यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार  आज अमेरिकी डलर एकको खरिद दर १३३.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.६२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५८ रुपैयाँ रहेको छ ।

त्यसतै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.९३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४८ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.४७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४१ रुपैयाँ रहेको छ ।

यस्तो छ तपाईंको  १८ जेष्ठ २०८१, शुक्रबार आजको राशिफल

मेष : समय राम्रो छ। शुभ समाचार सुन्न पाइने छ। आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ । राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

वृष : आफन्तसँगको भेटले समय रमाइलो हुनेछ। लगानीको क्षेत्रमा प्रगति हुनेछ। आफ्नो विषय वा क्षेत्रमा तपाईं सफल बन्ने दिन छ। एउटा काम गर्दा दोहोरो फाइदा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : सुन्दर बन्न मन लाग्नेछ। शेयर कालोबारमा फाइदा हुने देखिन्छ। काम गर्ने जाँगर बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : सानो गल्तीले बन्न लागेको काम बिग्रने जोखिम देखिन्छ। चुनौतीको सामना गर्नुपर्ने दिन छ। सामाजिक कामको आलोचना हुनेछ। प्रेममा संकट देखिन सक्छ।

सिंह : समय राम्रो छ। गुमेको धन प्राप्त हुने योग छ। परिवारसँगको सहकार्यले योजना सफल हुनेछन्। धर्म र परोपकारमा मन जानेछ। सम्मान प्राप्त हुने योग छ। शिक्षाको क्षेत्रमा उत्साह मिल्नेछ।

कन्या : दिन राम्रो छ। नयाँ कामको सुरुवात हुनेछ। भौतिक सुख र सुविधामा मन जानेछ। निरन्तरको मेहनतले सफलता प्राप्त हुनेछ। आर्थिक कारोबार सफल बन्ने देखिन्छ। कर्मचारी हुनुहुन्छ भने बढुवाको योग छ।

तुला : जग्गा जमिनको कारोबारमा फाइदा हुनेछ। जुनसुकै काम गर्ने आत्मविश्वास बढेर जानेछ। शेयर कारोबारमा राम्रो फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जाने देखिन्छ। सोचेका सबै काम बन्नेछन्।

वृश्चिक : चुनौतीको सामना गर्नुपर्ने दिन छ। राज्यको भयले सताउने देखिन्छ। परिवारमा झगडा देख्नुपर्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग छ।

धनु : नाम र दाम कमाउने दिन छ। यात्रा सफल बन्नेछ। नयाँ योजना बनाउनु भएमा प्रभावकारी हुनेछ। परिवारको सुख प्राप्त हुनेछ। तपाईंको क्षमताको प्रशंसा हुनेछ। संगीत क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मकर : बोलीको प्रभावमा काम बन्नेछ। तपाईंसँग अरु मानिस प्रभावित हुनेछन्। दिन मनोरञ्जनमा बित्नेछ। व्यापारमा नाफा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ।

कुम्भ : प्रेम सम्बन्ध सुमधुर बन्नेछ। ठुलो प्रतिष्ठा प्राप्त हुनेछ। न्यायिक क्षेत्रमा सफलता हात लाग्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ।

मीन : दिन मध्यम छ। जति फाइदा हुन्छ उति नै सम्पत्ति गुम्ने खतरा देखिन्छ। ठुलो लगानी नगर्नु राम्रो होला।आर्थिक कारोबारमा सचेत हुनु राम्रो हुन्छ। बोल्नु अगाडि एक पटक सोच्नुपर्छ। आफ्नो भनिएको साथीसँग जोगिएर काम गर्नु राम्रो हुनेछ।

सरकारले गर्यो तीन सचिवको सरुवा, सिंह भए महालेखा नियन्त्रकको कार्यालयमा

काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिवहरूको सरुवा गरेको हो ।

प्राप्त जानकारी अनुसार स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, वित्त आयोगका सचिव विनोदप्रकाश सिंहको महालेखा नियन्त्रकको कार्यालयमा र महालेखा नियन्त्रक हरिप्रसाद मैनालीको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ ।

वित्त आयोगका सचिव सिंहको डेढ महिना अघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आयोगका सरुवा भएको थियो । उनको डेढ महिनाकै अवधिमा तीन निकायमा सरुवा भइसकेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बुर्लाकोटीको पनि दुई महिना नपुग्दै सरुवा भएको छ । महालेखा नियन्त्रक मैनालीको भने करिव २० महिनापछि सरुवा भएको हो ।

न्याय सेवाका तीन सह–सचिव सचिवमा बढुवा

काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका तीन जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गत शुक्रबार आयोगले बढुवाका लागि सिफारिस गरेका तीन सहसचिवलाई सचिवमा बढुवा गरेको हो ।

जसमा नेपाल न्याय सेवातर्फका सह न्यायाधिवक्ता खेमराज ज्ञवाली महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायाधिवक्ता। सहसचिव यमबहादुर बुढा मगर न्याय परिषद्को सचिव र सहरजिष्ट्रार भद्रकाली पोखरेललाई सर्वोच्च अदालतमा रजिष्ट्रार पदमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिनेलाई पक्राउ पुर्जी जारी गरिएकाे छ ।

सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपी दिने शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी गरेको हो ।

०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । उनका बुवा स्व. घासीराम मारवाडीको नागरिकता अंकिकृत थियो । तर सिरोहियालाई वंशजको नागरिकता दिइएको अनुसन्धानबाट खुलेको छ ।

सिरोहियाको वंशज नागरिकता तत्कालिन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईले जारी गरेका थिए । उनको पहिलो प्रतिलिपी भने तत्कालीन शाखा अधिकृत काशिराज दाहालले दिएका हुन् । उनी दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।

नागरिकता किर्ते प्रकरणमा पक्राउ परेका सिरोहिया ९ हिरात बसेर हिजो बुधबार हाजिरी जमानीमा छुटेका छन् । उनी छुटेलगततै प्रहरीले तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको हो ।

दैलेखमा जीप दुर्घटना दुई जनाको मृत्यु

काठमाडौं । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ भने दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको छ ।

दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो ।

क्रिकेटर सन्दीप लामिछानेकाे अमेरिकाकाे भिसा दाेस्राेपटक पनि ‘रिजेक्ट’

काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।

उनले टी-२० विश्वकप क्रिकेट खेल्न भिसा एप्लाइ गरेपछि दुतावासले उनकाे आवेदन फेरि अस्वीकार गरेकाे हाे । यसअघि पनि उनकाे भिसा रिजेक्ट भएको हाे ।

बुधबार नेपाली क्रिकेट समर्थकहरुले लामिछानेलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट प्रदर्शन गरेका थिए । सरकारले अमेरिकासँग लामिछानेले भिसा पाउन पर्ने भन्दै कुटनीतिक नोट पठाएर  आग्रह गरेपनि भिसा रिजेक्ट गरिएकाे हाे ।

यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ४ अर्ब २१ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार १९.८९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०६९ अंकमा झरेको छ ।

नेप्सेमा आज ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७० वटाको बढेको छ भने १७३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।             

यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.५ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.७२, विकास बैंक ०.९७, लगानी १.१७, जीवन बीमा १.१३, माइक्रोफाइनान्स १.९६, निर्जीवन बीमा १.०७, अन्य ०.८१ र ब्यापार ०.३३ प्रतिशत घटे । उत्पादन समूह १.२३, हाइड्रोपावर ०.४९ र फाइनान्स समूहको सूचक ०.१५ प्रतिशत बढे ।

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, अप्पर लोहरे खोला हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनी र युनिलिभर नेपाल रहेका छन् ।    

आज पोखरा फाइनान्स लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल फाइनान्सको १९ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।   

रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ । उक्त रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको थियो ।

उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको थियो । तर निवेदकको तर्फबाट आजको सुनुवाइ स्थगित भएको हो । न्यायाधीश पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा बहस गरेका थिए ।

उनले बुधवार सोही कुरा राखेर हेर्न नमिल्ने बारे जिज्ञासा राखेका थिए । तर न्यायाधीशले भने आफू नियुक्ति अघिको विवाद नहेर्ने र नियुक्ति पछिको हेर्ने जवाफपछि स्थगित गराइएको थियो । यसअघि बुधवार पनि पोखरेलकै इजलासमा पेशी तोकिएको थियो । उक्त इजलासमा स्थगित गर्ने निवेदन दिएर हटाइएको थियो ।

सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यस विरुद्ध रिट दायर भएको थियो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त रिट सुरुमा दरपिठ भएको थियो ।

घुससहित रंगेहात पक्राउ परेका नायब सुब्बाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुससहित पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा नरहरि खनालविरुद्ध मुद्दा दायर गरेको छ । 

जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको बिगो जरिवाना सजाय हुन माग दाबी लिई आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मधेश प्रदेशमा यति धेरै बेरुजु

काठमाडौं । आर्थिक वर्ष २०७९-८० मा मधेश प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँ बराबरको बेरुजु भएको देखिएको छ ।

अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी मधेश प्रदेशमा बेरुजु देखिएको छ । बुधवार महालेखापरीक्षक कार्यालयले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बुझाएको प्रदेशको छैटौं प्रतिवेदनमा प्रदेशको मन्त्रालय तथा अन्य निकायसहित १४९ वटा कार्यालयको ४७ अर्ब ९५ करोड २१ लाख ३२ हजार रुपैयाँ बराबरको गरिएको लेखापरीक्षणमा सो बेरुजु देखिएको हो ।

प्रदेशको १३५ सरकारी कार्यालय र १४ वटा अन्य संस्था तथा समितिको लेखापरीक्षण गरिएको हो । जसमा सरकारी कार्यालयतर्फ १ अर्ब ५९ करोड १६ लाख १७ हजार र अन्य संस्था तथा समितितर्फ २६ करोड २६ लाख २५ हजार रुपैयाँ बराबरको बेरुजु रहेको छ । प्रतिवेदनमा १४९ वटा कार्यालयको गरिएको लेखापरीक्षणमा कायम गरिएको बेरुजुमा असुल गर्नुपर्ने ७ करोड ३१ लख ३ हजार, नियमिति गर्नुपर्ने १ अर्ब ३३ करोड २५ लाख ७१ हजार र पेश्की ४४ करोड ८५ लाख ६८ हजार रहेको छ । यसबाहेक विभिन्न योजनामा अनियमित भएको ३५ करोड ७९ लाख ४७ हजार र ९७ करोड ३९ लाख १२ हजार रुपैयाँ बिना कुनै प्रमाण कागजातकै भुक्तानी गरिएको छ ।

प्रतिवेदन अनुसार सबैभन्दा बढी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा ८२ करोड, ५४ लाख, ४५ हजार बेरुजु देखिएको छ । यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ४४ करोड ६० लाख ९५ हजार, सामाजिक विकास मन्त्रालयको १२ करोड ३ लाख ९३ हजार, उर्जा सिंचाई तथा खानेपानी मन्त्रालयको ७ करोड २८ लाख ३९ हजार, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको ४ करोड ९० लाख ४१ हजार र अन्य मन्त्रालय तथा निकायको ३४ करोड ४ लाख २९ हजार रुपैया बेरुजु रहेको छ ।

प्रदेश सरकारी कार्यालयतर्फ गत वर्षसम्मको पेश्की एक अर्ब ८३ करोड १५ लाख ६६ हजार रुपैयाँ बाँकी रहेकोमा यो वर्ष ३९ करोड ८२ लाख २१ ह्जार मात्र फछ्र्यौट भई १ अर्ब ४३ करोड ३३ लाख ४५ हजार बाँकी नै रहेको छ । यो वर्ष १३५ सरकारी कार्यालयको गरिएको लेखा परीक्षणमा प्रदेश सभा सचिवालयसहित १७ वटा कार्यालय र अन्य संस्था तथा समितितर्फ २ वटा कार्यालयको बेरुजु देखिएको छैन ।

बुधवार महालेखापरीक्षकको कार्यालयका सह–सचिव श्यामप्रसाद भण्डारीले प्रदेश प्रमुखको सचिवालयमा छैटौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएका थिए । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रतिवेदनको अध्ययन गरी प्रदेशमा आर्थिक सुशासन कायम गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिने बताए । उहाँले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएका विषयहरूको कार्यान्वयनले प्रदेशमा आर्थिक अनुशासन कायम गर्नमा ठूलो मद्दत पुग्ने बताए । प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेशमा बेरुजु अन्य प्रदेशको तुलनामा बढी हुनु चिन्ताको विषय भएको बताउँदै यस विषयमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउने बताए ।

प्रतिवेदन बुझाउँदै महालेखापरीक्षक कार्यालयका सह–सचिव श्यामप्रसाद भण्डारीले गत वर्षभन्दा थोरै बढी बेरुजु मधेश प्रदेशमा बढेको बताउँदै बेरुजु बढ्नुमा म्याद नाघेको पेश्की नै प्रमुख कारणको रुपमा रहेको बताए । नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम सात वटै प्रदेशका प्रदेश प्रमुखहरूलाई प्रदेश मातहतको निकायहरूमा भएको लेखा परीक्षकको प्रतिवेदन बुझाउने संवैधानिक व्यवस्था रहेको छ ।

हालसम्मको बेरुजुको अवस्था हेर्दा कोशी प्रदेशको पाँच अर्ब ५८ करोड चार लाख सात हजार, वागमतीको चार अर्ब २८ करोड पाँच लाख ६१ हजार, गण्डकीको दुई अर्ब ६८ करोड ५५ लाख ४२ हजार बराबर छ । त्यस्तै, लुम्बिनीको चार अर्ब दुई करोड नौ लाख ६९ हजार, कर्णालीको रु तीन अर्ब ९४ करोड ८२ लाख ५४ हजार र सुदूरपश्चिम प्रदेशको दुई अर्ब ६८ करोड २९ लाख २९ हजार बराबर बेरुजु देखिएको छ ।

सीमरी मन्दिरमा बती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा हुन्छ पूजा


सञ्जय मिश्रा, रौतहट । जहाँ बती बलेपछि मात्र विश्वप्रसिद्ध बारा गढीमाई मन्दिरमा पूजा गरिन्छ त्यही स्थान रौतहटको गुजरा नगरपालिकाका वडा ३ सिमरी गाउँमा नवनिर्मित गढीमाई मन्दिरको उदघाटन भएको छ। वडा ३ को विनियोजित रकमबाट सिमरीमा ऐतिहाँसिक गढिमाई मन्दिर निर्माण भई मंगलवार विधिवत रूपमा मेयर सन्तलाल चौधरीले उदघाटन गरेका हुन्। वडाको कोषबाट कुल १० लाख रुपैयाँको लागतमा मन्दिर निर्माणकार्य सम्पन्न भएको वडा अध्यक्ष अशोक चौधरीले बताएका छन। यस अघी स्यानो तथा जीर्ण मन्दिरमा पूजा हुदै आएको थियो।
सिमरी गाउँ स्थित नवनिर्मित गढिमाई मन्दिरमा बती बालेर पुजा गरेपछि मात्र विश्व प्रसिद्ध बाराको ठुलो गढिमाई मन्दिरमा बती बालेर पुजा सुरुहुने परम्परा रहेको छ।
यस पटक सिमरि स्थित गढीमाई मन्दिरका पुजारी तान्त्रिक उमाशंकर धामी कछडिया उक्त मन्दिरमा विधिवत पूजा गरेर बारा बरियारपुर स्थित गढिमाई मन्दिर पुगेपछि मात्र त्यहाँ पुजा सुरुहुने बताईएको छ।यस अघी उनको बुबा दुखन धामी कछाडिया तान्त्रिक पुजारी रहेका थिए। चार वर्ष अघि उनको मृत्यु भएपछि परम्परा अनुसार उनका जेठा छोरा उमाशंकर धामी कछाडिया तान्त्रिक पूजारीको रुपमा जिम्मेवारी पाएका छन।
प्रत्येक पाँच बर्षमा विश्वप्रसिद्ध बारा स्थित गढीमाई मन्दिर लाग्ने मेलामा नेपाल भारत लगायत संसारको धेरै देशबाट लाखौं मानिस मेलाभर्न आउने गर्दछन्।
पाँचवर्षे मेलाको अवसरमा गढीमाई मन्दिरमा सेतो मूसा,बोका, ,परेवा , सुँगुर,राँगा गरी पञ्चबली दिने परम्परा रहेको छ।
सबैभन्दा बढी बलि चढाउने भएकाले बाराको वरियारपुर स्थित गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ।
मन्दिर व्यवस्थापन पक्षबाट पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन्।
गढीमाई मन्दिरमा तान्त्रिक धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर चढाएरपछि बलि सुरुहुन्छ।
अघिल्लो मेलामा ३५ हजार भन्दा बढी राँगा र हजारौंको संख्यामा बोकाको बलि भएको गढीमाई पुजा ब्यवस्थापन समितिले जनाएको छ भाकल पूरा भएर मेलाभर्न पूजागर्न आउने भक्तजनहरुले हजारौँ परेवा उडाउने गर्छन् ।
बारा गढीमाई मन्दिरमा पूजा हुनु अघी रौतहट गुजारा नगरपालिका ३ सिमरी गाँउमा रहेको गढीमाई मन्दिरमा तान्त्रिक पूजारी उमाशंकर धामी ९कछडिया०ले विशेष पुजा, आराधाना गरे सँगै आफ्नो शरीरको पाँचठाउँ बाट रगत निकाली नर वली स्वरुप रगत चढाउने परम्परा रहेको छ। त्यस पछि रांगा, बोका, परेवा र पाठीको बलि दिएर मन्दीरमा बती बालेर तान्त्रिक पूजारी धामी बारा गढीमाई मन्दिरमा जाने गर्दछन्।
तान्त्रिक पूजारी कछाडिया, बारा गढीमाईका मुल पुजारी मंगल चौधरी, अन्य पुजारीहरुका साथमा रही रातभर पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफै बत्ती बल्छ र पञ्चबलि हुनेगरेको पूजारी उमाशंकरले बताएका छन। परापूर्वकलदेखि हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्ति संग जोडेर हेर्ने प्रचलन रही आएको छ । शक्ति स्वरुपा देवीलाई खुसी बनाउन बलि अनिवार्य भएको प्रचलन रहिआएको छ ।
विश्वप्रसिद्ध पञ्च बर्षीय गढीमाई मेला यस बर्ष आगामी मन्दिरमा लाग्दै छ। गढीमाई मेला २०८१ मंसिर १ गते तदनुसार सन द्दण्द्दद्ध नवम्बर १६ तारिक देखि मंसिर ३० डिसेम्बर १५ तारिक एकमहिना सम्म मेला लाग्ने छ।
गढीमाई मन्दिरमा बिशेस पुजा तथा राङ्गा बलि मंसिर २३ गते तदनुसार डिसेम्बर ८ तारिक र बोका बलि त्यसको भोलिपल्ट मंसिर २४ गते डिसेम्बर ९ तारिक हुने मेला व्यवस्थापन समितिले सार्वजनिक गरेको छ।
बारा गढीमाई मन्दिरमा प्रत्येक पाँच बर्षमा लाग्ने एकमहिने मेलाको लागि स्थानीयहरू एकबर्ष अगाडी देखि तयारी सुरु गर्ने गर्दछन्। सो क्षेत्रको प्रत्येक घरमा आफन्तहरू मेला हेर्न महिना भरी बस्नुभएको कारण आआफ्नो क्षमता अनुसार खाने बस्ने व्यवस्था गर्ने गरेको स्थानीयहरूले बताएका छन।

न्यायाधीश सुनिल पोखरेलको इजलासमा सुनुवाइ हुँदै गृहमन्त्री लामिछानेविरुद्धको रिट

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ।  गृहमन्त्री लामिछाने पदमा रहिरहेका बेला सहकारी ठगी प्रकरणको छानबिन प्रभावित हुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको छ। सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यस विरुद्ध रिट दायर भएको थियो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त रिट सुरुमा दरपिठ भएको थियो । सर्वोच्च प्रशासनले दरपिठ गरेपछि भट्टराईले इजलासमा पुगेर दरपिठ बदर गराएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले दर्ता गर्नु भनी आदेश गरेपछि जेठ १४ गते रिट दर्ता गरेका थिए ।

रिटमा गृहमन्त्रीमाथि ठगीको आरोप लागेकाले निलम्बन गर्नुपर्ने माग गरिएको छ। त्यस्तै विभिन्न जिल्लामा ठगीको अभियोग पत्रमा नाम उल्लेख भएको र कास्की जिल्ला प्रहरी कार्यालयमा जाहेरी नै रहेको अवस्थामा महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेर क्लिनचिटको पत्र लेखाइएकाले गृहमन्त्री पदमा नैतिक रूपमा बस्न नमिल्ने जिकिर रिटमा गरिएको छ। रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ।

नेताका अनुहार फेरिए, फेरिएनन् जनताका समस्या



काठमाण्डौँ । नेपालमा स्थीर सरकारको चाहना धेरै लामो समयदेखि विद्यमान छ तर नेताहरुका अनुहार जति फेरिए पनि जनताका समस्या भने उस्तै छन् । बारम्बार जनतालाई बिकासको लागि अश्वासन दिने तर काम नगर्ने दल नै सरकारमा जान्छन् ।
तर नेपालमा नेताहरु सरकार बनाउने, गिराउने एकअर्का बीचमा खिचातानी चलिरहँदा जनताका समस्याहरु भने समाधानका निम्ति प्राथमिकतामा परेनन् । पछिल्लो समयमा तुईनको समस्या यहाँ बिकराल बनेको छ । देशको धेरैजसो ठाउँमा काठेपुल निर्माण गर्न समेत बजेट नपाउँदा जनताले ज्यान दाउमा राखेर तुईन मार्फत अवतजावत गर्न बाध्य छन् भने कतिले ज्यानै गुमाईसकेका छन्
सुदूरपश्चिम प्रदेशकै दुर्गम जिल्ला दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ माल गाउँका ३३ वर्षीय जय सिंह धामी १५ साउन २०७८ मा सदरमुकाम खलंगा जाने बेलामा महाकाली नदीको तुईन तर्ने क्रममा महाकाली तर्ने क्रममा भारतीय एसएसबीले देखेपछि तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका थिए । त्यो क्षेत्रका जनताहरुले जयसिंह बन्नैपर्छ की तुईन हट्छ ? भन्ने बिषय अझै चर्चामा छ ।
बिद्यालय जाने स–साना बालबालिका देखि मेलापात गर्ने, घाँस, दाउरा, खाद्यान्न सामानहरु पनि तुईन मार्फत नै ल्याउन लैजाने गर्दछन् । यी र यस्तै फोटा तथा भिडियो सामग्रीहरु नेताहरुले नदेखेको मात्र होईन त्यहीँ तुईन मार्फत बि.सं. २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधीसभा सांसद तथा एमाले नेता गणेश ठगुन्ना सहितले आवत जावत पनि गरेका थिए ।

ठगुन्नाकै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापित गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका पनि थिए तर तो हस्ताक्षर पानीको फोका जस्तै बनेको छ । देशका १२ हजार स्थानमा यस्ता झोलुंगे पुलको आवश्यक्ता छ । तर, धेरै स्थानमा झोलुंगो पुल नहुँदा ट्युव, डुंगा, तुइन, फड्के लगायतको साहायतामा जोखिम मोलेर खोला तर्न नागरिकहरु बाध्य छन् ।अब बर्षातको मौसम आउन लागेको छ। जनताले हरेक वर्ष ब्यहोर्दै आएको सास्ती सहितको पिडा सधैंको निम्ति बिदा गर्न सकेका छैनन।
धेरै निर्वाचनमा सबै राजनीतिक दलका नेताका मुख्य ऐजेण्डा तुईन बिस्थापित गर्ने हुन्थे । सबैतिर तुईन बिस्थापित गरेर झोलुंगे पुल बनाउने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको आकर्षक मुद्दा पनि थियो । नेपालमा राष्ट्रियताको हट मुद्दा बनेको दार्चुलाको कालापनी क्षेत्र सधै राजनीतिक चर्चाको केन्द्र मात्र बनेन् यसको साहारामा धेरैले आफ्नो राष्ट्रवादी छवी बनाए ।
कालापानी क्षेत्र व्यास गाउँपालिका बासिन्दाले आफ्नै जिल्लाको सदरमुकाम ओहोरदोहोर गर्ने बाटो बनाउन कयौ अनुनय र बिनय गरे तर सुनवाई भएन ।
तुईनकै भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष समेत कार्यालय आवातजावत गर्ने गर्दथे उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होईन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्दथे ।
लोकतान्त्रिक व्यवस्थामा राज्यशक्तिको अभ्यास गर्ने मुख्य संगठित शक्ति राजनीतिक दल नै हुन् । निश्चित सैद्धान्तिक वैचारिकको जगमा जनतालाई संगठित गर्छन् । जनताकै संगठित शक्तिबाट आर्जन गरेको शक्तिका आधारमा जनताको हित हुने राजनीतिक व्यवस्थाको निर्माण गर्छन् भन्ने विश्वास गरिन्छ ।
कुनै बेला आदर्श विचार र जनताको भविष्यको योजना बोकेर राजनीतिक संघर्षमा होमिएका दलहरू स्वार्थ–समूहको बथानमा रूपान्तरित भएका छन् । ती पार्टीका अधिकांश नेतृत्वमा जनताका समस्या समाधानको मियो बन्दैनन बन्छ्न त केवल अनगिन्ती स्वार्थको पहाड मै रुमलिएको देखिन्छ। यसैका परिणाम हुन्, भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणदेखि सुनकाण्ड देखि सहकारी ठगीसम्म देशकै गृहमन्त्री आरोपित छन् ।

वीरगंजलाई यथासिघ्र आर्थिक राजधानी घोषणा गरी सोही अनुसार बिकासका आयोजना लागु गर्न प्रभु साहको माग

वीरगंज १७ जेठ। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग सरकारसंग गरेका छन् । आर्थिक नगरी वीरगंजलाई आर्थिक राजधानी घोषणा गरी सरकारले सोही अनुसार यहाँ लगानी गर्नुपर्ने माग समेत उनले गरेका छन् ।

आजपा पर्सा जिल्ला कमिटीले आज वीरगंजको टाउनहलमा आयोजना गरेको ‘वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउन’ बृहत भेलालाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन् ।

वीरगंजबाट देशको कुल राजस्व मध्ये ८० प्रतिशतभन्दा बढी उठने गरेको छ । मुुलुककै आर्थिक नगरी वीरगंजबाट सबैभन्दा बढी राजस्व उठने गरेको बताउँदै उनले ढिला नगरी सरकारले यथासिघ्र वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने बताए ।

‘बीरगंज देशकै आर्थिक नगरी हो । यहाँ सबैभन्दा बढी आर्थिक कारोबार हुन्छ, सरकारको राजस्व पनि अन्तभन्दा यहाँबाट धेरै उठने गरेको छ । आर्थिक नगरी वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारले ढिला गर्नुभएन् । यथासिघ्र वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्छ’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले यहाँबाट राजस्व उठाउने र अन्त गएर लगानी गर्नु हामीलाई स्वीकार्य छैन् । वीरगंज आर्थिक राजधानी हो र यहाँ त्यही अनुसार सरकारले लगानी पनि गर्नुपर्छ ।’

बारा, पर्सामा देशकै सबैभन्दा बढी उधोग व्यापार हुने ठाउँ हो । जसको केन्द्र भनेको वीरगंज हो । वीरगंजमा सरकारले न्यनू लगानी गरिरहेको बताउँदै उनले आर्थिक नगरीको बिकासका लागि सरकारले बढी भन्दा बढी बजेट दिनुपर्ने माग समेत गरे । तर हालै आएको सरकारको बजेटले समेत न्याय नगरेको बताउँदै उनले वीरगंजलाई आजपाले जसरी पनि आर्थिक राजधानीको रुपमा घोषणा गराएर सोही अनुसार बिकासका आयोजना पनि ल्याउँने बताए ।

वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउन आजपाले पहल थालेको बताउँदै अध्यक्ष साहले त्यसका लागि यहाँका उधोगी, व्यापारी, नागरिक समाज, बुद्धिजिवि, जनप्रतिनिधि, राजनीतिक दल लगायतका सबैको साथ सहयोगको आवश्यकता रहेको बताए । सबै मिलेर एकढिका भई अगाडी बढने हो भने सरकारले आर्थिक राजधानीको रुपमा घोषणा गरेर बिकासका आयोजना पनि सोही अनुसार दिने उनले बताए ।

देशको प्रमुख आर्थिक केन्द्र, सबैभन्दा बढी राजस्व उठने ठाउँका साथै उधोग व्यापार सबैभन्दा बढी भएको वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउँन सरकारलाई दबाब दिने उदेश्यले आयोजित भेलामा सहभागिलाई उनले धन्यवाद व्यक्त गरे ।

भेलामा उधोगी, व्यापारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, बुद्धिजिवि, नागरिक समाज सहित बिभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेलामा सहभागिहरुले वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउनका लागि आजपाले पहल गरेकोमा धन्यवाद दिदै त्यसका लागि संघर्षमा समेत उत्रिन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।