जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यादवले पठाएको समर्थन फिर्ताको जानकारीसहितको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

यसअघि उपप्रधान एवं स्वास्थ्यमन्त्री रहेका पार्टी अध्यक्ष उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री रहेका दीपक कार्कीले राजीनामा दिएका थिए ।

सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको सांसद राजकिशोर यादवले बताए । जनता समाजवादी पार्टी, नेपाल फुटाउन राज्य नै लागेको उनको आरोप छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’स्वयंले पार्टी विभाजनमा आफ्नो हात रहेको उल्लेख गरेको यादवको जिकिर छ । सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको विरुद्धमा आफूहरू लाग्ने उनले चेतावनी दिएका छन् । 

बैंकिङमा आएको उत्साहले नेप्सेमा लगानीकर्ताको आकर्षण

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २४ अंक बढेको छ । नेप्से परिसूचक २४.३९ अंक बढेर १९९८.८९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ अंक बढेको छ।

दिउँसो १२ बजेर ५६ मिनेटमा दुई हजार विन्दुमा पुगेको नेप्से त्यसपछि उतारचढावका बीच एक हजार ९९८.८९ अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब १५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ४५ हजार ८२८ पटकको कारोबारमा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको ९५ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, सिर्जनशील लघुवित्त र हिमालय ऊर्जा विकासको मूल्य १० प्रतिशत बढ्यो । 

सीवाईसी लघुवित्तको ५.६, आरम्भ चौतारी लघुवित्तको ३.३ तथा रिभर फल्स पावरको २.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा संस्थापक, सीईडीबी हाइड्रोपावर, कर्णाली विकास बैंक, पोखरा फाइनान्स र कुमारी बैंक क्रमशः अगाडि रहे ।

अवैध कारोबार गर्ने एक जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर–८ का २४ वर्षीय अनिल ढुङ्गाना छन् । सोमबार पत्रकार सम्मेलन गरी ढुङ्गानालाई सार्वजनिक गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले ढुङ्गानाले विभिन्न माध्यमबाट दुई अर्ब एक करोड बढीको कारोबार गरेको प्रारम्भिक अनुसनधानबाट खुलेको बताए।

११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिङ्क गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको जानकारी उहाँले दिनुभयो । त्यस्तै, १५ वटा वालेट प्रयोग गरी पाँच करोडभन्दा बढी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको छ ।

उनका अनुसार पक्राउ गरिएका ढुङ्गानालाई नेपालको कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताईएको छ ।

क्रिप्टो र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार, २४ वर्षीय ढुंगाना पक्राउ

काठमाडौँ । प्रहरीले विभिन्न अनलाइन ब्याटिङ साइटमा क्रिप्टोकरेन्सी र सट्टेबाजी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर ८ का २४ वर्षीय अनिल ढुंगाना रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । ढुंगानाले विभिन्न माध्यमबाट २ अर्ब १ करोड बढीको कारोबार गरेको खुलेको उनले बताए ।

११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम उनले कारोबार गरेको खुलेको भट्टराईले जनाकारी दिए ।

१५ वटा वालेटहरु प्रयोग गरी ५ करोड भन्दा बडी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको भट्टराईले जानकारी दिए ।
ढुंगानाले सामाजिक सञ्जालमा जुवा ३ सय ६५ नामको पेज चलाएर प्रचार गर्दै आएका उनले अनिल साहको नामबाट भारतीय आधार कार्ड, पान कार्ड, दिल्ली मेट्रो कार्ड, भारतीय एचडीएस बैंकको चेकबु एटिएम कार्ड र एरटेल कम्पनीको सीमकार्ड प्रयोग गर्ने गरेको पनि खुल्न आएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

काठमाडौँ ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी ३ जेठमा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। प्रदेशसभा सचिवालयले त्यसदिन बिहान सवा १० बजेका लागि बैठक आह्वान गरेको छ । 

केन्द्रमा गठबन्धनको शीर्ष तहमा भएको छलफलअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी रहेको उनको पार्टी नेकपा एकीकृत समाजवादीले जनाएको छ।

मुख्य समर्थक दल एमाले प्रदेश संसदीय दलले विश्वासको मत दिने नदिनेमा अझै मुख खोलेको छैन । एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका सोडीरीले यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए । एमाले विश्वासको मत दिन तयार नभएपछि बैठक स्थगित भएको थियो । जेठ ४ गते विश्वासको मत लिने अन्तिम दिन हो ।

विद्यार्थीसँग कुलपति’ कार्यक्रम सम्पन्न !

काठमाडौँ । न्यु होली क्रस स्कुलद्वारा आयोजित विद्यार्थीसँग कुलपति’ कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियोे।
चितवनबाट सुरुवात गरिएको सांस्कृतिक सत्ता र समताका लागि’ भन्ने अभियानको पछिल्लो शृङ्खला अन्तर्गत ‘विद्यार्थीसँग कुलपति’ कार्यक्रम यसपटक काठमाडौँस्थित मनोहरामा रहेको न्यु होली क्रस स्कुलले आयोजना गरेको थियोे ।
कुलपति राईले प्राज्ञिक सांस्कृतिक उन्नायनमा नेपाल प्रज्ञा-प्रतिष्ठानले योगदान पुर्याउँदै आएको छ । अब’सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान’ भन्ने उद्घोषसहित गाउँ गाउँमा पुग्ने र एकल ढङ्गले सञ्चालन हुँदै आएको प्रतिष्ठानलाई सबैको बनाउने हेतुले
निरन्तर काम गरिरहेको बताउनु भएको थियोे ।उहाँले स्थापनाको ६७ वर्षसम्म प्रतिष्ठान सबैसामू पुग्न नसके पनि अब सबै तहतप्कामा पुग्ने बताउनु भएको थियोे। यसै उद्वेश्यअनुरूप
न्यु होली भिजन स्कुलका शिक्षक, अभिभावक र विद्यार्थीले कुलपति राईलाई प्रज्ञा-प्रतिष्ठानको योगदान, महत्त्व र भूमिकाबारे जिज्ञासा राखेर संवादमा भाग लिएका थिए । विभिन्न प्रश्न र जिज्ञासा बारे जवाफ दिँदै उहाँले पाठ्‌यक्रम निर्माणमा समेत नेपाल प्रज्ञा- प्रतिष्ठानको संलग्नता हुन आवश्यक रहेको बताउनु भएको थियो ।

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको सामान्य मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ३०० रूपैयाँले घटेर १ लाख ३८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ४ सय ५० रूपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ७ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा

काठमाडौँ । उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादव राजीनामा दिएपछि जसपा नेपाल सरकारबाट बाहिरिएको छ ।

उनले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

पार्टी फुटसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल संघ सरकारबाट बाहिरिएको हो। मधेशमा पनि जसपा नेतृत्वको सरकारलाई माओवादी र एमालेले समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको गृहकार्य थालेका छन्।

बैंकहरुले फेरि जेठका लागि घटाए ब्याजदर (सुचिसहित)

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटेको छ ।

वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ ।

सार्वजनिक सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दरलाई यथावत राखेका छन् । लक्ष्मी सनराइज, कुमारी, नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै दरलाई यथावत राखेका हुन् ।

त्यस्तै ९ वटा बैंकले भने ब्याजदर घटाएका छन् । एभरेस्ट, नबिल, सानिमा, सिद्धार्थ, एनएमबी, सिटिजन्स, प्राइम, राष्ट्रिय वाणिज्य र एसबीआई बैंकले ब्याजदर घटाएका हुन् । तीन वटा बैंकले भने ब्याजदर बढाएका छन् । ग्लोबल आईएमई, एनआईसी एसिया र प्रभु बैंकले भने ब्याजदर बढाएका हुन् ।

जेठ महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै एनआईसी एसिया र एनएमबी बैंकले ७.८ प्रतिशत तोकेका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा अब कुनै पनि बैंकको ब्याजदर ८ प्रतिशत पनि नपुग्ने भएको छ ।

अधिक तरलताका बाबजुत कर्जा प्रवाह न्यून भएपछि बैंकहरुले ब्याजदर पनि घटाउँदै लगेका छन् । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको १ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ ।

यसअनुरुप अब संस्थाहरुलाई बैंकले ६.८ प्रतिशतभन्दा धेरै ब्याजदर दिने छैनन् । त्यस्तै रेमिट्यान्स मुद्दती खातामा भने बैंकहरुले ८.८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

बैंक वैशाखजेठ
एभरेस्ट६.५
लक्ष्मी सनराइज
नबिल७.२५६.७५
नेपाल६.७५६.७५
इन्भेस्टमेन्ट मेगा
प्रभु७.५
सानिमा७.१६.९
सिद्धार्थ७.२५
स्टान्डर्ड चार्टर्ड
एनएमबी७.९७७.८
एनआईसी एसिया७.७५७.८
हिमालयन७.५७.५
ग्लोबल आईएमई७.५
कुमारी७.२६७.२६
माछापुच्छ्रे७.२५७.२५
सिटिजन्स बैंक७.५
प्राइम७.१
राष्ट्रिय वाणिज्य६.५५६.४
नेपाल एसबीआई६.५३६.३९

भारतीय दूतावासले दिएको उपहार “एम्बुलेन्स”अध्यक्षको डेरामा 

रौतहट, ३१ वैशाख । रौतहटको तत्कालीन जोकाहा गाविस ९ हाल ईशनाथ नगरपालिका स्थित एक संस्थाले भारतीय दूताबासबाट उपहार स्वरुप प्राप्त एम्बुलेन्स विगत ३ बर्ष देखि दुरुपयोग भएको पाईएको छ।
भारतको गणतन्त्र दिवसको अवसरमा तत्कालिन जोकहा गा विस ९ तथा हाल इशानाथ नगरपालिका स्थित शान्ति युवा परिवार नामको संस्थालाई तिन बर्ष अघि एम्बुलेन्स प्रदान गरेको थियो। गाउँका जनताहरुको सुविधाको लागि प्राप्त एम्बुलेन्स संस्थाकै पदाधिकारीले गाउँमा नल्याई जनकपुरमा राखेर कमाईखाने भाँडो बनाएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटमा २०६४ असोज १६ गते शान्ति युवा परिवारको नाममा ११४१ नम्वरमा दर्ता भएको र उक्त संस्थाको अध्यक्ष विश्वनाथ प्रसाद गुप्ता रहेको देखिएको छ।

सीप विकास केन्द्र जनकपुर पिडारी चोक नमूना बस्तीमा कार्यरत संस्थाका अध्यक्ष गुप्ताले भारत सरकारबाट जोकाहाको लागी पाएको ना.५ च १४५३ नम्बरका एम्बुलेन्स आफै बसेको ठाँउ जनकपुरमै राखेर सञ्चालन गरी आर्थिक अनियमितता गर्दै आइरहेको एम्बुलेन्स चालक महासंघको दाबी रहेको छ।

उक्त एम्बुलेन्सको गतिविधि बारे पटक पटक जिल्ला प्रशासन कार्यालय धनुषामा लिखित रुपमा उजुरी दिदाँ स्थानिय प्रशासनले कहिलै वास्ता नगरेको एम्बुलेन्स चालक महासंघका केन्द्रीय अध्यक्ष महाशंकर ठाकुरले गुनासो गरेका छन।

गत फागुन १५ गते २६ वटा संस्थाको संयुक्त बैठकले स्थानिय विरामीहरुलाई सुरक्षित अस्पताल सम्म पुर्याउन जुन ठाउँको एम्बुलेन्स रहेको छ उक्त एम्बुलेन्स त्यहीँ पठाउने जिल्ला प्रशासन कार्यालय धनुषामा निर्णय भएको थियो।

तर उक्त निर्णय महिनौं बित्दापनी हालसम्म कार्यान्वयन हुन नसकेको केन्द्रीय अध्यक्ष ठाकुरले गुनासो गरेका छन्। हाल उक्त एम्बुलेन्स जनकपुरधाम थापा चोक स्थित एक निजि घरको कम्पाउण्डमा पार्किग गरिएको अवस्थामा फेला परेको उनको भनाई रहेको छ।

रौतहटका सिडियो हिरालाल रेग्मीले कुनै पनि गैरसरकारी संघ संस्थाको नाममा आएका एम्बुलेन्स व्यत्तिगत रुपमा चलाउन नपाईने बताएका छन्।

उक्त एम्बुलेन्सको अवस्था बारे आवश्यक अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने सिडियो रेग्मीले प्रतिवद्धता जनाएका छन्।

यस्तो छ तपाईंको ३१ बैशाख २०८१, सोमबार आजको राशिफल

मेष : दिन सामान्य छ।विद्यार्थीकालागि शैक्षिक यात्राको योग छ। जग्गासम्वन्धी काममा सामान्य फल प्राप्ति हुने देखिन्छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। कार्यमा रुचि बढ्ने देखिन्छ।

वृष : बोलीमा सरस्वतीको बास भएकाले सोचेर बोल्नु राम्रो हुन्छ। शिक्षामा सफलता प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा प्रशंसा हुनेछ।

मिथुन : शेयरको कारोबारमा फाइदा हुनेछ। लगानी गर्दा विचार पुर्‍याउनु राम्रो हुनेछ। समयको सदुपयोग गर्नुपर्ने दिन हो। मेहनतको फल प्राप्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कट : तपाईंको ग्रहमा चन्द्रमाको बास भएकाले उत्साह बढ्नेछ। न्यापूर्वक गरेका लगानीको प्रतिफल राम्रो प्राप्त हुनेछ। परिवारमा बौद्धिक टकराब हुने देखिन्छ। व्यवहार गर्दा सचेत हुनुपर्ने छ।

सिंह : दैनिकी सामान्य छ। आफूभन्दा ठुलाबाट आर्शिवाद लिएर अगाडि बढ्नु राम्रो हुनेछ। धार्मिक र सामाजिक क्षेत्रमा लाग्दा मन शान्त हुनेछ। व्यापारमा झगडा हुने देखिन्छ। परिवारमा हुने विवादले दिन बित्ने भएकाले शान्त बस्नु राम्रो हुनेछ।

कन्या : शिक्ष क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। सामाजिक र परोपकारको क्षेत्रमा हात अगाडि बढाउनु राम्रो हुनेछ।

तुला : समय राम्रो छ। दीर्घकालीन योजना बनाउने दिन हो। साथी सकारात्मक भएकाले सहयोग प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। शिक्षा क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। कृषि क्षेत्रको व्यापारले माथि उठाउने छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : गुरुबाट सहयोग नमिल्ने दिन छ। काम गर्दा सचेत हुनुपर्ने छ। कामको परिणाम तपाईंको पक्षमा हुनेछ। श्रम लगानीबाट उत्साह मिल्नेछ। शिक्षा र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

धनु : दिन रमाइलो छ। अरुबाट काम लिने दिन हो। सहयोगी हात धेरै भएकाले सचेत भएर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको रमाइलो साथ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

मकर : आफ्नो लागि संघर्ष गर्नुपर्ने दिन हो। निरन्तरको प्रयासले मात्र सफलता प्राप्त हुनेछ। यथास्थितिमा चल्नुपर्ने बाध्यता छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : शनिदेवको छाया योग छ। जसलाई साढेसाती भनिन्छ। जन्मकुण्डली देखाएर मात्र कुनै काम गर्न अगाडि बढाउनु राम्रो हुन्छ। जन्मकुण्डलीमा शनि सकारात्मक भए प्रगति हुनेछ। शनि नकारात्मक भए ठुलो घाटा हुनेछ।

मीन : दिन राम्रो छ। श्रम लगानीबाट मन सन्तुष्ट हुनेछ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्य खराब बन्नसक्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेका छन् ।

बजेट अधिवेशनको रुपमा समेत आह्वान गरिएको प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यस्तै आजको बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

प्रदेशसभाको बैठक अघि बसेको प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसूची तय गरेको थियो । यही प्रदेशसभा अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा बजेट पारित गर्नेछ । प्रदेशसभाको हिउँदो अधिवेशन गत वैशाख १२ गते राति १२ बजेदेखि प्रदेश प्रमुख शर्माले अन्त्य गरेका थिए।

विषयगत समितिको सभापति चयन चाँडै

यसैबीच रिक्त रहेको बागमती प्रदेशसभाअन्तर्गतको पाँच वटा विषयगत समितिका सभापति पदका लागि आगामी जेठ ४ गते निर्वाचन गर्ने दलहरुबीच सहमति भएको छ । 

प्रदेशसभाअन्तर्गतको पाँचवटै समितिको सभापति पदमा सर्वसम्मतको प्रयास भए पनि अझै सहमति नहुन नसकेपछि जेठ ४ गते निर्वाचन गर्ने दलहरुबीच सहमति भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । सभापति पद सर्वसम्मत चयन गर्ने सहमतिको प्रयास जारी रहेको र त्यो नभए जेठ ४ गते निर्वाचन गर्ने सहमति भएको उनले बताए ।

प्रदेशसभाको आज बस्ने बैठक अघि प्रदेशसभा कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने र सहमति गरिए अनुसार विभिन्न समितिको सभापति पदका लागि निर्वाचनको प्रक्रिया सुरु गरिने सभामुख पाठकले बताए।

बागमती प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छ । ती सबै समितिमा सभापति चयन हुन सकेको छैन् ।

सभापति खतिवडाद्वारा पीडित परिवारलाई सहयोग

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आगलागीमा परी आमा-छोरा गुमाएकाका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

स्थानीय सामुदायिक वनमा लागेको डढेलो बाहुनडाँडाको खरबारीमा सल्केपछि खरघाँस जोगाउने क्रममा ५५ वर्षीया पुण्यमाया धमला र १६ वर्षीय कञ्चन धमलाको जलेर मृत्यु भएको थियो ।

सभापति खतिवडाले पीडित परिवारलाई भेटी व्यक्तिगतरुपमा रु २२ हजार र नगरपालिकाबाट उपलब्ध भएको रु एक लाख सहयोग प्रदान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

संघीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडाै । संघीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक २०८१/०८२ को बजेट तर्जुमा सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड नेपाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया हुने कार्यसूची रहेको छ ।

त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट हालसम्म भए तथा गरेका काम तथा आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साढे १२ बजे बस्दै छ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा अन्तर-धार्मिक सहिष्णुता सम्बन्धमा मुस्लिम आयोगले खेल्दै आएको भूमिका तथा नेपाल हज व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची छ ।

डलरकाे भाउ स्थिर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । साेमबार पनि डलरकाे भाउ स्थिर रहेकाे छ । बै‌कका अनुसार अमेरेकी डलर एकको दर अधिकतम १३३ रुपैया ३१ पैसा र बिक्री दर १३३ रुपैया ९१ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६६ रुपैयाँ ९४ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ ०६ पैसा र बिक्री दर १४७ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०१ पैसा र बिक्री दर ८८ रुपैयाँ ४१ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ९४ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ५६ पैसा र बिक्री दर ८ रुपैयाँ ६० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर ४५ रुपैयाँ ४५ पैसा र बिक्री दर १८ रुपैयाँ ५३ पैसा रहेको छ ।