दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध

काठमाडाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ।

‘राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने’ निर्णय भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयमा दलीय आबद्धता भएका शिक्षकहरूको विषयमा परेका उजुरीहरूको विवरण यकिन गरी कारबाही अघि बढाउन आयोगको अभिलेखमा भएको दलका कार्यसमितिको विवरण मागिएको हो।

निर्वाचन आयोगबाट विवरण प्राप्त भएपछि मन्त्रालयले आफूसँग भएको शिक्षक, कर्मचारीहरूको विवरण र राजनीतिक दलका कार्यकारिणी समितिका पदाधिकारीहरूको विवरण भिडाएर हेर्नेछ। त्यसरी भिडाउँदा शिक्षक, कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐन अनुसार पदबाट हटाउनेसम्मको कारबाही प्रक्रिया अगाडि बढाउने छ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको जस्ता विषय उल्लेख गरी मन्त्रालयमा उजुरी र गुनासो प्राप्त भएका थिए। विगतमा सम्मानित उच्च अदालतबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ङ को उपदफा (५) को खण्ड (छ) मा रहेको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु गराउनु भनी शिक्षा मन्त्रालयलगायतका विपक्षीहरूका नाममा परमादेशको आदेश भएको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग छलफल गरेर उक्त फैसला कार्यान्वयनका लागि निर्वाचन आयोगको सहयोग मागेका थिए।

यसअघि नै मन्त्रालयले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका शिक्षक/कर्मचारीलाई कारबाही गर्न जिल्लास्थित सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई पत्र पठाइसकेको छ। कतिपय जिल्ला इकाईहरूले पत्राचार अनुसार कारबाही पनि अघि बढाइसकेका छन्।

‘प्रचलित कानुन र अदालतको आदेश समेतको आधारमा दलको कार्यकारिणी समितिमा रहेका शिक्षकहरूलाई पदबाट हटाई सो को जानकारी मन्त्रालयमा गराउने र यस्तै प्रकृतिका थप उजुरी निवेदनहरूको सम्बन्धमा समेत निरन्तर कारबाही गर्ने’ भनेर मन्त्री स्तरीय निर्णय भएको थियो। शिक्षा क्षेत्रमा दलीय राजनीतिको हस्तक्षेप हटाई प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्ने राज्यको दायित्व पुरा गर्न मन्त्रालयले तीनै तहका सरकार र सबै सरोकारवालाको सहयोग रहने अपेक्षा गरेको छ।

सबुद प्रमाणसहित अदालतमा बयानका लागि उपस्थित हुन सिधा कुरा डटकमलाई आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइनले प्रकाशित गरेको एक समाचारलाई अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने वा नपर्नेबारे सबुद प्रमाणसहित यही वैशाख २० गते १० बजे अदालतमा बयानका लागि उपस्थिति हुन आदेश गरेको छ ।

न्यायाधीशद्वय नहकुुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले आज सिधाकुरा डटकम नामक अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुङ्गानालाई अदालतको अवहेलना मुद्दामा सबुदसहित इजलासमा बयानका लागि उपस्थित हुने भनेको हो ।

यही वैशाख १४ वैशाखमा चार सयभन्दा बढी भ्रष्टाचारका मुद्दा ‘डिसमिस’ गराउन सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको ‘स्टिङ अपरेसन’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । आदेशमा भनिएको छ, “यो आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र हटाउन र यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रसारण, पुनः प्रसारणलगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नू/नगराउनू ।”

अदालतले हटाउन आदेश गरेका कुनै पनि सामग्री प्रसारण नगर्न सञ्चारजगत्को ध्यानाकर्षण गराउँदै सो कार्यान्वयनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घलाई लेखी पठाउनाका साथ अदालतका रजिष्ट्रारले समेत सार्वजनिक सूचना जारी गर्न भनिएको छ ।

अदालतले उक्त श्रव्य दृश्य सामग्रीमा उठाइएको विषयवस्तुको सत्यतथ्य र प्राविधिक पक्षको विस्तृत अनुसन्धान हुनुपर्ने देखिएको ठहर गरेको छ । “सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लङ्घन गरेको देखिएमा कानुनबमोजिम कारबाहीसमेत अगाडि बढाउनू”, आदेशमा भनिएको छ, “प्रतिवेदनसहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत यस अदालतमा पेस गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने ।”

सर्वोच्च अदालत प्रशासनले उक्त अनलाइनका प्रकाशक कँडेल र कार्यकारी सम्पादक ढुङ्गानालाई अदालतको अवहेलनामा हदैसम्म कारबाही गर्न माग गर्दै अदालतलका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रतिवेदन तयार गरी आइतबार इजलासमा पेस गरेका थिए ।

अदालतको अवहेलनामा न्याय प्रशासन ऐन २०७३ को दफा १७ को ४ अनुसार एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

इलाममा अग्रता बढाउँदै एमाले

काठमाडौं । इलाम-२ मा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले  ५५ सय भन्दा बढीको मतान्तर कायम गरेका छन् ।

नेम्वाङले १६ हजार २१९ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १० हजार ५५७ मत ल्याएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले  ८ हजार ८२५ मत ल्याएर पछ्याइरहेका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म २ हजार ३ सय १६ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म ४० हजार मत गणना भएको छ ।

टी-२० विश्वकपका लागि न्यूजिल्याण्डको टोली घोषणा

अनुभवी ब्याट्सम्यान केन विलियम्सनलाई कप्तानको जिम्मेवारी दिँदै न्युजिल्यान्ड जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी पुरुष टी-२० विश्वकपका लागि आफ्नो टोली घोषणा गर्ने पहिलो देश बनेको छ।

विलियम्सनसँगै तीव्र गतिको बलिङ जोडी टिम साउथी र ट्रेन्ट बोल्ट जस्ता अनुभवी खेलाडी समेट्दै १५ सदस्यीय टोली घोषणा गरिएको हो। विलियमसनका लागि यो छैटौँ विश्वकप हो । चोटका कारण आरम गरिरहनु भएका डिभोन कोन्वे पनि विश्वकप टोलीमा फर्किनु भएको छ ।

न्युजिल्यान्ड विश्वकपको समूह ‘सी’ मा रहेको छ । न्युजिल्यान्डले जुन ७ तारिख अफगानिस्तानसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । एजेन्सी 

न्युजिल्यान्ड टोली

केन विलियम्सन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, ग्लेन फिलिप्स, मिचेल स्यान्टनर, माइकल ब्रेसवेल, लोकी फर्गुसन, मार्क च्यापम्यान, डिभोन कोन्वे, म्याट हेनरी, ड्यारिल मिचेल, जिमी निशम, रचिन रविन्द्र, इश सोधी र टिम साउथी । 

२८ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं ।  सरकारले २८ जना सहसचिवको सरुवा गरेको छ । सहसचिव देवराज जोशीसहित २८ जना सहसचिवको सरुवा भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् । ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ ।

सूची:-

“जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियानमा एक्यवद्धता जनाउदै बरिष्ठ पत्रकार त्रिपाटीले गरे बृक्षारोपण


काठमाण्डौँ । बरिष्ठ पत्रकार देबप्रकाश त्रिपाटीले आज आफ्नो जन्मदिनको अवसरमा बृक्षारोपण गरेका छन् ।
रौतहट जिल्लाको चन्द्रपुर–९ सिन्दुरेघारीबाट पहिलो पटक सुरु गरिएको “जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियानमा एक्यवद्धता जनाउदै काठमाण्डौँको तिनकुनेमा बृक्षारोपण गरी जन्मदिन मनाएका हुन् ।
त्यस्तै, आजै जन्मदिन परेका आशिष् गुरागाइले पनि उक्त अभियानमा जोडिएर बृक्षारोपण गरेका छन् । यो सामुहिक अभियानमा बिद्यार्थीहरु र पत्रकार सहभागीभई एक्यवद्धता जनाउदै अबका दिनदेखि जन्म दिननै बृक्षारोपणको दिन बन्ने समेत बताएका छन् ।
तराई बिकास तथा संञ्चार केन्द्र नेपालका अध्यक्ष तथा उक्त अभियानका संयोजक गोबिन्दप्रसाद चौलागाईले पत्रकारिता क्षेत्रका अघिल्लो पुस्ता देखी पछिल्लो पुस्ताको जन्मदिनलाई आजको दिन एकै स्थानमा सत्कर्ममा जोड्न पाउदा आफुलाई खुसी लागेको बताउदै दुबै जनालाई जन्मदिनको शुभकामना दिएका छन् ।
उक्त अभियानले दुई महिनाको अवधिमा लाखौं मानिसको सामुहिक अभियान बनेसंगै राष्ट्रिय अभियानको रुप लिएको छ । यसअघि काठमाण्डौँको तिनकुने र देशकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल पशुपतिनाथ मन्दिर स्थित मृगस्थली श्लेसमानतक बनमा नेपाल सरकारका गृहसचिव एकनारायण अर्यालको प्रमुख आथित्यतामा देशकै सुपरहिट कलाकारहरुले अभियानमा एक्यवद्धता जनाउदै बृक्षारोपण गरेका थिए ।
गत शनिबार (बैशाख १५ गते) नुवाकोट जिल्लाको पंञ्चकन्या–१ सिमरा स्थित सत्य नारायण मन्दिरमा आश्रय लिएर बसेका बुवाआमा गुमाएका (बेसाहरा) २४ जना बालबालिकाहरुको साहरा बनेको थियो ।

‘अल नेपाल’ साईकल यात्री कुइकेल आन्तरिक पर्यटनमा पनि जोड दिनुपर्ने सन्देशसहित बैतडीमा

काठमाण्डौँ । देशका ७७ ओटै जिल्लाको भ्रमणमा रहेका साइकल यात्री माधप प्रसाद कुइकेल आज बैतडी पुगेका छन् । देशै भरीका नागरिकले निःशुल्क एम्बुलेन्स चड्न पाउनु पर्ने माग राख्दै साइकल यात्राको क्रममा कुइकेल आज बैतडी पुगेका हुन् ।

२९ ओटा जिल्लाको भ्रमण गरि ३० औं जिल्लाको रुपमा बैतडी पुगेका कुइकेले जिल्ला प्रशासनमा पुगि प्रमुख जिल्ला अधिकारिलाई भेटेर देशमा रहेका हरेक नागरिकले फ्री मा एम्बुलेन्स चड्न पाउने र त्यहाँको विभिन्न परिवेशका बारेका कुरा गरेका छन् ।

सुस्ताएको नेपालको पर्यटन व्यवसायलाई बचाउन गर्न भिन्न संस्कृति, भूगोल र मनलाई जोड्दै आन्तरिक पर्यटनमा पनि जोड दिनुपर्ने सन्देशसहित आफुले यात्रालाई निरन्तरता दिएको बताएका छन् ।

५९ बर्षिय उनी सिन्दुपाल्चोकको इन्द्रावति ४ नवलपुरका माधव प्रसाद कुइकेल भोलि दार्चुला जाने बताईएको छ ।

आगलागी पीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको हो । उक्त रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी रहेको छ। जरलहवा टोलमा यही वैशाख १२ गते दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो।

आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर एक सय घर जलेर नष्ट भएका थिए। यसबाट चार सय ५५ जना प्रभावित भए भने सोही आगलागीले पाँच वटा बाख्रा, दुईवटा सुँगर जलेर नष्ट भएका थिए।

हुलाकी राजमार्गको २१ किलोमिटर सडक मात्र कालोपत्र, सम्झौता अवधि सकियो, काम अधुरै

काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा हुलाकी राजमार्गको २१ किलोमिटर सडक मात्र कालोपत्र भएको छ ।
कुल ७४ दशवलब ७१ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरिएकोमा अहिलेसम्म २१ किलोमिटर मात्र कालोपत्र भएको हो । बजेट नभएको भन्दै ५३ दशमलव ७१ किलोमिटर सडकको प्रभावकारी रुपमा काम हुन सकेको छैन् । धनगढीको क्याम्पस चोक–कनरी खोला १२ किलोमिटर सडक स्तरवृद्धिका लागि २०७७ असार १४ गते ठेक्का सम्झौता भएको थियो ।
स्वछन्द–जोशी जेभी, महेन्द्रनगरले ३२ करोड ३० लाख ८३ हजारमा सडक कालोपत्रका लागि ठेक्का पाएको भएपनि १२ किलोमिटर सडक अन्तर्गत ६ दशमलव ५० किलोमिटर सडकको काममात्र काम पुरा भएको छ । निर्माण कम्पनीसँगको सम्झौता अवधि भने २०८१ जेठ ३० नै गते सकिएको छ भने काम अधुरै रहेको छ ।
हुलाकी राजमार्ग, योजना कार्यालय, धनगढीका सूचना अधिकारी बर्खबहादुर खडायतले चार लेन कालोपत्रको काम सकिएको बताए । उनले भने, ‘धनगढी–सत्ती सडक खण्डको पहिलो नम्बर र लम्की–टीकापुर खण्डको पहिलो खण्डको काम सकिएको छ । बाँकी क्षेत्रमा काम जारी छ । पुनः समय थप गर्न फाइल विभागमा पठाइएको छ ।’
हुलाकी राजमार्गको अर्काे १२ किलोमिटर सडक कालोपत्रका लागि २७ करोड ८५ लाख ६२ हजारमा स्वछन्द–जोशी, महेन्द्रनगरसँग २०७७ असार १४ गते नै ठेक्का सम्झौता भएको हो । तर अहिलेसम्म प्रगति ४० प्रतिशत मात्र देखिएको छ । उक्त सडक खण्डको म्याद २०७९ मङ्सिर १३ गते सकिएको हो । म्याद थपका लागि फाइल निर्देशनालय पठाएको छ ।
त्यस्तै हुलाकी राजमार्गको कैलाली खण्डमा १३ किलोमिटर सडक कालोपत्रका लागि कालिका–जोशी जेभीसँग २०७७ असार १४ गते सम्झौता भएको थियो । ३२ करोड ६२ लाख ३९ हजारमा ठेक्का सम्झौता भएको सो सडक खण्डको प्रगति ३० प्रतिशत देखिएको छ। २०७९ मङ्सिर १३ गते सम्झौताको समय सकिएको थियो । म्याद थप भने गरिएको छैन ।
लम्की–टीकापुर–खक्रौला १० किलोमिटर सडक कालोपत्रका लागि एपेक्स–खड्का कृष्ण जेशी, बाँकेसँग ४० करोड ९९ लाख नौ हजारमा ठेक्का सम्झौता भएको थियो । २०७७ जेठ २६ गते सम्झौता गरिएको उक्त खण्डको समय २०७९ मङ्सिर २५ गते सकिएको छ । तर, कामको प्रगति ४८ प्रतिशत मात्र देखिएको छ । लम्की–टीकापुर खण्डको ११ दशमलव ७१ किलोमिटर सडक कालोपत्रका लागि २०७७ असार १४ गते सम्झौता गरिएको थियो ।
३३ करोड २० लाख ६६ हजारमा सम्झौता गरिएको सो सडक खण्डको प्रगति ३५ प्रतिशतभन्दा बढी हुन सकेको छैन् । २०७९ मङ्सिर २५ गते समय सकिएको छ । अहिलेसम्म म्याद थप भने गरिएको छैन । बजेट अभावका कारण काम प्रभावित बन्न पुगेको आयोजना कार्यालयको दाबी छ ।
हुलाकी राजमार्ग, योजना कार्यालय, धनगढीका सूचना अधिकारी बर्खबहादुर खडायतले १५ करोड चालु आर्थिक वर्षको भुक्तानी दिन बाँकी रहेको बताए । उनले भने, ‘पोलमा समस्या थियो । अहिले बजेटको समस्या छ । थप बजेट आएको छैन । १५ करोड भुक्तानी दिन बाँकी नै छ ।’
पछिल्लो समयमा जनप्रतिनिधीहरुले पनि बिकासको पुर्वाधारको रुपमा बिशेष गरी सडकलाई मात्र प्रथमिकतामा राखेपनि चुनावको बेलामा सडकबारे जनताहरुलाई दिएको अस्वासन पुरा गर्न सकिरहेका छैनन् ।

सेयर बजारमा झिनो अंककाे वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकले बढेर बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक ०.०७ अंक बढेर १९८०.३४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ।

यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ४६ हजार ५११ पटकको कारोबारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको ७३ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेमा आज २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९९ वटाको बढेको छ भने १२८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । पोखरा फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७३१.५० रुपैयाँ पुगेको छ भने जानकी फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५१७ रुपैयाँ पुगेको छ । त्यस्तै, आज नेपाल फाइनान्स लिमिटेडको शेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेको छ ।   

आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ६ प्रतिशतले घटेको छ । सबैभन्दा बढि पोखरा फाइनान्स लिमिटेडको १७ करोड ५४ लाख बराबरको कारोबार भएको छ । 

सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा दुई जना पक्राउ

सिराहा । सिरहामा तीन वर्षिया बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सिरहा नगरपालिका–१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवका तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षिया सोनादेवी र उनका छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका श्रीमान् धनिकलाल यादव भने फरार रहेका छन् ।

गत बुधवार बिहानदेखि हराइरहेकी रियाको शव खोजतलासका क्रममा दुई दिनपछि शुक्रवार राति छिमेकी धनिकलाल यादवको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिए ।

दुई परिवारबीच घरायसी झगडा हुँदै आएकाले सोही रिसइबीका कारण बालिकाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घुससहित पक्राउ परेका वडा अध्यक्ष अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का अध्यक्ष उजेर अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

उनलाई अख्तियारले गत चैत १८ गते १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो । घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका अलीविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार १५ हजार रुपैयाँ नै बिगो कायम गरेर कैद र बिगो बमोजिम जरिवानाको मागदाबी आयोगले गरेको छ ।

ईलाम उपनिर्वाचन अप्डेटः सुहाङको अग्रता कायमै

इलाम । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र २ मा भएको उपनिर्वाचनको मत गणना परिणामले नेकपा ९एमाले० का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ । इलाम(२ को चार पालिकाको मत गणना सम्पन्न हुँदा नेम्वाङले ४ हजार ६८३ मतले अग्रता लिनुभएको छ । उक्त मतगणनामा १३ हजार ६९ मत सुहाङलाई प्राप्त भएको छ ।

यस्तै, नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ८ हजार ३८६ आएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ९८ मत आएको छ भने रास्वपाका मिलनकुमार योङहाङ लिम्बुको १ हजार ७१३ मत आएको छ ।

यसैगरी, अहिले सम्म ३२ हजार ६३८ मत गणना भएको छ । अहिलेसम्मको फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ गाउँपालिका र माई नगरपालिका ६, ७ को मत गणना सक्किएको छ । यसपटक इलाम– २ मा ६९ हजार २८७ मत खसेको थियो ।

काभ्रेको पनौतीमा अधिवक्ता दाहाल मृत फेला

काठमाडौँ । काभ्रेको पनौती नगरपालिका वडा नम्बर ५ स्थित चौकोट जंगलमा अधिवक्ता मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगा घर भएर बानेश्वर बस्ने हरिशंकर दाहाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए । रुखमा पासो लागेको अवस्थामा भेटिएको शव निकालेर प्रहरीले पोष्टमार्टम गर्न धुलिखेल अस्पतालमा पुर्याईएको छ । अधिवक्ता दाहाल शुक्रवारदेखि परिवारको सम्पर्कमा थिएनन् ।

नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर र शाखा अधिकृत पक्राउ

काठमाडौँ । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।

यातायात व्यवस्था विभागका अनुसार विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो ।

देशभरका यातायात कार्यालयबाट एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको घटनामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । शनिबार पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागका करारका इञ्जिनियर हुन् ।

गत पुसमा यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट जारी भएको लाइसेन्सको डाटाबेसबारे अध्ययन गरेको थियो ।अध्ययनले ५ वर्षको अवधिमा देशभरका यातायात कार्यालयबाट करिब ७३ हजार नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी भएको भेटिएको थियो । तीबाहेक प्रदेश सरकार मातहतका यातायात कार्यालयहरूमा गडबड भएको भेटिएपछि जारी गर्ने तयारीमा रहेका करिब २३ हजार लाइसेन्स रोकिएका थिए ।

देशभरका ३५ वटा यातायात कार्यालयका प्रमुखलाई दिइएको मास्टर युजर आईडी र पासवर्डको दुरुपयोग गरी लाइसेन्स बाँडेको फेला परेको थियो । त्यो काममा विभागका भट्टको पनि मिलेमतो देखिएको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको हो ।