सिरहामा दाहाल र नुवाकोटमा अधिकारीलाई सिडिओको नयाँ जिम्मेवारी

काठमाडौँ । गृह मन्त्रालयले तीन जना सिडिओको सरुवा गरेको छ । मन्त्रालयले मङ्गलवार अपराह्न सिराहासहितका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।

सम्पत्ति न्युजलाइ प्राप्त जानकारी अनुसार सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई गृह मन्त्रालयमा तान्दै मन्त्रालयका वासुदेव दाहाल सिराहाको प्रमुख जिल्ला जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

त्यसैगरी सहसचिव रामकृष्ण अधिकारीलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । त्यहाँका प्रजिअ सुरेन्द्र पौडेलको सरुवा भएसँगै लमजुङबाट केही दिन अघि मन्त्रालयमा आएका अधिकारीलाई नुवाकोट पठाइएको बताइएको छ।

दात्री निकायले चासो नलिँदा ब्यक्तिगत ट्राईसाईकल सहयोग

रौतहट १६ माघ। रौतहटको फतुवा बिजयपुर नगरपालिका संगै कुनै पनि दात्री निकायले चासो नलिँदा एकजना अपाङ्ग लाई ब्यक्तिगत रुपमा ट्राईसाईकल सहयोग गरिएको छ। फतुवा बिजयपुर १ घुसुकपुरका जसपा नेता बिन्देश्वर यादवको छोरा युवा समाजसेवी मुकेश कुमार यादवले ब्यक्तिगत लगानीमा ३० हजार रुपैयाँ पर्ने एकथान ट्राईसाईकल सोही वडा गमहरिया गाउँका पूर्ण अपाङ्ग नागेन्द्र यादवलाई सहयोग गरेका हुन्।

हाल अपाङ्ग भएका यादवको ढाडमा केहीवर्ष अघि बोन टिभि भएको थियो। उपचारको क्रममा दुईबर्ष अघि ट्रमा सेन्टर काठमाडौंमा ढाडको अपरेसन गर्दा ढाडको नसा काटिएर उनी अपाङ्ग भएका थिए।

सो पछि ५० बर्षीय पीडित यादव बाध्यभई पूर्ण अपाङ्ग बनेर घरभित्रै बसेर जिवन निर्वाह गर्दै आएका थिए। ट्राई साईकलको लागि पटकपटक वडा देखि नगरपालिकामा भन्दा कसैले नसुनेको उनको भनाई छ। यस अघि पनि उनी बोन टिभिको उपचारको क्रममा जसपाका केन्द्रिय सदस्य यादवले पटकपटक सहयोग गर्दैआएको पीडित यादवले बताएका छन्। उनकै सल्लाह अनुसार उनको छोरा मुकेश यादवले सोमवार एक समारोह बीच उक्त ट्राई साईकल हस्तान्तरण गरेका हुन्। अपाङ्ग यादवको ३ छोरा ३ छोरी छन् भने खेतीपातीको नाउँमा मात्र ४ धुर घरेडी जग्गा रहेको छ।

उनी संग रहेको १० कठा जग्गा उपचारको क्रममा बिक्री गरिसकेका छन्। हाल गाउँ घरमा अरूको खेतमा श्रीमती छोराहरूले ज्यामी गरेर परिवार धान्दै आएका छन्। डेढ बर्ष देखि अपाङ्ग बनेका यादव ह्वील चेयर पाएपछि हर्षित हुँदै अबको जीवन बिताउन ठूलो सहयोग हुने बताएका थिए।

बीपी प्रतिष्ठानका कामु उपकुलपति डा कार्कीमाथि मोबिल छ्यापेर दुर्व्यवहार, तीनजना पक्राउ

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कामु उपकुलपति डा. प्रल्हाद कार्कीमाथि मोबिल छ्यापेर दुर्व्यवहार गरिएको छ ।

कामु उपकुलपति डा  कार्कीमाथि मोबिल छ्यापेर दुर्व्यवहार गर्ने वैद्यनिकट क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका हुन्।

अभद्र व्यवहारमा संलग्न आरोपमा सम्राट थापा, निशान राई र भीम सुराखेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रतिष्ठानका कर्मचारी र चिकित्सकहरू भिसी कार्कीविरुद्ध लामो समयदेखि आन्दोलनमा रहेको बेला वैद्यनिकट कार्यकर्ता आएका हुन् ।

शाखा अधिकृतविरुद्ध ४ करोड ४० लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध चार करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। 

०५४ सालमा सेवामा प्रवेश गरेका भट्टराईले सेवा अवधिमा चार करोड ४० लाख १५ हजार नौ सय २५ रुपैयाँ गैरकानुनी सम्पत्ति जोडेको र सोको वैधानिक स्रोत नखुलेको देखिएकाले अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगको अनुसार आयको तुलनामा निजको खर्च एवं लगानी सहितको सम्पत्ति अमिल्दो र अस्वाभाविक एवं गैर कानुनी सम्पत्ति आर्जन गरेको पाइएको हुँदा निज मीन बहादुर भट्टराईले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिइएको छ ।

यसैगरी भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर गैर कानुनी रूपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति कान्छी श्रीमती झुना कुमारी कठेतसमेतको नाममा लुकाएको पुष्टि हुन आएको अख्तियारको भनाइ छ ।

सोहीअनुसार कठेतसमेतलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्ति मध्येबाट बिगो जफत र जरिवाना गरी पाउन मागदाबी लिएर मुद्दा दायर गरिएको घिमिरेले बताए ।

भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति ०५४/०४/२६ देखि मिति ०७९/०२/३० गतेसम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोहीअनुसारको अन्तिम कट अफ मितिको आधारमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा  सो रकमको स्रोत नखुलेको फेला परेको अख्तियारले जनाएको छ। 

विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ। विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेकाे छ । कतार पठाइदिन्छु भन्दै २ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिराहा जिल्ला बिष्णुपुर गा.पा. वडा नं. ०२ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ०४ ईमाडोल बस्ने २४ वर्षीय मनोज कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साहले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई मासिक ४५ हजार रूपैयाँ तलबमा प्रतिष्ठित कम्पनीको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई ईमाडोलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

नेप्सेमा दोहोरो अंकको वृद्धिसंगै, कारोबार रकम बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर तेस्रो कारोबार दिन बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि उकालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से १४.८८ अंकले बढेर दुई हजार एक सय १९ दशमलव ६१ विन्दुमा बन्द भएको हो ।                                        

आज नेप्से परिसूचकसंगै कारोबार रकम पनि बढेको छ । आज ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  

आज कारोबार भएका कम्पनीमध्ये १५२ वटाको बढेको छ भने ८५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये चन्द्रागिरी हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था र  रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  

त्यस्तै, मिडसोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ८.३५ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ७५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।          

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, वित्त, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन घटेको हो।

    

विद्यासुन्दरले भरतपुर सरुवा गरेका कोइरालालाई बालेनले गरे निलम्बन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा शाखा प्रमुख सिताराम कोइराला निलम्बनमा परेका छन् । मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेपछि कोइरालालाई निलम्बन गरिएको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कोइरालालाई ७ दिने स्पष्टिकरण सोध्दै निलम्बन गरेका हुन् । कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै काठमाडौँको बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएको आरोप छ । सो स्कुललाई प्लस टु चलाउन महानगरले अनुमति नदिए पनि कोइरालाले अनुमति भएको पत्र बुझाएका बताइएको छ ।

‘रत्नराज्य स्कुललाई विज्ञान विषयको प्लस टु चलाउन अनुमतिपत्र दिनु भएछ । नगर शिक्षा समितिको निर्णय अनुसार अनुमति दिइएको भनिएको रहेछ । सो समितिको संयोजक मेयर आफै रहने व्यवस्था रहेछ । निर्णय नै नभएको विषयमा निर्णय भएको भनेर उहाँले पत्र पठाउनु भएको पाइएपछि स्पष्टिकरण सोधिएको छ । काठमाडौँ महानगरपालिकाका स्रोतका अनुसार अहिले उहाँ निलम्बनमा हुनुहुन्छ ।

कोइरालाले अनुमति दिएपछि रत्नराज्यले प्लस टुमा २२ जना विद्यार्थी भर्ना गरेर अध्यापन गराउन थालिएको छ । महानगरले कोइरालामाथि कारबाही थालेपछि उनले ‘किर्ते पत्र पठाएर दिएको अनुमति’ के हुने र अहिले अध्ययन गरिरहेका विद्यार्थीको भविष्य के हुने भन्ने प्रश्न खडा भएको छ । मेयर शाह र कोइरालाको टुनिङ मिल्ने गरेको भएपनि आफै संयोजक भएको समितिबाट नभएको निर्णयलाई भनेको भनेर अनुमति दिन थालेपछि मेयर असन्तुष्ट बनेका हुन् । कोइरालालाई प्रमुख प्रशासकीय अधिकृत नभएको समयमा कार्यवाहक दिने गरिएको थियो । यसअघिका प्रमुख प्रकाशकीय अधिकृत वसन्त अधिकारी र मेयर शाहबीच विवाद भएको समयमा पनि कोइरालालाई नै कार्यवाहक प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।

यसअघिका मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा पनि उनी विवादमा परेका थिए । शाक्य मेयर भएर आएपछि कोइराला शिक्षा शाखामा आएका थिए । तर, मेयर शाक्य र उनको बीचमा विवाद भएपछि कोइराला सरुवा भएर भरतपुर महानगर पुगेका थिए । त्यसपछि उनी बर्दिबास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका थिए ।

शाक्य मेयर भएपछि सिताराम सर शिक्षा शाखामा सरुवा भएर आउनु भएको थियो । पछि उहाँहरुबीच के विषयमा कुरा मिलने भन्ने थाहा भएन । त्यसपछि कोइराला सर सरुवा भएर भरतपुर महानगर पुग्नुभयो । त्यसको केही पछि उहाँ बर्दिबास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि हुनुभयो । बालेन शाह मेयर निर्वाचित भएर आएपछि उहाँ फेरि शिक्षा शाखामा फर्किनु भएको थियो,’ काठमाडौँ महानगरका एक कर्मचारीले  भने ।

रौतहटमा झण्डै ३०० लिटर घरेलु मदिरा नष्ट

रौतहट १६ माघ। रौतहट स्थित प्रहरिले झण्डै ३०० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय गौरको हाताभित्र सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको रोहवरमा प्रहरीले सोमवार साँझ दुईसय ९० लिटर घरेलु मदिरा नष्ट गरेको हो। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा स्थानिय यमुनामाई गाउँपालिका  ४ स्थित प्रहरीले उक्त अवैध घरेलु मदिरा  अन्दाजी २९० लिटर सोमवार बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताईन।

पछिल्लो समय चन्द्रपुर नगरक्षेत्र अन्तर्गत बिभीन्न टोलमा उत्पादित अबैध घरेलु मदिरा महिला व्यवसायिहरुले यात्रुवाहक सवारी साधनमा लुकाई छिपाई सदरमुकाम गौरसम्म पुर्याउने गर्दछ्न्। भारत बिहारमा नीतीश सरकारले मदिरा बिक्री बितरण तथा सेवनमा रोक लगाएपछि बुहारीहरु सीमा संग जोडिएको सहर बजारमा दैनिक मदिरा सेवन गर्न आउनेजाने गर्दछन्।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ। त्यहाँको एउटा अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको छ।

प्रधानमन्त्रीबाछ २०२२ मा पदच्युत गरिएका उनी हाल जेलमै छन्। भ्रष्टाचार आरोपमा उनलाई तीन वर्षको सजाय दिइएको थियो।आफूमाथिका आरोपहरु राजनीतिप्रेरित भएको उनको भनाइ छ।आमचुनावको मुखैमा उनलाई लामो समयका लागि जेल सजाय सुनाइएको हो। 

यसअघि नै उनलाई चुनावमा उठ्न प्रतिबन्ध लगाइएको थियो भने उनको पार्टीको चुनावी चिह्न पनि खोसिएको थियो।

उनीहरुमाथि अमेरिकाका लागि पाकिस्तानी राजदूतले वासिङ्टनबाट इस्लामाबाद पठाएको गुप्त कूटनीतिक सन्देश चुहाएको आरोप लगाइएको छ। पदच्युत हुनुभन्दा एक महिनाअघि मार्च २०२२ मा खानले एक सम्बोधनका क्रममा आफूविरुद्ध विदेशी षड्यन्त्र भइरहेको बताउँदै मञ्चमा एउटा कागजात देखाएका थिए। उनले कुनै मुलुकको नाम नलिए पनि अमेरिकाको चर्को आलोचना गरेका थिए।

अभियोक्ताहरुले खानको सो काम गुप्त दस्तावेज चुहाउनुबराबर रहेको र त्यसले कूटनीतिक सम्बन्ध बिगारेको दाबी गरेका छन्। यो मुद्दा केही महिनादेखि खान रहेकै जेलभित्र खडा गरिएको विशेष अदालतमा सुनुवाइ भइरहेको थियो। जहाँ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जान दिइएको छैन।

भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांक सार्वजनिक, नेपाल १०८औँ स्थानमा

काठमाडौं । नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।

मंगलबार (आज) ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (सिपिआई) २०२३ मा नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको देखिएको हो । 

सार्वजनिक तथ्यांकअनुसार २०२३ मा १०० मा ३५ अंक ल्याएर नेपाल १०८औँ स्थानमा रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा एक अंक थप्दै नेपाल दुई स्थानमाथि उक्लिएको छ ।

अघिल्लो वर्ष नेपालले ३४ अंक पाएर ११०औँ स्थान थियो। जसअनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो प्रगति हासिल गरेको हो ।

आज पनि बढ्यो सुनचाँदीको मूल्य 

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो।

यसअघि सोमबार पनि सुन प्रतितोला ३०० रुपैयाँले बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय २० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।

मुद्दा हेर्न जादै गर्दा उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

पाटन ।उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको अकस्मात निधन भएको छ ।

आज अदालतको तोकिएको मुद्दा  हेर्न जाने तयारीका रहेका उनलाई अचानक हृदयघात भएपछि अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

एक महिनाअघि मात्रै जिल्लाबाट बढुवा भएर उच्चमा पुगेका न्यायाधीश मरासिनीले अस्तिदेखि कार्यभार सम्हालेका थिए । आज ५ नम्बर इजलासमा एकल र ४ नम्बरमा अर्का न्यायाधीश चन्द्रमणि ज्ञावलीसँग संयुक्त पेशी तोकिएको थियो । एकलमा ३ वटा र संयुक्तमा ५ वटा मुद्दा थिए ।

न्यायाधीशको मृत्युपछि उच्च अदालत पाटनको सम्पूर्ण पेशी स्थगित भएको अदालतले जानकारी गराएको छ।

संबैधानिक परिषदले काम नसक्दा महालेखा, कार्यवाहक महालेखा परिक्षक कै भरमा

काठमाडौँ । महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालको कार्यकाल २०८० जेठ ८ गते सकिए सगैआबेदन माग गरिसक्दा समेत नियुक्ति हुन नसक्दा कार्यवाहक महालेखा परिक्षकको भुमिकामा दुइजनाले कार्य सम्पादन गरेर पनि सेवा बाटै बिदा लिइसक्नुभएको छ।अब कार्यवाहक महालेखा परिक्षकमा बामदेब अधिकारीले सेवारत वरिष्ठतम् उपमहालेखा परिक्षकको हैसियतले कार्यवाहकको जिम्मेवारी समाल्नु भएको हो।
बिषय बस्तुमा गहिरो ज्ञान राख्ने अधिकारीको कार्यवाहक जिम्मेवारीले मातहतका कर्मचारीहरूले खुसी व्यक्त गरेका छन्। महालेखा बुझेको भनेको भित्रैका हुन्छ्न यहाँ बाट नै महालेखा परिक्षक नियुक्त हुनुपर्छ भन्ने आवाज उठिरहेको बेला अधिकारीको जिम्मेवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ। कार्यवाहक महालेखा परिक्षक अधिकारीले बस्तुशास्त्रको बिधि पुर्याएर माघ १७ गते बुधवार देखि महालेखा परिक्षकको कार्यकक्षमा प्रवेश गरि थप कार्याभार समाल्ने समाचार जानकारीमा आएको छ।
हाल महालेखापरीक्षकको पद रिक्त छ । यतिबेला कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारीमा उपमहालेखापरीक्षक अधिकारी हुनुहुन्छ । महालेखा परिक्षकको निम्ति आबेदन मागेको ६ महिना बितिसकेको अवस्थामा नयाँ महालेखापरीक्षक सिफारिस हुनुपर्ने तर संबैधानिक परिषदले काम गर्न नपाउदा आगामी महालेखापरीक्षकको होला भन्ने जिज्ञासा महालेखापरीक्षकको कार्यालयका कर्मचारी, लेखा उत्तरदायी अधिकृत तथा सरोकारवालामा उत्पन्न भएको छ ।

महालेखा परिक्षको नियुक्तिका निम्ति कानूनी व्यवस्था
नेपालको संविधानको धारा २४० बमोजिम राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा महालेखापरीक्षकको नियुक्ति गर्ने व्यवस्था छ । संविधानमा मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक उपाधि प्राप्त गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेको वा लेखा परीक्षण सम्बन्धी काममा कम्तीमा बीस वर्ष अनुभव प्राप्त गरेको, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, पैँतालिस वर्ष उमेर पूरा भएको, र उच्च नैतिक चरित्र भएको व्यक्ति महालेखापरीक्षकका लागि योग्य हुने उल्लेख छ ।
संविधानको धारा २४१ अनुसार सबै संवैधानिक निकाय तथा सोको कार्यालय, अदालत, सुरक्षा निकाय लगायतका सबै संघीय र प्रदेश सरकारी कार्यालय तथा स्थानीय तहको लेखा कानून बमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको आधारमा लेखापरीक्षण गर्ने, ५० प्रतिशतभन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व भएको संगठित संस्थाको लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्तिका लागि परामर्श र अपनाउनु पर्ने सिद्धान्तका सम्बन्धमा आवश्यक निर्देशन दिने, महालेखापरीक्षकलाई लेखापरीक्षणको सिलसिलामा लेखासँग सम्बन्धित कागजपत्रहरु जुनसुकै बखत हेर्न पाउने अधिकार हुने, तोकिएका कार्यालय बाहेक अतिरिक्त अन्य कुनै कार्यालय वा संस्थाको महालेखापरीक्षकबाट लेखापरीक्षण गर्नुपर्ने गरी संघीय कानून बमोजिम व्यवस्था गर्न सकिने, लेखापरीक्षण गरिने निकायको लेखा संघीय कानून बमोजिम महालेखापरीक्षकले तोकेको ढाँचामा राखिने लगायतका काम, कर्तव्य र अधिकार महालेखापरीक्षकलाई तोकिएको छ ।
संविधानको धारा २८४ मा प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने उल्लेख छ । ‘संवैधानिक परिषद्ले प्रधान न्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधान बमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ’ सविधानमा उल्लेख छ । मृत्यु भई वा राजीनामा दिई त्यस्तो पद रिक्त भएको अवस्थामा मात्रै रिक्त भएको मितिले एक महिनाभित्र पदपूर्ति हुने गरी नियुक्तिका लागि सिफारिस गर्न सक्ने उल्लेख छ । तर आबेदन मागिएको ६ महिना बितिसक्दा समेत नियुक्ति प्रक्रिया अगाडि बढेको देखिदैन। जसका कारण कार्यवाहकको तेस्रो कार्यकाल अगाडि बढेको छ।

महालेखापरीक्षकका लागि को उपयुक्त ?
नेपाल लेखापरीक्षण सेवाबाट सेवानिवृत्त विशिष्ट श्रेणीका कर्मचारीलाई नभई राजनीतिक दलहरुले आफूसँगको निकटताका आधारमा नेपाल प्रशासन सेवाका पुर्व सचिवलाई महालेखापरीक्षक बनाई पठाउने परम्परा जस्तै बनिसकेको छ । महालेखापरीक्षकको कार्यालयमा लामो समय काम गरी उपमहालेखापरीक्षक पदमा सेवानिवृत्त भएका कर्मचारीलाई वा सेवारत भएकै मध्येबाट महालेखापरीक्षकको जिम्मेवारी दिएमा कार्यसम्पादन उत्कृष्ट हुने सरोकारवाला बताउँछन् ।
महालेखापरीक्षकले लेखापरीक्षणको माध्यमबाट मुलुकको सार्वजनिक स्रोत, साधनको संरक्षण गर्ने साथै सरकारी आम्दानी र खर्च लगायत सरकारका कार्यहरुको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको आधारमा लेखापरीक्षण गर्नुपर्ने हुन्छ । सार्वजनिक निकायको सेवा प्रवाह, आर्थिक क्रियाकलापमा पारदर्शिता र जवाफदेहिता प्रबर्द्धन तथा असल अभ्यासको स्थापनामा महालेखापरीक्षकको महत्वपूर्ण भूमिका रहेको हुन्छ । महालेखापरीक्षकबाट जारी हुने लेखापरीक्षण प्रतिवेदन र नतिजा मार्फत संघीय संसदले आफूद्वारा स्वीकृत नीति तथा कार्यक्रमको कार्यान्वयन र सरकारका समग्र क्रियाकलापहरु सम्बन्धमा संसदीय निगरानी गर्ने प्रचलन रहेको छ । यी जिम्मेवारी पूरा गर्न कार्यरत मध्येबाटै महालेखापरीक्षक नियुक्त गर्दा उपयुक्त र प्रभावकारी हुने विज्ञको धारणा छ । लेखापरीक्षण सम्बन्धी ज्ञानसँगै नेतृत्व क्षमता, विषयवस्तुबारेको बुझाई, इमान्दारिता र व्यवसायिकतालाई आधार मान्नुपर्ने देखिन्छ । नेपाल लेखापरीक्षण सेवामा कार्यरत विशिष्ट श्रेणीका कर्मचारीमध्येबाट सिफारिस गरिएको अवस्थामा उपमहालेखापरीक्षकहरु बामदेव शर्मा अधिकारी विन्दु विष्ट, पदम पौडेल सम्मले महालेखा परिक्षक बन्न पाउने हक सुरक्षित रहेको छ।
बैशाख सम्म उपमहालेखा परिक्षक पद खाली
बैकुण्ठबहादुर अधिकारी बैशाखमा उपमहालेखा परिक्षक बन्नुहुने बताइन्छ । फाल्गुन मा ५ वर्ष पुगे पनि श्रीकुमार राइ तालीम नलिएको कारण सचिब बन्न नपाउने भएका छन्। अब तालिम लिए पनि पुरा गर्न ६ महिना अबधि लगाउनुपर्ने हुन्छ । बैशाखमै तालिम पुरा गरेका अधिकारीको सहसचिव भएको पाँच वर्षको अबधि पुराभएकोले उहाँ नै बैशाख देखी उपमहालेखा परिक्षक बन्नुहुने छ। अब बैशाख सम्म परिक्षक कार्यालयमा एकजना उपमहालेखा परिक्षक खाली रहने बुझिएको छ।
कन्फर्म महालेखा परिक्षक पाउन अझै सहज देखिदैन ।
सबैधानिक ऎनको समितिमा छलफल भएर सांसद मा पेस भैसकेको छ। सत्ता पक्ष प्रतिपक्षी बीचमा छलफल चलिरहेकोले तत्काल नै सहमति जुटने जस्तो देखिदैन ।
कानुनी प्राबधान अनुसार यो नियुक्ति प्रक्रिया अझै लम्बिने संभावना बढेर गएको छ।
भागबन्डा भन्दा साझा ब्याक्तित्व को अपेक्षा
सेवानिवृत्त भइसकेका उपमहालेखापरीक्षकहरु पनि सो पदका लागि योग्य हुन्छन् ।
राजनीतिक आस्थाका आधारमा बाहिरको व्यक्तिलाई महालेखापरीक्षक नियुक्ति गर्दा सरकारी निकायको अन्तिम लेखापरीक्षण तथा कार्यालयको कामकारवाही प्रभावकारी नहुने निश्चित छ । महालेखापरीक्षकलाई आर्थिक अनुशासन कायम गराउने गम्भीर जिम्मेवारी हुने हुँदा स्वच्छ छवि भएको, विगतमा भ्रष्टाचार, सेटिङ जस्ता अनियमिततामा संलग्न नभएको व्यक्ति नियुक्त गर्नु अपरिहार्य छ। संघ,प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालय, निकाय,सार्वजनिक संस्थानको लेखापरीक्षण गर्ने जस्तो गहन अभिभारा निर्वाह गर्ने संवैधानिक अंगको प्रमुख सबैको विश्वासयोग्य हुनु पनि उत्तिकै जरुरी छ । संवैधानिक जिम्मेवारी पूरा गर्नका लागि ४ विभाग, १८ महानिर्देशनालय तथा ३५ निर्देशनालयमा कार्यरत करीब ६०० जना जनशक्तिलाई प्रभावकारी ढंगले परिचालन गर्ने कार्य आफैँमा चुनौतिपूर्ण छ । सर्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय संगठन (इन्टोसाई्र), विश्वका १९३ सर्वोच्च लेखापरीक्षण संस्था तथा अन्तर्राष्ट्रिय लेखापरीक्षण समुदायसँग सम्बन्ध विस्तार, समन्वय र अन्तर्क्रीया गरी नेपालको सर्वोच्च लेखापरीक्षण संस्थालाई विश्वमा परिचित गराउन सक्ने , राजनीतिक दलको कार्यकर्ताका रुपमा काम गर्ने भन्दा इमान्दारीपूर्वक लेखापरीक्षण गर्न गराउन सक्षम व्यक्तिलाई महालेखापरीक्षकमा छनोट गर्न आवाज उठे सगै महालेखापरीक्षक शर्माको पदावधि समाप्त भए लगत्तै उपमहालेखापरीक्षक राममाया कुँवरले कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सुरु गर्नुभएको थियो। यसै सन्दर्भमा कार्यवाहक महालेखापरीक्षकको शृङ्खलाबद्ध चरण चलिरहदा श्रावण २४ गते अवकास भए सगै कुँवरपछि श्रावण २५ बाट अर्का उपमहालेखापरीक्षक महेश्वर काफ्लेले माघ १२ गते आफनो छोटो समयमै कार्यवाहकको पद सगै सेवा समेत सकीएको थियो ।
त्यस्तै माघ १२ गते काफ्लेको सेवा सकिए सगै अधिकारीले काम थाल्नु भएको हो। अधिकारीले महालेखा परिक्षकको कक्षमा बस्तुशास्त्रको बिधि पुर्याएर १७ गतेदेखि प्रवेश गरि थप कार्याभार समाल्ने समाचार जानकारीमा आएको छ। अब कार्यवाहक महालेखापरीक्षक अधिकारीको भने झन्डै २२ महिना लामो उमेर हद भएकाले अब कार्यवाहक महालेखापरीक्षक अधिकारी नै महालेखा परिक्षक बन्ने सम्भावना बढेर गएको छ भनिन्छ ।तर यो बीचमा संबैधानिक प्रक्रिया बाट नियुक्ति नभएमा २२ महिना पछि उपमहालेखापरीक्षक विन्दु विष्टले तेस्रो महिला कार्यवाहक महालेखापरीक्षककाे इतिहास रच्ने सम्भावना बढेर गएको चर्चाले यतिबेला महालेखा गर्माएको छ ।
महालेखा परिक्षकका निम्ति भाद्र २ गते सम्म आएका १६ जना उमेदवारको प्रक्रिया के होला ?
संवैधानिक परिषदले साउन १८ गते महालेखा परीक्षकसहित चार संवैधानिक निकायमा रिक्त पदपूर्ति प्रकृया थालेको थियो ।
साउन २१ गते परिषदले आवेदन अवधि १५ दिन तोक्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइटमा राखिएको फारम भरेर बुझाउन भनेको थियो । आवेदन अवधि भदौ २ गते सम्म आइपुग्दा डेढ दर्जन जतिको आबेदन परेको थियो ।तर ६ महिना बितिसक्दा समेत महालेखाले महालेखा परिक्षक पाउन सकेको छैन। यो बीचमा राममाया कुँवर ,महेश्वर काफ्लेले कार्यवाहक महालेखा परिक्षको भुमिकामा रहेर रिटायर्ड समेत भैसकेका छन्।
आबेदन मागे सगै तोकिएको अवधिभित्र महालेखा परीक्षकका लागि १६ जनाले आवेदन दिएका थिए। तोयम राय, शिशिर ढुंगाना ,महेश्वर काफ्ले र वामदेव शर्मा अधिकारी गरी तीनजना बहालवाला सचिव नै यो पदका आवेदक थिए । पूर्वसचिवहरू , गोपीनाथ मैनाली, रामशरण पुडासैनी, हरि बस्याल, शंकर खरेल, राममाया कुँवर, रामप्रसाद थपलिया र बाबुराम गौतम,रामु डोटेल ले पनि महालेखा परीक्षकमा आवेदन दिएका छन् ।
यसैगरी, दुईजना बहालवाला सहसचिवहरू बैकुण्ठबहादुर अधिकारी र चन्द्रकान्त भण्डारी पनि महालेखा परीक्षक पदका प्रत्यासी हुन् । यो पदमा आवेदन दिएका दुई चार्टर्ड एकाउन्टेन्टस सुबोधकुमार कर्ण र हरि सिलवाल समेत हुन् ।यसरी लामो समय गुजार्नु पर्दा महालेखा परिक्षकको आकांक्षा बोकेर आबेदन दिनेहरूको जोस जागरमा समेत आलस्यपन आउन थालेको यो रेसमा धाउनेहरुको गुनासो आउन थालेको छ।

भिजिट भिसाको सेटिङ : अध्यागमनका फरार कर्मचारी सहित २२ जना आरोपी

काठमाडौँ । सरकारी कागजात किर्ते गरी संगठित रूपमा भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले २२ जनाविरुद्ध मुद्दा चलाउने रायसहितको अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । तीमध्ये ९ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा एकै सिफ्टमा कार्यरत अध्यागमन अधिकृतहरू छन् ।

लिखत किर्ते र संगठित अपराध गरेको आरोपमा आइतबार पेस भएको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता हुने अन्तिम चरणमा रहेको प्रहरीले जनाएको छ । अध्यागमन कार्यालयको मिलेमतोमा संगठित रूपमा भएको भिजिट भिसासम्बन्धी ‘सेटिङ’को प्रहरीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन बुझाएको छ । नौ अध्यागमन कर्मचारीसहित २२ जनालाई प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको छ । १० जनालाई पक्राउ गरेकोमा यसमा संलग्न देखिएका थप १२ जनालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

भिजिट भिसामा सेटिङ मिलाएकालाई प्रहरीले पक्राउ गर्ने सूचना पाएसँगै उनीहरू विगत २ महिनादेखि बिदा लिएर फरार छन् । अध्यागमनका अधिकृत तथा कर्मचारीहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो फरार रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 

फरार कर्मचारीहरूबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेर विवरण माग गरिएको काठमाडौं प्रहरी परिसरका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक अंगुर जीसीले जनाए । गत मंसिर १८ मा अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागजात किर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । उनको साथबाट रामेछाप दोरम्बा गाउँपालिका–७ का ट्राभल एजेन्ट पदम लामाले दिएको दुई लाख रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले लामासहित अर्का ट्राभल एजेन्सी सञ्चालक काभ्रे घर भई गोकर्णेश्वर–४ बस्ने मनोज तामाङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानमा खड्का र तामाङ मिलेर भिजिट भिसामा विदेश उडाइएका दर्जनौं युवाको सूची भेटिएको थियो ।

गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले चितवन भरतपुर–८ की गीता शाह, काठमाडौं महानगर–३२ का अरुण दाहाल, सिराहा मिचैंया नगरपालिका–१२ का सरोजकुमार यादव, रामेछाप दोरम्बा गाउँपालिका–७ का पदम लामा, स्याङ्जा चापाकोट–१ का रामप्रसाद भण्डारी, वालिङ नगरपालिका–५ रविन अर्याल, गुल्मी सत्यावती गाउँपालिका–७ का दिनेश ज्ञवाली, ललितपुर महालक्ष्मी नगरपालिका–४ का विनोद कार्की, सिनामंगलमा होटल सञ्चालक केदारबहादुर खड्का, बारा सिमरा–१५ की कौशिला मगर, सोलुखुम्बु दूधकोशी–४ की लक्ष्मी राई, सिन्धुली कमलामाई–५ की रीता दमाईलाई पनि प्रतिवादी बनाएको छ । तीमध्ये खड्का, मगर, राई, दमाई पनि फरार छन् ।

ट्राभल एजेन्सीमार्फत रकम लिएर नक्कली कागजात बनाउनेदेखि उनीहरूलाई विमानस्थलबाट पठाउने प्रक्रियामा अध्यागमन कर्मचारीहरूकै संलग्नता रहेको प्रहरी अनुसन्धानमा पाइएको छ । यसअघि उक्त काममा प्रहरी र नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारीको समेत संलग्नता रहेको भेटिएको थियो । उक्त अवैधानिक काम गरेबापत दैनिक एक करोड रुपैयाँसम्म उठाउने गरेको प्रहरीको दाबी छ । ‘त्यतिबेला भिजिट भिसामा विदेश जाने प्रावधान कडा थियो,’ एक प्रहरी अधिकृतले भने, ‘प्रहरी रिपोर्ट, शैक्षिक प्रमाणपत्रलगायत कागजात नक्कली बनाएर विदेश पठाउने गरिएको रहेछ ।’ ती कागजात त्रिभुवन विमानस्थलमा देखाउनका लागि मात्रै नक्कली बनाउने गरिएको ती अधिकृतले बताए । प्रहरीका अनुसार विमानस्थलको चेकजाँच पार गरेपछि ती कागजात च्यातेर फाल्ने गरिएको थियो ।

अधिकृत खड्का पक्राउ पर्नुअघि पनि नक्कली कागजात बनाएर भिजिट भिसा जारी गरी विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा भूतपूर्व असई र विमानस्थलमा कार्यरत एक जवानसहित १६ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो । उक्त मुद्दाको अनुसन्धानमा अध्यागमन अधिकृत खड्काले भिजिट भिसाका नाममा मानव बेचबिखन गरेको आरोपमा उजुरीसमेत परेको थियो । सोही उजुरीका आधारमा छानबिन र अनुसन्धान गर्दै जाँदा अध्यागमनका अधिकृतसहित गिरोह नै सक्रिय रहेको पाइएको कार्यालयका ती प्रहरी अधिकारीले जनाए ।

खड्काको पक्राउसँगै प्रहरीले कर्मचारीमाथि अनुसन्धान अघि बढाएपछि पुस १८ मा अध्यागमनका अधिकृतहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए । प्रहरीले कर्मचारीलाई अपराधी जस्तो व्यवहार गरेकाले त्यस्तो अवस्थामा काम गर्न नसक्ने भन्दै उनीहरूले १५ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए । त्यसयता प्रहरी र अध्यागमन कर्मचारीबीच तिक्तता बढ्दै गएको गृह मन्त्रालयका अधिकारीहरूको भनाइ छ । भिजिट भिसा प्रदान गर्ने व्यवस्थामा कडाइ गराएर रकम असुली भइरहेको गुनासो बढेपछि माघ ९ मा गृह मन्त्रालयले विदेश प्रस्थान गर्ने नीतिलाई लचिलो बनाउँदै नयाँ कार्यविधि जारी गरेको छ । २०७८ चैत २६ को सचिवस्तरीय निर्णयबाट जारी कार्यविधि खारेज गर्दै गृहमन्त्री श्रेष्ठले भिजिट भिसासम्बन्धी नयाँ कार्यविधि जारी गरेका थिए ।

गत शुक्रबार विमानस्थलभित्रै हात हालाहाल गरेको भिडियो सार्वजनिक भएपछि अध्यागमनका कर्मचारी र प्रहरीबीचको असमझदारी सतहमा आएको थियो । गृह मन्त्रालयले उक्त घटनाको छानबिन गर्न समितिसमेत गठन गरिसकेको छ । राजनीतिक दलनिकट कर्मचारी संघ/संगठनले भने विमानस्थलबाट प्रहरीलाई हटाउनुपर्ने र हातपातमा संलग्न प्रहरीलाई विमानस्थलबाट नहटाए देशभरका अध्यागमनमा हडताल गर्ने चेतावनी दिएका छन् । चेकजाँचमा कडाइ गर्दा कर्मचारीमा असन्तुष्टि देखिएको प्रहरी उच्च अधिकारीहरूको बुझाइ छ । अध्यागमनका कर्मचारी र प्रहरीबीच शुक्रबार भएको हातपातको घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य छन् । प्रहरीले विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानलाई हातपात गरेको कर्मचारीको भनाइ छ भने ड्युटीमा रहेका असई प्रकाश चौधरी र एक प्रहरी जवानलाई मोक्तानसहितका कर्मचारीले कुटपिट गरेको प्रहरीको दाबी छ । सीसी क्यामरा फुटेजमा मोक्तान र प्रहरी जवानबीच भएको वादविवाद र हातपात भएको देखिन्छ । यसमा अन्य अध्यागमन कर्मचारी र प्रहरीसमेत सामेल देखिन्छन् ।

आजदेखि सरकारी कार्यालय पाँच बजेसम्म खुला रहने

काठमाडौँ । मङ्लबार (आज)देखि देशभरका सम्पूर्ण सरकारी कार्यालय साँझ पाँच बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो । 

सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । 

शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ । सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।