१० मेगावाटसम्मका जलविद्युत आयोजनाको पीपीए खुल्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका साना जलविद्युत् आयोजनाको विद्युत् खरिद विक्री सम्झौता (पीपीए) दर खुलाएको छ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३ औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनासँग जतिबेला पनि पीपीए गर्ने निर्णय गरेको हो ।

१० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको विद्युत् ‘लेऊ या तिर’ प्रावधानका आधारमा खरिद गरिने छ । आयोजनाहरुको विद्युत् सुक्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)का लागि हाल कायम रहेको दर क्रमश : रु ८.४० र ४.८० प्रति युनिटमा खरिद हुने छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय प्राकृतिक स्रोतको अधिकतम प्रयोग र स्वदेशी साना लगानीकर्ताहरुको लगानी जलविद्युत क्षेत्रमा प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाहरुमा उत्पादन सम्मिश्रणका आधामा तय गरिएको पीपीए सीमा लागू नहुने व्यवस्था गरिएको बताए ।

‘कोटाका कारण १० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको पीपीए हुन सकिरहेको थिएन, अब १० मेगावाटसम्मका आयोजनाहरुलाई उक्त कोटा लागू नहुने भएकाले जहिले र जति क्षमताको पनि पिपिए गर्न सकिन्छ, यसले स्वदेशी साना लगानीकर्ताहरुलाई प्रोत्साहन गर्ने छ’, कार्यकारी निर्देशक घिसिङले भने ‘अब ग्रिड आबद्ध सम्झौता भएका र हुने १० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको पीपीए जति र जहिलेपनि गर्ने छौं ।’

१० मेगावाटसम्मका ८९ वटा आयोजनाहरुले पीपीएका लागि प्राधिकरणमा निवेदन दिएका छन् । आयोजनाहरुको क्षमता ३५१ मेगावाट छ । त्यसमध्ये १९५ मेगावाटका ४४ आयोजनासँग ग्रिड आवद्ध सम्झौता सम्पन्न भइसकेको छ ।

दीर्घकालिन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्धेश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत प्रणालीमा जलाशययुक्त आयोजनाको २५ प्रतिशत, पिकिङ आरओआरको ३० प्रतिशत, आरओआरको ४५ प्रतिशत अंश रहने गरी उत्पादन सम्मिश्रण तय गरिएको थियो । सोही आधारमा पीपीएको सीमा तय गरिएको थियो । आरओआर आयोजनाहरुका लागि तय गरिएको अर्थात ६७५० मेगावाट सीमा पूरा भइसकेकाले १० मेगावाटसम्मका आयोजनाको समेत पीपीए हुन सकिरहेको थिएन । १० मेगावाटसम्मका अधिकांश आयोजनाहरु आरओआर छन् । प्राधिकरणले हालसम्म ९२०० मेगावाटको पीपीए गरिसकेको छ ।

प्राधिकरण सञ्चालक समितिले पीपीए भइसकेका जलविद्युत आयोजनाहरुको क्षमताबृद्धि गरिएमा थप हुने विद्युत् खरिद गरिदिने निर्णय गरेको छ । प्राधिकरणले आयोजनाको जडित क्षमता २५ प्रतिशतसम्म बृद्धि भएमा पीपीएको सीमा लागू नहुने निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको डिजाइन परिवर्तनलगायतका कारण जडित क्षमताको २५ प्रतिशतसम्म अभिवृद्धिबाट उत्पादन हुने विद्युत् ‘लिऊ वा तिर’ प्रावधान राखी पीपीए संसोधन गरिने बताउनुभयो । ‘२५ प्रतिशतसम्म क्षमता अभिबृद्धि भएमा ‘लिऊ वा तिर’ र त्यसभन्दा बढी भएमा पुरानै ‘लिऊ र तिर’को व्यवस्था लागू हुन्छ, हाल गरिएको व्यवस्थाले आयोजनाको क्षमता अभिबृद्धि हुनुका साथै आयोजनाहरुलाई लगानी जुटाउनसमेत थप सहज बनाउने छ ।’

प्राधिकरणले सौर्य जलविद्युत आयोजनासँग गरिने पीपीएको सीमा बढाएको छ । प्राधिकरणले सौर्य आयोजनाहरुको पीपीए प्रतिस्पर्धाबाट गर्दै आएको छ ।

प्राधिकरणले हाल कायम रहेको जडित क्षमता र पीपीए भइसकेका आयोजनाहरुलाईसमेत समावेश गर्दा हुने राष्ट्रिय ग्रिडको कुल क्षमताको १० प्रतिशतसम्मको सीमामा रहेर प्रतिश्पर्धाका आधारमा सौर्य ऊर्जाको पीपीए गर्ने छ । यसअघि राष्ट्रिय ग्रिडको जडित क्षमताको १० प्रतिशतसम्ममा सीमामा रहेर सौर्य आयोजनाहरुको पीपीए हुँदै आएको थियो ।

सौर्य आयोजनाको विद्युत् प्रतिश्पर्धाबाट खरिद गर्न प्रति युनिट ५ रुपैयाँ ९४ पैसा अधिकतम आधार दर तय गरिएको छ । प्रतिश्पर्धामा उक्त दरभन्दा जसले कम कबोल गर्छ त्यही आयोजनासँग पीपीए गरिने छ ।

‘नयाँ व्यवस्था बमोजिम करिब ८ सय मेगावाटका सौर्य आयोजनाहरुको पीपीए गर्न सकिने छ, हाम्रो स्वामित्वमा रहेका २००, १३२ र ३३ केभी सबस्टेसन नजिक निर्माण हुने सौर्य आयोजनाहरुको पीपीए गर्ने गरी प्रतिश्पर्धा गराउने छौं, जलविद्युत आयोजनाहरु निर्माण हुन केही समय लाग्ने तर सौर्य आयोजनाहरु एक/डेढ वर्षभित्रमा आउने भएकाले हिउँदको बढ्दो विद्युत् मागलाई पूरा गर्न ग्रिडमा आवद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिइएको हो ’,कार्यकारी निर्देशक घिसिङले भने ‘यसबाट सबस्टेसन वरिपरी रहेका जग्गाको पनि प्रयोग हुने छ ।’

प्राधिकरणले प्रतिश्पर्धाबाट हालसम्म १७५ मेगावाटको पीपीए गरेको छ । त्यसमध्ये १०६ मेगावाट सञ्चालनमा आएका छन् । थप ३० मेगावाटका सौर्य आयोजनाहरु पीपीए गर्ने प्रक्रियामा रहेका छन् ।

निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले बुधबार सूचना जारी गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली  https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना :

शेयर बजारमा झिनो अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार झिनो अंकले बढेर बन्द भएको छ । यस दिन सो उपसमूहको परिसूचक साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। आज नेप्से ५.९१ अंकले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा बन्द भएको हो । ४ अर्ब २५ करोड २७ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

 आज कारोबार भएका कम्पनीमध्ये १३२ वटाको बढेको छ भने १११ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल बालाजु लिमिटेड, पाँचथर पावर कम्पनी, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड रहेका छन् । यी कम्पनीहरुमा आज सकारात्मक सर्किट लागेको छ । 

त्यस्तै, पिपुल्स पावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५.८१ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको १७ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।     

यस दिन १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ६.५६ अंक बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक २.३८ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक १.०७ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेका हुन्।

सुनील र विकललाई अनुसन्धानका लागि थप १० दिन राख्न अदालतको अनुमति

काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई १० दिन थुनामा राख्ने अनुमति दिएको छ।

विदेशमा सम्पत्ति लुकाएको आरोपमा पक्राउ परेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । विशेष अदालतले पौडेलद्वयलाई थप १० दिन हिरासतमा राख्न बुधवार अनुमति दिएको हो । 

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार पौडेलद्वयलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको छ । यसअघि ३ पटक ७ दिनका दरले २१ दिन हिरासतमा राख्न अनुमति दिइएकामा बुधवार थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको हो । 

विदेशको बैंकमा रकम राखेको प्रमाण भेटिएपछि पौडेलद्वयलाई गत माघ १० गते अख्तियारको टोलीले पक्राउ गरी हिरासतमा राखेको थियो ।  सेक्युरिटी प्रिन्टिङ घोटाला प्रकरणमा मुछिएपछि उनीहरू निलम्बनमा परेका थिए ।

त्रिकोणात्मक शृंखलाका लागि नेपाली टिमको घोषणा को–को परे टिममा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी मेन्स सीडब्लूसी लिग–टुअन्तर्गतको त्रिकोणात्मक (नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स) शृंखलाका लागि बुधबार नेपाली टिमको घोषणा गरेको छ । रोहित पौडेलको नेतृत्वमा रहेको टिममा १५ सदस्य छन् र त्यसमा अनिल शाह र देव खनाललाई पनि समावेश गरिएको छ ।

टिममा परेका अन्य खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ छन् ।

त्रिकोणात्मक शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स छन् । नेपालले बिहीबारको आफ्नो पहिलो खेलमा नामिबियाको सामना गर्नेछ । शनिबारको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग भिड्ने छ ।

यस्तो छ तपाईंको २ फाल्गुन २०८०, बुधबार आजको राशिफल

मेष : दिन राम्रो छ। श्रीपञ्ची परेकाले सरस्वतीको पूजा गर्नाले शिक्षामा झुकाव रहने छ। सामाजिक सम्मान प्राप्त हुनेछ। परिवारमा शान्ति मिल्नेछ। व्यवसायमा फाइदा हुनेछ।

वृष : व्यापारमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक सेवाको क्षेत्रमा सम्मान मिल्नेछ। परिवारसँगको सहयात्रा रमाइलो बन्नेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ।

मिथुन : शिक्षा क्षेत्रको लगानीबाट नाम र दाम प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ। परिवारमा भने विश्वासको खडेरी पर्नेछ।

कर्कट : झुटा आरोप लाग्नसक्छ। विरोधका आवाज लगातार सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा बढी माया देखाउनाले धोखा हुनसक्छ। प्रेम सम्बन्धमा खटपट हुनसक्छ।

सिंह : आज उत्तरको यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगरे जटिल स्वास्थ्य समस्या देखिनसक्छ। परिवारमा धेरै नबोल्नु फाइदा हुनेछ।

कन्या : दैनिकी राम्रो छ। गुरुबाट असहयोग रहे पनि कर्मको फल भने न्यायपूर्वक प्राप्त हुनेछ। विद्यामा उन्नति हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्ध सहज देखिन्छ।

तुला : सन्तानको तर्फबाट खुशी मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारको साथ रहनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध दरिलो बन्नेछ।

वृश्चिक : धेरै मानिससँगको असन्तुष्टिमै दिन जानेछ। सञ्चित धन खर्च हुनेछ। दाजु, बन्धु र परिवारबाट साथ र सहयोग रहनेछ। आफन्तसँग भेट हुनेछ। व्यापार र लगानीमा हात नहाल्नु राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। नयाँ ठाउँको यात्रा रमाइलो बन्नेछ। खर्च बढ्ने योग रहेको छ। मित्रबाट सहयोग मिल्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त गर्ने दिन छ।

मकर : तपाईंलाई प्रहार गर्ने साथीबाट जोगिनु पर्नेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : नराम्रो बोलेकै कारण साथी टाढिन सक्ने योग छ। लगानी भए शिक्षामा सफलता, स्वास्थ्यमा लाभ मिल्नेछ। व्यापारमा आम्दानी हुनेछ। परिवारमा भने मनमुटाव बढ्ने देखिन्छ।

मीन : चन्द्रमा दाहिना छन्। परिवारबाट सुख प्राप्त हुनेछ। समाजमा प्रखर वक्ता बन्ने अवसर देखिन्छ। आर्थिक उन्नति हुनेछ। वैदेशिक क्षेत्रको लागनीबाट फाइदा हुनेछ।

७८ जना एसपीको सरुवा, को कहाँ पुगे ?(नामावलीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ । प्रहरी  महानिरीक्षकको यही फागुन १ गतेको निर्णय अनुसार एसपी सरुवा गरिएको हो।

फागुन महिनादेखिकै तलब, भत्ता समेत हाल दरबन्दी भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको मानव श्रोत विकास विभागले जनाएको छ ।

पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका– ६ मा मंगलबार भएको जिप दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाइएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका टोमबहादुर पुनले जानकारी दिए । दुर्घटनास्थलमा खटिएका प्रहरीले भने जिल्लाको टोली पुगेपछि मात्रै मृतकहरुबारे जानकारी दिने बताएको छ ।

घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

ओलीको आरोपः जनयुद्ध प्रधानमन्त्री बनेर सत्ता कब्जाका लागि मात्रै थियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन्। मंगलवार काठमाडौँमा आयोजित मानवअधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पछिल्ला गतिविधि हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने बताए। उनले राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको बताए।

उनले सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ? भन्दै प्रश्न गरे। उनले जनताले आवाज राख्न र संगठित हुन पाउने अधिकार सो बेलामा पनि रहेको भन्दै जनयुद्धको औचित्य नरहेको जिकिर गरे। उनले हिंसा किन गरेको थियो भन्नेकुरा हालसम्म पनि पुष्टि गर्न नसकेको उनले बताए। उनले युद्धका पीडितहरुले हालसम्म पनि न्याय नपाउनु दुःखद् भएको बताए।

उनले युद्धका पीडितहरूले हालसम्म पनि न्याय नपाउनु दुःखद भएको बताए। उनले भने, ‘हामीले साह्रै जटिल अवस्था पार गरेर आयौँ। देशमा हिंसा र द्वन्द्व किन र केका लागि भयो? त्यसको पुष्टि कसैले गर्न सकेको छैन। संविधानले बोल्ने र संगठित हुने अधिकार दिएको थियो।

आफ्ना कुरा राख्ने अधिकार दिएको थियो, हिंसा किन गर्नुपर्‍यो, त्यो पुष्टि अहिलेसम्म कसैले गर्न सकेको छैन। त्यस्तोमा हिंसा रहर हुन, लहड हुन सक्दैन। हिंसा शुरु गरेको २०५२ साल र ०६३ सालमा आइपुग्दा केमा फरक परेको थियो ? के कारणले फेरि त्यही व्यवस्था, त्यही प्रणालीमा आउनुपरेको थियो। त्यही संसदमा नलडीकन हिस्सा लिइयो। चुनाव नलडी सरकारमा पुगियो अनि हिंसा छोडियो।’

अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून १८ वर्षसम्म नटुंगिनु बिडम्वना भएको बताए। उनले हिंसा मचाउनेहरू सरकारमा पुगेर शासक भइसक्दा समेत पीडितलाई पीडामै राख्नु कतिसम्मको न्यायसंगत हो ? भन्ने प्रश्न गरे। उनले लोकतन्त्र काँग्रेसलाई मात्रै आएको बताए। ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्नेहरू सँगै सरकारमा रहेको वेला किन शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसकेको भन्दै प्रश्न गरे।

कान्ति बाल अस्पतालको फोहोर संकलनमा महानगरको रोक

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर संकलन तथा ढुवानीमा रोक लगाएको छ।महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको हो।

महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा आज अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको हो ।

अरूलाई नमुना भएर देखाउनुपर्ने अस्पतालहरू आफैंले कमजोरी गरेको देखियो, अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो, यो गलत प्रक्रिया हो,’ उपप्रमुख डंगोलले भनिन्, ‘रोग उपचार गर्न आउने ठाउँ नै रोग उत्पादन स्थल बन्नु हुँदैन, यसलाई व्यवस्थापन गर्ने दायित्व महानगरपालिका एक्लैको होइन, अस्पतालहरूले आफूलाई स्वच्छ र स्वास्थ्य सेवा प्रवाह भएको प्रमाणित गराउनु पर्छ।’’
‘फरक प्रकृतिको फोहोर राख्न रङ्ग संकेतको पालना भएको पाइएन । यसबाट हानीकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिएपछि अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनु पर्ने अवस्था आएको हो ।’ वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्नुहुन्छ, ‘स्रोतमा फोहोर छुट्टिएको, हानीकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुन प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको एकिन नहुञ्जेल फोहोर उठाउँदैनौँ ।’

अस्पतालले हानीकारक फोहोर निर्मलीकरण गर्नका लागि उपकरण जडान गरेको छ । यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउनु पर्ने टोलीले सुझाव दिएको छ ।

आज नै महाराजगञ्जमा भएको इन्टरनेशनल फ्रेन्डसिप चिल्ड्रेन हस्पिटलको अनुगमन भएको छ । अस्पतालले स्रोतमा फोहोर वर्गीकरण गर्ने अभ्यास व्यवस्थित गरेको पाइयो । स्रोतबाट संकलन भएको फोहोर प्रशोधन कक्षमा पुगेपछि एकै ठाउँमा हुने गरेको देखियो । हानीकारक फोहोर निर्मलीकरणका लागि राखिएको अटोक्लेभ मेसिन सञ्चालन भएको देखिएन । मेसिनमाथि धुलो जमेको थियो ।

यसपछि फोहोर संकलन गर्ने स्थान पनि व्यवस्थित थिएन । यसरी हेर्दा स्रोत फोहोर वर्गीकरण राम्रो भए पनि नतिजा राम्रो थिएन।
अनुगमन टोलीले अस्पताललाई वर्गीकरण भएको फोहोर प्रकृतिअनुसार व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एक शिक्षिकाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक विन्दु गौतम शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पोखरा महानगरपालिका वडा नं ८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी शिक्षिका विन्दु गौतम शर्माविरुद्ध आरोप पत्र दायर गरिएको हो ।

शर्माले माध्यमिक शिक्षा परिषद्‍, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरु पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि भएकोले कारबाही गर्न आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएकोले सोही ऐन बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रबक्त नरहरि घिमिरेले बताए ।

आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म

काठमाडौं । अध्यागमन विभागले आज फागुन १ गतेदेखि सेवा अवधिको समय बढाएको छ । विभागले आजदेखि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हप्ताको सातै दिन सेवा दिने जनाएको छ । यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएको थियो ।

स्वदेश तथा विदेशमा रहेकाहरूलाई सहज र छिटो सेवा प्रवाह गर्नका लागि समय अवधि थप गरिएको विभागले जनाएको छ । सहज र छिटो भिसा जारी भयो भने नेपालमा पर्यटक आगमन पनि बढ्ने उनको विश्वासका साथ हप्ताको सातै दिन काम गर्ने गरी व्यवस्था मिलाइएको विभागको भनाई छ ।

विभागका निर्देशक रेवती रमण शर्माले जारी गरेको सूचनामा लेखिएअनुसार थप गरिएको समयमा नेपाल आगमन पूर्व ई-भिसाको लागि आवेदन र स्वीकृति, पर्यटक भिसा थप, गैह्रपर्यटक भिसाबाट पर्यटक भिसामा रूपान्तरण, गैह्रपर्यटक भिसा जारी र ट्रेकिङ परमिट जारी गर्ने काम हुने छ । ई-भिसाको लागि आवेदन तथा प्राप्ति प्रक्रियाका लागि विभागको वेबसाइटमा अपलोड गरिएको तरिका हेर्न विभागले भनेको छ ।

बिहान १० बजेदेखि अघि र साँझ ५ बजेपछि भने भिसा शुल्क भुक्तानी अनलाइन प्रणालीमार्फत मात्र गर्न सकिने सूचनामा उल्लेख छ । बैंकहरु बन्द भइसक्ने भएकाले अनलाइनमार्फत भुक्तानी हुने भनिएको महानिर्देशक तामाङले बताए । उनका अनुसार जुनसुकै बैंकको एपबाट भुक्तानी गर्न सकिन्छ । फोन पे, कनेक्ट आईपीएस र वालेटतर्फ खल्ती र ई-सेवाबाट भुक्तानी गर्न मिल्ने विभागले जनाएको छ ।

थप गरिएको समयमा काम गर्नका लागि अहिले कायम जनशक्तिबाटै व्यवस्था मिलाइएको छ । थप समयमा काम गरेबापत कर्मचारीहरूले अर्थ मन्त्रालयको नियमअनुसारको अतिरिक्त भुक्तानी पाउने छन् ।

हेर्नुहोस् तपाईंको १ फाल्गुन २०८०, मंगलवार आजको राशिफल

मेष : दिन राम्रो छ। गणेशको पूजा गर्नु फाइदाजनक हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। हरेक क्षेत्रको लगानीबाट फाइदा मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : नयाँ साथी र नयाँ ठाउँको भ्रमणले दिन रमाइलोसँग बित्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथी र परिवारको साथ मिल्नेछ।

मिथुन : सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने दिन छ। मेरो भन्नुभन्दा हाम्रो अभियानमा लाग्नु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। दिन रमाइलोसँग बित्नेछ।

कर्कट : लामो यात्रा नगर्नु राम्रो हुन्छ। यात्रा गर्नैपर्ने भए पश्चिम नजानु उत्तम हुन्छ। वैदेशिक क्षेत्रको लगानीमा प्रयास गर्नु फाइदाजनक हुनेछ। धेरै बोल्ने साथी सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ। परिवारको सहयोगले दिन रमाइलो हुनेछ।

सिंह : आफूले आफूलाई महत्त्व दिन बिर्सिएमा धेरै अवरोधको सामना गर्नुपर्ने हुनसक्छ। सामाजिक र आर्थिक क्षेत्रमा नाम र दाम एकसाथ हुने देखिँदैन। साथीभाइ र परिवारले भने आज तपाईंलाई साथ दिने योग छ।

कन्या : समय राम्रो छ। व्यापारमा नाफा कमाउने योग छ। समाजमा सम्मान प्राप्त हुनेछ। वैदेशिक लगानीमा आर्थिक उन्नती हुनेछ। चिसोबाट जोगिनु राम्रो हुन्छ। शिक्षामा सफलता मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

तुला : अचानक पेट सम्बन्धी समस्याले दुःख दिनसक्छ। आफ्नो स्वास्थ्यको ख्याल आफै गर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानी सफल हुनेछ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। आफ्नो निन्दा सुन्नुपर्ने हुनसक्छ। गलत काम खोज्ने साथी सक्रिय भएकाले साथीसँग सचेत हुनुपर्ने देखिन्छ। शिक्षाबाट फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

धनु : दिन राम्रो छ। सामाजिक क्षेत्रमा प्रगति हुनेछ। परोपकारमा मन जानेछ। लगानी भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रशंसा सुन्ने योग रहेको छ।

मकर : समय राम्रो छ। शिवको दर्शन गरेर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ। अध्ययनमा मन जानेछ। वैदेशिक रोजगारीमा सफलता मिल्नेछ। परोपकारमा मन जानेछ।

कुम्भ : अचानक टाउको दुख्ने हुनसक्छ। यसको पीडा दिनभर रहने देखिन्छ। हनुमानको चिन्तन गर्नाले शनिदेवको छायाबाट बच्न सकिन्छ। आर्थिक सफलता र सामाजिक सम्मान प्राप्त हुनाले दिन रमाइलो हुनेछ। परिवारमा भने समस्या हुनसक्छ।

मीन : अचानक आर्थिक लाभ हुनेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नो लागि समय छुट्याउनु आवश्यक छ। धार्मिक संगत बढ्ने देखिन्छ। व्यापारमा लाभ हुनेछ।

काठमाडौं महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ । 

मङ्गलवार(आज) एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त सात दिनभित्र पेस गर्नुपर्ने महानगरले जनाएको छ ।  मूल्याङ्कन परीक्षा फागुन १२ र अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ । 

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। भने चाँदीको मूल्य भने स्थिर रहेको छ। आज सुनको मूल्य प्रतितोला ३०० रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मैगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। सोमबार भने सुनको कारोबार स्थिर रहेको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।