July 12, 2024
काठमाडौं । आज बिहान पहिरोको कारण त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएका ५४ जनामध्ये १७ जना यात्रुको नाम पहिचान भएको छ । प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आज शुक्रबार बिहान दुईवटा बसलाई पहिरोले त्रिशूलीमा खसाउँदा करिब ५४ जना बेपत्ता भएका छन् ।
यसअघि प्रहरीले करिब ६५ जना त्रिशूलीमा बेपत्ता भएका जनाएको थियो । वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स लेखिएको बागमती प्रदेश ०३–०० १ ख २४९५ नम्बरको बस त्रिशूलीमा बेपत्ता भएको हो ।
नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा ती बस बेपत्ता भएका हुन् । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसका धनी राजेन्द्र केसी पनि त्रिशूलीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए । वीरगन्ज बसपार्क नजिक घर भएका बस चालक जवाहिर महतो पनि त्रिशूलीमा बेपत्ता छन् । उक्त बसका धनी, चालक र सहचालक पनि यात्रुसँगै नारायणीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा कम्तिमा पनि ६ जना भारतीय रहेका रिजालले बताए ।
यो बसमा करिब २४ जना रहेको अनुमान प्रहरीले गरेको छ । त्यस्तै, काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स लेखिएको बागमती प्रदेश ०३–०० १ ख २४९५ नम्बरको बसमा झण्डै ३० जना यात्रु सवार रहेको अनुमान प्रहरीको छ ।
प्रकाशित मिति:July 12, 2024
November 23, 2024