काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको ताजा वक्तव्यले फेरि पार्टीभित्रको ‘पुस्तान्तरणको सपना’ टाढा धकेलिएको छ।
पार्टी स्रोतका अनुसार, ओलीले हाल गुन्डुस्थित निवासबाटै सबै गतिविधि नियन्त्रण गरिरहेका छन्, तर पार्टीभित्र असन्तुष्टि र थकान दुवै बढ्दै गएको छ।
एक केन्द्रीय सदस्यले भने, “ओलीले पार्टीलाई आफ्नै अडानको बन्दी बनाएका छन्, नयाँ पुस्ताले नेतृत्व गर्ने सम्भावना उनले फेरि बन्द गरे।”
आफूनिकट नेताहरू नै पार्टी पुनर्गठनको पक्षमा खुलेपछि दबाबमा परेका ओलीले बहुसंख्यक सचिवालय सदस्यहरूको धारणा सुनिसकेपछि यस्तो प्रश्न उठाएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
जेठ ४ गतेदेखि जारी सचिवालय बैठक आइतबार पनि बसिरहेको छ । बैठकमा अध्यक्ष ओलीले जवाफ दिने कार्यसूची अझै बाँकी रहेको छ। अन्य सचिवालय सदस्यहरूले धारणा राख्ने क्रममा ओलीले बीचबीचमा आफ्नो प्रतिक्रिया पनि दिइरहेका छन् ।
बैठकमा ओलीले भनेका थिए, “मलाई हटाउने हो भने कुन विधिबाट कसरी हटाउने ? राष्ट्रिय महाधिवेशन भएको ६ महिना पनि भएको छैन । फेरि राष्ट्रिय महाधिवेशन गर्ने कुरा त नहोला, विशेष महाधिवेशन गर्नुपर्ने होला । तीन महिनाअघि भएका तहगत अधिवेशनको अवस्था के हुन्छ ?”
यसबीच अध्यक्ष ओलीले आफू केन्द्रीय कमिटी बैठक फेस गर्न तयार रहेको संकेतसमेत दिएका छन् । “मलाई हट्नुपर्छ भन्ने हो भने केन्द्रीय कमिटी बैठकमा जाऔँ । एक–एक केन्द्रीय सदस्यसँग म पनि कुरा गर्छु,” उनले भने ।
शनिबारको बैठकमा ओलीले सचिवालय सदस्यहरूलाई आफूलाई धेरै नसम्झाउन पनि आग्रह गरेका थिए । “किन सम्झाउँदै हुनुहुन्छ ? मलाई नसम्झाउनुस् । तपाईंहरूले सम्झाउनुपर्दैन । म नेतृत्व छाड्दिनँ,” ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।
ओलीले पार्टीलाई पुनः पुरानै अवस्थामा फर्काउन आफू सक्षम रहेको दाबीसमेत गरेका छन् । “पार्टीलाई फेरि पुरानो अवस्थामा ल्याउँछु । यसको नेतृत्व फेरि पनि मैले नै गर्नुपर्छ,” उनले भनेका थिए ।
बैठक लम्बिँदै गएको भन्दै ओलीले छिट्टै निष्कर्षमा पुग्न आग्रह गरेपछि शनिबार पृथ्वीसुब्बा गुरुङले प्रतिवाद गरेका थिए।