देशभर पश्चिमी वायुको प्रभाव,केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । अहिले देशभर पश्चिमी वायुको प्रभावका साथै  स्थानीय वायुको पनि आंशिक प्रभावका कारण देशको पहाडी भू भागमा आंशिक बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश,बागमती प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको भईरहेको छ ।

मंगलबार दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका  पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका  पहाडी भू-भागमा एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।


यस्तै, मंगलबार राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रवि लामिछानेसँग बयान लिन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिन थालेका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले लामिछानेसँग बयान लिन थालेका हुन् । लामिछानेलाई प्रहरीले गएको शुक्रवार पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ गरेर पोखरा लगेको हो ।

कास्की जिल्ला अदालतले लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । लामिछाने बिरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर लामिछाने सहकारीको रकम अपचलन गरेको आरोप छ । रकम अपचलनमा संलग्न भएको आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ गते नै पक्राउ परेका थिए । जोशीलाई भने आज जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही लगेको छ ।

सूर्यदर्शन सहकारीसँगै बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमासमेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई बिहान रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रुपन्देहीमा बयान पूरा भएपछि पर्सि बुधवार पोखरा फर्काइने प्रहरीले जनाएको छ । यसैबीच रास्वपाका नेता कार्यकर्ताहरुले सभापती लामिछाने पक्राउ परेको विरोधमा आज पनि पोखरा लगायतका ठाउँमा प्रदर्शन गरेका छन् ।

६ कार्तिक २०८१, मंगलवार, यस्ताे छ तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज समय शुभ छ । पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज समय शुभ छ । व्यापार व्यवसाय राम्रो हुनेछ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि आज समय खराब रहनेछ । तपाईंको राशिमा चन्द्रमाले साँझपखबाट प्रवेश गर्ने भएकाले उत्साह र उमङ्ग बढ्नेछ । तर आज दिउसोको समयमा भने धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । व्यापार व्यवसायबाट फाइदा मिल्ने छैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय शुभ छ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय शुभ छ । दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । व्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक÷सामाजिक क्षेत्रमा समय दिन सकिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज समय शुभ छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवद्र्धक समय छ, आम्दानी बढ्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि समय शुभ छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज समय शुभ छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन। छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन । माया÷प्रेमको वातावरण बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय खराब रहनेछ । घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ । मेरोज्योतिष

रास्वपाले राजनीतिक संस्कार देखाएन: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका नेता कार्यकर्ताले राजनीतिक व्यवहार र संस्कार नदेखाएको टिप्पणी गरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आइतवारको केन्द्रीय सचिवालय बैठकमा उनले रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा  नेता कार्यकर्ताले सरकार र आफूविरुद्ध तमासा देखाएको र त्यस्तो तमासा राजनीतिक संस्कार नभएको टिप्पणी गरेका हुन्।

‘संसद्को संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सरकारले कार्यान्वयन प्रक्रिया अघि बढाएको हो । उहाँ दोषी भए/नभए अदालतले फैसला गर्छ’, ओलीको भनाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘यसरी हुल हुज्जत र गाली गरेर राजनीतिक संस्कार कायम हुँदैन ।’ 

योजना बनाएर नै एमालेविरुद्ध चौतर्फी आक्रमण गर्न रास्वपाका नेता कार्यकर्ता सडकमा उतारिएकाले यसबारे सावधान हुनुपर्ने प्रधानमन्त्री ओलीले बैठकमा बताए। 

५ कार्तिक २०८१, सोमबार, यस्तो छ तपाईंको राशिफल

मेष : मेष राशि भएका जातकका लागि मनमा प्रसन्नता छाउने छ। सजग रहनुस्, धन नोक्सानी, मानसिक चञ्चलता, आँखामा समस्याले पिरोल्न सक्छ ।

वृष : समय शुभ छ । आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउनेछ ।  उत्तम भोजन, उपहार पाइने सम्भावना, भाग्य चम्किने देखिन्छ ।

मिथुन : आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउनेछ ।  समय त्यति अनुकूल देखिँदैन । राम्रै बोले पनि उल्टो अर्थ लाग्ने, स्वास्थ्यमा समस्या होला ।

कर्कट : तपाईको लागि आजको दिन अनुकल देखिन्छ । धन वा सेवा–सहयोग प्राप्ति, सुख–सन्तोष, मन प्रफुल्लित होला ।

सिंह : आजको दिन तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । दिन शुभ छ । सुख–सन्तोष, हर्षविभोरका साथै गरेको काममा सफलता होला ।

कन्या : सजग रहनुहोला ।दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । राजनीतिज्ञबाट तनाव, इज्जतमा धक्का लाग्न सक्ने देखिन्छ ।

तुला : सजग रहनुस् । रोगव्याधिले शिथिलता, आकस्मिक खर्च, कार्य असफल हुन सक्छ । आजको दिन समय त्यति अनुकुल देखिदैन ।

वृश्चिक : दिन अनुकूल छ । आर्थिक लाभ, समस्याको समाधान, अधुरा कार्य पूरा होला । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु : शुभ दिनको आगमनले पैसा लाभ, खेलकुद, पठनपाठन, परीक्षामा सफलता हुनेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला । 

मकर :मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ ।  समय शुभ छैन । अपचजस्तो समस्याले सताउला, आलस्यता, कार्य बाधा हुन सक्छ ।

कुम्भ : स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । परिवारमा विवाद, झाडापखालाको सम्भावना, दौडधूप नहोला भन्न सकिन्न ।

मीन : समय बलवान् भएकाले पैसा प्राप्ति, सम्मान, ठूलै उपलब्धिको सम्भावना छ । शिवालय र देवालय यात्राले मनमा हर्ष छाउने छ । अध्ययन अध्यापनमा मन जानेछ ।

अमेरिकाविरुद्ध आशिफ शेखको अर्धशतक

काठमाडौं । संयुक्त राज्य अमेरिका (यूएसए) विरुद्ध नेपालका आशिफ शेखले अर्धशतक पुरा गरेका छन् । अमेरिकामा चलिरहेको टी–२० खेलमा शेखले ३८ बलमा ५० रन बनाएर अर्धशतक पुरा गरेका हुन् । 

उनले ५ चाैका र दुई छक्का प्रहार गरे । शेख अघिल्लाे बलमा जसदिप सिहको सिकार बने । पहिलो विकेटको रुपमा नेपालका अनिल शाह १३ रन बनाएर आउट भए ।

अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा १२ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ९३ रन बनाएर खेलिरहेको छ। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने

काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका बेला निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहितको छलफलमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको छ । 

विपद्प्रभावित काभ्रेको रोसी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुसँग सेवाको कदरस्वरुप यातायात निःशुल्क बनाउने कार्यमा लागिरहेको भन्दै केही समयमा नतिजा आउने घोषणा गरेका थिए । केही समयअघि मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै उनीहरुलाई कामका शिलशिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेका थिए ।

त्यसअनुसार यातायात व्यवसायी राष्ट्रिय महासंघ सहमत भए पछि शुक्रबार मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो । कार्तिक १५ गतेबाट यस्तो व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाए । ‘महिला स्वास्थ्य स्वयंसेविकाहरुले देशको स्वास्थ्य क्षेत्रमा पुर्याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्वपूर्ण छ,’ मन्त्री पौडेलले भने, ‘आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्र्तगतको यो सहयोगका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघप्रति आभार व्यक्त गर्दछु ।’

मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेविकाहरुलाई थप सहयोग गर्नका लागि के गर्न सकिन्छ भनेर आफूहरु चिन्तित रहेको बताए । महासंघका अध्यक्ष स्वाँरले आफूहरुलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेको भन्दै व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत सुविधा उपलब्ध गराउने घोषणा गरे ।

यस सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख डाक्टर भीम सापकोटाले जानकारी दिए । मन्त्रालयसँग महासंघले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्वअन्र्तगत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ । यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने महासंघले उल्लेख गरेको छ ।

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानले अमेरिकाको भिसा पाएको जनाएका हो । 

क्यानका अनुसार शुक्रबार आइसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका, नेपाल र स्कटल्यान्डबीच हुने त्रिकोणात्मक शृंखला खेल्न जान उनले भिसा प्राप्त गरेका हुन्। उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने भएका छन् । 

यसअघि अमेरिकाले उनलाई पटक पटक भिसा दिन अस्विकार गरेको थियो । 

स्वास्थ्यमन्त्री र गोविन्द केसीबीच छलफल, केसीले उठाएका स्वास्थ्य सुधारका विषय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र चिकित्सक गोविन्द केसीबीच मन्त्रालयमा भएको छलफल भएकाे छ । स्वास्थ्यमन्त्री पौडेलले चिकित्सक केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन् । विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न केसी मन्त्रालय पुगेका थिए । 

मन्त्रालयको जिम्मेवारीमा आउनासाथ केसीले राखेका मागसँगै थप सुधारका कामहरु अघि बढेको पौडेलले केसीलाई जानकारी गराएका थिए। मन्त्री पौडेलले भने,‘हामीले सार्वजनिक गरेको १४ बुँदे योजना तथा प्राथमिकतामा स्वास्थ्य क्षेत्र सुधारका धेरै विषय समेटिएका थिए। तीमध्ये केही कार्यान्वयन भैसकेका छन्, बाँकी पनि कार्यान्वयनकै चरणमा छन्,’ ‘त्यसमा यहाँले उठाएका विषय पनि समेटिएका छन् ।’

मन्त्री पौडेलले विशेषज्ञ चिकित्सकको सङ्ख्या बढाउन सरकारी मेडिकल कलेजमा सङ्ख्या थप गर्ने गरी काम अघि बढेको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटसमेत एमबीबीएस चिकित्सक अध्ययन थाल्ने गरी निर्णय कार्यान्वयनमा गएको जानकारी दिए ।

उपत्यकाबाहिर दक्ष चिकित्सा जनशक्ति तथा स्तरीय अस्पतालका विषयमा चिकित्सक केसीले उठाएकै मागसँग मिल्ने गरी हालै आफ्नै अध्यक्षताको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले थप पोस्ट ग्रयाजुएट चिकित्सक उत्पादन गर्न मिल्ने गरी चिकित्सक दरबन्दी स्वीकृत गरेको जानकारी दिए ।

तत्काल चिकित्सक दरबन्दी थप्न नसकिए पनि भएकै चिकित्सकबाट अधिक सेवा दिने गरी दुई सिफ्टमा सघीय अस्पतालमा सेवा थालिएको भन्दै मन्त्री पौडेलले यसले सरकारी चिकित्सकले बाहिर काम गर्नुपर्ने समस्या कम गर्न सक्ने बताए ।

चिकित्सक केसीले आफू विगतका प्रतिबद्धता पूरा हुनेमा आशावादी रहेको भन्दै दक्ष चिकित्सक पलायन रोक्नका लागि आग्रह गरेका थिए ।

मन्त्री पौडेलले चिकित्सककै सुविधा र सेवा वृद्धि गर्नेगरी व्यवस्था गर्न थालेको भन्दै यसमा आफ्नो अधिकतम प्रयास रहने बताए । स्वास्थ्य सेवाका चिकित्सकको सेवा र समस्या सम्बोधन गर्नका लागि स्वास्थ्य सेवा ऐन ल्याउने तयारीसमेत आफूले गरिरहेको मन्त्री पौडेलले बताए ।

‘चिकित्सा सेवाको भूमिका र उनीहरुको योगदानलाई मूल्यांकन गर्ने गरी नै चिकित्सा सेवा ऐन ल्याउन लागेका हौं,’ मन्त्री पौडेलले भने, ‘त्यसले पनि धेरै कुरा सम्बोधन गर्नेछ ।’

माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौँ । माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

बैंकका संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको सेयर बिक्रीमा राखिएको हो। सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति र संस्थाले ७ दिनभित्र काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ।

नेपाल टेलिकमको सह–प्रवक्तामा मिश्र

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरण (नेपाल टेलिकम) ले नविन कुमार मिश्रलाई सह-प्रवक्तामा नियुक्त गरेको छ ।

टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्रबन्धक मिश्रलाई कम्पनीको सह–प्रवक्तामा नियुक्त गरेको हो । 

जनसरोकारका विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरूले सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए।

सरकारले जनसरोकारका विषयमा सरकारले प्रभावकारी काम नगरेमा संसद्को विशेष अधिवेशन बोलाउने विषयमा समेत छलफल भएको बताए।

प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापन पत्र पेस गर्ने भन्ने समझदारी भएको छ। जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भयो।’

बैठकमा नेकपा एकीकृत समाजवादी फुटाउन सरकारले अध्यक्ष जारी गर्ने तयारी गरेको र सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको विषयमा समेत छलफल भएको बुझिएको छ।

सवारी दुर्घटनामा दुई प्रहरी जवानको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा दुई प्रहरी जवानको मृत्यु भएको छ ।

आइतबार कोशी राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक कार र मोटरसाइकल एकापसमा ठोक्किँदा प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हो ।

उनी अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत थिए । दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै बूढीगंगा गाउँपालिका– ४ गोकुवा चोकमा मिक्सचर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडी बसेका उनी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत रहेका थिए ।

दुर्घटनामा सोही मोटरसाइकल चालक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत अर्का जवान ३० वर्षीय युशन राई घाइते भएका छन् ।

दुर्घटनालगत्तै प्रहरीले मिक्सचर ट्रक र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका – ६ का ३० वर्षीय सुवास झाँगडलाई नियन्त्रणमा लिएको छ ।

परराष्ट्रमा थपियो एक सयभन्दा बढी कर्मचारीको दरबन्दी

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालय र उसका निकायमा १०७ जना कर्मचारीको स्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ । गत असोज २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

उक्त निर्णय अनुसार, लोक सेवा आयोगले रिक्त दरबन्दी परिपूर्ति गर्न असोज ३० गते सूचना समेत प्रकाशित गरिसकेको छ । “२०७२ सालदेखि परराष्ट्रमा अर्गनाईजेसन एण्ड म्यानेजमेन्ट (ओएण्डएम) सर्वेक्षण हुन सकेको थिएन । जसका कारण दरबन्दी थप गर्न सकिएको थिएन,” राईले बाह्रखरीसँग भने, “ओएण्डएमको रिपोर्ट आएपछि दरबन्दी थप गर्ने निर्णय भएको हो ।

यसले परराष्ट्रलाई थप सक्षम बनाउने विश्वास हामीले लिएका छौं ।” परराष्ट्रमा थपिएका दरबन्दीमा एक जना राजदूत, ११ सहसचिव, ३३ जना उपसचिव, ५ जना कम्प्युटर इन्जिनियर, ६२ जना शाखा अधिकृत, ४ जना नायव सुब्बा र १० जना सवारी चालक छन् ।

दरबन्दी थप गर्दा राज्यलाई वार्षिक ७४–७५ करोड रुपैयाँ ब्ययभार थपिने जानकारी उनले दिए । चालु आर्थिक वर्ष परराष्ट्र मन्त्रालयको बजेट साढे ५ अर्ब छ । परराष्ट्रअन्तर्गत हाल राहदानी विभाग, कन्सुलर सेवा विभाग छन् । यस्तै विदेशमा ३० वटा दूतावास, ३ वटा स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास गरी ४० वटा नियोग परराष्ट्र मातहतमा छन् ।

पोर्चुगलमा यसै वर्ष दूतावास स्थापना गरेपछि नेपाली नियोगको कुल संख्या ४१ हुनेछ । दक्षिण एसिया, दक्षिणपूर्वी एसिया तथा प्यासेफिक, उत्तरपूर्वी एसिया, पश्चिम एसिया तथा अफ्रिका, सामान्य प्रशासन, युरोप अमेरिका, क्षेत्रीय संगठन, नीति तथा योजना, यूएन, अन्तर्राष्ट्रिय संगठन तथा अन्तर्राष्ट्रि कानून र शिष्टाचार महाशाखा छन् ।

नयाँ दरबन्दी थपिएसँगै परराष्ट्रले अब सार्वजनिक कूटनीति महाशाखा, डायस्पोरा महाशाखा र अन्तर्राष्ट्रिय कानुन महाशाखा थप गर्ने भएको छ । यस्तै युरोप, अमेरिका महाशाखालाई टुक्राएर युरोप महाशाखा र उत्तर तथा दक्षिण अमेरिका दुई वटा महाशाखा बनाउने प्रवक्ता राईले बताए । यस्तै दुई देशका तीन स्थानमा महावाणिज्य दूतावास खोल्ने तयारी पनि भइरहेको उनले जनाए ।

“अमेरिकाको टेक्सास र लस एन्जलस र युनाइटेड अरब इमिरेट्स (यूएई)को दुवईमा महाबाणिज्य दूतावास खोल्ने तयारीमा हामी छौं,” प्रवक्ता राईले भने । थप गर्न लागिएका तीन वटा महावाणिज्य दूतावासमा महावाणिज्यदूतको रुपमा परराष्ट्रकै सहसचिव पठाउने उनले जनाए । दरबन्दी थपिएका सहसचिवमध्ये तीन जनाको यिनै तीन वटा महाबाणिज्य दूतावासमा पोष्टिङ हुनेछ ।

सरकारले केही महिनाअघि पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेको थियो । उक्त दूतावासमा एक जना राजदूत, एक जना उपसचिव, एक जना अधिकृत र एक जना नासुको दरबन्दी तोकिएको छ । “धेरै देशमा ठूलो संख्यामा नेपाली पुगेका छन् । उनीहरूलाई सहज रुपमा सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो । यसैका लागि विदेशस्थित नेपाली नियोगहरूमा दरबन्दी थप गर्नु परेको हो,” परराष्ट्र प्रवक्ता राईले भने ।

परराष्ट्र मन्त्रालयअन्तर्गत हाल विदेशमा सञ्चालनमा रहेका ४० वटा नियोगमा कम्तीमा २५३ जना लोकल स्टाफ कार्यरत छन् । विदेशस्थित नियोगमा २३८ वटा स्थानीय कर्मचारीको दरबन्दी थियो । दरबन्दीभन्दा बढी लोकल स्टाफ राखिएको छ ।

दरबन्दी थप हुनुअघि पराष्ट्र मन्त्रालय र अन्तर्गतका निकाय तथा नियोगमा कुल ३२५ स्थायी दरबन्दी थियो । यो कूटनीतिक कर्मचारीको संख्या मात्र हो । यसमा स्थानीय कर्मचारी जोडिएको छैन । थप गरिएका दरबन्दी समेत जोड्दा अब परराष्ट्रअन्तर्गत करिब साढे चार सय स्थायी दरबन्दी हुनेछन् ।

हाल कायम स्थायी दरबन्दी अनुसार परराष्ट्र मन्त्रालयमा ९०, राहदानी विभागमा ४६, कसुन्लर सेवा विभागमा १३, वीरगन्जस्थित लियाजो अफिसमा २, सात वटा प्रदेश प्रमुखको कार्यालयमा एक÷एक जना गरी ७ जना, प्रधानमन्त्री कार्यलयमा एक जना र राष्ट्रपति कार्यलयमा दुई जना कूटनीतिक कर्मचारी रहने व्यवस्था छ ।

यस्तै, विदेशमा रहेका ४० वटा नेपाली नियोगमा १६४ स्थायी दरबन्दी छ । परराष्ट्र मन्त्रालयअन्तर्गत नेपालभित्र १६१ र विदेशस्थित नियोगमा १६४ स्थायी दरबन्दी छ । दरबन्दी थप गरिएसँगै अब यो संख्या बढ्ने छ ।

मोरङका एसपी हेडक्वार्टर तानिए

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की हेडक्वार्टर तानिएका छन् ।

आर्थिक अनियमिततामा मुछिएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खोसेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले उनलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए ।

सरुवाको कारण नबताए पनि उनी आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ ।

अपराध अनुसन्धान कार्यालयका एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा खटाइएको छ ।