एमालेमा विस्फोट : चार उपाध्यक्षले मागे ओलीको राजीनामा

Nepal Cover
१० जेष्ठ २०८३, आईतवार
image

काठमाडौँ । लामो समयदेखि ओलीनिकट मानिएका विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङजस्ता नेताले नै राजीनामा मागेपछि एमाले अध्यक्ष केपी ओलीमाथि उच्च नैतिक दबाब परेको छ । सचिवालय बैठकमै चर्काचर्की, आरोप–प्रत्यारोप र ध्रुवीकरण देखिएपछि एमालेभित्रको नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस निर्णायक मोडतर्फ प्रवेश गरेको मानिएको छ । एकपछि अर्को नेताले राजीनामा मागेपछि ओली बैठकका आक्रोशित बनेका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली, निर्णय प्रक्रिया र कार्यविभाजनप्रति असन्तुष्टि चुलिँदै जाँदा सचिवालय बैठकमै नेतृत्वविरुद्ध खुलेआम प्रश्न उठ्न थालेका छन् ।

भक्तपुरको गुण्डुस्थित ओली निवासमा जारी सचिवालय बैठकले एमालेभित्र सतहमा नदेखिएको असन्तुष्टि अब खुला बहसमा रूपान्तरित भएको संकेत दिएको छ । शनिवार बसेको बैठकमा महासचिवसहित ९ जना पदाधिकारीले आफ्नो धारणा राख्दा अधिकांश नेताहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पार्टी सञ्चालन शैलीप्रति असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

बैठकमा कसले कति कडा रूपमा धारणा राख्यो भन्ने विषयमा नेताहरू सार्वजनिक रूपमा बोल्न तयार छैनन् । तर, सचिवालय बैठकको माहोल सामान्य औपचारिकताभन्दा निकै फरक र तनाबपूर्ण बनेको सहभागी नेताहरूले बताएका छन् । एमाले उपमहासचिव लेखराज भट्टले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव, तीन उपमहासचिव र पाँच सचिवले समसामयिक राजनीति, पार्टीको कार्यदिशा र आफ्नो जिम्मेवारी क्षेत्रका विषयमा धारणा राखेको जानकारी दिनुभयो । उहाँले बैठक नियमित प्रक्रिया भएको दाबी गरे पनि एमालेभित्र बढ्दो असन्तुष्टि भने लुक्न सकेको छैन ।

राजनीतिक वृत्तमा अहिले सबैभन्दा बढी चर्चा भइरहेको विषय अध्यक्ष ओली सचिवालयमै अल्पमतमा पर्नुभएको छ ।
एमालेभित्रै केही नेताहरूले पार्टीलाई ‘नयाँ शिराबाट पुनर्गठन’ गर्नुपर्ने बहस उठाइरहेका छन् । महासचिव शंकर पोखरेलसमेत पार्टी पुनर्गठन र नयाँ ढंगले अघि बढ्नुपर्ने पक्षमा देखिएको चर्चा एमालेभित्र व्यापक रूपमा भइरहेको छ । यद्यपि, संस्थापन पक्षले भने यस्ता दाबीलाई अतिरञ्जित प्रचारको संज्ञा दिएको छ ।

स्रोतहरूका अनुसार सरकारको कार्यशैली, सुशासनको कमजोर अवस्था, पार्टीभित्र अवसर वितरणको असन्तुलन र आगामी राजनीतिक रणनीतिलाई लिएर संस्थापन पक्ष र असन्तुष्ट समूहबीच दूरी बढ्दै गएको छ । एमालेभित्र अहिले देखिएको असन्तुष्टिको अर्को कारण पछिल्लो कार्यविभाजनलाई पनि मानिएको छ । ओलीनिकट नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी दिइएको तर आलोचनात्मक धार राख्ने नेताहरूलाई पाखा लगाइएको गुनासो बढ्दै गइरहेको छ ।

पार्टीका एक नेताका अनुसार, ‘एमालेभित्र अहिले फरक मत राख्न सक्ने वातावरण कमजोर हुँदै गएको छ । आलोचना गर्नेहरूलाई जिम्मेवारीबाट टाढा राख्ने र निकट समूहलाई मात्र अवसर दिने प्रवृत्तिले समस्या गहिरिएको हो ।’

राजनीतिक विश्लेषकहरू एमालेभित्रको यो अवस्था केवल सामान्य आन्तरिक विवाद नभई नेतृत्व हस्तान्तरण र शक्ति सन्तुलनसँग जोडिएको गम्भीर संकेत भएको बताउँछन् ।

पछिल्लो निर्वाचनपछि एमालेले अपेक्षाअनुसार राजनीतिक लाभ लिन नसकेको, सरकार सञ्चालनमा आलोचना बढेको र जनमत क्रमशः कमजोर बन्दै गएको अवस्थामा पार्टीभित्र नेतृत्वमाथि दबाब बढ्दै गएको देखिन्छ ।

अर्कोतर्फ अध्यक्ष ओली भने अझै पनि पार्टीमा आफ्नो नियन्त्रण कायम राख्ने रणनीतिमा रहेको स्रोतहरू बताउँछन् । पार्टीभित्र समर्थन क्रमशः खुम्चिँदै गएको विश्लेषण भइरहेका बेला ओलीले नयाँ समीकरण निर्माण, असन्तुष्ट नेताहरूलाई व्यवस्थापन तथा संगठन पुनः कस्ने प्रयास गरिरहेको चर्चा छ । उपमहासचिव भट्टले भने बैठकबारे बाहिर भइरहेका चर्चाप्रति असन्तुष्टि जनाउनुभयो । उहाँले बैठकका सामान्य छलफललाई अतिरञ्जित, तोडमोड र भ्रमपूर्ण रूपमा प्रस्तुत गरिएको आरोप लगाउनुभयो ।

‘बैठकमा अनुभव आदानप्रदान र राजनीतिक परिस्थितिबारे सामान्य छलफल भइरहेको छ,’ उहाँले भन्नुभयो–‘बाहिर प्रचार गरिएजस्तो असामान्य अवस्था छैन ।’तर, सचिवालय बैठकको माहोल, नेताहरूको असन्तुष्टि र पार्टीभित्र चुलिँदो ध्रुवीकरणले एमाले अब गम्भीर मोडमा पुगेको संकेत भने स्पष्ट देखिन थालेको छ ।

सचिवालयका अझै चार जना सचिवले धारणा राख्न बाँकी रहेकाले आज आइतबार बस्ने बैठकलाई अझ बढी चासोका साथ हेरिएको छ । आज बिहान पुनः गुण्डुस्थित ओली निवासमै बस्ने बैठकपछि मात्रै एमालेभित्रको वास्तविक शक्ति सन्तुलन, नेतृत्वमाथिको दबाब र पार्टीको आगामी रणनीतिबारे थप स्पष्ट तस्वीर बाहिर आउने अपेक्षा गरिएको छ ।