दुईजना एआईजीपीका सरुवा

काठमाडौं । सरकारले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) को सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मानवस्रोत विकास विभाग प्रमुखको जिम्मेवारीमा रहेका एआईजीपी टेकप्रसाद राईको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको हो ।

त्यसैगरी प्रदेश समन्वय विभागको प्रमुखको जिम्मेवारीमा रहेका एआईजीपी सुदिप गिरीको प्रशासन विभागमा सरुवा भएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

डीआईजीपी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई बिहीबारको मन्त्रिपरिषद् बैठकले एआईजीपीमा एआईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम गर्दै युवा संघ

काठमाडौं । सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले बैशाख २९ गते, ११:०० बजे माइतीघर मन्डलामा राष्ट्रियताका लागि युवा दबाब कार्यक्रमू गर्ने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का युवाहरुले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन साथै भ्रष्टाचार र बेथितिको विरुद्धको कार्यक्रम रहेको युवा संघका एक नेताले जानकारी दिएका छन् ।

नेपालले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्दा भारतले अतिरन्जना गरि रहेको कारण नेपालको स्वभिमानलाई उच्च राख्नका लागि युवा दबाब कार्यक्रम गर्न लागेको युवा संघका नेता भेषराज शाहले बताएका छन् ।

उक्त कार्यक्रममा सयौं युवाहरुले सडकमा आइ ” हाम्रो नोटमा हाम्रै देश – आन्तरिक मामिलामा नगर हस्तक्षप !” “MCC के हो ? व्याख्यात्मक टिप्पणी के भो ? ” लगायतको नारा लिएर साम्राज्यवादी र विस्तारवादीहरुको विरुद्ध आवाज घन्काउने संघका सचिब सुशील भट्टराईले जानकारी दिएका छन् ।

संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि नबढ्ने : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले सहकारी ठगी प्रकरणमा छानबिन समितिको गठनको माग गरेका छन् । गृहमन्त्री लामिछानेसँग सम्बन्धित सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनै पनि काम कारबाही अगाडि नबढ्ने घोषणा गरेको छ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद गगन थापाले यस्तो घोषणा गरेका हुन् । ‘संसदीय छानबिन समिति नबनीकन अब संसदको कुनै पनि कामकारबाही अगाडि बढ्दैन । यसको जिम्मेवार हामी होइनौँ’, थापाले सदनमा बोल्दै भने । उनले संसदको काम कारबाहीप्रति आफूहरूको विश्वास नरहेको पनि बताए । 

घुससहित पक्राउ परेका कैलालीका जलाधार अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

अख्तियारले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले सेवाग्राहीसँग १ लाख २० हजार घुस मागेको पुष्टि भएपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नगहरि घिमिरेले जानकारी दिए ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालगञ्जको टोलीले पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएपछि गत वैशाख ५ गते रंगेहात पक्राउ परेमा थिए । 

उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख २० हजार बिगो मागदावी गरेको अख्तियारले जनाएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा एमडी डाक्टर हाजिर

रौतहट २८ बैशाख। रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ केन्द्रमा खाली रहेको दरबन्दीमा एकजना एमडी डाक्टर हाजिर भएका छन्। कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालको विशेष पहलमा स्वास्थ केन्द्रमा एमडी डाक्टर ज्ञानेश चौधरी हाजिर भएका हुन्। काठमाडौं वीर अस्पतालमा काम गरिसकेका एमडी जेनेरल सर्जन डाक्टर ज्ञानेश चौधरी कटहरिया प्राथमिक स्वास्थ केन्द्रमा शुक्रवार हाजिर भएका छन्।
स्वास्थ्य केन्द्रमा डाक्टर चौधरी हाजिर हुनु अघी मेयर अजय प्रकाशले नगरपालिकको सभाकक्षमा एक समारोहको आयोजना गरी बिशेष रुपमा स्वागत गरेका थिए। उक्त अवसरमा उपमेयर रिता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान लगायत कर्मचारी तथा वडा अध्यक्षहरुले डाक्टर चौधरीलाई टिका र फूलमाला लगाई स्वागत गरेका थिए।
प्राथमिक स्वास्थ्य केन्द्रमा एमडी डाक्टरको उपस्थितिले कटहरिया, गुजारा, फतुवा बिजयपुर, देवाही गोनाही , मौलापुर, गरुडा लगायत नगरपालिकाको हजारौँ बिरामीलाई उपचार गराउन सहज हुने मेयर जैसवालले बिश्वास ब्यक्त गरेका थिए।
प्राथमिक स्वास्थ केन्द्र का तत्कालीन प्रमुख डाक्टर धर्मेन्द्र पटेलले प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित रूपमा उपस्थित नभएर बिरामीको उपचार सेवा प्रभावित बनाएको स्थानीयको गुनासो आएपछि मेयर अजय प्रकाश जयसवालले डाक्टर पटेल लाई कार्यवाही गरि हटाएका थिए ।
स्वास्थ्य जस्तो संबेदनसिल ठाउमा कुनै प्रकारको गल्ती आफुलाई स्वीकार नहुने उनको भनाइ छ। नागरिकको स्वास्थ संग कुनै पनि व्यक्तिले खेलवाड गरे दण्डको भागी हुनुपर्नेमा जोद दिएका थिए।

रौतहटमा तीनवटा चोरीको मोटरसाईकल सहित एकजना पक्राउ

रौतहट २८ बैशाख। चोरीको तीनवटा मोटरसाईकल सहित रौतहटमा एकजना मानिस लाई प्रहरीले पक्राउ गरेको छ। राजदेवी नगरपालिका ८ का १९ बर्षीय विकास राय यादवलाई मोटरसाईकल सहित पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो।

उनको घरबाट प्रहरीले एकथान नेपाली र दुईथान भारतीय नम्बर प्लेटको मोटरसाईकल बरामद गरेको थियो। यादव माथी चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौर बाट म्याद थमाई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। जिल्लाको बिभिन्न स्थानबाट दैनिकजसो मोटरसाईकल चोरीको घटना भईरहँदा प्रहरीले उसको निगरानी शुरु गरेको थियो। गत २४ गते जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले विधिवत रूपमा आरोपी यादवको घरमा खानतलासी गर्दा बा २३ प ६२१ नम्बरको स्प्लेन्डर, विआर ०३० सी ९८११ र विआर ०६ विएक्स १११८ नम्बरको गरी तिनथान मोटरसाईकल बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताईन।

आरोपी यादवले बरामद मोटरसाईकलको कागजपत्र उपलब्ध गराउन नसकेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। पछिल्लो समय रौतहटमा मोटरसाईकल चोरीको घटनामा बृद्धि भएको छ। सञ्जय मिश्रा

धनगढी उपमहानगरविरुद्ध उच्च अदालतमा परेको मुद्दा खारेज

काठमाण्ढौँ । धनगढी उपमहानगरपालिका विरुद्ध उच्च अदालत दिपायलामा परेको मुद्दा खारेज भएको छ।

गत कात्तिक १६ गते धनगढी(३ का शारदा खत्री र बालकुमारी दासले धनगढी उपमहानगरले सडक चौडा बनाउन लागेको भन्दै रिट दायर गरेका थिए । उच्च अदालतमा दायर रिटमा खत्री र दासले सडक बिस्तार विरुद्ध अन्तरिम आदेशसहितको परमादेश लगायत उपयुक्त आदेश माग गर्दै मुद्दा दर्ता गराएका हुन् ।उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत डोटीले रिट खारेज गर्ने आदेश गरेको हो,उच्च अदालतमा भएको बहसमा धनगढी उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता वीरबहादुर जेठाराले बहस गरेका थिए ।

रिट खारेज भएसँगै ६ लेन सडकस्थित रोड हाउस क्याफेदेखि चक्रपथ पक्की कुवासम्मको करिब १३ सय मिटर लामो १४ मिटर चौडा सडक निर्माणको कामको अवरोध हटेको छ ।

प्रदेश सरकारले सडक निर्माण गर्न यसअघि नै टेण्डर गरिसकेको छ भने उपमहानगरले सडक क्षेत्राधिकार खाली गर्न लाग्दा रिट दायर गरिएको थियो ।

रौतहटमा लाखौं मूल्यको एकदर्जन सुँगुर चोरी

रौतहट २८ बैशाख। रौतहटको कटहरिया नगरपालिका ४ स्थित ४ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने एकदर्जन सुँगुर चोरी भएको छ। गएराती अज्ञात चोर समुहले स्थानिय बदरी धनखारको छोरा श्याम सुन्दर धनखारको खोर बाट एकदर्जन सुँगुर चोरी लागेका हुन्। श्याम सुन्दरको छोरीको बिहेको अवसरमा गएराती मदिरा सहितको भोजको आयोजना गरिएको थियो।
आफन्त, स्वजातियहरु तथा बाहिर बाट आएका कुटुम्बहरुको साथमा धनखार परिवार अबेर रातिसम्म खानपिन गरी सुतेका थिए। मध्य रातमा उनको घरभन्दा ५० मीटर पश्चिम रहेको खोरको ढोका फोडेर अज्ञात चोर समूहले १० वटा ठूलो ८० किलो भन्दा बढी वजन रहेको गर्भवती सुँगुर र दुईवटा २० किलो बराबर वजन रहेको सुँगुर चोरेर लागेको उनकी बहिनी सुगन्धी धनखारले बताएकी छिन्। आज बिहान ७ बजे घर परिवारको मानिसले खोरको ढोका खुलेको देखेर सुँगुर चोरी घटना बारे जानकारी भएको उनले बताइन्।
चोरी भएको जानकारी पाउनासाथ घर परिवार तथा टोल छिमेकका मानिस खोजि कार्यमा जुटेका छन तर सुँगुरको कुनै सुराक नलागेको सुगन्धले बताएकी छिन्। चोरी भएको सुँगुरको बजार मूल्य चारलाख २० हजार रुपैयाँ भन्दा बढी हुने स्थानिय रामचन्द्र गोसाईंले बताएका छन्।
यसै बीच चोरी भएको सुँगुरको खोजी तथा अज्ञात चोर समूहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन ईलाका प्रहरी कार्यालय कटहरियामा लिखित जाहेरी दरखास्त दिसकेको उनले जानकारी दिएकि छिन्। ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख बरिष्ट सई अरुण कुमार सिंहले सुँगुर चोरीको घटनाको बारेमा जिल्लामा टिपोट गराई खोजतलास सुरु गरेको बताएका छन्।

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित मालीगाउँबाट पक्राउ परेका २ जना सुन तस्करीमा संलग्न

काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित शुक्रबार बिहान मालीगाउँबाट पक्राउ परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ परेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका दुवैजना बुटवलका हुन् । दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो ।

गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र  राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ ।

 प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ ।सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।  

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २३०० ले बढेर १ लाख ३७ हजार ९०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० मा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।

त्यसतै महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कालिकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्म सोह्र पुल निर्माण


हुम्ला । कर्णाली कोरिडोरको कालिकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्म सोह्र वटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ । खुलालु सलीसल्ला सडक आयोजनाले निर्माण कम्पनीसँग निर्माण कार्यका लागि सम्झौता गरेको आठदेखि दश महिनामा ती पुलहरूको निर्माण कार्य सम्पन्न भएको हो ।
खुलालु सलीसल्ला सडकका प्रमुख वीरेन्द्र चन्दले सम्झौता भएको आठदेखि दश महिनामा कर्णाली कोरिडोरको कालिकोटको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्लासम्म साना तथा ठुला खोलामा सोह्र वटा पक्की पुल निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । उनले उक्त खण्डमा पुल निर्माण कार्यले बर्खा याममा सडक अवरुद्ध हुने कार्यबाट बिदा लिएको बताए । यसका लागि गत वर्ष चैत महिनामा कार्यालयले नेपाल मेघा प्रालिसंग ती पुल निर्माणका लागि सम्झौता गरेको थियो ।
२०८० सालको वैशाख महिनाबाट निर्माण कार्य सुरु भएको थियो । उनले सबै पुलको निर्माण कार्य गत कात्तिक महिनामा सम्पन्न भएको भए पनि बाँकी काम भने चैत महिनामा सम्पन्न भएकोमा अन्तिम भुक्तानी भने यति बेला भएको बताए ।
प्रालिका स्थानीय प्रतिनिधि पामामुटुव लामाले निर्माण कार्य सुरु भएको मितिबाट कामलाई तीव्रता दिएको कारण निर्धारित मिति भन्दा निर्माण कार्य अगाडी नै सम्पन्न भएको बताए । अर्को कुरा सलीसल्लासम्म राष्ट्रिय सडक सञ्जाल जोडिएको कारण पुल निर्माणका लागि सामाग्री जुटाउन सहज भएको कारण पनि काम चाँडो सम्पन्न गर्न सहज भएको उनले बताए ।
खुलालु सलीसल्ला खण्ड १२३ किलो मिटर दुरी रहेको छ । निर्माण कार्य सम्पन्न भएका पुलहरू खुलालुदेखि कवाडीसम्म आठ वटा रहेका छन् भने कवाडीबाट सलीसल्लासम्म आठ वटा पुल निर्माण भएका छ । यी पुलहरू सबै छ मिटर चौडा र आठ मिटर लम्बाई रहेका छन् । यी सबै पुल निर्माणका लागि भ्याट सहित कार्यालयले नौ करोड बजेट खर्च गर्नु परेको छ । उक्त खण्डमा यी पक्की पुलको निर्माण कार्य भएसँगै अब बर्खा याममा बाढी पहिरो गएको वा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध हुने कार्य बन्द हुने विश्वास गरिएको छ ।

यस्तो छ तपाईंको २८ बैशाख २०८१, शुक्रबार आजको राशिफल

मेष : मनमा उत्साह बढ्नेछ। आम्दानी हुने दिन छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर रहनेछ।

वृष : समाजले साथ दिने योग छ। धन जोगाउन कठिन हुनसक्छ। शक्तिशाली ग्रह खराब स्थानमा रहेकाले खर्च बढ्ने देखिन्छ। परिवारको साथ मिल्नेछ। जुनसुकै काम गर्नु अगाडि परिवारसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ।

मिथुन : निर्णय क्षमता कमजोर हुँदा काममा अलमल हुने देखिन्छ। लगानी र श्रम गर्न हिम्मत गरे अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारबाट सकारात्मक सहयोग प्राप्त हुनेछ।

कर्कट : हरेक क्षेत्र विवादित रहेकाले व्यवहार गर्नुअघि सचेत हुनुपर्ने देखिन्छ। झुटा आरोप लाग्ने जोखिम देखिन्छ। यसले गर्दा तनाव बढ्नसक्छ। अढैया शनिदेवका कारण मन शान्त नहुने हुन्छ। पिपलको दर्शन मात्र गरेमा धेरै समस्याको समाधान हुनेछ।

सिंह : संघर्ष गरेर सफलता प्राप्त गर्ने दिन हो। शिक्षाको क्षेत्रमा मेहनत आवश्यक छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्य खराब हुनेछ। श्रमको उचित मूल्यंकन हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। काममा जाँगर बढ्ने देखिन्छ। स्वास्थ्य क्षेत्रमा लगानी गरेको भए सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। पूर्वको लामो यात्रामा नगर्नु राम्रो हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ।

तुला : वादविवाद वा तर्क गर्नुपर्ने ठाउँमा तपाईं सफल बन्नुहुनेछ। सम्पत्ति गुम्ने जोखिम भएकाले निजी कारोबार नगर्नु राम्रो हुन्छ। परिवारसँग मिलेर गरेको लगानीबाट भने उन्नति हुनेछ।

वृश्चिक : दिन रमाइलो छ। नयाँ साथी र नयाँ ठाउँको भ्रमणले मन खुशी हुनेछ। खुट्टा तान्ने साथीहरु शान्त रहनेछन्। लगानीको क्षेत्रबाट लाभ प्राप्त हुनेछ। परिवारसँग सल्लाह गरेर काम गर्नु राम्रो हुनेछ।

धनु : शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने देखिन्छ। वैदेशिक क्षेत्रको लगानी खराब व्यक्तिको हातमा पुग्ने जोखिम हुनसक्छ। आर्थिक कारोबार गर्दा सचेत हुनु राम्रो हुन्छ। सामाजिक क्षेत्र र परिवारबाट सहयोग पुग्नेछ।

मकर : सोचेका काममा अवरोध हुनसक्छ। झुटा आरोपको सामना गर्नुका साथै विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ। दिउँसो प्राप्त भएको राम्रो सन्देशले मन खुशी हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : आफन्तले नै तपाईंको विरोध गर्ने दिन छ। लगानी गर्नुअघि सोचेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ। अपरिचित मानिसको साथ र सहयोग प्राप्त हुनसक्छ।

मीन : आफ्नो क्षमता बुझेर काम गर्नु राम्रो हुन्छ। अचानक रिस उठ्दा आइपरेको समस्याको समाधान आफैंले गर्नुपर्ने हुनसक्छ। शनिको प्रभावले देखिएको रिस र उदासपनलाई रोक्न आफैं सक्रिय हुनुपर्नेछ। अरुको प्रभावमा नपरी गरेको काम सफल बन्नेछ। परिवारको सहयोग आवश्यक देखिन्छ।

तनहुँमा चालु आवमा ६४७ उद्योग दर्ता, २७८ खारेज

दमौली- चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् ।

कार्यालयका वाणिज्यका अनुसार उद्योगतर्फ तीन सय ३६ र वाणिज्यतर्फ तीन सय ११ उद्योग दर्ता भएका छन् । एउटा घरबास (होमस्टे) पनि दर्ता भएको छ । गत आवमा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । दर्ता भएका उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ अधिक छन् ।

दुई सय ७८ उद्योग खारेज
चालु आवमा जिल्लामा दुई सय ७८ उद्योग खारेज भएका छन् । आर्थिक अभावका कारण उद्योग सञ्चालन गर्न नसकिने भन्दै सम्बद्ध व्यक्तिले आवेदन गरेपछि ती उद्योगको दर्ता खारेज गरिएको हो ।

कार्यालयमा गत आवमा दुई सय १० घरेलु उद्योग खारेजीका लागि आवेदन परेको थियो । गत आवको तुलनामा चालु आवमा उद्योग खारेजका लागि धेरै आवेदन परेको उक्त कार्यालयले जनाएको छ ।

चालु आवमा कार्यालयले रु ४० लाख ४९ हजार एक सय २५ राजस्व संकलन गरेको छ । वाणिज्यतर्फ रु १९ लाख ८५ एक सय ७५ र उद्योगतर्फ रु २० लाख ६३ हजार नौ सय ५० राजस्व संकलन भएको छ । उद्योगतर्फका आठ सय ४० र वाणिज्यतर्फ सात सय ४१ गरी एक हजार पाँच सय ८१ घरेलु तथा साना उद्योगले नवीकरण गरेका छन् ।

इमान्दारपूर्वक गरिने स्वनियमले सहकारी संस्थाहरुलाई संकटबाट बचाउने

काठमाडाै । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायका विचको दृष्टि एउटै हुनुपर्ने र सहकारीहरुले आफूलाई इमान्दार स्वनियममा राख्नु पर्ने खाँचो देखाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले राष्ट्रिय सभा गृहमा आयोजना गरेको ‘सहकारी सचेतना’ अभिमुखीकरण कार्यक्रममा यसरी मात्र समस्याको समाधान आउने निष्कर्ष निकालिएको छ ।

आर्थिक क्षेत्रमा समस्या सुरु हुन अगाडि नै पूर्वअनुमान गरेर काम गर्न सक्नुपर्छ । सहकारीभित्र व्यापारिक होइन, सामाजिक भावना हुनुपर्छ । सहकारी सबै खराव छैनन् । ऋणी पनि सबै खराब होइनन् । आज राम्रो भएको चीरकालसम्म राम्रै भइरहन्छ भन्ने पनि होइन । यसकारण व्यक्तिव्यक्तिमा र हरेक पदाधिकारीमा भङ्ग नहुने इमान्दारिता आवश्यकता रहेकोमा सहभागीहरुको मत एक थियो ।

सहकारीहरु संकटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण दिने, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी गर्ने, ऋण लिनका लागि मात्र सदस्य बन्ने, धितो नलिई वा कमसल धितो लिएर ऋण दिने, मुनाफा मात्रै खोज्ने जस्ता कारण सहकारीहरुमा संकट बढेको सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले धारणा राखे‍।

यस्ता संकटहरुमा प्रहरी र सहकारीकर्मीको भेट हुने गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले भने, ‘२०८० साउनदेखि चैत मसान्तसम्म २२५ वटा सहकारीलाई कारवाही गर्न लेखेर आयो । यस्मा काठमाडौँ महानगरपालिकाभित्रका ९३ वटा छन् । अवस्था यसैबाट विश्लेषण गर्नोस् ।’ सहकारी दर्ता गर्दा जसको नागरिकता राखिएको छ, यसलाई म के हुँ भनेर थाहा पनि छैन । दुःखले राखेको बचत कसले लग्यो बचतकर्तालाई थाहा छैन । ऋणीको ५० लाख रुपैयाँसम्म व्याज मिनाहा भएको छ । यसको मनसाय के हो? स्पष्ट छ, अधिकारीको भनाइ थियो ।

सहकारी नियमनका विषयमा संघ सरकारले सहयोग आवश्यक परेको छ । प्रदेश सरकारबाट उल्झन भएको छ । महानगरपालिकाको कृषि, सहकारी तथा पशुपन्छी व्यवस्था समितिका संयोजक रामजी भण्डारीले भन्नुभयो, ‘सहकारी क्षेत्रमा गलत गर्नेका कारण राम्रो काम गर्नेले राम्रा हुन पाएनन् । हामी राम्रोलाई राम्रो देखिने र गलतलाई कानुनी दायरामा ल्याएर सुधार गर्छौँ । महानगरपालिका कार्य क्षेत्र भएका सबै सहकारीले आफ्ना विवरण नियमित अद्यावधिक गराएका छैनन् । यस्ता सहकारीलाई खोज्दैछौँ ।’

सहकारी स्थापना गर्नुको खास उद्देश्य छ । स्थापना गर्ने बेलामा यो उद्देश्य स्वीकार गर्ने, सञ्चालन गर्ने बेलामा बैङ्क र वित्तीय संस्था बन्न खोज्ने पद्धतिले गलत परिणाममा पु¥याएको हो । समितिका सदस्य मचाराजाा महर्जनले भने, ‘सुधार गर्न सकिने ठाउँमा रहेकोलाई थप विग्रिन नदिनु नियमनकारीको दायित्व हो । यसमा हामी प्रतिवद्ध छौँ ।’

सहकारीहरु ताला लगाएर वेपत्ता भएपछि घरधनीले तालाबन्दी खोलिदिनु प¥यो भन्ने निवेदन दिन्छन् । वहाल नतिरेका कारण घरधनीले तालाबन्दी गरिदिएपछि सहकारी खोलिदिनु प¥यो भन्ने उजुरी दिन्छन् । वचत फिर्ता भएन भनेर बचतकर्ताले फिर्ता गराइ पाउन निवेदन दिन्छन् । अहिले सहकारी क्षेत्रमा देखिएको अवस्था हो । महानगरपाािलकाका सहप्रवक्ता दीपक अधिकारीले आफूसँग आएका सूचना उधृत गर्दै अवस्था सुनाउनुभयो । सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले, सबै सहकारी गलत नभएको उल्लेख गर्दै गलत गर्नेका विषयमा धेरै चर्चा भएपछि नागरिक स्तरमा सबैप्रति नकारात्मक दृष्टिकोण निर्माण भएको बताए ।

महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले, महानगरपालिकाको सञ्चार तथा सूचना ऐनबमोजिम नियमत क्षेत्राधिकारभित्र रहेका निकायमा सूचना अधिकारी तोक्नु पर्ने व्यवस्थाबमोजिम सहकारीहरुले वैशाख महिनाभित्र अधिकारी तोकेर महानगरपालिकामा जानकारी गराउन आग्रह गरे ।

गलत सूचनाले सहकारीहरुलाई संकटमा पु¥याएको धारणा राख्दै जिल्लाा सहकारी संघका अध्यक्ष सुमन के. सी. ले, यसबाट सिर्जित समस्या सबै मिलेर समाधान गर्नु पर्ने बताए ।

अभिमुखीकरण कार्यक्रममा सहकारी विभागका उपरजिष्ट्रार उपाध्यायले ‘सहकारी क्षेत्रका समस्या र समाधानका उपाय’, महानगरपालिकाको सहकारी विभागका प्रमुख त्रिपाठीले, ‘सहकारी सम्बन्धी विद्यमान कानुनी व्यवस्था’ र राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष मीनराज कँडेलले, ‘सहकारी संस्थामा सञ्चालक समितिका भूमिका’ का विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उनीहरुको प्रस्तुतिमाथि सहभागीहरुसँग प्रश्नोत्तर गरिएको थियो ।

तत्कालीन डिभिजन सहकारी कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा नेपाल सरकारले २०७४ साउन १ गते निर्णय ग¥यो । त्यसअनुसार २०७५ साउन १ गतेदेखि डिभिजन सहकारीले गर्दै आएका काम महानगरमा हन्तारन्तरण भएर आयो । हस्तान्तरण हुनु अघि नै अर्थात् २०७४ सालमा नै काठमाडौं महानगरपालिकाले सहकारी ऐन जारी गरिसकेको थियो ।

हस्तान्तरण भएर आएर र नयाँ दर्ता गरी महानगरपालिकाभित्र १ हजार ९५३ वटा सहकारी संस्था छन् । जसमा १ हजार ६२८ वटा बचत तथा ऋण सहकारी, २६४ वटा बहुउद्देश्यीय सहकारी, ३ वटा श्रमिक सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, ३ वटा सिपमूलक सहकारी, २ वटा शिक्षा सहकारी छन् । सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका १÷१ वटा सहकारी छन् ।

विभागका प्रमुख त्रिपाठीकाअनुसार सहकारी तथा गरीबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) को युजर नेम र पासवर्ड लिने सहकारीको संख्या १ हजार ६०३ रहेको छ । सहकारी विभागमा नियमित विवरण बुझाउने ९५५ वटा छन् ।
सहकारी विभागका अनुसार देशमा ३१ हजार ३७३ वटा सहकारी संस्थामा ७३ लाख ८१ हजार २८१ जना सदस्य छन् । ९४ अर्व १५ करोड रुपैयाँ कुल शेयर पुँजी रहेको सहकारी क्षेत्रमा ४ खर्व २६ अर्व २५ करोड ऋण लगानी छ । यस क्षेत्रमा ९३ हजार ७७१ जनाले रोजगारी पाएका छन् ।

साझा साेंच र आवश्यकता भएका व्यक्तिहरुले सामुहिक आर्थिक, सामाजिक, सांस्कृतिक विकास र गतिशीलताका लागि सदस्यहरुका बिचमा मात्र कारोबार गर्ने स्थापित संस्था, सहकारी हो ।