प्रचण्डको विश्लेषण- रवि पक्राउ पर्न सक्छन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलहरुको साथ खोजेका छन् ।नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकमा सभापति लामिछानेले प्रहरी पक्राउविरुद्ध उभिन प्रस्ताव गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको बताएका छन्।

शुक्रबार विपक्षी दलहरुको बैठकमा दाहालले प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा सरकार रहेको बताएका हुन्।

बुधबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्दा सरकारण पक्राउ गर्ने रणनीतिमा रहेको उनले बताए।

यदि सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने पनि विपक्षी दलहरुले निर्णय गरेका छन्। 

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं। देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत देशभरका बालबालिका आज र भोलि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको भए ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुट खोप लगाइने छ।

साथै मन्त्रालयले थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।

प्रतिपक्षी दलहरूद्वारा तीन सदस्यीय संयन्त्र गठन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी लगायतका प्रतिपक्षीदलहरुको बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा यो बैठक बसेको हो ।

 प्रतिपक्षी दलहरूले तीन सदस्यीय संयन्त्र गठन गरेका छन् । नयाँ बानेश्वरमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेको कार्यदल गठन गरेको हो ।

समसामयिक राजनीतिक विषय र बाढीपहिरो पछिको अवस्थाबारे छलफल गर्नकालागि अध्यक्ष दाहालले यो बैठक बोलाउनु भएको जनाइएको छ ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा नेपाल लगायतका दलहरुको सहभागिता रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी भवन निर्माणकालागि १० रोपनी १४ आना जग्गा दान लिएको विषयलाई लिएर राजनीति तर‌ङ्गीत रहेका बेला बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

ओली सरकारको ९० दिनको समिक्षा समेत बैठकमा गरिने बताइएको छ ।

दुई हजारले बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।

आज सुन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४ सय रुपैयाँमा कायम भएको छ।

बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदी पनि बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार९५० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

काठमाडौँ । पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । यस्तै आन्द्रेस गौसले ३० रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । यस्तै रिजन ढकाल, करन केसी र गुल्सन झाले समान एक विकेट लिए ।

त्यसअघि डल्लासमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६४ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए । यस्तै दीपन्द्रसिंह ऐरीले २८, अनिल साह र आशिफ शेखले समान २७ रन बनाए । अमेरिकाका हर्मित सिंह, सौरभ नेत्रावलकर र जसदीप सिंहले समान दुई विकेट लिए ।

आजको जीतसँगै नेपालले तीन खेलको टी–२० शृङ्खलामा १–० को अग्रता बनाएको छ । अब नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ । यो टी–२० शृङ्खलापछि अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

नेपालले अमेरिकासँग टी–२० अन्तर्राष्ट्रिय खेल पहिलो पटक खेल्न लागेको हो । नेपाल र अमेरिकाबीच यसअघि सात वटा एकदिवसीय खेल भएकोमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन भएको थियो ।

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज बेलुका ५ बजे बैठक बोलाइएको प्रशासन स्रोतले जानकारी दिएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णय हुन सक्ने जनाइएको छ ।

कात्तिक २ गते शुक्रबार, यस्ताे छ तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला । सामान हराउने वा चोरी हुने भय छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दाम्पत्य जीवन सुखमय हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शत्रु पनि पराजित हुनेछन् । धार्मिक यात्राको योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्त र प्रिय व्यक्तिसँग भेट घाट होला । शुभकार्यको योजना बन्नेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो कार्यको प्रारम्भ हुनेछ । खानपिन र मनोरञ्जनमा अभिरुचि पनि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । अशुभ दुवै समाचार सुनिएला । मित्रसँग मीठो भेट घाट नरहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।

सुनको मूल्यमा पुन: नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हाे ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य  हालसम्मकै उच्च हो। बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै सुनको मूल्यले आज निरन्तर दोस्रो दिन नयाँ उचाई बनाएको हो ।

त्यस्तै, यस दिन चाँदी मूल्य स्थिर रहेको छ । बुधबारको बजारमा कायम मूल्यमा नै चाँदीको खरिदबिक्री भएको हो । चाँदीको मूल्य प्रतिताेला एक हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ । 

कार्तिक १ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारमा पनि रुचि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । रोजगारको अवसर पनि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) एउटै कामबाट दोहोरो लाभ हुनसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ । प्राविधिक कार्यमा पनि सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज निर्णय कार्यान्वयन हुन नसक्ला । आत्मबलमा कमी आउने र मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । धार्मिक कार्यमा मन लाग्नेछ, तर समयको भने ख्याल गर्नु पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म र कर्ममा मन पनि लाग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ । -ज्योतिषाचार्य / वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा कायम भएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ १८ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९८ पैसा र बिक्रीदर नौ रुपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ चार पैसा र बिक्रीदर चार रुपैयाँ छ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ५७ पैसा र बिक्रीदर १९ रुपैयाँ ६६ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६९ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाण्डौको गौशालामा रहेको धर्मशाला खाली गर्ने विषयमा विवाद चर्कियो

काठमाडौँ । पशुपतिस्थित गौशाला धर्मशालामा बोर्ड राख्न गएको काठमाडौं महानगरपालिकाको टोली मारवाडी सेवा समिति नेपालको विरोध प्रदर्शनपछि बोर्ड नराखी फर्किएको छ । मंगलबार दिउँसो नगर प्रहरी दलबलसहित बोर्ड राख्न गएपछि मारवाडी समितिको टोली पनि प्लेकार्डसहित विरोध प्रदर्शनमा उत्रिएको थियो । सोही कारण नगर प्रहरीको टोली बोर्ड नराखी फर्किएको हो ।

कोष र काठमाण्डौ महानगरपालिकाको समन्वयमा धर्मशाला सञ्चालन गर्ने गरी सहमति पनि भएको छ । तर मारवाडी सेवा समितिले भने धर्मशाला भएको जग्गाको आफू मोहीयानी भएको दाबी गर्दै त्यो ठाउँ नछाड्ने अडान लिँदै आएको छ ।

यसैबीच हिजो धर्मशालामा अनधिकृत संरचना हटाउन भन्दै गएको काठमाण्डौ महानगरपालिकाको टोलीको दुई वटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ । पशुपति क्षेत्र विकास कोष र महानगरबीच भएको सम्झौता अनुसार धर्मशाला खाली गराउन नगर प्रहरीको टोली हिजो दिउँसो गौशाला पुगेको थियो ।

डोजरले अनाधिकृत संरचना हटाउन खोज्दा पहिलैदेखि घेरा हालेर बसेको प्रहरीले दुई वटा डोजर नियन्त्रणमा लिएको महानगरले जनाएको छ । तर, महानगरले धर्मशालामा बोर्ड भने राखेको छ । मारवाडी सेवा समितिसँग विवाद चलिरहेको बेला यसअघि व्यानर मात्र राखेको महानगरले हिजो बोर्ड राखेको हो । 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झन्डै पौने दुई अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा अहिलेसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ रकम जम्मा भएको हो । उद्धार कोषमा असोज २३ गतेसम्म एक अर्ब ७३ करोड छ लाख ३२ हजार दुर्य सय ९० रुपैयाँ जम्मा भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा जम्मा भएको उक्त रकम बुधबार (३० असोज) सम्मको हो । कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम जम्मा भएको छ।

३० असोजमा कोषमा विद्याधर मल्लिकसहित दश संगठित संस्थाले रकम प्रदान गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख, गैरआवासीय नेपाली संगठनले ५१ लाख र राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८ रुपैयाँ राहत कोषमा जम्मा गरेका छन्।

यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती संघ, नेपाल इन्स्योरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन्।

इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । हनी ट्र्याप प्रकरणमा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको ललितपुर प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।

पक्राउ पुर्जी जारी भएसँगै शाहीलाई पक्राउ गर्ने तयारी प्रहरीको छ । यो प्रकरणमा एक जना सहायक हवलदारसहित ४ जना पक्राउ परेका छन्। ती सहायक हवलदार भैँसेपाटी वृत्तमै कार्यरत थिए। हनी ट्र्यापको घटनामा बलात्कारको कसुर लगाएर फसाइदिने भन्दै इन्स्पेक्टर शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको छ। पीडितले नै प्रहरीलाई भनेपछि घटनाबाहिर आएको थियो।

पीडितले नै प्रहरीलाई भनेपछि घटना बाहिर आएको थियो । प्रहरीले हनी ट्रयाप घटनामा संलग्न युवतीसहित तीन जनालाई यसअघि नै पक्राउ गरिसकेको छ । स्रोतका अनुसार शाही हाल फरार छिन्। छानबिन समितिले यसअघि घटनाको सन्दर्भमा बुझ्नका लागि उनीसँग सम्पर्क गरेको थियो।

तर उनले समितिसमक्ष उपस्थित हुन पनि इन्कार गरेकी थिइन् । ललितपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा सुनसरीको इटहरी बस्ने सुष्मा विक, इटहरीकै ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरिसकेको छ । अर्का आरोपी दर्शन पोखरेल भने हाल फरार छन् । व्यवसायीलाई फसाउन इन्सपेक्टर शाहीको सहयोग देखिएको छानबिन समितिको निष्कर्ष छ ।

बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताएका छन्।

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरु निर्माणबारे निर्णयहरु गरिने जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडकहरु अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलसमेत सहभागी कार्यक्रममा उहाँले सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बुँतामा पुनः निर्माण र पुनःव्यवस्थापनका कामहरु गर्नुपर्नेमा जोड दिँदै उहाँले फलाम खानी खुल्ने क्रममा रहेकाले सञ्चालनमा आएपछि बेलिब्रिजलगायत फलामका कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने बताउनुभयो ।

टोलीले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एकमात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएकाले जिल्ला नै प्राकृतिक नाकाबन्दीमा परेको प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ । टोलीमा प्रतिनिधिसभा सदस्यहरु रामकुमार राई, सरस्वती बजिमय, पूर्वमन्त्री उषाकला राई, प्रदेश सांसदहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायत हुनुहुन्थ्यो ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोलको भाउ कति

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेका छन् । आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ , डिजेल र मट्टितेलमा प्रतिलिटर रु ४ वृद्धि गरेको हो ।

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो वर्गमा रु एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८.५०, दोस्रो वर्गमा रु एक सय ५० र तेस्रो वर्गमा रु एक सय ५१ कामय भएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।