अर्थतन्त्रमा गत वर्षजस्तो सङ्कट छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताएका छन्‌।

हेटौँडामा जारी नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारण सभा कार्यक्रममा बोल्दै उनले अघिल्लो सरकारमा प्रधानमन्त्री एकातिर कुद्न चाहने र अर्थमन्त्री अर्कोतिर कुद्न चाहँदा निकै जटिल भएको बताए । सोही कारण अघिल्लो सरकारमा हुँदा निर्माण व्यवसायीले भुक्तानी पाउने विषयमा कुरा नमिलेको उनले बताए ।

प्रधानमन्त्री दाहालले आगामी नीति कार्यक्रम र बजेटमा सबै क्षेत्रलाई समेट्ने गरी बजेट तयारीसमेत भइरहेको बताए। उनले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको उल्लेख गर्दै निर्माण व्यवसायीको बक्यौता रकम तत्काल निकास गर्न सरकार लागिपरेको बताए। निर्माण व्यवसायीले सम्झौताबमोजिमको काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको भन्दै राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा तथा कठिनाइप्रति सरकार गम्भीर रहेको बताए।

निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा आयोजनाको काम समयमै सम्पन्न नभएको, सम्झौताअनुरूप गुणस्तरको काम नभएको, निर्माणको अवधि लम्बिँदा राज्यको अतिरिक्त दायित्व थपिनेजस्ता समस्या गम्भीर रूपमा देखापरेको प्रधानमन्त्री दाहालको भनाइ थियो। राज्यका रणनीतिक महत्वका आयोजना ओझेलमा पर्ने, अनावश्यक योजना थपिँदै जाने, राज्यको दायित्व बढ्दै जाने र खास गुणात्मक प्रतिफल नदिने, बेथितिको दुष्चक्रबाट मुक्त हुने गरी काम गर्न आफूले अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयलाई निर्देशित गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अब देशमा विकासको कामले गति लिने बताए। 

‘सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनपछि राज्यको दायित्वमा आउने आयोजनामध्ये स्रोत सुनिश्चितता नभएका आयोजना सहमतिका आधारमा अन्त्य गर्ने कुरामा सरकार सकारात्मक छ’, प्रधानमन्त्री दाहालले भने, ‘राज्यको संरचनागत कमजोरी र समयमै भुक्तानी दिन नसकेका कारण व्यवसायी अप्ठ्यारोमा परेकाले कतिपय आयोजनाको काम समयमै सम्पन्न हुन नसकेका समस्याको सम्बोधनका लागि सरकारले आवश्यक निर्णय लिनेछ।’

पूर्वाधार विकासका दृष्टिले हाम्रा कतिपय ऐन कानुन बाधक देखिएको उल्लेख गर्नुहुँदै दाहालले पर्यावरणको रक्षाप्रति सचेत रहँदै प्रचलित कानुनलाई विकासमैत्री बनाउँदै लगिने बताए। ‘वन ऐनलगायत महत्वपूर्ण ऐन संशोधन गर्ने प्रक्रिया प्रारम्भ भएको छ’, उनले भने–‘यसले निर्माण उद्योगका लागि अत्यावश्यक नदीजन्य तथा खानीजन्य सामग्रीलाई सर्वसुलभरूपमा उपलब्ध गराउन राम्रो वातावरण बन्नेछ।’

कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण व्यवसायीको रु ६० अर्बभन्दा बढी भुक्तानी राज्यले दिनुपर्ने, देशविकासमा लागेका युवा निर्माण व्यवसायीलाई पलायन हुनबाट रोक्न खरिद नियमावलीमा संशोधन गर्नुपर्ने तथा टेन्डर हुनुअगावै मुआब्जा वितरणलगायत अन्य काम समयमै सम्पन्न गर्न माग गरे।

यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक तथा औद्योगिक अवस्था नाजुक भएका कारण विकास निर्माणमा असर परेको उल्लेख गर्दै निर्माण व्यवसायीका समस्या समाधान गर्नुपर्नेमा प्रधानमन्त्री दाहालसमक्ष आग्रह गरे।

उनले निर्माण व्यवसायीहरूको भुक्तानी छिट्टै गर्न नेपाल सरकारसँग माग पनि गरे। अध्यक्ष ढकालले भने ‘देश विकासका लागि पूर्वाधारको निर्माण र विकास सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नुपर्छ। सरकारले उनीहरूको भुक्तानीमा ढिलाइ गर्दा परियोजनाहरूमा ढिलाइ हुनसक्छ। व्यवसायीहरूले पनि बैंक किस्ता, श्रमिकको ज्याला तथा करको ठूलो रकम भुक्तानी गर्न सकेका छैनन्, उनीहरू समस्याग्रस्त छन्।’

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले पनि निर्माण व्यवसायीहरूका समस्याप्रति सरकार गम्भीर बन्न सरकारसमक्ष आग्रह गरे। उक्त कार्यक्रममा सात प्रदेशसहित ७७ जिल्लाका एक हजार आठ सय निर्माण व्यवसायीको सहभागिता रहेको छ।

‘नेपालको आवश्यकता रामराज्य व्यवस्था’

काठमाडौं । मुलुक अहिले भयावह र विकराल परिस्थितिमा रहेको भन्दै नेपालको आवश्यकता रामराज्य व्यवस्था रहेको रामराज्य परिषद्ले निष्कर्ष निकालेको छ । रामराज्य परिषद्ले शुक्रबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा ‘नेपालको आवश्यकता रामराज्य व्यवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरी यो निष्कर्ष निकालेको हो ।
अन्तरक्रिया कार्यक्रममा परिषद्का अध्यक्ष जगतबहादुर थापाले २००७ सालताका युद्धपीडित दक्षिण कोरियाको अवस्था नेपालको भन्दा तल रहेको तर अहिले उसको प्रतिव्यक्ति आय झण्डै ३८ हजार डलर रहेको तर्क गर्दै नेपालको मात्र १३९९ रहेको जिकिर गरे । उनले नेपालभन्दा पछि स्वतन्त्र भएका सिंगापुर, मलेसिया, ताइवान लगायत विश्वका धेरै देशहरुले विकासको गतिमा नेपाललाई निकै पछि छोडिसकेको बताएका हुन् ।
‘हामीहरुले १०४ वर्षे निरंकुश जहाँनिया राणा शासन, ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्था, १० वर्षे विध्वंशात्मक जनयुद्धसमेत ३३ वर्षे कचिंगलयुक्त बहुदलीय, संसदीय शासन व्यवस्था देख्यौं, भोग्यौं तर अझै पनि स्थायीत्व, शान्ति र समृद्ध पाउन सकेका छैनौं’, अध्यक्ष थापाले भने, ‘व्यवस्थाहरु परिवर्तन भए पनि आम नेपालीहरुको दयनीय अवस्थामा भने कुनै परिवर्तन हुन सकेको छैन ।’
उनले जतिसुकै अग्रगामी र उत्कृष्ट संविधान भनिएको भएता पनि अहिलेको यो सातौं संविधान पनि जातपात, भेदभाव, भ्रष्टाचार, भागवण्डा, धर्मनिरपेक्षता जस्ता विकृति, विसंगति र विवादहरुमा मात्र आधारित र अति खर्चिलो रहेको दाबी गरेका छन् । उनले भने, ‘अहिले हाम्रो राष्ट्र, राष्ट्रियता र धर्मसंस्कृति मात्र संकटमा परेको छैन, समग्रमा सिंगो नेपालकै अस्तित्व नै संकटमा परेको छ ।’
कार्यक्रमका वक्ताहरुले धर्मयुद्ध, आमूल परिवर्तन, दर्शन, सिद्धान्त, राजनीतिक क्षेत्र, आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, सांस्कृतिक क्षेत्र र धार्मिक क्षेत्रबारे आआफ्नो धारणा राखेका थिए । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक प्रत्येक क्षेत्रमा आमूल परिवर्तन गर्न संगठन दृद्ध संकल्पित रहेको भन्दै बहुदलीयताको सट्टा दुई दलीय राज्य व्यवस्था र संसदीय प्रणालीको सट्टा रामराज्य सञ्चालन गरिने बताएका छन् ।
कार्यक्रममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘रामराज्य व्यवस्थामा मन्त्री र मन्त्रालयहरु हुँदैनन् । भ्रष्टाचारलाई शून्य अवस्थामा ल्याउन सर्वाधिकार सम्पन्न संस्था लोकपाल जस्ता संस्थाको व्यवस्था गरिएको हुन्छ भने धुन्धुकारीहरुलाई सत्मार्गी बनाउन धर्मपाल जस्तो समन्वयकारी संस्थाको व्यवस्था गरिएको छ । धर्मनियन्त्रित राज्य व्यवस्था रामराज्यको पक्षमा आफ्नै संविधान जारी गर्दै आफ्नै अध्यात्मिक साम्यवादी व्यवस्था लागू गरिन्छ । अनगिन्ती मन्त्री र मन्त्रालयहरुको सट्टा जननिर्वाचित राज्य प्रमुखको नियन्त्रणमा रहने गरी ९ सचिव र सचिवालयहरु मार्फत् रामराज्य व्यवस्था संचालन गरिन्छ । नेपाललाई पुनः विश्वको एक मात्र हिन्दूराष्ट्र घोषणा गर्दै शान्ति क्षेत्र पनि घोषणा गरिन्छ ।’

रद्द गर्‍यो परीक्षा बोर्डले एसईईको अनुगमन अनुमतिपत्र (सुचनासहित)

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरिएका अनुगमन अनुमतिपत्र रद्द गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले एक विज्ञप्ति जारी गर्दै आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्ति विभिन्न परीक्षा केन्द्रहरूमा गएका कारण परीक्षा दिने विद्यार्थीको लेखन कार्यमा असुविधा भएको गुनासा आएकोले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको बोर्डले जनाएको छ ।

दुर्गा प्रसाईंले पाएको हतियारको इजाजतबारे छानबिन गर्न सर्वोच्चको आदेश

सरकारले दुर्गा प्रसाईंको हतियारको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । बिहीबारको मन्त्रीपरिषद् बैठकले प्रसाईंले प्रयोग गर्दै आएको हतियारको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको हो ।

यही चैत ५ गते सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका दुई बडिगार्ड हतियारसहित पक्राउ परेका थिए । प्रसाईंका बडिगार्ड दीपक खड्का र राजकुमार धिमाल हतियारसहित पक्राउ परेका थिए । उनीहरुबाट प्रहरीले २२ बोर ए३५४७५२ को हतियार बरामद गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले मंगलबार मुलुकी अपराध संहितामा व्यवस्था भएविपरित दुर्गा प्रसाईंलाई हतियारको इजाजत दिइएको र नवीकरण गरिएको विषयमा छानबिन गर्न गृह मन्त्रालयलाई आदेश दिएको हो।

मुलुकी अपराध संहिता, २०७४ को दफा १३१ को उपदफा (१) मा खास किसिमका हातहतियार प्राप्त गर्न नहुने व्यवस्था छ। सोही उपदफाको (घ) मा जुनसुकै प्रकारको राइफल तथा त्यसको खरखजना समावेश गरी त्यस्ता हतियार राख्ने इजाजत प्राप्त गर्न नसकिने उल्लेख छ।

प्रसाईंबाट बरामद भएको हतियार पनि सुरक्षा निकायबाहेक सर्वसाधारणले पाउन नसक्ने रहेको तर प्रसाईंले प्रसाशनबाटै इजाजत लिएको देखिएकाले यसबारे छानबिन गर्न सर्वोच्चले आदेशमा भनेको हो।

हेर्नुस् छानबिन समितिको कार्यादेश
१) जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईको नाममा इजाजतपत्र नं. 10131 मा जारी भएको 22 बोर A354752 नम्बरको२) व्यक्तिगत रुपमा इजाजतपत्र प्राप्त गरेका हातहतियारको प्रयोग सम्बन्धमा मापदण्ड निर्धारण गर्ने ।
३) हातहतियार नवीकरण सम्बन्धमा भएको कानूनी व्यवस्था र अभ्यासको विश्लेषण गरी हातहतियार खरखजाना सम्बन्धी ऐन र सोसँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने सुधारका विषयहरु पहिचान गर्ने ।
४) इजाजत प्राप्त हातहतियार खरखजानाको दुरुपयोग रोक्न सो को अनुगमन, नियमन र नियन्त्रणका सम्बन्धमा गरिएको अभ्यासको समीक्षा गर्ने ।
५) हतियारको अभिलेख व्यवस्थापन र नियमन सम्बन्धमा उपयुक्त ढाँचा पहिचान गर्ने ।
६) माथि क्र. सं. १ देखि ४ सम्म उल्लेखित विषयहरु समेटी राय सुझावसहितको प्रतिवेदन पेश गर्ने ।

कृषि वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । नेपाली कृषि वैज्ञानिकहरुको संस्था सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट (सास–नेपाल) को बृहत् छैठौं राष्ट्रिय सम्मेलन तथा आठौं साधारण सभा यही चैत्र २१ गते ललितपुरमा सम्पन्न हुँदैछ ।

“कृषिमा रूपान्तरणका लागि अनुसन्धान प्रणाली” भन्ने नाराका साथ संचालन हुने यस सम्मेलनमा सास नेपालका आजीवन सदस्यहरु, साधारण सदस्यहरु, मानार्थ सदस्यहरु तथा कृषि अनुसन्धानमा संलग्न करिब ५०० जना व्यक्तित्वहरुको उपस्थिति रहनेछ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटार, ललितपुरको सभाहलमा सम्पन्न हुन लागेको सो सम्मेलनले नेपालको कृषि अनुसन्धान प्रणालीलाई सबल र सुदृढ बनाई मुलुकको आर्थिक विकासको लक्ष्यमा योगदान पुर्याउन नीतिगत हिसाबले विशेष मार्गचित्र तयार गर्ने अपेक्षा गरिएको छ ।

सन् १९९५ मा स्थापित यो संस्थाले कृषि अनुसन्धानको नीतिगत क्षेत्रमा सरकारलाई सल्लाह सुझाव दिने, कृषि वैज्ञानिकहरुको अनुसन्धानका उपलब्धिलाई जर्नलमार्फत प्रकाशन गर्ने, अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका सभा सम्मेलन गर्ने, वैज्ञानिकहरुलाई पुरस्कृत गर्ने र तालिम प्रदान गर्ने, कृषि वैज्ञानिकहरुका अनुभवलाई प्रस्तुतीकरण मार्फत सम्प्रेषण गर्ने, वैज्ञानिकहरुका हकहितका सवालमा बहस, छलफल गर्ने लगयतका कार्यहरु गर्दै आएको छ ।

यो सम्मेलनले वैज्ञानिकहरुको नयाँ नेतृत्व चयन गर्नुका साथै कृषि वैज्ञानिकहरुको हकहितको लागि आवश्यक नीति तथा योजना तर्जुमा गर्ने जनाइएको छ ।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा। कालिकाप्रसाद उपाध्यायका अनुसार सम्मेलनको पहिलो सत्रमा चार वटा बिषयगत कार्यपत्र प्रस्तुति र छलफल तथा दोश्रो सत्रमा नयाँ कार्यसमिति गठन गर्ने कार्यक्रम रहेको छ ।

सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन तोलामा २ हजार १ सय बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार १ सयले वृद्धि भएको छ ।

आज सुन तोलामा २ हजार १०० रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

 यस्तै, बिहीबार प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय २५ पुगेको छ ।

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

बैठकमा अध्यक्षले राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षको पदबाट दिएको राजीनामा सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।

अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

सिरहामा १० मिनेट नवित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरियो

सिराहामा एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । शुक्रबार बिहान परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बाहिर भेटिएको हो ।

चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ । 

परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् । उनीहरूको हात हातमा आजको नेपाली विषयको प्रश्न पत्र पुगेको छ ।  

सडक बत्तीको ६ अर्ब बक्यौता तिर्न प्राधिकरणको आग्रह

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत भुक्तान गर्नुपर्ने ६ अर्ब रुपैयाँ तत्काल तिर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले एक सूचना जारी गर्दै उक्त रकम तत्काल तिर्न भनेको हो । 

प्राधिकरणले आज एक सूचना जारी गर्दै प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित)को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्रस्ट पारेको छ । 

प्राधिकरणको जारी सूचनामा उल्लेख छ । अनधिकृत तवरले स्थानीय तहहरूले विद्युत् सेवा उपभोग गरेमा सोही ऐनको दफा २३ बमोजिम विद्युत् लाइन काट्न सकिने चेतावनी सहित प्राधिकरणले सरोकारवाला निकायलाई बक्यौता रकम तिर्न भनेको छ ।

यस्तो छ तपाईंको १६ चैत्र २०८०, शुक्रबार आजको राशिफल

मेष : आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : साथीको सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीभाइ तपाईंप्रति सकारात्मक छन्। सञ्चित धन खर्च गरेर आफ्नो भविष्य निर्माण गर्ने दिन हो।

मिथुन : धन प्राप्त हुने योग छ। लगानीबाट वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ। मिठो खान पाउने दिन छ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कट : तपाईंका साथी गलत कामको पर्खाइमा बसेका छन्। खर्च बढ्ने योग रहेको छ। स्वास्थ्यमा राम्रो छ। शिक्षामा प्रगति हुनेछ। परिवारको साथ निरन्तर मिल्नेछ।

सिंह : कर्मको फल प्राप्त गर्ने योग छ। लामो समयदेखि रोकिएको काम बन्नेछ। सामाजिक क्षेत्रमा सेवाको मौका मिल्नेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

कन्या : यात्रा रमाइलो बन्नेछ। परोपकार गर्नु राम्रो हुन्छ। शिक्षामा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने फाइदा हुनेछ। नयाँ कामको सुरुवात हुनेछ।

तुला : सामाजिक क्षेत्रमा मानसम्मान मिल्नसक्छ। परिवारको साथ मिल्नेछ। समाजसेवा र धर्मममा मन जानेछ। यात्रा रमाइलो हुनेछ।

वृश्चिक : अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन हो। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। अल्छीपनले आफूलाई नै घाटा हुनेछ।

धनु : आर्थिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमै सम्भावना देखिन्छ। छोटो यात्रा फलदायी हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

मकर : रोकिएको काम बन्नेछ। भाग्यको उदय हुने दिन हो। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। सोचेको काम बन्ने योग छ। आफन्तले सहयोग गर्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध राम्रो छ।

मीन : आम्दानी भन्दा खर्च बढी हुने योग छ। साथीहरुले कुरा काट्ने भएकाले बोल्दा ख्याल गर्नुहोला। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। जोगिएर व्यवहार गर्नु राम्रो हुन्छ।

दक्षिण अफ्रिकामा बस दुर्घटना,४५ जनाको मृत्यु

दक्षिण अफ्रिका। दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । बस दुर्घटना आठ वर्षीया एक बालिका घाइते भएका छन्। उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका हुन् । उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको थियो । त्यसपछि बसमा आगो लागेको थियो ।

विद्यालय तहका शिक्षकहरूको जिलान्तर सरुवा रोक्का

काठमाडाै । विद्यालय तहका शिक्षकहरूको जिलान्तर सरुवा रोक्का गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चैत ५ गतेको मन्त्रीस्तरीय निर्णयबाट जिल्लान्तर सरुवा रोक्का गरिएको हो ।

शिक्षक सरुवालाई थप व्यवस्थित र पारदर्शी बनाउन शिक्षा तथा मान स्रोत विकास केन्द्रमार्फत मापदण्ड निर्माण कार्य भइरहेकाले अर्को व्यवस्था नभएसम्मका लागि सरुवा रोक्का गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई जिल्लान्तर सरुवा रोक्काको निर्णय कार्यान्वयन गर्न सर्कुलरसमेत गरेको छ ।

त्रिविको उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको छ ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले आज गरेको निर्णयअनुसार उत्तरपुस्तिका हराएकोबारे विस्तृत छानबिन गरी ३० दिन भित्र प्रतिवेदन पेश गर्न उक्त समिति गठन भएको हो । त्रिभुवन विश्वविद्यालयबाट आज जारी प्रेस विज्ञप्तिमा उक्त समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने बेहोरा उल्लेख गरिएको छ ।

विसं २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय ( कोड न. ४२२ ) र शिक्षाशास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (कोड न. ४१२ ) को उत्तरपुस्तिका हराएपछि विश्वविद्यालयले यही चैत २१ गते यी दुई विषयका परीक्षा सञ्चालन हुने गरी सूचना प्रकाशित भइसकेको जानकारी दिइसकेको छ ।

“उत्तरपुस्तिका हराएको सन्दर्भमा विभिन्न सञ्चार माध्यममा प्रकाशित÷प्रसारित समाचार तथा सम्पादकीय र जनमानसमा उत्पन्न चासो र चिन्ताप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ, “उक्त उत्तरपुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८० चैत १५ गतेको निर्णयानुसार त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरिएको छ । उक्त समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने बेहोरा अुरोध छ ।”

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया १५ पैसा र बिक्री दर १३३ रुपैया ७५ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ०८ पैसा र बिक्री दर १६८ रुपैयाँ ८३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ ०८ पैसा र बिक्री दर १४७ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४९ पैसा र बिक्री दर ८६ रुपैयाँ ८८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ४६ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १८ रुपैयाँ ५० पैसा रहेको छ ।

वन डढेलोमा परी महिलाले गुमाइन् ज्यान

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका-४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन् । कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो । नसुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो । उनको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताइन् ।