एक हजार बढीले ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर गरे नियमको पालना

काठमाडौँ । अन्य दिनको तुलनामा आज दिउँसो काठमाडौँका मुख्य तथा व्यस्त चोकमा पहेँलो रङ्गको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर हजारौँ युवायुवती ट्राफिक नियम सिकाउनमा व्यस्त देखिन्थे ।

यसरी पहेँलो रङ्गको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर आ-आफ्नो समयअनुसार दिनभरि एक हजार तीन सय दुई जनाले स्वयम्सेवकका रूपमा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग गरेका थिए । उनीहरू कुनै नयाँ संघ संस्थाका प्रतिनिधि, विद्यार्थी एवं ट्राफिक प्रहरी नभएर ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेका थिए ।

उनीहरूले आज बिहान ९ बजेदेखि ५ बजेसम्मको समयमा सवारी साधन व्यस्त हुने चोकमा सवारी व्यवस्थापनमा सहयोग गरेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकालाई आजदेखि स्वयम्सेवकका रूपमा सडकमा खटाउन सुरु गरेसँगै उनीहरूले आज पहिलो दिन सवारी व्यवस्थापनमा सहयोग गरेका हुन् ।

उनीहरू खटिएपछि आज काठमाडौँका व्यस्त सडकहरूमा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न सहज भएको थियो । ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेका एक हजार तीन सय दुई जनालाई आज काठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रमा स्वयम्सेवकका रूपमा सवारी व्यवस्थापनमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकालाई हामीले स्वयम्सेवकका रूपमा सवारी व्यवस्थापनमा खटाइएका थियौँ, बेलुकी ५ बजेसम्म उहाँहरू खटिनुभएको थियो ।”

स्वयम्सेवकका रूपमा सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोकलगायत ठाउँमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी चालकलाई ट्राफिक नियमको सामान्य ज्ञान दिएर फिल्डमा खटाइएको थियो । ट्राफिक नियम उल्लंघन गर्ने प्रत्येकले एक घण्टा स्वयम्सेवकका रूपमा सडकमा खटिनुपर्ने जनाइएको छ । रासस

प्रधानमन्त्री ‘प्रचण्ड’विद्युत महसुलमा गरिएको वृद्धि रोक्न सकारात्मक

वालिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला वितरण केन्द्रको विद्युत महसुलमा गरिएको वृद्धिलाई रोक्न सकारात्मक भएका छन् ।

बिहीबार बिहान स्याङ्जाबाट पुगेको प्रभावित क्षेत्रको टोलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पुरानै महसुल कायम गराउन सकारात्मक रहेको बताउनुभएको हो । उनले भने, “सरकार नागरिकको दैनिकी सहज बनाउन लागि परेको छ, यो विषयमा मैले तत्कालै बुझेर सम्बोधन गर्नेछु ।”

टोलीका सदस्यहरुले बढेको महसुलले नागरिकलाई प्रत्यक्ष असर पार्ने भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका नेपाली कांग्रेस वालिङका सभापति नेत्रप्रसाद पाण्डेले जानकारी दिए।

सङ्घीय सांसद तथा कांग्रेस उपसभापति धनराज गुरुङको नेतृत्वमा प्रधानमन्त्रीलाई प्रभावित क्षेत्रको टोली प्रधानमन्त्रीलाई भेट्न पुगेको हो । भेटका क्रममा प्रभावित क्षेत्र स्याङ्जा–२ का सङ्घीय सांसद गुरुङले बढेको महसुल तत्कालै फिर्ता गराउन प्रधानमन्त्रीले पहल गरिदिनु पर्ने बताएका थिए ।

टोलीमा वालिङ नगरपालिका, गल्याङ चापाकोट, भीरकोट नगरपालिका तथा कालीगण्डकी गाउँपालिका तथा पाल्पाको रामपुर नगरपालिका र रम्भादेवी गाउँपालिकाका जनप्रतिनिधिसहित दलका प्रतिनिधि, व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य बढ्दा युरो, अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राहरुको मूल्य भने घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३९ पैसा थियो।

त्यसअघि मंगलबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा थियो। विगत तीन दिनदेखि अमेरिकी डलरको मूल्य लगातार बढिरहेको छ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २० पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ३५ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा थियो।

मंगलबार बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १७० रुपैयाँ ०५ पैसा थियो। पाउन्डको मूल्य पनि तीन दिनदेखि वृद्धि भइरहेको छ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ६० पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ९९ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८२ पैसा थियो।

मंगलबार बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६६ पैसा थियो।

सीमरी मन्दिरमा बती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा हुन्छ पूजा

रौतहट १७ जेठ। जहाँ बती बलेपछि मात्र विश्वप्रसिद्ध बारा गढीमाई मन्दिरमा पूजा गरिन्छ त्यही स्थान रौतहटको गुजरा नगरपालिकाका वडा ३ सिमरी गाउँमा नवनिर्मित गढीमाई मन्दिरको उदघाटन भएको छ।
वडा ३ को विनियोजित रकमबाट सिमरीमा ऐतिहाँसिक गढिमाई मन्दिर निर्माण भई मंगलवार विधिवत रूपमा मेयर सन्तलाल चौधरीले उदघाटन गरेका हुन्। वडाको कोषबाट कुल १० लाख रुपैयाँको लागतमा मन्दिर निर्माणकार्य सम्पन्न भएको वडा अध्यक्ष अशोक चौधरीले बताएका छन। यस अघी स्यानो तथा जीर्ण मन्दिरमा पूजा हुदै आएको थियो।
सिमरी गाउँ स्थित नवनिर्मित गढिमाई मन्दिरमा बती बालेर पुजा गरेपछि मात्र विश्व प्रसिद्ध बाराको ठुलो गढिमाई मन्दिरमा बती बालेर पुजा सुरुहुने परम्परा रहेको छ।
यस पटक सिमरि स्थित गढीमाई मन्दिरका पुजारी तान्त्रिक उमाशंकर धामी कछडिया उक्त मन्दिरमा विधिवत पूजा गरेर बारा बरियारपुर स्थित गढिमाई मन्दिर पुगेपछि मात्र त्यहाँ पुजा सुरुहुने बताईएको छ।यस अघी उनको बुबा दुखन धामी कछाडिया तान्त्रिक पुजारी रहेका थिए। चार वर्ष अघि उनको मृत्यु भएपछि परम्परा अनुसार उनका जेठा छोरा उमाशंकर धामी कछाडिया तान्त्रिक पूजारीको रुपमा जिम्मेवारी पाएका छन्।
प्रत्येक पाँच बर्षमा विश्वप्रसिद्ध बारा स्थित गढीमाई मन्दिर लाग्ने मेलामा नेपाल भारत लगायत संसारको धेरै देशबाट लाखौं मानिस मेलाभर्न आउने गर्दछन्।
पाँचवर्षे मेलाको अवसरमा गढीमाई मन्दिरमा सेतो मूसा,बोका, ,परेवा , सुँगुर,राँगा गरी पञ्चबली दिने परम्परा रहेको छ।
सबैभन्दा बढी बलि चढाउने भएकाले बाराको वरियारपुर स्थित गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ।
मन्दिर व्यवस्थापन पक्षबाट पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन्।
गढीमाई मन्दिरमा तान्त्रिक धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर चढाएरपछि बलि सुरुहुन्छ।
अघिल्लो मेलामा ३५ हजार भन्दा बढी राँगा र हजारौंको संख्यामा बोकाको बलि भएको गढीमाई पुजा ब्यवस्थापन समितिले जनाएको छ भाकल पूरा भएर मेलाभर्न पूजागर्न आउने भक्तजनहरुले हजारौँ परेवा उडाउने गर्छन् ।
बारा गढीमाई मन्दिरमा पूजा हुनु अघी रौतहट गुजारा नगरपालिका ३ सिमरी गाँउमा रहेको गढीमाई मन्दिरमा तान्त्रिक पूजारी उमाशंकर धामी (कछडिया)ले विशेष पुजा, आराधाना गरे सँगै आफ्नो शरीरको पाँचठाउँ बाट रगत निकाली नर वली स्वरुप रगत चढाउने परम्परा रहेको छ। त्यस पछि रांगा, बोका, परेवा र पाठीको बलि दिएर मन्दीरमा बती बालेर तान्त्रिक पूजारी धामी बारा गढीमाई मन्दिरमा जाने गर्दछन्।
तान्त्रिक पूजारी कछाडिया, बारा गढीमाईका मुल पुजारी मंगल चौधरी, अन्य पुजारीहरुका साथमा रही रातभर पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफै बत्ती बल्छ र पञ्चबलि हुनेगरेको पूजारी उमाशंकरले बताएका छन। परापूर्वकलदेखि हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्ति संग जोडेर हेर्ने प्रचलन रही आएको छ । शक्ति स्वरुपा देवीलाई खुसी बनाउन बलि अनिवार्य भएको प्रचलन रहिआएको छ ।
विश्वप्रसिद्ध पञ्च बर्षीय गढीमाई मेला यस बर्ष आगामी मन्दिरमा लाग्दै छ। गढीमाई मेला २०८१ मंसिर १ गते तदनुसार सन 2024 नवम्बर १६ तारिक देखि मंसिर ३० डिसेम्बर १५ तारिक एकमहिना सम्म मेला लाग्ने छ।
गढीमाई मन्दिरमा बिशेस पुजा तथा राङ्गा बलि मंसिर २३ गते तदनुसार डिसेम्बर ८ तारिक र बोका बलि त्यसको भोलिपल्ट मंसिर २४ गते डिसेम्बर ९ तारिक हुने मेला व्यवस्थापन समितिले सार्वजनिक गरेको छ।
बारा गढीमाई मन्दिरमा प्रत्येक पाँच बर्षमा लाग्ने एकमहिने मेलाको लागि स्थानीयहरू एकबर्ष अगाडी देखि तयारी सुरु गर्ने गर्दछन्। सो क्षेत्रको प्रत्येक घरमा आफन्तहरू मेला हेर्न महिना भरी बस्नुभएको कारण आआफ्नो क्षमता अनुसार खाने बस्ने व्यवस्था गर्ने गरेको स्थानीयहरूले बताएका छन्। सञ्जय मिश्रा

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई गएराती हिरासतबाट मुक्त गरेको हो ।

सिरोहियालाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छोडिदिएको छ ।

अध्यक्ष सिरोहियालाई काठमाडौं थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट प्रहरीले पक्राउ गरी नागरिकतासम्बन्धमा अनुसन्धान गर्न भन्दै स्थलमार्गबाट धनुषा लागिएको थियो ।

अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियाको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार हेलिकप्टरमा काठमाडौँ ल्याइएको थियो । नागरिकतामा किर्ते गरेको आरोपमा पक्राउ परेका सिरोहिया बारे अनुसन्धान भने जारी रहने भएको छ ।

अध्यक्ष सिरोहियालाई जेठ ८ गते साँझ थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

यस्तो छ तपाईंको १७ जेष्ठ २०८१, बिहीबारआजकाे राशिफल

मेष – व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ।

वृष – विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मिथुन– गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला ।विभिन्न सहयोग र उपहार पाइनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ।

कर्कट– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ।

सिंह– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

कन्या– बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ ।

तुला– आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । स्वादिष्ट भोजनको आनन्द पाइएला। पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्। सचेत रहनुहोला।

वृश्चिक– अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अरूले आलोचना गर्नसक्छन्। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ। फाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला।

धनु– व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै
हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ।

मकर– खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ।

कुम्भ– सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला। प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ।तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ ।
मीन– काममा अवरोध आउने समय छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ।

सिडिओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो ।

गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर, काभ्रेपलान्चोक, सुनसरी, नवलपरासी(व.सु.पु.), ईलाम, चितवन, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, भोजपुर, कञ्चनपुर, सर्लाही, सप्तरी, कास्की र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो । ती जिल्लाहरूमा मन्त्रालय तथा विभागमा कार्यरत सहसचिवहरूलाई पठाइएको हो । 

जिल्लाको चाप र परफरमेन्स अनुसार रिक्त जिल्लामा पदपूर्ति गर्नुका साथै केही जिल्लामा सरुवा गरिएको गृहले जनाएको छ । 

सूची :-

वीरगंजलाई यथासिघ्र आर्थिक राजधानी घोषणा गर्न प्रभु साहको माग

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग सरकारसंग गरेका छन् । आर्थिक नगरी वीरगंजलाई आर्थिक राजधानी घोषणा गरी सरकारले सोही अनुसार यहाँ लगानी गर्नुपर्ने माग समेत उनले गरेका छन् ।

आजपा पर्सा जिल्ला कमिटीले आज वीरगंजको टाउनहलमा आयोजना गरेको ‘वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउन’ बृहत भेलालाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन् ।

वीरगंजबाट देशको कुल राजस्व मध्ये ८० प्रतिशतभन्दा बढी उठने गरेको छ । मुुलुककै आर्थिक नगरी वीरगंजबाट सबैभन्दा बढी राजस्व उठने गरेको बताउँदै उनले ढिला नगरी सरकारले यथासिघ्र वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने बताए ।

‘बीरगंज देशकै आर्थिक नगरी हो । यहाँ सबैभन्दा बढी आर्थिक कारोबार हुन्छ, सरकारको राजस्व पनि अन्तभन्दा यहाँबाट धेरै उठने गरेको छ । आर्थिक नगरी वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारले ढिला गर्नुभएन् । यथासिघ्र वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्छ’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले यहाँबाट राजस्व उठाउने र अन्त गएर लगानी गर्नु हामीलाई स्वीकार्य छैन् । वीरगंज आर्थिक राजधानी हो र यहाँ त्यही अनुसार सरकारले लगानी पनि गर्नुपर्छ ।’

बारा, पर्सामा देशकै सबैभन्दा बढी उधोग व्यापार हुने ठाउँ हो । जसको केन्द्र भनेको वीरगंज हो । वीरगंजमा सरकारले न्यनू लगानी गरिरहेको बताउँदै उनले आर्थिक नगरीको बिकासका लागि सरकारले बढी भन्दा बढी बजेट दिनुपर्ने माग समेत गरे । तर हालै आएको सरकारको बजेटले समेत न्याय नगरेको बताउँदै उनले वीरगंजलाई आजपाले जसरी पनि आर्थिक राजधानीको रुपमा घोषणा गराएर सोही अनुसार बिकासका आयोजना पनि ल्याउँने बताए ।

वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउन आजपाले पहल थालेको बताउँदै अध्यक्ष साहले त्यसका लागि यहाँका उधोगी, व्यापारी, नागरिक समाज, बुद्धिजिवि, जनप्रतिनिधि, राजनीतिक दल लगायतका सबैको साथ सहयोगको आवश्यकता रहेको बताए । सबै मिलेर एकढिका भई अगाडी बढने हो भने सरकारले आर्थिक राजधानीको रुपमा घोषणा गरेर बिकासका आयोजना पनि सोही अनुसार दिने उनले बताए ।

देशको प्रमुख आर्थिक केन्द्र, सबैभन्दा बढी राजस्व उठने ठाउँका साथै उधोग व्यापार सबैभन्दा बढी भएको वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउँन सरकारलाई दबाब दिने उदेश्यले आयोजित भेलामा सहभागिलाई उनले धन्यवाद व्यक्त गरे ।

भेलामा उधोगी, व्यापारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, बुद्धिजिवि, नागरिक समाज सहित बिभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेलामा सहभागिहरुले वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउनका लागि आजपाले पहल गरेकोमा धन्यवाद दिदै त्यसका लागि संघर्षमा समेत उत्रिन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिम्रौनगढको पहिचान र भाषा

एतिहासिक, संस्कृतिक र पुरातात्त्विक मह्त्व भएको खुल्ला सङ्ग्रााहलय सिम्रौनगढ मधेस प्रदेशको बारा जिल्लामा पदर्छ। बारा जिल्लाको सदरमुकाम कलैया बाट २० किलोमिटर दक्षिण पूर्वमा अवस्थित छ भने रौतहटको सदरमुकाम गौर बाट लगभग २५ किलोमीटर पक्षिम दिशामा अवस्थित छ। समुद्री सतह देखि १०० मिटरको औसत उचाईमा रहेको सिम्रौनगढ नगरपालिका ४३ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सानो ठूलो गाउँ र टोल गरि ११ वाट वार्ड बाट सिम्रौनगढ नगरपालिका बनेको छ। हाल सिम्रौनगढको जनसंख्या लगभग ५१ देखि ५३ हजार छ।
इतिहास सुन्न र पढ्दा जति सहज र सरल छ त्यति नै इतिहास बनाउन जटिल हुन्छ। नान्यदेव लाई पनि सजिलो थिएन । सिम्रौनगढ सिमलै सिमलले सजिए र भरिएको घना र बिशाल जंगल थियो । सिम्रौनगढ सुरक्षा दृष्टिकोणले एकदमै उप्युक्त र मनमोहक जंगल भित्र सुन्दर बस्ती थियो । मानव अतीतलाई छातिमा समेटेर एतिहासिक धरोहरलाई सिम्रौनगढले सुरक्षित राखेको छ।सिम्रौनगढको वास्तविक इतिहास १०९७ बाट सुरु भएको छ। १०९७ मा कर्नाटवंशी राजा चालुक्यका सेनापती नान्यदेव सिम्रौनगढ ९तिर्हुत० राज्यको राजा थिए। स्थापना उपनिदेशकाल र पौराणिक कालमा हिन्दु संस्कृतिक को केन्द्र थियो। सिम्रौनगढमा नान्यदेव , गङ्गसिह देव , नरसिंह देव , रामसिंहदेव , शक्तिसिंहदेव , भुपालसिंह देव र अन्तिम राजा हरिसिंह देवले शासन गरेका थिए। सिम्रौनगढ सात वटा सुरक्षा घेरा बाट घेरिएको थियो। सिम्रौनगढ सबै कलामा निपुण, नीति(निर्माण र नीतिशास्त्र मा बलशाली थियो । शास्त्र र शस्त्रमा यति गुणवान थियो कि सबै धर्मको केन्द्र बनेको थियो र शस्त्रकलामा कयौं राज्यलाई बिना युद्ध गरि घुडा टेकाएको थियो। तत्कालीन नेपाल आजको काठमाडौं लाई ३र३ चोटि सिम्रौनगढले हराएको इतिहास छ। काठमाडौं सिम्रौनगढलाई कर बुझाउन सिम्रौनगढ पुग्थ्यो। मूर्तिकला, हस्तकला, नृत्यकला, आदिको प्रमाण अहिले भेटिएको मुर्तिहरुको कलाकृतिबाट परिकल्पना गरि अनुमान लगाउन सकिन्छ। सिम्रौनगढ त्यो काल खण्डको राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्यापारको केन्द्र थियो ।

सिम्रौनगढ (तिर्हुत) का अन्तिम राजा हरिसिंह देवको पालामा १३२७ मा दिल्लीको बादसाह ग्यासुदिन तुगलकले सिम्रौनगढमा आक्रमण पछि सिम्रौनगढ अस्तायो। हरिसिंह देव श्रीमति देवल देवी र राजकुमार जगतसिंह लगायत राजपरिवारका सदस्य सहित भक्तपुर आए। राजकुमार जगतसिंह नेपाल भक्तपुर आउँदा तिरहुतको राजधानी सिम्रौनगढको कुलदेबि तलेजु भवानीलाई संगै लिएर आएका थिए। रानी देवल देवीले आफ्ना छोरा जगतसिंह देवको विवाह भक्तपुरका राजा रुद्र मल्लकी विधवा छोरीसँग गराइन्। देवल देवीले आफ्नी नातिनी ९जगतसिंह देवकी छोरी०को विवाह पनि तिरहूतका युवकसँग गराइन्, जो पछि भक्तपुरको शासन व्यवस्थापमा जयस्थिति मल्लका नामले शक्तिशाली र प्रसिद्व भएका थिए।
भाषा
सिम्रौनगढको भाषा सदियौं देखि ओझेलमा थियो भने अहिले भाषाको विषयमा ब्यापक बहस चल्दैछ। सिम्रौनगढको भाषा माथि कथित भाषा विदहरुले षड्यन्त्र गरेको आभास भएको छ। अहिले सिम्रौनगढको भाषा बचाउन र उजागर गर्न अभियाननै चलिरहेको छ। कथित भाषा विदहरुले सिम्रौनगढको भाषा भोजपुरी हो भन्दै भजाउदै आएको थियो। सिम्रौनगढको भाषा र भोजपुरी भाषा बिच बोल्ने शैली, लेख्ने शैली र शब्दमा धेरै फरक छ। सिम्रौनगढको भाषा भोजपुरी नरहेको उजागर भएको छ। दुई बर्ष अगाडी पोखरी खन्ने क्रममा एउटा शिलालेख भेटिएको थियो र सुरक्षित राखिएको छ। त्यो शिलालेखलाई बुझ्ने प्रयास गरियो। कालो पत्थर माथि तिरहुता लिपिमा सिम्रौनगढ बारे लेखिएको स्पष्ट देखिन्छ ।
त्यो कालखण्डमा हरेक राज्यको आ-आफ्नो मौलिक पहिचान, झण्डा, मुद्रा, बोल्ने र लेख्ने शैली आफ्नै थियो। कुनै पनि राज्य हुनलाई यो पहिलो आधारभूत कुरो हो । सिम्रौनगढको गर्भमा अहिले धेरै कुरा लुकेको छ, खोज र उत्खनन् को आवस्यकता हो। सिम्रौनगढको भाषा भोजपुरी हो भन्नेहरुलाई मेरो प्रश्न छ । सिम्रौनगढ तिरहुतको राजधानी थियो कि थिएन रु सिम्रौनगढको आफ्नो मौलिक रिति रिवाज छ कि छैन ? सिम्रौनगढको आफ्नो छुट्टै पहिचान र अस्तित्व छ कि छैन रु सिम्रौनगढमा पोखरी खन्दा निस्किने बस्तुहरु ऐतिहासिक एव पुरातात्विक बस्तु हुन् कि होइनन् ? यदि यो सबै प्रश्न को उतर मन्नमा हो भने भेटिएको शिलालेखमा लेखिएको लिपि स्बिकार गर्नुपर्छ र यो सत्यलाई अंगाल्नै पर्छ। भाषा भने सानो तिनो कुरा होइन। भनिन्छ कुनै पनि ठाँउको अस्तित्व सिध्याउनु छ भने पहिले प्रहार भाषा माथी हुन्छ। यो परिस्थितिबाट सिम्रौनगढ गुज्रिरहेको छ। हाम्रो निष्कर्ष छ सिम्रौनगढको लिपि तिरहुता र भाषा तिरहुतिया हो। इतिहास हेर्दा सिम्रौनगढको लिपि संस्कृत बाट आएको हो। सिम्रौनगढबासीले बोल्ने भाषा तिरहुतिया हो। हाम्रो भाषा भोजपुरी होइन तिरहुतिया हो भन्ने कुरा बिस्तारै आम जनसमुदायमा पस्किदै छौ ।

भोजपुरी भाषा र तिरहुतिया भाषा बिच फर्क हेरौं 

तिरहुतिया – अवइत बाड़ी, जाइतारी, माई भात निन्ह लेले, रे बौउवो तु खा लेले, अपने खा लेली, बजार गेल रलि ह, इत्यादि

भोजपुरी – आवतानी, जातानी , माई भात निन्हलि ह, बाबू तु खैली ह, रौवा खालेनी, बजार गइल रनि ह, इत्यादि

आफ्नो भाषा , अस्तित्व र आत्मसम्मान जोगाउन धेरै देशहरुले लडाइँ लड़ेका छन् र अस्तित्व जोगाउन हरेक प्रयास गर्न आवश्यक हुन जान्छ। आफ्नो भाषा र पहिचानका लागि बाङ्लादेश, युक्रेन, तामिलनाडु, श्रीलंका आदिले आफ्नो पहिचान र भाषाका लागि लड़े। अब पालो सिम्रौनगढ को हो र सिम्रौनगढले पनि आफ्नो अस्तित्वको लागि संघर्ष गर्छ।

नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

काठमाडौँ ।  नक्कली  नेपाली नोटसहित ४ जना पक्राउ परेका छन् । उनीहरूलाई बाराको सिम्रौनगढ नगरपालिका ९ कचोर्वा, सानो बसबरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका -६ का २५ वर्षीय राजन चौधरी, वडा-५ का १९ वर्षीय आकाश चौधरी,  रौतहटको राजपुर नगरपालिका-१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा-७ का ४० वर्षीय मोहमद आलम रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले  १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको  छ भने  ना ३४ प ३५१२ र बी.आर. ०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल, एकवटा साइकल समेत बरामद पनि गरेको छ ।

चारैजनाको साथबाट नगदसँगै प्रहरीले २ वटा मोटरसाइकल र एउटा साइकलसमेत बरामद गरेको छ । चारै जनालाई जिल्ला प्रहरीको कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

आरोही कल्याणकारी कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल आरोहीहरूको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित ७१औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आरोहीहरूको भविष्यको सुरक्षा र खासगरी शेर्पा जातिको जीविकासँग सम्बन्धित विषयमा आरोही कल्याणकारी कोष महत्त्वपूर्ण सावित हुने जिकिर गरे ।

आरोहीहरूको भविष्यको सुरक्षा र खासगरी शेर्पा जातीको जीविकासँग सम्बन्धित विषयमा आरोही कल्याणकारी कोष महत्त्वपूर्ण सावित हुने उनको जिकिर थियो। आरोहण क्षेत्रलाई अझ सहज बनाउन भ्याट छुटको व्यवस्थाका लागि पहल गर्ने र आरोहण क्षेत्रको व्यावसायिकता वृद्धिका निम्ति नेपाल सरकारको तर्फबाट गर्न सकिने कामको पहल हुने बताए।

जलवायु परिवर्तनका असरलाई न्यूनिकरण र हिमालमा फोहोरमैलाको व्यवस्थापन लगायतका चुनौतीलाई सामना गर्दे हिमालमा प्रदुषणरहित बनाइराख्न सहकार्य र समन्वयको आवश्यकता रहेको उल्लेख गरे। म तपाईँहरूलाई के विश्वास दिलाउँछु भने अर्थ मन्त्रालयसँग कुरा गरेर आरोही कल्याणकारी कोष बनाउने पहल हुनेछ। यस क्षेत्रलाई अझ सहज बनाउन भ्याट छुटको व्यवस्थाको बारेमा ध्यानाकर्षण भएको छ । त्यसमा पनि मैले पहल लिनेछु । यस क्षेत्रको व्यावसायिकता वृद्धिका निम्ति नेपाल सरकारको तर्फबाट गर्न सकिने कामको पहल गर्नेछु।’

प्रधानमन्त्री दाहालले पर्वतीय देशको नेताको रुपमा नेपाल स्थापित भइसकेको बताए। उनले हिमालका मुद्दामा विश्वको ध्यान नेपालतर्फ राम्रोसँग आकर्षित भएको उल्लेख गरे। जलवायु परिवर्तनको असरको चपेटामा सर्वोच्च शिखर सहितका अन्य हिमश्रृंखलाहरू परेको भन्दै हिमालको संरक्षणमा सबै जुट्न आवश्यक रहेको उनको भनाइ थियो। सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्मसम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको उनले जानकारी दिए।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १९ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

करचुक्ता प्रमाणपत्र अनलाइनबाट पाइने

काठमाडौं । करदाताले कर तिरेपछि पाउने प्रमाणपत्र लिन सरकारी कार्यालयमै पुग्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ। अर्थमन्त्री वर्षमान पुनले पेस गरेको आर्थिक विधयेक २०८१ मार्फत अनलाइनबाटै कर चुक्ता प्रमाणपत्र लिन पाइने व्यवस्था गरिएको हो।

यसका लागि भने कर बक्यौता नरहेको र विवरण पेस भएको हुनुपर्ने छ।

यस्ता अवस्थामा अनलाइबाट नै क्युआकर कोडसहितको कर चुक्ता प्रमाणपत्र दिने व्यवस्था आर्थिक विधयेकले गरेको हो।
विभिन्न नाममा समयमा कर चुक्ता प्रमाणपत्र दिन ढिलाइ गरिएको गुनासो करदाताहरूको रहँदै आएको थियो ।

दोहोरो अंकले घट्यो नेप्से, साढे ४ अर्बको शेयर किनबेच

काठमाडौं । बजेटपछिको पहिलो कारोबार दिन बुधबार नेप्से परिसूचक  २३ दशमलव ८१ अंकले घटेर दुई हजार ८९ दशमलव ४२ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा यो १.१२ प्रतिशतले घटेको हो । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेश गरेकै भोल्पिल्ट शेयर बजार दोहोरो अंकले घटेको छ ।

आज नेप्से परिसूचक २३.८१ अंक घटेर २०८९.४२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ।

आज नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। उक्त दिन झण्डै २३ हजार ८० वटा कारोबारमा १ करोड ७ लाख ३८ हजार १ सय ६९ कित्ता शेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गत सोमबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

मंगलबार सार्वजनिक भएको बजेटले पुँजी बजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरू निराश देखिएका हुन् । बजेटले केही ऊर्जा थप्ने र सुस्ताएको पुँजी बजारमा उत्साह छाउने आशामा बसेका लगानीकर्ता मंगलबार बजेट सार्वजनिक भएपछि निरास भएका हुन् ।

पुँजी बजारसँग सम्बन्धित निकायहरू धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको क्षमता वृद्धि र संरचनागत सुधार गर्ने मात्र गरेर उनले अमूर्त कुरा बजेटमा गरिएको छ ।  त्यसैगरी, सिडिएस क्लियरिंग र बस्तु विनिमय एक्सचेन्जको विषयमा समेत त्यसबारे थप काम गर्ने उल्लेख अर्थमन्त्री पुनले गरेका छन् ।

भोलिदेखि सुरु हुँदै श्रमाधान रोजगार मेला

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला बिहीबार कोशी प्रदेशको विराटनगरमा सुरु हुने भएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने योजनाका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रर्वद्धन गर्नु रहेको मन्त्रालयले जनाएको छ । मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रूपमा लिइएको छ ।

अर्थात्, रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुनेछ । समग्रमा, नेपाल सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रमाधान रोजगार मेला’को महत्वपूर्ण भूमिका रहने उनले बताए ।

मेला देशको सातैवटा प्रदेशमा आयोजना गरिनेछ । प्रत्येक प्रदेशमा दुई दुई दिन सञ्चालन हुनेछ । जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ ।