वीपी राजमार्ग दशैं अगाडि खुल्दैन : भौतिक मन्त्रालय

  Sampatti News

October 3, 2024

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । रोशी खोलाले बगाएर विगारेको राजमार्ग दशै अगाडी खुलाउन सक्षम नरहेको मन्त्रालयले जनाएको हो । 

मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले ‘दशैं अगाडि खुल्ने अवस्था नरहेको बताएका हुन् । 

वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन ।

त्यसैले नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुनेछ ।

सचिव शर्माका अनुसार अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिन्छ । तर तीन चार ठाउँमा खोला पहाडसम्म जोडिएर बगेकाले पुल हाल्नुपर्ने पनि हुन सक्छ । उनले अगाडि भने, ‘अस्थायी रुपमा पनि यही दिनबाट सार्वजनिक गाडी चल्छ भन्ने अवस्था छैन ।’

गत विहीबारदेखि परेको अविरल बर्षाका कारण बीपी राजमार्ग अन्तर्गत भकुण्डे नेपालथोक सडकको १२ किलोमिटर सडक खोलाले बगाएको थियो । काठमाडौंबाट नौबिसे हुँदै हेटौंडा जाने बाइरोडको बाटो पनि सञ्चालनमा छ । त्यस्तै थानकोट –चित्लाङ भएर पनि हेटौंडा जान सकिन्छ ।

वीपी राजमार्गमा अलपत्र गरेका गाडीहरुलाई भने कुनै उपाय लगाएर दशैं अगाडि नै सिन्धुली वा काठमाडौं ल्याउने विकल्पमा काम गर्ने जनाइएको छ ।

प्रकाशित मिति:October 3, 2024