङ पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ४ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी माछापुच्छ्रे बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ३ करोड ४६५९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।       

सर्‍यो काँग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक निर्धारित मितिबाट दुई दिन पर सर्ने भएको छ । एक नेताका अनुसार असोज २ गतेका लागि बोलाइएको बैठक असोज ४ गते सार्ने तयारी भएको हो ।

उनका अनुसार असोज २ मा ऋषि पञ्चमी र असोज ३ मा संविधान दिवस परेकाले बैठक दुई दिन पछि सार्ने तयारी भएको हो । ‘पर्व र संविधान दिवसले गर्दा असोज ४ गते बैठक बस्छ’, ती नेताले भने ।

साउन १० मा केन्द्रीय समिति बैठक सकिँदा सभापति शेरबहादुर देउवाले असोज २ मा केन्द्रीय समितिको बैठक बस्ने मिति सुनाएका थिए ।

विधान अनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्दछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा प्रस्तुत गरेको वार्षिक तालिकामा प्रत्येक २२ महिनामा बैठक बस्ने गरी दिन समेत तय गरेर तालिका प्रस्तुत गरेका थिए ।

गौहत्या विरुद्ध माईतिघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौँ । कानुनका विद्यार्थीहरूले राष्ट्रिय जनावर, गाई मार्नेलाई कारबाहीको माग राख्दै काठमाडौँमा प्रदर्शन गरेका छन् ।

मङ्गलवार गाई मार्न पाईदैन, कानूनको पालना गर लगायतका नारासहित काठमाडौँको माईतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उक्त प्रदर्शनमा सहभागी विद्यार्थी शुसान्त आचार्यले गाई मारेर खाने कार्य भइरहेको वेला सरकार टुलुटुलु हेरेर मात्र बसेको आरोप लगाए ।

‘गाईको हत्या भएको सरकार हेरेरमात्र बसिरहेको छ । सरकारलाई कानून पढाउने हिसावले हामी यहाँ आएका हौँ ।

उनले गाई मार्नेलाई कानून बमोजिम कारबाही गर्नुपर्ने बताएका छन् । गाई जस्तो राष्ट्रिय जनावरलाई मारेर पाप गरेको त्यस्तो व्यक्तिलाई सरकारले केही नगरे आफुहरुले नछोड्ने उनिहरुको भनाई छ ।

सरकारले ऊर्जामा भएको लगानीको सुरक्षा गर्छ ः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताएका छन् । गृह मन्त्रालयमा आज स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पदाधिकारीसँगको भेटमा उनले ऊर्जा क्षेत्रमा भएको १३ खर्ब लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने बताए ।

अहिले सरकारको पहिलो लक्ष्य सुशासनको प्रत्याभूति दिलाउने र सबै तह तथा तप्काका नागरिकको सुरक्षा गर्ने रहेको उनले बताए । इप्पानले सुशासनको अभियान सुरु गरेकामा सो अवसरमा धन्यवाद दिएको थियो । भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले अहिले ऊर्जाका परियोजना निर्माण गर्दा स्थानीयको अवरोधले काम गर्ने वातावरण नबनेको उल्लेख गर्दै परियोजनास्थलमा सुरक्षा पोस्ट राखिदिन आग्रह गरेका थिए । विस्फोटक पदार्थको सहज आपूर्तिका लागि पनि गृह मन्त्रालयबाट आवश्यक सहजीकरण गरिदिन उनले आग्रह गरे ।

यसैबीच आजै इप्पान र बीमा प्राधिकरणका पदाधिकारीबीच पनि भेटवार्ता भएको छ । उक्त भेटमा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले इप्पानका सुझाव समेटेर बीमाका नीति, नियम र निर्देशिका जारी गर्ने बताए ।

पछिल्लो समय बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीका लागि जारी गरिएको न्यूनतम प्रिमियमसम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै एकतर्फी रूपमा ६०० गुणासम्म प्रिमियम बढाएपछि इप्पानले उक्त निर्देशिका खारेजीको माग गर्दै आएको छ ।

उक्त निर्देशिका पूर्णरुपमा कार्यान्वयन नहुँदै फेरि पनि प्रिमियम बढाउन खोजेपछि इप्पानले गत असार ७ गते बीमा प्राधिकरणलाई ध्यानाकर्षण पत्र लेखेर खबरदारी गर्दै आइरहेको छ । यो बीचमा निर्जीवन बीमा कम्पनीको सङ्गठन नेपाल बीमक सङ्घ र इप्पानबीच दुवै पक्षलाई मान्य हुने प्रिमियम निर्धारणका लागि पटकपटक छलफल भएको छ । तर, सबैलाई मान्य हुने गरी प्रिमियम निर्धारण गर्ने काम भने हुन सकेको छैन । यसबाट कतिपय पोलीसी नवीकरण गरिएका छैनन् भने नयाँ पोलिसी पनि जारी भएका छैनन् ।

ललिता निवास प्रकरणमा लेनदेन मिलाएर सङ्गठित अपराध नभएर किर्ते मुद्दा ः एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ललिता निवास जग्गा प्रकरणमा सरकारले सीआईबीको दुरुपयोग गरेको आरोप लगाएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले ललिता निवासमा अनौठो किसिमको नाटक भएको टिप्पणी गरे।
उनले भने, ‘भ्रष्टाचारका नाइकेहरूलाई अदालतले पक्रेर छानबिन गर भन्दा छानबिन गर्दैन। अहिले संगठिन अपधारमा मुद्दा चलाएर थुनामा ६० दिनसम्म थुनामा राखिन्छ। अहिले के मिलेमतो भयो ? के लेनदेन मिल्यो ? उनीहरूलाई सङ्गठित अपराध होइन, किर्तेमा मुद्दा चलाउने काम भएको छ। यदि किर्ते थियो भने किन ६० दिनसम्म थुनामा राख्नुपर्थ्यो ? किन अदालतले थुनामा राख्नुपर्‍यो ? लेनदेन होइन भने सरकारले स्पष्ट जवाफ दिनुपर्छ।’

उनले सीआईबीलाई निकम्मा बनाइएको उल्लेख गर्दै सुन तस्करीमा सत्तापक्षका देखेपछि त्यता आँखा लगाउन नसक्ने बताएको बताए ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल पठाउने प्रहरीहरूको छानिछानी सरुवा हुन्छ। तर, सुन तस्करीमा सत्ताको मान्छे पनि संलग्न भनेर बोल्दा सांसद सुनिल शर्मालाई बिनापूर्जी थुन्ने काम हुन्छ।’

मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर विष्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा नगरपालिकाले नियमविपरीत छुट दिएको भन्ने उजुरी आयोगमा परेको थियो । अनुसन्धानका क्रममा भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्ट र तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले राजश्व चुहावट गरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार नगरप्रमुख विष्टको अध्यक्षतामा बसेको नगरसभाको बैठकले राजस्वमा छुट दिने मनसायसहित ५ सदस्यीय कार्यदल गठन गरेको थियो ।

सोही कार्यदलको सिफारिसका आधारमा १ करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ छुट दिने निर्णय अनुमोदन गरी ठेक्का सम्झौताअनुसार राजस्व नउठाइ चुहावट गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगले चुहावट भएको रकमको दोब्बर जरिवानाको मागसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन कार्यदलका संयोजक तथा सदस्यहरू तत्कालीन वडा नम्बर १७ का अध्यक्ष हिमालबहादुर चन्द, इन्जिनियर हिमालय सिहं ऐर, लेखा अधिकृत गोविन्द उपाध्याय, लेखा अधिकृत (छैटौं) विक्रम भण्डारी र नायव सुब्बा नरेन्द्र देव भट्टविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यस्तै, आयोगले सोही कसुरमा भवानी कन्स्ट्रक्शन प्रालिका संचालकहरू ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, पुष्पराज भट्ट, ईश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टलाई पनि मतियारको रुपमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

ईश्वरीप्रसाद भट्टको मृत्यु भइसकेकाले प्रचलित कानुनबमोजिम उनकी श्रीमती खगेश्वरी भट्टबाट बिगो भराउने मागदाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता दाहालले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवा र सहसचिव सरुवा निर्णय हुँदै

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो ४ बजे बस्न लागेको हो ।

बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै एक सचिव बढुवा गरिँदै छ ।

सोमबार सिफारिस तीन सहसचिवहरू दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेलमध्ये एक जनालाई सचिव बनाउने निर्णय हुँदै छ ।

सम्बन्धित समाचार ः एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

गत भदौ पाँच गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. गोपीकृष्ण खनाल अनिवार्य अवकाश भएसँगै रिक्त एक पदका लागि बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।

त्यसैगरि आजको बैठकमा पुनः सहसचिवको सरुवा निर्णयबारे सहमति लिन सक्ने पनि बुझिएको छ । केही दिनअघिको बैठकले पनि अनुसूची अनुसार सरुवा गर्ने निर्णय गरे पनि ठुँगो लगाउन नसक्दा नाम थप्ने घटाउनेमै सीमित भयो ।

१० जनाबाट शुरु भएको सुची ३५ जनासम्म पुग्दा बैठकबाट सहमति लिएकोमा सरुवा गर्न सकिएन । त्यसपछि पुनः ४८ जना पुगाइयो र पछिल्लो प्रशासनलाई प्राप्त जानकारी अनुसार ४२ जनासम्म पुगेको छ । तर यो पनि ठुँगो लगाउन फलामको चिउरा चपाउन सरह भएको बुझिएको छ ।

इन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न सांसद खानको माग

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले इन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न माग गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले तिरिरहेको भन्दा तीन गुना बढि शुल्क भएर पढ्ने समयमा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएका भन्दै शुल्क फिर्ता गर्न माग गरेका हुन् ।

उनले भने, ‘देशमा इन्जिनियर विद्यार्थीहरुको शुल्क तिरिरहेको भन्दा तीन गुनाबढी गरिएको हुनाले विद्यार्थीहरु आन्दोलन गर्न बाध्य छन् । यस्तो अवस्थामा देशको भविष्य के हुन्छ ? पढ्ने समयमा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य छन् । यस्तो बेला देशको नेताहरुले भविष्यको योजना कसरी बनाउनु हुन्छ त्यसैले चाँडो यसको समाधान गर्न माग गर्दछु । ’

उनले कम्प्युटर शिक्षाको लागि करारमा मात्र राख्ने गरेको भन्दै दरबन्दीमा राख्न समेत माग गरे ।

चीनद्वारा अरुणाचललाई समेटेर नयाँ नक्सा सार्वजनिक

काठमाडौँ । चीनले भारतको अरुणाचल प्रदेशलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ ।

चीनको प्राकृतिक संसाधन मन्त्रालयले सोमबार अरुणाचल र अक्साई चीनलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो । चाइना डेलीका अनुसार उक्त नक्सालाई ‘२०२३ को चीनको स्टान्डर्ड नक्सा’ भनिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर भनेर चिनिने) मा लेखेको छ, ‘चीनको २०२३ को स्टान्डर्ड नक्सा सोमबार सार्वजनिक भएको छ ।

यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ड्रइङ विधिको आधारमा बनाइएको हो ।’

वर्षमान पुनले भने–जनताको अपेक्षा माओवादीले नै सरकारको नेतृत्व गरिरहोस् भन्ने छ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने रहेको बताएका छन्।

मङ्गलवार काठमाडौँमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव पुनले जनताको अपेक्षा अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ‘प्रचण्ड’ वरपरका नेताहरूले नेतृत्व गरोस् भन्ने अपेक्षा रहेको बताए ।

जनताको सो अपेक्षामा ठेस लाग्न दिनु नहुने बताउँदै उनले पार्टीका कमजोरीलाई सच्याएर आगामी दिनमा देशको राजनीति सही दिशामा लैजानुपर्ने बताए। उपमहासचिव पुनले सत्ता गठबन्धन, समाजवादी मोर्चा र पार्टीलाई समन्वयात्मक ढङ्गबाट अघि बढाउँदै लैजाने आजको पार्टीको कार्यदिशा भएको बताए।

‘जनताको अपेक्षा के छ भने आज पनि माओवादीले नेतृत्व गरोस् । आज पनि कमरेड ‘प्रचण्ड’ र ‘प्रचण्ड’ वरिपरिका नेताहरू नेतृत्व गरोस् भनेर सोचेका छन् । त्यो अपेक्षा छ । त्यो अपेक्षामा अलिकति मात्रै ठेस लाग्ने ठुला प्रश्न उठेका छन् । हामी हाम्रो पार्टीका कमजोरीहरू हेर्दा द्वन्द्वात्मक भौतिकवादी कोणबाट हेर्नुपर्छ,’ उनले भने, ‘आजको स्थिति, ऐतिहासिक पृष्ठभूमि, जनताका अपेक्षा र समकालीन एजेन्डाहरू वरिपरिबाट हेर्ने हो भने हामी सही ठाउँमा पर्छौँ नत्र खत्तम नै भयौँ, सिद्धियौँ की के हो रु भन्दा एकातिर नकारात्मक प्रवृत्ति र कुण्ठा, अराजकता देखापर्ने र अर्कोतिर अरू नै कोही छन् की भन्दा कोही पनि नदेखिने, नेता पनि नदेखिने राजनीति पनि नदेखिने हुँदा एक खालको शून्यता हुन्छ । हामीले भनेको राजनीतिक सिस्टममा देश चल्नुपर्छ । राजनीतिक विधिमा पार्टी चल्नुपर्छ । निश्चित सामाञ्जस्यतामा समाज चल्नुपर्छ । हामी देशको अग्रगामी रूपान्तरणका पक्षपाती हौँ ।’