कांग्रेस संसदीय दलको बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्ने तय भएकाे हाे ।

बैठकमा संसदको घटनाक्रमबारे छलफल गर्न बाेलाएकाे जनाइएकाे छ ।

आइतबार बसेको पार्टी पदाधिकारी बैठकले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकाल्दै थप निर्णय दलको बैठकबाट गर्ने निर्णय गरेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन्। उनले कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गरेका हुन् ।

यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए। उनलाई नेकपा (एमाले) का ३९, नेकपा (माओवादी केन्द्र) का १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ ।

आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ ।

कलंकी नापी कार्यालयका सर्भेक्षक चौलागाई भ्रष्टाचारी ठहर

एक लाख रुपैयाँसहित पक्राउ परेका कलंकी नापी कार्यालयका सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई भ्रष्टाचारी ठहर भएका छन् । बिशेष अदालतले उनलाई आइतबार दोषी ठहर गरेको हो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन महिलाअघि चौलागाई र लेखापढी व्यवसायी नेत्रबहादुर पोखरेललाई घुससहित पक्राउ गरेको थियो । जग्गाको हालसाविक तथा कित्ताकाट गर्नका लागि उनीहरुले घुस लिएका थिए ।लेखापढी व्यवसायी पोखरेल पनि दोषी ठहर भएका छन्।

२० फागुनमा अख्तियारले मुद्दा दायर गरेकोमा करिब दुई महिनामै मुद्दाको फैसला भएको हो ।

वर्ल्डलिङ्कको रिट खारेज

काठमाडौ । सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ वटैै रिट निवेदन खारेज गरेको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र डा नहकुल सुवेदीको इजलासले आज वर्ल्डलिङ्कको माग दाबी बमोजिम फैसला गर्न अस्वीकार गर्दै रिट निवेदन खारेज हुने ठहर गरेको हो । अदालतको उक्त फैसलासँगै नेपाल सरकारलाई प्राप्त हुनुपर्ने रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असुल उपर गर्ने बाटो खुलेको छ ।

यो फैसलासँगै सरकारलाई रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असुल उपर गर्ने बाटो खुलेको छ । अदालतको फैसलासँगै राज्यकोषको अर्बौँ रकम बचेको छ । महालेखा परीक्षकले आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदनदेखि हरेक वर्ष निरन्तर इन्टरनेट सेवा प्रदायकहरुले नेपाल सरकारलाई बुुझाउनुपर्ने रोयल्टी राजस्व नेपाल सरकारलाई प्राप्त नभएकाले कानुन बमोजिम असुलउपर गर्नुपर्ने बेरुजु भनी औँल्याएको थियो ।

सोही विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गतवर्ष गरेको अनुसन्धानबाट वर्ल्डलिङ्कलगायत सेवा प्रदायकले कर छली गरेको खुलासा भएको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयको नेतृत्व लिएएपछि इन्टरनेट सेवा प्रदायकहरुले कर छली गरेको विषयमा अनुसन्धान गर्न सहसचिव गौरव गिरीको संयोजकत्वमा समिति गठन भयो । समितिले आव २०६९/७० देखि आव २०७८/७९ सम्मको अवधिमा कूल एघार वटा इन्टरनेट सेवा प्रदायकले बुझाएको रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास शुल्कको विस्तृत अध्ययन गरी प्रतिवेदन पेश ग-यो ।

प्रतिवेदनमा वर्ल्डलिङ्क कम्युनिकेसनलगायत नौ वटा इन्टरनेट सेवा प्रदायकले करिब रु दुई अर्ब ४६ करोड रकम नेपाल सरकारलाई बुझाउन बाँकी रहेको तथा अदालतमा विचाराधीन मुद्दामा रहेको थप रु २७ करोड ३३ लाख रकमसमेत असुल गर्न बाँकी रहेको उल्लेख थियो ।

सोही प्रतिवेदनका आधारमा रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास शुल्क असुल गर्न मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई दिएको निर्देशन दिएको हो । सो निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टलाई अध्ययन गर्ने जिम्मा दियो ।

चार्टर्ड एकाउन्टेन्टले केही इन्टरनेट सेवा प्रदायकहरुले नेपाल सरकारलाई रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क तिर्न बुझाउन बाँकी रहेको भनी रकमसमेत खुलाइ प्रतिवेदन पेश गरेको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरण स्रोतका अनुसार नौ वटा इन्टरनेट सेवा प्रदायकबाट रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क वापत कूल रु तीन अर्ब ६४ करोड रकम असुल गर्न बाँकी छ । जसअनुसार वर्ल्डलिङ्क कम्युनिकेसनले रु एक अर्ब ९६ करोडभन्दा बढी तिर्न बाँकी छ । त्यसैगरी भायानेट कम्युनिकेसनबाट रु ४१ करोड, सुविसुबाट रु ३३ करोड, क्लासिक टेकबाट रु ३१ करोड, टेकमाइण्डबाट रु ३० करोड, वेफसर्फरबाट रु १२ करोड, मर्कन्टायलबाट रु १० करोड, पोखरा इन्टरनेटबाट रु चार करोड र नेटम्याक्सबाट रु दुई करोडभन्दा बढी रकम असुल गर्न बाँकी रहेको छ ।

दूरसञ्चार निमयमावली, २०५४ को नियम २६ अनुसार दूरसञ्चार सेवा प्रदायकहरुले वार्षिक कूल आम्दानीको चार प्रतिशत रोयल्टी राजस्ववापत नेपाल सरकारलाई बुुझाउनपुर्ने तथा दूरसञ्चार ऐन २०५३ को दफा ३० बमोजिम वार्षिक आयको दुई प्रतिशत रकम ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ ।

अदालतको फैसलासँगै तत्काल पौने चार अर्ब रोयल्टी र दूरसञ्चार विकास शुल्क प्राप्त हुने भए पनि दीर्घकालीन रुपमा राज्यको बीसौँ अर्ब रकम सुरक्षित भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यदी अदालतको फैसला सेवा प्रदायकको पक्षमा भएको भए अन्य सेवा प्रदायकले भुक्तान गरिसकेको अर्बौं रकम पनि फिर्ता गर्नुपर्ने हुन्थ्यो ।

आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा

काठमाडौ । गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

देशका पहाडी भू–भागका थोरै स्थानमा साथै तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

२२ जना उपसचिवहरूको सरुवा, काे-कहाँ ?

काठमाडाै । नेपाल सरकारका २२ जना उपसचिवहरूको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती उपसचिवहरूको सरुवा गरेको हो ।

मन्त्रालयले वैशाख ३० गते २२ जना उपसचिवहरूको सरुवा गरेको हो । यसरी सरुवा गरिएका उपसचिवहरूलाई संघीय सरकारको मन्त्रालय तथा आयोग र एकाधलाई प्रदेश मन्त्रालयमा सरुवा गरिएको छ ।

स्रोत नखुलेको करिब सात लाख रकमसहित एक युवक पक्राउ

जलेश्वर — महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा प्रहरीले स्रोत नखुलेको करिब सात लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय अनिस राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छुः अर्थमन्त्री पुन

काठमाडौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताएका छन् ।
राजधानीमा आइतबार आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्दै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने प्रतिबद्धता जनाए ।


‘मैले यसअघि पनि पटकपटक सार्वजनिक मञ्चहरुमार्फत भनेको छु । कोही चिनेका, कोही मेरो पार्टी निकटका, कोही सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरुमा आफूखुसी जे मन लाग्यो गर्दिन’, उनले भने, ‘पहिला के थियो, अहिले के छ र के कारणले हेरफेर भएको कारणसहित तीन महले बनाएर गर्छु ।’ एउटा अर्थमन्त्रीको सनकमा व्यवसायीले वर्षौं लगाएर गरेको आर्जन गरेको सम्पत्ति र लगानी डुबाउन नमिल्ने मन्त्री पुनको स्पष्टोक्ति थियो । आफूहरुले लोकतान्त्रिक र जवाफदेही राज्य प्रणाली सञ्चालन गरिरहेको भन्दै पारदर्शी भएर काम गर्ने प्रतिबद्धता जनाए । ‘एउटा मन्त्रीको सनकले वर्षौंसम्म गरेको लगानी डुबाउन मिल्दैन’, मन्त्री पुनले भने, ‘जनताले र राज्यले विश्वासपूर्वक दिएको जिम्मेवारी विश्वासपूर्वक निर्वाह गर्नुपर्छ । त्यसमा हाम्रो प्रतिबद्धता छ ।’


मन्त्री पुनले नेपालले लोकतन्त्रान्त्रिक र खुला तथा प्रतिस्पर्धात्मक व्यवस्थाको अभ्यास गरिरहेकाले उद्योग व्यवसायसम्बन्धी नीति पनि खुला र पारदर्शी हुनुपर्नेमा सरकार स्पष्ट रहेको मन्त्री पुनको भनाइ थियो । मन्त्री पुनले उद्योग व्यवसायमा पनि धेरै राम्रा मानिसहरु रहेको भन्दै सरकार निजी क्षेत्रलाई अघि लगाएर हिंड्न चाहेको मन्त्री पुनले उल्लेख गरे ।


आर्थिक विकासका लागि नीतिगत निरन्तरता जरुरी रहेको भन्दै उनले कमजोर पक्ष हटाउने र राम्रा सिकाईहरुलाई दिगो बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे ।


नीतिगत निरन्तरताका कारण अर्थतन्त्र शिथिल अवस्थामा रहेका बेलासमेत पर्यटक क्षेत्रमा २१ र ऊर्जा क्षेत्रमा १९ प्रतिशतको आर्थिक वृद्धि भएको तथ्यांक प्रस्तुत गर्दै उनले धेरै राम्रा कामहरु समेत भएको चर्चा गरे । ‘धेरै राम्रा कामहरु प्नि भएका छन् । हामीले नेपालीले नै गरेका हौं’, उनले भने, अरुले आएर हाम्रो देशका लागि गर्ने होइन ।’


निर्माण क्षेत्र चलायमान नभएको तथा निर्माण सामग्रीका उत्पादकहरु अप्ठेरो अवस्थामा रहेकोबारे आफू पर्याप्त जानकार हरेको भन्दै उनले ती अप्ठ्यारा फुकाउन लागिपरेको बताए । आफूले मनत्रालयको नेतृत्व सम्हाल्दा अघिल्ला चार आर्थिक वर्षदेखिका ६ खर्बभन्दा बढीको आर्थिक दायित्व सिर्जना गरिएको अवस्था रहेको भन्दै उनले पुराना दिायित्व बोक्नुपर्दा धेरै स्वतन्त्र नरहेको पनि खुलाए । ‘अर्थमन्त्रीका रुपमा बजेट बनाइराख्दा तीन÷चार वर्षअघिका अर्थमन्त्रीका पालादेखिको ६ खर्ब दायित्व बोक्नेपर्ने खअवस्थामा छु । एक वर्षको बजेट बनाउनुपर्ने अर्थमन्त्री चार वर्षदेखिको दायित्व बोक्नुपर्ने अवस्थाले म त्यति स्वतन्त्र छैन ।’
बजेट निर्माण सम्बन्धमा पर्याप्त सुझावहरु लिइराखेको र सबैका राम्रा सुझाव बजेटमा समेटिने प्रतिबद्धता उनको थियो ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित छ जनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार ७४० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई (मेकानिकल) नवीनकुमार पोखरेलले आपसी मिलेमतो तथा योजनामा सुरक्षण मुद्रण सम्बन्धी नीति, योजना, बजेट तथा कार्यक्रम सुरक्षण मुद्रण विकास समितिबाट स्वीकृत गराउनुपर्नेमा समितिमा पेस नगरी आफैँले दुई वटा छुट्टाछुट्टै कार्यक्रमको लागि बजेट माग गरेका थिए।

उनीहरूले पेपर बेस्ड प्रेस मेसिनरी सफ्टवेयर एण्ड हार्डवेयर एण्ड रिलेटेड इक्विप्मेन्टस् अन्तर्गत एउटा मात्र प्रिन्टिङ प्रेस खरिद गर्नुपर्नेमा आवश्यकताभन्दा बढी दुई वटा प्रिन्टिङ प्रेस खरिद गरेको, कम क्षमताको डाई कटिङ मेसिन खरिद गर्दा पर्याप्त हुनेमा मनासिब कारण बिना २० गुणा बढी क्षमताको आवश्यकता नै नदेखिएको मेसिन खरिद तथा प्रिन्ट प्रडक्सन सिस्टम सञ्चालनको लागि अमिल्दो र अनावश्यक क्रिटिकल आइटी सिस्टम समेत यसै ठेक्कामार्फत खरिद गरी, गराइ नेपाल सरकारलाई सो रकम हानी पुर्‍याएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिबल्लभ घिमिरे र म्याक्स यन्टरनेशनल तथा उक्त कम्पनीको सिइओ अकबर हुसेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिम बिगो रकम ४० करोड ८५ लाख ७४ हजार ७४० रुपियाँ असुल उपर हुन मागदाबी लिई आइतबार विशेष अदालत काठमाडौँमा आरोपत्रप दायर भएको आयोगले जनाएको छ। गोरखापत्रबाट

सञ्चार उपकरण ठेक्काका ‘मास्टर माइन्ड’ विरुद्ध ४० करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रमा उपकरण खरिद गर्दा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा दायर गर्ने निर्णय गरेको छ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले उनीहरूमाथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ । सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी गत वर्ष दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा पौडेललाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आइतबार मात्रै विशेष अदालतले पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको थियो ।

अख्तियारले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन मन्त्रालयका तत्कालिन सिडीइ नविन कुमार पोख्रेल, केन्द्रका तत्कालिन लेखा अधिकृत खड्क बहादुर थापा, शाखा अधिकृत हरि बल्लभ घिमिरे र म्याक्स इन्टरनेसनलका सीइओ अकबर हुसैनविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।

सेयर बजार सुधार, कारोबार रकम पनि सामान्य बढ्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार भएको छ । आज नेप्से परिसूचक ८.२६ अंक बढेर १९७४.५० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ।

 यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ४९ हजार ७६४ पटकको कारोबारमा ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको ७८ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सिर्जनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३७२.८० रुपैयाँ पुगेको छ । यसका साथै आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.५२ प्रतिशतले बढेको छ ।  

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.४४ प्रतिशतले घटेको छ । सबैभन्दा बढि साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० करोड ५० लाख बराबरको कारोबार भएको छ । 

दुई समूहबीच झडप, एकजनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका– ९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उहाँले भन्नुभयो, “गए राति दुई समूहबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।”

धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

जेष्ठ ३ गते जानकी (सिता) जयन्ती भव्यताका साथ मनाईने 

रौतहट ३० वैशाख। आगामी जेष्ठको ३ गते भव्यताका साथ जानकी (सिता) मनाईने भएको छ। प्रभु साह नेतृत्वको आमजनता पार्टीको बसेको बैठकले उक्त निर्णय गरेको हो।

पूर्व मन्त्री तथा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा आम जनता पार्टीको काठमाडौं उपत्यका बिशेष कमिटीको बैठकले यही जेष्ठको ३ गते जानकी जयन्ती मनाउने निर्माण गरेको पार्टीले जनाएको छ। माता जानकी (सिता)जयन्ती मनाऔ राष्ट्रिय बिभुति सिता माताको सम्मान लग़रौ भन्ने मुल नाराका साथ मनाउने निर्णय गरिएको पार्टी प्रवक्ता चन्द्रभुषण साहले बताएका छन्।

केन्द्रीय मुख्यालय बसेको उक्त बैठकले जानकी जयन्ती मनाउने, भन्सारको लुटकारी प्रावधान विरुद्धको आन्दोलनलाई अझ प्रभावकारी बनाउने तथा कवाड ब्यवसायीहरुको हित रक्षाको लागि बिशेष अभियान संचालन गर्ने निर्णय समेत गरेको सहभागी फतुवा विजयपुरको मेयर प्रत्याशी बिजय यादवले बताएका छन । पूर्व मन्त्री प्रभु साहको सल्लाह अनुसार कटहरिया नगरपालिकाका तत्कालीन मेयर सियाराम कुशवाहाको पालामा २०७६ सालदेखि नेपालमै पहिलोपटक कटहरिया बाट नै सिता जयन्ती मनाउने सुरुआव भएको थियो। त्यस पछि प्रत्येक बर्ष जेष्ठ ३ गते माता सीताको जन्म अवसर पारेर सिता जयन्ती मनाउने शुभारम्भ गरिएको थियो। सञ्जय मिश्रा

छात्रालाई बलात्कार गरेको आरोपमा मोलबी पक्राउ 

पटना ३० बैशाख। भारतको राजधानी दिल्ली संग टाँसिएको यूपीको गाजियाबादमा प्रहरीले एकजना मौलवीलाई छात्रा संग बलात्कार गरेको आरोपमा पक्राऊ गरेको छ।

युवतीको साथ मौलवीको अश्लील वीडियो सोशल मीडियामा भाईरल भएपछि यूपी प्रहरी तुरुन्तै एक्सनमा आएर कार्रवाई गर्दै आरोपी मौलवी लाई पक्राउ गरेको हो।

यस घटनाको बारेमा पुलिस उपायुक्त (ग्रामीण) विवेक चंद्र यादवले भन्योुुबलात्कारको घटना दुईवर्ष अघि भएको थियो जब उक्त युवती ज़ब्बार नाम गरेको मौलवी संग क्लास लिन गएकी थिइन्।

न्यूज एजेंसी अनुसार पुलिसले भन्यो आरोपीले युवतीको केही वीडियो बनाएको थियो र त्यही भिडियो देखाएर आफू संग संबंध बनाउन युवती माथि दबाव दिइरहेको थियो। प्रहरीका अनुसार संबंध न बनाएमा आरोपी मौलवीले छात्राको वीडियो लीक गर्ने धमकी दिँदै आएको थियो।

रिपोर्टका अनुसार आरोपी मंसूरी थाना क्षेत्र अन्तर्गत एक मस्जिदमा मौलवी थिए। जुन वीडियो भाईरल भएपछि कार्रवाई सुरु गरिएको छ उक्त भिडियो केही दिन अघि सोशल मीडियामा भाईरल भएको थियो। त्यस पछि पीडितको परिवारका सदस्यहरुले प्रहरी लाई सूचना दिएको थियो।

प्रहरी अधिकारीले सूचनाको आधारमा मोलबी ज़ब्बारको बिरुद्द आईपीसीको धारा घठट (बलात्कार) र आपराधिक धमकी (छण्ट) को अनुसार जाहेरी दर्ता गरिएको र पक्राउ गरिएको बताएको छ। प्रहरीले अनुसन्धान गरिरहेको छ कि वीडियो आरोपीले सोशल मीडियामा शेयर गरेको थियो अथवा अन्य कसैले अपलोड गरेको थियो। अभिनव चौबे 

आर्थिक विज्ञ डा. नेपालद्वारा राजीनामा

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डाक्टर चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । सय रुपैयाँको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि उहाँले राजीनामा दिएका हुन् ।

नेपालले दिनुभएको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । एउटा अन्तरवार्तामा उहाँले सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।

अन्तर्वार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले पद त्याग्नुपर्ने अवस्था आएको हो । राष्ट्रपति पौडेलले नेपालको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सोधपुछ गरेपछि उनले राजीनामा दिएका छन्।