एक्लि आमाको साहारा सुजन सधैंका निम्ति अस्ताए
ग्वार्को। बुबाको निधन पछि आमा र परिवारमा साहाराको दियो निभेको छैन भन्ने आभास दिलाउन हजार समना बोकेर राजधानी आएका सुजन लाई प्रहरीको बन्दुक र बुट बज्रेर क्षण भरमै सपनाको दियो निभ्न पुग्यो।
दैलेख महाबु गाउँपालिका–६ घर भई दैलेख सदरमुकाममा व्यवसाय चलाउँदै आएका भक्तबहादुर रावत परिवारको दैनिकी ठीकठाक चलेकै थियो। दैलेख उद्योग वाणिज्य संघका पूर्वउद्योग उपाध्यक्षसमेत रहेका रावत परिवार दैलेखमा सफल व्यवसायीको रूपमा परिचित थियो। केही वर्षअघि यो परिवारलाई वज्रपात आइलाग्यो। परिवारको मुख्य सहारा भक्तबहादुर एक्कासि थला परे। थुप्रै अस्पतालमा चेकजाँचपछि उनलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो। पक्षघातसमेत भयो। घरपरिवार, दाजुभाइले भरथेग पनि गरे। तर, केही सीप लागेन। लाखौं रकम उपचारमै सिध्याउँदा पनि रोग निको नभएपछि उनलाई दैलेख ल्याइयो। अन्ततः २०७९ मंसिर २ गते उनको निधन भयो।
उनको निधनपछि रावत पत्नी नन्दाको थाप्लोमा विपत्ति आइलाग्यो। श्रीमान् बितेपछि दुई छोरा र एउटी छोरीको पालनपोषण गर्ने जिम्मा नन्दाको काँधमा आयो। नन्दाले दुःखसुख गरेर छोराछोरीलाई पालनपोषण गरिरहेकी थिइन्।
पति गुमाएको वर्ष दिनपछि नन्दा माथि अर्को वज्रपात आइलागेको छ। उनका जेठा छोरा सुजनको शुक्रबार निधन भएको छ। सुजन कोरियाली भाषा परीक्षाको तयारीका लागि एक महिनाअघि मात्रै काठमाडौं गएका थिए।
ईपीएस भाषा परीक्षा दिन नपाएका युवाहरू शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा आन्दोलनमा उत्रिएका थिए। त्यही भीडमा मिसिन पुगेका थिए सुजन। दुर्भाग्य, प्रहरीको निर्घात कुटपिटमा उनले ज्यान गुमाउनुपर्यो। मृतक सुजनको छातीमा नीलो डाम छ। प्रहरीको लाठीचार्जमा छातीमा गम्भीर चोट लागेपछि उनी सडकमै बेहोस भएर लडेका थिए। उनका साथीहरूले एम्बुलेन्स बोलाएर किस्ट अस्पताल पुर्याएका थिए।
अस्पताल पुर्याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए। दैलेखबाट कोरिया जाने तयारीसहित काठमाडौं पुगेका सुजन शुक्रबार आन्दोलन गर्न नभई त्यहाँको अवस्था हेर्न गएको बताइएको छ। तर, उनी प्रहरीको कुटाइबाट मारिए।
२०६० असारमा जन्मिएका सुजनले दैलेख सदरमुकामस्थित सन्राइज बोडिङ स्कुलबाट एसईई उत्तीर्ण गरेका थिए। सुजन नेपालगन्ज टेक्निकल कलेजमा सिभिल ओभरसियर अध्ययनरत रहेको दाइ नाता पर्ने किरणकुमार केसीले बताए।
सुजनले कोरिया जान्छु भनेपछि आमा नन्दाले नाइँनास्ती गर्न नसकेको पारिवारिक स्रोतले जनाएको छ। तर, सुजन कोरिया जान पाएनन्। आमा नन्दालाई परिवारको जिम्मेवारीको थप भारी बोकाउँदै उनी बिदा भए।
उनको कोरिया जाने सपना ललितपुरको बालकुमारीमै बिलायो। दिदी नन्दाको परिवारमाथि शृंखलाबद्ध विपत्ति आइलागेको भाइ यमराज कटुवालले बताए। मृतक सुजनका एक जना दिदी र भाइ छन्।
आछामका बिरेन्द्र साहको कोरिया जाने र परिवारलाई खुशी राख्ने सपना अधुरो रहयो।
बुवा आमाको सपना क्षणभर मै ग्वार्को बालकुमारीमा ढल्यो।स्वदेशमा रोजगारी नपाएपछि आछ्म,चौरपाटी– १ सिउडीका वीरेन्द्र शाह देश छोडने निष्कर्षमा पुगे। त्यसकै लागि एक वर्षपहिले काठमाडौं गए। राम्रो कमाइ हुने थाहा पाएपछि कोरिया जाने योजना बनाए। त्यसकै लागि कोरियन भाषा पढ्न थाले।
एक वर्षदेखि कोरियन भाषा पढेका वीरेन्द्रले भाषा परीक्षामा सहभागी हुन पाएका थिएनन्। उनले बुवा आमालाई बेलाबेलामा फोन गर्थे। र भन्थे, ‘म छिट्टै कोरिया जाँदैछु। सबै ठीक हुन्छ।’
यो खबरले वृद्ध आमाबुवा पनि खुसी थिए। छोरो कहिले विदेश जाला र दुःखका दिन अन्त्य होलान् भनेर बुवाआमा औंला भाँच्दै बस्थे। तर, नियतिको खेल। न वीरेन्द्र विदेश जान पाए, न त बुवाआमाको सपना नै पूरा हुने भयो। उल्टै वीरेन्द्रले सदाका लागि प्राण त्यागे। बुढेसकालको सहाराले नै संसार छोडेपछि बुवाआमामा वज्रपात भएको छ। वीरेन्द्रका बुवा अशक्त छन्।
भाषा परीक्षामा समावेश हुन पाउनुपर्ने हक माग्दै शुक्रबार काठमाडौंमा भएको प्रदर्शनमा वीरेन्द्रलाई प्रहरीको गोली लाग्यो। साथीहरूले उपचारका लागि पाटन अस्पताल पुर्याए। तर, ज्यान जोगिएन।
आमा दुर्गादेवी शाह, बुवा टेकबहादुर शाहका कान्छा सन्तान हुन्, वीरेन्द्र। वीरेन्द्रको मृत्युको खबर पत्याउन मुस्किल भइरहेको वीरेन्द्रका आफन्त भरत शाहले बताए।
वीरेन्द्रको पारिवारिक अवस्था कमजोर रहेको शाहले बताए। उनले भने, ‘वीरेन्द्रका वुवालाई केही आफन्तसहित काठमाडौं पठाउँदै छौं,’ सामाजिक सञ्जालमा धेरैले मृत्युको खबर राखिसकेका छन् तर पनि पत्याउन सकेका छैनौं।’ घटनाले गाउँ नै शोकमा डुबेको भरतले बताए। जे नहुनु पर्ने भयो परिवार समालिन सकेको छैन। राज्यको गलत नियतका कारण आम नागरिकले कहिलेसम्म सास्ती खेप्नुपर्ने हो त्यो भने अन्योल नै रहेको छ।