गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । यो उपधारामा प्रदेश सभामा कुनै पनि दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका हुन्। यसअघि उनले कांग्रेस, माओवादी र समाजवादीका ३५ सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

उनी गण्डकीको चौथो मुख्यमन्त्री भएका छन्। नवनियुक्त मुख्यमन्त्री पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ७, नेपाल समाजवादी पार्टीका १, राप्रपा २ र नेकपा एकीकृत समाजवादीका १ सांसद छन् ।

सडक पेटीमा गुड्ने सवारी साधनमा ट्राफिक प्रहरीको नजर कति ?

काठमाण्डौँ । सवारी दुर्घटना न्युनिकरण गर्न खासगरी ट्राफिक प्रहरीको सक्रियता निकै बढि हुने गर्दछ । काठमाण्डौँ उपत्यकाका सडक पेटीमा पनि फ्याट्टफुट्ट साईकल र मोटरसाईकलहरु कुदिरहेको दृश्य देखिन्छ । यसरी पैदल यात्रुहरुको लागि हिडडुल गर्न सहज होस् भन्ने हेतुले बनाईएको सडक पेटीमा सवारी साधन गुड्दा पैदल यात्रु निकै मारमा परेका छन् ।
मुख्य चोकहरुमा मात्र चेकिङ्गमा मात्र ट्राफिक प्रहरीको सक्रियता बढि भएको कारण सडक पेटी तथा भित्री गल्लीहरुमा गुड्ने सवारी साधनको चेकजाचमा कडाई नहुँदा सर्वसाधारण मारमा पर्ने गरेका हुन् ।
सडकपेटीमा पाकिङ्ग गरिएर राखिएका सवारी तथा पेटीमै गुड्ने साधनहरुलाई नियमन रुपमा ध्यानमा राखेको उपत्यका ट्राफिक प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले सम्पत्ति न्यूजलाई बताए । यसरी लापर्वाही पुर्वक रार्किङ्ग गरेको भेटीएमा र पेटीमा चलाएको भेटीएमा काठमाण्डौँ माहानगरसंग मिलेर सवारी साधन समाति रु १० हजार सम्मको जरीवाना तिराउने गरिएको उनले बताए ।

विभिन्न ठाउँमा ट्राफिक बत्तीहरु नचल्ने हुँदा थप कार्यभार बढेको मात्र नभई दिनभर सडकबीचमा नै उभिनुपर्दा हरेक दिन जोखिम बढ्दै गएको ट्राफिकहरूको छ ।
ट्राफिक प्रहरीका अनुसार ओभरलोड, ब्रेक फेल, मोबाइल फोन प्रयोग, यान्त्रिक गडबडी, झुण्डीएर यात्रा, मापसे, तिब्र गति जस्ता कारणले समेत सवारी दुर्घटना हुने गरेका छन् ।
जीर्ण सडक, कच्ची सडक, उकालो ओरालो, साघुँरो सडक, हुस्सु कुहिरो, बाढीपहिरो र चौपायको कारण समेत दुर्घटना हुने गरेको भनाइ प्रहरीको छ ।
देशभर नै सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो धनजनको क्षति हुने गरेको छ । तीव्र गति, ओभरटेक लगायतका कारण हुने दुर्घटनाबाट धनजनको क्षति न्यूनीकरण गर्न, सुरक्षित र सहजीकरण गर्न नेपाल प्रहरी खटिने गरेको छ भने सडकको मर्मत सम्भारमा नेपाल आर्मी तथा सम्पुर्ण सुरक्षाकर्मी टोली समेत खटिने गरेको छ ।
यस्तै, गृहमन्त्री रवि लामिछानेले महिनावारीका चार दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने बताएका छन् । गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास, अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा ड्युटी गर्नु पर्दैन ।’
गृहमन्त्री लामिछानेका अनुसार मापसे लगायत ट्राफिक नियम उल्लंघन कारबाहीमा परेकाहरूले स्वयंसेवकका रूपमा महिला ट्राफिक प्रहरीको सट्टामा काम गर्नेछन् ।
अहिले उपत्यका भित्र १८ सय २५ जना ट्राफिक प्रहरी खटिएका छन् ।

अत्यधिक गर्मीको कारण रौतहटको जनजीवन प्रभावित

रौतहट । अत्यधिक गर्मीको कारण रौतहटको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन थालेका छन् ।

रौतहटमा तापमान ४४ डिग्री सेल्सियससम्म पुगेपछि शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जिल्लाका १८ वटै स्थानीय सरकारलाई गर्मी बिदा दिन आग्रह गरेको थियो ।

उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि गौर नगरपालिका तथा कटहरीया नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएका छन् ।

गर्मीका कारण पठन पाठनमा समस्या देखिएकाले तत्कालका लागि बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको गौर नगरपालिकाका मेयर शम्भू साहले बताए । उनले भने, ‘गर्मी तथा लू का कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले विद्यालयमा बिदा दिइएको हो ।’

गृहमन्त्री रविलाई पदबाट निलम्बन माग गरिएको रिटको सुनुवाइ स्थगित

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ । निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो।

रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको थियो । अधिवक्ता भट्टराईले दर्ता गराएको रिटको पेशी पोखरेलको इजलासमा १० ‍औँ नम्बरमा थियो ।

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए । रिटमा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको छ।

रिटमा महान्यायाधिवक्ता कार्यालय कसैलाई लागेको कुनै आरोपबारे क्लिनचिट दिने निकाय नभई अनुसन्धान गर्ने कार्यालय भएकाले गृहमन्त्रीको हकमा लेखिएको चिठी गैरकानुनी भएको जिकिर गरिएको छ।

लामिछानेले अनुसन्धान गर्ने निकाय गृह मन्त्रालयकै नेतृत्वमा भएकाले उनलाई पदबाट निलम्बन गरी सहकारी ठगीको छानबिन हुनुपर्ने माग रिटमा गरिएको छ। उक्त रिट यसअघि अदालत प्रशासनले दरपिठ गरिदिएको थियो । सुरुमा दरपिठ भएको रिट पनि इजलासको आदेशले दर्ता भएको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन् -प्रश्नको उत्तर दिने गरी काम गर्छु

काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी २०८१ साल वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई जना सदस्य र एक जना स्वतन्त्रको समर्थनमा उहाँ मुख्यमन्त्री बनेका छन् । उनले प्रदेश सभाबाट मुख्यमन्त्रीमा विश्वास मतसमेत पाईसकेका छन् । सरकार गठबन्धनका ठुला दल एमाले र माओवादी केन्द्रले मन्त्री पठाएका छैनन् । नागरिक उन्मुक्तिले दुई जनालाई सरकारमा पठाएको छ । विकास पूर्वाधार, आर्थिक र सामाजिक क्षेत्रमा पछि परेको सुदूरपश्चिम प्रदेशका जनताको सपना साकार पार्न उहाँ दत्तचित्त भएर लागिरेको छ । त्यसका लागि आवश्यक स्रोतसाधन जुटाउन र उत्कृष्ट काम गर्न सरकारलाई चुनौती छ । यिनै चुनौती पूरा गर्न मुख्यमन्त्री सोडारीका भावी योजना र लक्ष्यका विषयमा गरिएको संवादः

तपाईंको नेतृत्वमा अब सुदूरपश्चिम प्रदेश कस्तो बन्छ ?

सुदूरपश्चिम प्राकृतिक रूपले अनुपम छ । हिमाल पहाड–तराई मिलेको छ । यो आफैँमा प्रकृतिले बनाइदिएको ठाउँ हो । यही सम्पदाको संयोजन नटुटोस् भनेर सुदूरपश्चिम एउटै रहोस् भनेर लडाइँ पनि भयो । थारू साथीहरूको असन्तुष्टि पनि थियो तर त्यसलाई सम्बोधन गरेर सुदूरपश्चिम प्रदेश बनेको छ । यहाँका जनताको सेवाका लागि सरकारले विकासका काममा लाग्नुपर्ने बेला भएको छ । पहिले पाँच वर्ष र पछिल्लो डेढ वर्ष प्रदेश सरकारले के कति काम ग¥यो, त्योभन्दा पनि अब राम्रो गर्नु पर्छ भन्नेमा केन्द्रित हुनु पर्छ । सङ्घीयतासम्बन्धी लामो अनुभव नभए पनि यति छोटो समयमा राम्रै काम भइरहँदा पनि सङ्घीयता र प्रदेश सरकारमाथि प्रश्नहरू उठ्ने गरेका छन् । हामीले यी प्रश्नको उत्तर दिने गरी काम गर्नुपर्ने छ ।

सङ्घीयतामा प्रदेशले आफ्ना लागि आफैँले योजना बनाउँछ, आफ्नो प्राथमिकता आफैँ निर्धारण गर्छ, स्रोत जुटाउँछ भन्ने कुरा छ । सुदूरपश्चिम प्रदेश सरकार के यसरी नै काम गरिरहेको छ त ?

सङ्घीयता आउनुभन्दाअघि सुदूरपश्चिम प्रदेशमा एक हजार किलोमिटर मात्रै कालोपत्रे सडक थियो । सङ्घीयतापछि पहिलो पाँच वर्षमा एक हजार किलोमिटर कालोपत्रे सडक थपिएको छ केही सडक बनिरहेका छन् । दार्चुलाको खार–खलङ्गा सडक, बैतडीमा सत्बाँझ–श्रीभार सडक, मार्तडी–कोल्टी सडक, बझाङमा साइपाल जाने बाटो, खप्तड क्षेत्रको पर्यटकीय सपना पूरा गर्न सिलगढी–खप्तड सडक बनेको छ । धनगढीको कैलाली पुलदेखि क्याम्पस रोडसम्म सडक बनिरहेको छ । कैलालीको ४० प्रतिशत भूभाग पहाडमा पर्छ । खिमडी सडक, गर्भा दरबार जाने बाटो, साबिक महोन्यालको कटौजे जाने बाटो प्रदेश सरकारले जोडेको हो । यी सडकलाई बाह्रै महिना चल्ने अवस्था बनाउन केही समय लाग्ला । स्वास्थ्य क्षेत्रमा सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र अन्य अस्पतालमा लगानी गरेर क्षमता बढाएका छौँ ।

पूर्वाधार निर्माणमा लगानी गरिरहेको अवस्था छ, सन्तुलित विकासका लागि आर्थिक तथा सामाजिक क्षेत्रमा पनि लगानी गर्नुपर्ने हुन्छ होला नि ?

भौतिक पूर्वाधार सँगसँगै आर्थिक, सामाजिक क्षेत्रको विकास हुनु पर्छ भन्नेमा हामी सचेत छौँ । अबको मिसन प्रदेश राजधानी बनाउने पनि हो जहाँ राख्ने निर्णय भएको छ त्यहाँ राजधानी बनाउने पहल हुने छ । प्रदेशमा मानवीय विकासका लागि पनि काम गर्ने हो । मानिसले खान पाउनु पर्छ, बाँच्न पाउनु पर्छ, चेतनामाथि उठ्नु पर्छ भन्ने आवाज उठाउँदै आएका हौँ । यसमा प्रदेश सरकारबाट लगानी भइरहेको छ तर देखिने गरेर काम भएको छैन यो सत्य कुरा हो । हिजो जस्तो छाउपडी, छुवाछुत प्रथा अहिले छैन । यो समस्या विस्तारै घट्दै छ तर निर्मूल पार्न र मानव चेतना फेर्न धेरै काम गर्न बाँकी छ ।

नेपालमै २०१५ सालमा चुनाव जितेर यही क्षेत्रबाट द्वारिकादेवी ठकुरानी पहिलो महिला मन्त्री बन्नुभएको हो । विद्वताका हिसाबले मानवतावादी नेता जयपृथ्वीबहादुर, नाटककार पहलमानसिंह स्वाँर, वीरताका हिसाबले दशरथ चन्द, भीमदत्त पन्त यही क्षेत्रमा जन्मेका व्यक्ति हुन् । बाँकावीर जस्ता सहिद पनि यही क्षेत्रका हुन् जसको अध्ययन भइरहेको छ । डोटेली भाषा संस्कृति पनि सुदूरपश्चिमबाट विस्तार भएको हो । पृथ्वीनारायण शाहका उपदेश र सरकारले त्यतिबेला प्रयोग गर्ने भाषामा खस र डोटेली भाषाका शब्दहरू प्रयोग भएका छन् । त्यसैले सुदूरपश्चिम प्रदेश राजनीति, सौम्य, वीरता, भाषा साहित्यको सङ्गम हो । यसले नेपाल राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको छ । पूर्वाधार विकास र केही विभेद हटाउन सकेमा सुदूरपश्चिमको मुहार फेरिन्छ भन्ने मलाई लागेको छ ।

नयाँ सरकारसँग जनताका अपेक्षा धेरै छन्, जनताका अपेक्षा र आशा पूरा गर्न के कस्ता काम गर्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेश सभाले २०७५ असोज १२ गते दुई तिहाइ बहुमतले राजधानी गोदावरी राख्ने भनी गरेको निर्णय अनुसार सो ठाउँमा राजधानी बनाउने प्रयत्न गर्ने छौँ । पहिलो पटक सामाजिक विकासमन्त्री हुँदा पनि शिक्षा, स्वास्थ्य क्षेत्रमा प्रदेशवासीको माग अनुसार काम गरेको हुँ । भौतिक पूर्वाधारमन्त्री हुँदा पनि जनतालाई अनुभूति हुने र देखिने आयोजना बनाउने कोसिस गरेको हुँ । बिचमा साथीहरू आउनु भो, कति गर्नुभयो म अहिले हेर्दै छु । साधनस्रोतको सीमितताले पनि धेरै अपेक्षा त पूरा नहोलान् तर पनि सबै क्षेत्रलाई समेटेर सन्तुलित विकासको काम गर्छु यो मेरो प्रतिबद्धता हो ।

गरिबी र पछौटे अवस्थामा रहेको सुदूरपश्चिमा यत्तिको काम गर्दा ठुलो परिवर्तन आउला र ?

सुदूरपश्चिम प्रदेश मानव विकास सूचकाङ्कमा पछि परेको विवरण आइरहेका छन् । त्यसका निम्ति प्रदेश सरकार पनि जिम्मेवार होला, मुख्य रूपमा जिम्मेवार सङ्घीय सरकार हो । वर्षौंदेखि केन्द्रीकृत र एकात्मक शासन प्रणाली भएकाले मानव विकासको सूचक राम्रो छैन । अब प्रदेश सरकार र सङ्घ सरकारको सहकार्यमा काम गर्नु पर्छ । यहाँ लगानी नै छैन । रानी जमरा कुलरिया सिँचाइ आयोजना र गेटामा मेडिकल विश्वविद्यालयको भवन बनाउने काम भएको छ । यीबाहेक सुदूरपश्चिममा समृद्धि ल्याउने प्रभाव पार्ने ठुला आयोजना बनेकै छैनन् । अरू क्षेत्रमा बर्सेनि अर्बौंका आयोजना बन्ने गरेका छन् । हामीकहाँ त्यसरी लगानी भएको छैन । हामीले वर्षौंदेखि भन्दै आएका महाकाली लोकमार्ग, सेती लोकमार्ग, खुटिया–दिपायल फास्ट ट्र्याकमा पर्याप्त बजेट छैन । सङ्घ सरकारले छुट्याएको बजेट सफा गर्न पनि पुग्दैन । क्षेत्रीय विकासका लागि जनप्रतिनिधिहरू एकताबद्ध भएर लाग्नुपर्ने भएको छ । विकास नहुनु र गरिबी नघट्नुको पछाडि केन्द्रले लगानीमा गरेको विभेद एकात्मक शासन प्रणाली नै हो ।

प्रदेशको विकासका लागि कृषि, वन, पर्यटन, जलस्रोत मुख्य आधार हुन् भनिन्छ, यसलाई कार्यान्वयनमा लैजाने तदारूपता देखाउन नसकिएको हो ?

भाषणमा कृषि, वन, पर्यटन, जलस्रोत भन्छौँ । नीति कार्यक्रम पनि आउँछन् तर अन्ततः बाटोघाटो, पुलपुलेसामा लबिङ र सहमति हुन्छ । बजेट हेर्दा त्यही हुन्छ, हरेक वर्ष परिवर्तन गर्न खोज्छौँ अन्ततः त्यही हुन्छ । यो विडम्बनाको विषय हो । नीति कार्यक्रममा सबै क्षेत्रका कुरा आउँछन् छलफल त्यसैमा हुन्छ तर बजेट पूर्वाधार विकासमै जान्छ । यहाँको अवस्था पनि के हो भने पर्यटकीय क्षेत्र, कृषि क्षेत्र, जलस्रोतको सम्भावना भएको क्षेत्र र बस्तीहरू सडक सञ्जालसँग जोडिएकै छैन । उत्तर–दक्षिण राजमार्ग, खप्तड, बडीमालिकालगायत पर्यटकीय, धार्मिक क्षेत्रको विकासका लागि यातायातको पहुँच पहिलो आधार हो जो तयार भइरहेको छ ।

एउटा वडामा अर्ब रुपियाँ बजेट बाँडिएको कुरा आउँछ, अनि योजना खरिदबिक्री हुने कुरा सुनिन्छ के हो ?

अलि अलि पहुँच भएकाले केही योजना माग्नु, पार्नु स्वाभाविक मानिन्छ तर जिम्मेवार व्यक्तिले जे गरे नि त्यो विडम्बना हो । हामी सरकारमा हुँदा पहिले पनि त्यस्तो गरेनौँ अहिले पनि गर्दैनौँ । अरूले के गरे जगजाहेर छ, अरूले के गरे उनीहरूको कुरा हो । योजना खरिदबिक्रीबारे म केही भन्दिनँ अहिले त्यसो हुँदैन ।

यसअघिको योजना छान्दा प्रदेश सरकार स्थानीय तहसम्म पुगेको थियो, यस पटक के कसरी योजना छनोट गरिँदै छ ?

केही केही मानिसले के–के न गर्‍यौँ भनेर प्रचारबाजी गरे वाही वाही पाए तर त्यो तरिका बेठिक थिएन । सङ्घ सरकार योजना छान्न जिल्लामा आएको छ त रु कहिल्यै आयो रु बेठिक तरिका पनि प्रचारमा त ल्याए त्यो अनुसार काम गरेनन् । नीति, बजेट, योजनामा काम गर्नेले आफू अनुसार गरे । नाटक एउटा गर्ने व्यवहार अर्को गर्ने रु यस पटक हामीले नाटक गर्दैनौँ । प्रदेश सभा सदस्यले योजना सिफारिस गर्नुहुन्छ, हाम्रा लाइन एजेन्सी छन्, विषयगत कार्यालय छन् त्यहाँबाट योजना आउँछन् तिनलाई बजेट प्रणालीमा हालेर तल पठाउँदै छौँ र कार्यान्वयन हुन्छ ।

संविधानले तीन तहको सरकाबिचको सम्बन्ध पनि परिभाषित गरिदिएको छ बेला बेला एउटा सरकार अर्को सरकारप्रति आक्रामक पनि देखिन्छ किन ?

संविधानको मूल मर्म सहमति, समन्वय, सहकार्य, सहअस्तित्व नै हो । यसैका आधारमा अघि बढ्नु पर्छ । कहिलेकाहीँ प्रतिस्पर्धा, कहिलेकाहीँ एकअर्काप्रति घृणा पनि प्रकट गरेको देखिन्छ । प्रतिस्पर्धासम्म हुनु ठिकै हो तर घृणा र प्रतिशोध देखिनु बेठिक कुरा हो । संविधानको मूल मर्म सहमति, समन्वय, सहकार्य, सहअस्तित्व नै भएकाले यसैका आधारमा अघि बढ्नु पर्छ ।

सरकार विस्तारमा ढिलाइ भइरहेको छ, मन्त्रालय भागबन्डा नपुगेर हो ?

केन्द्रमा गठबन्धन सरकार छ । केन्द्रको निर्देशन अनुसार प्रदेशमा पनि गठबन्धन बनेको छ । मन्त्रालय बाँडफाँटका सवालमा हामी पनि एक ठाउँमा पुग्न खोज्दै छौँ । केन्द्रबाट पनि मन्त्रालय यसरी बाँडफाँट गरौँ भन्ने प्रस्ट निर्देशन आएको छैन । अहिले मन्त्रालय फुटाउने कुरा छैन तर अन्ततः गठबन्धनले जे भन्छ त्यही हुन्छ । गोरखापत्रबाट साभार

तराईमा तीन दिन उच्च तापक्रम, सावधानी अपनाउन सुझाव

काठमाडौं । आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा केही दिनयता गर्मी बढेको छ । यी प्रदेशका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र सो भन्दा बढी मापन गरिएको छ । अझै केही दिन तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी केही दिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागको भनाइ छ । त्यसैले यसबाट जोगिन आवश्यक तयारी गर्न विभागले आग्रह गरेको छ । तराईका भू–भागहरूमा आगामी ३ दिन जेठ १८ गतेसम्म तातो हावाको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सचेत हुन भनेको छ ।

आज बिहान कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । विभागका अनुसार कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

विभागले राति कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थानमा साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । नेपालमा हाल स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ । बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।

यस्तो छ तपाईंको १६ जेष्ठ २०८१, बुधबार आजको राशिफल

मेष : समय राम्रो छ। साथीसँगको भेटले मन खुशी हुनेछ।परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

वृष : शिक्षा क्षेत्रको लगानीबाट खुशी मिल्नेछ। परिवारको रचनात्मक साथ प्राप्त हुनेछ। आफन्तले सहयोग गर्नेछन्। स्वदेशमा अवसरको सिर्जना हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ।

मिथुन : आफन्तको विश्वास गर्नाले घाटा हुनेछ। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : स्वास्थ्यमा समस्या हुने देखिन्छ। साथीले दुःख दिनेछन्। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा झगडा हुने जोखिम छ। काम गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ।

सिंह : समय रमाइलो छ। शिक्षाको लगानीले उत्साह बढ्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुन्छ। समाजसेवाको अवसर मिल्नेछ।

कन्या : दिन राम्रो छ। आफ्नो मेहनतको फल प्राप्त हुनेछ। कार्यक्षेत्रमा प्रशंसा हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने दिन छ।

तुला : अरुलाई सहयोग गर्दा छायामा परेको महसुस हुनेछ। जमिनको कारोबारबाट उत्साह बढ्नेछ। प्रतिस्पर्धी शान्त भएकाले अगाडि बढ्ने अवसर छ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : गुरुले सहयोग नगर्ने दिन छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार देखिने छ। परिवारबाट रचनात्मक सहयोग प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

धनु : समय राम्रो छ। धेरै अवसर एकसाथ प्राप्त हुने देखिन्छ। शेयरमा लगानी गरेको भए उत्साह बढ्नेछ। व्यापारमा फाइदा हुने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट सफलता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : तपाईंको कामको जस अरुले लिने खतरा छ। जन्मकुण्डली अनुसार शनिशान्ति गर्नु राम्रो हुनेछ। आफ्नै राशिमा चन्द्रमा रहेकाले ठुलो सफलता प्राप्त हुने देखिन्छ। परिवारसँगै बसेर मिठोमिठो भोजन गर्ने अवसर प्राप्त हुनेछ।

कुम्भ : शनिदेवको छाया योगले गर्दा खर्च बढ्ने देखिन्छ। झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। स्वदेशी भन्दा विदेशमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। ठुला उद्योगको हात नलगाउनु राम्रो हुनेछ। परिवारको तर्फबाट भने सहयोग प्राप्त हुनेछ।

मीन : तपाईंको सानो गल्तीले अरुको मन दुख्नसक्छ। बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। झुक्याउने मान्छे सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुने योग छ।

खेलकुद मन्त्रालयका लागि रु. ३अर्ब ५० करोड विनियोजन

काठमाडौँ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि रु. तीन अर्ब ५० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले उक्त रकम विनियोजन गरेको बताएका छन् ।

उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटक वृद्धि भएको हो । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई अघिल्लो वर्ष रु. दुई अर्ब ८७ करोड ५९ लाख बजेट छुट्याइएको थियो ।

आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा भित्र्याउनका लागि राष्ट्रिय टिमको तयारीका साथै खेलाडीलाई प्रोत्साहन गरिने सरकारको योजना रहेको छ ।

यस्तै, चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण अघि बढाइनाका साथै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने सरकारको योजना छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिने सरकारको योजना रहेको छ ।

१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक

काठमाडौं । १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सरकारले सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१-८२ का लागि उक्त आकारको बजेट ल्याएका छन्। यो चालु आर्थिक बर्षको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो ।

सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो । पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएको छ । यो कुल बजेटको १८.९४ प्रतिशत हो । वित्तीय व्यवस्था तर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.७४ प्रतिशत हो ।

खर्च बेहोर्ने स्रोततर्फ राजस्वबाट सरकारले १२ खर्ब ६० अर्ब ३० करोड संकलन गर्ने लक्ष्य राखेको छ । यस वर्ष राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलनको लक्ष्य राखेको छ ।

आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब संकलन गर्ने लक्ष्य रहेको छ । वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड जुटाउने अर्थ मन्त्री वर्षमान पुनले जानकारी दिए ।

यस वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ । अघिल्लो वर्ष ४ खर्ब ८ अर्ब रुपैयाँ हस्तान्तरण भएको थियो ।

बजेट भाषणः खानेपानी क्षेत्रमा २ अर्ब घट्यो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेटबाट खानेपानी तथा सरफाई क्षेत्रमा विनियोजन रकम घटाएको छ ।

आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवको लागि २६ अर्ब ६३ करोड बजेट घोषणा गरेका हुन् । चालु आर्थिक वर्षमा खानेपानी र सरसफाइ क्षेत्रलाई २८ अर्ब १६ करोड रहेको थियो ।

पुनले ४ लाख ४५ हजार जनता थप खानेपानीबाट लाभान्वित हुने उनले घोषणा गरेका छन् ।

भूमि प्रशासन अभिलेख डिजिटलाइज गरी जग्गाधनीको पहुँच पुर्‍याउने घोषणा

काठमाडौं । भूमि प्रशासन अभिलेख डिजिटलाइज गरी जग्गाधनीको पहुँच पुर्‍याउने घोषणा सरकारले गरेको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१-८१ को बजेट प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाबाट पेस हुने रोक्का तथा फुकुवा अनलाइन सञ्चालन गर्ने बताए ।

भूमिहीन, दलित, सुकमबासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थान गर्न ५ लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र उपलध गराउने उनले घोषणा गरे ।

नाबालिकालाई यौन क्रियाकलापमा लगाउने २ जना महिला पक्राउ

काठमाडौँ । नाबालिकालाई यौन क्रियाकलापमा लगाउने २ जना महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा दोलखाको जिरी नगरपालिका-९ बस्‍ने २५ वर्षीया मञ्जु भनिने श्रृजना तामाङ घिसिङ र नुवाकोटको बलकोटगढी नगरपालिका–४ बस्‍ने २६ वर्षीया निशा भनिने रमिला नेपाली छन् ।

उनीहरुलाई मानव बेचबखिचन अनुसन्धान ब्यूरोको टोलीले मित्रपार्कबाट पक्राउ परेको हो । उनीहरुले काठमाडौंको मित्रपार्कमा ‘स्वागतम रेष्टुरेन्ट एण्ड बार’ सञ्चालन गरी नाबालिकालाई उनीहरुको इच्छा विपरीत यौन क्रियाकलापमा लगाउने गरको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

उनीहरुले आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई वेटरको काम भन्दै जबरजस्ती यौन क्रियाकलापमा लगाउने गरेको आरोप छ । दैनिक ५ देखि १५ जना ग्राहकसँग यौन सम्पर्क गर्न लगाई रेष्टुरेन्ट सञ्चालकले रकम उठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ग्राहकले दिएकोमध्ये आधा रकम नाबालिकालाई दिने प्रलोभन देखाए पनि उक्त रकम समेत उनीहरुले नदिने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध मानव बेचखिन तथा आसोरपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

नागरिक उड्डयनतर्फ ३ अर्ब ७७ करोड विनियोजन

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न आगमी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम सम्पन्न गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य सुरु गरिने मन्त्री पुनले बजेटमार्फत घोषणा गरे । भरतपुर विमानस्थल आगामी आवभित्र सम्पन्न गर्ने बजेटमा घोषणा भएको छ ।
यसका लागि ३६ करोड विनियोजन गरेको उनले बताए । सुर्खेत, रोल्पा बढीचौर, दाङ टरीगाउँ, जुम्ला, धनगढी र नेपालगञ्ज विमानस्थल स्तरोन्नति गरिने घोषणा पनि गरेका छन् । नागरिक उड्डयनतर्फ ३ अर्ब ७७ करोड विनियोजन भएको छ ।

विदेशबाट फर्किएका गरिकलाई रोजगारी दिईने

काठमाडौं । विदेशबाट फर्किएका नागरिकलाई सरकारले स्वरोजगार बनाउन ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमार्फत एक लाख नागरिकलाई स्वरोजगार बनाइने घोषणा गरेका हुन् । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका नागरिक र बैंक खातामा रेमिट्यान्स पठाएको सुनिश्चितताको आधारमा विना धितो ऋण उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ ।

बजेट भाषणः सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नको व्यवस्था

काठमाडौं । सरकारले आगामी सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नको व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सूचना प्रविधिमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई सूचना प्रविधि उद्योगमा इन्टर्नको व्यवस्था मिलाइने घोषणा गरेका हुन् ।

सरकारले स्वदेशमा उत्पादित सफ्टवेयरलाई प्राथमिकता दिई सार्वजनिक निकायले उपयोग गर्ने गरी व्यवस्था गरिने र सरकारी डाटा सेन्टरको स्तरोन्ति गर्ने भएको छ ।

निजी क्षेत्रबाट सञ्चालित डाटा सेन्टरको लागि भने मापदण्ड तयार गर्ने भएको छ । विद्युत्तीय डाटा भण्डारण र उपयोगलाई व्यवस्थित गरिने अर्थमन्त्री पुनले बताए ।