काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेका छन् ।
घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।
काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेका छन् ।
घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।
काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बैकका अनुसार आजकाे लागि अमेरिकी डलर एकको डलरकाे दर अधिकतम १३३ रुपैया ३१ पैसा र बिक्री दर १३३ रुपैया ९१ पैसा कायम भएकाे छ ।
युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६९ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६६ रुपैयाँ ८३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ५५ पैसा र बिक्री दर १४७ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६७ पैसा र बिक्री दर ८८ रुपैयाँ ०७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ११ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५५पैसा छ ।
राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ५५ पैसा र बिक्री दर ८ रुपैयाँ ५९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४५ पैसा र बिक्री दर १८ रुपैयाँ ५३ पैसा रहेको छ ।
धनगढी । कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द सीमा नाका बन्द हुने भएका छन् । भारतमा भइरहेकाे लाेकसभा निर्वाचन अवधिभर भारतीय सीमा नाका बन्द हुने भएकाे हाे ।
भारतकाे उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा निर्वाचन हुँदैछ ।
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८:३० बजेका लागि तय गरिएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकमा पार्टीबाट संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ ।
यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्रीसमेत रहेका काँग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो ।
आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।
काठमाडौ । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई प्रदान गर्दै उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सबस्टेशनको निर्माण सम्झौता अवधि ३९ महिनाभित्र सम्पन्न गरिने जनाइएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा आज आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि संयुक्त राज्य अमेरिकी राजदूत डिनआर थम्पसन, स्थानीय अधिकारीहरू तथा निर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत थम्पसनले भने “नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्ने सन्दर्भमा अमेरिकी सरकार, नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छ । घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दाे एवं धान्न सकिने विद्युत् उपलब्ध गराइरहेको नेपालको विद्युत् प्रसारण क्षमतामा यस चार सय केभी नयाँ बुटवल सबस्टेशनले सुधार ल्याउनेछ ।”
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, “यो चार सय केभी सबस्टेशन प्राधिकरणको प्राथमिकतामा रहेको संरचना हो र यसले यस क्षेत्रमा सीमापार ऊर्जा व्यापार उल्लेख्य रूपमा उकास्नका लागि विद्यमान दुई सय २० केभी सबस्टेशनलाई सघाउनेछ ।”
कार्यक्रममा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिमाथि प्रकाश पारे । उनले भने, “एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाअन्तर्गत प्रसारण लाइन र सबस्टेशनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको छ । बाँकी दुईवटा सबस्टेशनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि हामी खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ ।”
एमसिए–नेपालले नेपाल सरकारको लगानी तथा अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशनबाट आर्थिक अनुदान प्राप्त विद्युत् प्रसारण आयोजनाअन्तर्गत यस सबस्टेशनका अतिरिक्त नुवाकोट जिल्लाको रातमाटेमा र तनहुँ जिल्लाको दमौलीमा पनि एक–एकवटा सबस्टेशन निर्माण गर्दैछ । ती सबस्टेशनका लागि निर्माण कम्पनीको छनोट हुँदैैछ ।
अर्थ मन्त्रालयका सचिव अध्यक्ष रहनुभएको एमसिए–नेपालको सञ्चालक समितिको २०८० साल फागुनमा बसेको बैठकले भारतसँगको सम्झौतामा उल्लेख गरिएअनुरूप सीमापार ऊर्जा व्यापारलाई समयमै अगाडि बढाउनका लागि सहजीकरण गर्न नयाँ बुटवल–गोरखापुर विद्युत् प्रसारण लाइनको नेपाली क्षेत्रमा पर्ने १८ किमी अंशको निर्माणलाई अगाडि बढाउने निर्णय गरेको थियो ।
काठमाडौँ । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।
धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव–पार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ ।
यसैबीच, मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा पनि यो पर्व मनाइँदै छ । ब्राह्मणलाई जाँै, चनाको सातु र सक्खरको सर्वत दान गरेर मिथिलावासीले यी पदार्थ आफूले पनि सेवन गर्ने परम्परा छ ।
पर्वमा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दू विश्वासले आज हिन्दू मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन् । यस पर्वमा गरिबलाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको छ । आज सुन, शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने शास्त्रमा वर्णन भएको छ ।
काठमाडाै । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा र उच्च शिक्षाबीच ठूलो खाडल रहेकाले उक्त खाडललाई अन्त्य गर्ने गरी कार्य प्रारम्भ गरेको बताएकी छिन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले विद्यालय शिक्षा र उच्चशिक्षाको साझा गन्तव्य मुलुकका दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना रहेकाले त्यासअनुसार योजना बनाउन विश्वविद्यालयहरुका नेतृत्वलाई आग्रह गरिएको जानकारी दिइन्।
मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा भइरहेका विकृति र विसङ्गति रोक्न सरकारले पहल गरिरहेको पनि स्पष्ट गरिन् ।
सो विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले विश्वविद्यालयमा राजनीतिक दलहरुले भातृ सङ्गठन सञ्चालन गर्दासम्म प्राज्ञिकलगायत समग्र सुधार गर्न कठिन हुने बताए । उपकुलपति डा बरालले आगामी वर्षदेखि विश्वविद्यालयको शैक्षिक पात्रो कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै उच्चशिक्षाका नाममा विदेश जाने युवा विद्यार्थीलाई रोक्ने योजना रहेको बताए ।
बैठकमा समितिमा सदस्यहरुले त्रिविमा समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन नभएको, अति राजनीतिकरण भएको, विभिन्न समयमा हुने परीक्षाका प्रश्नपत्र बाहिरिने समस्या देखिएको र अनियमितता हुने गरेका कारणले विश्वद्यालयप्रति विद्यार्थीको अकर्षण घटेको बताएका थिए ।
काठमाडाै । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा बाँकी पहाडी भागका आंशिकदेखि साधारणतया बदली हुने तथा कोशी र बागमती प्रदेशलगायत देशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशलगायत मुलुकका पहाडी भागका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान विभागले गरेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।
नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ ।
आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।
बागमती । बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
यस्तै मन्त्रिपरिषद्को बैठकले हात्तीसुरे, शिखरपुर र अम्बासे मकवानपुर सडकखण्ड स्तरोन्नति गर्न ९६ रुख कटान गर्ने र मकवानपुरमा रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको कार्यालय भक्तपुरमा स्थान्तरण गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिए ।
बैठकले बागमती प्रदेश नीति तथा योजना आयोगमा दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने तथा नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० को पहिलो संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण मापदण्ड, २०८१ स्वीकृत गर्ने, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् स्थापना हुने स्थान, सङ्गठन तालिका, दरबन्दी, कार्य विरण, छाप र साइन बोर्ड स्वीकृत गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए । बैठकले खरको छानोमुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।
काठमाडौ । सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने भएको छ ।
ढकाललाई मानव स्रोत विभाग र जोशीको प्रदेश समन्वय विभागमा पदस्थापन भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसैगरी बैठकले समाजकल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, (सुनसरी)लाई मनोनयन गर्ने र भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर (काठमाडौंँ) लाई नियुक्त गर्ने निर्णय उनले बताइन् ।
काठमाडौँ । आर्थिक बर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न छलफल सुरु भएको छ । वैशाख १० गते महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को वैठकले आर्थिक बर्ष २०८१/८२ का लागि मार्गदर्शन पारित गरेपछि त्यही मार्गदर्शनका आधारमा उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा रहेको ‘बजेट तर्जुमा समिति’ले विषयगत समितिसँग छलफल सुरु गरेको हो ।
बैठकमा उपप्रमुख डंगोलले कार्यक्रम छनोट आवश्यकताको प्राथमिकीकरण गरेर तत्काल चाहिने, कार्यान्वयन गर्न सकिने योजना छान्नु पर्ने बताइन् । वैठकका निर्णयका बारेमा जानकारी गराउँदै उनले भनिन, ‘विषयगत समितिहरुको बैठकबाट चालु आर्थिक बर्षको समीक्षा र आगामी वर्षका कार्यक्रमको प्रस्ताव ल्याउने र यसरी आएका विवरणहरुलाई संकलन तथा ढाँचामा राख्न योजना अनुगमन तथा मूल्याङ्क एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीको संयोजकत्वमा बजेट तथा अनुगमन महाशाखा प्रमुख विकास चित्रकार र मानव संशाधन विकास महाशाखा प्रमुख प्रवीण प्याकुरेल सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ ।’
बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बजेट सीमा र बजेट तथा कार्यक्रम तर्जुमा मार्गदर्शन बारे अवगत गराएका थिए ।
त्यसपछिको छलफलमा प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी., सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन, विधायन समितिका संयोजक मचाराजा महर्जन, राजस्व समितिका संयोजक नवराज पराजुली, वित्त समितिका संयोजक रामजी भण्डारी, भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकार र कृषि, सहकारी तथा पशुपन्छी व्यवस्था समितिका संयोजक रामजी भण्डारीले धारणा राखेकाा थिए ।
काठमाडौँमा भौतिक पूर्वाधारका काम गर्न सकिने समय, योजनाको कार्यान्वयन गर्न आवश्यक प्रक्रियाको चरण र अवस्था, केन्द्र र वडागत रुपमा हुने कार्यक्रमको सम्बन्ध जस्ता पक्षमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यस्तै सामाजिक विकास, स्वास्थ्य, शिक्षा, वातावरणीय सुधारजस्ता आधारभूत आवश्यकताका विषयमा उनीहरुको जोड थियो ।
योजना तर्जुमा सम्बन्धी काम ‘बजेटको पूर्व तयारी’ हरेक वर्षको मंसिर महिनाबाट सुरु हुन्छ । विषय क्षेत्रसँग सम्बन्धित सूचना संकलन र विश्लेषण गरेर स्थितिपत्र अद्यावधिक गर्ने यसको पहिलो काम हो । यो काम विषयगत विभाग, महाशाखा र शाखाले मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्छ ।
माघ मसान्तभित्र विषयगत क्षेत्र विभाजन गरेर सदस्यलाई जिम्मेवारी दिनुपर्छ । यो जिम्मेवारी कार्यपालिकाले दिनुपर्छ । महानगरपालिकामा विषयगत समिति भएकाले यसको जिम्मेवारी कार्यपालिकाले समितिलाई दिइएको छ ।
फागुनबाट ‘स्रोत अनुमान र कुल बजेट सीमा निर्धारण’ को काम सुरु हुन्छ । संघ र प्रदेशबाट अनुदान र राजस्व बाँडफाँट, रोयल्टीको सीमा र मार्गदर्शन प्राप्त गर्ने, सरोकारवालासँग छलफल गर्ने, बजेट तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्ने, कुल बजेटको अनुमान, सीमा निर्धारण र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गर्ने, यो मार्गदर्शन विभाग, महाशाखा, शाखा तथा वडालाई उपलब्ध गराउने काम हुन्छ । महानगरपालिको यो मार्गदर्शन वैशाख १४ गते परिपत्रमार्फत पठाइसकेको छ ।
बस्ती र टोलस्तरबाट योजना छनोट तेस्रो चरणमा आउँछ । यो काम वडा समितिबाट वैशाख मसान्तभित्र सम्पन्न गर्नुपर्छ । यसपछि जेठ १० गतेभित्र वडास्तरीय योजनाको प्राथमिकता निर्धारण गर्नुपर्छ ।
पाँचौ चरणमा एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गर्नुपर्छ । जेठ १५ गतेबाट सुरु हुने यस चरणमा विषयगत समिति, विभाग, शाखा, महाशाखा र विषय क्षेत्रका आयोजना र कार्यक्रमको प्राथमिकता निर्धारण गर्नुपर्छ । विषयगत समितिमा छलफल, प्राथमिकता निर्धारण र सांकेतीकरण, बजेट (राजस्व, व्यय र बित्तीय व्यवस्था) तथा वार्षिक विकास कार्यक्रमको प्रस्ताव तयार गर्ने, गैरसरकारी संघसंस्था र विकास साझेदारका कार्यक्रम समावेश गर्ने, आर्थिक विधेयक र विनियोजन विधेयकको मस्यौदा तयार पार्नुपर्छ ।
यसरी तयार पारिएका विधेयकहरु कार्यपालिकाबाट स्वीकृत गराएर असार १० गतेभित्र नगर सभामा पेश गर्नुपर्छ । यसरी पेश गरिएको प्रस्तावलाई असार मसान्तभित्र सभाबाट पारित गराउनु पर्छ ।
यसरी योजना तर्जुमाका चरण पूरा हुन्छ ।
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेको थियो।
सांसदहरुको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरे । सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ ।
राजविराज । अज्ञात समूहले सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित नेपाल बैंकको शाखा कार्यालयका सुरक्षागार्डको हत्या गरेको छ । बिहीबार बिहान करिब ७ बजे सुरक्षा गार्ड ५६ वर्षीय परशुराम फुयाँल सुतेकै ठाउँमा मृत फेला परेका थिए । गार्डको कोठा अबेरसम्म नखुलेपछि बैंकका कर्मचारीले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । वरिपरि रगतका टाटा पनि देखिएपछि अनुसन्धानकै क्रममा फुयाँलको हत्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अन्सार लुटपाट गर्ने उद्देश्यले आएकाहरुले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिन्छ । हत्या घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
विगत ८ वर्षदेखि बैंकमा गार्ड रहेका सप्तकोशी नगरपालिका– २ बस्ने मृतक फुयाँलका श्रीमती २ छोरा र २ छोरी छन् । उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्न थालेका थिए ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका वडा नम्बर ६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका वडा नम्बर ८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौं थली बस्ने २३ वर्षीय रोशन रानाभाट छन् ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । वैशाख २६ गते बिहान चलेको कक्षा १२ को कम्प्युटर साइन्सको प्रश्नपत्र आउट गरेको आरोप छ । प्रश्नपत्र आउट गरी काठमाडौं महानगरपालिका वडा नम्बर ६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मुल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुविरुद्ध शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।