सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनको भाउ अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य तय भएको छ ।

हिजो ४ सय रुपैयाँ घटेको थियो । वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६६५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६५० कायम भएको छ ।

सुदूरपश्चिममा १ हजार ७७ हवल्दारहरुको सरुवा


सुदूरपश्चिम । सुदूरपश्चिममा नेपाल प्रहरीका हवल्दार, सहायक हवल्दार र वरिष्ठ हवल्दारहरुको सरुवा भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले आज (मंगलबार) सरुवा निकालेको हो । जसमा १ हजार ७७ जना हवल्दार, सहायक हवल्दार र वरिष्ठ हवल्दारहरुको सरुवा गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले जानकारी दिए ।
प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्र केसीले हवल्दार सरुवा मापदण्डलाई कडाइका साथ पालना गर्दै गरिएको जनाएका छन् ।
केसीले प्रहरी प्रधान कार्यालयले तोकेको मापदण्डअनुरुप सरुवा गरिएको बताए । जसमा स्थायी ठेगाना भएको ठाउँमा नखटाइएको, पूर्व दरबन्दीमा नखटाइएको, अशक्तलाई माग अनुसारकै स्थानमा पठाइएको, दम्पतीलाई सकेसम्म एकै स्थानमा खटाइएको, र स्कुल एवं प्रशिक्षण केन्द्रमा ड्रील तालिम तथा एसएसली पासलाईमात्र खटाइएको डीआइजी केसीको बताएका छन् ।

संविधानका मुख्य चारवटै आधारस्तम्भ धर्मनिरपेक्षा, गणतन्त्र, संघीयता र समावेशीतामाथि प्रहार : सांसद सिंह

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संघीयता धरापमा परे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने दाबी गरेका छन् । उनले वर्तमान प्रचण्ड नेतृत्वको सरकार चिनियाँ भन्दा बढी अमेरिकन शक्तिबाट सञ्चालित रहेको आरोप समेत लगए ।

सामाजिक कामको क्रममा वीरगञ्ज पुगेका सांसद सिंहले पत्रकारहरु संगको संक्षिप्त कुराकानीमा संविधानमाथि भइ रहेको षडयन्त्र प्रचण्डलाई जेलमा हाल्ने रणनीति बनि रहेको बताए । प्रचण्डले मुलुकलाई अस्तव्यस्त बनाएको टिप्पणी गर्दै मुलुकमा देखिएको आर्थिक संकटका कारक प्रचण्डनै रहेको दाबी गरे ।

त्यहि नियतले अहिले विदेशी शक्तिहरुको इशारा र निर्देशनमा अहिले नेपालको संविधानमाथि प्रहारपनि भइरहेको सांसद सिंहले बताए । संविधानका मुख्य चारवटै आधारस्तम्भ धर्मनिरपेक्षा,गणतन्त्र,संघीयता र समावेशीतामाथि प्रहार भइरहेको उनले बताए। धर्मनिरपेक्षता माथि विदेशीहरुको इशारामा हिन्दूवादीबाट,गणतन्त्रमाथि पूर्वराजा र राजवादीबाट तथा संघीयता र समावेशीतामाथि यहिका दल र सरकारबाट प्रहार भइरहेको उनले बताए । त्यसको जीता जागता (ज्वलन्त) उदाहरण मधेसमै अहिले देखिइरहेको छ । केहि समययता वीरगन्जसहित मधेसका विभिन्न शहरमा निरन्तर धर्मका नाममा अराजक जुलुश र र्‍यालीहरु निकालिदैछ । यसले नै प्रष्ट हुन्छ । विदेशी शक्तिहरु लागेर मधेसमा धर्मको नाममा द्धन्द्ध सृजना गर्न खोजिरहेको सांसद सिंहले बताए । त्यसकारण संविधान अहिले संकटमा परेको उनको बुझाई छ । उनले आँफु संविधानको पक्षधर भएकाले हिन्दू राष्ट्रको पक्षमा नरहेकोपनि प्रष्ट पारे ।

सविधानको प्रजातान्त्रिक कार्यान्वयन भन्दा पनि मुलुकमा लागु भएको धर्मनिरपेक्ष्ता, गणतन्त्र, संघीयता र समावेशीता माथि प्रहार भइरहेको उनको भनाइ थियो । उनले मुलुकबाट एक राजा गए पनि बढदै गएका नव युवराजहरुको कारण मुलुक बिचौलिया र अपराधीकरणको दलदलमा फस्दै गएको बताउदै प्रधानमन्त्रीको सचिवालय समेत विशेषज्ञ भन्दा पनि परिवारवादको कब्जाबाट संचालित भएको अरोप लगाए । उनले भने–‘पैसा उठाउन, गैर कानुनी काम गर्नका लागि प्रधानमन्त्री कार्यालयमा छोरी, बुहारी, भाई, भतिजाहरुलाई नियुक्ति गरेर राखिएको छ । यो पनि एउटा संवैधानिक अपराध नै हो ।’

वर्तमान समयमा २० बिचौलियाहरुले मात्रै मुलुक चलाइरहेका कारण मुलुकको अर्थतन्त्र धराशयी अवस्थामा पुगेको सांसद सिंहको दावी छ । सामान्य खर्चपनि विदेशीऋणवाट चलिरहेको छ । देशको अर्थतन्त्र कति जर्जर अवस्थामा पुगेको छ यहीँबाट पुष्टि हुन्छ सांसद सिंहले भने ।

४० लाखको अवैध सामानसहित भारतीय नागरीक पक्राउ


सुदूरपश्चिम । सुदूरपश्चिमको धनगढीमा प्रहरीले ४० लाख बढिको अवैध सामानसहित भारतीय नागरीकलाई पक्राउ गरेको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा हरि ओम हार्डवयर एण्ड सप्लायर्सको गोदाममा छापा हानेर अवैध सामान बरामद गरेको हो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी पदमबहादुर बिष्टले भारतको लखिमपुर पलिया कला खिरी जिल्ला स्थायी घर भएर धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा बस्दै आएका ४४ वर्षीया आशिष गुप्तालाई अवैध सामानसहित पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समुहको टोलीले भारतिय नम्बर युपी ३१ टी ७७११ नम्बरको ट्रकमा भन्सार छली चोरी पैठारी गरि ल्याएका हार्डवेयरका सामान ट्रकसहित गुप्तालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक असई गजेन्द्रबहादुर चन्द नेतृत्वमा खटिएको टोलीले गोदाममा छापा हानेर उक्त अप्रेशन गरेको थियो ।
प्रहरीले गोदामबाट बरामद गरिएका हार्डवयर र ट्रकको समेत मूल्यांकन गर्दा ४० लाख चार हजार रुपैयाँ भएको जनाएको छ । बरामद गरिएको ट्रक सामान र गुप्तालाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाईको छ ।

यस्तो छ तपाईंको  १८ बैशाख २०८१, मंगलवार आजको राशिफल

मेष : वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

वृष : सफल यात्राको योग रहेको छ। आर्थिक क्षेत्र सबल बन्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पराक्रम बढ्ने दिन छ।

मिथुन : अधिकार प्राप्तिको लडाइँमा सफलता मिल्नेछ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा फाइदा, स्वास्थ्यमा लाभ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय साथीसँग बित्नेछ। शिक्षा क्षेत्रमा प्राप्त नतिजाले हौसला बढाउने छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यवसायतर्फको आदर्श व्यक्तिसँग भेट हुनेछ।

सिंह : मनमा डर सिर्जना हुनेछ। परिवारका सदस्यको नमिठो बोली सुन्नुपर्ने जोखिम रहेको छ। काम गर्दा र बोल्दा सोच्नुपर्ने दिन छ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

कन्या : सरकारी जागिरे भए बढुवा हुनेछ। मान र प्रतिष्ठा बढ्नेछ। यात्राको योग रहेको छ। साथीहरुसँग रमाइलोका साथ दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : आफ्नो काम देखेर रमाउने दिन छ। राजनीतिमा सफलता प्राप्त हुनेछ। पुरानो साथीसँगको भेट रमाइलो हुनेछ। परिवारसँगको सम्बन्ध प्रगाढ बन्छ। विपरित लिंगी साथीको सहयोग विशेष हुनेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। धन आर्जनको नयाँ स्रोत पत्ता लाग्ने दिन हो। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। व्यवहारमा खटपट भए बोलीको माध्यमबाट प्रभावित पार्नुपर्नेछ।

धनु : आफन्तले दिएको सुझाव गलत लाग्नसक्छ। व्यवहार गर्दा सचेत हुनुपर्नेछ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा विरोधका आवाज सुन्नुपर्ने हुनसक्छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

मकर : लामो समयदेखि रोकिएको सम्पत्ति फिर्ता हुनेछ। नयाँनयाँ कुरा सिक्ने अवसर सिर्जना हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विरोधी शान्त हुने दिन छ। परिवारभित्र व्यवहार गर्दा सचेत हुनुपर्नेछ।

कुम्भ : रमाइलो यात्राको योग रहेको छ। अचानक ठुलो उपलब्धि प्राप्त हुनसक्छ। परिवारमा मेलमिलाप रहनेछ। तपाईंले गरेको राम्रो कामको चर्चा हुनेछ।

मीन : आर्थिक कारोबारमा फाइदा हुनेछ। नसोचेको ठाउँबाट रोकिएको धन हात लाग्नेछ। आर्थिक र सामाजिक क्षेत्र अब्बल रहने योग छ। मनोरञ्जनतर्फ मन जानेछ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

शिक्षा सचिव अधिकारी र सहसचिव काफ्ले अनिवार्य अवकाशमा

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी अनिवार्य अवकाशमा गएका छन् । साेमबार मन्त्रालयका सचिव(शिक्षा) सुरेश अधिकारी र सह-सचिव भोजराज काफ्लेको विदाई कार्यक्रम मन्त्रालयमा सम्पन्न भएको छ।

शिक्षामन्त्री सुमना श्रेष्ठले विदाई कार्यक्रममासचिव र सह-सचिवज्यूलाई तीन दशक लामो निजामती सेवाको लागि धन्यवाद व्यक्त गर्दै उनीहरूको अनुभव र विज्ञतामा आधारित योगदान आगामी दिनमा समेत मन्त्रालयलाई प्राप्त हुने अपेक्षा रहेको बताइन्।

विदाई कार्यक्रममा मन्त्रालयका सचिव (विज्ञान तथा प्रविधि) विश्वबाबु पुडासैनी, सह-सचिवज्यूहरू, उप-सचिवज्यू र मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

यस्ताे छ विदेशी मुद्राकाे विनिमयदर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया २६ पैसा र बिक्री दर १३३ रुपैया ८६ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ०८ पैसा र बिक्री दर १६७ रुपैयाँ ८३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ २० पैसा र बिक्री दर १४६ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५४ पैसा र बिक्री दर ८७ रुपैयाँ ९३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ०९ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ५५ पैसा र बिक्री दर ८ रुपैयाँ ५८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३६ पैसा र बिक्री दर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।

यी हुन् लगानी सम्मेलन भएका महत्वपूर्ण सम्झौता

काठमाडौँ- आज यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन् । लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्मेलनबाट स्वदेश तथा विदेशका लगानीकर्ताले नेपाल लगानीको आकर्षक गन्तव्यका रूपमा रहेको सन्देश दिन सफल भएको बताए । लगानीकर्ता नेपालमा लगानीका अवसरहरू खोज्न इच्छुक रहेको पनि उनको भनाइ छ ।

‘लगानी सम्मेलनका क्रममा सार्वजनिक निजी साझेदारी अवधारणालाई अगाडि बढाउनका लागि समझदारीपत्रसहित करिब एक दर्जन समझदारीमा हस्ताक्षर भएको छ । यसबाहेक ३० भन्दा बढी विदेशी प्रतिनिधिमण्डलले विभिन्न सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटघाट गरेका छन्,’ उनले भने ।

सम्मेलनका क्रममा आइतबार तीनवटा सम्झौता सम्पन्न भएका थिए । डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो । उक्त सम्झौतामा बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका थिए ।

त्यसैगरी, आइतबार नै नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको थियो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष टान सी डाटो थायन लाईले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

त्यसैगरी, महासङ्घले फेडेरेसन अफ मलेसियन म्यानुफ्याक्चरर्ससँग पनि सहकार्यका लागि सम्झौता गरेको छ ।

लगानी सम्मेलनको दोस्रो दिन आज नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपीपी) प्रवर्द्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । उक्त समझदारीपत्रमा वापका तर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरे । उक्त समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पिपीपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ । नेपालमा भौतिक पूर्वाधार तथा पिपीपी पाइपलाइन सुदृढीकरण, पिपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास प्रवर्द्धनका लागि सहकार्य, संयुक्त रूपमा सभासम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयुक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन् ।

यस सहकार्यले नेपालमा पिपीपीसम्बन्धी ज्ञान, अनुभव तथा क्षमता अभिवृद्धिका साथै तथा पिपीपी परियोजनाहरूको सुदृढीकरणमा सहयोग पुग्ने नापका अध्यक्ष अनुपकुमार उपाध्यायले बताए । ‘यस समझदारीले पिपीपीका क्षेत्रमा लामो अनुभव, अनुसन्धान र व्यावहारिक ज्ञान हासिल गरेको र विशिष्टिकृत संस्थाका रूपमा विश्वव्यापी पहिचान बनाएको वापसँग सहकार्यको ढोका खुलेको छ,’ उपाध्यायले भने ।

वापका अध्यक्ष जियाद–अलेक्जेन्डर हायकले पिपीपी परियोजना कार्यान्वयनमा नेपालको लामो अनुभव रहेको र खासगरी जलविद्युत् एवं स्वच्छ ऊर्जाका क्षेत्रमा नेपालमा पिपीपीले रूपान्तरण ल्याएको उल्लेख गर्दै नेपालको आफ्नै अनुभव पनि अद्वितीय रहेको बताए ।

स्विजरल्यान्डको जेनेभामा मुख्यालय रहेको वाप पिपीपीका क्षेत्रमा अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय असल अभ्यास प्रवर्द्धन गर्ने गैरसरकारी संस्था हो । त्यस्तै, नाप नेपालका पिपीपी अभ्यासकर्ताहरूको संस्था हो ।

सम्मेलनका क्रममा साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबीच होटल व्यवसायमा सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

त्यसैगरी, चिनीयाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुईवटा समझदारी सम्पन्न भएका छन् । ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो ।

नेक्सजेनले एमएबीसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्ने छ भने एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ । यी दुई समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ पनि सहभागी थिए ।

यो लगानी सम्मेलनमार्फत मुगु जिल्लाको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । उक्त रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । उक्त लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडकाका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब रु ७० करोड बराबर लगानी गर्न लागिएको शाहले बताए । यो परियोजना निर्माणका लागि दोस्रो चरणमा करिब रु ४० करोड बराबर लगानी गरिने जनाइएको छ । यो रिसोर्ट डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको जनाइएको छ । स्थानीय स्रोत साधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी यो रिसोर्ट निर्माण हुनेछ । रिसोर्टको विस्तृत परियोजना प्रतिवेदन बनिसकेको शाहले बताए ।

त्यसैगरी, सम्मेलनका क्रममा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एसोएिएसन (आइआइए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा एफएनआइसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आइआइएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरे । नेपाल र भारतबीचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य तथा हित प्रवर्द्धनका लागि सहकार्य गर्न यो सम्झौता भएको एफएनआइसीका महासचिव खिमनारायण पराजुलीले जानकारी दिए । दुई देशका निजी क्षेत्रबीच भएको यो सम्झौताले मुख्यगरी व्यापारका क्षेत्रमा सहजीकरणका लागि टेवा पुग्ने अपेक्षा गरिएको छ । नेपाल उद्योग व्यापार महासङ्घले आजै चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडसँग पनि नेपालमा लगानी सहजीकरणका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता गरेको छ ।

तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि रु नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ । उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले दिएको जानकारीअनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि रु छ अर्ब, काठमाडौँमा व्यावसायिक भवन निर्माणका लागि रु तीन अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि रु सात करोड ६६ लाख र ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि रु छ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ ।

विभागले आजै स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ । नेपाल सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी यही वैशाख ७ गते प्रकाशित भएको राजपत्रअनुसार सतप्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पुँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था कायम रहेको छ ।

विप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज लगानी सम्मेलनको दोस्रो दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्हरूबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीमा राष्ट्रिय समन्वय परिषद्का तर्फबाट रमेश भट्ट कतार, राजकुमार श्रेष्ठ बहराइन, विनोद थापा मलेसिया, विनोद श्रेष्ठ इराक, विकास शाही युएई, विकल झा ओमन र टीकाराम खरेल जापानले हस्ताक्षर गरेका थिए । यो सम्मेलनका क्रममा नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाका व्यावसायिक प्रतिनिधिबीच व्यापार सहजीकरण र पर्यटन क्षेत्रमा लगानी सहजीकरण गर्नका पनि समझदारी भएको छ ।

उपनिर्वाचनः रास्वपाका मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो ।

निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मतमात्र पाएका थिए।

जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली छन् । यसैगरी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा “निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ”, भनिएको छ ।

लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशमा हुरीबतासको सम्भावना

काठमाडौ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थान र बाँकी भागका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थान र बाँकी भागका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

लुम्बिनी, मधेस र कोशी प्रदेशका केही र बाँकी भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरपालिकाको १० लाख रुपैयाँ सहयोग

काठमाडाै । वैशाख १२ गतेको आगलानीबाट ४५५ जना व्यक्ति प्रभावित, भौतिक संरचनासहित पशु चौपाया जलेर नष्ट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगर विपद व्यवस्थापन समितिले आगलागीजन्य विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

निर्णयबमोजिमको रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी छ ।
जरलहवा टोलमा १२ गते बुधबार दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर १ सय घर जलेका छन् । यसबाट ४५५ जना व्यक्ति प्रभावित भए । सोही आगलागीले ५ वटा बाख्रा, २ वटा सुँगुर जलेर नष्ट भए ।

दुर्गा प्रसाईंलाई नियम मिचेर अत्याधुनिक हतियार राख्ने इजाजत दिएको छानबिन समितिको प्रतिवेदन

काठमाडाै‌ । व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय झापाले नियम मिचेर अत्याधुनिक हतियार राख्ने इजाजत दिएको गृह मन्त्रालयको छानबिन समितिले औँल्याएको छ।

सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको छानबिन समितिले २२ बोरको हतियार कानुनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको प्रतिवेदनमा औँल्याएको हो।

सो हतियार लिएर सर्वोच्च अदालत प्रवेश गर्न खोज्ने क्रममा प्रसाईंका दुई बडीगार्ड गत ५ चैतमा हतियारसहित पक्राउ परेका थिए। बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले पक्राउ परेकालाई छाड्न आदेश दिँदै हतियारको इजाजतको विषयमा छानबिन गर्न सरकारलाई आदेश दिएको थियो। सोहीअनुसार गृह मन्त्रालयले समिति गठन गरेको हो।

समितिले सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ। समितिले गैरकानुनी रूपमा हतियारको इजाजत दिने तत्कालीन कर्मचारीमाथि कारबाहीको सिफारिस गरेको छ। २०७५ को असार २१ मा जिल्ला प्रशासन कार्यालय, झापाले लाइसेन्सको इजाजत दिएको थियो। त्यस वेलामा जनकराज दाहाल झापाको सिडिओ थिए।

प्रतिवेदनमा देशभर हतियारको इजाजतपत्र दिँदा, नवीकरण वा नामसारी गर्दा विद्युतीय प्रणालीको केन्द्रीय अभिलेखमा राख्न र नियमन गर्न  सुझाव दिइएको छ। व्यक्तिगत रूपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानुनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस भएको छ।

साथै, देशभर हतियारको इजाजतपत्र दिँदा, नवीकरण वा नामसारी गर्दा विद्युतीय प्रणालीको केन्द्रीय अभिलेखमा राख्न र नियमन गर्नसमेत प्रतिवेदनमा सुझाव दिइएको छ। प्रतिवेदन बुझ्दै गृहमन्त्री लमिछानेले समितिको प्रतिवेदनले औँल्याएका सुझाव र सिफारिस कार्यान्वयन गरिने बताए। – नयाँ पत्रिका दैनिकमा खबर छ

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान गरिएको छ ।

प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० गते बिहीबार आह्वान गरिएको हो । बैठक २० गते दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तेस्रो बैठक यही वैशाख ३ गते बसेको थियो । 

इलाम – २ मा एमालेका नेम्वाङ विजयी

फिक्कल । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो ।

एमाले उम्मेदवार नेम्वाङले २७ हजार सात सय ७२ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

उनका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरेका छन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

२४ घण्टाभित्र समाचार हटाउन निर्देशन दिएको थियो : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘सिधाकुरा डटकम’ मा समाचार प्रकाशन भए लगत्तै पत्र लेखेर २४ घण्टाभित्र हटाउन निर्देशन दिएको बताएका छन् ।

उक्त अनलाईनका सामग्री अध्ययन गर्दा सुरुमै शंकास्पद पाइएकाले प्रश्न उठाइएको र हटाउन निर्देशन दिएको उनले बताए ।

“हामीले यो अडियोसहितको सामग्री प्रसारण हुनासाथ सुरुमै अपुष्ट र शंकास्पद ठानेका थियौँ, प्रारम्भिक अनुगमनले तथ्यगत रुपमा त्रुटिपूर्ण र असन्तुलित देखिएपछि त्यसलाई नरोक्दा थप आघात पुग्ने ठानी निर्देशन दिएका थियौं” अध्यक्ष बस्नेतले भने, “प्रविधिको दुरुपयोग हुन नदिन यो घटनाले सबैलाई पाठ सिकाएको छ ।”

काउन्सिलको निर्देशनसँगै उक्त अनलाइनले समाचार हटाएको छ । यही वैशाख १४ मा चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउन सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेशन शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

सर्वोच्च अदाललते आज उक्त विवादमा आदेश गर्दै आदेश प्राप्त मितिले २४ घण्टाभित्र हटाउन र यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रसारण, पुनःप्रसारणलगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नु नगराउनु भनेको छ ।

साथै, अदालतले आदेश गरेका कुनै पनि सामग्री प्रशारण नगर्न सञ्चार जगतको ध्यानाकर्षण गराएको छ ।