त्रिशूलीमा वेपत्ता भएकाहरुको गोताखोरले थाल्यो खोजी

  Sampatti News 2024

July 12, 2024

काठमाडौं । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी दुई सय जना परिचालन गरिएको छ । सशस्त्र प्रहरी गोताखोर, मोटरबोट, र्‍याफ्टबोटसहित परिचालन भएको छ ।

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ५५ जना सवार रहेको बताइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ ।

आज बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए ।

प्रकाशित मिति:July 12, 2024